संस्कृति विमर्श

मेरो रेकर्डमा छन्– गुरुवाका मन्त्रहरू

जनकराज सापकोटा

नेपालका थारूमाथि अध्ययन गरिरहेका पुराना छिमलका अनुसन्धातामध्ये एक हुन्– फ्रेन्च मानवशास्त्री जिसेल काउसकोफ । सन् १९८० यता विभिन्न अध्ययन–अनुसन्धानका सिलसिलामा दर्जनौंपटक नेपाल आएकी छन् ।

नेपालका थारूहरूमाथि केन्द्रित ४० भन्दा धेरै रिसर्च पेपर र केही पुस्तक फ्रेन्च भाषामा प्रकाशित गरिसकेकी छन् उनले, जसमा थारू समुदायको अर्थतन्त्र, संस्कृति, पारिवारिक संरचना, उनीहरूको प्रकृतिसँगको सामीप्य आदि विषय समावेश छन् । नेपाल आएका बेला ७० वर्षीय जिसेलसँग जनकराज सापकोटाले गरेको कुराकानी :

तपाईं नेपाल कसरी आइपुग्नुभयो ? पहिलो नेपाल भ्रमण पनि अनुसन्धानकै सिलसिलामा थियो कि ?

म पहिलोपटक एउटा संयोगले नेपाल आइपुगेको थिएँ, सन् १९७५ तिर । फ्रान्समा एक जना भारतीय मूलका इन्डो क्लासिकल म्युजिसियन साथी थिए । एक दिन उनले भने– ‘भारत घुम ।’ मसँग त्यतिबेला खासै पैसा थिएन । र, घुम्नैका लागि दिल्ली पुगेँ । भारत असाध्यै मन पर्‍यो । एक महिनाको भिसा अवधि सकिएपछि पनि थप घुम्न मन लाग्यो । त्यसका लागि भारत छोडेर फेरि आउनुपर्ने रहेछ ।

एक जनाले सुझाए– ‘काठमाडौं जानुस्, घुम्नुस् र फेरि आएर भिसा थप्नुस् ।’ म बस चढेर काठमाडौंको ठमेल आएँ । ठमेलका गल्लीमा हिप्पीको व्यापक प्रभाव थियो । एउटा सानो र सस्तो होटलमा केही दिन बसेँ र फर्कें । तर, नेपालसँगको नाता यतिमै सकिएन । त्यही बेला मैले फ्रेन्च कल्चरल सेन्टरमा फ्रेन्च भाषा पढाउने जागिर पाएँ । त्यतिबेला म डेढ वर्ष यहाँ बसेँ । धेरथोर नेपाली भाषा सिकेँ ।

अध्ययन–अनुसन्धानकै लागि नेपाल र थारू समुदाय नै छान्नुभयो, कसरी ?

नेपालबाट फर्केपछि पढाइ सुरु गरेँ । मार्स्टस अध्ययन गर्दा एक जना व्यक्ति भेटेकी थिएँ– फ्रान्स बस्ने स्कटिस नागरिक अलेक्जेन्डर म्याक डोनाल्ड । उनी थिए इथ्नोग्राफर, दोस्रो विश्वयुद्धताका गोर्खा रेजिमेन्टमा थिए । त्यसैमार्फत उनले नेपाल चिनेका थिए । पछि उनले भारतको कालेबुङ बसेर तिब्बतियन बुद्धिज्ममाथि पनि अध्ययन गरेका थिए । अलेक्जेन्डर सन् १९६७ मा दाङ आएर २ महिनासम्म इथ्नोग्राफिक रिसर्च गरेका थिए । उनले मलाई नेपालमा गएर थारूको अध्ययन गर्न सुझाए र एक जना व्यक्तिको नाम दिए– दाङका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक द्रोण रजौरे । यहाँ अर्को संयोग पनि भयो । द्रोणले सन् १९६३ तिरै फ्रेन्च रिसर्चर मार्क गेबोरिउसँग काठमाडौंमा बसेर फ्रेन्च भाषा सिकेका थिए । द्रोणमार्फत नै मार्क सन् १९६५ तिर दाङ घुमेका रहेछन् । मार्कले नै मलाई फ्रान्समा पढाए पछि । उनले पनि मलाई द्रोणबारे भने र थारूहरूमाथि अध्ययन गर्न सुझाए । अलेक्जेन्डर र मार्कअलवा अन्य विदेशी रिसर्चरसँग पनि द्रोणको राम्रो सम्बन्ध थियो ।

थारूमाथि अध्ययन सुरु गर्नुअघि यो समुदायबारे केही थाहा थियो ?

