‘पारिजातका सच्चा प्रेमी थिए धनुवर मुखिया !’- कोसेली - कान्तिपुर समाचार
बातचित

‘पारिजातका सच्चा प्रेमी थिए धनुवर मुखिया !’

कान्तिपुर संवाददाता

लेखक पारिजातको ८९ औं जन्मजयन्तीको सन्दर्भमा गएको मंगलबार आयोजित ‘पारिजात परिसंवाद’ मा कवि एवं कूटनीतिज्ञ महेश मास्केले पारिजात स्मृति केन्द्रकी संस्थापक एवं लेखक सुकन्या वाइबा (पारिजातकी बहिनी) सँग बातचित गरेका थिए । पारिजातलाई ‘बहीखाता’ (हिसाबकिताबमा पक्का) र निर्मल लामालाई ‘फ्यान्टम’ (साहसिक अर्थमा) भनिने गरेका किस्सादेखि उनका प्रेम–प्रसंगमाथि चलेको थियो संवाद । म्हैपीस्थित पारिजात स्मृति केन्द्रमा मास्केले सुकन्यासँग गरेको झन्डै १ घण्टा लामो संवादको सम्पादित प्रश्नोत्तर :

तपाईंले कुनै क्षणमा ‘पारिजात, तिमी पराजित होइन, अपराजिता हौ’ भनेर गरिदिएको नामकरणको अहिले सम्झना हुन्छ । आखिरमा पारिजात व्यक्तित्वको अर्को पहिचान पनि बन्यो— अपराजिता । यो कसरी भयो ? किन भयो ?

यो १७/१८ सालको कुरा होला । एक दिन एकदमै हताश–निराश भएका बेला दिदी पारिजातले भनेकी थिइन्— ‘सुकन, म त पराजित जन्मेकी रहेछु ।’ अनि मैले तत्काल जवाफ दिएँथें— ‘के कुरा गरेको ? तिमी कसरी पराजित हुन्छौ ? तिमी पराजित हुनै नसक्ने मान्छे हौ । तिमी त अपराजिता हौ ।’ पछि गएर मैले लेखनको जे काम थाले पनि उनै अपराजिताको सम्बोधनबाट सुरु गर्न थालेँ । त्यसपछि यही ‘अपराजिता’ पहिचान बन्यो ।

केही सम्झना छ कि त्यस्ता ‘अपराजिता’ क्षणको ?

दिदीसँग गाँसिएका कतिपय उदाहरण छन्, जस्तो कुनै काममा पनि खतरा मोल्ने र त्यसलाई पूरा गरेरै छाड्ने । आफ्नो अडानमा दृढ रहने, नझुक्ने । कसैको घरमा राखिएको कामदारमाथि अन्याय–अत्याचार भएको देखियो भने उसको पक्षमा उभिने, त्यो कामदारलाई रातारात त्यहाँबाट निकालेर अन्यत्र लगिदिने । दिदीको हठी र कडा स्वभावका कारण जोकोही डराउँथे उहाँबाट, जे कुरामा पनि अपराजिता लाग्ने ।

तपाईंले दिदी पारिजात, बुबा के.एस. वाइबासमेतको हेरचाहको जिम्मेवारी लिएर परिवार धान्नुभयो । कलिलै उमेरमा त्यो दायित्वबोध कसरी पलायो ?

त्यस्तो जिम्मेवार बनौंला, परिवार धानौंला भन्ने थिएन । तर, कसोकसो जिम्मेवार बन्नुपर्‍यो । त्यसमा पनि आमा, ठूल्दिदी, दाजु शिवको असमयमै निधन भएपछि बुबा र दिदीलाई सम्हाल्ने जिम्मा पनि ममाथि आएको छ भन्ने लाग्न थाल्यो । परिवारमा आएको एकपछि अर्को शोकले गलेका मेरा बाबु र दिदीलाई कसैको अघि झुक्न दिन्न भन्ने अठोटसमेत लिएकी थिएँ । त्यो मायाको बन्धन पनि थियो सायद ।

पारिजातको जीवनमा तीन जना महत्त्वपूर्ण व्यक्ति रहेका छन् । त्यसमध्ये एक जना हुनुहुन्थ्यो, उहाँको बुबा— के.एस. वाइबा, जोसँग पारिजातको माया र गुनासो दुवै छ । तपाईंले भने ती बाबुको छविलाई कसरी सम्झनुभएको छ ?

