कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०
रातो मच्छिन्द्रनाथ

जब बुंगद्यः कलशमा थुनिए

प्राचीन आख्यान हुँदै हजारौं वर्षको यात्रापछि समन्वय र सहअस्तित्वका जीवन्त सम्पदा बनेका हुन्– वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ
मल्ल के. सुन्दर

ललितपुर जावलाखेलमा भोटो देखाइसकेपछि बुंगद्यः (रातो मच्छिन्द्रनाथको जात्रा) सम्पन्न हुन्छ । कहीँ न कतै वर्षैभरि सांस्कृतिक गतिविधि भइरहने नेपालमण्डलभित्रको खास विशेषता हो– जात्रा–उत्सव । बुंगद्यः पनि तीमध्ये एक हो । तर, जब जात्राभित्रको रीति, परम्परा, व्यवस्था र आस्थाका आयामहरूको अध्ययन गरिन्छ, तब बुंगद्यः केवल एक उत्सव वा लोकव्यवहारमा मात्रै सीमित रहँदैन ।

जब बुंगद्यः कलशमा थुनिए

लोकाख्यान र जनश्रुति

कामारुकापाक्षसम्म नेपालमण्डलका राजा नरेन्द्रदेवको नेतृत्वमा गरिएको जात्रा, त्यो टोलीमा संलग्न तान्त्रिक बन्धुदत्त, कृषक ललित ज्यापु र कर्कोट नागसम्बन्धी लोककथन सर्वविदितै छ, त्यसको पुनरोक्ति आवश्यक छैन । आख्यानिक कथनहरूमा अलौकिक प्रसंगको बाहुल्यता हुनु सामान्य नै हो । रातो मच्छिन्द्रनाथको नेपालसम्मको यात्रा विवरण पनि यो प्रवृत्तिबाट मुक्त छैन ।

रैथानेहरूको जीवन प्रक्रियाअन्तर्गत लामो समयदेखि संस्कृतिका रूपमा निरन्तर चलिआएको बुंगद्यः जात्रा प्राचीन आख्यानको विन्दुबाट वर्तमान आस्थाको तहसम्म विस्तारित भइसकेको छ । तसर्थ यस जात्रालाई सोही कोणबाट बुझ्नु आवश्यक छ ।

ऐतिहासिकता

‘श्री नरेन्द्रदेव वर्ष ३५ तस्य आचार्य बन्दुदत्त द्वयेन, श्री बुग्मलोकेश्वर भट्टारकस्य जात्रा कृता भवति ।।’ ‘गोपालराज वंशावली’ मा उल्लेख गरिएका यी पंक्तिले बुंगद्यः जात्राको ऐतिहासिकता पुष्टि गर्छ । बज्रयानीहरूको पवित्रग्रन्थ ‘स्वंयम्भुपुराण’ मा गरिएको वर्णन ‘अतित कलिवर्षेषु शून्य द्वन्द्व र साग्निषु, नेपाले विजये श्रीमानर्यावलोकितेश्वर लोकेश्वर’ को अर्थ हुन्छ– बुंगद्यः कलिगत वर्ष ३६०० मा नेपाल ल्याइएको हो । हाल ५१२४ कलिगत संवत्को हिसाबले त्यो १५२४ वर्षअघिको घटनाक्रम हो । तर, नरेन्द्रदेवको राज्यकाल (इस्वी ६४३–६७९) गणना गर्दा त्यो लगभग १३८० वर्षभन्दा पर देखिँदैन । करिब दुई सय वर्षपछि उनकै छैटौं पुस्ताका सन्तति वरदेव सत्तामा रहँदा रथयात्राको परम्परा चलेको थाहा हुन्छ लिखतहरूबाट । कर्णालीका शासक जयतारी मल्ल नेसं ४१० मा उपत्यका प्रवेशक्रममा बुंगमलोकेश्वर दर्शन गरेर फर्केको ऐतिहासिक सन्दर्भले त त्यस कालखण्डसम्म आइपुग्दा बुंगद्यः निकै प्रतिष्ठित भइसकेको बोध हुन्छ ।

