के गुगलको आधिपत्य खतरामा छ ?

सिलिकन भ्यालीका ठूला कम्पनीहरू एआई प्लाटफर्म बनाउने दौडमा छन्, ती प्लाटफर्ममाथिको लगानी र आकर्षणसँगै अमेरिकी न्याय मन्त्रालयले गुगलविरुद्ध दाखिल गरेका मुद्दाहरुले उसको एकाधिकारमाथि प्रश्न जन्माएको छ
सजना बराल

सर्च इन्जिनमा हाल बिङ, वाइदु, यान्डेक्स, याहुजस्ता विकल्प नभएका होइनन्, तर इन्टरनेट बजारमा गुगल (अल्फाबेट) को लगभग एकाधिकार कायम छ । कतिसम्म भने बिङ सर्च इन्जिनमा सबैभन्दा बढी खोजिएको शब्द गुगल नै हो । आफ्नो सर्च इन्जिन दैनिक एक अर्बभन्दा बढीले एक वा बढीपटक प्रयोग गर्ने दाबी छ– गुगल सर्चकी उपाध्यक्ष एलिजावेथ रिडको ।

गुगल सुरु हुँदा जम्माजम्मी ३ करोड आसपास वेबसाइट भएकामा अहिले गुगलले एकै दिनमा दस खर्बसम्म वेब ठेगाना सर्च इन्जिनमा व्यवस्थापन गर्नुपरेको रिडको अनुभव छ । गुगलले आफ्नै ब्राउजर क्रोममार्फत ब्राउजर बजारको पनि दुईतिहाइ हिस्सा ओगट्ने गरेको छ । साथै एप्पलको सफारीमा गुगललाई नै डिफल्ट ब्राउजर बनाइदिन वार्षिक १५ अर्ब डलर तिर्ने गरेको छ ।

वर्ष २०२२ को अन्त्यतिर आएको ओपनएआईको च्याटजीपीटी नामक च्याटबटले एक हप्तामै दस लाख प्रयोगकर्तालाई आकर्षित गर्न सफल भएको थियो । सिलिकन भ्यालीका धेरैजसो ठूला कम्पनीहरू अहिले आफ्नै जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्लाटफर्म बनाउने दौडमा छन् । उपलब्ध सूचना र इन्टरनेटमा रहेका कन्टेन्टको आधारमा इच्छाअनुकूलको कन्टेन्ट जेनेरेट हुने प्लाटफर्म ह्वात्तै बढेका छन् । एआई प्लाटफर्महरूमाथि बढेको लगानी र आकर्षणसँगै अमेरिकी न्याय मन्त्रालयले गुगलविरुद्ध दाखिल गरेको एकपछि अर्को मुद्दाले एउटा प्रश्न उब्जाएको छ– के गुगलको बजार आधिपत्य अब खतरामा परेको हो ?

साम्राज्य

सर्च इन्जिनको रूपमा अगाडि आएको भए पनि गुगलको साम्राज्य अथाह छ । गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटको कुल बजार मूल्य यो साता ११ सय ६० अर्ब अमेरिकी डलर छ । लगभग ८५ हजार जना कार्यरत अल्फाबेटअन्तर्गत गुगल सर्चसँगै क्रोम, डक्स, क्यालेन्डर, फोटोज, मिट, ड्राइभ, फाइनन्स, प्लेबुक्स, न्युज, अर्थ, एड म्यानेजर, प्ले, एड्मोब, म्याप्स, एड्सेन्स, जिमेल, ग्रुप्स, युट्युबलगायत कैयौं कम्पनी छन् । अल्फाबेटले सन् २०२२ मा २ सय ८१ अर्ब डलरभन्दा बढीको आम्दानी गरेको थियो । त्यसमा गुगल सर्चको हिस्सा १ सय ६३ अर्ब डलर छ । यो कति ठूलो रकम हो भन्ने थाहा पाउन दोस्रो स्थानमा रहेको बिङ सर्च इन्जिनको कमाइसँग तुलना गरे पुग्छ । बिङले २०२२ मा १० अर्ब डलरको कमाइ गरेको थियो । त्यस्तै अल्फाबेटले युट्युब विज्ञापनबाट ३० अर्ब र क्लाउड सेवाबाट २६ अर्ब डलरभन्दा बढीको कमाइ गत वर्ष गरेको थियो ।

