गोदना : बडिअयोको गहना

गोदना गहना हो– शासकले खोस्न नसक्ने, डकैतले लुट्न नसक्ने ! गोदनाको बन्ना नै त हो मरेपछि पनि शरीरमै रहने ।
संगीता उराँव

करमधरम पुजामा गाइने गीतको एउटा हरफ यस्तो छ– ‘गोदना पराइदे हता शरीरमे ।’ ढोलकको तालमा गाइने यो समूह–गीतले पूरै गाउँ गुन्जिन्छ, खास गरी झुमर खेल्ने बेला । यो गीत हाम्रो समुदायमा गोदना संस्कृतिको इतिहासजस्तो हो । ‘कुडुख’ आदिवासीका लागि गोदना बनाउनु एक संस्कृति हो । मैले त आमा र हजुरआमाको शरीरभरि गोदना देखें । तर, यो संस्कृति पुस्तौंदेखि चलेर आयो आजसम्मै ।

गोदना : बडिअयोको गहना

पहिले–पहिले महिलाहरू मात्रै होइन, पुरुषहरू पनि गोदना बनाउने गर्थे रे ! मैलेचाहिँ हजुरआमाको आमा (बडिअयो), ननिअयो (आमाको आमा) हरूको शरीरका भिन्न–भिन्न अंगमा गोदना बनाएको किसिम–किसिमका बन्ना (बुट्टा) देख्न पाएँ ।

हजुरआमा र उहाँका उमेरका महिलाको सेताम्मे फुलेको कपालमा नरियर (नरिवल) को तेल लगाएर सिनित्त पारेर कपाललाई खोपा (जुरो) बाँध्ने कला पनि गज्जबको लाग्थ्यो । बारका (काइयो) मा अल्झेको कपाललाई निकालेर हत्केलामा माड्दै गोलो बनाएर, चच्री (ओसराको छाना) मा घुसाएर राख्नुहुन्थ्यो आमा, हजुरआमाहरू । त्यो कपाल धेरै भएपछि सामानमा साट्ने चलन थियो । त्यस्तो कपाल धेरै जम्मा भएपछि साइकलमा सामानसँग कपाल साट्नेले लिएर जान्थे । अनि हामी केटाकेटीलाई ती साइकलवालाले कपालको सट्टा साउन पापडी, मकैको लावा, भुजिया वा स्टिलको ग्लास–कचौरा दिन्थे । कपाल साटेर खानेकुरा किन्ने भाग्य कुन नातिनातिनाको हातमा पर्छ ? त्यो पत्तो हुँदैन थियो । हामी सबै त्यो अवसर कुरेर बस्थ्यौं । उसबेला सुनिन्थ्यो, साइकलवालाको हाम्रा घर–घरबाट लिएर गएको त्यो कपाल नक्कली दाह्री, कपालकै लागि प्रयोग गरिन्छ ।

साइकलवाला सेतो फुलेको कपाल लिँदैनथे । त्यसैले बडिअयोको कपालले साउनपापडी, हरेक मालसामान वा भुजिया पाउन छाडिसकेको थियो । नातिनातिनीलाई बडिअयोको कपालमा किन रुचि हुनु ? तर, मलाई बडिअयोको सेतो कपालले मोहनी लगाएजस्तो लाग्थ्यो । घुङ्ग्री परेको, चम्किलो, सेतो कपालको जुरो बाँध्दा लाग्थ्यो– टाउकोमा फूल सिउरेजस्तै । त्यसैले त बडिअयोले कपाल कोरेका बेला हेर्न मन लाग्थ्यो वा कपाल कोरिदिन मन लाग्थ्यो । बडिअयो कपालमा तेल लगाउँदा हातमा दलिएको तेललाई अनुहार, हात, खुट्टामा मज्जाले लगाउनुहुन्थ्यो । त्यसबेला हात र खुट्टामा कुँदिएका गोदना मज्जैले मुस्कुराएजस्तो लाग्थ्यो । पाखुरादेखि हत्केलासम्म, घुँडादेखि पैतालासम्म अनेकथरीका बन्ना (बुट्टा) ले भरिएको गोदना तेलले टलक्क टल्किन्थे ।

