२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

एक निर्माणाधीन ‘भगवान्’ को भविष्य

सयौं वर्षदेखि ‘नयाँ भगवान्’ बनाउने आँटै नगरेको मान्छेले ‘च्याटजीपीटी’ मार्फत भगवान् बनाइरहेको त छैन ? इतिहासका सबै भगवान्‌भन्दा बढी जान्ने मात्रै होइन, मान्छेमाथि असीमित शक्ति पनि प्रयोग गर्न सक्छ– ‘च्याटजीपीटी’ !
विष्णु सापकोटा

अढाई महिनाअघि, मार्च १५ को त्यो तारिख मेरा लागि एक सामान्य दिन थियो । तत्काल गर्दै गरेको काममा दिल नबसेका बेला परेर होला, मनले कुनै परगमन खोजिरहेको थियो । ‘यसो गर्छु’ भनेर सचेत निर्णय गरेको त थिइन, तर के–के न भइहाल्छ कि सोच्दै अनायास फोन झिकेर ट्वीटरमा आँखा डुलाउन थालेको रहेछु । मेरा जोर आँखा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गरेको एउटा ट्वीटमा पुगेर अडिए ।

एक निर्माणाधीन ‘भगवान्’ को भविष्य

दैनन्दिनका दिक्दारिला दलीय मामिलामा लेखिने उनका आग्रहपूर्ण ट्वीटमा त धेरै ध्यान जाँदैनथ्यो । तर, एक दिनअघि (मार्च १४) को तारिखलाई इतिहासको एक संयोग भनेर उनले अंग्रेजीमा लेखेको उक्त ट्वीट अनौठो थियो । मार्च– १४ लाई उनले ‘इतिहासको संयोग’ भन्नुको कारण रहेछ– अल्बर्ट आइन्स्टाइन त्यही दिन जन्मेका रहेछन्, कार्ल मार्क्स त्यही दिन बितेका रहेछन् र स्टेफन हकिङ पनि त्यसै दिन संसारबाट बिदा भएका रहेछन् ।

झट्ट ट्वीट हेर्दा आफू भर्खरै वयस्क हुँदै गर्दा पढिएका ‘रिडर्स डाइजेस्ट’ र ‘विज्डम’ जस्ता म्यागेजिनका पानाभित्र, बक्समा सजाएर ‘के तपाईंलाई थाहा छ ?’ भन्ने खालका जानकारी पढेको रमाइला स्मृति जागृत भए । तर, मेरा मनमा प्रतिक्रियाहरू उब्जेको ट्वीटको अर्को वाक्यमा उनले भनेका छन्, ‘र, यी तीनै जनाले भगवान्‌मा विश्वास गरेनन् ।’

संयोग कस्तो पर्‍यो भने, भट्टराईको ट्वीट आएको त्यो साता म सोचिरहेको थिएँ– मान्छेले इतिहासमा थरीथरीका भगवान्हरू कसरी निर्माण गरेको थियो ? र, के एक्काइसौं शताब्दीमा मान्छे अहिलेसम्मकै शक्तिशाली भगवान्को निर्माण गर्ने प्रक्रियामा त छैन ? किनकि ‘आर्टिफिसियल इन्टेलिजेन्स’ लाई झन् ‘इन्टेलिजेन्ट’ बनाउने क्रममा मान्छेले बनाएको ‘च्याटजीपीटी’ सम्बन्धी समाचारले त्यो साता संसारलाई नै तरंगित बनाउन थालेको थियो ।

मान्छेले नै बनाएको भए पनि कतै ऊभन्दा यो ‘च्याटजीपीटी’ नै बढी जान्ने–सुन्ने हुने भएपछि यस लोकमा मानवको हैसियत के कसो हुने हो ? यसखाले चिन्ता प्रकट भइरहेकै थिए । ‘होइन होइन जे भए पनि मान्छे भनेको मान्छे नै हो,’ ‘जति ‘एड्भान्स्ड’ कम्प्युटर बनाए पनि मान्छेले जसरी सोच्ने यन्त्र बन्नै सक्दैन’ भन्ने अर्काखालका तर्कहरू पनि आइरहेका थिए ।

अब ‘च्याटजीपीटी’ लेख्छ– औसत कविले भन्दा सुन्दर कविता । के त्यसले मान्छेभन्दा पनि राम्रोसँग ‘सोच्न’ सक्छ ?

