२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७१
समाज-कथा

साधु र जारको भँगालोमा हाङ्‌मा

नारी निजत्व–प्रधान फिल्म हो– जारी । हाङ्‌माको निजत्वकेन्द्रित स्वतन्त्र निर्णयमार्फत कथानकले गति लिन्छ र नयाँ घुम्तीहरू आउँछन् । शान्त, सौम्य र शालीन समुद्रजस्ती हाङ्‌माको ‘म’ स्वतन्त्र उडान भर्न चाहन्छ । उनको प्रेमको गहिराइ र फैलावट नाप्न कसले सक्छ ?
डम्बर चेम्जोङ

ओहो ! कति जाँड (थी) खाएका यी लिम्बूले हँ ? ‘जारी’ फिल्म हेरिरहेका गैरमतवाली दर्शकको मस्तिष्कमा यो प्रश्नले बेलाबेला जन्म लिन्छ । यस्तो लाग्छ, लिम्बू जीवन र जाँड एक अभिन्न अंग हुन् । लिम्बूका निमित्त जाँड केवल खाजा हो, न कि त्यो मदिरा । ‘जारी’ मा खाजाकै रूपमा सबैले जाँड खान्छन् । सुब्बा शेरबहादुर कतैबाट घर आइपुग्छ, तोङ्वा (जाँड) तयार हुन्छ । नामसाङ खेत जोत्छ, जाँडै खाजा खान्छ । घरमा कोही पाहुना आउँछन्, तिनले सत्कारस्वरुप जाँडै पाउँछन् । लिम्बूहरू मेला–बजार भर्छन्, तिनले जाँडै खान्छन् ।

साधु र जारको भँगालोमा हाङ्‌मा

जाँड पनि कस्तो–कस्तो भने निख्खर कोदोको जाँड, कोदो र मकै मिसाइएको जाँड, जुनेलोको जाँड, चामलको भात्ती, कोदो–मकैको पिठोको हुत्ते जाँड, गुलियो जाँड, अमिलो जाँड, कलिलो जाँड, छिप्पेको जाँड, कीरा उम्रेको जाँड, हावा पसेको जाँड, राम्ररी नधोइएको कोदोको कालो जाँड ! तर, जाँडको गुणस्तर जस्तो होस, जाँड जुनसुकै अन्नको होस्, त्यसको जादु मर्चामै (खेसुङ) अडिएको छ । ‘फलानी बजूको हात साह्रै मीठो छ हौ’ भन्नुको अर्थ हो– बजूले बनाएको मर्चाको जाँड बेजोड मीठो हुन्छ । बजूको सामाजिक हैसियत मर्चा मीठो बनाउने त्यो सीपले निर्धारण गर्छ । लिम्बूको सामाजिक भोज–भत्तेर जाँड–रक्सीबिना सम्पन्न हुँदै हुँदैन । सांस्कृतिक पूजा–अनुष्ठानमा इष्ट देवी–देउतालाई जाँड–रक्सी अनिवार्य चढाउनैपर्छ । सुखमा होस् वा दुःखमा, सामाजिक कार्य होस् वा पाहुना–सत्कार, गोठाला–खेतालालाई खाजा होस् वा अझ खानासँगै पानीको सट्टा पनि जाँडै पिउनपर्ने ! अझ हुनेखानेले त तोङ्वा नै तान्नुपर्ने, झन् हुने–खाने सुब्बाको घरमा त पित्तलले बाँधिएको काठ कुँदेर बनाइएको तोङ्बा हुनुपर्ने ! अब यहाँ स्पष्ट पारौं– जाँडको गुणस्तर र त्यस पदार्थलाई सर्भ गर्ने बटुका वा तोङ्वा केबाट बनेको छ भन्ने विषयले जाँड खानेहरूको सामाजिक हैसियत व्याख्या गर्छ लिम्बू समाजमा । जे होस, राज्यबाटै लिम्बूले ‘मतवाली’ जात पाएका छन् र तनतनी जाँड पिएका छन् ।

...

