कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सात सय लिगलिगका सीमारेखा

नरू थापामगरको उपन्यासिका ‘सीमारेखा’ का पाना पल्टाए हाम्रो मगजमा ‘हवा’ चल्नेछ– इतिहास ‘गोरखनाथ’ को मात्रै हुँदैन, ‘मगरात’ को पनि हुन्छ, गोरखाका ‘पृथ्वीनारायण अनि तिनका मगर लाहुरे’ को मात्रै हुँदैन, ‘सात सय लिगलिग र त्यहाँको दलसुरे’ को पनि हुन्छ ।
नवीन विभास

हात पुग्दैन लौरा छोटो, पहरैमा सुन छ !
अर्कैलाई सम्झाने मन, आफैँ किन रुन्छ !!
रोल्पा–रुकुममा खोला तर्दा, नुनहाट जाँदा, गीतैका भाकामा, मायालु डाँकामा ‘पहराको सुन हात पार्न लौरा’ सहारा लिने चलन छ । सारङ्ङे र नचारुमा हातमा लौरा लिएका ‘बड्डाहरू’ सँगै नाच्छन् । नाचमा मात्र होइन नि, ‘बड्डाहरू’ का मन बैराँगिदा पनि लौरा साथैमा हुन्छ ।

सात सय लिगलिगका सीमारेखा

भेरीकिनार गरायलामा जन्मेका ‘बड्डा’ शशिराम ओली लौरा–सहारामै बैरागिन्छन् :

कर्नाली घुमाउरो पर्‍यो लौरी बगाउँदैन,

बैरागीको माझो मन, डुली अघाउँदैन ।

रोल्पा, रुकुम र सल्यानका ‘बैरागीहरू’ लाई रक्षा गर्ने पनि लौरा हो, त्यसका लागि एक महिना ओखरा पस्ने चलनै छ । लौराले आक्रमण गर्ने र बच्न गरिने तालिम हो, ओखरा पस्ने । लौराले हान्न र छल्न सिक्नुलाई कतै हाता खेल्ने, कतै पट्टा खेल्ने भन्छन्, उत्तरी रोल्पातिर त डिङ्ना पनि भन्छन् । केटाकेटीलाई पाकाले डर देखाउन भन्छन्, ‘एट् डिङ्ना ले तो, कन्नामा स्वाँट्ट स्होटाइदेन्छु ।’

लौरा हान्न र छल्न गरिने तालिमको अभ्यास बाइस हातासम्म हुन्छ । बाइस हाता जानेको लौरा पारङ्गतले ढुङ्गा मात्रै होइन, गोलीसमेत छल्छन् भन्ने किस्सा छ । ओखराभूमि रोल्पा–रुकुममै माओवादी ‘जनयुद्ध’ मौलाउँछ । अर्को शब्दमा, ‘जनयुद्ध’ ले ‘पत्थर’ छल्ने ‘लौरा’ का हातमा ‘पत्थरकाला’ थमाउँछ ।

कुरो २०३१ मङ्सिरको हो ।

रुकुम चुनबाङछेवैको उत्तरी रोल्पाको जैपा ओखरा पस्ने निर्णयमा पुग्छन् । अचम्म त के भने, अठार जना युवामध्ये एक जना बाह्र वर्षे फुच्चे छ ।

उसले आफ्नो बासँग ओखरा पस्ने चाह पोख्छ, ‘बाबै, म पनि ओखरा पस्छु ।’

बाले ठाउँको ठाउँ इन्कार्छन्, ‘अहिले स्यानै छस्, हुन्न ।’

‘म त ओखरा पस्छु, पस्छु ।’

‘किन ?’

‘नपसे गाउँलेले हेप्छन् ।’

उसको बाको घैँटामा घाम लागेको हुनुपर्छ, ‘सिपालु’ गाउँलेले छोरालाई हेपे के गर्ने ? बा–मन अगेनाछेउको घिउसरि पग्लिन्छ । मङ्सिर दस गते बिहान जैपाको काखको भल्दजुरेमा गाउँले पनि भेला हुन्छन् । गाँजा रेसाको बोल्लाको काँची कातेका अठार युवा भल्दजुरेमा तैनाथिन्छन् । पिर्थी पुनले चौरको चारैतिर मन्त्रेको खरानीले घेरा बनाउँछन्, खरानीमा सर्सु र रायो–दाना मिसाउँछन्, के–के गुनगुनाउँछन् । गाउँले ओठ फर्फराउँछ, ‘कच्चो भने बड्डाले ओखरा भान्न थाले । ओखरा पसेको बेला चोटपटक नलागोस् भनेर ओखरा भाने ।’ ओखरा भान्ने काम झाँक्रीको हो, गुर्बाउ पिर्थी झाँक्री हुन् । ओखरा पसेकाका दुई गुरुमध्ये एक हुन्, पिर्थी । रुकुम चुनबाङ गैरीगाउँका अर्का गुर्बाउ छन्, इन्द्र मास्टर भनेर परिचित इन्द्र पुन ।