‘आर्टिफिसियल इन्टेलिजेन्स’ ले सभ्यता नै ध्वंस पार्न सक्छ भनेर बोल्दै हिँड्ने संसारका सनकी धनाढ्य इलन मस्क स्वयम् र माइक्रोसफ्टहरूले अहिले पनि यसमा लगानी बढाइरहेकै छन् । ‘च्याटजीपीटी’ त आइसकेको कुरा भयो, जसले यो बनाउनेहरूलाई नै अचम्मित पार्नेगरी काम गरिरहेको छ । र, यो बनेको नै यसरी छ कि यसले काम गर्दै जानेक्रममा आफैँ झन् बढी ‘इन्टेलिजेन्ट’ हुँदै जानेछ । ‘भविष्यमा यसले के कति जान्ने छ ?’ यो विषय ‘च्याटजीपीटी’ बनाउनेलाई त के, यो आफैंलाई पनि थाहा छैन । मान्छेले अहिले बनाइसकेको चीज त यस्तो छ भने भविष्यमा यस्ता अरू के–के आउने हुन् ? र, तिनले के–के गर्ने हुन् ? यो अहिले कसैले कल्पना गर्न सक्ने कुरा पनि भएन ।

साधारण काम त छाडौं, अब ‘च्याटजीपीटी’ ले कुनै ‘औसत’ कविले भन्दा सुन्दर कविता कोर्न थालिसकेको छ । कलेजका विद्यार्थीले निबन्ध लेख्न सिक्ने विधि नै निरर्थक हुन थालिसक्यो किनकि ‘पेन्टिङ’ जस्तो कलात्मक कृति त भव्य बनाइदिन सक्ने ‘च्याटजीपीटी’ का लागि स्नातक तहका निबन्ध लेख्नु मामुली विषय भयो । त्यो पनि छाडिदिऊँ, के अब मान्छेभन्दा पनि राम्रोसँग ‘सोच्न’ थाल्ने भयो त ‘च्याटजीपीटी’ ले ? के केही वर्षपछि कान्तिपुर ‘कोसेली’ को यही पानामा मेरो सट्टा ‘च्याटजीपीटी’ ले लेखेको (योभन्दा राम्रो !) लेख छापिनेछ ? त्यो साता मेरो धेरै ध्यान यिनै विषयमा घुमिरहेको थियो ।

विश्वविद्यालयमा अध्ययन गर्दा पढेका धेरै विषय समयक्रममा मान्छेले बिर्सँदै जान सक्छन् । हाम्रा बौद्धिक रुचिहरू फेरिँदै जान सक्छन् । तर, सन् २००० मा एमफिल थिसिसका लागि अनुसन्धान गरेको एउटा विषयप्रतिको मेरो ‘प्यासन’ समयचक्रमा घट्नुको साटो बढ्दै गएको थियो, जुन अद्यापि छ । प्राविधिक शब्द प्रयोग नगरीकन भन्दा, मेरो विषय थियो– मान्छेले संसार, समय र सत्यको अर्थ जसरी बुझ्छ, त्यसमा हाम्रो दिमागको भाषिक ‘फ्याकल्टी’ वा ‘युनिभर्सल ब्लुप्रिन्ट’ को कस्तो सम्बन्ध हुन्छ ? त्यही अभिरुचिकै कारण हुन सक्छ, ‘च्याटजीपीटी’ जति प्रविधिको विषय हो त्योभन्दा बढी यो ‘कग्निटिभ साइन्स’ र दर्शनशास्त्रको होजस्तो लाग्छ मलाई ।

लाखौं वर्षको इतिहास हेरौं न, हामीले ‘भाषा’ मा बोल्न थालेको त धेरैपछि मात्रै हो, सत्तरी हजार वर्षअघिदेखि । शब्दमा बोलिने भाषा विकसित नभएको बेलासम्म मान्छेले ब्रह्माण्ड र ‘भगवान्’ बारे कति सोच्न सक्थ्यो ? त्यसबारे केही थाहै छैन किनकि त्यो थाहा पाउन मान्छेले बोल्नुपर्थ्यो, लेख्नुपर्थ्यो । त्यति मात्रै होइन, अहिलेको तुलनामा दस हजार वर्षपहिले पनि मानिसले कति परसम्म, कति गहिरो सोच्न सक्ने भाषा विकसित गरेको थियो ? हामीलाई धेरै थाहै छैन ।

