२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

अब कृष्णा ताम्राकारको समाचार सुन्नुहोस्

समाचारका शब्द त अरू पनि शुद्धै उच्चारण गर्थे, तर कृष्णाको वाचनमा भने ह्रस्व–दीर्घ स्पष्टै छुट्टिन्थ्यो । अक्षर–शब्दमा प्रस्टता र स्वरको ओजले उहाँलाई अतुलनीय बनाएको थियो ।
गोपाल गुरागाईं

गएको फागुन १३, दिउँसो साढे एक बजेतिर दिदीको फोन आयो । दिदीको फोन आउँदा र मैले फोन गर्दा हाम्रो कुराकानी आराम–कुशलबाट सुरु हुन्थ्यो । क्यान्सर जितेर बाँचेकी दिदी कृष्णा ताम्राकारलाई बेला–बेला केही न केही स्वास्थ्य समस्याले च्यापिरहन्थ्यो नै । त्यसैले म दिदीको स्वास्थ्यबारे सोधिरहन्थें । मन परेका मानिसलाई हदैसम्मको माया गर्ने बानी थियो दिदीको । सायद म त्यही कोटीमा पर्ने एक भाग्यमानी थिएँ । त्यसैले दिदी मेरो, छोरीको र बुहारीको हालचाल नछुटाई सोध्नुहुन्थ्यो ।

अब कृष्णा ताम्राकारको समाचार सुन्नुहोस्

त्यो दिन पनि कुशलक्षेमका लामै कुरा भए । तर, मुख्य कुरा त सुरु भएकै थिएन । दिदीले भन्नुभो, ‘एउटा नयाँ रेडियो कार्यक्रम सुरु गर्न लागेको, शनिबार बिहानको आधा घण्टा समय चाहिएको छ ।’ मन–मनमै लाग्यो– कृष्णा दिदीले चौरासी वर्ष पार गरेको पनि दुई वर्ष भइसक्यो, तर दिदी अझै नयाँ रेडियो कार्यक्रमको कुरा गर्दै हुनुहुन्छ । दिदीलाई चिन्नेहरू उहाँको जोस, जाँगर र चुप लागेर बस्न नचाहने बानीसित राम्रै परिचित छन् । लामो समयको संगतले यसरी परिचित हुनेहरूको पंक्तिमा म पनि पर्छु । त्यसमाथि, रेडियोमा समय खाली थियो नै, मैले ‘भैहाल्छ नि दिदी’ भनें । त्यसपछि दिदीले टेबल–लाइटको कुरा गर्नुभयो, जुन उहाँले केही महिनाअघि मात्रै फिनल्यान्डबाट ल्याउनुभएको थियो । एकपल्ट चार्ज गरेपछि घण्टौं बल्ने र खल्तीमा बोकेर हिँड्न सकिने दिदीबाट उपहार पाएको त्यो टेबल–लाइटलाई सजाएको छु मैले, उपहार सम्झेरै ।

...

कृष्णा ताम्राकारसित भेट भएको तिथि–मिति खोज्न २०४५ सालका स–साना नोटका पाना खोज्नुपर्छ । अहिले त्यो झन्झट नगरौं, बरु त्यो वर्षको मोटो कुरा गरौं । म लगायत केही पत्रकारले नेपाल वातावरण पत्रकार समूहको सदस्यता पाएको धेरै भएको थिएन । समूहको कार्यालय हेम विष्टजी बस्ने थापागाउँको घरबाट थापाथलीमा सरेको पनि धेरै भएको थिएन । तर, थापाथलीको त्यो स्थान धेरै पत्रकारको भेटघाट हुने थलो भइसकेको थियो । त्यो बेला समूहको अध्यक्ष हुनुहुन्थ्यो– कृष्णप्रसाद सिग्द्याल र उपाध्यक्ष हुनुहुन्थ्यो– कृष्णा ताम्राकार । दुवै जना वातावरण पत्रकार समूहको संस्थापक हुनुहुन्थ्यो । कृष्णा ताम्राकार कहिलेकाहीँ समूहको कार्यालयमा आउनुहुन्थ्यो । उहाँलाई मैले देखे–चिनेको त्यहीँ हो । साढे दुई बजे प्रसारण हुने रेडियो नेपालको समाचार सकेपछि थापाथली आउने समय थियो उहाँको ।