फ्रेन्च कल्चरल सेन्टरमा काम गर्दा म पर्यटनकर्मी बोरिस लिसानोभिचसँग चिनजान भयो । फ्रेन्च दूतावासमा काम गर्ने एक महिलामार्फत मैले बोरिसलाई चिनेकी थिएँ ।

एक दिन म उनीहरूसँगै चितवन पुगेँ । टाइगर टप्स होटलमा बसेँ । त्यहीँ बस्दा मैले खेतमा काम गरिरहेका थारूहरू भेटेकी थिएँ । म उनीहरूबाट प्रभावित भएँ । यहाँ काम गर्ने विदेशी अध्येताले पहाड र हिमालमाथी अध्ययन गरेका थिए । त्यसैले मचाहिँ थारू समुदायमाथि केन्द्रित हुनेमा प्रस्ट थिएँ ।

म सन् १९८२ को जनवरीमा अध्ययनकै लागि नेपाल आएँ । मसँग अनुसन्धानका लागि यकिन विषय थिएन । सुरुमा कञ्चनपुर पुगेर राना थारूमाथि केही अध्ययन गरेर दुई महिना बिताएँ ।

त्यसपछि दाङको बेवाङमा ६ महिनाजति बसेँ । फ्रान्स जाने–आउने गरिरहेँ । म अध्ययनकै लागि दुई वर्षजति दाङ बसेँ ।

सुरुमा एक जना गुरुवा भेटेँ– रामबहादुर, उनको शिष्यजसरी पछि लागेँ । थारू समुदायमा गुरुवाहरू शक्तिशाली हुन्छन् र सामाजिक पद्धतिमा गुरुबाको निकै ठूलो भूमिका हुन्छ । गुरुवाको काम के–के छ भन्नेबारे अध्ययन गरेँ । उनीहरूको मिथक, गीत–संगीत, पुर्खा, पद्धतिबारे अध्ययन गरेँ । थारूहरूको सामाजिक संरचना, पारिवारिक पद्धति, संस्कृति कसरी चल्छ ? त्यो पनि थाहा पाएँ ।

पीएचडी शोधपछि पनि तपाईं निरन्तर नेपाल आइरहनुभो । थारूको इतिहासदेखि कृषि परम्परा, वनजंगलसँगको सम्बन्ध, माछा मार्ने तौरतरिकाजस्ता अनेक विषयमा अध्ययन गरिरहन केले उत्प्रेरित गर्‍यो ?

मलाई थारूहरू साह्रै मन पर्छन् । उनीहरूको आनीबानी सुन्दर छ, सरल र शान्त स्वभावका छन्, झैझगडा पनि गर्दैनन्, समुदायको कुरा समुदायमै मिलाउँछन् । बलियो ग्रामीण जीवन पद्धति छ उनीहरूको । खानामा विविधता छ ।

मैले संगत गरेका गुरुवा २५ वर्षअघि बित्नुभयो । तर, उनका नातिसँग मेरो अहिले पनि कुराकानी भइरहन्छ । उनीहरू मलाई ‘बुडी’ अर्थात ‘हजुरआमा’ भन्छन् । अहिले उनीहरूको घर पहिलेजस्तो छैन, पहिरन पनि फरक छ, प्रस्ट नेपाली बोल्छन् । अहिले पनि म दाङ जाँदा त्यही घरमा बस्छु ।

तपाईं यसपाला पनि दाङ पुग्नुभयो । तपाईंले अध्ययन गरेको ठाउँ सन् १९८२ भन्दा कति फरक रैछ ?

अहिले त म हराएजस्तो भएँ । सबैतिर सडक छ । अटो–रिक्सा कुदेका छन् । कंक्रिटका घर छन् । जब कि पहिले घर त बाँस र माटाका हुन्थे । पहिले मान्छेहरू गाउँ छोडेर विरलै बाहिर जान्थे ।

अहिले त थारूहरू वैदेशिक रोजगारीमा पनि गएका छन् । बसाइँसराइ पनि बढ्दो छ । थारूहरू आफ्नो मौलिक संस्कृति गुमाउँदै छन् । तर, बदलामा सजिलो जीवनशैली पाएका छन् । जमिनदारहरू हटेका छन् । थारूहरू पढालिखा भएका छन् । छोराछोरी स्कुल पठाउन थालेका छन् । संस्कृति भने पूरै हराएको छ । तर, नयाँ कुरा के भने थारूहरू आफ्नाबारे आफैं अध्ययन गर्न सक्ने भएका छन् ।

थारूहरूमा देखिएको यस्तो परिवर्तनबारे केही भन्नुहुन्छ ?

परिवर्तनबारे म प्रस्ट रूपमा केही भन्न सक्दिनँ । तर, अहिले पनि उनीहरू पुरानै गीत गाउँछन् । माओवादी द्वन्द्वकालमा उनीहरूका कतिपय सांस्कृतिक नाच बन्द भए । अहिले फेरि ती सुरु हुँदै छन् । सन् २०१० मा म आउँदा गुरुवाका दुई छोरा भेटेँ । उनीहरू पनि गुरुबा बनेछन् । उनीहरूले भनेका थिए– के हाम्रा बाले मन्त्रोच्चारण गरको केही मन्त्रहरूको रेकर्ड सुनाउनुहुन्छ ? त्यसबाट मैले थाहा पाएँ– कतिपय मन्त्र हराउँदै जान थालेछन् । मेरो अनुमानमा गुरुवाको काम निकट भविष्यमा लोप हुन्छ होला ।

तपाईंले थारू समुदायका धेरे विषय रेकर्ड गरेरै राख्नुभएको छ, होइन ?

