ती दिन

त्यसपछि म छापामार भएँ

लोमनकुमार सुनार

औंसीको चकमन्न रात । मट्टीतेल र दियालोको उज्यालोमा मान्छेहरूको चहलपहल । एकहोरो कुकुरहरूको आवाज । यो एक हेमन्त ऋतुको सम्झना–कथा हो । झरीले महाभारत शृंखलाहरूलाई झन्झन् भिजाइरहेकै छ । सेतो घुम्टो ओढिरहेका छन्– हिमालहरू । नजिकैका हिमाल छोएर आएको झरीमिश्रित चिसो हावाको स्पर्शले मस्तिष्कमा ओहोरदोहोर गरिरहेका छन् अनेक स्मृति ।

२०५५ सालको एक गर्मीमा प्राथमिक तह पढिरहेकै बेला म भूमिगत राजनीतिसँग जोडिएँ– अखिल क्रान्तिकारी मावि एकाइ समिति सदस्य भएर । त्यो सालको सुरुमै राज्यले माओवादीविरुद्ध किलो सेरा टु अप्रेसन चलायो । गाउँहरू राताम्मे थिए– राता झन्डाहरूले, अनेक नारा र पोस्टरले ।

वर्षायामको त्यो दिन रिमझिम पानी परिरहेकै थियो । विद्यालय जाँदै थिएँ म । विद्यालयभित्र एक हूल शस्त्र–सज्जित छापामार भेला भएका थिए । मनमा डर र उत्सुकता दुवै थियो । बिस्तारै नजिकै पीपलको रूखमुनि गएँ । फेदीमा बसेर एकटकले छापामारलाई नियालेँ । युवाहरू घर छाडेर छापामार बनिरहेका थिए । २०६० साल पुसको एक बिहान भुटेको मकै, सातु, चिउरा र दुई जोर कपडा झोलामा हालेर कमरेड तुफानसँग सयौं मान्छेको हूलमा मिसिएँ म पनि । त्यसपछि म छापामार भएँ । बाँसीको उकालो, छान्नाको डाँडा, भवानी लेक हुँदै लेकतोलीमा पुगेर भुटेको मकै र सातु खाएर अनिँदो रात कटाएको थिएँ । तीन दिनको पैदलयात्रापछि मुश्किलले जाजरकोट थापाजुंगाचौर पुगेका थियौं । कर्णाली र भेरीका सबै जिल्लाका जनताको उपस्थितमा ‘भेरी, कर्णाली स्वायत्त जनसरकार’ घोषणा हुँदै थियो । अचानक नेपाली सेनाले हेलिकप्टरबाट बम बर्सायो । मान्छेको भागदौड चल्यो । घरहरू उजाडिए । त्यो बीभत्स घटना र बमआतंक सम्झँदा अझै मन सिरिङ्ग हुन्छ । जाँजरकोट मेरा लागि नयाँ भूगोल, नयाँ परिवेश र अनुभव थियो ।

बढ्दो उमेर, बदलिँदो परिवेश, उत्साह र इच्छाशक्तिले मलाई डोर्‍याएको थियो ‘जनयुद्ध’ मा । जीवन, मृत्यु, आतंक, आनन्द, विद्रोह, समर्पण, ध्वंस र निर्माणको त्यो कहालीलाग्दो चक्रको सम्झना मात्रैले पनि झस्किन्छु । कहाँबाट कहाँ आइपुगियो ? सोचमग्न हुन्छु । असमानता कस्तो छ समाजमा ? विभेद कस्तो छ ? जीवनका यस्ता रङहरू बुझ्न पाएँ ती असजिला दिनका असजिला यात्राले ।

जलजला र सिस्नेको चुचुरोको कष्टसाध्य हिँडाइ । काँडेतार, जंगी पर्खाल र विद्युतीय धराप । हिउँका ढिस्कामा भोकको छटपटीमा निलेका हिउँका डल्ला । जंगल, ओढारका अत्यासलाग्दा बास । यस्ता थिए ती संकटकालीन दिन । त्यो युद्धमय, रक्तमय, क्रान्तिमय र आँधीमय दिनका साक्षी हुँ म । भेरी, कर्णाली र दैलेखलाई कार्यक्षेत्र बनाउँदा इच्छुक सांस्कृतिक संगम र नौमुले जनवादी सांस्कृतिक परिवारको तर्फबाट हामीले पनि गायौं धेरै गीत । अतिततिर फर्केर हेर्दा गौरव त लाग्छ, दुःख पनि । युद्धमा सँगै हिँडेका धेरै कमरेड केवल अब सम्झनामा छन् । तीमध्ये म सधैं सम्झिरहन्छु– अनुजाको हँसिलो अनुहार ।