समाचारबाहेक उहाँ त्यसबेला स्वास्थ्य र हरियाली विषयमा केन्द्रित अरू रेडियो कार्यक्रम पनि चलाउनुहुन्थ्यो । त्यसैले, ‘मराञ्ज’ नामक महँगो टेपरेकर्डर उहाँको साथै हुन्थ्यो र एक थान माइक्रोफोन पनि । यी हतियार चिटिक्क परेको ब्यागमा राखिएका हुन्थे । उहाँ आफैं पनि चिटिक्क परेर आउनुहुन्थ्यो । सफा, हेर्दा महँगो देखिने सारी र पश्मिनाको सलमा देखिने उहाँ कुरा सुरु गर्नुअघि नै चिटिक्क परेको ब्यागबाट कागज–कलम झिक्नुहुन्थ्यो ।

वातावरण पत्रकार समूहले वन र वातावरण रेडियो कार्यक्रम चलाउने जिम्मा दिदीलाई दिएको थियो । त्यसपछि स्क्रिप्ट लेख्ने मानिसको खाँचो पर्‍यो उहाँलाई । दिदीको रोजाइमा पहिले सायद तीर्थ कोइराला पर्नुभयो, त्यसपछि केदार शर्मा । कार्यक्रम सुनेर श्रोताले सातामै दर्जनौं पत्र पठाउँथे । र, ती पत्रमध्ये केही पत्र रेडियो कार्यक्रममा समावेश गरिन्थे । केही चिठी प्रतिक्रियाका रूपमा समावेश हुन्थे र कतिपय पत्रको जवाफ खोज्नुपर्थ्यो । चिठीको जवाफ खोज्ने र चिठी छान्ने काम सुरुमा दिदी आफैंले गर्नुभयो, तर झ्याउ लागेर हो या मेरो माया लागेर, पछि त्यो काम मेरो भागमा पर्‍यो ।

पाएको काम दत्तचित्त भएरै गरेँ मैले । सायद त्यसैको फल हो, एक दिन दिदीले मलाई रेडियो नेपालको स्टुडियोमा लैजानुभयो । रेडियो सुन्न पाएको र स्वरले उहाँलाई मैले चिनेको त ९ वर्षको छँदै हो । तर, रेडियो स्टेसन, स्टुडियो, माईक, टेबलमाथिको ठूलो स्पुल रेकर्डर, तोरी पेल्ने कल घुमेझैं घुमिरहेको स्पुल टेप, टेपमा रेकर्ड भइरहेको आवाज, अनि रेडियो नेपालभित्र छिर्नुअघि जुत्ता खोलेर भित्र पस्नुपर्ने नियम ! मेरा लागि छक्क पार्ने अनेक कुरा एकसाथ थिए । तर, छक्क परे पनि छक्क परेको देखिनुभएन, किनकि म त्यहाँ कृष्णा ताम्राकारको साथ थिएँ । र, अरूको नजरमा उहाँले पत्याएको मानिस थिएँ । तर, रेडियो कार्यक्रम रेकर्ड गरेको पहिलोपल्ट देख्दै थिएँ । पहिलोपल्ट रेडियो नेपालको स्टुडियोबाहिर प्राविधिकसित बसेर भित्रबाट दिदीले बोलेको आवाज सुन्दा त्यस दिन म छक्क मात्रै परेँ ।

दिदीले काम थपिदिँदै गएपछि मलाई रेडियो नेपाल बाक्लैसित जानुपर्ने हुन थाल्यो । श्रोताका पत्र छान्नु, त्यसलाई बोल्ने भाषामा ढालेर स्कृप्ट लेख्नु, जवाफ खोज्नुजस्ता काम गर्दा मलाई आनन्द लाग्थ्यो । त्यो आनन्द नाम र दाम प्राप्तिको थियो । कार्यक्रममा बिदा माग्दा प्राविधिक र दिदीसितै सहयोगीका रूपमा मेरो पनि नाम आउँथ्यो । त्यसमाथि, काम गरेको पैसा कहिलेकाहीँ दिदी हात फुकाएरै दिनुहुन्थ्यो ।

