कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वात्स्यायनका ती ‘चील–आँखा’

दुर्गा बरालका कलामाथि बालकृष्ण समको टिप्पणी थियो, ‘उनी नेपालका साल्भाडोर डाली हुन् ।’
सरुभक्त

कलादृष्टि
कला के हो ? सायद हेर्ने दृष्टि ! जीवन र जगत्लाई हेर्ने दृष्टिको प्रतिविम्बन हो कला । हेर्दा जेम्स बेव टेलिस्कोपबाट जति ब्रह्माण्ड देखिन्छ, त्यो प्रकृतिको कला हो, जति देखिँदैन, त्यो अज्ञात अविदितको कला हो । स्थानिक रूपले ब्रह्माण्डको कुनै अस्तित्व छैन भन्नेहरूका स्थानिक वा भौतिक अस्तित्व छन् कि छैनन् ? प्रश्न आमन्त्रित छ । कला चेतनाले स्पर्श गर्दा अयथार्थ ब्रह्माण्ड (लोकल्ली अनरियल युनिभर्स) एक कला कल्पनाजस्तो लाग्छ । ब्रह्माण्डीय सृष्टि कला, विनाशका प्रक्रम कला, जीवन कला, मृत्यु कला, ईश्वर कला, अनिश्वर कला ! विशाल–सूक्ष्म र भरिएको–रिक्त ब्रह्माण्डका कला सत्य कि भ्रम ? प्रश्न आफैंमा कला । उत्तर अनन्त छन् ।

वात्स्यायनका ती ‘चील–आँखा’

मानिसले आकस्मिकतामा जीवन प्राप्त गर्छ, ज्ञान–विज्ञान आर्जन गर्छ, कला साधना गर्छ । सायद ब्रह्माण्डीय कला अनुभूत गर्दागर्दै मानिस अन्तरचेतनाले त्यस्तै कला रचना गर्ने नैसर्गिकताले अनुप्रेरित हुन्छ । कलाकारले प्रकृतिलाई हेर्छ र आफ्नै प्रकृतिको रचना गर्छ, संसारलाई हेर्छ र आफ्नै संसारको रचना गर्छ । जब कलाकार मौन सम्भाषण गर्दै बाटोमा हिँड्छ, धरतीको प्रत्येक अणु, परमाणुबाट कलाको फूल टिप्छ । धरतीमा कला फूलझैं फुलेका हुन्छन् ।

मसल म्यान

प्रसंग हिँडिरहेको छ । किशोरकालीन स्मृतिका बाकस खोलेर म एक मसल म्यानको इस्टम्यान कलर छायाछवि अनुभूत गरिरहेको छु । पोखराको पुरानो बजार बगरको पुरानो बाटोमा आर्नोल्ड स्वार्जेनेगरजस्ता हट्टाकट्टा र आकर्षक व्यक्तित्व हिँड्थे टिसर्ट–पाइन्ट लगाएर, हातका बाइसेप्स मसल प्रदर्शन गर्दै । पेटमा फोर–प्याक मसल्स पनि थिए होलान्, जसको दबाब टिमिक्क परेको टिसर्टमा देखिन्थ्यो । भर्खर विद्यालयबाट क्याम्पस पुगेको किशोर–मन मसल म्यानलाई बाटोमा ओझेल नपरेसम्म हेरिरहन्थें ।

मसल म्यान क्याम्पसतिरबाट आउँथे, तर न ती विद्यार्थीजस्ता थिए, न प्राध्यापकजस्ता ! को थिए ती ? प्रश्न उत्पन्न हुन्थ्यो, हावामा बिलाउँथ्यो ।

बगर सँगसँगैको टोल–मोहरिया टोल । बाल्यकालीन साथी विजय वजिमयको घर । उनी कवि बन्दै रहेछन् । म पनि त्यही प्रक्रियामा । एक दिन विजय वजिमयको घरको कोठे कवि गोष्ठीमा मसल म्यान देखा परे । अनपेक्षित रूपमा । उनले कविताहरू सुने, सुनाएनन् । उनले ध्यानस्थ भई कविताको रसास्वादन गरे मात्रै । संकोचले मैले उनको बाइसेप्स र फोर–प्याक मसलतर्फ आँखा गाडिनँ ।

