१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
आत्मसंवाद

के यो कहानी सुनिएला ?

महिलाले मात्रै महिलालाई बुझ्न सक्छन् किनभने महिलाको शारीरिक संरचना, भावना, मन र मस्तिस्क लगभग एकै किसिमले चल्ने वा सोच्ने खालको हुन्छ
सुल्ताना बानु

लौ सुन म भन्छु, मेरो राम कहानी
त्यो एक दिनको घाम, सयौं दिनको पानी
गोपाल योञ्जनको सङ्गीत, शब्दमा स्वरसम्राट् नारायण गोपालले गाएका यी पङ्क्ति अधिकांश नेपालीले सुनेको हुनुपर्छ । यी हरफ पढ्ने–सुन्ने जोसुकैले यसका भावलाई सम्भवतः आफ्नो भोगाइ र परिस्थितिअनुकूल बनाउँछन् र सायद गुन्गुनाउँछन् ।

के यो कहानी सुनिएला ?

हामी सबैका आफ्ना कथा छन्, व्यथा छन् । हामीमध्ये कथा नभएको र जीवनमा आरोहअवरोह नभोगेको को होला ? सुन्न बस्यो वा विगत कोट्याउन थाल्यो भने देखिन्छन् ती अनगिन्ती पाप्रा, जो कतिका आलै होलान्, कतिको सुकेर खत बसिसकेका होलान् । बेनाम ती मानिसका कति अनुभव सुनियो, लेखियो, पढियो होला ? सायद ती धेरै लेखिएनन्, तिनलाई सुन्ने अनि सुनाउने ज्यादा प्रयत्न गरिएन । र, अधिकांश यत्तिकै बिलाएरै गए । म सम्झन्छु मेरो डिग्रीको क्लासमा मेरा एक जना गुरुले दिनुभएको उदाहरण । भन्नुहुन्थ्यो– इतिहास भनेको बिजेताको घोडा हो । यो संसारमा त्यसको मात्रै चर्चा हुन्छ, जसले जितको ताज पहिरिन्छ ।

एउटा कक्षाकोठामा सिपालु विद्यार्थीको चर्चा नजान्नेको भन्दा ज्यादा हुन्छ । सभासमारोहमा पनि जसले ढङ्गले बोल्न र प्रस्तुत गर्न जानेको हुन्छ, प्रशंसा उसैको हुन्छ । पालो उसैले मात्रै पाउँछ, जसको क्षमता अरूको भन्दा ज्यादा हुन्छ । जान्नेलाई माथि राख्दा नजान्ने सदैव तल पर्छ, हुनेलाई ध्यान दिँदा नहुने सदैब ओझेलमा पर्छन् । हुन त सामाजिक चलन र वर्गीकरण नै यस्तै छ । जो समान कहिले थिएनन् र हुन पनि गाह्रो छ । यद्यपि हाम्रा आँखाले विभेद केवल पुरुष र महिलाबीच मात्रै देख्छ । यहाँ त उही पहिचान र लैङ्गिक समानता बोकेकाहरूबीच पनि असमानता छ । यी कुरा सोच्दै गर्दा हाम्रो समाजमा भएका ती सम्पूर्ण निम्नवर्गीय महिलाका कथा मेरो दिमागमा सल्बलाउन थाल्छन्, जो कहीँ लेखिएका छैनन्, लेख्नेहरूको नजरमा कहिले पर्लान् भन्ने यकिन पनि छैन । ती सायदै लेखिएलान् पनि । किनभने मानवीय स्वभाव हो या अरू केही, थाहा छैन, प्रायःजसो चम्किने वस्तुतिर हामी आकर्षित हुन्छौँ । यो दौडादौडको दुनियाँमा सामान्य जीवन बाँचेका र भोगेका मान्छेबारे सोच्न हम्मेसी कसैलाई फुर्सद छैन ।

शिखर चुमेकाहरू पनि गुमनाम हुँदा त वास्ता नहुँदो रहेछ भने नजरमा नपरेकाहरूको जीवन त फगत शरीरमा श्वास चलेको मात्रै न हो । अनि समाजका लागि ती अर्थहीन कहलिएका आवाजकाबारे किन र केका लागि लेख्नु ? नत्र त ती ओझलमा परेका विपन्न बर्गीय कथाहरू टन्नै भेटिन्छन् भड्किलो न्युरोड र व्यस्त असनका फुटपाथमा पसल थापेर बसेका महिलाहरूको, जसलाई महिला सशक्तीकरणका सशक्त अनि वास्तविक अभिलेखका रूपमा लिन सकिन्छ । ती आवाजहरू कैयौं वर्ष सामाजिक क्षेत्रमा काम गरेका र महिला अधिकार बुझेकाबाट सुनिने या तिनबाट त्यसलाई कुनै स्वप्निल स्वरूप दिनेतर्फ काम भएको मैले सुनेकी छैन ।