हो । खासगरी गुरुवाका मन्त्रहरू सबैजसो रेकर्ड गरेको छु ।

तस्बिरहरू : दीपक केसी/कान्तिपुर

कति घण्टाको छ त्यो रेकर्ड ?

ठ्याक्कै हिसाब त छैन । तर, मसँग त्यस्तै ५० वटा जति चक्का छन् । अब म यसलाई डिजिटल गरेर अनलाइनमा राख्न चाहन्छु । त्यसमा गुरुवाका मन्त्रहरू छन् । ती गीतजस्ता छन् ।

तपाईंले कतिसँग अन्तर्वार्ता गर्नुभयो होला ?

गनेको छैन । म अन्तर्वार्ता होइन, मानिसहरूलाई सुन्न, उनीहरूको गतिविधि हेर्न, गुरुबाहरूको मन्त्र सुन्न रुचि राख्थेँ । अशोक थारूलाई सहयोगीको रूपमा राखेकी थिएँ । थारू मन्त्र र कुराकानीहरू मेरा लागि थारूबाट नेपालीमा अनुवाद गरिदिन्थे उनी । मैल केही बुझिन भने गुरुबालाई त्यो रेकर्ड सुनाएर थप प्रस्ट पारिदिन भन्थे ।

यो मेरो पीएचडी अध्ययनको कुरा हो । पीएचडीपछिका मेरा अनुसन्धानमा मैले अन्तर्वार्तामा आधारित अध्ययन पनि गरेँ ।

प्रकाशित : चैत्र ११, २०७९ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्

हो, हाम्रो छोरो ‘गे’ हो

बहुल जाति, भाषा, धर्म, संस्कृति भएको नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यकको अस्तित्व आम रूपमा स्वीकारिएको छैन । सबै पहिचानको अस्तित्व स्वीकार्नु लोकतान्त्रिक–न्यायपूर्ण समाजको पहिलो सर्त हो । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको यो आलेखले राष्ट्रिय/अन्तर्राष्ट्रिय कोणबाट लैंगिक पहिचानको विषयमाथि विमर्श गरेको छ ।
एक दिन छोराले भन्यो– ‘म गे हुँ ।’ हामीले छोरालाई अंकमाल गर्‍यौं । उसले कुनै किसिमको हीनताबोध वा अप्ठेरो महसुस नगरोस् भन्नेमा सचेत थियौं हामी ।
भोजराज पोखरेल

२०१४, जुन ८ । श्रीमती अमुदा र छोरो अधीपसँग रातको खानापछि गफ चल्दै थियो । कुरा हुँदै जाँदा अधीपले भन्यो, ‘आज म तिमीहरूसँग एउटा कुरा खोल्न चाहन्छु ।’ केही अघिसम्म सामान्य रहेको उसको अनुहारमा अलि गम्भीरता देखेँ । बा–आमा दुवैले भन्यौं— ‘कुरा के हो, भन न !’ 

‘तिमीहरू सक्ड नहुनु नि !’

‘जे भए पनि भन न,’ हामीले उसलाई सजिलो बनाइदियौं ।

‘म गे हुँ ।’

यसो उसको र श्रीमतीको अनुहारतिर नबुझिने गरी हेरेँ । छोरोमा केही गम्भीरता देखेँ भने श्रीमतीको आँखामा केही अलमलजस्तो ।

परिस्थितिलाई सहज बनाउन भनेँ, ‘ठीक छ त ।’

कोठा एकछिन सुनसान भयो ।

फेरि मैले नै मुख खोलेँ, ‘यसमा हामी सधैं तिम्रो साथ छौं । यो तिमी आफैंले चाहेर भएको होइन । हैन त मामु ?’

श्रीमतीलाई म छोराछोरीले भनेझैं ‘मामु’ नै भन्छु । मेरो कुरामा उनको पूर्ण समर्थन रह्यो र छोरालाई थप सजिलो बनाइदिन केही कुरा थपिन्, उनले ।

हामीले छोरालाई अंकमाल गर्‍यौं । उसको यो अवस्था बुझेपछि झनै आत्मीय र माया बढेको अनुभूत भयो हामीमा । किन–किन उसप्रतिको माया झनै बढेर आयो ।

त्यही साँझ हामीबीच लामो कुराकानी भयो । उसले आफ्नो अतीत बतायो । हामीले सकेसम्म उसलाई ढाडस दिने प्रयास गर्‍यौं । उसले कुनै किसिमको हीनताबोध वा अप्ठेरो महसुस नगरोस् भन्नेमा सचेत थियौं हामी ।

यसक्रममा हाम्रो एउटै गुनासो रह्यो— यत्तिका वर्षसम्म हामीलाई किन केही भनेनौ !