कोठे कविगोष्ठीमा उनी पछि पनि देखा परिरहे । विजय उनलाई ससम्मान दाइ भन्थे, यसर्थ उनी बन्दै गरेका सबै कविका दाइ भए । नाम रहेछ– दुर्गा बराल, एक चित्रकार ।

अर्थात् चीलको आँखा

विजयको घरको सोझै पारी अर्की साथी उषा भट्टचनको ठूलोबुबा चिन्तकमान शेरचनको घर थियो, बीच तलामा दुर्गा बरालको ‘इगल आई स्टुडियो’ । स्टुडियो कोठा ठूलो, फराकिलो, भित्ताहरूमा सुन्दर चित्रकलाकृतिहरू टाँगिएका । भुइँमा इजेल, ब्रसहरू, थरीथरीका रङका ट्युबहरू अनि क्यानभासहरू । कवि मन लिएर स्टुडियोमा प्रवेश गर्दा अनेक विम्बका पहाड चढ्न पुगेजस्तो । जीवनमा देखेको एक मात्रै स्टुडियो यति व्यवस्थित र रंगीन नलाग्ने कुरै भएन । किताब पढ्ने भएर हामी बन्दै गरेका कविहरूले चन्द्रमानसिंह मास्केलगायत केही स्वनामधन्य चित्रकारका नाम सुनेका थियौं, देखेको त एकै जना– दुर्गा बराल ।

हामी उनीसित झ्याम्मिँदै गयौं । हामी स्टुडियोमा छिर्दा उनी खुसी हुन्थे, आत्मीयता दर्साउँथे, जिज्ञासाहरूको जवाफ दिन्थे । शरीरले उनी मसल म्यान भए पनि सानो, मसिनो, केही ढिलो धैर्यशील बोलीमा बोल्थे । ब्रस हातमा लिएर क्यानभासमा व्यस्त हुँदा उनका आँखा चीलका आँखाझैं तिखा र चम्किला हुन्थे । उनको संगतले रङ र चित्रहरूप्रति आर्कषण बढेपछि म विरल रूपले प्राप्य विश्व–चित्रकलाका इतिहासका सचित्र पानाहरू पल्टाउँथे । लियोनार्दो दा भिन्ची, माइकेल एञ्जेलो, भ्यानगग, रेब्रान्ट, पिकासो, साल्भाडोर डाली आदिका नाम याद राख्थें । हामी बन्दै गरेका कविहरू चित्रकलाबाट विश्वसाहित्य र नेपाली साहित्यमा परेका प्रत्यक्ष–अप्रत्यक्ष प्रभावबारे चर्चा गर्थ्यौं ।

वात्स्यायन । क्यारिकेचर : अविन

दुर्गा बराल रङहरूले चित्रात्मक कविता रच्थे । हामी शब्द र सन्नाटाले । कहिलेकाहीँ उनी पोखरा वरपरका भीरपाखा, खेतबारी, खोला बगर, गाउँघर, हिमाल–पहाड परिवेष्टित स्थानहरूमा दृश्यचित्र कोर्न निस्कन्थे । उनले कान्ला, आली, चउरमा बसी चित्रहरू कोर्दा जिज्ञासाले छेउछाउ उभिएर मानिसहरू घाँटी तान्थे । आजकल स्टार भनिएकाहरू पछाडि तानिएझैं उनको हस्त–लगाव पछाडि तानिन्थे मान्छेहरू । उनी मान्छेहरूबीच ध्यानस्थ भई रेखाहरू कोरिरहन्थे । उनी प्रत्येक रेखा कोर्दा पर्याप्त समय लिन्थे, सोचविचार गर्थे, क्यानभासलाई इगल आई अर्थात् चीलको आँखाले हेर्थे । अधीरता उनको शब्दकोशमै थिएन । खरायो–सापेक्ष हतार उनको स्वभावमै थिएन । उनले एउटा रेखा कोरेपछि अर्को रेखा कहिले कोर्लान् भनी चञ्चले मनहरू आत्तिसक्थे । धेरैपछि उनी ‘कान्तिपुर’ दैनिकसित सम्बद्घ भएपछि एउटा

