कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘किताबबाटै श्रापित यो जिन्दगी’

कवि युयुत्सु आरडी शर्माको कवितासंग्रह ‘लस्ट होरोस्कोप’ हालै प्रकाशित छ, जसमा कोभिड महामारीको अनिश्चतता, डर, अन्धकार र त्यसबेला मान्छेले गरेका संघर्षका कथा छन् :

‘किताबबाटै श्रापित यो जिन्दगी’

हजुरबाका किताब बेचेपछि

किताब एक किसिमले मेरो जीवनको अभिन्न अङ्ग नै बनेको छ । म सधैं किताबहरूले नै घेरिएको हुन्छु घरमा र घर बाहिर । कहिले त लाग्छ, म किताबहरूमा केन्द्रित भएर जीविका चलाउन श्रापित छु ।

सानो छँदा म मेरा हजुरबुबासँग हुर्किएँ, जो किताब धेरै मन पराउनुहुन्थ्यो र स्थानीय स्कुलमा अङ्ग्रेजी पढाउनुहुन्थ्यो । उहाँले ब्रिटिसराजमा बेलायतीहरूसँग अङ्ग्रेजी पढाउने तालिम लिनुभएको थियो । उहाँसँग जोनाथन स्विफ्ट, शेक्सपियर, टमस हार्डी, वर्डस्वर्थ आदि ठूला लेखकका कालजयी किताबहरूको खजाना नै थियो । उहाँ ती किताब काठको ठूलो सन्दुकभित्र जतनसाथ राख्नुहुन्थ्यो । सात वर्षको उमेरमा मेरो प्यारो हजुरबुबा बित्नुहुँदा मैले उहाँका सम्पूर्ण किताबहरू चकलेट र इमिली खान अलिअलि गर्दै बेचेर सिध्याएँ । त्यसैको श्रापले गर्दा हो म अहिले जीवनभरका लागि किताबमार्फत आफ्नो र परिवारको जीविका चलाउन बाध्य छु ।

हालसालै मैले पढेका पुस्तकमध्ये सबैभन्दा मार्मिक अस्ट्रेलियाली उपन्यासकार फेलिसिटी फोकको उपन्यास ‘लाइटनिङ’ (चट्याङ), न्युयोर्क टाइम्स बेस्ट सेलिङ लेखिका सुजान सापिरोको भर्खरै प्रकाशित किताब ‘द फर्गिभनेस टुर : हाउ टु फाइन्ड पर्फेक्ट अपोलोजी’ (क्षमाको यात्रा : पूर्ण माफी कसरी पत्ता लगाउने) र फ्ल्यास फिक्सन विधामा कलम चलाउने प्रसिद्ध चिनियाँ लेखक लाओ माको उपन्यास ‘एन एक्स्ट्रा अर्डिनरी इन्टरभ्यु’ (एक असाधारण अन्तर्वार्ता) हुन् ।

सुटकेसमा सन्तान

फोकको ‘चट्याङ’ उपन्यासलाई प्रेम, आप्रवास र पर्यावरणको विषयवस्तुमाथि केन्द्रित एक जादुयी पुस्तकका रूपमा लिन सकिन्छ । यस उपन्यासकी नायिका पर्सिया एक अस्ट्रेलियाली महिला हुन्, जसले डढेलोको मारमा परेको रित्तो नगरमा रहेको आफ्नो अपार्टमेन्टमा कसैको सहायताबिनै एउटा मृत सन्तान जन्माउँछे । मृत सन्तानलाई जन्म दिएपछि ऊ त्यसलाई गाड्नुको साटो नसड्ने औषधिको प्रयोग गरेर सानो सुटकेसमा हाली लामो यात्रामा निस्कन्छे । त्यसै यात्राका क्रममा उसको अहमद नाम गरेको एक पाकिस्तानी पुरुषसँग भेट हुन्छ, जो आफूलाई राजनीतिक शरणार्थीको दाबी गर्न अफगानी नागरिकका रूपमा प्रस्तुत गरिरहेको छ ।