उसले आफ्नो साथी भएको, ऊ विदेशी रहेको र सम्भवतः दुवैबीच छिट्टै विवाहको सम्भावना रहेको पनि बतायो । हामीले उसलाई खुसीसाथ बधाई दियौं ।

लामो कुराकानीपछि घरको वातावरणै रमाइलो र सहज भएजस्तो भयो ।

सुत्नुअघि छोराको अनुहार फेरि नियालेँ । उसलाई हल्का महसुस भइरहेको बुझिहालेँ । यो कुरा हामीलाई भनेपछि उसलाई ठूलो भारी बिसाएजस्तो भयो सायद ।

त्यतिखेर मेरा पिताजीको स्वास्थ्य अलि कमजोर हुँदै थियो । उहाँ सय पुग्न लागिसक्नुभएको थियो । यो खबरले उहाँलाई सकस होला कि भनेर डरायौं । पिताजीलाई थाहा नहोस् भनेरै मेरो भाइबाहेक नेपालमा अरू कसैलाई नभन्ने भयौं ।

तर, हामी कति बेखबर रहेछौं भने अमेरिकामा रहेकी उसकी दिदीलाई भाइको यो अवस्थाबारे पहिले नै थाहा रहेछ । हामीले असहज मानौंला वा हामीलाई झड्का लाग्ला भनेर उनीहरूले हामीलाई नबताएका रे !

छोरा अधीप बालखैदेखि सबैको प्यारो थियो । सानै उमेरमा उसमा अरूप्रति दया र माया प्रचुर रहेको झल्कन्थ्यो । छुच्चो थिएन । झगडालु पनि थिएन । शान्त प्रकृतिको थियो । ढाँट्न, छल्न उसले नजानेझैं, नचाहेझैं लाग्थ्यो ।

दुई वर्षको उमेरदेखि स्कुल सुरु गरेको ऊ आठ वर्ष नपुग्दै सेन्ट जेभियर्सको गोदावरी होस्टेल बस्यो । एसएलसीपछि नैनीतालको रानीखेतमा ११, १२ पढ्दा पनि होस्टेलमै बितायो । अन्डर ग्राजुयट गर्दा अमेरिकाको स्टेट युनिभर्सिटी अफ न्युयोर्क र पछि न्युयोर्ककै कोलम्बिया युनिभर्सिटीमा मास्टर्सको पढाइका क्रममा पनि होस्टेलमै बस्यो ।

भनौं न, आठ वर्षको उमेरदेखि नै ऊ हामीसँग छैन । छुट्टीमा पाहुनाजसरी आउने र नियास्रो मेटिन नपाउँदै स्कुल–कलेज फर्किहाल्ने ।

उमेर बढ्दै जाँदा उसको स्वभावमा परिवर्तन देखिन थाल्यो । परिवार र नातागोतासँग घुलमिल हुने उसको बाल्यकालको रुचिमा थोरबहुत परिवर्तन देखिन थाल्यो ।

दस कक्षासम्म आइपुग्दा त ऊ आफ्ना थोरै साथीहरूसँग बाहेक परिवारभित्रकै माहोलमा समेत घुलमिल हुन त्यति मन नगर्ने खालको हुँदै गयो । कतिपय अवस्थामा ‘सबैसँग घुलमिल हुनु नि’ भनेर हामी अर्ती पनि दिन्थ्यौं ।

उसको स्वभाव किन यस्तो भइरहेको छ भन्ने हेक्का नै राख्न सकिएन ।

उसको अवस्था थाहा पाएपछि मात्रै मलाई थाहा भयो, ऊ किन नातागोताहरूसँग धेरै घुलमिल हुन नचाहने रहेछ भनेर । हाम्रो समाजले यो समूहलाई अप्राकृतिक ठान्छ । अपराधी ठान्छ । छाडा संस्कृतिको पक्षधरका रूपमा लिन्छ । पश्चिमा संस्कृतिको बाछिटा ठान्छ । अनि उनीहरूको सम्पूर्णता नबुझी घृणा, अपहेलना र लाञ्छनाको भाषा प्रयोग गरी जिउँदै मार्छ ।

प्रत्येक पाइलामा अमानवीय तिक्त व्यवहार, भनाइ र नमीठो अनुभूति लिएर जिउँदै मर्नु र अपहेलित हुनुभन्दा बरु कतै नगयो, केही सुन्नै परेन । अपमानको विष पिउनै परेन । यो रहेछ, छोरोलाई एकान्त प्यारो लाग्दै जानुको कारण ।

छोराको यो रहस्य थाहा पाएको रात मलाई राम्रोसँग निद्रा परेन । छोरोका अवस्थाका कारण होइन, आफ्नो अबुझपनका कारण । छोराका लागि ममा अझै परम्परागत बाबुको विम्ब कायम रहेछ । म साथी बन्न सकिरहेको रहेनछु भन्ने महसुस भयो । अहिले परिवार जो एकै छानामुनि छ, तर छैन । अहिले झन् परिवार छरिएको छ । इन्टरनेटको अति लतका कारण डाइनिङ टेबलमा समेत थालभन्दा मोबाइल फोन बढी चल्छ । परिवारमा संवाद हराउँदै गएको हो कि भन्नेजस्तो लाग्ने यो समयमा एकआपसमा खुल्न सक्ने वातावरण झनै जरुरी छजस्तो लाग्छ ।

स्कुले जीवनमै छोराका साथीहरू एकदम थोरै थिए । त्यतिबेलाको सबैभन्दा नामी र आधुनिक स्कुलमा पढेको छोराका खासै साथी नै छैनन् । मान्छे ऊ सहज, सरल र मिलनसार छ, तर धेरैसँग दोस्ती गर्नै सक्दैन । साथी बनाउन नसकेको होइन कि हाम्रो समाजलाई चिनेर ऊ पन्छिरहेको रहेछ भन्ने मैले बुझ्नै सकेको रहेनछु ।