साहित्य समाजको दर्पण हो अर्थात् समाजको स्वरूप साहित्यमा देख्न, सुन्न, हेर्न पाइन्छ । साहित्य–रचना प्रस्तुतिको प्रथम–प्रथम विधा हो– नाटक मञ्चन । वर्तमान समयमा नाट्य विधाको विशिष्ट रूप र माध्यम हो– सिनेमा । हामी सिनेमामा समाजको एउटा पक्षलाई हेर्छौं, सुन्छौं र आह्लादित हुन्छौं । सिनेमाका पात्रको दुःखले दर्शकलाई पनि दुःखित तुल्याउँछ र दर्शकको आफ्नै जीवनमा त्यो दुःख घटेजसरी ती आफैं बरबरी आँसु झार्दै धरधरी रुन्छन् । हाम्रोमा रुवाउने सिनेमा राम्रो कि हँसाउने राम्रो ? जति धेरै रुवायो सिनेमाको उति ठूलो सफलता हुने र रुवाउने सिनेमै हेरूँहेरूँ लागिरहने । र, सिनेमामा रोएरै सुखानुभूति पनि हुने ।

शास्त्रीय मत छ– ‘हितेन सहितम्, सहितस्य भाव साहित्य’ अर्थात् दुनियाँमा हितकारी भाव सञ्चार गर्ने रचना भएकैले त्यसलाई साहित्य भनिएको हो । र, समाजको कुनै पाटो देखाउने, बुझाउने एक सबैभन्दा सशक्त प्रभावकारी माध्यम हो सिनेमा–साहित्य ।

‘जारी’ फिल्मको सुरुको दृश्यमै पूर्वी नेपालको कुनै एक गाउँको लिम्बू–सुब्बा घरका छोरा नामसाङ र बुहारी हाङमाबीचको द्वन्द्व छ । ती क्रमशः एकअर्कालाई ‘नामर्द’ र ‘थारो’ को आरोप लगाउँछन् । आरोप–प्रत्यारोपपछि युप्पारुङ (चाँदीको सिक्का/टक) ‘क्वे’ (ला) भन्दै त्यो फिर्ता फालेर नामसाङको घर छाडी आफ्नो बाटो लाग्छिन्– हाङ्मा । त्यसरी युप्पारुङ फाल्नुको अर्थ हुन्छ– ‘अब आजदेखि तेरो–मेरो विवाह टुट्यो ।’ यसरी ‘जारी’ फिल्मको सुरुवात एउटा विवाहको अन्त्यबाट हुन्छ । लिम्बू–विवाहको लगनमै बेहुलाले एउटा मोहोर सिक्का/टक बेहुलीको पछ्यौरीको कुनामा बाँधिदिन्छन् । त्यो बाँध्दा फेदाङ्माले भनेका हुन्छन्, ‘नानी, यो टक सधैं साँचेर राख्नू । यो तिम्रो विवाहबन्धनको चिनो हो । पछि तिम्रो श्रीमान्ले तिमीलाई हेलाँ गर्‍यो भने वा सौता लायो भने यो पैसाले उसको निधार फुट्नेगरी हान्नू र आफ्नो बाटो लाग्नू है ।’ विवाह भन्ने संस्था सामान्यतः महिला–पुरुषबीचको सम्झौता हो । यो सम्झौता जात, समुदाय विशेषमा आ–आफ्नै किसिमका हुन्छन् । हिन्दू–बाहुन–क्षेत्री समुदायमा कन्यादान गर्दा ‘मारे पाप, पाले पुण्य’ भन्दै छोरीलाई ज्वाइँको जिम्मा लगाउने चलन छ भने लिम्बूहरूमा लगनको मुहूर्तमा माथि उल्लेख गरेझैं बेहुलीलाई चाँदीको टक (युप्पारुङ) दिइन्छ । यसर्थ युप्पारुङले जोडेको, थामेको हुन्छ लिम्बूको विवाहलाई । ब्राह्मण–क्षेत्री समुदायमा झैं लिम्बू–विवाहमा ‘कन्यादान’ भन्ने हुँदैन । बिहे गरेर पराई घर गएकी चेली–छोरी माइत फर्केर आउनुलाई लिम्बू समाजमा अप्ठ्यारो विषय मानिँदैन । त्यसैले भनिन्छ– विभिन्न जाति र समुदायको आ–आफ्नै सामाजिक, सांस्कृतिक वैशिष्ट्य हुन्छन् । र, सांस्कृतिक विविधता, विशिष्टतालाई सम्बन्धित समुदायकै परिप्रेक्ष्यमा हेर्नु–बुझ्नुपर्छ । ‘जारी’ मा श्रीमान्–श्रीमतीको पहिलो झगडामै दुई पल पनि नसोची एकै पलमा युप्पारुङ फालेर आफ्नो बाटो लाग्ने निर्णय गरिन् हाङ्माले । त्यो हाङ्माको महिला ‘म’ को प्रथम र सचेत आस्तित्विक निर्णय थियो ।