बडिअयोको लोगास (श्रीमान्) बितेको पनि धेरै वर्ष भइसकेको थियो । बडिअयोको शरीरको गोदना त जस्ताको त्यस्तै थियो, तर श्रीमान् बितेपछि उहाँको पहिरनमा परिवर्तन भएको थियो । त्यसैले त बडिअयो सादा खद्दरको, दुई फिट चौडा, बाह्र हात लम्बाइ भएको सारी ठिमठिमरआ (सर्ल्लक्क कसिएको) लगाउनुहुन्थ्यो । गहनाको नाममा नाकको नकबुटनी (फुली) मात्रै थियो । उहाँको हातमा जहिल्यै चार फिट लामो बेतको डन्डा (लौरो) हुन्थ्यो । त्यही लौरो टेक्दै छिमेकी र आफन्तको घर–आँगन पुग्नुहुन्थ्यो । सन्चो–बिसन्चो सोध्नुहुन्थ्यो । कसको घरमा के पाक्दै छ ? उहाँलाई थाहा हुन्थ्यो । आफन्तको घरमा पाकेको मन परेको तरकारी इन्ड्री (अडेरी) को पातमा पोको पारेर ल्याउनुहुन्थ्यो । र, स्वाद मानेर खानुहुन्थ्यो । बडिअयोको छेउमा बस्दा उहाँ आफ्ना अनुभवका अनेक कथा, परिवारका कथा सुनाउनुहुन्थ्यो ।

बडिअयो भन्नुहुन्थ्यो– यो जन्ममा जसले गोदना खोप्छ, अर्को जन्ममा ऊ धनि हुन्छ । के बडिअयोले ‘अर्को जन्म’ लिनुभयो ? के उहाँ धनी परिवारमा जन्मिनुभयो ?

उहाँले सुनाएका ती कथा सुन्दै गर्दा थाहै नपाई मेरा हातका औंलाहरू बडिअयोको हात सुमसुम्याउन पुग्थे । उहाँका चाउरिएका छाला लुदुरबुदुर हुन्थ्यो । त्यो स्पर्ष बडो मन पर्थ्यो मलाई । त्यसैबखत मैले सोधेकी थिएँ बडिअयोलाई गोदनाबारे । मेरो प्रश्न हुन्थ्यो, ‘गोदना बनाउँदा दुखेन ?’ उहाँ भन्नुहुन्थ्यो, ‘यो त हाम्रो गहना हो । कुनै शासकले, चोरले खोस्न नसक्ने, कुनै डकैतले लुट्न नसक्ने ।’

बडिअयो बोलिरहनुहुन्थ्यो, मानौं उहाँ संस्कृति र इतिहासतिर पसिरहनुभएको छ, ‘मान्छेहरू दुःख गरेर गरगहना जोडजाम गर्छन्, तर मरेपछि मान्छेहरू उसले लगाएका सबै गहना फुकालिदिन्छन् । तर देहता बन्ना (शरीरको) फुकाल्न सक्दैनन् । त्यही गोदना त हो आफ्नै शरीरसँग रहने ।’ उहाँले बडो गम्भिर भएर सुनाउनुभएको अर्को कुरा कहिल्यै बिर्सन सक्दिनँ । भन्नुहुन्थ्यो, ‘यो जन्ममा जसले शरीरमा गोदना खोप्छ, त्यो अर्को जन्ममा धनी हुन्छ । ऊसँग धन सम्पत्तिको कमी हुँदैन ।’

ओहो ! अर्को जन्ममा धनी हुन यत्रो ठूलो योजना ! यो जन्ममा बडिअयोले घरधन्धा, जनपाट, छोराछोरीको पालनपोषण र दुई छाक जुटाउन गरेको दुःख भयंकर ठूलो पहाडै थियो । त्यसैले पनि अर्को जन्ममा धनी हुने विश्वासले शरीरमा गोदना खोप्नुभएको होला उहाँले ।

गोदना खोप्दाको दुखाइ भोग्नेलाई मात्रै थाहा हुन्छ । यो जन्ममा बडिअयोले आफ्नो जीवनकालमा जग्गा धनी, साहुको घर, खेतीखलो, घरधन्धा, मेलापात गर्दै नौ जना छोराछोरीका लागि पेटभरि खाना जुगार गर्नमै एक जुग बिताएर उहाँ आफैं बित्नुभयो । बडिअयोले भनेजस्तै भयो । उहाँ बितेपछि उहाँलाई जमिनमा पुर्ने बेला उहाँको शरीरमा कुनै कपडा, गहना थिएन । थियो त केवल दुखाइ सहँदै उबेलै शरीरमा कुँदिएका गोदनाका सुन्दर बुट्टा । सोच्छु, पुनर्जन्ममा विश्वास राख्नुहुन्थ्यो, त्यसैले गोदना बनाउनुभयो ।