सरकारको सचिवबाट २०५५ सालमा सेवानिवृत्त भएपछि हामी चारै जना दक्षिण भारतको तीर्थाटन/भ्रमणमा गएका थियौं । मध्यप्रदेश पुग्दा एक हूल ‘तेस्रोलिङ्गी’ हरू गाना–बजाना गर्दै रेलको डिब्बामा छिर्दा छोरा निकै आत्तिएर डराएको दृश्य मैले अनुभूत गरेको थिएँ । ऊ किन यसरी डरायो भन्ने मैले बुझ्नै सकेको रहेनछु ।

एसएसलीपछि विदेशमा बसेर अध्ययन वा काम गर्ने क्रममा कहिलेकाहीं उसका इमेल अलि निराश–निराश पाउँथें । लामो–लामो इमेल लेख्थेँ, ‘पक्कै पनि तिमीलाई कुनै समस्या भएजस्तो लाग्छ, कुनै अप्ठेरो नमानी भन, आफ्नो मनमा पालेर नराख, दुनियाँमा सबै समस्याका समाधान छन्, बी अनेस्ट विथ मी ।’ तर, सधैं उसले त्यत्तिकै टारिदिन्थ्यो ।

तर, पछिल्लो पटकको मेरो आग्रहमा उसको जवाफ आयो, ‘जुन कुराको समाधान छैन, त्यो कुरा भनेर कुनै फाइदा छैन ।’

यो पढेपछि मेरो मनमा अनेक तर्क–वितर्क चले । जीवनप्रति नै उदास, हताश, निराश बनाउने कुनै गहिरो विषय हुनुपर्छ, मैले सोचें । हामीले पढाइ, प्रेम वा करिअरको कुनै समस्या होला भन्ने ठान्यौं ।


उसको पनि उमेर बढ्दै गयो । हाम्रो चलनअनुसार, घर–परिवार, इष्टमित्रहरूले उसको विवाहको प्रसंग चलाउन मात्रै थालेनन् कि उसका लागि योग्य हुने कन्याहरूको विवरण पनि आउन थाले । मेरा बयोवृद्ध बा/आमालाई पनि नातिको बिहे हेर्ने रहर हुने नै भयो ।

छोरासँग बिहेको कुरा मैले भन्दा मामुले गर्थिन् । उसले जहिल्यै पनि ‘म त बिहा नै गर्दिनँ’ भन्ने रहेछ । ‘बिहाको कुरा नचलाऊ’ भनेर जवाफ दिने रहेछ ।

छोरो अब्बल छ । जीवन–जगत् बुझेको छ । उसलाई के ठीक लाग्छ, यो उसको चाहनाको कुरा हो, यसमा हामीले हस्तक्षेप गर्नुहुन्न र जुन दिन उसले आफ्नो इच्छा देखाउँछ, त्यही बखत हाम्रो कर्तव्य पूरा गरौंला भन्ने मान्यता मेरो रह्यो ।

उसका ‘गर्ल फ्रेन्ड’ पनि छैनन् । ठूलो हुँदासम्म पनि बिहेको कुरा लगभग सुन्न नै चाहँदैन । खास कुरा के हो त ? हामीले यतातिर कहिल्यै बुझ्न सकेनौं ।

म आफैं लैंगिक अल्पसंख्यकको क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारीमा काम गरेको मानिस थिएँ । यसमा एक्स्पोजर पाइसकेको थिएँ ।

बल्ल मेरो मन त्यता दौडियो ।


सरकारी सेवाबाट ४५ वर्षकै उमेरमा अवकाश भएँ । झन्डै सात वर्ष महत्त्वपूर्ण मन्त्रालयहरूको सचिवको जिम्मेवारी निर्वाह गरेर निवृत्त भएको मेरा लागि पेन्सनले मात्रै बाँच्न सक्ने अवस्था थिएन । आफैं बाँच्न, परिवार ‘पाल्न’ र उनीहरूको शिक्षा–दीक्षा दिनसमेत काम गर्नुपर्ने बाध्यताले मैले सरकार बाहिरका विभिन्न खालका काममा आफूलाई व्यस्त राखेँ, जसले मलाई सरकारबाहिरको ठूलो संसार देख्न–बुझ्न मात्रै होइन, मेरो आर्थिक गच्छे बढाउन पनि मद्दत गर्‍यो ।

अवकाशपछिको पहिलो काम नै मेरो नेतृत्वको टिमले ‘नेपालको एचआईभी एड्सको स्थिति पहिचान’ गरेको थियो, जुन प्रतिवेदन नेपालमा एचआईभी एड्स नियन्त्रण र रोकथामका लागि दीर्घकालीन रणनीति, कार्यनीति र कार्यक्रम तयार गर्ने जगका रूपमा रह्यो ।