बहुलआस्थाका साझा प्रतीक

मच्छिन्द्रनाथ कौलतन्त्रका मूल गुरु हुन् । नवनाथ भनिने हठ योगी र शैव मतमा पनि मच्छिन्द्रनाथको स्थान उच्च छ । तर, नेपाल उपत्यकाभित्रका रैथानेले बुंगद्यःलाई करुणामय, लोकेश्वर, अवलोकितेश्वर, पद्मपाणि आदि नामबाट बोधिसत्त्वको स्थानमा राखेका छन् । तिब्बतीहरूले त यिनलाई लुइपा, मीनपाजस्ता महासिद्धका अविभावकै ठान्छन् ।

वृष्टिदेव अर्थात् सहकालका देउता भनेर विशेषतः रोपाइँको सफलता र राम्रो उब्जनीको श्रेय यिनैलाई दिइन्छ । वैष्णवहरूका लागि बुंगद्यः नारायणकै प्रतिरूप हुन् । यिनको मुखाकृति रक्तवर्णको हुने हुँदा कतिपय प्रसंगमा विरञ्चिनारायणको रूपमा पनि वर्णन गरिएको छ ।

कामारुकापाक्षबाट नेपालमण्डलसम्म ल्याइपुर्‍याइएको रातो मच्छिन्द्रलाई यहाँका रैथानेले विविध धर्म, संस्कृति, आस्था र परम्पराका एक साझा अराध्यदेवको रूपमा प्रतिस्थापित गरे । बहुल धार्मिक आस्था, रीति, संस्कारबीच समन्वय र सहअस्तित्वको जीवन्त सम्पदाका रूपमा पनि निरन्तरता दिए ।

विशिष्ट सौन्दर्यचेत र शिल्प

समुदाय र व्यक्तिको उत्साह, उमंग, अन्तर्मनको खुसी अभिव्यक्त गर्ने एउटा सार्वजनिक अवसर हो– जात्रा, पर्व, मेला । यसका अनेकन् स्वरूप हुन सक्छन् । त्यसैले नाचगान, बाजागाजा, सांस्कृतिक गतिविधि, मनोरञ्जन जात्राको अनिवार्य पाटो हो । व्यक्तिलाई अनुवन्धित गर्न कुनै अलौकिक आख्यान पनि जात्रासँग गाँसिएकै हुन्छ । तन्त्रसिद्धिको बलमा कलशभित्र कब्जा गरी ल्याइएको थियो बुंगद्यः । यो साकार रूपमा नेपाल प्रवेश भएको थिएन । ललितपुर यम्पि विहारका आचार्य सुनयश्री मिश्रद्वारा योगसिद्धिबाट बुंगद्यःको आकृतिको अनुभूत गरिएअनुसार रातो मुखाकृतिको बुंगद्यःको प्रतिमूर्ति तयार गरियो । अनि त्यही मूर्तिमाथि भक्तजनको सहज पँहुच होस् भनेर रथजात्रा सुरु गरियो । सामान्य बुझाइमा श्रम तथा सामग्रीहरूको व्यवस्थापन हो– रथ निर्माण । त्यसमा सीप, प्रविधि र ज्ञानको उत्तिकै खाँचो हुन्छ । किला, काँटाबिनाको त्यो विशाल बुंगद्यः रथको आकृतिबाटै प्रविधि, शिल्प र क्षमताको सहज बोध हुन्छ । तर, त्योभन्दा महत्त्वपूर्ण पाटो हो– स्थापित संस्कृतिजन्य र आस्थागत भावनालाई सौन्दर्यचेतसहितको भौतिक स्वरूपमा रूपान्तरण गर्ने कलाकारिता, शिल्प र क्षमता ।