इन्द्र गुर्बाउ सुझाउँछन्, ‘ऐ ज्वानो, सबको हातमा फरी र लौरा छ ?’

हातका फरी र लौरा देखाउँदै बगाले गला गुन्जिन्छ, ‘छ, गुर्बाउ ।’

उनीहरू एउटा हातमा रोटी आकारको छालाको ‘फरी’ भित्र औँला छिराउँछन्, फरी दुश्मनले हानेका लौरा छल्ने ढाल हो । छिमेकी दुई गाउँ चुनबाङ र रामखुमबाट फरी ल्याएका छन् । अर्को हातमा समाएका छन्, दुई फिट जति लामो लौरा, कसैका हातमा घङ्घारुका लौरा छन्, कसैको हातमा पुर्से डेम्मरका । गुर्बाउ लौराको एक छेउबाट समाउन सिकाउँछन्, फन्काउने तरिका पनि सिकाउँछन् । फरी हातमा राम्ररी अडिएको छ–छैन ? गुर्बाउ हेर्न अह्राउँछन् र अलि अग्लो भागमा उभिएर शरीरका अङ्गका नाम उच्चारण गर्छन्, ‘निसाना हो’ भन्छन्, हान्न र छल्न सिकाउँदै कासन गर्छन्, ‘कमिजा, कम्मर, चिर, शिर, हूल, भाइरा, करक करक, गर्धन, पिठ, पेठारी काखी... ।’ लौरा हान्ने तालिमको सुरुवाती चरण ‘फरी हाता’ एक हप्तासम्म चल्छ ।

भल्दजुरेमा ओखरा पसेकाहरू एक्लेपोनको देउती पुज्ने भएर ओरालिन्छन् । रपा र जैपालाई छुट्याई बगिरहेको चुनबाङगारको बगरमा पुग्छन्, जहाँ आजभोलि हाइबाङ्ङे साहुको घट्ट छ ।

ठूलो क्षेत्र आवश्यक परेर बगरमा सरेको हो । बगरमा भल्दजुरेमा जस्तै ओखरा भानिन्छ । हातमा, करिब सात फिट लामा लौरा । गुर्बाउ बगरमा आउनुको उद्देश्य बताउँछन्, ‘अब लक्री हाता सिक्ने ।’ लक्री हातामा फरी हाताकै अभ्यास दोहोरिन्छ, ‘कमिजा, कम्मर... ।’ लडाइँमा अधिक उपयोग हुने चार हाता नै छन् ः कमिजा कम्मर, शिर र चिर ।

लक्री हाता पनि एक हप्तासम्म चल्छ ।

अर्को चरणको तालिम आक्रमण र प्रतिरक्षामा केन्द्रित हुन्छ । कति कदम बढेर आक्रमण गर्ने ? कति कदममा प्रतिरक्षा गर्ने ? आफ्नोभन्दा ठूलो सङ्ख्याको दुश्मनको घेरा कसरी तोड्ने ? साँघुरो ठाउँमा लड्ने कसरी ?

गुर्बाउ भन्छन्, ‘हेर बड्डा हो, यै त हो नि, छुट हाता ।’

छुट हातामा दुई अत्यावश्यक शिक्षा दिइन्छ : एक, घेरा कसरी तोड्ने ? दुई, सानो शक्तिले कसरी ठूलो शक्तिसँग लड्ने ?

