म मोक्ष नपाएकी ‘मुवाहजुर’

प्रेमको परिभाषा के हो ? के यो केवल आडम्बर र ढोंग हो ? नाटकमा पात्रहरूको द्वन्द्वबीच प्रेम कतै हराएको छ ।
सगुना शाह

रंगमञ्चमा यसअघि पनि थोरबहुत अभिनय त गरेकै थिएँ, तर सबैभन्दा सुखद अनुभूति भयो नाटक ‘विमोक्ष’ मा, ‘मुवाहजुर’ भएर । सन् २०१३ मा ‘टेलिङ अ टेल’ किचन ड्रामामा मैले आफ्नै संस्मरणमाथि अभिनय गरेकी थिएँ । त्यो नाटक नै रंगमञ्चमा मेरो सुरुवात थियो । त्यसपछि मैले विलियम शेक्सपियर अनि इव एन्स्लर लिखित नाटकमा अभिनय गरें ।

आफ्नो अनुभव–अतिततिर फर्की हेर्दा सोच्छु– नाटकमा अभिनय गर्नु मेरा लागि दैनिक काम र जीवनबाट फरक केही गर्नु मात्रै थियो, रमाइलोका लागि । आफूले निर्वाह गरेका कुनै पनि पात्र सायद पूर्णतया महसुस र चरितार्थ गर्न सकेको थिइनँ भन्ने लाग्छ । यस मानेमा आफ्नै संस्मरणबाट पनि मलाई सायद बाहिर निस्कनु थियो, त्यसमा डुब्नु थिएन ।

‘विमोक्ष’ मा भने मैले पहिलोपटक मुवाहजुरको भूमिकालाई आत्मसाथ गर्ने प्रयास गरेँ । यस अर्थमा कि यो मलगायत धेरै महिलाको भोगाइको कथा हो, जो बाहिरबाट हेर्दा समृद्ध र भरिपूर्ण भए पनि आफूलाई रिक्त महसुस गर्छन् । लैंगिक र जातीय विभेदले समाजलाई अहिले पनि यसरी जकडेको छ, जसले मानिसलाई खुम्चिन र स्व–अस्तित्वमाथि प्रश्न गर्न बाध्य बनाउँछ ।

१० वर्षको अन्तरालमा समाजमा विद्यमान संरचना, विभेदलाई प्रत्यक्ष–अप्रत्यक्ष देख्दा, सुन्दा, भोग्दा, महसुस गर्दा र बुझ्दा थोरै परिपक्वता निश्चय नै आएको छ । ‘विमोक्ष’ ले उठान गरेको मुद्दा जातीय, वर्गीय र लैंगिक विभेद हुन् । यसविरुद्ध विभिन्न माध्यमबाट निरन्तर आवाज उठे पनि आमूल परिवर्तन भने आएको छैन । तर, मलाई भने यी बाह्य विभेदले ल्याउने आन्तरिक पीडा, लाचारी, मानसिक तनाव र दुई मुख्य पात्रको आफूभित्र विद्यमान द्वन्द्व नाटकको सबैभन्दा सबल पक्ष लाग्छ ।

प्रत्येक मानिसको अनुभव र बुझाइ फरक हुन्छ । मेरा लागि मुवाहजुर अर्थात् रश्मिदेवी अपरम्परावादी हुनु र यस पात्रले समाजमा स्थापित मूल्य–मान्यतालाई भत्काउने सामर्थ्य राख्नु नै नाटकको मुख्य आकर्षण थियो । सामान्य तवरमा शैक्षिक र आर्थिक रूपमा सबल हुनु नै महिला स्वतन्त्रताको मानक मानिन्छ, महिलावादले पनि यी दुई विषयको वकालत गर्छ । तर, यी दुवै पक्षमा सबल हुँदैमा के महिला साँच्चै स्वतन्त्र हुन्छिन् त ?

सबैभन्दा ठूलो लडाइँ त उनीहरूको आफ्नो स्पेससँग हुन्छ । पहिले बाबु अनि श्रीमान् र त्यसपछि छोराहरूको संरक्षणमा रहन बाध्य महिलाको घर भन्नु नै जिउँदो रहँदाको शरीरभन्दा बाहेक केही होइन भन्ने मलाईजस्तै धेरैलाई लागेको हुन सक्छ । यस्तोमा वर्ग र सम्पन्नताको आधारमा कसैको जीवन–मापन गर्न सकिन्न । कैयौंपटक सामाजिक, शैक्षिक, आर्थिक रूपले सीमान्तीकृत भनिएका महिलासँग बहसमा सरिक हुँदा मैले आफ्नो जन्म र कहलिएको प्रिभिलेजलाई हीनताबोधका रूपमा स्विकार्न बाध्य भएकी छु । त्यसबेला सरापेको छु आफूलाई किनकि मेरो कथा, मेरो भोगाइ कुनै कथा नै होइन, कुनै भोगाइ नै होइन भन्ने बोध गराइन्छ ।

मुवाहजुर अर्थात् रश्मिदेवीको चरित्र चित्रण गर्दा मैले धेरै तवरमा आफू स्वयम्लाई नियाल्ने मौका पाएँ । यति मात्रै नभई कथा पढ्दा आफूले बुझेको, आफूलाई लागेको विषयमाथि नाटक लेख्दा घिमिरे युवराजले र मञ्चनक्रममा निर्देशक प्रवीण खतिवडाले कसरी परिकल्पना गरे, त्यो विषयमाथि प्रशस्त छलफल हुनेगर्थ्यो । लामो समयदेखि नाटकमा लागेका लेखक, निर्देशक, सह–कलाकार पवित्रा खड्का र सागर कामीसित सहकार्य गर्न पाउनु एउटा सुखद अनुभव–अनुभूति थियो । अनि त्यो सिक्ने मौका पनि थियो । ‘मलाई लाग्छ, यो समाजमा हामी स्वास्नी मानिस र दलितको जीवन उस्तै पीडादायी छ,’ ‘विमोक्ष’ मा मुवाहजुरले बोल्ने यो संवादलाई विभिन्न कोणबाट बुझ्ने प्रयास भयो । रिहर्सलका क्रममा आफूले देखे–भोगेका विषयमाथि बहस हुने गर्थ्यो । नाटकमा पात्रहरूबीच आउने कन्फ्लिक्टमा प्रेम कतै हराएको छ । यसको परिभाषा के हो ? के यो केवल आडम्बर र ढोंग हो ? प्रेम सम्भव छ कि वर्जित ?