यहाँनेर एउटा घतलाग्दो प्रसंग छ । जब मान्छेले भाषालाई ढुक्कसँग कल्पनाशील रूपमा प्रयोग गर्न थाल्यो र तुलनात्मक रूपमा ‘एब्स्ट्र्याक्ट’ विषयहरूलाई पनि कथामा भन्ने सामर्थ्य विकसित गर्‍यो, ठीक त्यो चरणमा संसारका बिभिन्न सभ्यतामा उसले आफ्ना–आफ्ना भगवान्हरूको निर्माण गर्‍यो । एकछिन अडिएर सोचौं त– प्रायः सबै सभ्यतामा मान्छेले पहिले भगवान्को निर्माण गरेको छ त्यसपछि मात्रै उक्त भगवान्का भनाइ फैलाउने क्रममा (अहिलेका प्रमुख) धर्मका व्याकरण बनेका छन् । र, अहिले मानिएका प्रमुख भगवान्हरूलाई मान्छेले सभ्यताको लगभग एउटै चरणमा बनाएको थियो ।

हिन्दु, जुडिइज्म, क्रिस्चियन, इस्लामजस्ता प्रमुख धर्मका भगवान्हरू सबै आजभन्दा चार–पाँच हजार वर्षभित्र मात्रै बनाइएका हुन् । त्योभन्दा पहिले पनि विभिन्न संस्कृतिमा फरक–फरक सामर्थ्यका भगवान्हरू निर्माण नभएका होइनन् । तिनीहरू पछि ‘आउटडेटेड’ हुँदै गएका हुन् । यहाँ मैले स्थापित गर्न खोजेको बुँदा के हो भने, कम्तीमा आइन्स्टाइन र हकिङजस्ता मनीषीले ‘भगवान्’ बारे बोल्दा, तिनीहरूले यी पाँच–सात हजार वर्षभित्र मान्छे आफैंले बनाएका भगवान्हरूका कुरा गरेका थिएनन् । त्यसरी सोच्दा, ‘माओवादी भए पनि मान्छेचाहिँ विद्वान् नै हुन्’ भनेर कहलाइएका बाबुराम भट्टराईको ‘भगवान्’ प्रतिको बुझाइ त यति समस्याग्रस्त छ भने मार्क्सवादी फ्रेममा बन्द भएका अरू कम्युनिस्ट नेताहरूको बौद्धिकता कति विराट होला भनेर म उनको ट्वीट पढेपछि अडिएको थिएँ ।

आइन्स्टाइनकै सन्दर्भ ल्याउने हो भने यी ५–७ हजार वर्षको इतिहास भएका भगवान्हरूलाई उनले ‘निजी भगवान्’ भनेका छन् । अर्थात् व्यक्ति आफूले रोजेर मान्ने भगवान् । संसारमा कुन मान्छेलाई जन्माउने, कसको जीवन कसरी चलाउने भन्दै छैंटीका दिन जाबो मान्छेजस्तो अर्थहीन प्राणी (ब्रह्माण्डको अबोधगम्य योजनामा) को भाग्य लेखेर बस्ने खुद्रा भगवान्प्रति आइन्स्टाइनको रुचि थिएन । तर, डच दार्शनिक स्पिनोजाले ब्याख्या गरेको ‘मेटाफिजिकल’ भगवान्मा उनको चाख थियो ।

जहाँसम्म ब्रह्माण्ड कसरी बन्यो होला ? यसको आदि र अन्त्य छ कि छैन होला ? भन्ने प्रश्न छ, आइन्स्टाइनले भनेका छन्– ‘मान्छेको सानो गिदीले यस्ता विषय धेरै परसम्म बुझ्दैन ।’ हकिङको भनाइ त झन् प्रस्ट थियो, ‘यो ब्रह्माण्ड जसरी चलेको छ, त्यसरी चल्न कुनै भगवान्को निर्देशन चाहिँदैन, त्यस अर्थमा भगवान् असान्दर्भिक छ ।’ निष्कर्ष के हो भने, यदि कसैले ‘तपाईं भगवान्मा विश्वास गर्नुहुन्छ ?’ भनेर सोध्यो भने सबैभन्दा पहिले उसलाई प्रतिप्रश्न गर्नुपर्छ, ‘तपाईंले कस्तो भगवान्बारे सोध्नुभएको हो ?’ मान्छेको दिमागले बुझ्न सक्नेभन्दा बाहेकको अथाह जति जे छ, त्यसलाई ‘भगवान्’ भन्ने कि अरू केही ? यो केवल एक भाषिक सवाल हो ।