छुट हाताकै चरणमा बिहान छुट हाता खेलेर दिनभर लडाइँ लड्छन् । छुट हाताकै चरणमा ‘अब्बल’ तोकिन्छन् ।

‘कतिपालि घाउ सिरायो ? कतिपालि छोयो ? यिनै कलाका आधारमा पहिलो, दोस्रो र तेस्रो छानिएको हो,’ बाह्र वर्षको उमेरमा ओखरा पसेका मेरो सहोदर जेठादाजु देवप्रसाद पुन ४९ वर्षपूर्वका घटना स्मरण गर्छन्, ‘कान्छा काकुले त गुर्बाजी सेते कामीलाई पनि जितेका हुन् नि ।’

भाले काटेर घरबिदा भई भल्दजुरेमा ओखरा पसेको अन्तिम दिन ‘देश खोजी बगाल रोजी ल्याएको ठूलो बाख्रा’ काट्छन्, भोजभतेर हुन्छ, गुर्बाउका अनुसार, ‘आज वनबिदा ।’

ओखराका युवाका कला जाँच्न गाउँलेहरू ढुङ्गा र भोसे (माटोको डल्ला) जम्मा गर्छन् ।

तालिममा सिकेका सीप गाउँलेसामु देखाउने दिन ।

बगरमा दुई गुरुको नेतृत्वमा अठारजना दुई टोलीमा बाँडिन्छन् । दुई समूहको लडाइँ सुरु हुन्छ । गाउँलेहरू ढुङ्गा र भोसे असिनासरी बगरमा तैनाथ तालिमेमाथि वर्षाउँछन् ।

गुर्बाउको समूहबाट लडेको सम्झँदै पूर्वशिक्षक देवप्रसाद पुन भन्छन्, ‘जात्तिरी, चाँराचाँर गर्दै खान्ढारा पुगे । सुइय पाटे सिसुला हालेका छन् । कट्वाले ढुली कामीको टौका नै फुट्यो । कस्तो बिनाराजा मुलुकजस्तो भन्दै विष्टका घरभित्र ख्वास्स पसे ।’ ढुलीसहित उदे थापा, अनसिङ भुरामगरलगायत घाइते हुन्छन् ।

‘ओखरा पसेकाको जाँच जनतामाझ हुन्छ,’ सानैमा ओखरा पसेका चुनबाङ लाखरका पूर्णवहादुर घर्तीमगर (रुकुम पूर्वका सांसद) भन्छन्, ‘ओखराबाट ओखर घाट्रा निक्ल्यो–निक्लेन ? परीक्षा हो, त्यो ।’

जैपा र रानीकोट दुई ससाना गाउँका अठार जनाले एकेक सय रुपैयाँ उठाएर गुर्बाउलाई टक्य्राउँछन् । एउटा बाख्रासहित झानेरोटा र रक्सी कोसेलीसाथ गुर्बाउलाई बिदाइका हात हल्लाउँछन् । ओखरा पसेको प्रतिव्यक्ति करिब दुई सय खर्चिन्छन् । त्यसबेला दुई सय सानो रकम होइन । ओखरा पस्दा बाइस हातासम्मको अभ्यासमध्ये ‘फलानो’ हाता खेलेको छैन, ‘फलानो’ गाउँ ओखरा पसेको छैन भनेपछि हेप्छन् । ओखरा पस्नुसित आत्मविश्वास र स्वाभिमान गाँसिएको हुन्छ ।

‘गाउँगाउँ ओखरा पस्ने चलन रोल्पा, रुकुम, सल्यानतिर रहेछ । कहिलेदेखि ओखरा पसे ? लिखत छैन । छबीसतिर सल्यानका चित्रे गाइनेले सिकाएछन् । उनले सुरुमा राङ्सी रामखुम डाँरागाउँमा सिकाएपछि छबीस भेगमा फैलिएछ ।

रोल्पा–रुकुममा खोला तर्दा, नुनहाट जाँदा गीतैका भाकामा ‘पहराको सुन हात पार्न लौरा’ सहारा लिने चलन छ । हातमा लौरा लिएका ‘बड्डाहरू’ सँगै नाच्छन् ।

जैपाको छिमेकी गाउँ धनथानामा सर्जन मुक्खेको पहलमा सिक्छन् । ढाङढुङको लिक्याङले सिक्छ । चुनबाङ र राङ्कोट मौलाबोटलाई रामखुमले सिकाउँछ । मौलाबोटपछि जैपालाई शिक्षक भिउसन पुनको पहलमा चुनबाङले सिकाउँछ । चुनबाङले नै पाहाबाङ र जुमाराङ्सीलाई पनि ओखरा पसाल्छ । चुनबाङखोला र ढाङढुङखोला बग्दै बन्ने मारीखोला सेरोफेरोका बस्तीमा ओखरा पस्ने चलन बाक्लो देखिन्छ (२०८० वैशाख ७ गते पूर्णवहादुर घर्तीमगरसँगको कुराकानी) ।