व्यङ्ग्य–चित्र रचना गर्न पूरै दिन लगाइदिन्थे । थाहा छैन, कति दिन सोची बस्थे । व्यङ्ग्यचित्र रचना गर्ने दिन उनी पूरै साधनामा व्यस्त हुन्थे । कतै जाँदैनथे । हामी पनि ‘आज दाइको कार्टुन बनाउने दिन’ भनी उनलाई कार्यक्रमको निम्ता दिएर कार्टुन बन्ने थिएनौं । एउटा अलिखित समझदारी र आत्मीयता हामीबीच थियो ।

नेतृत्व–विविध

तीसको दशक । पोखरामा सांगठनिक रूपले सांस्कृतिक शून्यताको अवस्था । चेतन कार्की, भूपि शेरचनका समूह विगठित । यस अवस्थामा ‘ज्यानलाई पर्नु पीर पर्‍यो’ गीत गाएर प्रसिद्घि प्राप्त गरेका गायक सरोज गोपालको अध्यक्षतामा विसं २०३४ मा ‘पोखरेली युवा सांस्कृतिक परिवार’ को स्थापना । भव्य रूपले विविध सांस्कृतिक कार्यक्रम, टिकटमा मुक्तक कार्यक्रम, सामूहिक साहित्यिक जयन्ती, आदिको आयोजना । त्यसपछि संस्थामा अनपेक्षित गतिरोध । मैले दुर्गा बराल, तीर्थ श्रेष्ठ, उषा भट्टचन, विजय वजिमय, प्रकट पँगेनी शिवलाई संस्थामा आमन्त्रण गरें । दुर्गा बरालको नेतृत्वमा २०३६ सालमा नयाँ कार्यसमितिको गठन भयो । उनको नेतृत्वको कारण ‘साहित्य, संगीत र कलाको उत्थानः हाम्रो प्रण’ भन्ने उद्घोषका साथ त्रिआयामिक स्वरूपमा संस्था गतिवान् भएको थियो ।

विसं २०३५ मा युनाप, पोखरा (युवा नाटक परिवार) को गठन भएपछि क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सञ्चालन भएको उपलक्ष्यमा एक सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । त्यसमा नाटक प्रदर्शन गर्ने जिम्मेवारी युनापलाई दिइयो । हामीले ‘सराप परेको घर’ नामको एकांगी मञ्चन गर्‍यौं । मुख्य कलाकार उषा भट्टचन, मिलन भट्टचन र म । रंगमञ्चलाई कोठाको रूपमा कसरी सजाउने ? मैले दुर्गा बरालसित सहयोग मागें । उनले साँच्चैको झ्यालजस्तो लाग्ने कागजको दुइटा झ्याल बनाइदिए । ती झ्याललाई पृष्ठभागमा टाँसेर हामीले नाटक मञ्चन गर्‍यौं । अर्को वर्ष हामीले पूर्णांकी नाटक ‘एउटा घरको कथा होइन’ लाई पोखरा, तानसेन र काठमाडौंमा मञ्चन गर्‍यौं । दुर्गा बरालले एक ग्रामीण घर र परिवेशको सुन्दर कागजी मोडल बनाइदिए । त्यही मोडेलअनुसार हामीले रंगमञ्चमा घर परिवेशको निमार्ण गर्‍यौं ।

लामो नाटक, बूढाबूढी, ठिटाठिटी चरित्रहरू धेरै । मेकअप कसले गरिदिने ? बजारमा मेकअप सामान पाइन्थेन । पाइए पनि तिनलाई प्रयोग गर्न जानिन्थेन । विकल्पमा रङ चलाउन जान्ने परिचयको क्षेत्रफलभित्र एकै व्यक्ति थिए– दुर्गा बराल । उनले कलाकारहरूको मेकअप गरी तिनलाई नाटकका चरित्रमा रूपान्तरण गरिदिए । उनी रंगमञ्च परिकल्पनाकारदेखि मेकअप म्यानसम्म सबै भइदिए । उनी हाम्रा लागि ‘मिदासको ढुकुटी’ जस्ता थिए, जसलाई हामी आफ्नो सम्झेर प्रयोग गर्न स्वतन्त्र थियौं । नाटकको भीडभाड र हल्लीखल्लीबीच उमेरले हामीभन्दा धेरै पाका दाइलाई हामीले कति सम्मानजनक व्यवहार गर्न सक्यौं वा सकेनौं– उनी त्यसको हिसाब राख्दैनथे । उनी निष्काम, निस्पृहजस्ता थिए ।