उच्च ओहदाका आर्मी अफिसरकी श्रीमती सम्पन्नता, रवाफको आडम्बरमा कस्तो विवश र नीरस जीवन जिउन बाध्य छिन् ? श्रीमान् र घरमा आउने अन्य पुरुषबाट हिंसामा पर्दा पनि परिवारको प्रतिष्ठा, हुर्कंदै गरेका छोरीहरूको संरक्षणका निम्ति राजीखुसी परिवार सम्हाल्न बाध्य छिन् । उनका लागि जागिरबाट बिदामा कहिलेकाहीँ घर आएका श्रीमान्को सामीप्य पति कम, छोरीहरूका पितामै सीमित छ । श्रीमान् बाँचुन्जेल भावनात्मक सम्बन्धको अभाव र मृत्युपश्चात् उनको बाह्य वैवाहिक सम्बन्धबारे जब उजागर हुन्छ, एक महिलाको स्वाभिमान अनि हृदयमाथि कस्तो असह्य चोट पुग्छ होला ?

यस्ता घटना समाजमा नभएका होइनन्, तर कहिल्यै यी विषयमा खुलेर चर्चा हुँदैन । यस्तोमा कुनै एकल महिलाले सामाजिक संरचना अनि त्यसका मूल्यमान्यता भत्काएर स्वच्छन्द भई निर्धक्क जीवनको नयाँ सुरुवात गर्न पाउँछे कि पाउँदिन ? प्रेममा समर्पित हुने स्वतन्त्रता उसलाई छ कि छैन ? कि फेरि पनि त्यही पीडक सम्झेर जीवनयापन गर्न बाध्य हुन्छिन् ? एकल जीवन बिताएर त्यागको प्रतिमूर्ति बनी महान् कहलिने जातले स्वतन्त्रताका लागि विद्रोह गर्नु कत्ति सम्भव छ ? आफ्नै घर, परिवार, आमाबाबु, छोराछोरीले त यस्तो विद्रोहलाई सहजै स्विकारेको पाइँदैन भने यस्ता महिलाप्रति समाजको दृष्टिकोण कस्तो हुँदो हो ? यो समाजमा श्रीमती मरेकी एकल पुरुषका लागि ‘प्रेम’ वर्तमानको अधबैंसे जवानी अनि बूढो भविष्यको आवश्यकता हो भने त्यही उमेरकी अधबैंसे महिलाका लागि किन असहज, किन वर्जित ?

भनिन्छ– एभ्रिथिङ इज फेयर इन लव एन्ड वार । जीवनको उत्तरार्द्धका स्मृतिहरूमा कमल घिमिरेको सम्झना अनि उसैको पर्खाइमा बाँचिरहेकी मुवाहजुरलाई जब दीप दर्नालले दोषारोपण गर्न थाल्छ, त्यसपछि सोच्न बाध्य भइन्छ– के त्यो साँच्चै प्रेम थियो कि केवल भावनात्मक अनि शारीरिक आवश्यकता ? जुन समाजमा महिलाको शरीरमा छिटो आउने परिपक्वताकै कारण छोराहरूको विवाह सक्दो कम उमेरकी केटीसँग गर्ने चलन अझै व्याप्त छ, त्यही समाजमा एक परिपक्व महिलाले आफूभन्दा आधा उमेरको केटोसँग प्रेम गर्दा त्यसमा प्रश्नचिह्न किन उठ्छ ? के यो असम्भव हो कि बिलकुल अस्वाभाविक ? या धृष्टता ?

पुरुषहरूको तुलनामा महिलाहरू मानसिक रूपले सधैं बलियो अनि आँटिला लाग्छन् भन्ने मेरो मान्यता ‘विमोक्ष’ पश्चात् झन् बलियो भएको छ । जब मानिस हीनभावनाबाट ग्रसित हुन्छ तब कमजोरी लुकाउन ऊ अरूमाथि दोषारोपण गर्न थाल्छ । यो महसुस गर्न सकिन्छ दीप दर्नालको ‘मुवाहजुर’ प्रतिको अपमानजनक व्यवहार र कटाक्षबाट । कर्णेलको बन्दुकको गोलीभन्दा केही कम छैनन् दर्नालका बचन । ‘नआउनु थियो आएँ, हजुरलाई देखेँ, अब पुग्यो,’ २० वर्षको अन्तरालमा मुवाहजुरको उमेरसँगै आएको शारीरिक परिवर्तनलाई ऊ स्विकार्नै सक्दैन । यो अन्तरालमा आफू पनि रिसर्चरको रूपमा स्थापित भइसकेको त्यो अधबैंसे पुरुषलाई जवानीमा गल्ती गरेको महसुस हुन्छ सायद ।

फेरि पुरुष भनिने जात कहिले पो आफूलाई अशक्त, कमजोर र बूढो मान्न तयार होला ? पितृसत्ताले पुरुषलाई सधैं प्रोटेक्टर र प्रोभाइडरका रूपमा स्थापित जो गरेको छ । जवानीमा परिपक्व महिलाको प्रेममा लिप्त कमल घिमिरेको प्रेम निःस्वार्थ थियो भन्ने मान्न सकिन्न । सायद त्यो आवश्यकता थियो, गुमाउनु केही थिएन । हो दीप दर्नालले जातीय विभेदका कारण भोग्नुपरेको समस्या र पीडाको भयंकर गाथा छ, सत्य लुकाएर अस्तित्वहीन जीवन बाँच्नुको बेग्लै संघर्ष छ । तर, आफूलाई सहज हुन्जेल रश्मिदेवीको निःस्वार्थ प्रेममा डुबेको दीप दर्नालमा कतै आत्मग्लानि पनि छ । ‘कसरी चिन्ने माया थियो कि थिएन भन्ने ? भ्रम नै सही, महसुस थियो उनी मेरी हुन् भन्ने,’ एक अल्लारे केटोमा भएको यस दुविधा कतै आदत मात्रै पो बन्न पुगेको थियो कि ?