उचाइ ३२ हात, चौडाइ ३२ हात, रथको भौतिक आकारको त्यो केवल गणितीय नाप होइन, सांस्कृतिक मान्यताअनुसार ३२ लक्षणले युक्त सिद्धान्तको प्रतीकात्मक बोधगम्य प्रयास पनि हो । रथको धरातलीय आधार ती भीमकाय काठे पांग्राका वृत्त पनि त्यसै मान्यतामा बत्तीसहाते नै छन् । बौद्ध महापण्डित हेमराज शाक्यअनुसार, बुंगद्यः रथको वास्तु संरचना मूलतः बज्रयानी षडाक्षरी बीजमन्त्र ‘ॐयँरँवँलँसुँ’ सिद्धान्तअनुरूप छ । प्रथम बीज अक्षर ॐ ब्रह्माडमण्डल हो, जहाँ रथ खडा गरिन्छ । यँकार वायु र त्यसैको भौतिक आकृति हो गोलाकार रथको चार पांग्रा । रँ बीज अक्षरले अग्निमण्डल बोध गराउँछ, जसको प्रतीकस्वरूप ज्वालायुक्त त्रिनेत्र हो, जुन पांग्रामा अंकित छ । वँकार बीज अक्षरले जलमण्डलको बोध गराउँछ, कर्कोटनाग जो जलाधिपति हुन तसर्थ उनलाई अग्रभागमा घःमाःको स्थान दिइएको छ । सोही जलमण्डलबाट उत्पत्ति भएको भूमण्डलको अर्थमा चार मोहदायुक्त रथ खडा गरिन्छ । अनि त्यसमाथि सुँकार बीज अर्थात् सुमेरुमण्डलको अर्थमा बत्तीसहाते रथ बनाइन्छ । शिखर शैलीमा उभ्याइएको रथ यथार्थमा महायानी बौद्ध आस्थाको त्रियोदशभुवन हो अनि त्यसको माथिल्लो स्थान तुषिता भुवन । त्यसैले रथको त्यस शीर्षभागमा सहस्त्र पत्रयुक्त कमल अर्थात् ग्वाराबाय्म्वःमा अमिताम बुद्ध राखिन्छ ।

आधारस्तम्भका रूपमा दुई/दुईवटा गरी बाँधिएका गथांमुग– चार खाँबो अर्थात् आठवटा बौद्ध दर्शनका मूल आधार आर्यअष्टाङ्गिक मार्गका प्रतीकका अर्थमा छन् । त्यसैगरी बुंगद्यः मूर्ति राखिने रथको मुख्यस्थानको चारतिर फर्किएका द्वार पनि स्मृतिज्ञान– चत्तुस्मृत्युपस्थान – काया, वेदना, चित्त र धर्मानुस्मृत्युस्थानलाई बोध गराउने कलात्मक प्रस्तुति हुन् । त्यस वरपर सजाइएका सात–सातवटा स्वर्ण हंस ब्रह्मा, गरुड विष्णु, वृष महेश्वर, वायुपंखी घोडा सूर्यलाई बोध गराउने कलात्मक अभिव्यक्ति हुन् । अनि चारतिरका आठवटा वायुपंखी सिंह स्वयं बुंगमलोकेश्वर हुन् । त्यस्तै रथयात्रालाई बिनाविघ्न सम्पन्न गराउने रक्षकका प्रतिरूप चारवटा पांग्राहरू क्रमशः हलसिद्धि, लुप्तहास, लुन्दी र कुन्दी भैरव मानिन्छ ।

माथिदेखि तलसम्म हरियो पानीफूलबाट ढाकिएको शिखर शैलीको रथ एक अर्थमा पर्वत माला हो भने त्यसको अग्रभागमा गजुरदेखि घःमाःसम्म सजाइएका पताः त्यसै पर्वत मालाबाट बग्दै गरेको पवित्र झरना । आस्था, विश्वास, परम्परा र संस्कारको भावनात्मक तथा अमूर्त पक्षलाई यसरी कलात्मक शैलीमा मूर्त अभिव्यक्ति दिन सक्ने गुण वास्तविक अर्थमा विशिष्ट सौन्दर्यचेत र शिल्प क्षमता हो, जुन बुंगद्यःको रथको वास्तुशैलीले पुष्टि गर्छ ।

समुदाय–सहभागिता र दायित्वबोध

जात्रा हो– हेर्ने, रमाउने र रमिते बन्नेको कमी हुँदैन । तर, बुंगद्यः जात्राजस्ता अमूर्त सांस्कृतिक सम्पदा जीवन्त राख्दा रैथानेहरूमा विद्यमान सांस्कृतिक दायित्वबोध र सामूहिक सहभागिताको परम्परा पनि उजागर हुन्छ । जात्रापूर्व रथ निर्माणार्थ बुंगमती ख्वय्चागांका ब्वसीँ थरका किसानहरूले जंगलबाट आवश्यक काठको चाँजोपाँजो गरिसक्छन् । दुई साताअगावै हाम्वः थरका मानिसहरू रथ बनाउने ठाउँको सीमांकन गर्न काठको किलो गाड्छन् । त्यसैलाई संकेत मानेर वाराही थरका किसानहरू त्यहाँ रथ बनाउन सुरु गर्छन् । भैरबको प्रतीक चार पांग्रामा त्रिनेत्र लेख्ने जिम्मेवारी पुं चित्रकारले निर्वाह गर्छन् । अन्तिम चरणमा माथिदेखि तलसम्म रथलाई जलफूलले सजाउने काम भने यँवाहरूको काँधमा पर्छ । यस अतिरिक्त यँवाहरूले नै रथमा वेतले कस्ने, रथ तान्न डोरी बटार्ने काम गर्नुपर्छ ।

