कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

‘डार्क फेन्टासी’ का कथा–खजाना

राजकुमार बानियाँ

जोगी जिन्दगीमाथि लेखिएको ‘निर्वेद’ उपन्यासमार्फत परिचित शैलेन्द्र अधिकारी ‘डार्क फेन्टासी’ ले भरिएका कथाको बिटो लिएर आएका छन्, ‘ब्रह्मास्त्र’ । फ्रायड, नित्सेदेखि निरोसम्मका विचारवाहक उनका कथा मानिसको आवरणभन्दा पनि अन्तर्मनको व्याकरण खोतल्न सफल छन् ।

‘डार्क फेन्टासी’ का कथा–खजाना

यी कथाले पाठकलाई अचम्मितभन्दा पनि विस्मित पारिदिने क्षमता राख्छन् । कथापिच्छे मदिरा, चुरोट, भट्टी, घाट, हस्तमैथुन, मृत्यु, सुसाइड आदि प्रसंग घरीघरी आइरहन्छन् । यसमा मानवजनित कुण्ठा, ढोंग, अतृप्ति, क्षोभ, सन्दिग्धता, उकुसमुकुस, जुगुप्सा आदि विषयका विस्मयकारी कथा छन् ।

निश्चय नै आजको मानिस विभिन्न जटिलता र विषमतामा बाँचेको छ । जिन्दगीका बाटाहरू अस्पष्ट र खजमजिएका छन्, विशृंखलित छन् । आम मानिसका जीवनमूल्य खण्डित छन् । उनीहरू एकांगिकता, सन्त्रास, हीनता र विवशताका बन्दी छन् ।

अझ भन्ने हो भने आजको मानिस ‘मास फ्रस्ट्रेसन’मा छ । मस्तिष्कको डिफल्ट नेटवर्क सक्रिय छ । यसले मानिसका इन्द्रियहरूलाई दिग्भ्रमित पारिदिएको छ । आफ्नैबारेमा समेत नकारात्मक सोचाइ आइरहने डिप्रेसनको निसानीरूपी निराशा र कुण्ठा कति संक्रामक छन् भने साइकेडेलिक उपचार नै खोजेका छन् ।

कताकता अत्यास नै लाग्छ, शैलेन्द्रले यस्ता कृष्णपक्षीय कथा कसरी लेखे होलान् ? मानिस (अझ पुरुष) चरित्रभित्रको कुरूपता उदांगो बनाइदिनु कथित नैतिकवान् लेखकहरूलाई चुनौती नै हो । त्यसो त स्वैरकल्पनामार्फत लेखकले मानिसको कुरूप पक्षको चित्रण गरेर सुन्दरताप्रतिको आस्था प्रकट गरिरहेकै हुन्छ ।

शैलेन्द्रका कथा नयाँ हुलियामा त छन् । तर, पुराना कथाबाट सर्वथा मुक्त पनि छैनन् । हरेक स्रष्टाले पूर्ववर्तीका कथाछाप धेरथोर अँगालेकै हुन्छ । जीवनका बहुमुखी यथार्थ प्रत्यक्ष वा परोक्ष रूपमा उद्घाटन गरेकै हुन्छ । यथार्थको शक्ति क्षीण हुँदै जाँदा रचनाको प्रभाव न्यून हुन्छ । स्वाभाविकता र प्रामाणिकताले हृदयमा गहिरो छाप छाड्छन् । शैलेन्द्रका कथाहरूले सहरिया जीवनका म्लान खुसीहरू अनि सूक्ष्म संवेदनाहरूलाई कथान्तरण गरेको मात्र होइन, मनोसामाजिक विमर्शसमेत खोजेका छन् ।

संग्रहमा लामाछोटा १० थान असामान्य कथा खजाना छन् । पहिलो, ‘मथिंगल’ एक दारूबाजको कथा हो । हरेक दिन नाइटाले आकाश देख्ने गरी दारू धोक्ने रुटिनले निम्त्याएको समस्या छ । ३५ पृष्ठ लामो यो कथा औपन्यासिक ढपमा बुनिएको छ । यसको आरम्भ पनि बेजोड छ, ‘आजको दिन बडो झुर होलाजस्तो छ । बिहान उठ्नासाथ श्रीमतीसँग भनाभन भयो ।’ ‘....सम्झिनुस् त, एकाबिहानै ब्युँझिँदा (तपार्इंको) लिंग गायब छ ?’