त्यही क्रममा २०६१ सालमा एफएचआई नामक एक अन्तर्राष्ट्रिय संस्थाले नेपालमा स्थापना गरेको पलिसी प्रोजेक्टमा म संलग्न हुन पुगेँ । एचआईभी संक्रमित वा यसको संक्रमणको उच्च जोखिममा रहेका समूहउपर राज्यका नीति तथा समाजले गर्ने विभेद, लाञ्छना वा अपहेलनाका कारण उनीहरू

आफ्नो अवस्था खोल्न डराउने, जसले गर्दा यी लक्षित समूह झनै जोखिममा रहने र संक्रमण द्रुततर गतिमा बढ्ने भएकाले त्यस्ता विभेदकारी नीतिको अन्त्य गर्न सरकारलाई सहयोग गर्ने तथा त्यो समुदायको ‘एड्भोकेसी’ क्षमता विकास गरी राज्यका नीतिमा भएका कमजोरी सुधार गर्न, त्यस्ता नीति निर्माणमा सम्बन्धित पीडित पक्षको सहभागिता बढाउन उनीहरूको क्षमता अभिवद्धि गर्नेलगायतका उद्देश्य थियो ।

यस क्रममा यसको लक्षित समूहमा एचआईभी संक्रमित र त्यसको संक्रमणमा उच्च जोखिममा रहेका भनी पहिचान गरिएका समूह थिए । यौनिक अल्पसंख्यक पनि लक्षित समूहमा हुने नै भए ।

यी विभिन्न समूहसँग सहकार्य गर्दा समस्यै समस्याको अर्कै पहाडको सामुन्ने उभिएजस्तो भयो । उनीहरूले परिवार, समुदाय, समाज र राज्य (खासगरी प्रहरी) बाट पाइला–पाइलामा सहनुपरेको विभेद, हिंसा, अपमान आदिका तीतो अनुभव सुनियो, देखियो । त्यस्तो विभेदको नकारात्मक असरले ज्यान गुमाउने गरेकाजस्ता लगायत हजारौं कथा, व्यथा र त्यसबाट उनीहरूमा परेको मनोवैज्ञानिक प्रभावसमेत बुझ्ने अवसर मिल्यो ।

करिब चार वर्ष यो समूहसँग अत्यन्त निकट रहेर काम गर्दा उनीहरूको विश्वास आर्जन गर्न सकिएको थियो । उनीहरूको कथा सुन्दा आँसु थाम्नै मुस्किल हुन्थ्यो । ‘गे’ वा ‘लेस्वियन’ भनेर थाहा भयो भने घरबाटै निकालिदिने । गर्भ तुहिएको भए हुन्थ्यो, मरे पनि हुन्थ्यो, बेपत्ता भइदिए हुन्थ्योजस्ता किसिमका व्यवहार परिवारबाटै हुने आदि कति, कति ? सडकमा हिँड्दा ‘हिजडा’, ‘समाज बिगारा’, ‘मर्न नसकेको’, ‘नामर्द’ जस्ता लाञ्छना र व्यवहार । स्वास्थ्य सेवा लिने क्रममा गरिने अनेकौं लाञ्छनायुक्त प्रश्न र व्यवहार । प्रत्येक पाइलापाइलामा विष पिएर बाँच्नुपरेका कति हुन् कति, कथा र व्यथा ?

त्यसै त समाजको पूरै तिरस्कार, जसले गर्दा पाइलैपिच्छे जीवनको इहलीला समाप्त गर्नेसम्मको अवस्थाबाट गुज्रनुपर्ने । झनै आफन्त र घर–परिवारले यसरी सत्तोसराप गरेपछि कुन मनोदशा हुने होला उनीहरूको ! जसमा आफ्नो केही दोष छैन, तर मानवबीच मानव भएर बाँच्न मुस्किल !

अझ समाजले दिने ‘नपुंसक’, ‘छक्का’ आदिजस्ता मानहानियुक्त शब्दवाणले पर्ने दुःख र प्रत्येक पाइलैपिच्छे भोग्नुपर्ने तिरस्कार, अपमान र भेदभावयुक्त व्यवहारको परिणामस्वरूप यो समूहमा आत्महत्याको मात्रा अधिक रहेको छ । कतिपय हाई प्रोफाइल ‘सुसाइड’ का घटनाहरू, यही समाजका यस्तै व्यवहारका उपज भएका धेरै घटना अहिले मेरो मानसपलटमा घुमिरहन्छन् ।

मैले यस्तो समूहका धेरै ‘हाई प्रोफाइल’ अभिभावक देखेको छु, जो अवस्था बुझेपछि पनि, छोरा वा छोरीले विवाह गर्न नमान्दा पनि समाजलाई देखाउन विपरीतलिंगीसँग जबर्जस्ती विवाह गरिदिन्छन् । अनि त्यस्ता विवाह तुरुन्तै ब्रेक भएका छन् र एउटी अबोध बालिकाले आफ्नो जीवन उत्सर्ग गर्नुपरेको छ । मेरा धेरै साथी छन्, जसका सन्तान यो श्रेणीमा पर्छन्, तर कहिल्यै आँट गर्दैनन्– मेरा सन्तान पनि समलिंगी छन् भन्न । आफ्ना सन्तानको मायाभन्दा समाजमा आफ्नो कथित इज्जत जाने डर बेसी भएर आडम्बर गरिरहन्छन् । छोराछोरीलाई हौसला होइन, हतोत्साह गरिरहन्छन् ।