यो कुरा मनन गर्दा मलाई लाग्छ, यो संसारमा महिलाहरू पुरुषबाट मात्रै पीडित होइनन्, सम्पूर्ण परिवेश, सिङ्गो व्यवस्था अनि सामाजिक संरचनाबाट पीडित र प्रभावित छन् । एउटा बच्चा जन्मनेबित्तिकै समाजले उसको लिंग र पहिचान छुट्याउँछ । त्यहीँबाट सुरु हुन्छ नारी, पुरुषबीचको भेद र असमानता । नारी सकेसम्म सर्वगुण सम्पन्न हुनुपर्छ, सहनशील हुनुपर्छ, नारी भएपछि परेको खण्डमा आकाशजस्तो खुला अनि धर्ती जत्तिको फराकिलो हुनुपर्छ– यस्तैयस्तै कुरा सिकाएर बच्चाहरूलाई हुर्काइन्छ । लाउन, खान, बस्न, बोल्न अनि अरु केके हो केके । सिक्न र सिकाउनको कारणतर्फ कुनै सामाजिक शास्त्रका विद्वान्को अहिलेसम्म सायदै ध्यान गएको छ । समाजको कुरा परै जाओस्, छोरा र छोरीबीच विभेद घरबाटै सुरु हुन्छ । रोचक के छ भने यी सबै विभेद र ‘ज्ञान’ दिने वर्ग महिला नै हुन् ।

महिला वर्गले महिलालाई सिकाउने सन्दर्भमा म क्रिस्तियानी निग्यानीको ‘बटरफ्लाई किस’ शीर्षकको लेख सम्झन्छु । उनका अनुसार– महिलाले मात्रै महिलालाई बुझ्न सक्छन् किनभने महिलाको शारीरिक संरचना, भावना, मन र मस्तिस्क लगभग एकै किसिमले चल्ने वा सोच्ने खालको हुन्छ । त्यसैले उनी महिलाका लागि महिला मात्रै भए पुग्ने संकेत दिन्छिन् । उनको यो सिद्धान्तलाई समलिङ्गीको परिवेशसँग जोडेर विभिन्न व्याख्या र विश्लेषण भएको पाइन्छ । तर, यही कुरालाई महिलाको परिवेशसँग जोड्दा के साँच्चै नै महिलाले महिलालाई बुझ्छन् त ? के हामी महिलाको जीवनमा आइलागेका सम्पूर्ण बाधा र कष्टहरू सबै पुरुषकै कारणले भएको हो ?

हाम्रो परिबेशमा यस्ता अनगिन्ती उदाहरण छन्, जहाँ महिलाबाट महिला शोषित भएका छन्, महिलाले नै महिलाको कुरा नबुझेको अवस्था छ । पुरुषहरू वास्तवमै पीडक हुन् वा हामी नारी स्वयम् भन्ने सवाललाई नजरअन्दाज गर्न सकिन्न । महिलाहरू, जसले धर्म, संस्कृति र संस्कारको नाममा खोक्रो आडम्बर बोकेर बस्दा शोषणको आक्षेप कसलाई लगाउने ? त्यसैले शोषण र विभेदमा त्यसैले नारी पुरुष दुवै बराबरको हकदार छौँ । कुनै महिलाको घर बिग्रियो, सम्बन्ध टुट्यो वा अरू नै केही घटना उसको जीवनमा घट्यो भने घरगल्ली वा समूहमा त्यसबारे सबैभन्दा पहिले कुरा काट्ने महिला हुन्छन् । अझै त्यसमा, सबैभन्दा घनिष्ठ सम्झिइएका र आफ्ना भनिएकाबाट नै कसैको निजी जीवनको गोपनीयता भङ्ग हुन्छ । यो चलन पुस्तौंदेखि पुस्तान्तरण हुँदै आएको छ । यो क्रम सितिमिति परिवर्तन हुने कुनै सम्भावना पनि देखिँदैन । अगाडि पर्दा हामी तिनै महिलालाई सहानुभूति त सजिलै दिन्छौँ, तर तिनको पीडालाई आफूमाथि परेजसरी लिने कोसिस गर्दैनौँ । गरे पनि सायद कमैले गर्छौँ होला ।