मान्छेको इतिहासमा भगवान्को अवधारणा जसरी विकसित भएको छ, त्यो रोचक छ । हेर्नोस् त, अहिलेका जति पनि प्रमुख विश्वशक्ति भगवान्हरू छन् ती सबै सभ्यताको एकै चरणमा बनेका थिए भनेर त माथि नै भनियो । त्योबेला, ‘भारतवर्ष’ का शिव, रामजस्ता भगवान्हरू सायद एक–दुईवटा भन्दा बढी भाषा बोल्न जान्दैनथे । पुराना ग्रीक भगवान्हरूको पनि हालत त्यतिबेला त्यही थियो होला, तर तिनीहरू त ‘भगवान्का छोरा’ क्राइस्टको प्रभावपछि केवल मिथोलोजीमा सीमित हुनुपर्‍यो ।

‘प्रोफेट मोहम्मद’ को प्रचार पनि आफ्नै वरिपरिका भाषाबाट सुरु भयो । क्राइस्टले आफूलाई भगवान्को छोरा भने पनि र मोहम्मदले सन्देशवाहक । उनीहरू पछि मान्छेले संसारमा अर्को सशक्त भगवान्को निर्माण गरेको छैन । त्यो किन होला भने, सभ्यताको त्यस चरणपछि मानिसहरू ठूलो संख्यामा एक ठाउँबाट अर्को ठाउँमा जान थाले, संस्कृतिहरू एकअर्कासँग जोडिन थाले । सम्बन्धित धर्मका अनुयायीले लडाइँमा जितेका राज्यमा आफ्नो धर्म लाद्न थाले, जसको उत्कर्ष विगत चार सय वर्षमा युरोपियन उपनिवेशकालमा देखियो ।

अफ्रिका, दक्षिण अमेरिका र एसियाकै फिलिपिन्स जस्ता देशहरू क्रिस्चियन भएको यही उपनिवेशकालमै त हो । त्योसँगै ‘विज्ञान’ आयो र हामी आफ्ना सबै जिज्ञासाको जवाफका लागि भगवान्को भर पर्न छाड्यौं । इतिहासको रमाइलो यो दैवी पृष्ठभूमिमा आज बौद्धिक महत्त्वको खास प्रश्न हो– चौध सय वर्षदेखि नयाँ भगवान् बनाउने आँटै नगरेको मानिसले के ‘च्याटजीपीटी’ मार्फत अहिले नयाँ भगवान् त बनाइरहेको छैन ? जसले इतिहासका सबै भगवान्भन्दा बढी जान्ने मात्र होइन, ऊ आफ्नो असीमित शक्ति वास्तवमै मान्छेमाथि प्रयोग पनि गर्न सक्छ ?

मानिसले नै बनाएको ‘कृत्रिम बुद्धि’ उसको ‘प्राकृतिक बुद्धि’ भन्दा बढी बुद्धिमान् भयो भने संसार कस्तो हुने होला ? यस्तो भन्ने चरणमा मानव जाति आइपुग्नु इतिहासमै एक घतलाग्दो समय हो । यो विषयमा घोत्लिने क्रममा, मानिसले अहिलेसम्म बनाएका भगवान्हरू कति ‘इन्टेलिजेन्ट’ रहेछन् त भनेर घरीघरी इतिहासतिर फर्कंदै ती ‘भगवान्हरूका बुद्धिको तुलनात्मक मूल्यांकन’ गर्नका लागि यो रमाइलो समय हो ।

गीताका कृष्णले भन्दा, बाइबलका जिससले भन्दा वा कुरानका मोहम्मदले भन्दा यो ‘च्याटजीपीटी’ बढी जान्ने भइसकेको त होइन ? सोचिबस्दा मनमा आउँछ– आखिर इतिहासका ती भगवान्हरू पनि त मान्छेका एक प्रकारका ‘आर्टिफिसियल इन्टेलिजेन्स’ नै थिए । किनभने त्यतिबेलासम्म सम्बन्धित सभ्यतामा जति पनि ज्ञान मान्छेको भाषामा संकलित भएको थियो, मुनिहरूले त्यसको आधारमा भगवान् पात्रको सिर्जना गरेर त्यसलाई आम मानिससँग पुर्‍याएका थिए । समयक्रममा, जुन मुनिले कृष्ण भन्ने भगवान् सिर्जना गरेर गीतामार्फत ज्ञान बाँडे, तिनै ऋषिभन्दा कृष्ण बढी शक्तिशाली भए ।