लोग्नेलाई सुहागरातको पहिलो खेपबाटै घृणा गर्ने पत्नीको कथा छ, ‘चित्तरञ्जन’ मा । दिउँसो व्यापार, साँझ रक्सी खाने पतिबाट पीडित पत्नीको मनोदशा यसमा प्रकट गरिएको छ । ‘बयलपुर’ मा सामाजिक नियम, कानुन, मर्यादा र पाखण्डको निर्मम शल्यक्रिया छ । कथावाचक शुद्ध, अर्गानिक र आफ्नै ट्रेडमार्क बनाउने कथा खोज्न सहरबाट गाउँतिर धाएको छ । त्यसको पात्र भन्छ, ‘मलाई प्रस्ट थाहा छ, धूमपान स्वास्नीका लागि हानिकारक छ ।’ कथाको अन्त्यमा पाठकलाई नै सोधिएको छ, ‘खासमा मलाई यी कथा लेख्नै मन छैन । म के गरूँ ?’

आफ्नै पात्रको घेराबन्दीमा परेको लेखकको कथा हो, ‘पात्रद्रोह’ । उनीहरू लेखकीय हैकमको विपक्षमा छन्, पात्रको सर्वोच्चताको पक्षमा छन् । उनीहरू पात्रमाथि लेखकीय विभेद, दमन र अन्यायविरुद्ध उत्रिन्छन् । यसमा राजनीतिदेखि साहित्यिक विसंगतिसम्मको पटाक्षेप गरिएको छ । यसको प्रारम्भ पनि गजबै छ, ‘हिजोआज समयले भाङधतुरो खाएको छ कि मेरो गिदीमा ग्यास्टिक बढेको हो ?’

स्वैरकाल्पनिक कथा हो, ‘अप्रतिम यात्रा’ । फकिर लेखकले विभिन्न भगवान्सँग भेटघाट गरेको रुचिलो प्रसंग छ । ऊ महादेव खोज्दै पशुपति, श्रीकृष्ण खोज्दै पाटन, बुद्ध खोज्दै स्वयम्भू पुग्छ । यति मात्र होइन, जिजस खोज्दै जेरुसेलम, अल्लाह खोज्दै मक्का मदिना, मार्क्स, नित्से, आइन्सटाइन, फ्रायड खोज्दै विभिन्न ठाउँमा पुगेको छ । ‘नगरकोटिएन रेसिपी’ घुसेकाले होला, नगरकोटी स्वयं पात्रका रूपमा टुपुल्किएका छन् ।

कथाले जीवनका धेरै विडम्बनाहरूलाई एकै ठाउँमा ल्याएको छ । अहिलेको युगमा मानिस मात्र होइन, भगवान् नै दुःखी छन्, कुण्ठित छन् । भगवान् स्वयं डायबिटिज, कोलेस्ट्रोल, युरिक एसिड आदिबाट भयभीत छन् । तर, यसलाई कथासूचीमा ‘अप्रितम यात्रा’ भनिएको छ । सायद यो हिज्जेकै गल्ती हो । कथा कस्तो छ भने ‘अप्रतिम’ वा ‘अप्रितम’ जे भन्दा पनि खासै फरक परेको छैन ।

‘हराएकी पात्र’ आधाउधी भएको कथाकी प्रमुख पात्र अचानक हराएको विसंगत कथा हो । यसमा पात्र कसरी हराई ? पत्ता लगाउने जिम्मा पाठकले नै पाएका छन् । यसमा मानसिक वार्डको कथा जोडिएको छ । कथाले भन्छ यो सिंगो संसार नै एउटा मानसिक हस्पिटल हो । हामी यो हस्पिटलका विभिन्न वार्ड हौं । कोही जनरल वार्ड, कोही क्याबिन त कोही डिलक्स । विविध चित्र र चित्राक्षरले कथामा प्रयोग ज्यादा झल्किन्छ ।

‘इति’ ‘हास’ पुरुष मनोविज्ञानको कथा हो । स्त्रीको जवानी, इच्छा र खुसी पुरुषको नियन्त्रणमा छ । पुरुषको दिमागमा भएको लिंग स्त्रीको देहमा निस्फिक्री विचरण गर्छ, कल्पनामै निर्वस्त्र पारिदिन्छ र करणी गरिदिन्छ । काव्यात्मक बान्कीको यो कथामा नारीत्वको पक्षपोषण छ ।

