सियोले सिएको, छोट्टीले दिएको !

रैथाने उत्पादन खेदिएपछि हामीले माया गर्न बिर्सियौं । ‘इश्क’ गर्न थाल्यौं, ‘पिरिम’ गर्न छाड्यौं ।
नवीन विभास

एक : भार भए पो घरवार
२०३४ पुस १५ ।
करेमा पड्कँदा साँझको पाँच बजेको छ । करेमा करेरेरेककक नथामिँदै राँकुलबोटमा झलौरी झर्छ । साँझ पर्न थालेपछि करेमा बास्छ, र करेमा बास्नुलाई गाउँघरमा करेमा पड्कने भन्छन् ।

सियोले सिएको, छोट्टीले दिएको !

करेमाको करेरेरे तालमा मौलाबोटबाट छोट्टी र जैपाबाट छोट्टे ठकानथलो राँकुलबोट पुग्छन् । बटुवाको पसिना ओभाउन बनाइएको राँकुली, नेपालीमा लाँकुरी, बोटमा अडेसिएको चौपारीमा भारेडोका बिसाउँछन् । बेलाबेला तिनका आँखा राँकुलबोटमास्तिर काठेकोलमा भर्खरै ओखरको घाट्रा पेलेर उकालिएका स्यान्लेकका कान्छा भुरा दम्पतीमा पर्छन् ।

मूल छोट्टे भीरपाटेभेनाका ओठमा भर्खर जुँगारेखी बसेका छन् । साढे पाँच फिटका गहुँगोरो भेनाका गोडा खाली छन् । घुँडादेखि कम्मरसम्म काँची कातेका छन्, त्यसलाई पेटीले कसक्क कसेर अड्याएका छन् ।

भीरपाटेका साथमा उनका जस्तै जुँगारेखी बसेका उनका मनपेटका स्हङ दुर्गे थापा र अरू भुराहरू छन् ।

मूल छोट्टी मीनाले कालो पनेलाको चोला, मसुरी गुनी लगाएकी छन् । रङ्ङिटे कपडाको गादा पारेकी छन् । थाप्लोमा फूल नभरेको सादा टावेल कसक्क गुथेकी छन् । नाकमा सुनको बुलाकी झुन्डिएको छ, कानमा चाँदीको चेप्टे । मीनाको स्हङ गवनसरी र अनसरी उनकै छाउलीका छन्, अरू भने भर्खरका भुरीहरू ।

छोट्टेछोट्टी भनेर प्रेमीप्रेमिकाजति नजिक पनि हुन सक्छन्, त्यसो नभए कुटुम्बेली लाग्नेचाहिँ निस्सै हुन् ।

छोट्टी बस्न जाँदा, जात्रा जाँदा र जमघटमा भाङ्ङु र अल्लोको धागोले बुनेको बोल्ला युवाले काँची कात्नु र युवतीले गादा पार्नु ‘सरम लाग्ने’ भइसकेको हुन्छ । घरमा भने उनै भाङ्ङु वा पुवा धागोले बुनेको भोङ्रा बोल्ला नै लगाउँछन् ।

छोट्टी बस्ने भनेको युवायुवती एकअर्कासँग झ्याम्मिने प्रीतिको रीति हो । ‘झम्–झम् वा झ्याम्म–झ्याम्म शब्दबाटै झाम्रे व्युत्पन्न भएको हो’ (कालीभक्त पन्त, विसं २०२८) । मगर भाषामा, झ्याम्मेको अर्थ झ्याम्मिनु, रत्तिनु वा परिचित हुनु हो । ‘झाम्रे शब्दले पँधेरो, मेलापात इत्यादि जुनसुकै स्थानमा आफ्ना उमेर समूहका हेलमेल भई गीत–नृत्यको माध्यमबाट मनोरञ्जन लिने क्रियाकलापलाई बुझाउँदछ’ (मीन श्रीस मगर, विसं २०७४) । माओवादीले पुँजीवादी ‘डेटिङ’ को संज्ञा दिएर ‘जनयुद्धकाल’ मा ‘झ्याम्म–झ्याम्म’ छोट्टी बस्न ठ्याम्म बन्देज लगाउँछ ।

ठकान बस्ने गते निश्चित हुन्छन्, एक वा पाँच, दस वा पन्ध्र, बीस वा पच्चीस । २०३४ पुस १५ गते छोट्टे र छोट्टी दुवै पक्षलाई बराबर दूरीमा पर्ने जैपा र मौलाबोटको बीच रानीकोटको राँकुलबोटमा ठकान राखिएको छ ।