मानिसहरु ‘कृष्णले भनेको’ भनिदिएपछि जे पनि पत्याउँछन् । उनका भनाइलाई सकेसम्मको बुद्धि लगाएर अर्थ्याउँछन्, तन्काउँछन् । तर, उनको रचयिताबारे बेखबर छन् । रचयिताले यसरी भनिदिए कि उनका पात्र कृष्णमै सृष्टिको आदि पनि छ, अन्त्य पनि । उनी जे भन्छन् मान्छेले सोबाहेक धेरै सोच्नै पर्दैन । प्रसंगवश, कृष्ण एक उदाहरण हुन् । ‘अर्का’ का भगवान्को विनिर्माण गर्नुभन्दा सांस्कृतिक रूपमा ‘आफ्नै’ को गर्दा जोगिन सजिलो हुने भएर कृष्णलाई दुःख दिनुपरेको हो ।

तीन हजार वर्षपहिले यताका शिव र रामहरूले केके जानेका थिए भन्ने उताका ग्रिसेली भगवान्हरूलाई थाहै थिएन । बुद्धले प्राप्त गरेको भनेको ‘निर्वाण’ र उनले बाँडेका ज्ञानप्रति क्राइस्टले सुनेका हुन्थे भने, उनले पढाउने शिक्षा अर्कै हुन सक्थ्यो । मोहम्मदको समय अलि पछाडि भएकाले सम्भव छ कि उनलाई जिसस र अरू भगवान्बारे केही थाहा थियो ।

समग्रमा, त्यतिबेलाका भगवान्हरूका ज्ञानका धेरै सीमा थिए । त्यसैले उनीहरू आफूले जानेभन्दा बाहिरको विषयलाई पूर्वजन्म, अवतार, स्वर्ग–नर्क आदितिर लगेर बिसाउँथे । र, यहाँनेर अर्को एक घतलाग्दो सन्दर्भ जोडिन आउँछ– भन्न त मान्छे आफैंले आफैंलाई सर्वश्रेष्ठ प्राणी हुँ भनेर आफैं मख्ख हुन्छ । तर, यो यति श्रेष्ठ छ कि सायद संसारमा ऊ मात्रै एक्लो त्यस्तो प्राणी होला, जो कहिल्यै कसैले देख्दै नदेखेका चीजलाई पनि सत्य भनेर विश्वास गर्छ ।

केही वर्षदेखि विश्वका बौद्धिक मञ्च तताइरहेका इजरायली चिन्तक युवल नोवा हरारीले जोड दिएर भन्नेजस्तो, मान्छे काल्पनिक कथामा विश्वास गरेर चल्ने प्राणी हो । उसलाई थाहा छ आजसम्म ‘भगवान्’ कसैले देखेको छैन । न त स्वर्ग र नर्क नै । तर, अरबौं मानिस यी कुरा छन् भनेर पत्याउँछन् । पत्याउँछन् मात्र होइन, आफूले मानेको निजी ‘भगवान्’ नमान्नेहरूलाई मार्न हिँड्न पनि मानिस नै तयार छ । हरारी त भन्छन्– यी देश भन्ने चीजहरू पनि आखिर काल्पनिक अवधारणा न हुन् । शासकहरूले राजनीतिक रूपमा तोकेका धर्साहरूको आज एउटा नाम छ, सय वर्षपछि अर्को हुन सक्छ । तर, मान्छे यस धर्तीमा आएकै आफ्नो देशका लागि हो भन्नेहरू कति छन् कति ! मान्छेको जीवन स्वयम्भन्दा पनि देश नै ठूलो भनेर भावनाको राजनीति गर्ने त झन् कति छन् कति !