दैलेखको कालिकामा जन्मेकी अनुजा जीवनका मीठा सपना छाडेर ०५९ तिरै ‘जनयुद्ध’ मा होमिइन् । ती दिनमा हामीले सांस्कृतिक समूहहरूमा सँगै काम गर्‍यौं, चार वर्ष । उनी कुशल नृत्यांगाना थिइन् । हार्मोनियनको सार्प, गितारको तारमा हामीले थुप्रै गीत गायौं ।

‘जनमुक्ति सेना’ को एउटा समूहसहित ०६२, चैत–७ मा दैलेखको बस्ताकोटमा एउटा सांस्कृतिक कार्यक्रम सप्पन्न भएको थियो । हाम्रो टोली बनाडातिर लाग्यो । त्यो रात मेस थिएन । गाउँलेहरूका घर–घरमा खाना खान बाँडिएका थियौं । खानापछि माझ गाउँको ठूलो घरमा केन्द्रित भयौं सेल्टरका लागि । सेल्टरमा पुगेको १० मिनेटपछि ठूलो विस्फोटनको आवाज आयो । कोठामा धूवाँको मुस्लो र बारुदको गन्ध छायो । आवाज रोकिएसँगै ठूलो चीत्कार सुनियो । त्यो चीत्कार भुइँतलाबाट आइरहेको एक हूल महिलाको थियो । भुइँमा रगतको रह थियो । सिरक धुजैधुजा । हाम्रा १ दर्जन महिला साथीहरू रगतको आहालमा बेहोस थिए ।

अनुजा सिरानीमै बिसाइएको आफ्नै झोलाभित्रको ग्रिनेट पड्किएर बहोस थिइन् । उनका हात टुक्रिएका थिए । त्यो ग्रिनेटसँगै अरू ग्रिनेट पनि क्रमशः विस्फोट भए । घाइतेहरूको उपचार गर्न हतार–हतार सर्जक र म जम्बुकाधतिर दौडियौं । स्थानीय मेडिकल सञ्चालकको सहयोगमा घाइतेको उपचारमा जुट्यौं । ती ग्रामीण भेगमा डाक्टर थिएनन् । न अनुजा बाँचिन्, न घाइतेहरूको उपचार नै भयो । हामी अनुजाको शव र घाइतेहरूलाई कम्मलको स्ट्रेचरमा बेरेर रामाघाट झर्‍यौं ।

रामाघाटको बगरमा गहिरो चिहान खन्यौं । रगतले भिजेको अनुजाको शरीरलाई त्यही चिहानमा बिदा गर्‍यौं । सदाका लागि हिँडेकी थिइन्, अनुजा अनन्त यात्रामा । तर, सपनामा अझै लखेट्छ अनुजाको निर्दोष अनुहारले । कति सपना थियो उनका आँखामा । आखिर के पाइन् उनले ? आफ्नै सपनाको भारले थिचिएर जीवन नै बिसाइन् । त्यसपछि हामी घाइतेहरू बोकेर दैलेख, स्यालाबाट हिँड्यौं– कर्णालीमा डुंगा चढेर अछामको भुलुगाउँ ।

ती भूमिगत दिनमा महाभारतको तल्लो काखका पहाडी बस्तीमा घाइतेको उपचारमा दौडिनु नै नियमित कर्म बन्यो । त्यो कठिन यात्रामा मैले हिमाल, पहाड र तराईलाई एकदम नजिकबाट देखेँ । नेपाली समाजको भयावह, दारुण दृश्य देखेँ । पसिनाले माटो भिजाउने, हात गोडामा ठेला उठाउने, भारी बोकेर पाइला खियाउने, पौरख गरे पनि खाना नपुग्ने, नुनको खोजीमा मुग्लान भास्सिने मान्छे देखें । ती दिन पहाडका गुलजार बस्तीहरू, भित्री मधेस, चुरे र देउरालीका काख अनि तराईका आँपगाछीहरूमा अविरल बिते । ती यायावरी यात्रामा मैले पहाडमा देखेँ– असमानता, भेदभाव र गरिबी । तराईमा देखेँ– दाइजो प्रथा, अभाव, पितृसताले डसेका महिलाको आर्तनाद, छुत र अछुतको खण्डित समाज र बहिष्करणमा पारिएका दलितको पीडा ।

