कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६
कविता

तिमी जन्मिएको दिन

यदाकदा म यसरी पनि सोच्ने गर्छु–
तिम्रो जन्म दिन
तिमी मसँग छुट्टिएको दिन थियो

तिमी जन्मिएको दिन

छुट्टिएको दिनको कैफियतमा–

दर्के झरीमा ओत लागेको छाता

बर्सात बिदो भएसँगै कतै छुटेजस्तो छुटाइ होइन


उर्लेको खोला तर्दाको, अनकन्टार पहाड उक्लँदाको

दह्रो भर–भरोसा बनेको हातको लौरो

पल्लो किनार छोएपछि या

टाकुरामा कदम भएपछि छुट्नुजस्तो पनि होइन


दगुरेर पुग्दापुग्दै, हत्केलाको इसाराले रोक्दारोक्दै

सँगै गन्तव्यमा पुग्नासाथ ओझेल परेजस्तो

या लयमा गुनगुनाउँदै, रमाउँदै अविराम हिँडिरहेको नदी

अचानक भंगालोमा छुटेजस्तो छुटाइ पनि होइन


छुट्नु–

तिमी आमाको कोखबाट

आमाको काखमा पुग्नु

आमाले आफ्नै हत्केलामा हार्दिकतासाथ

साक्षात सुकोमल जुनको दर्शन पाउनु

शीतलता बनि आमाको आँखाको नानीमा समाहित हुनु हो

छुट्नु–

फरक शरीर बग्ने फरक रक्तसंचार, फरक मुटु भएर पनि

आमाकै छातीमा उसै आमाकै प्राण बनी धड्किरहनु

आफ्ना सारा सपनालाई अँध्यारो छिँडीतिर थन्क्याएर

तिम्रा सफल पाइलामा

तिमीभन्दा एक कदम अघि हर्ष गर्दै तिम्रा खुसी बाँच्नु हो


यसरी पनि सोच्ने गर्छु–

तिम्रो पहिलो बास–थलोबाट

तिमी बहिरिएपछि

नाल काटेर तिमी र मलाई अलग पारियो

काख, कोक्रो हुादै चरणबद्ध–

बामे अनि ताते–ताते गर्दै तिमी परपर हुँदै गयौ

विद्यालय, कलेज, जागिर, व्यापार यस्तैत्यस्तै

अनेकथरी शीर्षक, उपशीर्षकले

तिमी र ममा लामो क्षितिजीय दूरी तानिदियो

दूरीले साथ छुटेजस्तो हृदयतः कहिले टाढा भयौं र हामी ?

म सर्लक्कै आमाकै एक अंग मासपिण्ड हुँ भन्ने आभासले

कहिले छोड्यो र तिमीलाई ?

तिमी ममै धड्किरहेकी छौ भनी

आफ्नै मुटुमा तिमी सुन्न कहिले भुलाएँ र मैले ?

तिमी जन्मँदा

म आफ्नै रगतको आहालमा

अचेत हुँदै बौरिने गर्थें

अब यति त हो भेट भन्दै

हेर्न आएका आफन्त

आफ्ना सहानुभूति आँखा मजेत्रोले पुछ्दै फर्कन्थे

सुत्केरी व्यथामा म पराजित भएँ भने

नभनी तिम्रो दुःख र नबोली तिम्रो भोक बुझिदिने

यो दुनियाँमा कहिल्यै कोही हुनेछैन भन्ने ठूलो भयले

ममा वात्सल्यको शक्तिशाली ऊर्जा प्रज्वलित भयो

र त पीडाको उत्कर्ष पुगेर

सम्मुखको मृत्युलाई हाँक दिँदै

तिमीलाई जन्माएको कीर्तिमान दिन पो हो आज

हो, तिमी जन्मँदा

जीवन–मृत्युको गम्भीर संघारमा घनघोर युद्ध लडेकी थिएँ मैले

तिमी जन्मजात टुहुरी हुन् लेखेको रहेनछ

त्यसैले बाबै, तिम्रै भाग्य बाँचेकी हुँ म !

यहीँबाट सुरू भएको हो जीवनका महफ्वपूर्ण बाँकी अध्यायहरु

संसारमा सर्वपूज्य, सर्वमान्य

आमाको परिचय लहरमा तिमीले मलाई पनि उभ्याइदिएकी थियौ

यो सम्पूर्णता त्यसै दिन तिमीबाट पाएकी हुँ मैले


जन्मँदाजन्मँदै तिमी रोएकी थियौ

तिमीलाई हेरेर म भने मुस्कुराइरहेकी थिएँ

तिम्रो रूवाइ आफ्नो जन्म

यो लोकलाई सुसूचित गर्ने ओजस्वी संखघोष थियो

या

तिमी आमाको न्यानो गर्भबाट टाढा हुनुको विद्रोह रोएकी थियौ

म भने

यो संसार तिमीलाई देखाउनु

यो धर्ती तिमीलाई टेकाउनुको गौरव

दीप्तिमान मुस्कुराएकी थिएँ


म यसरी पनि सोच्छु–

तिमी सन्तान भएर जन्मिएको दिन

म जननी, म आमा भएर जन्मिएकी थिएँ !

यदाकदा म यसरी पनि सोच्ने गर्छु–

निःसन्देह

तिमीले जीवन पाउँदा

मैले पुनर्जीवन पाएकी थिएँ

हेर्दा फरक शरीर

देख्दा पृथक् अस्तित्व

तर, म

तिमी भएर पनि जन्मिएकी थिएँ ।

प्रकाशित : जेष्ठ ६, २०८० ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?