महिनाको एकपालि ठकान बस्ने छोट्टे–छोट्टी आँखा घरीघरी एकअर्कालाई हेर्न कर्केगरी भुर्रभुर्र उड्छन्, घरीघरी तिनका अनुहारले पाक्न लागेको टमाटरको रूप लिन्छन् ।

के बोलम्, के बोलम्को बीचमा छोट्टे–छोट्टीलाई नक्कली खोकी लाग्छ । बेलाबेला सन्नाटा छाउँछ । सन्नाटाबीच छोट्टे प्रश्नको चुलो बाल्छन्, ‘भान्जी, तम्लई सन्चै छ ?’

छोट्टी जवाफ पस्कन्छन्, ‘अँ, मामा । तम्लई नि सन्चै छ ?’

ममा–भान्जीबीचको सम्बन्ध छोट्टे–छोट्टीको होइन, तैपनि रोल्पा रुकुमका मगर बस्तीमा अन्जान र छोट्टे–छोट्टीबीच कसरी मामा–भान्जी साइनो जुरेको होला ? सन्चोबिसन्चो सोधिएसँगै छोट्टीले भारेडोकाबाट मट्टे झिक्छन् । मट्टेको बिर्को खोल्छन् । कचौरामा खन्याएर भन्छन्, ‘लऊ, मामा ।’

लजाउँदै छोट्टे हात अग्रसर हुन्छन् । कटौरा हातमा लिएपछि भीरपाटे भेनाको ओठ फर्फराउँछ, ‘तमी गोस्या भेटा... ।’

फर्फराएको ओठसँगै चोर औंला डुबाएर चारैतिर सक्क फाल्छन् । सक्क फाल्नु पितृलाई चढाउनु हो । कचौराबाट जाँड सुरुप्प पार्छन् । छोट्टे र छोट्टीको बीचमा भोङ्रा बोल्ला फिज्छन् । बोल्लामा झाने रोटा र अचार राख्छन् । भुराभुरीले रोटामाथि हमला गर्छन् ।

गाउँघरका समाचारसँगै सुख–दुःख साट्छन् । छोट्टे–छोट्टीका धीत नमर्दै प्हनेरा र ताहिबाङ गाउँलेका घरमा बलेका आगो निभ्न थाल्छन् । छोट्टे–छोट्टीलाई लाग्छ, पत्तै नपाई गीत र सुख–दुःख नसकिँदै पुस फासफुस भइसकेछ ।

करेमा पड्केको करेरेरेककक सकिएकै चार घण्टा बित्छ, रातको नौ बज्न थाल्छ ।

छोट्टेले भारेडोकाबाट भाङ्ङु रेसाले बुनेको भोङ्रा बोल्लाको कुम्लो झिक्छन् । बोल्लामा पोको पारेको चिनो छोट्टीलाई हात पार्छन् । मूलचिनो बर्रे छ, जसको साथमा पार्सी बोलाउने, सम्झना बोल्ने चीज छन् ।

तीन मुर दुबा र चार मुर पाती गरी सात मुर दुबापातीको मुठालाई बाँधेको छ, भाङ्ङु ल्हाप्साले, जुन धागो बन्नुअघिको भाङ्ङुको रेसा हो । गाउँघरमा दिइने चल्तीको आशीर्वाद हो, ‘दुबो नै जेल्लेनू, पाती नै मौलनू ।’ ‘नै’ भनेको ‘झैं’ हो । मूलचिनोसँग राख्नुको अर्थ हो, छोट्टेछोट्टीको माया दुबोजसरी जेलियोस्, तीतेपातीजसरी मौलाओस् ।

दुबापातीको मुठासँगै म्हाय पात छ । माइसकरातीमा छोरीबहिनीलाई खिचडी दिनेदेखि माइत वा आफन्तकहाँ जाँदा वा ठकान बस्दाखेरि तेलमा पकाएको झाने रोटा होस्, टाटे रोटा होस्, म्हायपातको टपरीमा लैजाने चलन छ । टपरीभन्दा आठ–दस गुणा ठूलो उक्त टपरीलाई गाउँघरमा नाउँ दिएका छन्, पट्री । म्हाय पात राख्नुको अर्थ प्रेम नटुटोस् भन्नलाई हो । छ भने म्हायपातको पटरी, हाम्रो माया टुट्ला कसरी ?