बुबा त हाम्रा लागि हिरो हुनुहुन्थ्यो— यथार्थ र कल्पना दुवैको । हाम्रो बुबा ३१ वर्षकै उमेरमा विदुर हुनुभएको थियो । एकातर्फ ससाना छोराछोरी, अर्कातर्फ युवाबेलामै स्वास्नी गुमाएको क्षण । बुबाले आफ्नो सारा जिन्दगी हाम्रै निम्ति दिनुभयो, भनौं न– हामी त बाबुको घुँडा चुसेर हुर्किएको ! जे जस्तै कठिन अवस्थामा पनि हार नखाने/नमान्ने मेरा बुबालाई म ‘एक सन्त योद्धा’ का रूपमा स्मरण गर्छु । म सम्झन्छु— बुबाले दिदी पारिजातलाई साइन्स पढ्नुपर्छ, डक्टर हुनुपर्छ भन्नुभयो । तर, त्यो त भएन । पछि ‘शिरीषको फूल’ मा मदन पुरस्कार (२०२२) पाएपछि बाबुले भन्नुभएको थियो, ‘यो (साहित्य) यसको गिफ्टेड रैछ, यतै गएको ठीक छ । डक्टर भएकी भए कुनै बिरामीको नसा डल्लो परेको देखेमा यसले पिलो भनेर काट्न बेर लगाउँदिन थिई ।’

अब प्रकाशित हुन लागेको पारिजातको तेस्रो आत्मसंस्मरण भने ‘धनुवर मुखिया’ मा समर्पित रहेछ । थाहा भएअनुसार, २०११ सालभन्दा अघि नै धनुवरसँग झाँगिएको प्रेम फक्रनै नपाई ओइलाएको थियो । धनुवरसँग तपाईंको भेट भएको थियो ?

दार्जिलिङतिर के चलेको थियो भने सानै (उमेर) मा लभ परिहाल्ने । केटाहरू कतिसम्म भने रेडिमेड चिठी खल्तीमा बोकेर हिँड्ने । बाटैमा कोही मन परिहाल्यो भने माथि त्यही केटीको नाम भरेर दिइहाल्ने । हो, पारिजात दिदी असाध्यै राम्री थिइन् । उनका नाममा आउने लभ लेटर त थाकथाक हुन्थे । हामी पढ्दै, हाँस्दै गर्थ्यौं । तर, धनुवर दाइको कुरा भने अलग छ । ती दाइ साह्रै असल मान्छे थिए, उनी भोटेबस्तीमा बस्थे । हामी लिम्बू बस्तीमा थियौं । दिदीले पनि खुबै मन पराएकी थिइन् धनु दाइलाई । तर, कस्तो अचम्म भने धनुवर दाइ भने मरिहत्ते गर्ने, दिदी भने मन पराएर पनि भाग्ने । बोल्नै नसक्ने, भागिहाल्ने । अनौठो खालको प्रेम थियो । एउटा धारा थियो, त्यहाँ मेच थियो । सायद उनीहरूको डेटिङ थलो होला । तर, त्यहाँ पुगेर दिदी वल्लो कुनामा बसिरहन्थ्यो, धनुवर पल्लोमा । अनि त्यत्तिकै बसेको–बस्यै डेटिङ सकिन्थ्यो, कस्तो अचम्म !

पारिजातको जीवनलाई तपाईंले दुई भागमा बाँड्नुभएको छ— निराशावादी र आशावादी । यसरी निराशाबाट आशाको यात्रा कसरी सम्भव भयो ?

दिदीलाई रोगले ग्रस्त पारेको समयमा उनको लेखनी निराशामयी थियो । लेखाइमा निराशा भए पनि उनले व्यवहारमा दुःख कहिल्यै देखाइनन्, जस्तो हाम्रो बाबुले दुःख कहिल्यै देखाउनुभएन । तर, २०१६ साल अगाडि हुनुपर्छ, निर्मल लामा भेटिएपछि र त्यहीँबाट मार्क्सवादी दर्शनको अध्ययन थालनीको एउटा अध्यायपछि दिदी एकाएक आशावादी बनिन् । यसकारण म पनि मार्क्सवादी दर्शनप्रति अनुगृहीत छु । दिदीले भन्ने गर्थिन्— मार्क्सवादकै कारण निर्मल मेरो गडफादर, मोहनविक्रम मेरो गडफादर ।

निर्मल लामाको चैं पारिजातप्रति कस्तो दृष्टिकोण थियो ?