रोल्पा, रुकुमतिर प्रयोग हुने लौरा घङङारु र पुर्से डेम्मरका हुन्, जुन गाउँबस्ती वरपरका जङ्गलमा पाइन्छ । कटाँसको लौरा भने नुनको हाट कोइलाबासबाट वा कालापारबाट फर्कंदा देउखुरीका जङ्गलबाट लिन्छन् । कटाँसको लौरा ‘विशेष’ मानिन्छ । जुमाराङ्सीले हाम्रो गाउँ जैपालाई हाँक दिएको वा नदिएको किन नहोस्, ठूल्गोरी, स्यान्गोरी, राक्सेबाङ, नाफेखोला, कालापोखरा, सुर्तानेजस्ता मेला लाग्नुभन्दा एक महिनाअघि नै ठूल्दाजु, माल्दाजु, भिके दाजु, काइँला भेना लौरा काट्छन् । बोक्रा उप्कनेगरी पोल्छन् । लौरालाई झाँक्रीखोलामा भिजाउँछन् । लौरालाई तेल पनि खुवाउँछन् । जुमाराङ्सी र जैपा एक जमानाका जानी दुश्मन हुन् ।

हाकाहाकी लड्ने चलन छ । कुन गाउँले कुन गाउँलाई लडाइँको हाँक दिएको छ ? कुन गाउँले कति लौरा भिजाएको छ ? मेला लाग्नुअघि नै समाचार फैलन्छ ।

लडाइँमा महिलाको सहयोगी भूमिका हुन्छ । महिलाले गादामा ढुङ्गा जम्मा गर्दै विपक्षीलाई हान्छन् । २०४६ को राजनीतिक परिवर्तनपछि गाउँगाउँको लडाइँ राजनीतिक दलहरूमा सर्छ । कांग्रेस र नेकपा (एकताकेन्द्र) को चुनावी मोर्चा संयुक्त जनमोर्चा, नेपाल जानी दुश्मनको रूपमा लड्छन् ।

२०४९ को स्थानीय चुनावमा पाछाबाङ राक्सेबाङमा जनमोर्चा र कांग्रेसबीच लौरा लडाइँ हुन्छ । आफ्नो वर्चस्व भएका ठाउँमा यी दुई दल लौरा बोकेर एकअर्काका बाटो छेक्छन् । २०५० को दशैंमा नेत्रविक्रम चन्द ‘विप्लव’ को जन्मथलो केवरीनेरको थुनिमौलामा उसैगरी लडाइँ लड्छन् । सोही वर्षको मङ्सिरमा लाग्ने पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ को घर भन्भनेछेवैको नाफेखोला मेलामा इरिबाङ कांग्रेसले हाँक दिन्छ, जुनबेला पासाङ सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगलगायतका मुद्दा लागेर भूमिगत हुन्छन् ।

हाँक स्विकारेर पासाङ दलबलसहित मेला पुग्छन् । पासाङको गाउँ मेलामा पैसरी नाच्न थाल्छ । पासाङ मादल बजाइरहेका हुन्छन् भने उनका बा रामसुर अगुवा नाचिरहेका । ओबाङमा पुलिसचौकीको पुलिस पुग्छन् । पासाङलाई पक्राउ गर्न खोज्छन् । पासाङ मादल फुकालेर टाप कस्दाकस्दै पुलिसको गोली पासाङको पाखुरामा लाग्छ । राइफल र पेस्तोलधारी पुलिस र जनमोर्चाका लौराधारी युवाबीच घमासान लडाइँ हुन्छ । राइफलको गोलीबाट मनवहादुर पुन र लोकबहादुर घर्तीमगर मेलामै ढल्छन् । उक्त लडाइँले ‘बन्दुकसँग लड्न लौराले हुन्न’ भन्ने माओवादी नेतृत्वलाई चर्को दबाब दिन्छ ।

रोल्पा–रुकुमजस्ता मगर बहुल जिल्लामा सरकारी र विद्रोही दुवै पक्षमा लडाइँमा सामेल प्रायः मगर हुन्छन् ।

