कविता

आमाहरुविरूद्ध एक जरूरी कारबाही

विनोदविक्रम केसी

स्वप्निल !
एक बाजी त
आमाहरूसँग पनि लड्नुपर्थ्यो हामीले
बूढीमाउहरूलाई एकचोटि त स्वाद चखाउनैपर्थ्यो !

आमाहरुविरूद्ध एक जरूरी कारबाही

हामी जो लडिरहृयौं

शासक, सालिक

धर्मशास्त्र, ईश्वर

नीच अमेरिका, ग्लोबमारा क्यापिटलिजम

कागजको फूल, प्लास्टिकको इन्द्रधनुष...

कोसँग लडिएन ?


डियर !

एक बाजी त

आमाहरूसँग पनि लड्नुपर्थ्यो हामीले


सहरमा स्वप्निलको कत्रो नाम छ

माइतीघर मण्डलामा ऊ गर्जेको दिन

सरकारी जासुसहरू शान्ति–सुरक्षाको हाकिमसापलाई रिपोर्ट बुझाउँछन्—

‘बारूदभन्दा विस्फोटक

एउटा कवि हिंडिरहेको छ खुल्लमखुला

होस पुर्‍याइसेला !”

तर, बूढीमाउहरूले हामीलाई सदा बालखै सम्झेर

अन्याय गरिरहे

–गाइनेकीराको पुच्छरमा धागो बाँधेर खेलिरहको उल्लु बच्चा

–ग्यान्टिस लुज भएको कट्टु सम्हाल्दै

पाङ्ग्रा गुडाइरहेको सिंगाने फुच्चे

–सुन्तलाकेस्रे पिपरमेन्ट नपाउन्जेल

खुट्टा बजारेर रोइरहेको जिद्दी केटो


हामी उनीहरूका नजरमा, बस्, बालखै भइरहृयौं


तिमीले आमा गुमाएको साँझ

भयभीत भएर सोचिरहें म—

यो खुनी मान्छेहरूले बनाएको देशलाई

अब कसरी झेल्ला एउटा सोझो मान्छेले ?


मर्ने बेला तिम्री आमाका रित्ता आँखाहरू

तिम्रो खुइलिएको सर्टमा टाँसिएका थिए

सायद उनी सोधिरहेकी थिइन्—

यो असफल मान्छे को हो ?

अफिसर, डाक्टर, इन्जिनियर, व्यापारी वा जग्गा दलाल...

यी केही पनि हुन नसक्ने

यो असफल मान्छे को हो ?

यतिखेर त यसले लाउनुपर्थ्यो एउटा सानदार कोट

जसको खल्तीबाट एउटा वित्तीय गुलाबले चियाउनुपर्थ्यो...

यार !

आमाहरूलाई त

हामीलाई तुच्छ कुराको दुर्व्यसन नभएकामा गर्व हुनुपर्थ्यो


दुर्व्यसनै के थियो र हाम्रो

यत्ति हो, कहिलेकाहीं ठर्रा खाएर

मातिदिन्थ्यौं बेस्कन र वेदनालाई ननस्टप चुट्किला सुनाइदिन्थ्यौं

यत्ति हो, यदाकदा अघिल्लो रातको हृयाङ काट्न

एक बोतल शुभप्रभात लिएर बस्थ्यौं

र, त्यसैको सायङ्कालीन अवतारसँग जिस्किरहन्थ्यौं


आमाहरूले बुझ्नुपर्थ्यो

कसैको रगत पिउनु पो दुर्व्यसन हो

हामीलाई सबै–सबैले दिए धोका

क्रान्तिका हिरोहरूले जीवनवादी एजेन्डाहरूलाई

पाइखानामा लगेर पोखिदिए असरल्ल

साथीहरूले भरोसा मुस्कुराउँदै

अर्जापिरहे चक्कु र बनाइरहे हाम्रो पिठ्युँलाई उपनिवेश

देशको के कुरा गर्नु र ?

देश त देशै भइगयो...


आमाहरू पनि अन्ततः धोकेबाज निक्लिदिए

सारा धोकेबाजहरूविरूद्ध लड्दालड्दा

थाकिसकेका थियौं हामी

र, ठीक त्यतिखेर

हामीलाई आमाहरूले काखको ब्रहृमाण्डबाट निकाला गरिदिए


मर्ने बेलामा उनीहरूले

हामीलाई असफल ठान्ने धृष्टता गरिरहे—

“यसको केही पनि बन्दोबस्त भएन”


के हाम्रो इमानदारी सफलता थिएन ?

के हाम्रो असलप्रतिको प्रेम सफलता थिएन ?

के दुष्टहरूसँग हामीले बेसाएको दुस्मनी सफलता थिएन ?


हामीले गल्ती गर्‍यौं, स्वप्निल !

गल्ती गर्‍यौं, यार !

आमाहरूविरूद्ध पनि जरूरी थियो एउटा कारबाही

बूढीमाउहरूलाई हामीले जुलुसमा ल्याउनुपर्थ्यो ।

प्रकाशित : जेष्ठ १३, २०८० १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?