१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

पावेल कर्चागिनका नाममा

मान्छेमा निहित तागत देखाउने अनुपम कृति हो– अग्निदीक्षा, मेरो महानायक हो– पावेल कर्चागिन, मान्छेलाई जीवनको अर्थ सिकाउने योभन्दा उत्कृष्ट कथा अर्को हुनै सक्दैन
केशव दाहाल

प्रसंग सुरु हुन्छ एउटा अविस्मरणीय नौका यात्राबाट । हामी टीकापुर साहित्य महोत्सवमा जाँदै थियौं । बाटामा यात्राको अद्भुत अनुभव गर्ने अवसर जुर्‍यो । त्यो थियो कर्णालीमा नौका विहार । त्यो दिन कर्णालीको कञ्चन पानीमा आकाशको छाया हेर्दै हामीले लगभग २४ किलोमिटर पार गर्‍यौं । हावासँग लय मिलाउँदै । लहरसँग मित लगाउँदै । कञ्चन नदीमा नौकाविहारको आनन्द के भने, मन नदीजस्तै कञ्चन हुन्छ । छातीभित्र लहरहरू उठ्छन् अनोकौं । सपना नाच्छन् मनमा र त्यसको रङ देखिन्छ आँखामा । त्यो दिन ठ्याक्कै त्यस्तै भयो, हामी कर्णालीमाथि पानीजस्तै बहकिँदै थियौं र मन नाच्दै थियो छमछम ।

पावेल कर्चागिनका नाममा

जसै नौका अगाडि बढ्दै गयो, हाम्रा भावहरू खुल्दै गए । किनभने साथीहरू बेल्न चाहन्थे बेलगाम । लगभग ५ घण्टाको त्यो यात्रामा हामीले दर्जनौं विषयमा कुराकानी गर्‍यौं । त्यसमध्येका मुख्य विषय थिए ब्रह्माण्ड, किताब, कथा र त्यसभित्र कुँदिएका पात्रहरू । जब कुराकानी किताब र कथामा आइपुग्यो, मेरो मन उड्न थाल्यो अतीततिर । र, मन उड्दैउड्दै गएर स्वयं मैले पढेका कितावहरूको सप्तरंगी बगैंचामा थपक्क बस्नपुग्यो, जहाँ मुस्कुराउदै थिए मेरा मनपसन्द महानायकहरू– देवकीनन्दन कृष्ण र प्रिय मित्र पावेल कर्चागिन ।

...

म आठ वर्षको हुदो हुँ । एक दिन मेरा साना औंलाले थाम्न नसक्ने मोटो पुस्तक पल्टाउँदै पिताजीले भन्नुभयो, ‘यो महाभारत हो छोरा । यो ग्रन्थका रचनाकार हुन् महर्षी वेदव्यास ।’ त्यति भनेर बुबाले संस्कृतको एउटा श्लोक गाउनुभयो । सायद त्यो थियो– ‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्’ । उहाँ संस्कृत पढ्नुहुन्थ्यो । तर, ब्राह्मी भाषा नजानेकामा उहाँलाई खेद थियो । पिताजीले भारी स्वर बनाउँदै भन्नुभयो, ‘वेदव्यासले यो ग्रन्थमा सर्वप्रथम एक लाख श्लोकहरू लेखे । त्यसपछि कथाका उपाख्यानहरूलाई हटाई चौबीस हजार श्लोकहरूको भारत काव्य बनाए । श्लोकरचनामा वेदव्यासको गति वायुझैं तीव्र थियो । उनी भ्रमण गर्थे र श्लोक रच्थे । उनले आफ्नो जीवनमा साठी लाख श्लोकहरू रचना गरे, जसमध्ये तीस लाख श्लोकहरू देवलोकमा, पन्ध्र लाख श्लोकहरू पितृलोकमा, चौध लाख श्लोकहरू गन्धर्वलोकमा र एक लाख श्लोकहरू मनुष्यलोकमा लेखिएका थिए ।’

