कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
किताब

मिथिलाको कोसेली

सरस्वती पाण्डे

कथाकार रेणुका जीसीको पहिलो कथासंग्रह ‘सनेस’ ले नेपाली समाजको यथार्थ ऐना देखाउँछ । सरल, प्रवाहमय भाषामा यी कथाहरूले पहाड, मधेसका नभनिएका कथा भन्छन् । यी कथाका परिवेश हुन्– पर्वत र रौतहट । लेखक बाँचेको समाज, समयको यथार्थलाई टपक्कै टिपेर सुन्दर शिल्पमा यी कथाले समाजको वास्तविक चित्र–चरित्र उतारेको छ । मौलिक र विश्वसनीय लेखनशैलीले पाठकलाई आफ्नै कथा पढिरहेजस्तो लाग्नु संग्रहको विशेषता बनेको छ ।

संग्रहका ‘प्रश्न’, ‘सलमा म्याडम’, ‘अस्वीकार’, ‘अनुहार’, ‘अवाक’, ‘सनेस’, ‘प्रेमरङ’, ‘मौन’, ‘तलाउ’, ‘अग्निपरीक्षा’, ‘औंला’ र ‘मुडुली’ कथाले पहाड–तराईका लोकसंस्कृति, लोकजीवन, भाषा, धर्म, मूल्य, मान्यताका पक्षमा वकालत गर्छन् । शीर्षकथा ‘सनेस’ को कुरा गरौं । ‘सनेस’ को अर्थ हुन्छ– उपहार वा कोसेली । मिथिला क्षेत्रका मिथिलानीहरू छठ पर्वमा आपसी सद्भाव, प्रेम कायम राख्न छोरीचेलीका लागि सनेस लिएर जान्छन् । सनेस–चलनको विशेष महत्त्व छ । रामरतिले छोरी नन्दनीका लागि लिएर गएको सनेसले नन्दनीलाई नयाँ जीवन सुरुवात गर्ने प्रेरणा मिल्छ ।

कथाहरू प्रथम पुरुष र तृतीय पुरुष दृष्टिविन्दुमा लेखिएका छन् । ‘सलमा म्याडम’ र ‘मौन’ मा पुरुषलाई आदर्श श्रीमान्का रूपमा प्रस्तुत गरिएको छ भने अन्य कथामा नारीवादी स्वर सशक्त रूपमा आउँछन् । ‘सलमा म्याडम’ को परिवेश तराईको मुस्लिम समुदाय हो । यस कथामा दाइजो–प्रथाले मुस्लिम समुदायमा निम्त्याएको विकृतिको पर्दा उघारिएको छ,‘बोर्डिङमे पढावके लेल कहाँ से मिली ढेवा ? तोरा निकाहके लेल दहेजको जोगाड करेकी पडि कि न ?’ मलेसियामा रहेका सलमाका बाबु अब्बालाई छोरीको पढाइभन्दा उसको विवाहका लागि जोगाड गर्नुपर्ने दाइजोको चिन्ता छ । छोरीको विवाहमा दिनुपर्ने दाइजोकै लागि उनी बिदेसिएका छन्, जुन मधेसको वास्तविक कथा हो । यस कथामा श्रीमती सफल हुनुमा श्रीमान्को सहयोग र प्रेरणा आवश्यक भएको लेखिएको छ, ‘सागिरले नबोली सल शिरबाट हटाइदिए । अब्बाले अनौठो मानेर सागिरलाई हेरिन् । सागिरले मुसुक्क मुस्कुराएर दुवै आँखा झिम्क्याउँदै टाउको हल्लाएर भने – सिर्फ स्कुलभित्र ।’ मधेसको भाषाको सुगन्ध भएको यो कथाको सन्देश सुन्दर छ ।