‘जारी’ ले समाजका केही प्रश्नमाथि विमर्श गरेको छ– ‘म’ र ‘माया’ मा कुन ठूलो ? व्यक्तिको निजत्व र पारिवारिक दायित्वबोधमा कुन पहिलो ?

हाङ्मा माइती फर्केपछि मेला–बजार भर्ने क्रममा तरेवा (पाहुना) हरूसँग यालाङ (धाननाच) र ख्याली (काव्यात्मक शैलीमा गरिने ठट्टा) खेल्छिन् । त्यहाँ जितेपछि नयाँ तरेवाले हाङ्मालाई जारी गरेर लैजान्छ । र, हाङ्माको दोस्रो विवाह हुन्छ । यसरी जारी गरेर जानु हाङ्माको निजत्वकेन्द्रित (‘म’) स्वैच्छिक निर्णय थियो । जीवनको यात्रा तय गर्ने क्रममा हाङ्माले नयाँ बाटो रोजेको घटना दोस्रो महत्त्वपूर्ण र स्वतन्त्र निर्णय थियो ।

हाङ्मालाई जारी गरेर लैजाने पुरुष ‘जार’ हो भने हाङ्माको पूर्वपति नामसाङ ‘साधु’ हो । अर्काकी श्रीमतीलाई विवाह गरेर लैजान सक्ने आँट वा साहस भएको ‘जार’ बाटै सायद ‘जारी’ भएको हो । आफ्नी श्रीमती राख्न नसक्नेको नाम ‘साधु’ स्वाभाविकै लाग्छ । जारी–खतस्वरूप साठी हजार रुपैयाँ दाबी उठाउन दलबलसहित हाङ्माको माइतीघर जान्छ– साधु नामसाङ । हाङ्माको माइती पक्ष तत्कालै जारी–खत तिर्न असमर्थ हुन्छ । माइती किंकर्तव्यविमूढ भएकै बेला साधुको घरमा नोकर बस्ने निर्णय गर्छिन्– हाङ्माले । हाङ्मा ‘म’ को यो तेस्रो, अत्यन्तै कठोर, तर जन्म दिने आमा–बाबुप्रतिको समर्पणभावयुक्त एक निर्णय थियो । ‘म’ यानेकि निजत्वको आस्तित्विक चेत समाज वा परिवारबाटै निःसृत हुने तथ्य बोध हुन्छ उनको यस निर्णयमा । नामसाङको घरमा हाङ्मा नोकर बस्न आएको उपकथा अतिरञ्जनाझैं लाग्छ । वास्तवमा लिम्बूको जारी–विवाह परम्परामा यस्तो दृश्य देख्न–सुन्न पाइँदैन । यसैक्रममा नामसाङको आमाको मृत्यु हुन्छ र घरको ‘शोभा’, ‘सुन्दरता’ क्रमशः उजाडिन्छ । खैर जे होस, हाङ्मा आफ्नो घरमा नोकर बसेपछिका दिनहरूमा साधु नामसाङ क्रमशः निरीह र एक्लो बन्दै जान्छ । त्यसपछिका दृश्यमा संवादबिनै मूलतः हाङ्माको बडी ल्याङ्वेजबाटै लक्षणार्थमा प्रशस्त विषय अभिव्यक्तिएका छन् । दुई ‘म’ हरूको उच्चतम निजत्वको द्वन्द्वले टुक्रिएका दुई प्राणीभित्र पुनः ‘म’ र ‘माया–प्रेम’ को द्वन्द्व बुझ्न सकिन्छ ।