जीवनगाथा

विसं १९९९, चैत ५ मा पोखराको पूर्वी डाँडागाउँ आर्वामा जन्म । बुबा हरिवंश, आमा कलावती । तीन वर्षको नाबालक छँदा आमाको असामयिक निधन भएपछि जीवन उनले मायाले कोमल स्पर्श गरी कोर्ने रेखाहरूझैं कसरी हुन सक्थ्यो र ? गाउँका प्रभावशाली मुखिया हजुरबा, तीन हजुरआमा, ठूलो परिवार, बाबुले कान्छीआमा ल्याइदिएपछि जन्मेका अरू सन्तानबीच नाबालक टुहुरोको भागमा कति माया पर्छ र ? त्यसमाथि बाबु आसामतर्फ लागेपछि आमा नभएको बालकको अवस्था कस्तो हुन्छ ? तर, नियतिले उनीमाथि माइत बस्दै आएकी हजुरबाकी एक ‘विधवा’ बहिनी–फुपूको माया प्रवाह गरिदिएको थियो । फुपू उनलाई माया गर्थिन् र अरूका अन्यथा व्यवहारबाट जोगाइरहन्थिन् ।

गाउँको अनियमित पाठशाला । लघु–कौमुदी र अमरकोशका घोकाइ । गाउँमा बेलाबेला सप्ताह पुराण लाग्थे, जसमा उनी हात्तीको चित्र कोरिएको देख्थे । गाउँको प्रकृति र माथि बादलमा पनि उनी अनेक चित्रहरू देख्थे । उनलाई त्यस्तै चित्र कोर्ने रहर लाग्थ्यो । गाउँमा अक्षर लेख्दा वा चित्र कोर्दा निगालोको कलमले बाँसको सुप्लामा कटुसको बोक्रा पकाएर बनाएको कालो मसी प्रयोग गरिन्थ्यो । सिलोटमा खरीढुंगाले वा बडेमानका चट्टानहरूमा कति चित्र कोरिए, के हिसाबकिताब !

माया गर्ने फुपूले उनी ९ वर्ष पुग्दा माइतघरको परिस्थिति विचार गरी उनलाई नदीपुर, पोखरास्थित मामाघरमा सुम्पिदिइन् । मामामाइजू निःसन्तान थिए । नियतिले उनी ‘सन्तान’ हुन आइपुगे । त्यस समयको चलनअनुसार, भोलानाथ पराजुली गुरुको सिफारिसमा उनी एकैपल्ट ६ कक्षामा भर्ना भए । २०१८ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरे । चित्रकलामा रुचि राख्ने उनी अचम्मैसित विज्ञान संकायमा भर्ना भए । जीवविज्ञान अध्ययन गर्न थाले । एक दिन जीवविज्ञान पढाउने गुरुआमा एलियामा जोन्सले उनले बनाएका प्राणी र तिनका अंगप्रत्यंगका चित्रहरू हेरी प्रभावित भएर भनिन्, ‘दुर्गा, तिमी त चित्रकार हुनुपर्ने मानिस रहेछौ !’

विज्ञान पढेर कोलम्बो प्लान ताक्ने जमाना थियो । गुरुआमाको प्रशंसा र आफ्नै अन्तरचेतनाले अभिप्रेरित भएर उनले विज्ञानको पढाई छोडे अनि ‘फाइन आर्ट’ पढ्ने उद्देश्य लिई २०२० सालमा एक परिचित सुचीकारको पछि लागि काठमाडौं प्रस्थान गरे । फाइन आर्ट काठमाडौंमा कहाँ पढ्ने ? कुन रकमले पढ्ने ? सिमित खर्च बोकेर हिँडेको ठिटो समस्याग्रस्त भए । सूचीकारले उनलाई कति दिनसम्म घरका परिवारजनका मुहारचित्र (पोट्रेट) बनाउन प्रयोग गरे । यसबीच उनले सुने– त्रिपुरेश्वरस्थित घरेलु शिल्पकलामा प्रशिक्षार्थीको रूपमा भर्ना भए छात्रवृत्ति पाइन्छ । छात्रवृत्ति महिनाको पचास रुपैयाँबाट सुरु हुन्थ्यो । उनी भर्ना भए ।