यात्राका क्रममा दुवै पात्रबीच घनिष्ठ सम्बन्ध स्थापित हुन पुग्छ र कथानक अगाडि बढ्छ । अहमदले पर्सियालाई आफ्नो महाद्वीपमा प्रचलित कथाहरूमार्फत भयावह अतीतको जानकारी दिन्छ । ती कथामार्फत अहमदले दक्षिण एसियाका परम्परा र त्यसमा रहेको चेतनाको पनि परिचय दिन्छ । यसरी ‘अरेबियन नाइट्स’ को संरचनाको तानाबानाले बुनिएको फोकको शैलीले पाठकलाई बाँध्छ । यसबाहेक यो उपन्यासको बुनोट आगो, पानी, पृथ्वीलगायत पञ्चतत्त्वमा पनि आधारित छ ।

क्षमाको यात्रा

सापिरोको ‘क्षमाको यात्रा : पूर्ण माफी कसरी पत्ता लगाउने’ एक अद्भुत रचना हो । यो किताब हिन्दु–बौद्ध दर्शनको अहिंसा, करुणा र क्षमाको वरिपरि घुमेको छ । किताबले क्षमादान नै एक मात्र विकल्प हो भन्ने दर्शनलाई चुनौती दिएको छ । सापिरोले आमनरसंहार, राजनीतिक परिस्थितिबाट उत्पन्न हिंसा, यौन हिंसा, विश्वासघात र क्रूर जातीय भेदभावबाट पीडितहरूसँग अन्तरंग वार्तालाप गरेर क्षमा र हिंसालाई विभिन्न दृष्टिकोणबाट हेर्न खोजेकी छन् ।

यस क्रममा उनले वासिङ्टन डीसीमा रहेको एक प्रलय पीडितलाई भेट्छिन्, जसले आफ्नो जीवन घृणाबाट प्रफुल्लित भएको बताउँछ । त्यसैगरी उनले अर्को अध्यायमा आफ्नी छोरी र श्रीमतीको हत्या गर्ने एउटा जँड्याहा ड्राइभरबारे खुलाएकी छन्, जो अब माफी माग्न सक्ने अवस्थामा छैन र पश्चात्तापमा रुमल्लिएको छ ।

अर्को एउटा घटनामा सियाटलमा रहेकी एक केटी आफूलाई बलात्कार गर्ने पुरुषसँग विवाह गरेर बसेकी आफ्नी आमालाई माफ गर्ने कि नगर्ने भन्नेमा अल्झिएकी छन् । अर्को घटना छ, फ्लोरिडामा रहेकी ती आमाको, जसले आफ्नो दोष नभए पनि छोरासँग आठ वर्षदेखि माफी माग्दै आइरहेकी छन् ।

असाधारण अन्तर्वार्ता

चिनियाँ लेखक लाओको चर्चित उपन्यास ‘एक असाधारण अन्तर्वार्ता’ फ्ल्यास फिक्सन शैलीमा लेखिएको छ । उपन्यासले चिनियाँ संसारमा आफ्नो अस्तित्व स्थापना गर्न सङ्घर्ष गरिरहेका चीनका ससाना सहरका निम्नमध्यमवर्गीय मानिसहरूको आजसम्म नगाइएको गीतको चित्रण गरेको छ । एउटा सानो सहरकी सबैभन्दा भद्दा महिला र क्रान्तिका समयमा बुद्धू सो परिवारको सङ्घर्षलाई उपन्यासमा समेटिएको छ । ठूलो टाउको भएका डोङ्फाङको सङ्घर्ष जीउ नै सिरिंग पार्ने खालको छ । यो किताब मैले नेपाली भाषामा अनुवादै गरेर प्रकाशनमा ल्याएको छु ।

प्रकाशित : जेष्ठ १३, २०८० १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?