पिताजीले सुनाउनुभयो, ‘महाभारतमा आउने १८ अंकका संयोगहरू । जस्तो महाभारतको युद्ध अठार दिन चल्यो । त्यो युद्धमा सहभागी दुवै पक्षका सेनाहरूको संख्या अठार अक्षौहिणी थियो । युद्धका प्रमुख सूत्रधार थिए अठार जना । महाभारत अठार पर्वमा विभक्त छ । श्रीमद्भगवद्गीतामा छन् अठार अध्याय ।’

अठार अंकको यस्तो अद्भुत संयोग सुनेर मेरो मन चञ्चल भयो ।

९ वर्षको उमेरमा मैले महाभारतको पहिलो पाठ आद्योपान्त सिध्याएँ । जसै पहिलो पाठ सकियो, म त्यसका पात्रहरूबाट सम्मोहित भएँ । अद्भुत लागे पात्रहरू । मेरा लागि सबैभन्दा बेजोड थिए– भीष्मपितामह । जब म उनको अनुहार कल्पना गर्थें, मेरोअघि तेजमय सूर्य झलमलाउँदै उपस्थित हुन्थ्यो । तर, युधिष्ठिरलाई मैले कहिल्यै मन पराइनँ । मलाई भीमसेनको शरीर भद्दा लाग्थ्यो । नकुल र सहदेवप्रति मेरो धेरै चासो थिएन । तर, अर्जुनसँग भने मेरो सानोतिनो दोस्ती नै भयो । अर्जुन, देवराज इन्द्रद्वारा सिञ्चित कुन्ती एवं पाण्डुका पुत्र थिए । एक अतुलनीय धनुर्धर । अर्जुन महाभारतका यस्ता पात्र थिए, जसले स्वयं श्रीकृष्ण र महाभारत दुवैलाई अम्मर बनाइदिए । अर्जुन नभएका भए महाभारत अधुरो हुन्थ्यो, श्रीकृष्ण अधुरो हुन्थे र कर्णको अस्तित्व कुरुक्षेत्रमा त्यसैत्यसै बिलाउँथ्यो ।

महाभारतमा मैले सबैभन्दा धेरै माया गर्ने पात्र थिए द्रौपदी र कर्ण । त्यो बेला द्रौपदी मलाई आमाजस्तै लाग्थिन् । प्यारी र ममतामयी । कर्ण लाग्थ्यो मेरो दाइजस्तो । स्पष्ट, सफा र दृढ । मेरा माता–पिता दुवै कर्णको प्रसंग आउँदा आँसु झार्थे । किनभने उनीहरू कर्णमाथि अन्याय भएको ठान्थे । मैले पछि बुझें, कर्णको निर्माण नै अन्याय सहन भएको थियो । त्यसो त, के एकलव्यलाई अन्याय भएको थिएन ? अम्बालाई अन्याय भएको थिएन ? द्रौपदीमाथि अन्याय भएको थिएन ? यस्ता अनेक श्रापित पात्रहरूले भरिएको छ– महाभारत । जो त्यति भीषण श्रापका लागि किञ्चित् पनि अभिशप्त थिएनन् । यद्यपि ती पात्रहरू यसकारण अमर छन् कि उनीहरू अन्याय सहेरै पनि जीवन्त छन् । महाभारतको कुरा गर्दा छुटाउनै नहुने कुरा के भने, मेरा लागि महाभारतका श्रेष्ठतम पात्र थिए– श्रीकृष्ण, जो थिए मेरा महानायक ।

...

तर, जब ०४१ साल आयो, समय एकाएक बदलियो । म ज्ञानी केटोबाट लहडी किशोरमा फेरिएँ । मनमा कृष्णभन्दा धेरै गोपिनीहरू आउन थाले । त्यतिखेर म संखुवासभाको कुनै एकान्त गाउँमा पढ्दै थिएँ । साधारण थियो जीवन । स्कुल जाने र बिदामा गाई–बाख्रा चराउने । छुट्टीमा कालिज खेद्ने र मनमौजी कल्पनामा रमाउने । बिस्तारै भन्न लाज हुने सपनाहरू देख्न सुरु भएको थियो र मन पर्ने किताब थिए युधीर थापा र प्रकाश कोविदका उपन्यास । त्यसैताका धरान कलेजबाट घर फर्किंदा दाइले केही किताब साथमा ल्याए । तिनैमध्येको एउटा किताब थियो– ‘अग्निदीक्षा’ ।