बुंगद्यःको रथारोहण पूर्व सम्पन्न गरिने जलअभिषेक–महास्नान न्हवं पश्चात् मूर्तिको मुखाकृतिको मर्मत र रंगरोगन भने नेकू जातका मानिसहरूले भ्याइसकेका हुन्छन् । रथयात्रा हाँक्ने काम भने ललितपुरकै हिन्दु सम्प्रदायी ‘सेसे बाज्या’ भनेर चिनिने राजोपाध्यायहरूले गर्छन् । रथको गति नियन्त्रणको भूमिका घःकू थरका व्यक्तिहरूलाई दिइएको छ ।

पुजारीको जिम्मा भने बुंगमतीका शाक्यहरू र तान्त्रिक आचार्य बन्धुदत्तका सन्ततिका प्रतिनिधिका रूपमा काठमाडौंका बज्राचार्यहरू पानेजु पदमा हुन्छन् ।

अनौठो र फरक प्रचलन

मूर्ति एउटै, तर तिनको प्रतिस्थापना दुई स्थानका मन्दिरभित्र गरिनुपर्ने बुंगद्यःसम्बन्धी रीति आफैंमा अनौठो छ । सूर्य दक्षिणयाणि हुँदा ललितपुर, तःबहालस्थित मन्दिरमा र उत्तरयाणी हुँदा बुंगमतीको मन्दिरमा छ–छ महिना राखेर पूजाको व्यवस्था गरिनुपर्ने प्रचलन सम्भवत अन्यत्र छैन । वैशाख कृष्ण प्रतिपदा (चउलागाः १) का दिन लगनखेल दबुलीमा बुंगद्यःको न्हवं कलशाभिषेक–जलसिंचलन बौद्धतन्त्र विधिअनुसार भव्य रूपमा सम्पन्न गरिन्छ । तर, यस विधि परम्पराको अन्तर्य भने बुंगद्यः–रातो मच्छिन्द्रनाथको आयु संस्कार त्याग अर्थात् मृत्यु हुनु हो । तसर्थ अभिषेक कर्म सम्पन्नपछि स्थानीय परम्पराअनुसार बाजासहित बुंगद्यःको मूर्तिलाई छोपछाप गरेर शवयात्रा नै गरिन्छ ।

यद्यपि कलशाभिषेकपूर्व नै बुंगद्यःको मूर्तिबाट जीवन्यास विधिबाट हंस उतारिन्छ र त्यसलाई एउटा पवित्र ब्रह्म कलश (ब्रह्मक्वं) भित्र स्थानान्तरण गरिसकिएको हुन्छ । दुई सातासम्म गुह्यस्थानमा सुरक्षित राखिएको सोही ब्रह्मक्वंबाट चैत्र शुक्ल पूर्णिमा (चउलाथ्व १५) का दिन मध्यरातमा बौद्ध तन्त्र विधिअनुसार बुंगद्यःको हंस निकालिन्छ र मूर्तिमा जीवनन्यास गरेर पुनःर्जीवन दिइन्छ ।

बोधिसत्त्वहरू पारमिता गुणबाट निर्वाणको अवस्थामा पुगिसकेको भए पनि आयु संस्कार त्याग नगरी जगत् कल्याणका लागि फेरि लौकिक जीवनमै फर्केर आउँछन् भन्ने महायानी बौद्धहरूमा जुन दार्शनिक मत छ, त्यसैको लाक्षणिक अर्थमा प्रत्येक वर्ष बुंगद्यःको यसरी न्हवं अनि जीवनन्यास गरिन्छ । यथार्थमा बुंगद्यः पुरुष चरित्र हो । फेरि पनि न्हवंपछिको नवजीवन प्रवेशको बुझाइमा एक नवजातक छोरा र छोरीको रूपमा दुवैखाले दश कर्म पनि गरिन्छ ।