‘अस्वीकार’ मा पितृसत्तात्मक समाजको चित्रण छ । पुरुष हिंसा अति नै भएपछि नारी अर्थात् कथाकी प्रमुख पात्र स्वयं समाख्याताले वैवाहिक सम्बन्ध अस्वीकार गर्छिन् र स्वतन्त्र जीवन बाँच्न चाहन्छिन् । यो कथाले नारी विद्रोहको बुलन्द आवाज बोल्छ, ‘जसले रक्सीका मातमा मात्र मेरो हात समात्यो र होस हुँदा जहिले पनि अप्ठ्यारोमा छोडेर हिँड्यो । यो सबै सहेर नाम मात्रको घर र सम्बन्ध जोगाउनु छैन । त्यसलाई मैले गर्न सक्ने गरो । अब भने कानुनी बाटो समात्छु र यो सम्बन्धलाई सधैंका लागि समाप्त गरिदिन्छु ।’ पितृसत्ताले निम्त्याएको महिला हिंसा ढाल्न महिलाको आवाज बुलन्द हुनुपर्छ भन्छ कथाले । ‘अस्वीकार’ ले नारीहरूले अधिकार र स्वतन्त्रताको वकालत आफैं गर्नुपर्छ भन्छ ।

नारीका भोगाइ, अवस्था, समस्या, पीडा, विद्रोहलाई नजिकैबाट केलाउन सक्षम छिन् कथाकार । बालापनका रमाइला किस्सादेखि पितृसत्ताले जरो गाडेको कुरुप नेपाली समाजमा नारीलाई भोगको वस्तुका रूपमा मात्र हेरिएको सन्दर्भ कथामा छन् । भर्चुअल प्रेमका प्रेमिल वार्तालापदेखि नारीका कारुणिक क्रन्दन, सशक्तीकरणका प्रयास, विद्रोहका आवाज कथामा गुञ्जिएका छन् । अन्तरजातीय प्रेमकै कारण आत्महत्या गर्न विवश प्रेमजोडीका दारुण अवस्थासँगै सामाजिक रूढि र अन्धविश्वास, समाजका अनेकौं विकृति र युद्धको पर्दासमेत उघारिएका कथामा देखिन्छ– समकालीन समाजको वास्तविक अनुहार ।

कथाहरू काल्पनिक छैनन्, समाजको वास्तविकतामा केन्द्रित छन् । कथाहरू मौलिक लाग्छन्, यिनमा अघिल्ला कथाकारको प्रभाव देखिँदैन । नवीन विषय लेखिएकाले कथा पढ्दा पाठकलाई पट्यार लाग्दैन । यी कथामार्फत कथाकारले छुट्टै विशेष पहिचान बनाउनेमा दुईमत छैन ।

प्रकाशित : वैशाख ३०, २०८० १०:४६
प्रतिक्रिया
पठाउनुहोस्

यो ऐँठन– मिथ, इतिहास र युद्धको

कान्तिपुर संवाददाता

लेखक विवेक ओझाको नयाँ उपन्यास ‘एोठन’ हालै प्रकाशित छ । ‘ऐलानी’ पाठकले रुचाएको उनको उपन्यास हो :

ऐँठन–कथा

हामीले भोगेको गृहयुद्ध नै यो उपन्यासको बीज हो । युद्धमा राज्य पक्ष र बिद्रोही पक्षका तर्फबाट थुप्रै विषय सहतमा आए । तर, युद्धमा सबैभन्दा बढी नोक्सानी आम नागरिकले बेहोर्नुपर्‍यो । आम नागरिकका कुरा जति चर्को किसिमले आउनुपर्थ्यो, आएन । त्यो कतै नेपथ्यमै रह्यो । आँकडा नै हेर्ने हो भने राज्य र विद्रोही पक्षका हतियारधारीभन्दा दोब्बर–तेब्बर संख्यामा आम नागरिक मारिए, जो युद्धमा कुनै पनि हिसाबले संलग्न थिएनन् । कैयौं बेपत्ता भए । लाखौं मानिसको जीवन ‘माथिको तल’ भयो । अङ्गभङ्गको कुनै हिसाब भएन । तीनै बेहिसाब क्षति भोगेका आम मानिसको कथा लेख्ने मेरो कोसिस हो ।

‘ऐलानी’ पश्चात् म दोस्रो आख्यानको तयारीमा जुटेँ । ‘अप्रकाशित’ कथासंग्रह पहिले नै तयार थियो । त्यसमै काम गर्ने मनसाय बन्यो । थन्किएको पाण्डुलिपि पढ्न थालेँ । त्यही क्रममा एक युद्ध—कथाले मेरो मन बिथोलिदियो । त्यो कथालाई उपन्यासको रूप दिने विचार गरें र लेख्न थालें । तत्कालीन राजनीतिक उन्माद अनि खिचातानी, जनताको बिजोग र वितृष्णाले नै उपन्यासका लागि ऊर्जा थप्यो । अध्ययनका लागि ठाउँठाउँ घुमेँ र आफूलाई चाहिने सामग्री छिचोल्न थालेँ । करिबकरिब अढाई वर्षको अन्तरालमा उपन्यासको पाण्डुलिपि तयार भयो । अन्ततः पाँच वर्षको अवधिमा ‘ऐँठन’ तयार भयो ।