मैले ‘अग्निदीक्षा’ एक वर्षभित्र लगातार दुई पटक पढेँ । जब मैले पहिलो पटक पहिलो पृष्ठ पढेँ, लाग्यो त्यो पादरी भासिलीको पिठोमा सुर्ती मिसाउने बदमास केटो मै हुँ । अर्थात् पावेल कर्चागिन । मलाई लाग्यो निकोलाई आस्त्रोभस्कीले ‘अग्निदीक्षा’ मेरै लागि लेखेका हुन् ।

सुरुमा यो किताब पढ्दा मैले प्रेमका कथाहरू खोज्दै पढेँ । कथाभित्र आउने अनेकौं बान्कीका प्रेम र यौन कामनाहरूले मलाई लगातार तान्थे र मख्ख पार्थे । तर, दोस्रो पटक अग्निदीक्षा पढ्दा कुरा अर्कै फेला पर्‍यो । त्यहाँ प्रेमभन्दा धेरै सपना थिए । समयको तुफानभित्र लोहाजस्तो थियो जीवन । क्षणक्षणमै मान्छेसँग पौठेजोरी खेल्न आउने अप्ठ्याराहरू थिए । र, थिए ती अप्ठ्याराहरूसँग जुध्न ठिक्क परेर बसेका तेजस्वी युवाहरू । सन् १९३०–१९३४ (पुस्तक लेखनको समय) को सोभियत समय नै त्यस्तै थियो कि युवा कम्सामोलहरूको संघर्षलाई सोभियत कथाबाट अलग गर्नु असम्भव थियो । त्यसैले त्यहाँ थिए– युवा बोल्सेभिकहरू, जो क्रान्तिलाई जोगाउन निरन्तर संघर्ष गर्थे । निश्चय नै प्रेम गर्थे, तर त्योभन्दा धेरै युद्ध, चिसो र भोकमरीबाट मान्छेलाई बचाउन मिहिनेत गर्थे । प्रतिक्रान्तिबाट समाजवादलाई जोगाउने उनीहरूले संकल्प जो गरेका थिए ।

‘अग्निदीक्षा’ सुरु हुन्छ एक बदमास केटो पावेल कर्चागिनको चर्तिकलाबाट । त्यो बदमास केटो किशोर अवस्थामै तोन्या नामकी किशोरीसँग प्रेममा पर्छ । निश्चल, गुलाबी प्रेम । तर, समयले उसलाई प्रेमको त्यो मनोरम बगैंचामा सुबिस्ताले रमाउन दिँदैन । सोभियत क्रान्तिपछिको आँधीमय समयले उसलाई प्रेमको रंगीन संसारबाट निकाल्छ र संघर्षको सुक्खा मैदानमा ल्याइपुर्‍याउँछ । आँधीजस्तो संसार । संघर्षको भट्टीमा रापिएर पावेल जिम्मेवार युवा बन्छ । ऊ इमानदार बोल्सेभिक बन्छ । त्यसपछि लामालामा पठारहरूमा रेलको पटरी ओछ्याउन पुग्छ । मस्कोका जनतालाई चिसोबाट बचाउन दाउरा जम्मा गर्छ । प्रतिक्रान्तिलाई दबाउन संघर्षमा उत्रन्छ । युद्धबाट आफ्नो पितृभूमिलाई जोगाउन हतियार बोक्छ । काम गर्न सधैं उत्साहित हुने ऊ कहिल्यै कसैसँग लत्रिँदैन । प्रेम र युद्धमा उदार पावेल जीवनको उज्यालो खोज्न यसरी समर्पित हुन्छ कि ऊ युवाहरूको वास्तविक नायक बन्न पुग्छ ।