माओवादीप्रति मगर मोहित हुनुका केही कारण छन् : एक, सामूहिकतामा विश्वास गर्ने मगरको साम्यवादी चरित्र । रोल्पा–रुकुमका मगरका दिमागमा साम्यवादी नामक कम्युनिस्ट रङ भरेपछि सक्केन्त ? चुनबाङ बैठकमा बादल पुष्पकमल दाहाल प्रचण्डसँगको द्वन्द्वलाई ‘साम्यवादी चरित्रको मगर र त्यसविपरीत बाहुन चरित्रको उपज’ नै भन्छन् । दुई, रोल्पा–रुकुमजस्ता मगर बहुल क्षेत्रमा रामबहादुर थापा बादल, जो मगर हुन्, माओवादी रोप्न जान्छन् । रुसमा पढ्दापढ्दै क्रान्ति गर्न फर्केको भनेर प्रचारित बादल युवा आकर्षण केन्द्र बन्छन् । बादलले रोल्पामा वर्षमान पुन ‘अनन्त’ र रुकुममा गणेशमान पुन ‘रश्मि’ जस्ता युवा ‘मान’ हरूलाई जिल्ला नेतृत्व दिन्छन् । सेनामा रोल्पाबाट नन्दकिशोर पुन ‘पासाङ’ र रुकुमबाट दौलत घर्तीमगर (विजय घले) लाई कमाण्डर बनाउँछन् । पछि जनमुक्ति सेनाका चार डेपुटी कमान्डरमध्ये दुई पासाङ र अनन्त त मगर समुदायकै हुन्छन् । तीन, ओखरा पस्नेबाहेक पनि प्रकृतिसँगको सङ्घर्षका अनुभव र तिनका कला जो सामूहिक नाचगान र सामूहिक जीवन पनि माओवादी बन्ने आधार हुन् ।

भोटेनुन बोक्न ताराभोट उक्लँदा, देशी नुन लिन बटौली झर्दा, कोइलाबास वा नेपालगन्ज जाँदा, पुसको तुसारोमा खाली गोडाले पहाड काटेका छन् । ओडार र वनजङ्गलमा बास बसेका छन् । तिनका जिन्दगीका उकालीओराली नै अहिले एउटा सेनाले गर्ने तालिमभन्दा हजार गुना बढी जोखिमपूर्ण थिए । आदिवासी–जनजातिको साम्यवादी चरित्र मात्रै होइन, लडाइँमा सामूहिक फौजी संस्कृति ‘जनयुद्ध’ को पृष्ठभूमिमा छँदैछ, जसले गर्दा रोल्पा, रुकुमका मगर बस्तीमा ‘जनयुद्ध’ मौलायो (२०८० वैशाख १६ गते केशबहादुर बाँठामगर (कमरेड सुवास) सँगको कुराकानी) । चार, उत्तरी रोल्पाको माओवादीले थबाङमा गरेको प्रशिक्षणमा लौरा हान्न पाहाबाङका भुरे मास्टर (मेघबहादुर रोकामगर) ले सिकाउँछन् (२०७९ साउन १४ गते देवप्रसाद पुनसँग कुराकानी) भने २०५० को अन्ततिर चलेको रुकुम लाबाङ तालिममा चुनबाङ लाखरका दयालसिंह पुन (कमरेड चटयाङ) ले । मार्सल आर्टचाहिँ चितवनका बलभद्र र सन्तु दराई (कमरेड परवाना, प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव) ले सिकाउँछन् (२०८० वैशाख ७ गते पूर्णबहादुर घर्तीमगरसँगको कुराकानी) । आफ्नो चलनसँग जोडिएको ओखरा पनि जोडिएर आउँछ ।

२०४६ पछि पूर्ण रूपले ओल्पिएको ओखरा माओवादीले पुनःजागरण गर्छ । माओवादीले आफ्ना लडाकुलाई ओखरा पसाल्छ । एउटा समूह छापामार र अर्कोअर्को समूह दुश्मन (सरकारी फौज) बनाएर लडाइँ सिक्छ । कमरेड बादलले चलाएको ‘प्रतिक्रियावादीका आँखा–कान फोड्ने अभियान’ थाल्छ, माओवादीबिरुद्ध सुराक गर्ने प्रतिक्रियावादीका कान र आँखा । अभियानलाई माओवादीले ‘ग्रामीण वर्गसङ्घर्ष’ को नाम दिन्छ । प्रतिक्रियावादीका आँखा–कान फोर्ने ओखरा पसेका लौरा हुन् ।