म्हायपातसँगै उखुको पात छ, जसले बुझाउँछ, माया उखुजस्तै गुलियो र मधुर होस् । उखुको पातलाई तीन धार्नी शङ्खतरुल र दुई घरी केराले साथ दिएका छन् ।

मूल छोट्टी मीनाका हात मायाको ‘भार’ समाउन लजाउँछन् । एकछिनपछि चुपचाप समाउँछिन् । समाउँदाखेरि उनको मुहार भाङ बालेको उज्यालोमा लाल परेको टाठै देखिन्छ । भाङ बाल्ने भनेको जुनेली रातबाहेकका रातमा कतै जाँदा बाल्ने उज्यालो हो । सके सबभन्दा पहिले बालेको उज्यालो गाँजाको डाँठ हुँदो हो । कालान्तरमा भीमल, चोया बालेपनि भाङ बालेको भन्न थाले, गाउँघरमा टर्च बाल्दा पनि भाङ बाल्ने नै भन्छन् ।

भाङको आँखाले अघिअघि छोट्टी र पछिपछि छोट्टे हिँड्छन् । छोट्टीका घरभन्दा सय मिटर नजिकको डल्लुबोटनेर रोकिन्छन् । भीरपाटेको दिलचित जितेका स्हङ दुर्गे थापा उत्रा हान्छन् :

उँधैखोली उमैखोली धोबिनाले धोम्ला

बानाबान होइजाम् तोला कैली भेटु होम्ला ह ककक

भीरपाटे र भुराहरूले थापा गला घाँस्छन् । मूल गायक या गायिकाको स्वरमा स्वर थप्नुलाई गला घाँस्ने भन्छन् । छोट्टीपट्टिबाट गवनसरी रानाको गला मीना र अनसरीले घाँस्छन् :

हजारी गर्दौलीय लाउँदालाउँदै केटु

बानाबान होइजाम् तोला कैली होम्ला भेटु ककक

गीत मधुरिँदै जाँदा भाङको उज्यालोले बनेको छायामा हात हल्लाएको यामानको देखिन्छ । भाङको उज्यालोमा हात हल्लाउँदै नदेखिनेगरी खोरेखोलाबाटो छोट्टे लागेपछि मौनता सुसाउँछ । भल्दजुरे उक्लिँदा थापा एक्लै उत्रा हानिरहन्छन् :

घाम डुबी जान लाइगे, सल्ली टुप्पा घाम छ

अलि दुगर पुत्ले घोरा, साईलाई भेट्ने काम छ ककक

छोट्टी डाँडा वारिपारि हुँदा उत्रा हान्नुपर्ने हो । सके आफ्नी तोला भेट्नलाई पो गाए, थापाले ? बिदा भएका छोट्टीले सुनेर उत्रा फर्काउने सम्भावना पनि त छैन । मगर साइनोअनुसार आफूभन्दा जेठो फुपूपुत्रलाई भेना भन्छन् । भीरपाटे भेना स्हेँला फुपूपुत्र हुन् । माइला बाजीकी छोरी धमिनी फुपूको कान्छा छोरा ।

गएको माघको दोपहरमा भेना आफूले चिनो दिएको बर्रेको बारेमा बताउँन्, ‘बाहिरबाट हेर्दा प’ भाङ्ङुको डोरा हो, भित्र त मायाको फोहोरा हो नि ।’ बर्रे बनाउने मेलोमेसो सिकाउँछन् :