केही महिनाबीच खल्तीमा डेढ सय रुपैयाँ जम्मा भयो । उनले दिल्लीमा गएर चित्रकला अध्ययन गर्ने सपना देखे । संजोगले उनको चिनाजान काठमाडौंमा कार्यरत दिल्लीका एक सुचीकारसित भयो । सुचीकारले उनलाई आफ्नी जहानसित दिल्ली पठाइदिए । केही दिन उनी सपना बोकेर दिल्लीका सडकमा भौंतारिए । अप्रत्याशित रूपले एक दिन दिल्लीका प्रकाश पेन्टरसित भेट भयो ।

‘तिमी के गर्न चाहन्छौ ?’, प्रकाश पेन्टरले सोधे ।

‘म चित्रकला अध्ययन गर्न चाहन्छु’, उनले भने ।

प्रकाश पेन्टर सिनेमाका पोस्टर बनाउँदा रहेछन् । उनी प्रकाश पेन्टरका सहयोगी भई सिनेमाका पोस्टरहरू बनाउने रोजगारीमा लागे । प्रकाश पेन्टरले उनलाई ठगेनन् । एक दिन पोस्टर बनाइदिएको पारिश्रमिक हातमा राखिदिँदै भने, ‘तिमी आफ्नै घर फर्क । यहाँ गाह्रो छ ।’

गाह्रो त परेकै थियो । उनले प्रकाश पेन्टरको सल्लाह माने अनि घरतर्फ प्रस्थान गरे । सुनौली नाकाबाट देशभित्र प्रवेश गरेपछि उनको मन बदलियो । उनी घर नगई काठमाडौंतर्फ सोझिए ।

फेरि काठमाडौंमा सडक नाप्ने काम । काम खोज्ने काम । मनको सपना फुस्केर कतै नखसोस् भनी मनैमा गाँठो पारेर हिँडिरहे । एक दिन किलागलका साथी रामकुमार श्रेष्ठले एक सुसमाचार दिए– ‘म तिमीलाई जनक शिक्षाको अफिसको ड्राइभर रामप्रसादसित परिचय गराइदिन्छु । तिमी उसित जनक शिक्षामा जाऊ बबरमहल । त्यहाँ तिमीलाई मिल्ने काम हुन सक्छ ।’

परिचय भयो । ड्राइभरले उनलाई हाकिमकहाँ पुर्‍याइदिए । चित्रकला विभागका हाकिम रहेछन् केशव दुवाडी । उनी दिनको पाँच रुपैयाँ पाउने ज्यालादारीमा चित्रकार भए । तीन महिनापछि नासुसरहको अस्थायी नियुक्ति पाए । मासिक तलब दुई सय पचास । २०२१ सालमा स्थायी भए ।

काठमाडौंदेखि दिल्लीसम्म अनेक हन्डर र ठक्कर खाएपछि अन्ततः जिन्दगीको बिग्रेको मौसममा सुधार भयो । उनी काठमाडौंमा जमे । सहकर्मी चित्रकारहरू– शारदा चित्रकार, मदन चित्रकार, दिलबहादुर चित्रकार । परिचयको क्षेत्र विस्तार हुँदै गयो । बालकृष्ण सम, लैनसिंह बाङ्देल, तेजमान चित्रकार, अमर चित्रकारजस्ता हस्तीहरूसित संगत गर्ने मौका पाए । २०२२ सालमा ललितकला संस्था नाफाले आयोजना गरेको राष्ट्रिय चित्रकला प्रतियोगितामा प्रथम भए । नाफामा आबद्घ भएपछि अब काठमाडौंमा नचिनेका चित्रकार कोही रहेनन् । यसबीच उनले कतै हठयोगको किताब भेट्टाए । उनी योगाभ्यास गर्न थाले । पछि उनी सैनिकहरूका लागि टुँडिखेलमा बनाइएका प्यारेलर बारहरूमा झुन्डिन थाले । स्वास्थ्यप्रति सजक उनले पछि पोखरा फर्केपछि जिमका सामानहरू जुटाएर इगल आई स्टुडियोमै व्यायामलाई निरन्तरता दिए ।