युट्युब भिडियोहरूको विज्ञापन, गुगल प्लेस्टोरमा एपहरूको विज्ञापनलगायत अल्फाबेटको ठूलो कमाइ विज्ञापनबाटै हुन्छ । अहिले बजारमा अमेजन, एप्पललगायत कम्पनी आक्रामक रूपले डिजिटल विज्ञापनको क्षेत्रमा आएपछि बजारमा गुगलको कमाइको हिस्सा साँघुरिंदै गएको छ । तर, तथ्यांकहरूका अनुसार सन् २०२२ मा अल्फाबेट र मेटाले मात्रै डिजिटल विज्ञापन बजारको लगभग ५० प्रतिशत हिस्सा ओगटेका थिए । अल्फाबेटले विश्वको डिजिटल विज्ञापन बजारको लगभग ३० प्रतिशत हिस्सामा पकड जमाएको छ ।

कसरी लाग्यो एकाधिकारतिर ?

गुगलको सर्च एकाधिकारतर्फको यात्रा सन् २००७ मा डिजिटल विज्ञापनदाता कम्पनी डबल क्लिकलाई ३.१ अर्ब डलरमा किनेपछि सुरु भएको हो । डबल क्लिकको चुस्त डिजिटल विज्ञापन सेवा र हजारौं डिजिटल पब्लिसरसँगको सम्बन्धलाई अल्गोरिदमसँग मिसाएपछि गुगल एकाएक डिजिटल विज्ञापन बजारको मसिहा बनेर निस्कियो । त्यो समय याहुभन्दा दस गुणा र माइक्रोसफ्टभन्दा निकै फुच्चे रहेको गुगलले सो स्वामित्वपछि द्रुत गतिमा आफूलाई स्थापित गरायो ।

त्यसयता गुगलले प्रतिस्पर्धी डिजिटल विज्ञापन प्रदायक कम्पनीहरूलाई एड्मोब, इन्भाइट मिडिया, एडमेल्ड, अप्लाइड सेमाइटिक्स, स्प्रिन्क्सलगायतको स्वामित्व आफूले लिएर डिजिटल विज्ञापन बजारमा प्रतिस्पर्धी नै नभएको एकाधिकारको रूपमा अगाडि आयो । यति मात्रै नभइ गुगलले म्याप, एन्ड्रोइड सिस्टम, पब्लिक रिभ्यु प्लाटफर्मलगायत विभिन्न क्षेत्रका प्रमुख कम्पनीलाई कि त खरिद गर्ने होइन भने प्रतिस्पर्धै गर्न नसकिने बनाउने गरेको छ ।

उदाहरणका लागि खाना, रेस्टुरेन्टलगायत सेवाको रिभ्यु गर्ने कम्पनी एल्पलाई आफूले खरिद गर्ने प्रयास असफल भएपछि गुगलले आफ्ना प्रयोगकर्तालाई वस्तु, सेवा र स्थानको रिभ्यु गर्न लगाउने गरी रिभ्यु फिचर ल्यायो । आफ्नो धारणा नक्कल गरेको भनेर एल्पका प्रमुख जेरेमी स्टपलम्यानले मुद्दा नै दायर गरेका थिए । गुगलका निर्माता सर्गे ब्रिन र ल्यारी पेजले रिसर्च पेपरमा भनेजस्तै एकाधिकारतर्फ लागेपछि गुगलले पनि आफ्ना प्रयोगकर्ताहरूलाई कम गुणस्तरको परिणाम उपलब्ध गराउन सुरु गरेको गुनासो पनि धेरैले गर्ने गरेका छन् ।

कानुनी समस्या

एन्ड्रोइड, डबल क्लिक, एल्पलगायत विभिन्न प्रतिस्पर्धी कम्पनी खरिद गर्ने वा तिनलाई प्रतिस्पर्धाबाट हटाउने गर्न थालेपछि गुगल विभिन्न कानुनी झमेलामा पर्ने गरेको छ । सन् २०१८ मा गैरकानुनी रोकावटमा संलग्न भएको भन्दै युरोपेली युनियनले अल्फाबेटलाई ४.३ अर्ब डलर जरिवाना गराएको थियो । भारतको प्रतिस्पर्धा आयोगले सन् २०२२ को अक्टोबरमा अल्फाबेटलाई अनलाइन सर्च र एन्ड्रोइड बजारमा रहेको आफनो प्रभुत्व दुरुपयोग गरेको भन्दै १ सय ६१ मिलियन अमेरिकी डलर जरिवाना तिराएको थियो । साथै कोभिडकै बीचमा गुगलले झन्डै ४० अमेरिकी राज्यहरूमा प्रयोगकर्ताहरूले आफ्नो लोकेसन ट्र्याक नगर्नभन्दा पनि सो जारी राखेबापत झन्डै ४०० मिलियन डलर जरिवाना तिर्नुपरेको थियो ।