‘सबभन्दा पहिले भाङ्ङु ल्हाप्सा तयार पारेँ । बर्रे बुन्नलाई चाइने चीज फिर्की लिएँ । यो काठको पनि हुन्छ, चोयाको पनि । फिर्कीमा भाङ्ङु धागोलाई मसिनरी बटारेर डोरीजस्तै बनाएँ । जसलाई त्रिपल बनाएर टुक्राटुक्रा पारेँ । फिर्कीमा फेरि बटारेँ । चिल्लो गराउन धागोलाई घोटेँ । क्हाँनामा पनि मिलाएँ । बाँसको सुइराले बुनेँ । एकापट्टि डोरा हालेँ । तीन पय खपाएको ताना बनाएँ । भरन फिर्कीमा बातेर डबल बनाएँ । चिल्लो बनाउन फेरि घोटेँ । जति पय हो टिप्दै लगेर घुसारेँ । बात्दै गएँ । बुनेको भन्दा डबल र त्रिपल बनाएँ । जसलाई तुलेगाँठा भन्छन् । जसमा बर्रेको सर हाल्ने हो । एक हातजति लामो भए मुरेलो निब्जियो । तुलेगाँठामा राख्ने सर बनाउन पनि डोरी डबल अनि खपाउँदै त्रिपल बनाएँ । त्यसलाई पनि काठमा घोटेर चिल्लो पारेँ । चिल्लो बनाउन एक जना साथी वा किला ठोकेर त्रिपल बनाउने हो । घोटेर चिल्लो बनाउने हो । बीचको भाग गुभेसर हो । लामा ताना लगाएपछि डबल गरेँ । दुईवटा सर हुन्छन् नि । जसलाई काठमा ठोक्ने र एउटा डोरी फेरि काठमा टङ्ग्याउने, बीचको खुट्टामा चेपेर वरपर अमेठेँ । एउटा सरमा परपर बातेर सात सरको बन्यो । पाँच–सात हात लामो भयो । जो भारेडोका बोक्न ठिक्क हुन्छ । तुले गाँठा पार्ने सर राख्ने र मुरेलचाहिँ हरियो, रातो, पहेँलो रङ लगाएर रङ्गीन बनाएँ ।’

‘कति दिन लाग्यो, भेना ?’

‘छोट्टीलाई दिने भार तयार पार्ने दिन पनि गनिसाध्य हुन्छ तो, बड्डौ ? लागेको समय र कलाको हिसाबकिताब हुन्छ ? हुन्न ।’

पेटारामा साँचेको चिनो हातमा लिन्छन् । चिनोलाई सुम्सुम्याउँदै भेना भन्छन्, ‘पेटारामा राखेको छु, छोट्टीको चिनो । मरेपछि चढाउने थाईसँगै यो चिनो पनि चढाइदिन्छन् गरे ।’

राता, पहेँला, हरिया कपडाका ससाना टालाका कमकम गाँसेर हाते सियोले सिएको छ, थैली, जसको बाहिरी रूप रङ्गीन छ । सियोले सिउन कति समय लागेको होला ? जेलिएका धागो हेर्दा हिसाब निकाल्न कठिन छ ।

भेना घरी थैलीलाई ओर्काईफर्काई हेर्छन्, घरी नानालाई, छोट्टी हुँदा उनै नानाले दिएको चिनो जो हो । महिला भए छोट्टेको र पुरुष भए छोट्टीको चिनो थाईसँगै चढाइदिने चलन छ । शुद्धोको दिन मृतकलाई भनेर पकाएको खाना हो, थाई । अन्तिम खानाको रूपमा शुद्धो हुने दिन म्हाय पट्रीमा राखिदिन्छन् । मरे त सकिइहाल्यो, मृतक मुखमा पुग्ने कुरै भएन, काग, गिद्ध र कुकुर भने थाई खाएर अघाउँछन् ।

भीरपाटे दम्पती पालैशान्ति थैली हातमा लिन्छन्, त्यसका फुर्का र रङमा आँखा भिजाउँछन् । नाना भन्छिन्, ‘गाउँमा देसी कप्रा आउन थालेपछि थैली र बासा दिन चिनो थाल्याहम् । जेईहरूको पालामा मसिनोगरी, ढोङ्रामा अट्नेगरी बुनेको खास्साको बोल्ला बुनेर देने चलन थ्यो । त्यो बोल्ला कतिले भाङ्ङु धागाले बुनेका हुन्थे, कतिले पुवा धागाले ।’

नानाले टालोका कमकम गाँसेर बनाएको थैली चिनो सुम्सुम्याउँछिन्, ‘मेरो छाउलीका त जम्मैले थैली सेन्थिम् । दमैले कलमा चोला, गुन्ने, बुलुच र कपाले सिलाउँदा काटेका टालाटुली बटुली सिएको थैली हो ।’

भदौ बाह्र गते रोल्पाका गाउँघरमा दही बाँड्छन्, पिङ खेल्छन् । नानाकी मीत दिदीबहिनीले पिङ खेल्न बोलाएकाले मीतबा जैपाका लखवीर पुन एक्ले पोन बाजीको घर गएको बेला भीरपाटे भेनासँग मीना नानाका आँखा चार हुन्छ, नानालाई भदौ बाह्र भार हुन्छ, सोही बाह्रको भार नानाको घरवार हुन्छ ।