राडीमा टुसुक्क बसेर सुनौलो पित्तले पेटी बाँधिएको काठको तोङ्वाको खाजा खाने सुब्बा शेरबहादुर (नामसाङको बाबु) गाउँको आफूभन्दा विपन्न एक घरमा पैकारी छनुवा जाँड किनेर हलुङ्गे (सिलेवर) खोरेमा खाने तहमा घटुवा हुन्छ । पुरुष सधैं उच्च आवाजमा धाक लगाउँछ लिम्बू घर–परिवारमा । महिलाको साथ, स्नेह पाएन भने पुरुषको आवाज र ‘म’ कति मलिन बन्छ र उसको औकात कसरी धराशायी बन्दै जान्छ ? त्यो बुझ्न सकिन्छ यो दृश्यबाट । पारम्परिक लिम्बू समाजको लैंगिक सम्बन्धतिर चियाउँदा महिला र पुरुषमा कसको नाक लामो भन्ने प्रतिस्पर्धा र मापनको चलन छैन, श्रीमान्–श्रीमतीबीच एकआपसको सम्बोधन सुने थाहा भइहाल्छ त्यो । लिम्बू श्रीमतीका लागि श्रीमान् एक केवल ‘पति’ हो, ‘पतिदेव’ होइन ।

अर्कैसँग जारी गरेर गएकी पूर्वश्रीमतीलाई उसको माइती पक्षले जारी तिर्न नसकेपछि घरेलु कामदार राखेको छ नामसाङले । ऊ त्यतिबेला चकित पर्छ, जतिबेला हाङ्माको भाइ दलबलसहित जारी बुझाउन आउँछ र दिदीलाई माइती फिर्ता लैजान्छ । कथा उदेकलाग्दो, तर उत्कर्षतिर त्यतिबेला मोडिन्छ जतिबेला जारी बुझिसकेपछि पनि नामसाङ किञ्चित लाजै नमानी बाबु शेरबहादुरसँगै फेरि उसको हात माग्न हाङ्माको माइती पुग्छ । कुटुम्बबीच कुरा नमिलिरहेकै बेला जारी गर्नेबित्तिकै परदेसिएको हाङ्माको दोस्रो श्रीमान् आँगनमा टुपुल्किन्छ । जार र साधुको त्यो जम्काभेट मुठभेडमा परिणत हुन्छ । हात हालाहाल, खुकुरी हानाहानले सुनदन्ते सुब्बाको आँगन रणमैदानमा परिणत भएपछि हाङ्माले जीवनको चौथो निर्णय गर्छिन्– ‘म’ र ‘माया’ मा कुन ठूलो ? व्यक्तिको निजत्व र पारिवारिक दायित्वबोधमा कुन पहिलो ? यसरी निजी निर्णयहरूमार्फत् जीवनका चार घुम्ती तय गर्छिन् हाङ्मा ।

...

‘जारी’ फिल्मले जारीको निहुँ पारेर लिम्बू सामाजिक जीवन–परम्परा र रीति–थितिका अनेक पक्षमाथि विमर्श गरेको छ । तर, जारी विवाह लिम्बू समाजको मौलिक चलन होइन । पुरानो नेपालमा सबै समुदायमा जारी विवाह–प्रथा व्याप्त थियो । त्यसबखतको कानुन (विसं १९१० को मुलुकी ऐन) ले नै जारी–खत सम्बन्धमा जातको तह (ब्राह्मण, जैसी, क्षेत्री, मासिने मतवाली, नमासिने मतवाली, दलित) अनुसारको न्याय निरुपण हुने व्यवस्था फरक–फरक महलमा विस्तृत रूपमा गरेको थियो । एउटा महलमा यस्तो थियो–