यस्तै अमेरिकी न्याय मन्त्रालयले अल्फाबेटमाथि सर्च बजारमा एकाधिकार र प्रतिस्पर्धालाई दुरुत्साहन गरेको अभियोगमा २०२० मा र विज्ञापन बजारमा एकाधिकार गरेको भन्दै सन् २०२२ मा दुईवटा एन्टाइट्रस्ट मुद्दा दायर गरिसकेको छ । अमेरिकी न्याय मन्त्रालयकै शब्दमा गुगलले ‘प्रतिस्पर्धाको वातावरण खल्बल्याएको, ग्राहकहरूको लागि छनोटको अवसर जानाजान घटाएको र नवउद्यमलाई दुरुत्साहन गराएको’ आरोप लगाएको छ । टेड आफ्टर आवर्स पडकास्ट सञ्चालिका योङ्मी मुन ट्रम्प प्रशासनले सुरु गरेको मुद्दा बाइडेन प्रशासनले अझै थपेर अघि बढाएकाले गुगलको समस्या बढ्ने संकेत देखिएको दाबी गर्छिन् ।

के गुगल खराब मात्रै हो ?

यसको उत्तर प्रयोगकर्तामा भरपर्छ किनभने इन्टरनेट युग सुरु भएयताको सबैभन्दा गजबको प्लाटफर्ममध्ये एक गुगल भएकोमा दुईमत छैन । गुगल सर्चकी उपाध्यक्ष रिड गुगलले प्रयोग गर्ने विज्ञापनबापतको आम्दानी मोडेल पूर्णतया खराब नरहेको र आफूहरूले विज्ञापनको छनोट र गुणस्तरमा भेदभाव गर्ने नगरेको दाबी गर्छिन् । ‘अहिले समग्रमा इन्टरनेट नै खराब बन्दै गएको हो किनभने यहाँ फैलाइने भ्रामक र मिथ्या सूचनासँगै दुष्प्रचारको पनि मौद्रिक आम्दानीको पाटो छ,’ उनी भन्छिन्, ‘हाम्रा प्रयोगकर्ताले बुझेर मात्रै कुनै लिंक क्लिक गरून् भनेर हामीले स्नाइपेट अर्थात् त्यो लिंकमा के छ भनेर सानो झलक देखाउन सुरु गरेका हौं ।’ आफूहरू अहिले पनि प्रयोगकर्ताहरूको अनुभव सुनेर सुधारको प्रयत्नमा रहेको र गएको दुई दशकदेखि गुगलका सबै सेवाहरूले प्रयोगकर्ताहरूको प्रतिक्रियाको आधारमा आफूलाई अझै उत्तम बनाउँदै लगेको उनको दाबी छ ।

दैनिक एक अर्बभन्दा बढी व्यक्तिलाई खोजेका वस्तु, सेवा, सिकाइको अवसरसमेत अनेकौं जानकारी दिनुका साथै कम्तीमा दुई दर्जन भिन्न प्लाटफर्ममार्फत दैनिक जीवनका विभिन्न जानकारी दिने गुगल मानव र इन्टरनेट जगतको अभिन्न मित्र बनिसकेको छ । अगस्ट १६, २०१३ मा गुगलको सेवा पाँच मिनेटको लागि रोकिंदा विश्वको इन्टरने प्रयोग ४० प्रतिशत घटेकोजस्ता रोचक कथा बाहिरिएका थिए । गुगलको होमपेज ८० भाषामा उपलब्ध छन् भने गुगलले प्राप्त गर्ने कुल सर्चको ३३ प्रतिशत स्मार्टफोन माध्यमबाट आउने गरेको गुगलको आँकडा छ । गुगलको अर्को प्रमुख सेवा युट्युबले अहिले मासिक २ अर्ब सक्रिय प्रयोगकर्तालाई सेवा दिइरहेको छ । यसमा हरेक मिनेट ४ सय घण्टाभन्दा धेरै भिडियो अपलोड हुने गरेका छन् । सँगै गुगलले भविष्यमा एआई टुलहरू, ड्राइभरविहीन गाडी र विभिन्न गेमहरूको सिर्जनामा पनि आफूलाई लगाएको छ ।

सकिएला आधिपत्य ?