मेरो बुझाइमा रश्मिदेवीको प्रेम निःस्वार्थ छ । यदि त्यो शारीरिक तृष्णा मात्रै रहन्थ्यो भने श्रीमान् छँदै ऊ परपुरुषसँग अनैतिक सम्बन्ध राख्न सक्थी । तर, त्यो अन्य केहीभन्दा पनि एउटा भावनात्मक आवश्यकता थियो । सहारा र आफूलाई सम्हाल्न एउटा काँधको दरकार, टुटेर विक्षिप्त भएको अवस्थाको खाँचो । त्यहाँ कमल नभई जुनसुकै वर्ग, लिंग र जातको अरू कोही हुन्थ्यो भने त्यो नै सहारा हुन्थ्यो सायद । यदि परिस्थितिले निम्त्याएको यस किसिमको सम्बन्ध गलत हो भने गल्ती दुवैको हो । एक परिपक्व महिलाले मात्रै सबै किसिमको जिम्मेवारी बोध गर्नुपर्ने र उत्तिकै भागीदार उमेरले तुलनात्मक रूपमा अपरिपक्व पुरुष दुविधामा किन ? सामाजिक मूल्य, मान्यताविरुद्ध संघर्ष यथावत् छ, तर त्योभन्दा पनि ठूलो संघर्ष प्रत्येक मानिसभित्र लुकेको आन्तरिक द्वन्द्व हो । यसबाट ‘विमोक्ष’ पाउन कत्ति सजिलो होला ?

मैले नाटकमा निर्वाह गरेको चरित्रप्रतिको मेरो बुझाइ यस्तैयस्तै रह्यो । यदाकदा चित्त नबुझेको भने होइन– प्रेममा समर्पित एक महिलाले माया अनि सामीप्यको खातिर आफ्नो स्वाभिमान कुल्चेर दयाको पात्र भई कति गिडगिडाउनुपरेको ? कैयौंपटक ‘अब त अत्ति भयो, म भन्दिन यो संवाद’ भनी जितेरै छाडेँ । हरेकपटक कम्फोर्ट जोनबाट निस्केर नयाँ मानिससँग सहकार्य गर्दा केही तीता–मिठा अनुभव हुन्छन् । ‘विमोक्ष’ को रिहर्सल र नाटक मञ्चन अवधि सम्झिने हो भने सबै अनुभव सुखद रह्यो । मैले गर्दा सह–कलाकारहरूको समेत प्रस्तुति बिग्रिन्छ कि भन्ने डर सधैं लागे पनि प्रतक्ष्य–अप्रत्क्ष्य सबैबाट सधैं हौसला पाएँ, जसले गर्दा काम गर्न सहज भयो । प्रत्येक दर्शकले व्यक्तिगत रूपमा त्यसलाई बुझे र साक्षात्कार गरे । अपवादका रूपमा आएका केही समीक्षामा जातीय र वर्गीय विभेदको मात्रै कुरा आउँदा महिलाका विषय अझै ओझेलमा पर्दारहेछन् भन्ने महसुस गरेँ ।

‘विमोक्ष’ ले दर्शकबाट पाएको मायालाई आत्मसाथ गरेकी छु । अनि ‘विमोक्ष’ नै मैले अभिनय गरेको अन्तिम नाटक हुनेछ भन्ने निधो पनि गरेकी छु ।

प्रकाशित : जेष्ठ ६, २०८० ११:४६
प्रतिक्रिया
पठाउनुहोस्

रजोनिवृत्ति : बिसौनीपछिको यात्रा

महिनावारी सुरु हुँदा परिवार र समाजले सांस्कृतिक उल्लास घोषणा गर्छ, तर रोकँदा महिलाको शरीरमा आउने जैविक परिवर्तनलाई बेवास्ता गर्छ । नेपाली समाजमा विमर्श हुनुपर्छ भन्ने ध्येयले ‘कोसेली’ ले रजोनिवृत्ति–अनुभव भएका ४० महिलासँग सर्भे गरेको छ ।
विद्या राई

युगौंदेखि एक ‘सांस्कृतिक डर’ बनेर हामीसँगै बाँचिरहेको छ– रजोनिवृत्ति । समाजजडित डरहरूकै कारण स्त्री जीवनकालमा भोग्नैपर्ने प्राकृतिक प्रक्रियालाई पनि लुकाउने प्रयास गरिरहन्छिन् । सायद त्यसैले रजोनिवृत्ति इतिहासमै एक अरुचिकर खोज हो । सपनाबाट ब्युँझिएर पसिनामा लतपत भिज्नुजस्तै साधारण कथा पक्कै होइन रजोनिवृत्ति ।

उत्तरआधुनिक भनिने समयमा रजोनिवृत्ति–चक्र वास्तवमा स्त्री–जीवनको एक रोचक अध्ययनको विषय हो र स्त्रीका निम्ति अभिन्न परिर्वतनको छाप । यो त एक अति सामान्य प्राकृतिक प्रक्रिया हो । रजोनिवृत्तिले स्त्री शरीरमा थुप्रै परिर्वतन ल्याउँछ । र, परिवर्तनका यी लक्षण स्त्री अण्डाशयमा इस्ट्रोजन र प्रोजेस्टेरोनको कम उत्पादनको परिणाम हो । नेपाली समाजमा रजोनिवृत्ति–विमर्श हुनुपर्छ भन्ने ध्येयले ‘कोसेली’ ले रजोनिवृत्ति–अनुभव भएका ४० जना महिलासँग सर्भे गरेको छ (२०७९ फागुन २२ देखि २०८० वैशाख २५ सम्म) । त्यही सर्भेबाट आएको तथ्यांकका आधारमा यो आलेख लेखिएको हो ।

...