दिदीलाई निर्मलले एकदमै श्रद्धा गर्ने । उनीहरूबीच माथिल्लो बौद्धिक तहको छलफल हुन्थ्यो, साहित्य र राजनीतिमा कुरा हुन्थ्यो । दिदीले पनि सम्बोधनमा ‘ज्वाइँ’ कहिल्यै भनिनन्, बरु लामाजी भन्थिन् । निर्मल भन्थे— हामी राजनीति गर्नेहरूलाई केही समय सम्झने मात्रै हो, तर साहित्यकारहरू अमर हुन्छन् । साहित्य कहिल्यै मर्दैन ।

एउटा गाह्रो प्रश्न गर्न चाहन्छु । कहिलेकाहीँ अध्येताहरूले पनि गम्भीर त्रुटि गर्न सक्छन् । जस्तो, निर्माण प्रकाशन (सिक्किम) ले निकालेको पारिजातका संकलित रचनाहरू’ को भूमिकामा पवन चाम्लिङले लेखेका छन्— ‘पारिजातले निर्मल लामालाई मन पराइन्, तर निर्मलको बिहाचाहिँ बहिनी सुकन्यासँग गरिदिइन् । नवअराजकतावादीहरूले जसरी यौन र प्रेमलाई छुट्याएर हेर्छन्, यो त्यसैको उदाहरण हो ।’ तपाईं के भन्नुहुन्छ ?

यो डरलाग्दो मिस–क्यालकुलेसन हो । यसमा उहाँ (पवनजी) चुक्नुभयो । यो कुरा त सत्या (सत्यभामा माथेमा) लाई पनि थाहा छ, निर्मल र पारिजात एकअर्काका असल साथी थिए । निर्मल र भूपी (शेरचन) लंगौटिया यार नै । निर्मल त्रिचन्द्र कलेजका विद्यार्थी युनियनका प्रेसिडेन्ट रहेछन् । हामी भने (म र पारिजात) सधैंका हिरो–वरिपरि ! हामी निर्मललाई बेताल (फ्यान्टम) भन्थ्यौं, साहसी अर्थमा ।

त्योबेला भूपी मेरा छेउमा आएर बारबार निर्मलको बखान गर्थे— नील यस्तो, नील उस्तो भन्दै । पारिजात दिदीले नै ‘के तँ निर्मलसँग बिहा गर्छेस् ?’ भनेर सोधेकी थिइन् । दिदीले मेरै निम्ति निर्मल खाजेकी हुन् । दिदी र निर्मलबीच बौद्धिक उच्चकोटीको संवाद चल्थ्यो । चे ग्वेभाराका किताब पढेर दिदीले निर्मललाई चेबारे पत्र लेखेको मलाई सम्झना छ ।

भूपी दाइले मलाई उनैका कोठामा लगेर निर्मलसँग भेटाएका हुन् । निर्मल मेरो जीवनमा आउनुमा भूपीको पनि हात थियोजस्तो लाग्छ ।

तस्बिरहरू : देवेन्द्र भट्टराई

पारिजात भन्ने गर्नुहुन्थ्यो— ‘म यथार्थ जगतको काल्पनिक हुँ ।’ पारिजात अर्थात जीवनबाटै पात्रहरू टिप्ने अनि कल्पनाको रोगन लगाउने ! अब तिनै पात्रबारे तपाईंलाई सोधौं न ! जस्तै, ‘शिरीषको फूल’ को सकम्बरी को हो ?

हो, दिदी आफैंले सकम्बरीमा ‘पारिजात आफैं अलिअलि छ’ भनेकी छिन् । तर, त्यसमा तीनजना प्रमुख चरित्र छन् । ठूटे कपाल भएकी, अलिक बेढंगे युवती भने दया राना दिदिको नाता पर्ने थिइन् । अर्की दया दिदीकै बहिनी ज्यानु राना (बोलक्कड) र तेस्रो पारिजात आफैं ।

अनि सुयोगवीर नि ?