भदौमै पहिलो ठकान बस्छन् । ठकानथलो हुन्छ, मौलाबोट र जैपाको बीच भागमा पर्ने रानीकोटको राँकुलबोट । गाउँघरमा गीत नै छ, ‘घाँस काटेँ खर्सुको, दाउरा काटेँ कर्सि, साँच्चै माया लाने भए ठकान राखम् पर्सि ।’ ठकान समय तय गर्नु ठकान राख्नु हो, भेट भएर बस्नु ठकान बस्नु हो । मनोहर लामिछानेको ‘लोकवार्ताका केही पक्ष’ भन्छ, ‘मिति, समय र स्थान निर्धारणलाई लोकभाषामा ठगान भनिन्छ ।’

ठकान बस्दाबस्दा भीरपाटे भेना र मीना नानाको भार बढ्छ, घरवार गर्ने टुङ्गोमा पुग्छन् । भीरपाटे भेना मीना नानाको घर मौलाबोट पुग्छन् । दुई सय साई लगाउँछन् । साई लगाउनु भनेको बिहे पक्का गर्नु हो । युवतीले ‘साई’ समाएपछि, यदि युवाले उल्लङ्घन गरे साई पच हुन्छ, युवतीले गरे दोब्बर साईमासा तिर्ने चलन छ ।

उत्रा हान्दै बानाबान भएको चार महिनापछि २०३५ वैशाख २८ गते जैपामा गुर्कुच्ची गर्छन्, दमाहा, छेल्लर र सनाइसुरसहित ।

भीरपाटे भेना रणबहादुर पुनको घर मेरो घरभन्दा पश्चिमतिरको टोलमा छ । उनी रणयुद्धकाल, जनयुद्धकालमा कमरेड ऋषि बन्छन् । माओवादी सुप्रिमो पुष्पकमल दाहाल प्रचण्ड भारतविरुद्ध सुरुङ युद्ध घोषणा गरेर रोल्पा जैपाको छिमेकी गाउँ प्हनेरा बस्दा होस्, न्हिमाङ गाउँमा बस्दा होस्, सुप्रिमो दानापानी सङाल्न अहोरात्र खट्ने कमरेड ऋषि नै हुन्, उनका छोरी र ज्वाइँ पनि रणयुद्धकालीन कमरेड नै हुन् ।

‘कुछ इश्क किया कुछ काम किया’

जब पुग्यो साठी, अनि हातमा लाठी । साठीको लाठी लिएकी देशमाया राई पूर्वी सोलुखुम्बु मुक्लीकी हुन् । देशमाया भन्छिन्, ‘केटाले बाँसको बिनायो कपेर दिने मन परेकी केटीलाई चिनो दिने चलन थियो रे । चिनो बनाउन सिपालु गाउँमा दुई–चार जना न हुने हो, तिनैलाई बनाउन लगाएर दिन्थे रे । केटीले मन परेको केटालाई फुर्का दिन्थे । फुर्का विभिन्न रङका धागोले लोभलाग्दो बनाएको हुन्छ ।’

फुर्काको धागो लेकाली पाइने सिस्नो जाख्लीको रेसाबाट बन्छ । धागो बनाउन सबभन्दा पहिले जाख्लीलाई सुकाउँछन् । ढुङ्गामा बजार्छन् । बजार्दा जाख्लीको डाँठ धुलिँदै झर्छ, रेसा बच्छ । बचेको रेसालाई मुङ्ग्रोले कुट्छन् । रेसाको बाहिरपट्टिको भाग पनि झर्छ । रेसालाई ठूलो भाँडामा पानीमा खरानी हालेर पकाउँछन्, अनि जाख्लीको धागो तयार हुन्छ । कपासको धागोले फुर्काको जाख्ली विस्थापित गरिसकेको छ ।

बूढा रूखमा उम्रने वनस्पति हो, ओम्री । त्यसको पोथ्रा हुन्छ । एक हात जति लामो लहरा हुन्छ । लहराको आँखा हुन्छ । जाख्लीजसरी ओम्रीलाई पनि घाममा सुकाउँछन् । सुकेपछि ओम्री पहेँलो हुन्छ । ओम्रीको झुस फाल्छन् । ओम्रीको तल्लो र माथ्लो आँखा काटेर फाल्छन् । बीचको आँखाको दुलोभित्र धागो छिराएर तल फुर्का बनाउँछन् । धागोले झुन्डाउने जुइनो बनाउँछन् । ओम्री चार अङ्गुलजति भए पुग्छ ।

