२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३
कविता

गएको मान्छेलाई सम्झेर

गिरि श्रीस मगर

जस्तो हुन्छ
प्रकाशबिनाको तारा
वा नदीबिनाको किनारा
सायद त्यस्तै भएको छु म–
तिमी गएपछि अचानक !

गएको मान्छेलाई सम्झेर

के गएका थियौ तिमी

भासिँदै भासिँदै गयो मेरो धरातल

खुम्चिँदै खुम्चिँदै गयो मेरो आकाश

हुन थाल्यो हरदम

आफूभित्र आफैं

छैन कि भन्ने आभास !


दन्किरहेको छातीलाई

सन्तापले पगालेर भिजाइरहेको यो

होइन मेरो आँसुको झरी,

गै जानु अघि

तिमीले सुम्पिएको

मायाको तिम्रै हिमताल हो यो!


बढाएर मेरो ढुकढुकीको गति

भित्रैबाट हिक्काहरु उठाइरहेको यो

होइन मेरो संवेदनाको ज्वार,

गै जानु अघि

तिमीले मेरो प्राणमा भरेको

तात्तातो तिम्रै सास हो यो !


सुम्सुम्याएर मेरो सारा अस्तित्व

यादहरुको धौलागिरिले थिचिरहेका यी

कहाँ हुन् र मेरा तिर्सनाहरु ?

गै जानु अघि

तिमीले मेरो शरीरभरि छोडेको

प्यारा तिम्रै औंलाहरु हुन् यी !


यसरी

दिएर गयौ तिमीले

हरदम गम्रङ्ग छोप्न आइपुग्ने

सागरका छालजस्तै यादहरु

सगरको सरहदजस्तै यादहरु

जुनीभरि नसकिने यादहरु !


यादहरु,

हर बिहान जो मेरा आँखामा उदाउँछन्

र, हर साँझ हृदयको ढोका ढकढक्याउँछन्


गै जानेले त

लैजानु नि आफूसँगै

यादहरुका सप्पै मुहानहरु!


तर, गएपछि पनि

मेरो मनको भित्ताभरि टाँसिएर मुस्कुराइरहन्छौ तिमी

बोकेर तिम्रै सुगन्ध चलिरहन्छ बतास

आउँछौ कि फर्केर भनी लागिरहन्छ आश


तर, कसरी फर्किने छौ तिमी ?


छोडेर गए पनि

यादहरुको अनन्त निहारिका

ए निष्ठुरी !

उप्काएर–उखेलेर निमेषभरमै

किन लिई गयौ

फर्की आउने सप्पै सप्पै बाटाहरु !

प्रकाशित : वैशाख ३०, २०८० १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?