सामान्यतया उमेरले ४० कटेपछि महिलाको महिनावारी गडबड हुन थाल्छ । उसमा बिनाकारणै उदासी र चिन्ता बढ्छ । निद्रा नपर्ने, चिच्याउन, कराउन, रुन मन लाग्ने, भर्खरै गरेको काम बिर्सिने क्रम सुरु हुन सक्छ । योनिमा सुख्खापन सुरु हुन्छ । अनियमित भइरहेको महिनावारी–चक्र केही वर्षपछि त बन्दै हुन्छ ।

विश्व स्वाथ्य संगठनले सन् २०२२ अक्टोबर १७ मा एक तथ्य सार्वजानिक गर्दै भनेको छ, ‘महिलाको जीवनचक्रको निरन्तरताको एक विन्दु हो– रजोनिवृत्ति । र, प्रजनन उमेरको अन्त्य हो । रजोनिवृत्तिपछि सामान्यतया महिलाहरू गर्भवती हुन सक्दैनन् ।’ धेरैजसो महिला ४५ देखि ५५ को जैविक उमेरमा रजोनिवृत्ति हुन्छन् । डिम्बाशयबाट अण्डा उत्पादन कमी हुन्छ र रक्तसञ्चारमा इस्ट्रोजन हर्मोनको कमीले रजोनिवृत्ति (मेनोपज) हुन्छ ।

आमा, हजुरआमाका पुस्ताको बुझाइमा ‘महिनावारी सुक्नु’ हो– रजोनिवृत्ति । यसलाई तीन चरणमा हेरिन्छ– हुनुअघिको चरण, भएको चरण र रजोनिवृत्ति भइसकेपछिको चरण । तीनै तहमा व्यक्तिपिच्छे फरक—फरक लक्षण देखा पर्छन् । ‘रजोनिवृत्ति र यसको उमेर’ सम्बन्धी सन् २००२ मा प्रकाशित एक जर्नलमा लेखिएअनुसार, एरिस्टोटलले रजोनिवृत्ति ४० वर्षको उमेरमा सुरु हुन्छ भनेका छन् । एक फ्रान्सेली चिकित्सकले सन् १८२१ मा ‘रजोनिवृत्ति’ शब्द प्रचनलमा ल्याएका थिए । १९ औं शताब्दीको मध्यतिर रजोनिवृत्तिमाथि चिकित्सा रुचि निकै बढ्यो । सन् १९३० तिर मान्छेहरूले भन्नथाले– रजोनिवृत्ति केही खास तत्त्वको कमीले हुने ‘रोग’ हो । त्यसैले चिकित्सा प्रणालीले पनि भन्यो– रोग ठीक पार्न जनावरको अण्डाशय कुटेर निकालिएको रस सेवन गर्नुपर्छ । कतिपय शल्यचिकित्सकले ‘महिलाहरूको अण्डाशय बिग्रेकाले महिनावारी रोकिएको’ विश्वास गरे र महिलाको अण्डाशय नै निकाल्ने विचार पनि राखे ।

सन् १९७० मा हर्मोनसम्बन्धी ज्ञानको विकास भएपछि थाहा भयो– रजोनिवृत्ति कुनै ‘रोग’ होइन, महिलामा हुने ‘इस्ट्रोजन’ हर्मोनको कमीले शरीरमा आउने एक बदलाव हो । रजोनिवृत्ति भएकालाई लक्षणहरूले असाध्यै च्याप्यो भने शरीरमा ‘इस्ट्रोजन’ हर्मोनको थेरापि गरेर त्यो असहजता कम गर्न सकिन्छ । रजोनिवृत्तिको लक्षण विश्वका विभिन्न क्षेत्रमा फरक–फरक हुन्छ । जस्तै : पश्चिमा देशहरूमा ‘हट फ्लस’, जापानमा काँधको दुखाइ र भारतमा कम आँखा देख्नु । हर्मोन–थेरापी दर पश्चिमा देशहरूमा उच्च छ भने भारतजस्ता देशमा कम वा नगण्य नै छ । न्युट्रिसनिस्ट तथा डाइटिसिएन मीरा शाहले भनेकी छन्, ‘महिनावारी गडबड हुन थालेपछि ‘इरिटेटिङ’ हुन थाल्छ । एक वर्षसम्म लगातार महिनावारी भएन भने त्यसलाई रजोनिवृत्ति मान्नुपर्छ । त्यसपछि आफूमा रजोनिवृत्ति सुरु भइरहेको छ भनेर महिला तयार हुनुपर्छ र आवश्यकताअनुसार स्त्री–रोग विशेषज्ञको सल्लाह लिनुपर्छ (२०२३ को जनवरी २२ मा पिरियडका कुरा, पडकास्ट) ।’ विज्ञका सुझाव सबैलाई थाहा नहुन सक्छ वा त्यो सबैले ख्याल नराखेका हुन सक्छन् । त्यसो हुँदा रजोनिवृत्ति–लक्षणले प्रायः महिलामा डर–त्रास र तनाव फैलाइरहेको छ ।

...

महिनावारी सुरु भएपछि हामी आफ्नो ख्याल राख्छौं– प्याड कसरी लगाउने ? त्यो कसरी डिस्पोज गर्ने ? स्वास्थ्य समस्या आए के गर्ने ? तर, रजोनिवृत्तिका सवालमा हामी निकै पछाडि छौं । सकभर एकअर्काबीच छलफल गर्नै चाहँदैनौं । फलतः त्यसका लक्षणको डरले भित्रभित्रै मन खाइरहेको हुन्छ । सामान्यतः महिनावारीले सन्तानोत्पादन गर्न सक्ने अवस्था जनाउँछ, रजोनिवृत्तिले सन्तानोत्पादन गर्न नसक्ने अवस्था । यत्ति तथ्य थाहा नपाएर रजोनिवृत्ति–चरणमा रहेका, भइसकेका महिलाहरू ठूलो मानसिक समस्यामा फसिरहेका छन् ।