च्याटजीपीटीलगायत जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सको धमाकेदार आगमनले गुगललाई तनाव दिएको त प्रस्टै देख्न सकिन्छ । गुगलले आफ्नै जेनेरेटिभ एआई प्रविधि विकासका लागि गरेको हतारोले पनि त्यो जायज रहेको जनाउँछ । गुगल सर्चलेजस्तो उत्तर वा लिंक वा संकेत मात्रै नदिएर कुराकानीको शैलीमा उत्तर लेखिदिने लगायत अहिलेसम्म कम्प्युटरले सामान्यतया नगरेका शब्दबाट पेन्टिङ र फोटो बनाउने, भिडियोका स्क्रिप्ट मात्रै नलेखेर त्यसलाई सुहाउँदो पात्र र स्वर खोजेर भिडियो नै बनाइदिने, संगीत सिर्जना गरिदिने, लेख र होमवर्कका काम गरिदिनेलगायत दैनिक जीवनका काम चुट्कीमै गरिदिने प्रविधि बजारमा आएपछि गुगल सर्च केही हदसम्म रक्षात्मक भएको हुन सक्छ । तर, दुई दशकभन्दा बढी समय लगाएर जम्मा गरेको शब्द, तस्बिर, स्वर, भिडियोहरूको अथाह संग्रहले पनि गुगल अहिले नै कमजोर भइसकेको तर्क गर्नु हतारो हुने विज्ञहरूको टिप्पणी छ ।

निकट भविष्यमै आफ्नै च्याटबट र अन्य एआई प्रविधि ल्याउने तयारीमा रहेको गुगल त्यसपछि आफ्ना अभिलेख र अलगोरिदम विज्ञताले गर्दा झनै शक्तिशाली हुने अनुमान गर्न सकिन्छ । हाल सुरुवाती चरणमा रहेका एआई प्रविधिले पैसा कसरी कमाउँछन् र आफूलाई समयअनुसार कसरी अघि बढाउँछन् भन्ने पनि हेर्नलायक हुनेछ ।

‘किन गुगल खराब हुँदै गएको होला त ?’ भन्ने प्रश्नमा च्याटजीपीटीले यस्तो जवाफ दियो, ‘गुगलले समयानुसार नियमित रूपमा आफूलाई विकसित गर्दै आफ्ना सेवा सुधार गरिरहेको छ । त्यसैकारण यो खराब हुँदै गएको छ भन्ने तर्क अलिक नसुहाउँदो भयो । तर, केही व्यक्तिहरूले समयक्रममा गुगलको कार्य पद्धतिका कारण केही सेवा कम उपयोगी भएको महसुस गरेका हुनसक्छन् ।’

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : चैत्र ११, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्

त्यसपछि म छापामार भएँ

लोमनकुमार सुनार

औंसीको चकमन्न रात । मट्टीतेल र दियालोको उज्यालोमा मान्छेहरूको चहलपहल । एकहोरो कुकुरहरूको आवाज । यो एक हेमन्त ऋतुको सम्झना–कथा हो । झरीले महाभारत शृंखलाहरूलाई झन्झन् भिजाइरहेकै छ । सेतो घुम्टो ओढिरहेका छन्– हिमालहरू । नजिकैका हिमाल छोएर आएको झरीमिश्रित चिसो हावाको स्पर्शले मस्तिष्कमा ओहोरदोहोर गरिरहेका छन् अनेक स्मृति ।

२०५५ सालको एक गर्मीमा प्राथमिक तह पढिरहेकै बेला म भूमिगत राजनीतिसँग जोडिएँ– अखिल क्रान्तिकारी मावि एकाइ समिति सदस्य भएर । त्यो सालको सुरुमै राज्यले माओवादीविरुद्ध किलो सेरा टु अप्रेसन चलायो । गाउँहरू राताम्मे थिए– राता झन्डाहरूले, अनेक नारा र पोस्टरले ।