पोखरामा चित्रकला अध्ययन गर्ने धुनमा कलेजको अध्ययन छोडेका उनले काठमाडौंमा नेसनल कलेजबाट प्राइभेट आईए उत्तीर्ण गरे । जनक शिक्षामा कार्यरत रहँदा २०२५ सालमा उनलाई पुस्तक सज्जासम्बन्धी तीनमहिने ग्राफिक आर्ट तालिम लिन जापानको राजधानी टोकियो पुग्ने अवसर प्राप्त भयो । जनक शिक्षामा उनका लागि सुब्बासरहको पद सिर्जना गरियो ।

दुर्गा बराल मूल रूपले फाइन आर्टका सिर्जनशील कलाकार थिए, तर उनले ०२१, ०२२ सालदेखि नै व्यङ्ग्यचित्रहरू (कार्टुनहरू) रचना गर्न थाले । राष्ट्रिय सामाजिक जीवनका महत्त्वपूर्ण र संवेदनशील विषयहरूलाई उनी मार्मिक रूपले व्यङ्ग्यचित्रमा प्रस्तुत गर्थे । उनको व्यङ्ग्यचित्र र त्यसमा प्रयोग गरिएका थोरै, तर जोखिएर राखिएका शब्दहरूले सामान्य होइन, गम्भीर र विचारणीय हाँसोको सिर्जना गर्थ्यो ।

सुरुमा उनका व्यङ्ग्यचित्रहरू ‘नयाँ सन्देश’ मा प्रकाशित भए । उनको लोकप्रिय स्तम्भ थियो– ‘नयाँ सन्देशको दृष्टिकोण बरालबाट’ । पछि उनका व्यङ्ग्यचित्रहरू ‘राष्ट्रपुकार’, ‘प्राङ्गण’, ‘देशान्तर’, ‘सुरुचि’, ‘गोरखापत्र’ आदि तत्कालीन समयका चर्चित पत्रपत्रिकामा प्रकाशित भए । विसं २०५६ बाट उनी ‘कान्तिपुर’ राष्ट्रिय दैनिकमा आबद्घ भए । ‘कान्तिपुर’ मा प्रमुखताका साथ प्रकाशित हुने उनका व्यङ्ग्यचित्रहरूले उनलाई चर्चाको शिखरमा मात्रै पुर्‍याएन, व्यङ्ग्यचित्रलाई गम्भीर अभिव्यक्तिको माध्यमको रूपमा पनि स्थापित गर्‍यो । उनका कति व्यङ्ग्यचित्रले राष्ट्रिय राजनीतिलाई तरंगित पारिदिए । पहिलो जनआन्दोलनपछि ‘गोरखापत्र’ मा प्रकाशित उनको ‘अविश्वास प्रस्ताव’ सम्बन्धी एक व्यङ्ग्यचित्रले सदन हल्लाइदियो । तत्कालीन सञ्चारमन्त्री जेपी गुप्ताले सदनमा स्पष्टीकरण दिनुपर्‍यो । राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि ‘कान्तिपुर’ मा प्रकाशित ‘संवैधानिक राजतन्त्र’ लक्षित एक व्यङ्ग्यचित्रले दरबार हल्लाइदियो । ‘कान्तिपुर’ कार्यालयमा सेनाको निगरानी भयो । सम्पादक नारायण वाग्ले र उनी कुनै पनि बेला पक्राउ पर्ने वा अवाञ्छित घटना घट्नेसम्मका वातावरण सिर्जना भए ।