मैले त्यो छापामार यात्रामा जीवन देखेँ, त्रासदीमा पनि भविष्य भेटेँ, हाँस्दा हाँस्दै रुन सिकेँ, रुँदारुँदै हाँस्न । वास्तवमा ती दिनमा बारुदको धूवाँभित्र पनि निरन्तर परिर्वतनको संगीत गुन्जिइरह्यो, स्वतन्त्रताको धुन बजिरह्यो ।

तर, अहिले ती दिन सम्झँदा बेलाबेला सोच्छु, के त्यो एक लामो सपना मात्रै थियो ?

प्रकाशित : चैत्र ११, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्

मेरो रेकर्डमा छन्– गुरुवाका मन्त्रहरू

जनकराज सापकोटा

नेपालका थारूमाथि अध्ययन गरिरहेका पुराना छिमलका अनुसन्धातामध्ये एक हुन्– फ्रेन्च मानवशास्त्री जिसेल काउसकोफ । सन् १९८० यता विभिन्न अध्ययन–अनुसन्धानका सिलसिलामा दर्जनौंपटक नेपाल आएकी छन् ।

नेपालका थारूहरूमाथि केन्द्रित ४० भन्दा धेरै रिसर्च पेपर र केही पुस्तक फ्रेन्च भाषामा प्रकाशित गरिसकेकी छन् उनले, जसमा थारू समुदायको अर्थतन्त्र, संस्कृति, पारिवारिक संरचना, उनीहरूको प्रकृतिसँगको सामीप्य आदि विषय समावेश छन् । नेपाल आएका बेला ७० वर्षीय जिसेलसँग जनकराज सापकोटाले गरेको कुराकानी :

तपाईं नेपाल कसरी आइपुग्नुभयो ? पहिलो नेपाल भ्रमण पनि अनुसन्धानकै सिलसिलामा थियो कि ?

म पहिलोपटक एउटा संयोगले नेपाल आइपुगेको थिएँ, सन् १९७५ तिर । फ्रान्समा एक जना भारतीय मूलका इन्डो क्लासिकल म्युजिसियन साथी थिए । एक दिन उनले भने– ‘भारत घुम ।’ मसँग त्यतिबेला खासै पैसा थिएन । र, घुम्नैका लागि दिल्ली पुगेँ । भारत असाध्यै मन पर्‍यो । एक महिनाको भिसा अवधि सकिएपछि पनि थप घुम्न मन लाग्यो । त्यसका लागि भारत छोडेर फेरि आउनुपर्ने रहेछ ।

एक जनाले सुझाए– ‘काठमाडौं जानुस्, घुम्नुस् र फेरि आएर भिसा थप्नुस् ।’ म बस चढेर काठमाडौंको ठमेल आएँ । ठमेलका गल्लीमा हिप्पीको व्यापक प्रभाव थियो । एउटा सानो र सस्तो होटलमा केही दिन बसेँ र फर्कें । तर, नेपालसँगको नाता यतिमै सकिएन । त्यही बेला मैले फ्रेन्च कल्चरल सेन्टरमा फ्रेन्च भाषा पढाउने जागिर पाएँ । त्यतिबेला म डेढ वर्ष यहाँ बसेँ । धेरथोर नेपाली भाषा सिकेँ ।

अध्ययन–अनुसन्धानकै लागि नेपाल र थारू समुदाय नै छान्नुभयो, कसरी ?