मैले मात्र होइन, ‘पलिसी प्रोजेक्ट’ मा हाम्रो टिममा काम गर्ने धेरैले समाजको यो तप्काको पीडा बुझेका थियौं । विभेदको मानसिकता हाम्रो मनस्थितिबाट हटिसकेको थियो ।

‘पलिसी प्रोजेक्ट नेपाल’ को अफिस पुल्चोकको एउटा घरको तेस्रो तलामा थियो । मलाई अझै सम्झना छ । सदाझैं त्यो दिन पनि हामी बार्दलीमा बसेर खाना खाँदै थियौं । टिममा काम गर्ने एक जना महिला सहकर्मीले अनायासै भनिन्, ‘भोजराजजी, हाम्रा छोरा पनि गे भइदिए हुने, हगि ।’

त्यतिखेर त्यो समुदायमा काम गर्ने केही गे (नेपाल वा विदेश) का व्यक्तिको प्रभावी भूमिका, उनीहरूले संसारभरबाट पाएको आतिथ्य र सम्मानका सन्दर्भमा उनको यो भनाइ आएको थियो । त्यतिखेर हामीले ठट्टाजस्तो गरेर हाँसेर मात्र टारिदियौं ।

यो २०६३ सालतिरको कुरा थियो । त्यतिन्जेल मेरो छोरो बीस वर्षको भइसकेको थियो ।

यो क्षेत्रलाई धेरै नै बुझिसकेँ भन्ठानेको मैले आफ्नै छोराको अवस्थाबारे भने फिटिक्कै बुझेको रहेनछु ।

बुझ्न त बुझेँ, तर आफ्नै कुरा धेरै नगर्ने स्वभावका कारण यो घटना बाहिर ल्याउन मलाई समय लाग्यो । कतिलाई यो व्यक्तिगत गन्थन पनि लाग्ला, तर मैले सोचेँ— यो नितान्त व्यक्तिगत कुरा मात्रै त होइन । अनाहकमा अस्तित्वहीन र सम्मानहीन हुन बाध्य समुदायलाई पहिचानसहित खुल्न प्रेरणा मिलोस् र परिवार–समाजले यसलाई सहज रूपमा लिओस् भन्ने मेरो र मेरो परिवारको मनसाय हो ।


२०१८, अक्टुबर १९ । दसैंको टीकाको दिन । ११ बजे । नगरपालिका भवन, माल्स, जर्मनी । नगरका प्रमुख कार्यकारी अधिकृतले शपथ गराएपछि ‘जर्मन कानुनअनुसार तिमीहरूको विवाह दर्ता भयो र आजदेखि तिमीहरू जोडी भयौ’ भन्दै अधीप र टोवियास फल्जलाई विवाह दर्ताको प्रमाणपत्र दिँदै औंठी साटासाट गर्ने आदेश दिइन् । यो विवाह दर्ता ‘लोग्ने–लोग्ने अर्थात् हस्वेन्ड–हस्वेन्ड’ बीचको थियो ।

अधीप र टोविको विवाह नेपालमा हुने सम्भावना थिएन, किनकि हाम्रो कानुनले विपरीतलिंगीबीचको विवाहको मात्रै कल्पना गरेको छ । त्यसैले, टोवि जर्मन नागरिक भएका र जर्मनीमा समलिंगी विवाह हुने कानुन भएकाले लामो प्रयासपछि यो विवाह तय भएको थियो ।

विवाह हुनुभन्दा झन्डै १० महिनाअगावै जर्मन सरकारले विवाहको तारिख दिइसकेको थियो । यसैबीच मेरा पिताजीको देहान्त भयो र हामी वार्षिक आशौचमा पर्‍यौं । सामान्यतया पवित्र काममा हाम्रो सहभागिता उपयुक्त थिएन । तर, दिइएको समय तल–माथि गर्न सक्ने अवस्था पनि थिएन । हुन त यो हिन्दु धर्मअनुसार, कुनै परम्परागत विवाह थिएन र केवल सरकारी कार्यालयमा विवाह दर्ताको क्रममा हामी साक्षी बस्ने कुरासम्म थियो । जाऊँ समाजसँग डराउनुपर्ने, कति कुरा काट्ने हुन् भनेर । नजाऊँ बल्ल पाएको समय गुजार्दा अर्को समय लिन फेरि वर्षौं कुर्नुपर्ने ।

फेरि त्यो संवेदनशील अवस्थाको छोराले ‘मेरा लागि बाबु–आमाले यतिसम्म पनि साथ दिएनन्’ भन्ने असर पर्ला भन्ने डर । अन्ततः भाइ शेखरसँग सल्लाह गरेँ, उसले सहमति दियो र हामी त्यहाँ पुग्यौं ।

औंठी साटासाटपछि त्यहाँको चलनअनुसार स्याम्पेन खोलियो । मदिरा सेवन नगर्ने हामीजस्ताका लागि जुस नै स्याम्पेन बनेको थियो । टोस्ट गरियो, फोटो सेसन भयो र त्यसपछि छोराहरूले संयुक्त रूपमा आयोजना गरेको रिसेप्सनमा सहभागी भइयो ।