त्यो पात्र भने को हो, मैले बिर्सिएँ । दाजुको साथीमध्ये कोही हुनुपर्छ, ठ्याक्कै थाहा भएन ।

अस्ति भर्खरै ‘कान्तिपुर’ (कोसेली, १४ माघ २०७९, ज्ञाने : पारिजातले रोजेको बाटो) मा पनि आयो, ‘उसले रोजेको बाटो’ को पात्र ज्ञाने धुलिखेलको पूर्णमान नै हो भनेर । ‘पर्खालभित्र पर्खाल’ बाहिरको रमेश नि ?

त्यो रमेश पात्र भने निर्मल लामा नै हो । बाटुली भनेकी कुन्द टन्डन भनेर सुनेकी हुँ । जेल पर्दाको हिरण्यलाल श्रेष्ठ र उसकी श्रीमतीको कथामा पनि बाटुली पात्र मिल्छे भन्ने सुनेकी हुँ । (दर्शकदीर्घाबाट निनु चापागाईको टिप्पणी : ‘सुकन्या आफैं पनि बाटुली हो ।’)

‘अनिँदो पहाडसँगै’ को पात्रहरू सुवानी, गोरीमाया, लाले, यम नि ?

सुवानी वसन्त पाख्रिन हो, गोरीमाया उज्याली हो । लाले भने ‘सङ अफ युथ’ (याङ मो) किताबको प्रभावमा जन्मेको पात्र हो । यम भनेको मोहनविक्रम सिंह हो ।

अब एउटा सन्दर्भमा, भर्खरै ‘सुश्री पारिजात’ किताब बजारमा आएको छ । तपाईंलाई कस्तो लाग्यो त ?

त्यो चर्चै गर्नुनपर्ने विषय हो । ऊ (लेखक गोविन्द गिरी प्रेरणा) अन्तर्वार्ता लिन आएथ्यो मसँग, केही अस्वस्थ जिज्ञासा लिएर, जुनबारे मलाई थाहा थिएन । अनि मलाई रिस उठ्यो । लेखक बारबरा निम्री अजिजले पनि भनेकी छन्– ‘उनी (गोविन्द) पारिजातबारे हरदम अनफेवरेबल भ्युजको खोजीमा थिए... !’

पारिजातले तपाईंलाई भन्नुभएको थियो— ‘म जहाँ बाँचौं तर, मर्नचाहिँ तेरै घरको सँघार चाहिन्छ ।’ पछि मृत्युपछि पारिजातको सिरानमा लेनिनको फोटो राखिएको (उहाँकै इच्छामा) सन्दर्भमा सीके प्रसाई, तोया गुरुङहरूले ‘लासमाथि राजनीति’ गरिएको भन्दै विरोध जनाउनुभएको थियो । त्यो यथार्थमा के, कस्तो अवस्था थियो ?

मार्क्सवादी दर्शन र सिद्धान्त लिइसकेपछि पारिजात अर्कै बनेकी थिइन्– आशावादी र सकारात्मक पारिजात । उनी सामाजिक कार्यकर्ता बढी भइन्, बचेरा बासदेखि बन्दी सहायता केन्द्रसम्म । लेनिनका भोल्युम–भोल्युम किताबहरू थिए । दिदीले भनेकै हो— म मर्दा सिरानीमा लेनिनको फोटो राखिदिनु र म मरेपछि मेरो शव खुलामञ्चमा राख्नू (एकेडेमी नलैजानू) ।

दर्शक जिज्ञासा — पारिजातको शंकर लामिछानेसँग पनि प्रेम थियो, दुवैको एकअर्कामा आसक्ति थियो भन्ने पनि सुनिन्छ नि ?

सुकन्या— त्यस्तो होइन, दिदीको शंकर लामिछानेसँग धेरै राम्रो सम्बन्ध थियो । दिदीको प्रेम शंकर दाइसँग थिएन, हुनै सक्दैन । ‘शिरीषको फूल’ को भूमिका लेखनदेखि त्यो पुस्तक पहिलोपटक छपाउने काम पनि शंकर दाइले गर्नुभएको थियो । दिदीको उपन्यास आएपछि शंकर दाइले हामीलाई एउटा किताब दिनुभएको थियो— ‘द सेटिङ सन’, जापानी लेखक ओसामु दाजाइको । यो उपन्यासको शून्यवादी शैली र कथानक ‘शिरीषको फूल’ मिल्दो छ भनेर ।