नेपालमा रजोनिवृत्तिमाथि खासै अध्ययन भएको छैन । मर्यादित–महिनावारी अभियन्ता राधा पौडेल रजोनिवृत्तिबारे घर, परिवार, समाज र देशमै पर्याप्त छलफल, बहस, सचेतना नहुँदा महिलाले मानसिक, शारीरिक, आर्थिक, सामाजिक सास्ती खेप्नुपरेको बताउँछिन् । ‘महिनावारीमा विभेद भए पनि मान्छेहरू भित्रभित्रै कुरा गर्छन्, किनभने उनको बिहे गर्नुपर्‍यो । बिहे गरेपछि बच्चा पाएन भने छोरीले दुःख पाउँछे, उसको श्रीमान्ले अर्को बिहे गर्छ भनेर कतै न कतै यसको कुरा हुन्छ, तर रजोनिवृत्तिबारे कुरै हुँदैन,’ भन्छिन्, ‘बच्चा पाइसकेपछि त्यो महिलाको जीवन कस्तो चल्दै छ, त्यो कसैले वास्तै गर्दैन । त्यो तहको ‘साइलेन्स’, ‘इग्नोरेन्स’ छ । श्रीमान्–श्रीमतीबीच समझदारीको स्थिति नबन्दा यौनजीवन तथा वैवाहिक जीवन सकिएका थुप्रै उदाहरण मैले भेटेको छु ।’

महिलाले भोग्नुपरेको यो अवस्था उजागर गर्न हामीले अत्यन्तै आवश्यक ठान्यौं । र, यो आलेख तयार पार्ने दौरानमा हामीले गरेको सर्भेमा इलाम, झापा, भोजपुर, खोटाङ, सुनसरी, मोरङ, सर्लाही, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, काठमाडौं, ललितपुर, चितवन, दाङ, सुर्खेत, रोल्पा, प्यूठान, कास्की, बझाङ, कैलालीका ४४ देखि ७५ वर्ष उमेरका रजोनिवृत्ति–अनुभव भएका ४० जना महिला थिए । उनीहरू गृहिणी, अवकाशप्राप्त नर्स, उपप्राध्यापक, अर्थशास्त्री, सरकारी–गैरसरकारी क्षेत्रका कर्मचारी, डाक्टर, शिक्षक, पत्रकार थिए । सर्भेमा सहभागीमध्ये केहीको रजोनिवृत्ति–अनुभव यहाँ समेटेका छौं ।

...

महिनावारी गडबड हुन थालेपछि चाबहिलकी दुर्गा थापालाई लाग्यो– कोरोनाले होला । महामारीको दोस्रो लहरमा उनी संक्रमित भइन् । घरैमा चार दिनसम्म अक्सिजन लिइन् । निको भएपछि महिनावारी गडबड हुन थाल्यो । ‘दैनिक जीवनशैलीमै पोस्ट कोभिडको लक्षण झेलिरहेका थियौं, त्यसैले होला भन्ठानें,’ उनले सुनाइन् । महिनावारी पाँच/छ महिना नियमित हुने, त्यसपछि अनियमित हुने क्रम चलिरह्यो । बिस्तारै अकारण नै उदासी वा चिन्ता, डिप्रेसन, चिडचिडाहपन, रिस उठ्ने, पाठेघर फुल्ने, शरीर सुन्निने, निद्रा नलाग्ने, टाउको दुख्ने, माइग्रेन भएजस्तो हुन थाल्यो । काम गर्ने जोस बोकेर बिहान घरबाट निस्केकी उनी दिउँसोसम्म कमजोर भइसकेकी हुन्थिन् । घर फर्किन श्रीमान् र छोरालाई बोलाउनुपर्थ्यो । स्त्रीरोग विशेषज्ञलाई स्वास्थ्य समस्या सुनाएपछि र पाठेघर जाँच गरेपछि पनि समस्या पत्ता लागेन । तर, उनलाई दुःखले पछ्याउन छाडेन । डेढ वर्ष यत्तिकै बित्यो ।

०७९ साउन/भदौतिर त्यही समस्याले बेस्सरी च्याप्यो । काठमाडौंका कलेजहरूमा पढाउने उनी स्कुटर चलाएर काममा जान नसक्ने भइन् । श्रीमान् र छोराले कार्यालय पुर्‍याउने/घर ल्याउने गरे । २० वर्षे छोरो र ७ वर्षीया छोरीकी आमा दुर्गा पीडाले असह्य भएपछि छोराछोरीलाई अरू बेलाभन्दा बढी नै गाली गर्न थालेकी थिइन् । डेढ वर्षको निरन्तरको ‘सफर’ पछि जँचाउन अस्पताल गइन् । डाक्टरले भने, ‘तपाईंलाई मेनोपज हुन लागेको हो । जेजे भइरहेको छ, मेनोपजको लक्षण हो ।’ डाक्टरले उनलाई यो कुनै जटिल रोग नभई रजोनिवृत्तिको लक्षण भएकाले नआत्तिन सुझाए । डेढ वर्षयता योनिमा सुक्खापन पनि थपिएको थियो । प्रत्येक महिनाको १०/१५ गते सुरु भएर २०/२२ तिर उदासी वा चिन्ता, चिडचिडाहपन, निद्रा नलाग्ने, टाउको दुख्ने, चिच्याउन, कराउन, रुन मन लाग्ने हुन्थ्यो । २५/२६ गतेतिर दुखाइ कम हुन्थ्यो । हप्तैपिच्छे आत्तिएर उनी स्त्रीरोग विशेषज्ञकहाँ पुग्थिन् । ४७ वर्षको उमेरमा गत ०७९ पुसमा उनी अन्तिम पटक महिनावारी भइन् । स्त्रीरोग विशेषज्ञले रजोनिवृत्ति भइसकेकाले खानपान, व्यायाममा जोड दिन भने ।