रेडियो नेपाल आउजाउ गर्न थालेको महिनौंपछि दिदीले कार्यक्रम सक्ने बेला एक दिन स्टुडियोभित्र बोलाउनुभयो । म स्टुडियोमा पसेँ । पाठक–पत्रको स्क्रिप्ट मेरो हातमा थमाएर भन्नुभयो, ‘चिठी तपाईं पढ्नुस्, जवाफ म दिन्छु ।’

अहो ! यो के हुन लागेको ? म रेडियोमा बोल्ने ? मलाई लाग्यो, मेरा कानले गलत सुने । दिदीले अरू कसैलाई भन्नुभएको होला, तर स्टुडियोमा त उहाँसित म मात्रै थिएँ । ढोकाबाहिर दुई जना प्राविधिक थिए । र, उनीहरू मुसुमुसु हाँसिरहेका पनि थिए । तैपनि मलाई दिदीको कुरामा विश्वास लागेन, किनकि मेरा लागि रेडियोमा बोल्ने कुरा त्यो बेलासम्म कल्पनाभन्दा धेरै पर थियो । त्यसमाथि स्वर परीक्षा पास नगरेका मानिसले न रेडियोमा बोल्न पाउँथे, न गीत गाउन । रेडियोमा बोल्ने मान्छेको इज्जतै बेग्लै थियो । किनकि उसको स्वर बेग्लै थियो ।

खलखली पसिना निकालेर बल्लतल्ल दुई वाक्य बोल्न मैले भित्र–भित्र ठूलै संघर्ष गरेँ । अनि तीन टेक लगाएर काम फत्ते गरेँ । अनि, भुइँमा न भाँडामा हुँदै सरासर कालीमाटीको डेरामा पुगेँ । तर, मैले रेडियोमा बोलेको कुरा कसैलाई भनिनँ । कारण मलाई चिनेका मानिसले पत्याउन सक्ने कुरै थिएन त्यो । मेरो स्वर मन नपरेर रेडियो नेपालको सेन्सर अधिकृतले स्पुलको त्यो भागमा कैंची पनि लगाइदिन सक्थ्यो । त्यसैले प्रसारण नहुन्जेल मैले रेडियोमा बोलेको कुरा कसैलाई पनि भनिनँ । तर, खुसीले हो कि आफूसित आफैं छक्क परेर हो, त्यस रात निदाउन मलाई निकै हम्मे पर्‍यो ।

स्वर रेकर्ड गरेको भोलिपल्ट बेलुका कार्यक्रममा आफ्नो स्वर आफैंले सुनेपछि बल्ल लाग्यो, म पनि बोल्न जान्ने मान्छे रहेछु । त्यसपछि, दिदीले चलाउने कार्यक्रमको स्क्रिप्ट मेरो भागमा आइपुग्यो । र, त्यसमा बोल्ने मौका पनि । तर, लेख्न मलाई जति सजिलो लाग्थ्यो, कृष्णा दिदीसित बोल्नुपर्ने कल्पना गर्दा मन काँप्थ्यो । उहाँसित बोल्न (रेडियोमा मात्र होइन, सामान्य कुराकानीमा पनि) हरेक शब्दको उच्चारण स्पष्ट हुनुपर्थ्यो, यो शब्द ह्रस्व र यो दीर्घ हो भन्ने कुरा उच्चारणबाटै सुन्नेले थाहा पाउनुपर्थ्यो ।

समाचार त अरूले पनि शुद्ध उच्चारण गरेरै प्रस्तुत गर्थे, तर उहाँले प्रस्तुत गर्ने समाचारका शब्द उच्चारणमा ह्रस्व र दीर्घ स्पष्ट छुट्टिन्थ्यो । अक्षर–शब्द उच्चारणको प्रस्टता र स्वरको ओजले उहाँलाई अरू समाचार प्रस्तोताभन्दा भिन्न र अतुलनीय बनाएको थियो । अरूलाई झैं मलाई पनि उहाँको स्वर मन पर्थ्यो, तर उहाँसित बोल्नुपर्दा नजानिँदो ढंगले मन डराउँथ्यो ।

सुरुसुरुमा स्कृप्ट लेख्दा ह्रस्व–दीर्घमा उति ध्यान जाँदैनथ्यो । फेरि अहिलेजस्तो कम्प्युटर थिएन । सबै हातले लेख्नुपर्थ्यो । लाइन खाँदेर लेख्नु हुँदैनथ्यो । लाइन खाँदेर लेख्दा फेरि पढिसकेकै लाइनमा आँखा पुगेर रेकर्ड बिग्रिन्थ्यो । त्यसैले, पहिलो र दोस्रो लाइनबीच ठूलै अन्तर हुनुपर्थ्यो ।