अब हेर्नुस्, बात त कता लाग्छ–लाग्छ । अब पारिजातको प्रेम सम्बन्ध भूपीसँग पनि थियो भनिएला । यस्ता नाम कति आए, कति । यतातिर नलागौं ।

प्रकाशित : चैत्र ४, २०७९ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्

‘विज्ञान केवल तथ्य होइन’

विज्ञान पत्रकारले बुझ्नुपर्छ– विज्ञानले कसरी काम गर्छ ! विज्ञान केवल तथ्यको सेट होइन, संसारले कसरी काम गर्छ भन्ने बुझ्ने एक प्रक्रिया हो । विज्ञान पत्रकारिता गर्नेले निकै पढ्नुपर्छ । विज्ञान लेखन बुझ्न, सिक्न कसैलाई पैसा तिरिरहनु पर्दैन, निःशुल्कै पाइने सामग्री गहिरिएर पढ्नुस् ।
गोविन्द पोखरेल

‘द ओपन नोटबुक’ का संस्थापक, प्रधान सम्पादक हुन् सिरी कार्पेन्टर (५२) । ‘द ओपन नोटबुक’ विज्ञान लेखनको विषयमा काम गर्ने म्यागजिन हो । येल विश्वविद्यालयबाट पीएचडी गरेकी कार्पेन्टर सन् १९३४ मा स्थापना भएको अमेरिकास्थित नेसनल एसोसिएसन अफ साइन्स राइटर्स (एनएएसडब्लू) की पूर्वअध्यक्ष (२०१८–२०२०) हुन् ।

विज्ञान म्यागजिन र पत्रिकामा लेखन, सम्पादनको अनुभव छ उनीसँग । सयौं विज्ञान पत्रकारलाई मेन्टरिङ गरिसकेकी छन् उनले । विज्ञान लेखनमाथिको किताब ‘द क्राफ्ट अफ साइन्स राइटिङ’ की सम्पादक कार्पेन्टरसँग विज्ञान–लेखनमाथि गोविन्द पोखरेलको संवाद :

साइकोलोजीको पीएचडी र विज्ञान पत्रकारिता, यी दुवै विषयमा एकै पटक कसरी जोडिनुभयो ?

सन् १९९० को दशकतिर पीएचडी पढिरहँदा प्रोफेसर बन्ने रुचि थिएन । एकै विषयमा मात्रै केन्द्रित भएर एउटै विषयमा अनुसन्धान गर्न नसक्ने सोचिरहेका बेला म ‘न्युयोर्क टाइम्स’ मा प्रत्येक मंगलबार छापिने स्तम्भ ‘साइन्स टाइम्स’ बाट प्रभावित भएँ । त्यस स्तम्भमा समाचार लेख्ने मानिसबारे बुझें– यो त एउटा जागिर हो । सोचेँ, यो पनि एउटा जागिर हुन सक्छ र मैले गर्नुपर्छ । तर, त्यो जागिरबारे थाहा थिएन । नेसनल एसोसिएसन अफ साइन्स राइटर्सका सदस्यहरूले त्यो स्तम्भमा लेख्थे । र, त्यो पनि एक जागिर रहेछ, विज्ञान–लेखन । त्यसपछि म विज्ञान– लेखनमा जोडिएँ ।

मान्छेहरू दुविधामा छन्– विज्ञान लेखन र विज्ञान पत्रकारिताबारे । के यी दुई फरक विषय हुन् र ?

विज्ञान पत्रकारिता विज्ञान सञ्चारको एउटा रूप हो । विज्ञान सञ्चारका विभिन्न विधा छन् । कसैले कुनै वैज्ञानिक खोजको विषयमा प्रेस–विज्ञप्ति तयार गर्दै छ भने त्यो विज्ञान सञ्चार हो, विज्ञान पत्रकारिता होइन । कुनै वैज्ञानिकले विज्ञानबारे विद्यार्थी वा अन्यलाई बुझाइरहेको छ भने त्यो विज्ञान सञ्चार हो, विज्ञान पत्रकारिता होइन । त्यसैले, विज्ञान पत्रकारिता विज्ञान सञ्चारको एउटा कर्नर हो, पत्रकारिताभित्रको एउटा क्षेत्र हो । पत्रकारिताको महत्त्वपूर्ण पाटो हो– पाठकलाई तथ्यपरक समाचार पस्कनु ।

साढे २ दशकको तपाईंको विज्ञान–लेखन अवधिमा र विज्ञान–पत्रकारितामा के कस्ता चुनौती देख्नुहुन्छ ?