नेपालबाट फर्केपछि पढाइ सुरु गरेँ । मार्स्टस अध्ययन गर्दा एक जना व्यक्ति भेटेकी थिएँ– फ्रान्स बस्ने स्कटिस नागरिक अलेक्जेन्डर म्याक डोनाल्ड । उनी थिए इथ्नोग्राफर, दोस्रो विश्वयुद्धताका गोर्खा रेजिमेन्टमा थिए । त्यसैमार्फत उनले नेपाल चिनेका थिए । पछि उनले भारतको कालेबुङ बसेर तिब्बतियन बुद्धिज्ममाथि पनि अध्ययन गरेका थिए । अलेक्जेन्डर सन् १९६७ मा दाङ आएर २ महिनासम्म इथ्नोग्राफिक रिसर्च गरेका थिए । उनले मलाई नेपालमा गएर थारूको अध्ययन गर्न सुझाए र एक जना व्यक्तिको नाम दिए– दाङका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक द्रोण रजौरे । यहाँ अर्को संयोग पनि भयो । द्रोणले सन् १९६३ तिरै फ्रेन्च रिसर्चर मार्क गेबोरिउसँग काठमाडौंमा बसेर फ्रेन्च भाषा सिकेका थिए । द्रोणमार्फत नै मार्क सन् १९६५ तिर दाङ घुमेका रहेछन् । मार्कले नै मलाई फ्रान्समा पढाए पछि । उनले पनि मलाई द्रोणबारे भने र थारूहरूमाथि अध्ययन गर्न सुझाए । अलेक्जेन्डर र मार्कअलवा अन्य विदेशी रिसर्चरसँग पनि द्रोणको राम्रो सम्बन्ध थियो ।

थारूमाथि अध्ययन सुरु गर्नुअघि यो समुदायबारे केही थाहा थियो ?

फ्रेन्च कल्चरल सेन्टरमा काम गर्दा म पर्यटनकर्मी बोरिस लिसानोभिचसँग चिनजान भयो । फ्रेन्च दूतावासमा काम गर्ने एक महिलामार्फत मैले बोरिसलाई चिनेकी थिएँ ।

एक दिन म उनीहरूसँगै चितवन पुगेँ । टाइगर टप्स होटलमा बसेँ । त्यहीँ बस्दा मैले खेतमा काम गरिरहेका थारूहरू भेटेकी थिएँ । म उनीहरूबाट प्रभावित भएँ । यहाँ काम गर्ने विदेशी अध्येताले पहाड र हिमालमाथी अध्ययन गरेका थिए । त्यसैले मचाहिँ थारू समुदायमाथि केन्द्रित हुनेमा प्रस्ट थिएँ ।

म सन् १९८२ को जनवरीमा अध्ययनकै लागि नेपाल आएँ । मसँग अनुसन्धानका लागि यकिन विषय थिएन । सुरुमा कञ्चनपुर पुगेर राना थारूमाथि केही अध्ययन गरेर दुई महिना बिताएँ ।

त्यसपछि दाङको बेवाङमा ६ महिनाजति बसेँ । फ्रान्स जाने–आउने गरिरहेँ । म अध्ययनकै लागि दुई वर्षजति दाङ बसेँ ।

सुरुमा एक जना गुरुवा भेटेँ– रामबहादुर, उनको शिष्यजसरी पछि लागेँ । थारू समुदायमा गुरुवाहरू शक्तिशाली हुन्छन् र सामाजिक पद्धतिमा गुरुबाको निकै ठूलो भूमिका हुन्छ । गुरुवाको काम के–के छ भन्नेबारे अध्ययन गरेँ । उनीहरूको मिथक, गीत–संगीत, पुर्खा, पद्धतिबारे अध्ययन गरेँ । थारूहरूको सामाजिक संरचना, पारिवारिक पद्धति, संस्कृति कसरी चल्छ ? त्यो पनि थाहा पाएँ ।

पीएचडी शोधपछि पनि तपाईं निरन्तर नेपाल आइरहनुभो । थारूको इतिहासदेखि कृषि परम्परा, वनजंगलसँगको सम्बन्ध, माछा मार्ने तौरतरिकाजस्ता अनेक विषयमा अध्ययन गरिरहन केले उत्प्रेरित गर्‍यो ?