साह्रै अनौठो कुरा हो, भोटो जात्रापछि बुंगद्यःको मूर्ति साँझको समयमा बुंगमती फर्काउँदा बुंगमतीका जनसमुदायले छ्वाली र परालको राँको बालेर वातावरणलाई कोलाहल र आतंकपूर्ण बनाउँछन् । भनिन्छ, कामरूपबाट राक्षसगणहरू लुकीछिपी आउन सक्ने र मच्छिन्द्रनाथलाई लुटेर लैजा सक्ने आशंकामा सतर्कताका लागि यस्तो व्यवहार गरिएको हो । तर, त्योभन्दा पनि विचित्र नख्खु खोलापारि पुगेदेखि बुंगमती प्रवेश नहुँदासम्म सहभागी ‘कै भौ’ भनेर समवेत उच्चारण गर्छन् र पुरुषहरू अत्यन्तै अश्लील गाली बक्दै जान्छन् । बुंगमती पुग्दानपुग्दै त्यहाँका महिलाहरू बुंगद्यःलाई अवरोध गर्दछन् अनि लाञ्छना लगाउँछन्– ‘जात्राभरि कहाँकहाँ कताकता गएको होला, कोकोसंग संगत गरेको होला, बुंगमती नगरमा तिमीलाई प्रवेश छैन ।’ अनि प्रचलनअनुसार, बुंगद्यःको प्रतिनिधिस्वरूप पानेजुहरूले क्षमायाचना गरेपछि मात्र मन्दिरभित्र मूर्ति पस्न दिइन्छ ।

ललितपुर नगर परिसरमा मनाइने भए पनि यसलाई उपत्यकाभित्रका सबै समुदायको साझा पर्व हो भन्ने बोध गराउन पुल्चोकबाट गाःबहालसम्मको पहिलो दिनको जात्रालाई कान्तिपुरवासीहरूको जात्रा मानिन्छ । त्यसपछि नुगःसम्म तानिने रथ यात्रालाई भक्तपुरवासीका नाममा समर्पित गरिन्छ । तेस्रो दिन लगनखेलसम्मको यात्राको अंश मात्रै ललितपुरवासीका लागि हो । सबैभन्दा पछिल्लो जाउलाखेलसम्मको रथयात्रा कीर्तिपुर र त्यस वरपरका सात गाउँलेका लागि भनेर मानिन्छ । सबैको अपन्वत्व स्थापित गराउने यस जात्राको यी प्रचलन उल्लेख्य छ ।

...

हजार वर्षभन्दा लामो समयदेखि निरन्तरता पाइरहेको यो सम्पदा/संस्कृतिको अन्तर्य, आशय, मूल्य र मान्यता आजका लागि पनि अनुकरणीय तथा स्तुत्य छ । त्यो हो धार्मिक, आस्थागत बहुलतामा समन्वय, सहअस्तित्व र सहकार्यको सामाजिक भावना । अनि सार्वजनिक परम्परा, संस्कृति, रीति र सम्पदाको सवालमा समुदायगत दायित्वबोध र जिम्मेवारी निर्वाहमा प्रतिबद्धताको जीवन्तता ।

यस जात्राले स्थापित गरेको सबैभन्दा सुन्दर, प्रशंसनीय आदर्श हो– देसवासी र मुलुकलाई विपद् पर्दा बुंगद्यः ल्याउन कामारूपसम्मको अति कठोर यात्राको अगुवाइमा तत्कालीन शासक नरेन्द्रदेव आफैं अघि सरे, बन्धुदत्त आचार्यजस्ता बौद्धिक व्यक्तित्वको निर्णायक भूमिका रह्यो । अनि श्रमिक वर्गको रथंचक्र/ललित ज्यापूको सहभागिता र तत्कालीन सामाजिक मूलप्रवाहबाहिरको कर्कोटनागसमेतको समावेश आवश्यक ठानियो । त्यही सहकार्य र साझा प्रयासबाटै नेपाल राष्ट्रको संकटमोचन भयो । यो कार्यशैली, भावना र आदर्श आजको नेपालका लागि पनि उत्तिकै अनुकरणीय छ ।

प्रकाशित : जेष्ठ १३, २०८० १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले नेपालमा फेरि हवाइ सुरक्षाको प्रश्न उठेको छ । पटकपटक दुर्घटना भइरहनुको मुख्य कारण के होला ?

×