‘यो हर्मोनल चेन्जेजले हुँदोरहेछ । डाक्टरले पनि यो कुनै रोग होइन, बरु जतिसक्दो टोफु, सोयाबिन खानु, हर्मोन सन्तुलनमा आउँछ भन्नुभयो । नियमित टोफु खाएपछि उदासी–चिन्ता कम हुँदै गएजस्तो भएको छ,’ उनले भनिन्, ‘रजोनिवृत्तिका बेला धेरैलाई डिप्रेसन, नसाको समस्या हुनेरहेछ, भिटामिन सी, डी, क्याल्सियम धेरै चाहिने भनेर डाक्टरले लेखिदिनुभयो । मैले मिलाएर खाएँ, योगा गर्न थालें ।’ पाठेघर र जीउ फुलेको महसुस भइरहे पनि उनमा उदासी वा चिन्ता, चिडचिडाहपन, अनिद्राको समस्यामा क्रमिक सुधार भइरहेको छ । ‘उतिबेलाजस्तो धेरै गाह्रो त होइन, तर बेलाबेला लक्षणले छोपिरहन्छ, अहिलेचाहिँ मानसिक रूपमा बलियो बनाउँदै छु आफूलाई,’ उनले भनिन् । यो रजोनिवृत्तिकै समस्या हो भन्ने थाहा पाएपछि बिसन्चो भएका बेला श्रीमान् र छोराले उनको ख्याल राख्छन् । अचेल दुर्गाको दैनिकी ठीकठाक छ ।

अब चितवनकी विन्दु पौडेल वस्ती (५४) को रजोनिवृत्ति–अनुभव सुनौं । एसएलसीपछि कलेज सुरु गर्दैगर्दा उनको विवाह भयो सोह्रै वर्षमा, नवलपरासीको एक संयुक्त परिवारमा । जेठी बुहारी, उनीमाथि परिवारका सबैले हैकम जमाउँथे । मेलापात, चुलोचौको, बोक्नुपर्ने गह्रौं भारी आदिले उनी थकित त हुन्थिन् नै, हुँदाहुँदा सुत्केरी–बेला पनि आराम पाइनन् । ‘जति धेरै काम गर्‍यो बच्चा पाउन उति सजिलो हुन्छ भन्दै काम गराउँथे, पानी ओसार्न पठाउँथे । कामकै लछारोले पहिलो गर्भ चार महिनामै खेर गयो,’ विन्दुले भनिन्, ‘त्यसपछि एक छोरा, एक छोरी भए । सुत्केरी हुने बेला अस्पताल लैजाऊ भन्दा पनि घरैमा बल गर्न लगाए । बाहिर आउन बच्चाले पो बल गर्नुपर्ने रहेछ, तर आमालाई बल गर्न लगाउँदा त उल्टो भयो । सुत्केरी–बेला परालमा काम्रो ओछ्याएर राखे । परपरै पार्थे ।’ २७ वर्षदेखि चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसमा उपप्राध्यापक रहेकी उनले त्यसपछि आफूलाई पाठेघर खस्ने रोग लागेको सुनाइन् । घरायसी बोझ, छोराछोरीको हेरचाह र पढाइको निरन्तरता ! यी सबै जिम्मेवारी र तनावमाझ उनी शिक्षण पेसामा प्रवेश गरेकी थिइन् । जागिरे भएपछि खेतीपाती र चुलोचौकोबाट पन्छिन त पन्छिइन्, तर पाठेघरको समस्याले उनलाई छोडेन ।

पाठेघर खसेपछि पिसाबथैली पनि धकेलियो । पिसाब लागेपछि शौचालय गइहाल्नुपर्ने, नत्र चुहिने, हिँड्नै अप्ठेरो हुने, बोल्दा नै खसेजस्तो हुने, पिसाब पोल्ने हुन्थ्यो । एन्टिबायोटिक खाएर सुकाउनुपर्थ्यो । सुरुमा एकपटक खाएको एन्टिबायोटिकले तीन/चार महिना त थेग्थ्यो, तर पछि औषधिले कम काम गर्न थाल्यो । महिनैपिच्छेजसो खाइहाल्नुपर्ने, नत्र दुखाइ बढ्ने । भरतपुरमा गरिएको उपचार चित्त नबुझेर काठमाडौंको अस्पताल आइन् । पाठेघर खसेको समस्याबारे कोही ‘आफैं सुक्छ’, कोही ‘फाल्नुपर्छ’ भन्थे । उनले एन्टिबायोटिक ६ वर्षसम्म खाइन् । औषधिले काम नगर्ने र पिसाब चुहिएर कपडामै फोहोर देखिन थालेपछि अन्ततः पाठेघर फ्याल्ने निर्णयमा पुगिन् । पाठेघर फालेको छैटौं वर्ष लाग्यो । ‘फालेको दुई महिना काँडा झिकेजस्तै भयो । त्यतिन्जेल हर्मोन सन्तुलनको औषधि खाइरहेकी थिएँ,’ उनले भनिन् । धेरै औषधि खाएर साइड इफेक्ट हुने डरले कटौती गरेपछि उनी डिप्रेसनमा गइन् । उनलाई रातभर निद्रा नलाग्ने, सुत्न मन नलाग्ने, शरीर कमजोर हुने, छाला सुक्खा हुने, टाउको दुख्ने, घाँटी दुख्ने, शरीरमा कता–कता के–के नमिलेजस्तो हुन थाल्यो । क्यान्सर भयो कि भन्ने डरले धेरैतिर भौंतारिइन् । काठमाडौं आएर सिटिस्क्यान, एमआरआईलगायत स्वास्थ्य जाँचका प्रक्रिया पूरा गरिन्, तर समस्या पत्ता लागेन । ‘कारण त रजोनिवृत्ति रहेछ । थाहा नपाएर दुःख पाएँ नि,’ उनले भनिन्, ‘क्याम्पसमा गयो एकैछिनमा खलखल पसिना आउने, पंखा लगाउन मन लाग्ने हुन्थ्यो । पानी छम्केर पढाउन जान्थें । तर, एकैछिन पनि बस्न मन लाग्दैनथ्यो, अरूसँग बोल्न पनि मन लाग्दैनथ्यो ।’ तीन वर्षसम्म डिप्रेसनको औषधि खाइन् ।