तर, समय सधैं एकनास रहँदैन । एक दिन ऊ रोगले थलिन्छ । बल सकिन्छ, हिँड्ने तागत हराउँछ । त्यसपछि ऊ संघर्षको मोर्चाबाट निकालिन्छ । न उठ्न, बस्न र हिँड्न सक्छ न आँखा देख्छ र लेख्न सक्छ । तर, जीवनलाई माया गर्ने उसको तागत यति बलियो हुन्छ कि उसलाई जीवन अर्थपूर्ण बनाउने नसा चढ्छ । उसले उपन्यास लेख्न सुरु गर्छ– हुरीका सन्तानहरू । यसरी एउटा बदमास पावेल, अन्त्यमा शानदार मान्छे बन्छ । जीवनलाई कलापूर्ण र भव्य बनाउन उसले जे गर्छ, त्यो अद्भुत र अतुलनीय हुन्छ । बस मान्छेभित्र निहित त्यही तागत र मानवीय चेतनाको उज्यालो देखाउने एक अनुपम कृति हो– अग्निदीक्षा । र, मेरो महानायक हो– पावेल कर्चागिन ।

...

‘अग्निदीक्षा’ का लेखक निकोलाई आस्त्रोभस्की स्वयं सोभियत क्रान्तिमा सहभागी थिए । उनी स्वयंले जीवनका अप्ठ्याराहरू भोगेका थिए । गोलाबारुद, कठोर मिहिनेत, चिसो र निमोनिया । परिणाम उनले आँखा गुमाए । उनको श्रवणशक्ति गुम्यो । हलचल गर्न तागत गुम्यो । तर, आफ्नो जन्मको सार्थकता सिद्ध गर्ने भोक आस्त्रोभस्कीमा यसरी जाग्यो कि उनले जीवनको मोर्चामा अन्तिम विन्दुसम्म लड्ने निर्णय गरे । भनिन्छ, ‘अग्निदीक्षा’ स्वयं त्यो किताब हो, जहाँ आस्त्रोभस्कीले आफ्नो मनलाई खोलेर बयान गरेका छन् । स्वयं मृत्युसँग जुघेर जीवनको कथा लेख्नु जति शानदार कुरा के हुन्छ ? मैले जब दोस्रो पटक अग्निदीक्षा पढेँ, मलाई लाग्यो– मान्छेलाई जीवनको अर्थ सिकाउने योभन्दा उत्कृष्ट कथा अर्को हुनै सक्दैन ।

आजका दिनसम्म पनि मलाई यसकारण ‘अग्निदीक्षा’ ले मोहित बनाएको होइन कि म कुनै बेला कम्युनिस्ट थिएँ । बरु यसकारण मेरा लागि यो किताब प्रिय छ कि यसले मलाई आफूमाथि विश्वास गर्ने अनमोल कला सिकाएको छ । त्यसैले म ‘अग्निदीक्षा’ लाई प्रेम गर्छु । त्यसैले पावेल मेरा लागि एक मित्र र महानायक हो ।

निश्चय नै म पात्रहरूबाट मोहित हुने पाठक हुँ । पात्रहरूका विषयमा मेरा आफ्नै अनुभूति छन् । म कहिलेकाहीँ किताब पढ्दा पाठक र पात्रको अनौठो सहयात्रा अनुभव गर्छु । कहिले पात्रसँगै रुन्छु, कहिले हाँस्छु । मानौं, किताबका नायकहरू मेरो जीवनमा प्रवेश गर्दै छन् । चन्द्रमामा ज्योत्स्नाको प्रवेशजस्तो । सूर्यमा प्रकाश मिसिएजस्तो । संगीतमा स्वर भरेजस्तो । मलाई लाग्छ, राम्रा किताबहरू पढ्दा पात्र र पाठक एकाकार हुँदै जानुपर्छ । जस्तो कि को पाठक हो र को पात्र छुट्याउनै नसकियोस् ।

