

भारतीय जमघट, विरोध र प्रदर्शनमा अचेल एउटा कविता नियमितजसो वाचन हुन्छ– ‘सब याद रखा जायगा ।’ भारतीय युवा कवि अमीर अजिजले समकालीन असहिष्णु धार्मिक राज्यसत्तामाथि लेखेको यो कविता चर्चित बेलायती रक ब्यान्ड पिंक फ्लोयडका संस्थापक सदस्य तथा कलाकार रोजर वाटर्सले अंग्रेजीमा अनूदित गरी सन् २०२० को जनवरीमा वाचन गरेपछि यसको विश्वव्यापी चर्चा चुलिने क्रममा छ । विद्रोहको प्रतीक भएको छ यो कविता :


सबै याद राखिनेछ, सबै याद राखिनेछ
जति मारिएका छन् तिम्रा लाठी र गोलीहरूबाट
मेरा साथीहरू,
तीनको सम्झनामा हृदयलाई बरबाद राखिनेछ
सबै याद राखिनेछ
तिमी मसिले झूठ लेख्छौ, मलाई थाहा छ
हाम्रो रगतले किन नहोस्, सत्य लेखिनेछ
दिनदहाडै मोबाइल, इन्टरनेट र टेलिफोन बन्द गरेर
कठ्याङ्ग्रिने रातमा पूरै सहरलाई नजरबन्द राखेर
हथौडा लिएर एक्कासि तिमी मेरो घरमा पसेको
मेरो तन, मेरो अल्पजीवनलाई नष्ट पारेको
मध्यचौबाटामा मेरो छातीमा गोली ठोकेर
सडकमा उभिएर उसै
भीडमा निस्फिक्री मुस्कुराएको
सबै याद राखिनेछ, सबै याद राखिनेछ
दिनमा नजिकै आएर चिप्लो घसेको
सब ठीकै छ भनेर हरबखत लेब्रो तानेको
रात हुनेबित्तिकै
अधिकार माग्नेहरूमाथि लाठी बर्साएको
गोली चलाएको
आक्रमण गरेर मैमाथि,
मलाई नै आक्रमणकारी भनेको
सबै याद राखिनेछ, सबै याद राखिनेछ
कसरी तिमीले देश विघटनको षड्यन्त्र गर्यौ ?
यो पनि याद राखिनेछ
कसरी हामीले देश बचाउने प्रयत्न गर्यौं ?
यो पनि याद राखिनेछ
जब यो कायरताको चर्चा चल्नेछ
तिम्रो नाम याद राखिनेछ
जब यो कायरताको चर्चा चल्नेछ
हाम्रो नाम याद राखिनेछ
हो याद राखिनेछ,
फलामको हथौडाले
जसको उद्देश्य फुटेको थिएन
केही मानिस थिए
तानाशाहको रूपैयाँले
जसको आत्मा बिकेको थिएन
केही मानिस थिए, जो टिकिरहेका थिए
यो आँधी थाम्मिसकेपछि पनि
केही मानिस थिए
जो जीवितै रहे
मृत्युको खबर चलिसकेपछि पनि
परेलाले आँखा छोप्न बिर्सिएला बरू
धरती आफ्नो धुरीमा घुम्न बिर्सिएला बरू
हाम्रा काटिएका पखेंटाको
र हाम्रा भाँचिएका गर्दनको आवाजको
याद राखिनेछ, सब याद राखिनेछ
तिमी रात लेख
हामी जून लेख्नेछौं
तिमी कैदमा राख हामीलाई
हामी खुला आकाश लेख्नेछौं
तिमी उजुरी लेख
हामी मञ्जुरी लेख्नेछौं
तिमी हत्या गर हाम्रो
हामी बनेर भूत लेख्नेछौं
तिमीले गरेको हत्याको सारा सबुत लेख्नेछौं
तिमी अदालतमा चुट्किला लेख
हामी भित्तामा इन्साफ लेख्नेछौं
यति जोरले बोल्नेछौं कि
बहिरोले पनि सुन्नेछ
यति स्पष्ट लेख्नेछौं कि
अन्धोले पनि देख्नेछ
तिमी कालो कमल लेख
हामी रातो गुलाब लेख्नेछौं
तिमी धर्तीमा अत्याचार लेख
आकाशमा इन्कलाब लेखिनेछ
सबै याद राखिनेछ,
सबै याद राखिनेछ
ताकि, तिम्रो नाममा
एउटा धिक्कार पठाउन सकियोस्
ताकि, तिम्रो मुखमा मोसो दलाउन
सकियोस्
तिम्रो नामले तिम्रै बरबाद पारिनेछ
सबै याद राखिनेछ, सबै याद राखिनेछ
(अनुवाद : घनश्याम खड्का)
प्रकाशित : जेष्ठ १३, २०८० १०:३६