संगीन प्रश्नको सिलसिला

निर्भीकजंग रायमाझी

पछिल्ला वर्षमा एकपछि अर्को फरक पृष्ठभूमिबाट आएका कविका नयाँ–नयाँ रचनाले नेपाली कविताको अनुहारै बदलिएको छ । विविधता नेपाली कविताको पहिचान बनेको छ । यद्यपि टाढैबाट चिनिने सग्लो अनुहार निर्माण गर्न आजका कविहरू चुकेका छन् ।

संगीन प्रश्नको सिलसिला

सुविन न्यौपाने ‘कान्जिभाइ’ प्रगतिशील विचार राख्ने युवा पुस्ताका प्रतिनिधि कवि हुन् । अझ प्रस्ट भन्दा श्रमजीवीहरूको पक्षमा खरो उत्रिने स्वयं श्रमजीवी मानिस हुन् । इन्डिगो इन्क बुक्सबाट प्रकाशित उनको पहिलो कवितासंग्रह ‘कमरेडको जनै’ का अधिकांश कविताले श्रम गर्नेको पक्षमा वकालत गर्छन् । समकालीन समाजको कुरूप पक्षमाथि चोटिलो प्रहार गरेका कान्जिभाइका कविताले युगीन चेतना बोकेका छन् । मानवीय संवेदनालाई गहिरो महसुस गरेर लेखिएका हुनाले उनका कविताले पाठकलाई लामो समयसम्म तानिरहन्छन् ।

‘समाजमा देखिएका तमाम विकृति र विसंगतिलाई आफ्नो तागतले भ्याएसम्म उधिन्ने चेष्टा गरेको छु’ भन्दै कान्जिभाइ स्वयंले कवितामा प्रगतिशील धार लिएको स्विकारेका छन् । शीर्ष कविता ‘कमरेडको जनै’ ले घतलाग्दो विपर्यास प्रस्तुत गरेको छ । भौतिकवादलाई आधार मानेर वैज्ञानिक सत्यको बाटो हिँड्नुपर्ने कमरेडहरू आज पनि सांस्कृतिक दास बनेर जनै लगाउन बाध्य बनेको कथा यो कविताले उठाएको छ । जनैका कारण सृजना भएको जात व्यवस्था र त्यसले समाजमा निम्त्याएको विभेदमाथि उनले प्रहार गरेका छन् ।

साहित्य समाजको ऐना हो भन्ने आम धारणालाई सत्य मान्ने हो भने कविता कविको अनुहार देखाउने ऐना हो । कवि जसरी बाँचेको छ त्यो उसको कवितामा छर्लङ्गै देखिन्छ । कान्जिभाइ पदयात्राका क्रममा नेपालको अधिकांश उच्च हिमाली क्षेत्रमा गह्रौं भारी बोकेर पुगेका छन् । यो श्रमप्रियता नभएको भए उनीबाट ‘यार्साकी सुनमाया’, ‘भोक’, ‘केत्तुकेको पातमा’, ‘आलेका जुत्ता’ जस्ता स्मरणीय कविता सृजना हुने थिएनन् । कठिन पदयात्राको दौरान उनले जे देखे –भोगे कवितामा त्यही टिपेका छन् । अर्को पक्षले हेर्दा पछिल्लो समय हिमाली पर्यावरण र सामाजिक जीवनलाई केन्द्रमा राखेर लेखिने ‘हिमाली साहित्य’ को नजिक छन् कान्जिभाइका कविता ।

राजनीति र श्रमबाहेक समकालीन समाजका अँध्यारा पक्षमाथि उनका कविताले आवाज उठाएको छ । ‘म कुमारी होइन’ भन्ने कवितामा कुमारीत्वको आधारमा महिलाको चरित्र निर्धारण गरिने प्रथालाई प्रहार गरेका छन् । मानिसको मानवीयताभन्दा ठूलो कुरा उसको चरित्र, पहिचान वा वर्ग कदापि हुन नसक्नेमा कवि सचेत छन् ।

‘कमरेडको जनै’ भित्रका ४७ थान कविता मार्क्सवादी दर्शनबाट प्रेरित भएको प्रस्ट हुन्छ । मार्क्सवादका आधारभूत मान्यतामा कविको अप्रतिम विश्वास देखिन्छ भने मार्क्सवादको नाममा गरिने गैरमार्क्सवादी हर्कतमाथि यी कविताले धावा बोल्छन् । ‘पदकको भाउ’, ‘पुँजीपति कमरेड’, ‘अझै अधुरो छ क्रान्ति’, ‘गणतन्त्रको बगैंचामा शक्तिशाली ज्योतिष’ जस्ता कविता यसैका दसी हुन् । तीव्र प्रगतिशील आस्थामा विश्वास राखेर कान्जिभाइले युगीन महत्त्वका कविता लेखेका छन् ।

यद्यपि कला पक्षमा भने कान्जिभाइमा कविता कमजोर छन् । विषय विविधता साँघुरो हुँदा कविता भन्ने शैली एकै प्रकारको लाग्छ । यसले एउटा कविता पढ्दा अघिल्लो कविताको छनक आउँछ र पाठक केही दुविधामा पर्छन् । गद्य कविताको मूल सौन्दर्य मानिने आन्तरिक लय प्रत्येक कवितामा जीवित राख्न चुकेका छन् कवि । यो सुविन कान्जिभाइमा मात्र नभई अधिकांश मार्क्सवादी कविहरूमा देखिने साझा समस्या हो । प्रगतिशील कविताको धार कमजोर बन्दै जानुको मुख्य कारण कोरा नारा वा सस्तो भावुकता मात्र अभिव्यक्त गरिएका कविता लेखिनु हो ।

प्रकाशित : चैत्र १८, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?