यतिविधि भाँति पुर्‍याएर लेखेको स्कृप्ट बुझाएपछि पनि दिदी रातो कलम बोकेर स्कृप्ट पढ्न थाल्नुहुन्थ्यो, शब्द उच्चारण गरेर नमिलेका ह्रस्व र दीर्घ मिलाउनुहुन्थ्यो, कतिपय शब्दको साटो त्यही अर्थ दिने अर्को शब्द खोज्न लगाउनुहुन्थ्यो । सबै मिलाइसकेपछि एकपल्ट स्क्रिप्ट वाचन गर्नुहुन्थ्यो, अनि मात्रै रेकर्डका लागि स्क्रिप्ट फाइनल हुन्थ्यो । दिदीसँग काम गर्दा मैले लेख्ने र बोल्ने सीप सिक्दै गएँ । सम्भवतः दिदीलाई मैले लेखेको स्क्रिप्ट सजिलो लाग्यो । मलाई पनि दिदीले उच्चारण गर्दा ह्रस्व, दीर्घ, शब्दको भाव र त्यसले दिनुपर्ने सन्देश मिलेको छ कि छैन भनेर आफूले लेखेको स्क्रिप्ट दोहोर्‍याएर हेर्ने बानी लाग्यो । प्रसारण हुने अक्षर, शब्द, वाक्य, त्यसले बोक्ने भावप्रति प्रस्तोता कति गम्भीर हुनुपर्छ भन्ने उहाँबाटै सिकेँ मैले ।

...

तीन वर्षअघि, एक दिन बिहान फोनको घण्टी बज्यो । त्यो फोन विमल चापागाईको थियो । विमल अथवा हिमाका पति, दिदीका जेठा ज्वाइँ । दिदीसँग कुरा नभएको वर्षौं भइसकेको थियो । विमलजीले ठट्टा गर्दै सोध्नुभो– मैले कुन गोपाललाई फोन गरेँ ? फोनमा केहीबेर गफिएपछि मैले दिदीको स्वास्थ्य र सक्रियताबारे सोधेँ । क्यान्सर जितेर बाँच्नुभएकी दिदी त्यसबेला सातामा दुईवटा रेडियो कार्यक्रम चलाउनुहुन्थ्यो । दिदीलाई फोन गरेर मैले भेट्ने समय मागेँ ।

त्यसको तीन दिनपछि उहाँको बासस्थान बुढानीलकण्ठ पुग्दा दिदी बगैंचामा टहलिँदै हुनुहुन्थ्यो । कोभिडको पहिलो कहर सकिएको थियो । लामो अन्तरालपछिको भेट भएकाले भलाकुसारी पनि लामै भयो । मैले रेडियो नेपालमा काम गर्न थालेको समय सोधेपछि दिदी त्यो बेला ८४ वर्ष पुगेको थाहा भयो । रेडियो नेपालमा कृष्णा ताम्राकारले काम गर्न थालेको २०१८ साल जेठमा हो । सुरुमा उहाँले हिन्दी समाचार वाचन गर्नुभयो । पछि उहाँलाई नेपाली समाचारमा बोल्न दिइयो, तर बिहान र बेलुका होइन, दिउँसो साढे दुई बजे । हाम्रो बा पुस्ता, हाम्रो पुस्ता र हामीपछिको पुस्ता रेडियो नेपालबाट प्रसारण हुने ‘यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्’ भन्ने वाक्य सुन्दै हुर्कियो ।

कृष्णा ताम्राकार अब हामीमाझ हुनुहुन्न । बाँचुन्जेल धेरै मानिसलाई बोल्न सिकाएकी कृष्णा दिदी सबैलाई निःशब्द बनाएर जानुभयो । तर, उहाँ जहाँ भए पनि ‘यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्’ भन्ने आवाज अहिले अझै धेरैका कानमा गुन्जिरहेको छ । र, नेपालका रेडियोको इतिहासमा युगौंयुगसम्म गुन्जिरहनेछ ।

प्रकाशित : चैत्र १८, २०७९ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?