‘तागाधारी लगायेत, नमासिन्या मतवालि जात सम्मका लोग्न्याले इनै जातका चौथो लिंगदेषि उभो परि ल्याई तालाकुचि सौपि वर्ष दिन देषि उभो घरमा राष्याका स्वास्नि कसैसित पोइल गया भन्या जार काटन हुदैन अदालत ठाना अमालमा कराउन आयेमा जारी गर्न्यालाई जीउ नमर्न्या हात षुट्टा नभाचिन्या अंगभंग नहुन्या गरि लात्तले जुत्ताले हान्या कुट्यामा षत लाग्दैन. साधुले कुटपिट गरी छाड्यापछि फेरि कराउन आयो भन्या जारि गर्न्यालाई पनि वात लाग्दैन आफूले कुटपिट नगरि कराउन आयो भन्या करणि गर्न्या लोग्न्यालाई जाया जन्म भयाकि स्वास्नि रहिछ भन्या ३० रुपैया जाया जन्म भयाको रहेनछ भन्या २० रुपैया दंड गर्नु. कुटपिट गर्दा हात गोडा भाचिन्या अंगभंग हुन्या गरी कुटेछ भन्या आफुले ल्यायाकि स्वास्नीको करणि गर्न्यालाई कुट्याको हुनाले कुट्न्या साधुलाई अंगभंग गरि कुट्न्याका ऐनको आधि सजाय गर्नु ज्यान मरेछ भन्या व्राह्मण भया ऐन वमोजिमको अंस सर्वस्व गरि दामल गर्नु अरु जातलाई ज्यानको वदला ज्यानकाटि मारिदिनु तागाधारि जात लगायत नमासिन्या मतुवालि लोग्न्याले मासिने मतवालि जातका स्वास्नी चौथो लिंगदेषि उभो परि घर ल्याई राख्याको रहेछ भन्या जन्म भयाकिको करणि गर्न्यालाई १५ रुपैया जाया जन्म भयाकि नभया १० रुपैया दंड गर्नु नतिर्या ऐने बमोजिम कैद गर्नु ।’

त्यसैगरी विसं २०२० को मुलुकी ऐनको महल– १८ मा जात–जातिको उल्लेख नगरी सबै जातलाई एकै कानुन लाग्ने हिसाबले तोकिएको छ–

‘२ नं. जारी खतमा साधुको नालिस परे जार र जारी गरिएको स्वास्नी मानिसलाई एक महिनादेखि दुई महिनासम्म कैद र एक हजार रुपैयाँदेखि दुईहजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’

‘५ नं. कसैले कसैको स्वास्नीको जारी गरी साधुको धनमाल समेत लगेकोमा वा स्वास्नी मानिसले अर्को विवाह गरी जाँदा आफूले लगाएको वा प्रयोग गर्ने लत्ताकपडा वा आफ्नो दाइजो पेवा, आर्जनबाहेक साधुको अरू धनमालसमेत लगेमा लग्न नपाउने धनमालको हकमा साधुले र निज मरेमा वा विदेश गएकोमा निजको हकमा हकदारले देवानी मुद्दासरह नालिस गरी फिर्ता लिन पाउँछ ।’

जारी–खतका सम्बन्धमा उपरोक्त कानुनी व्यवस्थाभन्दा फरक, लिम्बूहरूमा आफ्नै ढंगको जारी–खत मिलान वा असुल गर्ने चलन रहेछ भन्ने कथा ‘जारी’ फिल्मले प्रस्तुत गरेको छ । यहाँ उल्लेख्य विषय के हो भने विसं २०२२–२३ मा भूमिसुधार ऐन लागू नभएसम्म, अझै भन्ने हो भने २०३०–३५ सालमा जग्गा नापी सम्पन्न नभएसम्म लिम्बुवानमा किपट प्रथा र सुभांगी अधिकार थियो । सोअन्तर्गत लिम्बू सुब्बाहरूले पञ्च–खतबाहेकका मुद्दा, झगडा आफैं मिलाउन र फैसला गर्न सक्थे । यसै अधिकारअन्तर्गत लिम्बू समुदायमा हुने जारी–खतका विषय मुलुकी ऐनमा लेखिएभन्दा फरक आफ्नै सामाजिक, सांस्कृतिक ढंगमा निरुपण गर्ने चलन थियो । यसो भन्न सकिन्छ– जारी विवाह प्रथा सबै समुदायमा थियो, तर जारी–खतको न्याय निरुपण भने लिम्बूहरूमा आफ्नै विशेषताको थियो ।

...