अहिले सम्झिँदा घरमा एक्लै बस्नुपरेकाले तनाव बढेको अड्कल काट्छिन् । रजोनिवृत्ति रोग होइन भन्नेमा ढुक्क भएपछि उनी घुम्ने, व्यस्त भइरहने, यसबारे युट्युब–पुस्तकतिर खोज्ने–पढ्ने गर्न थालिन् । यसबारे अरूसँग ‘सेयरिङ’ गर्न थालिन् । अरू महिलाले पनि आफ्नैजस्तो समस्या भएर डिप्रेसनको औषधि खाइरहेको भए पनि नसुनाएका मात्रै रहेछन् भन्ने त्यसपछि थाहा पाइन् । आफूले जस्तो अरूले नभोगून् भनेर अचेल उनी क्याम्पस, क्लबहरूमा प्रत्येक वर्ष सचेतना कार्यक्रम गर्छिन् । बिदाको दिन घरमा एक्लै बस्दिनन्, घुम्न जान्छिन् । सधैं बिहान कम्तीमा २० मिनेट हिँड्छिन् । जीवनशैली बिस्तारै सहज हुँदै छ । भन्छिन्, ‘हर्मोनल चेन्जेजको पिक आवर सकिएजस्तो लाग्छ । पहिले उतिखेरै चेन्ज आउँथ्यो, एक वर्षयता एक–डेढ हप्तामा देखिन्छ ।’

...

स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल भन्छन्, ‘समय पुगेपछि महिनावारी बन्द हुने प्राकृतिक प्रक्रिया होस् वा कृत्रिम तरिकाले औषधि दिएर महिनावारी सुकाएको होस् अथवा पाठेघर फालेर महिनावारी बन्द भएको होस्, महिनावारी रोकिएपछिको त्यो अवस्थालाई रजोनिवृत्ति नै भन्छौं ।’ उनका अनुसार, महिलामा हुने ‘इस्ट्रोजन’ हर्मोन सुक्दै जाँदा ‘फोलिक स्टिमुलेटिङ हर्मोन’ बढ्दै जान्छ । त्यसपछि जीउमा चिटचिडाहपन हुने, पसिना आउने, रिस उठ्नेजस्ता लक्षण देखिन थाल्छन् र रजोनिवृत्ति हुन्छ । ‘अब महिनावारी सुक्नेले दुःख दिन सक्छ भनेर पहिल्यै परामर्श गर्‍यौं भने यो समस्याले कम दुःख दिन्छ,’ रिजालले भने, ‘होइन भने उनीहरू बढी पीडा महसुस गर्छन् । रजोनिवृत्तिको समस्या सबैमा आउँदैन । रजोनिवृत्ति हुनेमध्ये १० देखि २० प्रतिशतलाई पीडा हुने सम्भावना हुन्छ ।’

न्युट्रिसनिस्ट तथा डाइटिसिएन मीरा शाह भन्छिन्, ‘रजोनिवृत्ति भनेको अब अर्कै लाइफ स्टाइल सुरु हुँदै छ भन्ने हो । यो प्राकृतिक नियम जसले स्विकार्छ, उसको जीवन सहज बित्छ । जसले स्विकार्दैन, ऊ त्यही भुमरीभित्र घुम्छ । यो बेला तनावचाहिँ एकदमै हुन्छ । छोराछोरीहरू आमा किन कराइन्, झर्किइन् भनिरहन्छन् । श्रीमान् पनि ‘उमेर बढ्दै गएपछि श्रीमती बढी नै किचकिचे भएको’ सोच्छन् । यस्तो बेला श्रीमान्को सहयोग चाहिन्छ । यो लाज मान्ने विषय नै होइन ।’

चोट, मानसिक स्वास्थ्य, महिला हर्मोनबारे अनुसन्धानरत बेलायतकी हेलेन केम्पले आफू ४१ वर्षको छँदा पाठेघर, अण्डाशय, अण्डवाहिनी–नलीको शल्यक्रियापश्चात् रजोनिवृत्तिको अनुभव गरिन् । गैरआख्यान किताब ‘सर्जिकल रजोनिवृत्ति’ मा उनले लेखेकी छन्, ‘मलाई विश्वास छ– शल्यक्रियापछि हुने रजोनिवृत्ति प्राकृतिक रूपमा हुने रजोनिवृत्तिभन्दा पूर्ण रूपमा फरक छ । मेरो आफ्नै अनुभव र देशका विभिन्न ठाउँका महिलासँगको अन्तरक्रियाका कारण म शल्यक्रियापछि हुने रजोनिवृत्तिमा उनीहरू कति पीडित छन् भन्नेबारे राम्रोसँग जान्दछु । उनीहरूको मानसिक स्वास्थ्यमा असर गर्छ, उनीहरूको सम्बन्धमा नकरात्मक प्रभाव पार्छ ।’ तर, डा. रिजाल भन्छन्, ‘यदि पाठेघर राख्दा पछि उनलाई धेरै नराम्रो स्थिति आइपर्छ भने नफालेर हुन्न ।’

बबरमहलकी वैदेही सत्यालको रजोनिवृत्तिको–चरणमा महिनावारी अनियमित भयो । एक वर्षजति अत्यधिक रगत बग्थ्यो । एकै दिन १० पटकसम्म कपडा फेर्नुपर्थ्यो । गर्मी हुने, चिटचिट पसिना आउने हुन्थ्यो । आत्तिएर अस्पताल गइन् । डाक्टरले ‘महिनावारी बन्द हुने चरणमा रहेको हुँदा नआत्तिन’ भने । ‘उमेर पुगेपछि महिनावारी बन्द हुन्छ भनेर आमाहरूले भनेको सुनेकी थिएँ । आमाको ५० वर्षको हुँदा बन्द भएको हो । उहाँ पनि गर्मी हुने, वाकवाक हुने भइरहेको छ भन्नुहुन्थ्यो । मलाई पनि गर्मी भयो, छिनछिनमा गर्मीले औडाहा हुन्थ्यो । बिस्तारै महिनावारी गडबड हुँदै बन्द भयो,’ ४९ वर्षको उमेरमा उनको रजोनिवृत्ति भयो । रजोनिवृत्तिपछि बिर्सिने र बेलाबेला जीउ चिलाउने समस्या भइरहन्छ ।