दुई दशक ठूलो समय हो । दुई दशकभित्र संसारमा धेरै परिवर्तन भइसकेको छ । मैले विज्ञान–लेखन सुरु गर्दा संसारकै लागि नयाँ विषय थियो– इन्टरनेट । त्यसबेला इन्टरनेटले संसारलाई नै परिवर्तन गरिदिन्छ भनेर सोचिएन । डिजिटिल प्रविधिको विकाससँगै विज्ञान–पत्रकारितामा नवप्रवर्तन भएको छ । र, मान्छेको सोचमा बृहत् परिवर्तन आएको छ । विश्वव्यापीसँगै विज्ञान बहुविधामा जोडिएको छ । केही दशकपहिले एक विज्ञान–पत्रकारको दैनिकी हुन्थ्यो– एकल प्रयोगशालाबाट आएका व्यक्तिगत अध्ययन र निष्कर्षमाथि रिपोर्टिङ र विश्लेषण गर्नु । त्यसबेला विज्ञान समाचार एकै ठाउँमा, एकै विधामा केन्द्रित हुन्थे । अहिलेको अवस्था फेरिएको छ । विज्ञान बहु–विधागत बनेको छ, त्यहाँ समूहगत सहकार्यको आवश्यकता पर्छ । र, आज समूहगत प्रयास र सहकार्यले विज्ञानमा व्यापक अनुसन्धान भएका छन् ।

विज्ञान पत्रकार बन्न विज्ञान पढेकै व्यक्ति हुनुपर्छ ?

त्यो आवश्यक छैन, तर विषयगत ज्ञान र जानकारी हुनैपर्छ । अहिलेका चर्चित धेरे विज्ञान पत्रकारको विज्ञान विषय पढेको डिग्री छैन । तर, आफ्नो विषयमा दख्खल राख्छन् उनीहरू ।

सिरी कार्पेन्टरले सम्पादन गरेको पुस्तक ‘द क्राफ्ट अफ साइन्स राइटिङ’ ।

विज्ञान पत्रकारका लागि केही सुझाव छन् कि ?

विज्ञान पत्रकारले बुझ्नुपर्छ– विज्ञानले कसरी काम गर्छ ! विज्ञान केवल तथ्यको सेट होइन, संसारले कसरी काम गर्छ भन्ने बुझ्ने एक प्रक्रिया हो । विज्ञान पत्रकारिता गर्नेले निकै पढ्नुपर्छ । विज्ञान लेखन बुझ्न, सिक्न कसैलाई पैसा तिरिरहनु पर्दैन, निःशुल्कै पाइने सामग्री गहिरिएर पढ्नुस् । विज्ञानको कुनै एक विशेष क्षेत्र बुझ्ने प्रयत्न गर्नुहोस् । र, त्यो क्षेत्रमा भइरहेका ठूला बहसमाथि जानकारी राख्नुस् । विज्ञानका विषयमा क्षमता वृद्धि गर्न केही समय लाग्ला नै । मेरा सुझाव छ– आफ्नो काममा धेरै सम्पादन गर्नुहोस् ।

दक्षिण एसियामा विज्ञानका समाचारमार्फत मिथ्या सूचना फैलिरहेको छ । यस्तो अवस्थामा विज्ञान–पत्रकारको भूमिका के हुन्छ ?

मिथ्या सूचनाको प्रभाव दक्षिण एसियामा मात्रै होइन, संसारैभरि छ । र, यो ज्यादा खतरानक पनि छ । जस्तो कोरोना महामारीमा फैलाइएका विज्ञान स्वास्थ्यका झूटा खबर हाम्रासामु छन् । यस्ता गलत सूचना कुनै दुर्घटना वा कारणवश फैलिँदैनन्, प्रायोजित रूपमै फैलाइन्छन् । ती गलत सूचनामा धेरै नाफा लुकेको हुन्छ । तर, पत्रकारलाई यसले धेरै नै दुःख दिन्छ ।