छोरीको विवाहमा हजार बेसीलाई सहभागी गराएको म आफैंले समाजको डरले छोराको बिहे भने लुकीलुकी गर्नुपरेकामा अहिले पनि असहज महसुस हुन्छ ।

हामीजत्तिको बुझेको र बोल्ड मान्छेले पनि घर–परिवार, नजिकका साथीबाहेकलाई ‘हाम्रो छोरो गे हो’ भन्न र ‘उसले अर्को पुरुषसँग बिहे गरेको छ’ भन्न चार वर्षसम्म कुर्‍यौं भने आम परिवारको अवस्था कस्तो होला ?


‘यो आधुनिक युगको उपज हो’— केहीको बुझाइ यस्तो छ ।

तर, पौराणिक वा वैदिककालमै यसको अस्तित्व स्वीकार भएको छ । र, उतिबेला पनि यो विषयलाई सम्मानजनक स्थानमा राखेको विभिन्न ग्रन्थ र कथाहरूमा पढ्न पाइन्छ । भगवान् शिवको अर्धनारीेश्वर स्वरूप, किन्नर–किन्नरीको अर्चना, रामायणमा रामले ‘हिजडा’ हरूलाई वरदान दिएकोलगायत चर्चित प्रसंगहरू धेरैले सुनेजानेकै छौं । कतिपय समाजले यसलाई सामान्य रूपमा लिइसके पनि केही धार्मिक आस्था वा पुरातन समाजमा यसको स्वीकार्यता अझै जटिल छ । यसलाई जैविक कारणभन्दा पनि अप्राकृतिक प्रवृत्तिका रूपमा हेर्ने र बुझ्नेको संख्या ठूलो छ ।

तर, कानुनी/संवैधानिक रूपमा नेपालले यसमा छोटो समयमै ठूलै छलाङ मारेको छ ।

नेपालको संविधानअन्तर्गत नागरिकले लैंगिक पहिचानसहितको नागरिकता पाउने, नागरिकलाई समान वंशीय हक हुने, लैंगिक पहिचानको आधारमा विभेद गर्न नपाइनेजस्ता हक र अधिकारको व्यवस्था गरेको छ । यसरी संविधानले सम्मान, समानता र स्वतन्त्रताको हक तथा लिंग एवं वैवाहिक स्थितिको आधारमा भेदभाव गरिनेछैन भनी उद्घोष गरे पनि व्यवहारमा पूर्ण रूपमा यो देख्न बाँकी नै छ ।

त्यस्तै, लैंगिक तथा यौनिक अल्पसंख्यकहरू अर्थात् समलिंगी, विपरीतलिंगी, द्विलिंगी, तेस्रोलिंगी, अन्तर्लिंगीहरूलाई लैंगिक पहिचान वा यौन अभिमुखीकरणका आधारमा विभेद गर्न वा उनीहरूलाई संविधानप्रदत्त मौलिक हकबाट वञ्चित गर्न मिल्दैन भन्ने सर्वोच्च अदालतबाट नजिर नै स्थापित भइसकेको अवस्थामा समेत यो समुदायले संविधानप्रदत्त हक र अधिकार प्रयोग गर्न पाएको छैन । समाजले गर्ने तिरस्कार र घृणाको स्वरूपमा समेत परिवर्तन हुन सकेको छैन ।

यो समुदायलाई राज्य–समाज सबैले हेय र अपहेलना गर्ने, घर–परिवारले पनि इज्जतसँग गाँसेर उनीहरूलाई थप हेय भावले हेर्ने वा अपमान गर्ने, अनि उनीहरूको सहारा को हुने ? यो अहं सवाल छ । आफ्नो सन्तानको यथार्थबाट भाग्ने प्रवृत्तिमा परिवर्तन जरुरी छ । यसका लागि महत्त्वपूर्ण भूमिका घर–परिवारकै हुने हुँदा परिवार नै तयार हुन सक्नुपर्छ । उनीहरूको घाउमा मलमपट्टी लगाउनुको सट्टा नुन–चुक छर्कनु हुन्न । ढाडस दिन सक्नुपर्छ । सहज वातावरण दिनुपर्छ ।

समाजका अगुवा भनिएकाहरूले नै सत्य–तथ्य बाहिर ल्याइदिँदा पीडामा रहेकाहरूलाई केही राहत मिल्न सक्छ । अनेक कारणले आफ्ना सन्तानको खास अवस्था लुकाएर बस्नुपरेका अभिभावकलाई पनि हौसला मिल्न सक्छ । यस्तै अभिप्रायले हामी अधीपका आमा–बाले यो लेख लेखेका हौं । र, यो लेख छाप्ने विषयमा छोरा अधीपको पनि सहमति छ । यही लेखमार्फत अधीप र टोविलाई भन्न चाहन्छौं– हामी खुसी छौं, तिमीहरूको जीवन सुखी र सुन्दर होस् ।

प्रकाशित : चैत्र ११, २०७९ ०८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×