‘जारी’ फिल्म लिम्बू जीवनको एक पाटोको यथार्थिक वर्णन हो । साधुले दाबी गरेको जारी रकम माइती पक्षबाट समयमै तिर्न नसक्दा हाङ्मा नोकर बस्नुमा अतिरञ्जना देख्छ समीक्षकको नजरले, तर कहिलेकाहीँ जानी–बुझी पनि उट्पट्याङ निर्णय गर्न माहिर उहिलेको कुनै सुब्बाले जारी गरी गएकी पूर्वबुहारीलाई कामदार राखेन भन्न सकिन्न । तर, आदर्शको चाहना छैन र आदर्शोन्मुखता पनि देखिँदैन । लिम्बू–जीवन पाटाहरूका दैनिकी व्यवहार, बोलीचाली, उठबसले देखाउँछ– लिम्बूका सामाजिक, सांस्कृतिक, वैयक्तिक जीवनमा लैंगिक विभेद जातव्यवस्थाको जस्तो उच–नीचपूर्ण छैन । मान्छेको जात नै चोखो–जुठो हुन्छ भन्ने बुझाइ छैन 

त्यहाँ । व्यक्तित्व–स्तर उस्तै समान देखिन्छ । महिला–पुरुष दुवै विशिष्ट परिस्थिति र आवश्यकता अनुरूप उस्तै आक्रामक, उस्तै मायालु र मिलनसार, उस्तै भद्र, उस्तै छुद्र हुन सक्ने क्षमता राख्छन् । लेखिसकियो नै ‘जारी’ को सुरुवातै हाङ्मा र नामसाङबीचको भनाभन र हानाहानबाट हुन्छ ।

पात्र प्रधानताका हिसाबले नारी निजत्व–प्रधान सिनेमा हो– जारी । कथानकले गति लिने र नयाँ घुम्तीहरू घुम्ने काम हाङ्माको निजत्वकेन्द्रित स्वतन्त्र निर्णयहरूले गर्छ । सबै पात्रका दैनिकी, झगडा, उछलकुद हाङ्माकै निमित्त र उनकै निर्णयको सेरोफेरोले प्रभावित छन् । एकातिर शान्त, सौम्य र शालीन समुद्रजस्ती हाङ्माको ‘म’ स्वतन्त्र उडान भर्न चाहन्छ भने अर्कातिर आमा–बा, भाइ, बहिनीको इमान–इज्जतप्रतिको जिम्मेवारी–बोध पनि छ । अनि अवचेतनभित्र जमिरहेको उनको प्रेम–सागरको गहिराइ र फैलावट कसले नाप्न सक्छ ?

‘जारी’ का पटकथाकार तथा निर्देशक उपेन्द्र सुब्बा ‘सिर्जनशील अराजकता’ (राजन मुकारुङ र हाङयुग अज्ञातसमेत) को आन्दोलनबाट नेपाली साहित्यमा प्रवेश गरेका हुन् । ‘मार्क्सको गिदीसँग बिन लादेनको अण्डा फ्राई गरेर ब्रिट्नी स्पियर्सको मूत एक बोतल’ लिएर भेडेटारमा पिकनिक मनाउन जाने अराजक कवि सिनेमामा आउँदा आस्तित्विक र याथार्थिक सर्जक देखापर्छन् । उपेन्द्रले लिम्बूको व्यक्ति ‘निजत्व’ र स्वतन्त्रता चेतलाई समेत माया–स्नेहमार्फत् वशमा राख्ने यथार्थलाई अत्यन्तै सुन्दर र कुशलतापूर्वक प्रस्तुत गरेका छन् । ‘जारी’ हेर्दा लाग्छ– उपेन्द्रको पटकथामा अभिधा अर्थभन्दा पर लक्षणा र व्यञ्जनार्थमा शब्द र वाक्य गठन भएका छन् । मिरुना मगर केही नबोली, केही नभनी नै धेरै कुरा भनिरहेकी हुन्छिन् । दयाहाङ राईले निधार खुम्च्याउँदा अब के भत्काउने भो भन्ने ध्वन्यात्मक अर्थ लाग्छ । प्रेमले ‘स्याबास’ बोल्दा हल किन गलल्ल हाँस्छ ? निर्देशक उपेन्द्रको कमाल यहीँ छ ।