वर्षायामको त्यो दिन रिमझिम पानी परिरहेकै थियो । विद्यालय जाँदै थिएँ म । विद्यालयभित्र एक हूल शस्त्र–सज्जित छापामार भेला भएका थिए । मनमा डर र उत्सुकता दुवै थियो । बिस्तारै नजिकै पीपलको रूखमुनि गएँ । फेदीमा बसेर एकटकले छापामारलाई नियालेँ । युवाहरू घर छाडेर छापामार बनिरहेका थिए । २०६० साल पुसको एक बिहान भुटेको मकै, सातु, चिउरा र दुई जोर कपडा झोलामा हालेर कमरेड तुफानसँग सयौं मान्छेको हूलमा मिसिएँ म पनि । त्यसपछि म छापामार भएँ । बाँसीको उकालो, छान्नाको डाँडा, भवानी लेक हुँदै लेकतोलीमा पुगेर भुटेको मकै र सातु खाएर अनिँदो रात कटाएको थिएँ । तीन दिनको पैदलयात्रापछि मुश्किलले जाजरकोट थापाजुंगाचौर पुगेका थियौं । कर्णाली र भेरीका सबै जिल्लाका जनताको उपस्थितमा ‘भेरी, कर्णाली स्वायत्त जनसरकार’ घोषणा हुँदै थियो । अचानक नेपाली सेनाले हेलिकप्टरबाट बम बर्सायो । मान्छेको भागदौड चल्यो । घरहरू उजाडिए । त्यो बीभत्स घटना र बमआतंक सम्झँदा अझै मन सिरिङ्ग हुन्छ । जाँजरकोट मेरा लागि नयाँ भूगोल, नयाँ परिवेश र अनुभव थियो ।

बढ्दो उमेर, बदलिँदो परिवेश, उत्साह र इच्छाशक्तिले मलाई डोर्‍याएको थियो ‘जनयुद्ध’ मा । जीवन, मृत्यु, आतंक, आनन्द, विद्रोह, समर्पण, ध्वंस र निर्माणको त्यो कहालीलाग्दो चक्रको सम्झना मात्रैले पनि झस्किन्छु । कहाँबाट कहाँ आइपुगियो ? सोचमग्न हुन्छु । असमानता कस्तो छ समाजमा ? विभेद कस्तो छ ? जीवनका यस्ता रङहरू बुझ्न पाएँ ती असजिला दिनका असजिला यात्राले ।

जलजला र सिस्नेको चुचुरोको कष्टसाध्य हिँडाइ । काँडेतार, जंगी पर्खाल र विद्युतीय धराप । हिउँका ढिस्कामा भोकको छटपटीमा निलेका हिउँका डल्ला । जंगल, ओढारका अत्यासलाग्दा बास । यस्ता थिए ती संकटकालीन दिन । त्यो युद्धमय, रक्तमय, क्रान्तिमय र आँधीमय दिनका साक्षी हुँ म । भेरी, कर्णाली र दैलेखलाई कार्यक्षेत्र बनाउँदा इच्छुक सांस्कृतिक संगम र नौमुले जनवादी सांस्कृतिक परिवारको तर्फबाट हामीले पनि गायौं धेरै गीत । अतिततिर फर्केर हेर्दा गौरव त लाग्छ, दुःख पनि । युद्धमा सँगै हिँडेका धेरै कमरेड केवल अब सम्झनामा छन् । तीमध्ये म सधैं सम्झिरहन्छु– अनुजाको हँसिलो अनुहार ।

दैलेखको कालिकामा जन्मेकी अनुजा जीवनका मीठा सपना छाडेर ०५९ तिरै ‘जनयुद्ध’ मा होमिइन् । ती दिनमा हामीले सांस्कृतिक समूहहरूमा सँगै काम गर्‍यौं, चार वर्ष । उनी कुशल नृत्यांगाना थिइन् । हार्मोनियनको सार्प, गितारको तारमा हामीले थुप्रै गीत गायौं ।