नेपाली व्यङ्ग्यचित्रको इतिहासमा व्यङ्ग्यचित्र र वात्स्यायन पर्यायवाची शब्दजस्ता भए । उनले पञ्चायती व्यवस्थाको आँखाबाट बच्न व्यङ्ग्यचित्रमा नाम परिवर्तन गरेर वात्स्यायन राखेका थिए । वात्सायन प्राचीन समयमा कामसूत्रका रचनाकार, न्यायसूत्रका भाष्यकार महर्षि थिए । समकालीन नेपाली कला जगत्मा दुर्गा बरालाई कतिले फाइन आर्टिस्टको रूपमा चिन्छन् , कतिले कार्टुनिस्ट वात्स्यायनको रूपमा चिन्छन् । कार्टुनिष्ट वात्स्यायनलाई कतिले दुर्गा बराल हुन् भनी नचिनेका प्रसंगहरू पनि छन् । खासमा उनी उच्च हिमालजस्ता छन् । आँखाको कोणले हिमालको विमुग्धकारी एक छेउ देख्नेले अर्को छेउ देखिरहेको हुँदैन । हिमालको सबै छेउ देख्न हिमालको परिक्रमा गर्नुपर्छ ।

विक्रमाब्द २०२६ सालमा उनले जनक शिक्षाको जागिर छाडे । पोखरा फर्केर केही समय खेमनाराण श्रेष्ठको फोटोग्राफीको दोकानमा काम गरे, सुशील गोशलीको साइकल दोकानमा काम गरे । २०२८ सालमा नाफाको पोखरा शाखामा सचिव भई काम गरे । २०३० सालमा उनले ‘इगल आई स्टुडियो’ खोले । यसको अर्को वर्ष याने २०३१ सालमा उनी कलेजमा कला प्रशिक्षक नियुक्त भए । उनले २५ वर्षसम्म लगातार कला प्रशिक्षक भएर सेवा गरे ।

उत्तरगाथा

दुर्गा बराल किशोरवयमै वालिङकी पार्वतीसित विवाह बन्धनमा बाँधिएका थिए । तीन छोरा र एक छोरीका बुबा उनी । जेठो छोरा अनुप बराल देशका चर्चित नाट्य–फिल्म निर्देशक । माहिलो छोरा अनिल बराल पर्यावरण विज्ञानमा विधावारिधि गरी अमेरिकामा कार्यरत छन् । कान्छो छोरा अजित बराल निजी क्षेत्रको चर्चित पुस्तक प्रकाशन संस्था ‘फाइन प्रिन्ट’ का सह–सञ्चालक एवं साहित्य अनुवादक । छोरी अनिता आफ्नै घरगृहस्थीमा व्यस्त । सन्तानहरू सँगै होऊन् वा टाढा– दुर्गा बराल आफैंभित्र भुलिबस्ने सिर्जनात्मक मौनताका साधक हुन् । पोखराका पुराना, नयाँ सबै कला संस्थाहरूमा आबद्घ उनी आवश्यक पर्दा सबैतिर उपलब्ध भइदिन्छन् । उमेरले ८० वसन्त पूर्ण गर्दै गरेका उनलाई देख्दा मेरो अन्तस्करणमा सधैं एक ऋषिमुनिको विम्ब उपस्थित हुन्छ । उनी ८० वर्ष पार गरेर ८१ लाग्दै छन् । साँच्चै नै उनी चित्रकलामा ऋषित्व अर्जित गरेका कलाऋषि हुन् । उनको चित्र, कलाकृति देखेर महान साहित्यकार–कलाकार बालकृष्ण समले उनलाई नेपालका साल्भाडोर डाली भनेका थिए । उनको ‘चोक र तमसुक’ कला–शृंखला अवलोकन पछि वरिष्ठ कला समीक्षक नारायणबहादुर सिंहले भनेका थिए– दुर्गा बरालले नेपाली चित्रकलालाई दस वर्षअगाडि पुर्‍याइदिएका छन् ।

हिमालबाट रसाएर बग्ने नदी पहाडी द्रुत प्रवाहमा गड्गडाउँदै, समथर भूमिमा शान्त हुँदै, अन्ततोगत्वा महासागरमा लीन भएझैं उनी कलासागरमा लीन छन् । कला अनुरागीहरूका लागि दुर्गा बराल वात्स्यायन उर्फ वात्स्यायन दुर्गा बराल प्रेरणाका अप्रतिम विम्ब हुन् ।

यो पनि पढ्नुहोस् :

प्रकाशित : चैत्र ४, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?