मनोचिकित्सक ऋषभ कोइरालाकहाँ पुग्ने महिला अधिकांश उदासी वा चिन्ताको समस्या लिएर जान्छन् । ‘४०/४५ वर्ष माथिका धेरै आउनुहुन्छ । हामीसँग आउने आधाभन्दा बढीको लक्षण रजोनिवृत्तिका हुन्छन्, जुन विषयमा उहाँहरू पहिल्यै जानकार हुनुहुन्न,’ उनले भने, ‘यसकारण रजोनिवृत्तिका बेला हुने दुखाइ, असहजता कम गर्न परामर्श एकदमै महत्त्वपूर्ण हुन्छ ।’

रजोनिवृत्ति भएका महिलालाई यौन–इच्छा हराउँदै जान्छ । डा. रिजाल भन्छन्, ‘श्रीमतीमा इस्ट्रेजोन कमी भएर योनि सुक्खा हुन्छ र योनिको छाला च्यातिने, रगत आउने समस्या देखापर्छ । हामीले बेलाबेला ‘टियर’ हरू ‘रिपेरिङ’ गर्नुपरेको छ । यो विषय अक्सर श्रीमान्हरू बुझ्दैनन् ।’

झापाकी निर्मला भट्टराई (६१) को अनुभव छ, ‘महिनावारी बन्द भएपछि चाहना घट्ने मेरो मात्रै होइन । मेरा साथीहरूले पनि यस्तै सुनाउँछन् । तर, यही विषयलाई लिएर श्रीमान्–श्रीमतीबीच तिक्तता हुनुभएन । यो प्राकृतिक प्रक्रिया दुवैले बुझ्नुपर्छ ।’ ५२ वर्ष कटेपछि उनको रजोनिवृत्ति भयो । दमकको भृकुटी माविमा ३६ वर्षदेखि पढाइरहेकी उनलाई रजोनिवृत्तिले कहिल्यै दुःख दिएन । ‘झन्झट लागेन, बरु आनन्द भयो । मेरो पाठेघरमा ट्युमर पलाएर निकालिएको थियो । यही भएर महिनावारीका बेला अलि बढी रगत बग्थ्यो, झिँजो लाग्थ्यो, महिनावारी सुकेपछि झन्झट सकियोजस्तो भयो,’ उनी भन्छिन् । उनलाई बिर्सिने समस्या छ, तर यसलाई उनी उमेर बढ्दै गएपछि स्वतः आउने परिवर्तन मान्छिन् । महिनावारीदेखि रजोनिवृत्तिसम्म महिलालाई मर्यादित व्यवहार आवश्यक हुने अभियन्ता राधा पौडेलको बुझाइ छ । भन्छिन्, ‘यो विषयमा स्कुलमै पढाइनुपर्छ ।’ रजोनिवृत्तिपछि हड्डी मक्किने, भाँच्चिने, ढाड दुख्नेजस्ता रोगको जोखिम बढ्ने हुँदा किशोरावस्थादेखि नै खानेकुरा, आहारविहार र व्यायाममा जोड दिनुपर्ने डा. अरुणा उप्रेतीको सुझाव छ ।

...

रजोनिवृत्ति भएपछि वा हुनुअघि कस्तो महसुस भयो वा भइरहेको छ भन्ने हामीले सोधेको वस्तुगत प्रश्नमा सबैभन्दा बढी १२ जनाले चिडचिडाहपन महसुस गरेको बताए । रजोनिवृत्ति भएपछिको जीवनशैलीबारे सोध्दा सबैभन्दा बढी २८ जनाले सामान्य रहेको बताए । पहिलो पटक महिनावारी हुँदा सबैभन्दा बढी २६ जनाले डर, भय महसुस गरेका थिए । पहिलो पटक महिनावारी भएको बारे २२ जनाले आमालाई सुनाएका थिए भने रजोनिवृत्ति भएको बारे पहिलो पटक सबैभन्दा बढी १३ जनाले श्रीमान्लाई सुनाएको बताए । सर्भेमा सहभागीमध्ये सबैभन्दा बढी ५० देखि ५४ वर्षको उमेर समूहमा १५ र ४५ देखि ४९ वर्षको उमेर समूहमा १३ जनाको रजोनिवृत्ति भएको पायौं (विस्तृतमा हेर्नुहोस्—इन्फोग्राफिक्स) ।

...

रजोनिवृत्तिको बहसमा पछिल्लो समय हर्मोनल थेरापी उपचार पद्धतिबारे पनि छलफल हुन थालेको छ । पुरुषमा पनि रजोनिवृत्ति हुन्छ भन्ने बहस सुरु भएको छ । उप्रेती भन्छिन्, ‘हर्मोनल थेरापी गर्नुपर्छ भन्ने नेपालमा पछिल्लो समय जुन विचार आएको छ, यो डरलाग्दो हो । किनभने रजोनिवृत्ति प्राकृतिक प्रक्रिया हो, रजोनिवृत्तिको विशेष अवस्थामा बाहेक हर्मोन प्रयोग गर्नुपर्दैन ।’

पुरुष–रजोनिवृत्तिबारे भोला रिजाल भन्छन्, ‘उमेर बढ्दै गएपछि पुरुषहरूमा पनि महिलामा रजोनिवृत्ति हुँदाजस्तो चिडचिडाहपन हुन सक्छ, पसिना आउन सक्छ हर्मोनल चेन्जले गर्दा । तर, यसमा मेनोपज शब्दावली प्रयोग गर्न मिल्दैन ।’

रजोनिवृत्ति केवल सामान्य प्राकृतिक प्रक्रिया हो । यो लुकाउनुपर्ने, लजाउनुपर्ने, दुःखी हुनुपर्ने विषय हुँदै होइन । स्वस्थ्य जीवनशैलीले अब जित्नेछ, ‘रजोनिवृत्ति–दुःख’ ।

प्रकाशित : जेष्ठ ६, २०८० १२:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×