उपन्यासको अस्थिपन्जर नेपाललको गृहयुद्ध भए पनि सगोल शरीर युद्धको समग्रता र जीवनको भोक हो । जस्तो हामीले हाम्रा भगवान्लाई हतियार भिराएका छौं, हाम्रा मिथहरू युद्धले भरिभराउ छन्, हामीले करोडौं मानिस विश्वयुद्ध नामको दुर्घटनामा गुमाएका छौं र आन्तरिक द्वन्दका कारण आजसम्म मारिएका मानिसको लेखाजोखा छैन । र, पनि मानिस हतियारमा लिप्त छ । यिनै मिथ, इतिहास र युद्धको नियतिलाई आम मानिसको आँखाबाट चियाउने मेरो प्रयास हो । हरेक समयरेखामा आम मान्छे कसरी निमोठिएको हुन्छ भन्ने कथाको अहम् मुद्दा हो । त्यसका लागि मैले यथार्थ र स्वैरकल्पनाको मिश्रण गर्ने कोसिस गरेको छु । युद्धको नियति, जीवनको मोल, चेतना र संसारमा हतियारको प्रभुत्व, यिनै कुराको ‘फ्याक्टर—कोफ्याक्टर’ लाई मैले पर्गेल्ने प्रयास गरेको छु ।

यी तीन किताब

म अहिले अमिताभ घोषको ‘द सी अफ पपिज’ पढिरहेको छु, जो ‘आइबिस ट्रिलोजी’ अन्तर्गतको पहिलो पुस्तक हो । पछिल्लो समय पढेका मन परेका पुस्तकमा नयनराज पाण्डेको ‘जियरा’, सञ्जीव उप्रेतीको ‘हंस’ र डा. नवराज केसीको ‘शून्यको मूल्य’ हो । ‘जियारा’ मा तेह्र कथा छन् । स्वैरकाल्पनिक र आञ्चलिकता मिसाएर बुनिएका कथा निकै चामत्कारिक छन् । मधेश र महिलाको मुद्दालाई कथाले केन्द्रमा राखेका छन् । कथाका शैली र ढाँचा अनि लेखकीय कल्पनाले पाठकलाई अचम्मित पारिराख्छ र कथाले आफूतिरै खिचिराख्छ ।

‘हंस’ ले मानवकेन्द्रित दृष्टिकोणलाई केही हदसम्म ड्यास हान्ने कोसिस गरेको छ । धरतीमा मानिसको मात्रै अधिकार, भावना र सपना बगिरहेको छैन । यहाँ सबैको जीवन उत्तिकै महत्त्वपूर्ण छ । त्यसका लागि उपन्यासमा मूलतः हाँस र मानिसको कथा भनिएको छ, जुन समानान्तर किसिमले बग्छन् र दुवै एकअर्कासँग जोडिएकाजस्ता लाग्छन् । हंसमा गरिएको फ्यान्टासीको प्रयोग मलाई खास मन परेको हो । अझ काली हसिनीको प्लटले मलाई भुतुक्कै बनाएको थियो ।

‘शून्यको मूल्य’ एक डक्टरको आँखाबाट लेखिएको सिर्जनात्मक गैरआख्यान हो । यसमा हाम्रो समाजको भुइँकथा छ । अझ भन्नुपर्दा कर्णालीको कहालीलाग्दो ब्यथा छ । स्वास्थ्य, शिक्षा र कर्णालीको जीवनशैली यो पुस्तकको केन्द्र हो । आख्यानको शैली र शिल्प लिएर कुदिएको गैरआख्यान, भाषा, परिवेष र चित्रणले पाठकलाई तिर्खा लगाइरहन्छ । यो किताबले ‘आधुनिक’ भनिएको समयलाई प्रश्न गरिरहन्छ । हाम्रो समाजको अभिलेखीकरण र सत्तालाई तेर्सिएको प्रश्नका कारण पनि यो किताब हाम्रै समाजको ऐना हो ।

प्रकाशित : वैशाख ३०, २०८० १०:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×