मलाई थारूहरू साह्रै मन पर्छन् । उनीहरूको आनीबानी सुन्दर छ, सरल र शान्त स्वभावका छन्, झैझगडा पनि गर्दैनन्, समुदायको कुरा समुदायमै मिलाउँछन् । बलियो ग्रामीण जीवन पद्धति छ उनीहरूको । खानामा विविधता छ ।

मैले संगत गरेका गुरुवा २५ वर्षअघि बित्नुभयो । तर, उनका नातिसँग मेरो अहिले पनि कुराकानी भइरहन्छ । उनीहरू मलाई ‘बुडी’ अर्थात ‘हजुरआमा’ भन्छन् । अहिले उनीहरूको घर पहिलेजस्तो छैन, पहिरन पनि फरक छ, प्रस्ट नेपाली बोल्छन् । अहिले पनि म दाङ जाँदा त्यही घरमा बस्छु ।

तपाईं यसपाला पनि दाङ पुग्नुभयो । तपाईंले अध्ययन गरेको ठाउँ सन् १९८२ भन्दा कति फरक रैछ ?

अहिले त म हराएजस्तो भएँ । सबैतिर सडक छ । अटो–रिक्सा कुदेका छन् । कंक्रिटका घर छन् । जब कि पहिले घर त बाँस र माटाका हुन्थे । पहिले मान्छेहरू गाउँ छोडेर विरलै बाहिर जान्थे ।

अहिले त थारूहरू वैदेशिक रोजगारीमा पनि गएका छन् । बसाइँसराइ पनि बढ्दो छ । थारूहरू आफ्नो मौलिक संस्कृति गुमाउँदै छन् । तर, बदलामा सजिलो जीवनशैली पाएका छन् । जमिनदारहरू हटेका छन् । थारूहरू पढालिखा भएका छन् । छोराछोरी स्कुल पठाउन थालेका छन् । संस्कृति भने पूरै हराएको छ । तर, नयाँ कुरा के भने थारूहरू आफ्नाबारे आफैं अध्ययन गर्न सक्ने भएका छन् ।

थारूहरूमा देखिएको यस्तो परिवर्तनबारे केही भन्नुहुन्छ ?

परिवर्तनबारे म प्रस्ट रूपमा केही भन्न सक्दिनँ । तर, अहिले पनि उनीहरू पुरानै गीत गाउँछन् । माओवादी द्वन्द्वकालमा उनीहरूका कतिपय सांस्कृतिक नाच बन्द भए । अहिले फेरि ती सुरु हुँदै छन् । सन् २०१० मा म आउँदा गुरुवाका दुई छोरा भेटेँ । उनीहरू पनि गुरुबा बनेछन् । उनीहरूले भनेका थिए– के हाम्रा बाले मन्त्रोच्चारण गरको केही मन्त्रहरूको रेकर्ड सुनाउनुहुन्छ ? त्यसबाट मैले थाहा पाएँ– कतिपय मन्त्र हराउँदै जान थालेछन् । मेरो अनुमानमा गुरुवाको काम निकट भविष्यमा लोप हुन्छ होला ।

तपाईंले थारू समुदायका धेरे विषय रेकर्ड गरेरै राख्नुभएको छ, होइन ?

हो । खासगरी गुरुवाका मन्त्रहरू सबैजसो रेकर्ड गरेको छु ।

तस्बिरहरू : दीपक केसी/कान्तिपुर

कति घण्टाको छ त्यो रेकर्ड ?

ठ्याक्कै हिसाब त छैन । तर, मसँग त्यस्तै ५० वटा जति चक्का छन् । अब म यसलाई डिजिटल गरेर अनलाइनमा राख्न चाहन्छु । त्यसमा गुरुवाका मन्त्रहरू छन् । ती गीतजस्ता छन् ।

तपाईंले कतिसँग अन्तर्वार्ता गर्नुभयो होला ?

गनेको छैन । म अन्तर्वार्ता होइन, मानिसहरूलाई सुन्न, उनीहरूको गतिविधि हेर्न, गुरुबाहरूको मन्त्र सुन्न रुचि राख्थेँ । अशोक थारूलाई सहयोगीको रूपमा राखेकी थिएँ । थारू मन्त्र र कुराकानीहरू मेरा लागि थारूबाट नेपालीमा अनुवाद गरिदिन्थे उनी । मैल केही बुझिन भने गुरुबालाई त्यो रेकर्ड सुनाएर थप प्रस्ट पारिदिन भन्थे ।

यो मेरो पीएचडी अध्ययनको कुरा हो । पीएचडीपछिका मेरा अनुसन्धानमा मैले अन्तर्वार्तामा आधारित अध्ययन पनि गरेँ ।

प्रकाशित : चैत्र ११, २०७९ १०:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×