काल्पनिक सत्यलाई नै अन्तिम सत्य भनेर पत्याउने इतिहास भएको मान्छेले एक्काइसौं शताब्दीमा विकास गरेका ‘च्याटजीपीटी’ जस्ता ‘आर्टिफिसियल इन्टेलिजेन्स’ बारे समाचार र टिप्पणीहरू आउन थालेदेखि नै म तल्लीन भएर, सकेसम्म केही नछुटाई हेरिरहेको थिएँ, छु । यो विषयमा हरारीबाहेक अरू ‘लेजेन्ड’ हरू पनि बोले हुन्थ्यो भनेर सोचिराखेकै बेला ‘द न्युयोर्क टाइम्स’ ले मार्चमै नोम चोम्स्कीको संयुक्त ‘गेस्ट एसे’ प्रकाशित गरेको थियो– ‘द फल्स प्रोमिस अफ् च्याटजीपीटी’ । पछिल्लो पुस्ताका धेरैले चोम्स्कीलाई उनका राजनीतिक धारणाका लागि चिन्ने/नचिन्ने, श्रद्धा गर्ने/नगर्ने, वा मन पराउने/नपराउने पनि होलान् । सन् १९६० को दशकमै चोम्स्की लेजेन्ड बनेको उनको ‘युनिभर्सल ग्रामर (युजी)’ भन्ने भाषिक सिद्धान्तका लागि हो ।

आधुनिक भाषाविज्ञानका पितासमेत भनिने चोम्स्कीको ‘युजी’ सिद्धान्तले के स्थापित गर्न खोजेको छ भने प्रत्येक मानव बच्चा जन्मँदा एउटा युनिभर्सल भाषिक ‘ब्लुप्रिन्ट’ लिएर जन्मेको हुन्छ, जसको आधारमा उसले संसारका सात हजारमध्ये जुनसुकै भाषा पनि बोल्न सक्छ । संसारका सबै भाषाको ‘ग्रामर’ एउटै नै छ, जसका नियम एक औंलामा गन्न सकिन्छ । प्रत्येक अलग भाषाले तिनै मुठ्ठीभर ‘युनिभर्सल’ नियमबाट असीमित वाक्यहरू सिर्जना गर्ने हुन्, ‘जनरेट’ गर्ने हुन् ।

जन्मँदा सँगसँगै आउने यो ‘युनिभर्सल ब्लुप्रिन्ट’ मानिसको दिमागबाट कुनै ‘एआई’ को ‘लार्ज ल्यांग्वेज मोडेल’ (जस्तो : च्याटजीपीटी) मा सार्न सकिँदैन भन्ने चोम्स्कीको टिप्पणी दार्शनिक रुचिका हिसाबले गहन थियो । किनभने इतिहासभर दर्शनशास्त्रले दिएका सिद्धान्त र गरेका व्याख्याहरू मान्छेको भाषाकै क्षमता र प्रकृति वरिपरि घुमेका छन् । के मानवीय भाषिक ‘इन्टेलिजेन्स’ विशुद्ध मानवीय मात्रै हो, जस्ताको तस्तै अन्त कतै सार्न नमिल्ने ? वा ‘च्याटजीपीटी’ को यो ‘लार्ज ल्यांग्वेज मोडेल’ मान्छेको प्राकृतिक भाषिक क्षमताभन्दा बढी असीमित सामर्थ्यको छ ?

अस्ट्रियन मूलका लड्विग् विट्गन्सटाइनलाई धेरैले बीसौं शताब्दीका महान् (र जटिल) दार्शनिक मान्छन् । विट्गन्सटाइनले हजारौं वर्षको पश्चिमा दर्शनशास्त्रको प्रमुख समस्या नै भाषामा देखेका थिए । उनको दर्शनले मुख्यतः भाषा, सोचाइ, सोचाइलाई भाषामा गरिने प्रतिनिधित्व र ती सबैका सीमाबारे बोलेको छ । विनिर्माणको नामबाट प्रख्यात फ्रेन्च उत्तरआधुनिक दार्शनिक ज्याक डेरिडाको ‘सिद्धान्त’ पनि भाषाकै वरिपरि घुमेको छ । हामीले बोल्ने–लेख्ने शब्द–आवाज र तिनले प्रतिनिधित्व गर्ने खास चीज वा सत्यको सम्बन्ध पूरै काल्पनिक र कामचलाउ छ भन्ने डेरिडाको प्रस्तावना युगान्तकारी नै थियो ।