मगरको लडाकुपनलाई राज्यसत्ताले ‘भाडाको सिपाही’ को चरित्रमा बदलिदिएको छ । आजभोलि मगर बस्तीमा ‘दलसुरे’ हरू जन्मिँदैनन्, भूपी शेरचनका शब्दमा ‘गोरखाली’ भन्दै र बन्दै ‘गोरू खाली’, लाहुरेहरू जन्मिन्छन् । देवप्रसाद पुनले सम्झेको ओखराभूमि छबीस जैपा वरपरका क्षेत्र हुन् । छबीस भनेको एक सय बीस हो, कुनै समयको एक सय बीस कुरियाको क्षेत्र । नरू थापामगरको ऐतिहासिक उपन्यासिका ‘सीमारेखा’ का पाना पल्टाए, किशोर रानामगर निर्देशित चलचित्र हेरे, हाम्रो मगजमा ‘हवा’ चल्नेछ– इतिहास ‘गोरखनाथ’ को मात्रै हुँदैन, ‘मगरात’ को पनि हुन्छ, इतिहास गोरखाका ‘पृथ्वीनारायण अनि तिनका मगर लाहुरे’ को मात्रै हुँदैन, वर्तमानको ‘एक सय बीस’ जस्तो विगतको ‘सात सय लिगलिग र त्यहाँको दलसुरे’ को पनि हुन्छ । ‘नेपाल अधिराज्यको गण्डकी अञ्चलअन्तर्गत गोरखा जिल्लाको लिगलिग क्षेत्रमा ढुङ्गाको ठेलो, मल्लयुद्ध, पाङ्ग्राको खेल र भकुन्डो, विभिन्न बाधाहरू पार गरी जसले विजय प्राप्त गर्दथ्यो’ (पृ. २, सीमारेखाः नरू थापा, २०५१ (दोस्रो, २०५५) त्यही एक वर्षका लागि लिगलिगको ‘बाङ’ हुन्थ्यो ।

‘एक सय बीस’ मा ओखरा पस्न खोज्ने बाह्रवर्षीय फुच्चेजस्तै ‘सात सय लिगलिग’ मा ‘बाह्र वर्षदेखि माथिका उमेरानुसार युवाहरूले समूह बनाई युद्धकला सिक्दै थिए’ (पृ. उही) । ‘एक सय बीस’ मा ओखरामा ‘बाइस हाता’ सिकाउने गुर्बाउजस्तै ‘सात सय लिगलिग’मा ‘गुप्तकला’ सिकाउने गुरु बरम झाँक्री छन् । लेखक आहुतिका अनुसार, ‘सामन्तवाद आउनुभन्दा अगाडि जति पनि कबिला समाज थिए, हाम्रै नेपालको लिगलिगकोटमा’ (हेर्नुस्, ‘शिलापत्र प्लस’ मा २०७९ चैत ९ को अन्तर्वार्ता) प्रतिनिधिविनाको सही अर्थको समाजवाद थियो । ‘पुँजीवादले चुनावको बेलामा जनताको खुट्टा समात्न जान्छ र जब प्रतिनिधि चुनिन्छ, त्यसले पाँच वर्षसम्म जनतालाई डन्डा वर्षाउँछ’ (०ः३८ः०३–०ः३८ः१३) ।

प्रथम तथा द्वितीय महायुद्धमा ‘सात सय लिगलिग’ का मुक्खे दलसुरेहरू होइनन्, ‘एक सय बीस’ का लाहुरेहरू थिए, जसको ओखराभूमिको सीमारेखा उनीहरूको पुर्खाको रगतले कोरिएको छ र आफ्नो भूमिको ‘दलसुरे’ बन्ने आत्मनिर्णयको अधिकार ‘चार वर्ण छत्तीस जात’ को राज्यले मगर ‘लाहुरे’ हरूबाट खोसिसकेको छ, अर्थात् ‘ओखराभूमिका घङ्ङारुका लौरा’ जफत गरिसकिएको छ ।

अब ‘एक सय बीस’ कसरी कहिल्यै नहार्ने ‘सात सय लिगलिग’ हुने ? अनि ‘छुट हाता’ मा ‘एक सय बीस’ ले कसरी ‘राज्य’ को घेरा तोड्ने ? आफ्नै भूमिका ‘सीमारेखा’मा सदाका लाहुरेहरूलाई वा भविष्यका सम्भावित ‘दलसुरे’ हरूलाई सवालका लौरा सोझिएका छन् ।

प्रकाशित : वैशाख ३०, २०८० १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?