राजनीतिक व्यंग्यले भरपूर कथा छ, ‘रिसर्च ः अ पोलिटिकल स्टोरी’ । एउटा विद्यार्थी नेताले राजनीतिलाई उद्यम बनाएर कसरी करोडपति भयो भन्ने देखाएको छ । राजनीतिक व्यंग्यप्रधान यो कथामा संरचनागत जटिलताबोध हुन्छ । यसको शीर्षक पनि सार्थक छ । ‘मनोविकार’ एक शिक्षकको मानसिक अन्तर्द्वन्द्वको कथा हो । मेडिकलको प्रवेश परीक्षामा गार्ड बसिरहेका बेला उसमा अनेक विचार आउँछन् । खासगरी विद्यार्थीलाई आदर्श घोकाउनुपरेको, तर आफैं भ्रममा बाँच्नुपरेकामा उसलाई चित्त बुझेको छैन ।

अन्तिम कथा ‘सुसाइड’ को पात्र मृत्युलाई औधी मन पराउँछ । मृत्युको डाइहार्ड फ्यान हुँ भन्छ । मृत्युलाई साक्षात् अनुभव गर्न चाहन्छ । खूब स्वाद लिईकन मर्न चाहन्छ । सुसाइड नोटहरू पढ्छ । त्यस्तै प्रकारका सिनेमा हेर्छ । ओशोको ‘म तिमीलाई मृत्यु सिकाउँछु’ कण्ठ पार्छ, गुगलमा पनि त्यस्तै सामग्री सर्च गर्छ । महाप्रस्थानका लागि शुभकामना दिन्छ ।

निश्चय नै कथा मान्छेकै चेतनाबाट जन्मेको अभिव्यक्ति कला हो । कथा न फगत पूर्वघटनाको स्मृति हो, न त घटना र सामाजिक दृश्यको विवरण हो । यसमा लेखकीय अन्तर्मनको अनुभूति पनि हुन्छ । यी कथा भइसकेका घटनामात्र होइनन्, हुनेवाला घटना पनि हुन् ।

परम्परागत कथातत्त्व विघटनोन्मुख रहेको सग्लो दृष्टान्त हो, ‘ब्रह्मास्त्र’ । यसमा समावेश अनौपचारिक कथाले यथास्थितिबाट मुक्ति खोजेको आभास हुन्छ । पात्रका भौतिक–सामाजिक पक्षभन्दा अन्तर्मनका नग्न यथार्थलाई सूक्ष्म सूत्रमा ढाल्नु, नयाँनयाँ पाठ्यभूगोल बनाउनु अनि नौलो स्वाद र रुचि पस्कनु शैलेन्द्रको कथाकारिताको विशेषता हो । उनी सकेसम्म प्रयोगशील हुन खोजेका छन् । कतिपय कथ्यहरू दोहोरिएजस्तो नलाग्नेचाहिँ होइन ।

त्यसो त कतिपयले यी टेढामेढा कथाहरूलाई ‘एडल्ट सर्टिफिकेट’ पनि दिन सक्छन् । तर, अश्लीलै भनिहाल्ने हतारो नगर्दा हुन्छ । यौन आफैंमा न श्लील हुन्छ, न त अश्लील हुन्छ । सुखेच्छा मानिसको नैसर्गिक चाहना हो । उनका कथासाहित्य यस्तै मात्र हो वा यस्तै हुनुपर्छ भन्ने कुनै मानक छैन । साहित्यले कुनै पनि जडताको जडौरी भिर्नु जरुरी पनि छैन । आजका कथा हिजोको भन्दा निश्चय नै फरक हुन्छन् । तर, आजको कथामा पनि शैलेन्द्र अधिकारीका कथा पृथक् छन् ।

कतिपयले शैलेन्द्रका कथा बुझिएनन् भन्ने ‘चान्स’ पनि त्यत्तिकै छ । किनभने झीनो कथानकमा उभिएका यिनको संरचना रैखिक छैन । कथाभित्र उपकथाहरूका पत्रैपत्र छन् । हाँगाबिँगा हाल्दै जाँदा कथा कताकता नाटकीय मोडमा पुग्छ, पाठकले यकिन गर्नै सक्दैन । तर, पाठक विकर्षित नै हुने स्थिति छैन ।

एकचोटि पढ्दा खर्र बुझिनुपर्ने बाध्यता समाचारको होला, साहित्यमा छैन । सम्प्रेषणीयता व्यक्तिसापेक्ष हुन्छ । शैलेन्द्रका कथा नबुझिएलान्, तर एकपटक बुझ्ने प्रयास पनि त गर्नुपर्‍यो । आजको जटिल जीवनका अन्तरतम सत्यको साक्षात्कारका निम्ति सायद यस्तो शैली रोजिएको होला ।

उनको फरक शैलीलाई स्वागत गर्न कन्जुस्याइँ गर्नुपर्ने देखिँदैन । अकथा भनेर अस्वीकृत गर्नुपर्ने कारण पनि छैन ।

प्रकाशित : जेष्ठ १३, २०८० १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?