वास्तवमा डेरिडा र मिसेल फुकोजस्ता उत्तरआधुनिककालीन दार्शनिकले तताएको सन् १९७० र ८० का दशकपछि दर्शनको क्षेत्रमा ठूलो तरंग ल्याउने नयाँ अर्को कोही आएजस्तो लाग्दैन । हामीले सोच्ने तरिकाको सीमा, भाषा र सत्यबीचको अस्थिर सम्बन्धमा आएर दर्शनशास्त्रको इतिहास अडिएको थियो । अब आएर विश्वविद्यालयका दर्शनशास्त्र, ‘कग्निटिभ साइन्स’ र भाषाशास्त्रका विभागहरूमा नयाँ कोर्सहरू बन्दा बरु ‘च्याटजीपीटी’ समावेश हुन सक्छ । ‘ओपन एआई’ का ‘च्याटजीपीटी’ हरूले आखिर काम गर्ने ‘ल्यांग्वेज मोडल’ अर्थात् भाषामाथि पकड जमाएर नै हो । संसारमा जेजति सूचना र सत्य–असत्य जे–जे छन्, ती सबै संगृहीत हुने आखिर भाषामै हो । चाहे त्यो कम्प्युटरको भाषा होस् वा कविताको ।

गए राति हामीले देखेको आकाशका ताराहरूको उज्यालो कति हजार, लाख वा अर्ब वर्ष पहिलेको हो, थाहै छैन । त्यस्ता तारा कति छन्, कहाँसम्म छन् ? थाहै छैन । त्यो अथाहको तुलनामा मान्छेले बोध गरेको ‘सम्पूर्ण’ ब्रह्माण्ड नै यति नगण्य होला कि हामीले धेरै ठूलो कुरा गर्नु आफैंमा लज्जास्पद हुनुपर्ने हो । अहिलेसम्म पृथ्वीमा आएका मानिसमध्ये भौतिक ब्रह्माण्डलाई सबैभन्दा धेरै बुझेको कि आइन्स्टाइनले होला कि स्टेफन हकिङले । मजस्ता मानिसले धेरैमा धेरै बुझ्ने भनेको उनीहरूले साधारण भाषामा बताइदिएका मध्ये थोरै मात्र हो ।

आइन्स्टाइनको समय पनि धेरै नै गइसक्यो, त्यसैले म ब्रह्माण्ड र मानवबारे हकिङले भनेका विषयलाई चाख मानेर बुझ्न कोसिस गर्छु । आफ्नो जीवनको अन्तिमतिर, मानवतालाई सबैभन्दा खतरा केबाट होला भन्ने प्रश्नमा तिनै हकिङले भनेका थिए– ‘आर्टिफिसियल इन्टेलिजेन्स’ बाट । जबकि हकिङ जीवित होइन्जेल ‘च्याटजीपीटी’ जस्ता ‘एआई’ आएकै थिएनन् । बेलायतबाट निस्कने प्रख्यात पत्रिका ‘द इकोनोमिस्ट’ की प्रमुख सम्पादकले अप्रिल २१ को अंकमा भनेकी छन्, ‘यो ‘एआई’ का बारे मैले चिन्ता गर्नुपर्ने हो कि खुसी हुने ? निर्णय गर्नै गाह्रो भयो ।’ तसर्थ, उनले सुझाएकी छन्, चिन्ता गरौं बुद्धि पुर्‍याएर ।

यसरी ‘एआई’ माथि चिन्ता गर्नेहरूको प्रमुख चिन्ता नै के छ भने अब चिन्ता गर्ने बुद्धि कसरी पुर्‍याउने होला ? ‘च्याटजीपीटी’ ले यसका सर्जक स्वयम्लाई चकित पार्ने हिसाबको बुद्धि देखाइसकेको छ । यसले खिचेका फोटोहरूले अन्तर्राष्ट्रिय पुरस्कार जित्न थालिसके, पढेलेखेका औसत मानव मस्तिष्कले भन्दा यसले बढी ‘स्मार्ट’ तरिकाले सोच्न थालिसक्यो । गत महिनाको एक टेलिभिजन अन्तर्वार्तामा इलन मस्कले भनेका छन्, ‘इतिहासमा सबै प्राणीभन्दा बढी ‘स्मार्ट’ मानव नै रहिआएको थियो । अब हामीले नै आफूभन्दा बढी ‘स्मार्ट’ केही बनायौं भने यसबाट मानव सभ्यतालाई नै ध्वंस पार्ने खतरा हुन्छ ।’ किनकि, नयाँ ‘एआई’ भाषिक मोडेल भएको कारणले यसले हामीले भन्दा बढी ‘स्मार्ट’ रूपमा ‘सोच्न’ सक्छ ।