‘जनमुक्ति सेना’ को एउटा समूहसहित ०६२, चैत–७ मा दैलेखको बस्ताकोटमा एउटा सांस्कृतिक कार्यक्रम सप्पन्न भएको थियो । हाम्रो टोली बनाडातिर लाग्यो । त्यो रात मेस थिएन । गाउँलेहरूका घर–घरमा खाना खान बाँडिएका थियौं । खानापछि माझ गाउँको ठूलो घरमा केन्द्रित भयौं सेल्टरका लागि । सेल्टरमा पुगेको १० मिनेटपछि ठूलो विस्फोटनको आवाज आयो । कोठामा धूवाँको मुस्लो र बारुदको गन्ध छायो । आवाज रोकिएसँगै ठूलो चीत्कार सुनियो । त्यो चीत्कार भुइँतलाबाट आइरहेको एक हूल महिलाको थियो । भुइँमा रगतको रह थियो । सिरक धुजैधुजा । हाम्रा १ दर्जन महिला साथीहरू रगतको आहालमा बेहोस थिए ।

अनुजा सिरानीमै बिसाइएको आफ्नै झोलाभित्रको ग्रिनेट पड्किएर बहोस थिइन् । उनका हात टुक्रिएका थिए । त्यो ग्रिनेटसँगै अरू ग्रिनेट पनि क्रमशः विस्फोट भए । घाइतेहरूको उपचार गर्न हतार–हतार सर्जक र म जम्बुकाधतिर दौडियौं । स्थानीय मेडिकल सञ्चालकको सहयोगमा घाइतेको उपचारमा जुट्यौं । ती ग्रामीण भेगमा डाक्टर थिएनन् । न अनुजा बाँचिन्, न घाइतेहरूको उपचार नै भयो । हामी अनुजाको शव र घाइतेहरूलाई कम्मलको स्ट्रेचरमा बेरेर रामाघाट झर्‍यौं ।

रामाघाटको बगरमा गहिरो चिहान खन्यौं । रगतले भिजेको अनुजाको शरीरलाई त्यही चिहानमा बिदा गर्‍यौं । सदाका लागि हिँडेकी थिइन्, अनुजा अनन्त यात्रामा । तर, सपनामा अझै लखेट्छ अनुजाको निर्दोष अनुहारले । कति सपना थियो उनका आँखामा । आखिर के पाइन् उनले ? आफ्नै सपनाको भारले थिचिएर जीवन नै बिसाइन् । त्यसपछि हामी घाइतेहरू बोकेर दैलेख, स्यालाबाट हिँड्यौं– कर्णालीमा डुंगा चढेर अछामको भुलुगाउँ ।

ती भूमिगत दिनमा महाभारतको तल्लो काखका पहाडी बस्तीमा घाइतेको उपचारमा दौडिनु नै नियमित कर्म बन्यो । त्यो कठिन यात्रामा मैले हिमाल, पहाड र तराईलाई एकदम नजिकबाट देखेँ । नेपाली समाजको भयावह, दारुण दृश्य देखेँ । पसिनाले माटो भिजाउने, हात गोडामा ठेला उठाउने, भारी बोकेर पाइला खियाउने, पौरख गरे पनि खाना नपुग्ने, नुनको खोजीमा मुग्लान भास्सिने मान्छे देखें । ती दिन पहाडका गुलजार बस्तीहरू, भित्री मधेस, चुरे र देउरालीका काख अनि तराईका आँपगाछीहरूमा अविरल बिते । ती यायावरी यात्रामा मैले पहाडमा देखेँ– असमानता, भेदभाव र गरिबी । तराईमा देखेँ– दाइजो प्रथा, अभाव, पितृसताले डसेका महिलाको आर्तनाद, छुत र अछुतको खण्डित समाज र बहिष्करणमा पारिएका दलितको पीडा ।

मैले त्यो छापामार यात्रामा जीवन देखेँ, त्रासदीमा पनि भविष्य भेटेँ, हाँस्दा हाँस्दै रुन सिकेँ, रुँदारुँदै हाँस्न । वास्तवमा ती दिनमा बारुदको धूवाँभित्र पनि निरन्तर परिर्वतनको संगीत गुन्जिइरह्यो, स्वतन्त्रताको धुन बजिरह्यो ।

तर, अहिले ती दिन सम्झँदा बेलाबेला सोच्छु, के त्यो एक लामो सपना मात्रै थियो ?

प्रकाशित : चैत्र ११, २०७९ ११:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×