हामी आधुनिक युगमा छौँ । यस युगको सबैभन्दा प्रबल पक्ष मानिसको जीवनशैलीमा परिवर्तन हुनु हो । जुन परिवर्तनले गाँस, बास, कपासलाइ मात्रै नसमेटी नयाँ ज्ञान र सीपलाई पनि समेट्छ । आधुनिकतावादले सामर्थ्य र आत्मबल मात्रै नदिई नयाँनयाँ आविष्कार र अनुसन्धानको कला पनि तिखार्छ । ज्ञानबिना अनुसन्धान अपुरो छ । यही अपूर्णताले मेरो मस्तिष्कमा कैयौँ प्रश्न उब्जाएको छ । ती सोच अनि प्रश्नका उपज म स्वयंलाई– तिमी को हौ अनि यहाँ के छ तिम्रो पहिचान भनी प्रश्न गर्न थालेकी छु । हुन त यहाँ पहिचानको लागि नभौँतारिएको को छ र ? त्यो पाउन नदौडेको को होला र ? मैले यहाँ यो प्रश्नलाई विशेष ग्राह्यता दिनु म महिला भएकीले हो । मेरा ती सम्पूर्ण उज्याला–अँध्यारा, तीतामीठा, सफलअसफल पलहरूले मलाई बारम्बार झक्झक्याउँछ र प्रश्न गर्छ मेरो अस्तित्वमाथि । उत्तर नभएका होइनन्, तर सबै सवाल उत्तरित छैनन् । यतिखेर फेमिनिस्ट राइटर जुदिथ बटलरको पर्फरमेटिभ एक्टलाई सम्झिन्छु । उनका अनुसार, ‘यो संसारमा लैङ्गिक विभाजन भन्ने कुरा वा मुद्दा त्यस्तो केही हुँदैन, पुरुष होस् वा महिला उनीहरूले प्रत्येक दिन गर्ने काम वा दोहोर्‍याउने कामको उपज नै लैङ्गिकता हो । यसअर्थमा लैङ्गिकता दैनिकी जीवन चलाउनलाई एक महिला वा पुरुषले प्रदर्शन गर्ने व्यवहार हो ।’ उनको यस सिद्धान्तले खुबै आलोचना खेप्नुपरेको थियो । किनभने उनले सयौँ वर्षदेखि चल्दै आएको संरचनामाथि औँला उठाएकी थिइन्, अझ भनौँ उनले मानवको प्राकृतिक संरचनालाई नै चुनौती दिएकी थिइन् ।

बटलरकै लेखमा घोत्लिँदा वर्तमान सामाजिक व्यवस्था र पृष्ठभूमिलाई चुनौती दिएका सन्दर्भका गाथालाई मनन गर्दा मलाई पनि सोध्न मन लाग्छ– के गाथाहरू सधैं कुनै शिखरमा पुगेका महिलाका मात्रै सुनिने वा देखिने हो ? सडकको पेटीमा आफ्नो गुजारा गर्न तरकारी बेच्ने, बालुवा चाल्ने वा गिट्टी कुट्ने महिलाका जीवनयात्राका सफलता र विफलताका पक्ष के सधैं सडकका पेटी, त्यहाँका धूलामाटामा बिलाउन दिने हो ? मलाई लाग्छ होइन ।

उनीहरूको कथा आफैंमा सशक्त छ, जसमा जीवनपयोगी ज्ञान छन्, जसले त्यही पेटी अनि परिवेशको कालजयी सूचना र सन्दर्भ बोकेको छ । अहिलेको आधुनिक युगमा हामी केही खोज्नुपर्‍यो भने गुगल गर्छौँ अनि पत्ता लगाउँछौं । तर, गुगलले दिन नसकेका स्थानीय खबर, त्यहाँका ज्युँदा इतिहास त्यही परिवेश र ठाउँमा आबद्ध भएका महिलाले दिन्छन्– चाहे ती घरमा बस्ने हुन्, होटेल चलाउने, नाङ्ग्लो पसल थाप्ने वा सफा टेम्पो चलाउने महिला हुन् । पेसागत हिसाबले कुनै बेला पुरुषले ओगटेको व्यवसाय वा सीपमा महिलाहरूको प्रवेश भएको धेरै भइसक्यो । भनेपछि कुनै व्यक्ति जुनसुकै लिङ्गको भए पनि वर्षौँदेखि ती निरन्तर आबद्ध रहेका काम र सीपले उसको पहिचान दिन्छ नकि उसले जन्मिँदा लिएर आएको लैङ्गिक पहिचानले । यसमानेमा कुनै पनि महिलाहरू चर्चाका उत्तिकै हकदार छन्, चियोको मात्रै होइन ।

जान्नेबुझ्ने कहलिएका वर्गबाट त कमसेकम ‘कमन वुमन’ का कथा र भावलाई ओझेलमा नराखूँ भन्ने मेरो आशय हो । म महिला वर्गलाई नै प्रतिनिधित्व गर्छु र तिनीहरूको मर्म र जीवन बुझ्न मैले खोज्नु धेरै छ, पढ्नु धेरै छ अनि जायज प्रश्न गर्न सिक्नु पनि धेरै छ्र । सबैभन्दा पहिले त आफैँलाई खोतल्नु जरुरी छ, केस्राकेस्रा केलाउनु छ अनि आफैँलाई अर्कै स्वरूपमा रूपान्तर गर्नु छ ।

जुन स्वरूपले मलाई अर्को महिलाको दुःख साँच्चिकै बुझ्ने भाव देओस्, लड्ने आँट देओस् अनि हृदयमा सम्मान गर्ने साहस भरोस् ।

प्रकाशित : जेष्ठ ६, २०८० ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?