एटम बम मानिसले नै बनाएको हो र उसले पनि हामी सबैलाई ध्वंस त पारि हाल्छ । तर, उसले आफैं सोच्न सक्दैन । मानिस आफैं अग्रसर नभएसम्म ऊ आफैंले केही गर्न सक्दैन जुन नयाँ ‘एआई’ ले सक्न सक्छ । गुगलले लगानी गरेको ‘एआई’ त आउनै बाँकी छ, जसको घोषित उद्देश्य नै ‘डिजिटल गड’ को सिर्जना गर्नु हो, जसलाई डिजिटल रूपमा उपलब्ध संसारको अहिलेसम्मको अधिकांश सूचना र ज्ञानप्रति ‘एक्सेस’ हुन सक्छ । अब भगवान् नै सिर्जना गर्ने भएपछि नयाँ भगवान्ले के–के मात्रै गर्न नसक्ने होला ? त्यो बनाउने मानवलाई थाहा हुने कुरै भएन ।

आफन्तलाई तीर हान्न हच्किएका अर्जुनलाई भगवान् कृष्णले जस्तै, उसले हामीलाई भन्ने पो हो कि– तिमी धेरै नसोचीकन आफ्नो काम गर किनकि सोच्नका लागि अब म छु ! आखिर मानिसले ‘सिर्जना गरेका’ कृष्णले मानिसलाई नै धेरै नसोच्न भन्न सक्थे र त्यसपछिका हजारौं वर्षसम्म मानिसले त्यही कुरा मानिरहेको छ भने, के यी बन्दै गरेका भगवान्ले हामीलाई पहिलेकाले जति पनि सोच्न नदिने होलान् त ?

अब म तपाईंहरूलाई यसबारे आफ्नो निष्कर्ष सुनाएर बिट मार्छु । पुँजीवादी बजार कसरी अदृश्य हातहरूद्वारा स्वचालित हुन्छ भनेर एडम स्मिथले त भनेकै थिए । मेरो विचारमा आलंकारिक रूपमा भन्दा, बजार मात्रै होइन यो संसार सबै नै त्यस्तै (मानवीय) अदृश्य हातहरूद्वारा स्वचालित छ । चाहे शक्तिशाली राष्ट्रपतिहरू वा अन्य अन्तर्राष्ट्रिय संस्थाहरू सबै नै किन नमिलून्, आखिर संसार चलाउने तिनले भन्दा बढी अदृश्य हातहरूले हो । दुई सय वर्ष पहिले अहिलेजस्तो पैसा (करेन्सी) संसारमा कतै थिएन ।

अब सबै देशका सरकारहरू जमानत बस्ने करेन्सीलाई विस्थापित गर्ने भनेर कृप्टोकरेन्सी आएको छ । र, कृप्टोकरेन्सी साँच्चै नै अदृश्य छ । सन् २००८ मा बिटकोइन (कृप्टोकरेन्सी) को अवधारणा–पत्र लेख्ने सातोसी नाकामोतो भन्ने काल्पनिक नामका व्यक्ति (?) को हुन् ? अहिलेसम्म सार्वजनिक जानकारीमा छैन । राष्ट्र–राज्यका अहिलेका विशेषताहरू ५० वर्षपछि कस्ता हुने हुन् ? पक्कै पनि यो सबै ‘इभोल्भ’ हुँदै, फेरिँदै जाने नै हो । यस क्रममा ‘दृश्य’ व्यक्तिहरूले भविष्यको ‘कोर्स’ लाई धेरथोर प्रभावित त पार्नेछन्, जसरी इतिहासमा पनि पारेका थिए । तर, अदृश्य हातहरूका अगाडि तिनीहरू निर्णायक हुनेछैनन् ।

र, एउटा स्पष्टोक्ति पनि– सामाजिक न्यायको दृष्टिकोणमा पंक्तिकारका आफ्नै धारणा नभएका होइनन् । ‘संसार यस्तै अदृश्य हातमा छाड’ भन्नु राजनीतिक हिसाबमा कस्तो विचार हो, त्यो आफ्नै ठाउँमा छ । तर, आजको स्तम्भ संसारमा के हुनुपर्छ भन्नेभन्दा के भइरहेको छ भन्नेमा केन्द्रित हुन खोजेको हो । के हुनुपर्छ भनेर मान्छेका लागि चिन्ता गरिदिन फेरि ‘च्याटजीपीटी’ जो आई नै सकेको छ ! र, मानव सभ्यताले निकट भविष्यमै कस्तो कोल्टे फेर्दै छ ? यो विषय सायद निर्माणाधीन भगवान्को भविष्यसँग कुनै प्रकारले जोडिएको छ ।

प्रकाशित : जेष्ठ १३, २०८० १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?