लेखक कथाभित्र जब उम्दा पात्रको रचना गर्छन् मेरो पाठक–मन भुतुक्कै हुन्छ । त्यसपछि म पाठक, कथा र पात्रको सिमारेखाबाट मुक्त हुन्छु । एक ज्ञानी पाठकका रूपमा ‘अग्निदीक्षा’ पढ्दाको मेरो अनुभव के छ भने यसभित्रका पात्रले कसैलाई पनि निरपेक्ष बस्न दिँदैनन् । तिनले पाठकलाई आफैंसँग कथालोकमा लैजान्छन् र शानदार अनुभवले आनन्दित गराउँछन् । यस्तो लाग्छ, ‘अग्निदीक्षा’ मा लेखक आस्त्रोभस्कीले ठ्याक्कै यस्तो जादु गरेका छन् अर्थात्, पाठकलाई पात्रप्रति प्रेम, दया, करुण वा आक्रोश पोख्न बेलगाम छोडिदिएका छन् । त्यहाँ बनावटी केही छैन । न त पाठकमाथि लेखकको नियन्त्रण छ, न त पात्रमाथि । सबै स्वाभाविक । सबै प्राकृतिक ।

पावेलले ‘अग्निदीक्षा’ बनायो कि ‘अग्निदीक्षा’ ले पावेल ? पावेलले लेखकलाई अमर बनायो कि लेखकले पावेललाई ? सायद, यही नै ‘अग्निदीक्षा’ को जादु हो, जहाँ आस्त्रोभस्कीले पात्रहरूलाई अमर बनाए, पात्रहरूले आस्त्रोभस्कीलाई । मेरो निष्कर्ष छ, पात्रहरूको स्वाभाविक गति र चरित्र निर्माण नै आस्त्रोभस्कीको खासियत हो । ‘अग्निदिक्षा’ पढ्दा लाग्छ गतिवान् पात्रहरूको आविष्कारमा आस्त्रोभस्कीले मानक बनाएका छन् । ‘अग्निदीक्षा’ को खास कुरै यही हो कि त्यहाँ लेखक, पात्र र घटनाहरू यसरी एकाकार हुन्छन् जस्तो कि पानीमा रंगहरू घुल्दै छन् । त्यस्तो चमत्कार साधारण उपन्यासमा बिरलै पढ्न पाइन्छ ।

पढन्तेहरू भन्छन्– ‘किताबमा जीवनको सुन्दरता र गति पाइन्छ । यसले बाँच्ने कला र सामर्थ्य दिन्छ ।’ राम्रा किताबहरू जीवनजत्तिकै महत्त्वपूर्ण र गतिशील हुन्छन् । ‘अग्निदीक्षा’ पढेपछि मलाई लाग्यो, राम्रा किताबहरू बोल्छन् र मान्छेलाई सधैं–सधैं आफ्ना कथाहरूले मोहित बनाइरहन्छन् ।

आज पनि कहिलेकाहीं असाध्यै खुसी अथवा निराश भएका बेला म ‘अग्निदीक्षा’ पल्टाएर पावेलसँग कुरा गर्छु । म पावेलको सुन्दर भनाइ कहिल्यै बिर्सिन सक्दिनँ । रोगले थलिएर उठ्नै नसक्ने हुँदा पनी ऊ गल्दैन बरु भन्छ, ‘मान्छेको जीवन एक पटक मात्रै पाइन्छ । त्यसैले उसले यो जीवनलाई यसरी बिताउनुपर्छ कि मर्ने बेला उसले विगत सम्झिएर पछुतो गर्नु नपरोस् । गर्वसाथ ऊ भन्न सकोस्– मैले सम्पूर्ण जीवन मानवताको रक्षा र समृद्धिका लागि बिताएँ ।’

...

टीकापुर साहित्य महोत्सवबाट फर्किएपछिको कुरा हो, काठमाडौंमा त्यो दिन पानी परेको थियो । म पानीका थोपाहरू गन्दै घरको बरन्डामा बसेको थिएँ । मेरो मनमा आफूले पढेका पुस्तक र तिनका पात्रहरू पत्रतत्र आइरहेका थिए । बस्, त्यसै क्षण इन्द्रेणीझैं पर देखा पर्‍यो, मित्र पावेल कर्चागिन । कस्तो अचम्म, ऊसँग थिए हाम्रा लीलाधारी महानायक श्रीकृष्ण । कृष्णको हातमा ‘अग्निदीक्षा’ थियो । पावेलसँग थियो ‘भागवत्गिता’ । उनीहरू दुवै लय मिलाएर गाउँदै थिए– ‘हामी जित्नेछौं एक दिन’ । पावेल हतारमा थिएन । सायद, उसले महाभारतका कथाहरू सुन्न अझै बाँकी थियो । कृष्ण भने मलाई नै हेरेर मुस्कुराउँदै थिए ।