‘जारी’ का अभिनायक–अभिनायिकाहरू, निर्माता, निर्देशक सबै स्वनिर्मित (सेल्फ–मेड) कलाकार, सर्जक हुन् । आफू जन्मे–हुर्केको परिवार, समाज नै सबै कलाकारको आर्ट–स्कुल हो । घाँस–दाउरा, गोठाला–खेताला गर्दै, खन–जोत गर्दै, घर–गृहस्थीको काम सघाएर मात्रै पढ्ने समय उबार्नुपर्ने अवस्था आम नेपाली गाउँले–जीवनको ठूलो बाध्यता हो । समाजले उत्पादन गरेका, जीवन निर्वाहका निमित्त कर्मशील प्रतिभाहरू सबै सहज र अर्ग्यानिक कलाकार हुन् । प्रतिभा दुई किसिमको हुन्छ– सहज र उत्पाद्य । सहज प्रतिभा सेल्फमेड र अर्ग्यानिक हुन्छ भने उत्पाद्य प्रतिभा सिकेको तालिमबाट जानेको विद्या हो ।

‘जारी’ का दयाहाङ, मिरुना, प्रेम, पुष्कर, रामबाबु, बिजय उदाहरणीय सहज प्रतिभा हुन् । सहज प्रतिभा सुक्दैन, तर उत्पाद्य (सिकेको) प्रतिभा सुक्ने र ऊ बिर्सिइने सम्भावना हुन्छ ।

शास्त्रीय नियम भन्छ– सिनेमा वा नाटकको निर्माण हुँदा त्रयान्विति अर्थात् काल, कार्य र स्थानबीचको अन्वय/सम्बन्ध हुनुपर्छ । ‘जारी’ मा शुभ–विवाह २०५२ सालमा भएको देखाउँदा समय नमिलेको हो कि भन्ने भान हुन्छ । ‘२०२५’ साल लेखेको भए पनि सरदाम र समय उत्तिकै जान्थ्यो र समय पनि मिल्थ्यो नै । खैर, यत्ति कुराले मात्रै जारीको भाउ घट्नुपर्छ भन्नेचाहिँ होइन ।

माथि जे जति भनिए पनि पटकथा लेखक, निर्देशककै शब्दमा ‘जारी एक विशुद्ध प्रेम कथा’ हो । लेखक, निर्देशकले नै ‘हो’ भनेपछि त हो । त्यसो हुनाले आजको स्कुले उमेरका पुस्ताले ‘जारी’ हेरेर बुझ्नेछन्– उहिले बाजे–बजूका पालामा ‘आई लभ यु’ नभनी नै माया–प्रेम गर्ने चलन थिएछ । म धनकुटा क्याम्पसमा आईए पढ्दा पान्थरका एक जना आङ्देम्बे दाइ बीएड पढ्दै थिए, होस्टलमा बस्थे, उपेन्द्र सुब्बाजस्तै थोरै, तर मीठो बोल्ने । एक शनिबार बिहान टेबलटेनिस रुममा ती दाइ चुना र सुर्ती मोल्दै गीत गाउँदै थिए– ‘भुइँमा धूलो छ, संसारमा केही छैन, माया ठूलो छ ।’

(चेम्जोङ त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागका प्रमुख हुन्)

प्रकाशित : वैशाख ९, २०८० ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?