‘ओम्रीलाई पर्वते कुराबाट के भन्छ कुन्नि ? मनमै आएजस्तो लाग्छ तर अहिले भुलेँ । पर्वते कुराबाट बेग्लै छ,’ देशमाया नाउँ सम्झन कोसिस गर्छिन्, ‘यो ठूलाठूला रूखमा उम्रन्छ । लहराजस्तो हुन्छ, धेरै लामो भने हुन्न । फुल्छ पनि । ओम्रीमै फुर्का बुन्ने हो ।’

फुर्काको अर्को महत्त्वपूर्ण अङ्ग दुम्सीको काँडा कुरी चाचा हो । रोल्पातिर दुम्सीको काँडालाई स्हाँरा साइपिर्ला भन्छन् । अहिले कुरी चाचाको बदला बाबियो र ओम्रीको बदला धागो प्रयोग गरेको देखिन्छ । मन चोरी लएको युवकलाई युवतीले फुर्का चिनो दिन्छन्, त्यसलाई देब्रे छातीमा झुन्ड्याउनुपर्छ, दौरा वा चोलोको तुनानेर, जहाँनेर मुटु ढुकढुक गर्छ ।

नक्छुसेली वा नक्छुसेलिनी ‘धामी वा धमिनी’को सिडिमोमा पनि फुर्का हुन्छ । देशमायाका अनुसार, नेचाका थुलुङ र बाहिङ, मुक्लीका थुलुङ, सबैजसो महिलाले फुर्का बुन्न जान्दछन् ।

न्युयेन न्होककृत भियतनामी उपन्यास ‘द भिलेज द्याट उडन्ट डाई’ को खगेन्द्र सङ्ग्रौलाले ‘अजम्मरी गाउँ’ शीर्षकमा नेपालीमा अनुवाद गरेका छन् ।

‘त्यसदिन बिहान खेततिर जाँदा लिऊले नूपलाई थी ओम झरनामा भेटेकी थिई । ऊ चट्टानमाथि उभिएको थियो । उसका गोडामाथिबाट सुलुसुलु पानी बग्दै थियो । पानी शान्तसँग बग्दै थियो । तर, एकाएक रिसाएझैँ गरी पानी चट्टान वरिपरि कुर्ल्यो र चाँदीजस्ता छिर्का उँभो हुत्यायो । अँजुली थापेर नूप झरनाको पानी खाँदै थियो । एउटा अति राम्रो चुम लिऊतिर लम्काउँदै उसले भन्यो– यो म तिमीलाई टक्राउँछु ।

आनन्दले रातोपिरो हुँदै लिऊले चुम समाती । चुम कम्मरमा बाँधी र आफ्ना चम्किला काला आँखा लुकाउन मुन्टो निहुराई (विसं २०७८ : १५) ।’

चुम ‘बा ना’ समुदायका महिलाले बाँध्ने पेटी हो । बाँसको असल चोयाबाट बुनिने चुम प्रेमको चिनो हो । प्रेयसीका निमित्त एउटा चुम बुन्न प्रेमीलाई एक मासजस्तो लाग्छ ।

नूपले लिऊलाई आफ्नो मायामा बाँधिराख्न प्रीतिको पेटी ‘चुम’ प्रेमोपहारस्वरूप टक्राउँछ ।

‘लिऊले दूका दुवै हात च्याप्प समाती । उसको निधारमा कपाल लत्रेको थियो । लाजले गाला रातापिरा पार्दै उसले मुन्टो हल्लाई– तिमीले नभाको कुरो गर्‍यौ । तिमीले नभाको कुरो गर्‍यौ । (विसं २०७८ : १६–८) ।’

नूपले लिऊलाई चुमको माध्यमले मायामा बाँधेजस्तै रोल्पा रुकुमका गाउँघरमा छोट्टे–छोट्टीलाई भाङ्ङुको बोल्ला, भाङ्ङुकै बर्रेले एकअर्कालाई बाँधेका हुन्, भाङ्ङुको भारेडोकामा आफ्नो माया टक्राएर । ढुङ्ग्रोमै अट्ने बोल्ला र रङ्गीन बर्रे बुन्न सक्नु चानचुने प्रेम र कलाले कहाँ सम्भव हुन्छ ?