समयसँगै मेरा नायकहरू एकै ठाउँ उभिएका थिए । उनीहरूले एकअर्कोसँग हात मिलाएका थिए । उनीहरूको अनुहारमा अपार मित्रता र विश्वास थियो । त्यो दृश्य मलाई अद्भुत र आनन्ददायक लाग्यो । मैले पावेललाई सोधें, ‘कमरेड, के तिमीले योभन्दा अगाडि काठमाडौंको यात्रा गरेका थियौ ?’

उसले ताजा स्वरमा जबाफ दियो, ‘अवश्य नै । मैले अस्ति भख्खर मात्रै तिम्रा एक जना ठूला नेताको बार्दलीबाट काठमाडौंलाई हेरेको थिएँ । त्यो दिन मान्छेहरू सडकमा नाराबाजी गर्दै थिए ।’

‘तिमी पनि नेताका दैलोदैलो चहार्न थाल्यौ कमरेड ?,’ मेरो मनमा ऊप्रति संशय जाग्यो ।

‘त्यो एक दुर्भाग्यपूर्ण संयोग थियो । खासमा मैले उनीहरूको संगत छोडेको धेरै भयो ।’

‘कस्तो गजब,’ मैले भनें । कृष्ण भने शून्य भावमा हाम्रो वार्तालाप सुनिरहेका थिए ।

‘जब तिम्रा नेताहरू पुस्तकालय छोडेर कमिसनालयतिर धाउन थाले बस् त्यही दिन मैले अग्निदीक्षा झोलामा हालेँ र उनीहरूलाई त्यागिदिएँ । उनीहरू गफाडी भए । मलाई गफ गर्ने मान्छे पटक्कै मन पर्दैन,’ यति भनेर ऊ मुस्कुरायो ।

‘के तिमी अझै तोन्यालाई प्रेम गर्छौ, पावेल ?,’ मैले कुरा मोड्न चाहेँ । मेरो प्रश्न सुनेर ऊ मुस्कुरायो । झर्दै गरेका पानीका छिटा नियाल्यो र चन्द्रागिरितिर हेरेर उल्टै सोध्यो, ‘कमरेड केशव ! के तिमीलाई बिश्वास छ तिम्रो देशमा समाजवाद आउँछ ?’

मसँग उसलाई दिनुपर्ने कुनै जवाफ थिएन । मैले भगवान् श्रीकृष्णतिर हेरेँ । उनी ‘अग्निदीक्षा’ का पानाहरू पल्टाइरहेका थिए । तत्क्षण मेरो कल्पनामा विचित्रको रहर जाग्यो । आज उनीहरूसँगै बसेर झम्सिखेलको कुनै भट्टीमा भोड्का पिउन पाए ? अथवा उनीहरू दुवैसँग मिलेर उता लोमान्थाङ्का पठारहरूमा घोडा कुदाउन पाए ? अथवा कतै बसेर मान्छेले बिर्सिएका जीवनका कथाहरू सुन्न र सुनाउन पाए ?

त्यो दिन निकै अबेरसम्मै कृष्ण र पावेल मेरो कल्पनाको संसारमा निमग्न बसे । साँझ उनीहरूले मसँग बिदा मागे । हिँड्नै लाग्दा कृष्णले भने, ‘जीवनयात्रामा जो कहिल्यै थाक्दैन, त्यही नै समयको नायक हो ।’ उनको कुरा सुनेर म मख्ख परेँ । मेरा नायकहरू भने हात समाउँदै र गीत गाउँदै अघि बढे । पावेल गाउँदै थियो– ‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्’ ।। र, कृष्ण गाउँदै थिए– ‘अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ ।’

प्रकाशित : वैशाख ३०, २०८० ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?