उहाँ बित्नुभएको पनि तीन वर्ष हुनै लाग्यो । के बडिअयोले ‘अर्को जन्म’ लिनुभयो होला ? के कुनै धनी परिवारमा जन्मिनुभयो होला त ? मलाई पुनर्जन्ममा विश्वास छैन । मेरी बडिअयो, हजुरआमा, आमाहरूले भोगेको दुःखको पुरताल कसरी होला ? मेरो पुरै समुदायले भोगेको दुःखको पुरताल कसरी होला ? यही जन्ममा यी सबै दुःखको अन्त्य कसरी होला ? पुर्नजन्ममा धनी भएर जन्मिने विश्वास भत्काएर पनि गोदना खोप्ने रहर छ मलाई, मेरी बडिअयोको सम्झनामा ।

अब कुरा गरौं गोदना बनाउन चहिने सामग्रीबारे । यो कुरा पनि बडिअयाले नै भन्नुभएको हो मलाई । गोदना बनाउन सुया (सियो) अनिवार्य नै हो । बुट्टाको डिजाइन अनुसार, सियोहरू बाँधिन्छ । काजल (गाजल) तयार गरिन्छ । त्यसका लागि दियोमा टन्न मनिइसुम (खानेतेल) भरेर रुवाको मोटो बत्ती काटेर बालिन्छ र सबै कालो धूवाँलाई कजरोटी (गाजल राख्ने भाँडो) मा जम्मा गरिन्छ । त्यही जम्मा गरेको कालो धूलोलाई नै अर्को भाँडोमा राखेर, त्यसमा मट्टीतेल हालेर गाढा लेदो तयार पारिन्छ । गोदना बनाउन प्रायः भारतबाट आदिवासी महिलाहरू आउँथे/आउँछन् । सबै समान उनीहरू आफैं बोकेर ल्याउने गर्छन् । गोदना बनाउनेहरूसँग आत्मीयता, सद्भाव राख्नुपर्छ नभए गोदना खोप्ने बेला खपी नसक्नु दुखाइ हुन्छ । आत्मबल बढाउनुपर्छ गोदना बनाउन । आफ्नै छालालाई सियोले घोची–घोची निकालिएको रगतले र काजलको लेदोले नमेटिने गोदना बन्छ । रहर, बाध्यता, प्रथा आखिर जे होस्– गोदना बनाउन छाला छेड्दा रुवाइको चीत्कारले पूरै गाउँ नै थर्किन्छ । गोदना बनाइदिनेहरूले, गोदना खोप्दै गरेेका बेला खोपाउनेलाई सहने शक्ति मिलोस् भनेर जडीबुटीको पोको दिन्छन् समाउन । र, दुखाइ सामना गर्न सकून् भनेर गीतहरू गाउने गर्छन् ।

गोदना बनाएपछिको दिन, हप्ता र महिनौंसम्म शरीर सुन्निन्छ, दुख्छ, बिरामी नै होइन्छ । यो कुरा पनि बडिअयो आँखै अगाडि घटिरहेको घटना जसरी सुनाउनुहुन्थ्यो । जीवनयापनसँग जोडिएको किसिम–किसिमका बुट्टाहरू खोपिन्छ गोदनामा । माछा, मयूर, फूल, केराको पात, सुपारीको रूख, गहना आकारको गोदना बनाउने गरिन्छ । पिठ्युँमा, हातमा, घुँडादेखि तल पैतलासम्मको खुट्टामा, छातीमा अनेकौं बुट्टाहरू । गोदना बनाइदिए बापत धान, चामल, गहुँ, पैसा आदि घरमा जे उपलब्ध छ त्यो दिने चलन हो ।

भारतबाट गोदना खोप्न मानिसहरू हाम्रो गाउँमा अहिले पनि आउँछन् । तर, बुट्टा र चित्रहरू अब फेरिए । नयाँ–नयाँ बुट्टाको नमुना लिएर मेरो गाउँ पस्छन् ती कलाकार । तर, मलाई मेरी बडिअयोको शरीरको बुट्टा नै प्यारो लाग्छ ।

प्रकाशित : जेष्ठ ६, २०८० ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?