कुनै मिथ्या सूचना भाइरल भएको देख्नुभयो भने त्यसमाथि तथ्य जाँच गरेर ‘यो गलत सूचना हो’ भनेर आलेख लेख्न सक्नुहुनेछ तपाईं । पत्रकारको त्यो आलेख धेरै पाठकमाझ नपुग्न पनि सक्छ वा त्यो खबर पाठकमाझ पुगे पनि ढिलो भइसकेको हुन सक्छ । गलत सूचना फैलाउने गिरोहले लगानी गरेरै पठाउने त्यस्ता सूचना छिटो फैलिन्छन् । र, तथ्य जाँच भएको विषय कम मान्छेकहाँ पुग्न सक्छ । कालान्तरमा त्यो तथ्यले मान्छेको विचार परिवर्तन नगर्न पनि सक्छ ।

समाचारले मानिसको मत परिवर्तन गर्न सक्छ । र, हामीले प्रसारण गर्ने समाचार ‘इमोसनल रेजोनेन्स’ होस्, जसले मानिसको मस्तिष्कमा गाडिएको मिथ्या सूचना बाहिरिओस् ।

मूलधारका मिडियाले विज्ञानका समाचारहरू कम प्राथमिकता दिन्छन् । विज्ञान समाचारलाई सम्पादकहरू किन कम स्थान दिन्छन् ?

यो अमेरिकामा पनि उठिरहने मुद्दा हो, संसारभरैको । पत्रिकाका प्रथम पृष्ठमा समाचार छापिएनन् भनेर सम्पादकलाई धेरै किसिमका दबाब आउँछन् । पाठकको रुचिका सामग्रीसँग व्यवस्थापकीय जिम्मेवारीले पनि थिचिएका हुन्छन् सम्पादक । त्यो व्यापक दबाबले उनीहरू दुविधामा हुन्छन्– के विषयलाई प्राथमिकतामा राख्ने ! विज्ञानलाई प्राथमिकता दिँदा अन्य विषय के गर्ने ? यो प्रश्नको सामना उनीहरूले प्रत्येक पल गरिरहनुपर्छ । प्रकाशनगृहले पाठकको रुचिअनुसार सामाचार लेख्दा पनि विज्ञानलाई जोड्न सक्छन् । जस्तो पब्लिक हेल्थ विषयका समाचारमा सर्वसाधारणको चासो हुनछ । त्यो विषमा जानकारीसँगै विज्ञान पनि जोडेर प्रस्तुत गर्न सकिन्छ । यसरी सर्वसाधारणको मुद्दासँगै विज्ञानका विषय तिनमा जोडेर लेख्न सकियो भने सम्पादकको पनि त्यसमा रुचि हुन सक्छ । यो क्षेत्रमा यो पत्ता लाग्यो, यो नतिजा आयो भन्नेमा सम्पादकलाई चासो नहुन सक्छ, तर पत्रकारले मुद्दासँग केन्द्रित भएर लेखे भने सम्पादकहरूले त्यसमा चासो दिन सक्छन् ।

जान्नेहरू भन्छन्– विज्ञान खर्चिलो विषय हो । र, विज्ञान पत्रकारितालाई पनि खर्चिलो नै मानिन्छ । विज्ञान सञ्चारका लागि स्थानीय भाषाको महत्त्व कति हुन्छ ?

तपाईं मान्छेले नबुझ्ने भाषा र माध्यममा सञ्चार गरिरहनुभएको छ भने यसले ती मान्छेलाई जोड्दै जोड्दैन । र, मानिसहरूले भन्ने गरेको खर्चिलो विषयको त्यो धारणा पनि बदलिन सक्दैन । यसका लागि मान्छेले बुझ्ने भाषामा सञ्चार गरिनुपर्छ । तपाईंले सञ्चार गर्नुभएको विषय समुदायले बुझ्ने भाषामा छ भने त्यस विषयमा उनीहरू चासो राख्छन् नै । तपाईंले लेखेको भाषा मान्छेले बुझेनन् भने तपाईंको मिहिनेत उसै खेर जानेछ ।

दक्षिण एसियामा विज्ञान–लेखनको सम्भावना कस्तो छ ?

दक्षिण एसियाबारे म उति जानकार छैन, तर त्यहाँका विज्ञानका धेरै समाचारबारे अमेरिकामा बस्ने सम्पादकहरूलाई थाहा छैन । आफ्नो क्षेत्रका समाचारमा सम्पादकको आँखा पर्‍यो भने त्यो पत्रकारको उपलब्धि हो ।

प्रकाशित : चैत्र ४, २०७९ ११:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×