पशुपालन र कृषिकर्म गर्नेसँग बर्रे सधैं साथ रहन्छ, छोट्टेले छोट्टीलाई पलपल सम्झिऊन् भनेर बर्रे चिनो दिए होलान् । बोल्ला पनि काँची कातेर हिँड्ने भएकाले सदा साथ रहन्छ, त्यसैले छोट्टीले छोट्टेलाई बोल्ला चिनो रोजे होलान् ।

खास्साको बोल्ला काँची कातेका युवालाई गाउँघरतिर जिस्काउँछन्, ‘को छोट्टीको चिनो हो ? ओक्खो ! स्यानो स्वाया छैन, बाल् !’ काँची कातेको युवा लजाएर लाल हुन्छन् ।

चिनो दिने बोल्ला बुन्न मसिनरी धागो कात्छन् । नङमा प्वाल पारेर प्वालबाट भाङ्ङु धागो छिराएर आकार निर्धारण गर्छन् (सम्झना घर्तीमगरसँग २०७५ मङ्सिर ४ गते गरेको कुराकानी) । उक्त धागोले बुनेको बोल्लालाई सानो आकारमा बेरेर बाँसको ढुङ्ग्रोमा छिराउँछन् । छिर्‍यो भने, बोल्ला ‘बबाल’ कला ‘अब्बल’ मानिन्छ ।

बर्‍यो, जाबो बुन्देऊ बाबै, भाङाको डोरीले

घट्ट जाँदा थैलो बोक्ने, ठालुकी छोरीले

मनलाल ओलीको ठाडीभाकामा ठालुकी छोरी घट्ट जाँदा बोक्ने जाबी, बर्रे बुन्न आफ्नो सीपले नभ्याएपछि बाबुलाई छोराले अनुरोध गरेका छन्, चिनो चानचुने हुन पनि भएन नि । ठूल्भाउजू प्रेमकुमारी पुन फेरिएका चिनो अनुहार सम्झना सुनाउँछिन् :

‘छोट्टीले धागो काती काँची कात्ने र गादा पार्ने बोल्ला, झुम्के थैली, टोपी, कमेज चिनो दिन्थे । छोट्टेले बर्रे, भारेडोका, करेम, बाँसको बीचमा डोराले बाँधेर जुम्रा झार्ने काङ्ङे, बीचबीचमा डोरीले जेलिएको पैसा हाल्ने सिम्ली, कोडोम, धागे झन, जाली खकन्ना, रुमाल चिनो दिन्थे । कक्कर खान प्रयोग हुने निगालो वा चोयाको कुल्पीमा बुट्टा भरेर दिन्थे ।’

रोल्पाली गाउँघर भारतीय कारखाने कपडाले छोपेपछि, माया मिसाएको चिनो दिने चलन चट् हुन्छ । बोल्ला काँची कात्नुको बदला पाइन्ट लगाउन थालेपछि मायामा बोल्ला र बर्रेको के भाउ ? माया मिसिएको कलाले बुनेका बोल्ला, बर्रे बदला देसी कारखानाले बुनेका कमिज, टोपी, गुन्यु, सारीले लिन्छ । वनसाङ्लाले घरसाङ्ला खेदेजसरी रैथाने उत्पादन खेदिएपछि हामी माया गर्न बिर्सिन्छौं । ‘इश्क’ गर्न थाल्छौं, ‘लभ’ गर्न थाल्छौं, ‘पिरिम’ गर्न छाड्छौं । ‘प्यार’ पाल्न थाल्छौं, मायाको ‘भार’ फाल्न छाड्छौं ।

फैज अहमद फैजको ‘कुछ इश्क किया कुछ काम किया’ स्मरण गरम् :

कुछ इश्क किया कुछ काम किया

ओ लोग बहुत खुस किस्मत थे

जो इश्क को काम समझते थे

य काम से इश्की करते थे

हम जितेजी मसरुफ रहे


कुछ इश्क किया कुछ काम किया

काम इश्क के आगे आता रहा

और इश्के से काम उल्झता रहा

फिर आखिरकार तङ आ कर हम ने

दोनो को अधुरा छोड दिया

प्रकाशित : चैत्र २५, २०७९ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?