बांगाटिंगा रूखहरू : नसुल्झिएको रहस्य- कोसेली - कान्तिपुर समाचार

बांगाटिंगा रूखहरू : नसुल्झिएको रहस्य

एक जंगलका बांगा रूख र तिनका रहस्यको कथा हो यो । मान्छेलाई अचम्ममा पारिरहन केही रहस्य कहिल्यै नसुल्झिएकै राम्रो  !
जीवा लामिछाने

पश्चिमी पोल्यान्डको ग्रिफिनो गाउँ पार गरेपछि एउटा सानो बस्ती सुरु हुन्छ– नोभोए जार्नोभा ! त्यस बस्तीसँग जोडिएको छ– एक सल्लाघारी । सल्लाघारीको यो जंगललाई स्थानीय (पोलिश) भाषामा ‘क्रिविई लास’ भनिन्छ, जसको अर्थ हुन्छ– बांगे बन– ‘क्रुक्ड फरेस्ट’ ।

यो जंगलको यस्तो नामकरण कसरी गरियो ? यो त्यही वनको आश्चर्य र रहस्यको कथा हो । त्यहाँ पुगेपछि मान्छेहरू रूखलाई आश्चर्यले केही बेर हेरिरहन्छन्, जसरी त्यो दिन मैले हेरेको थिएँ । केहीले रूखलाई मायालु बालकलाई झैं सुम्सुम्याउँछन्, जसरी त्यो दिन मैले सुम्सुम्याएको थिएँ । र, मान्छेहरू आकाशतिर बढिरहेका ती बांगा रूखको रहस्य देखेर अवाक् बन्छन्, जसरी म त्यो दिन अवाक् भएको थिएँ ।

सामान्य दृष्टिले हेर्दा जहाँ मान्छेले अपत्यारिलो चीज देख्छ, त्यसले उसलाई मनोबैज्ञानिक झट्का दिन्छ । त्यो दिन एउटा जंगलले र सामुन्ने उभिएका रूखहरूले यस्तै झट्का महसुस गराएका थिए । बर्लिन निवासी पुराना मित्र डा. केदार प्रधान र म त्यस ‘बांगे जंगल’ (क्रुक्ड फरेस्ट), ग्रिफिनोमा पुगेका थियौं– ती रूखहरू हेर्न र रहस्यका कथा सुन्न ।

...

बर्लिनमा मार्च– ७ देखि लागिरहेको थियो– ‘आईटीबी बर्लिन, २०२३’ मेला । प्रत्येक वर्ष आयोजना हुने विश्वकै अग्रणी पर्यटन मेला स्थगन भएको थियो कोरोना महामारी सुरु भएपछि । पर्यटन व्यवसायमा संलग्न हुनेका लागि यो एक सुन्दर अवसर पनि हो, जहाँ होटेल व्यवसायी, टुर अपरेटर, ट्राभल एजेन्सी, यातायात कम्पनी, बुकिङ पोर्टलहरूको जम्काभेट हुन्छ एकै स्थानमा । व्यवसाय प्रवर्द्धनको अवसर मिल्छ, नयाँ कुरा सिक्न पाइन्छ, नयाँ प्रविधि र शिल्पबारे ज्ञान हुन्छ । त्यसैले आफ्नो व्यवसायसम्बद्ध यस्ता मेलामा प्रायः हामी जाने गर्छौं । ३ वर्षपछि लाग्ने यो मेलामा सहभागी हुने निर्णय गरेपछि त्यही छेकोमा वरपरका केही ठाउँ घुम्न खोजिरहेको थिएँ म । त्यसैले मेला सुरु हुनु एक दिनअघि नै बर्लिन पुगेका थियौं हामी ।

केदार प्रधानलाई ‘क्रुक्ड फरेस्ट’ घुम्ने योजना सुनाएँ । राजधानी बर्लिननजिकै रहे पनि ‘क्रुक्ड फरेस्ट’ बारे उनलाई थाहा रहेनछ । त्यसैले उनी पनि उत्साहित भएका थिए त्यो यात्राका लागि । गुगल म्यापले भन्यो– बर्लिनबाट ग्रिफिनो मात्रै १५० किलोमिटरको दूरीमा छ ।

यी टेढा रूखहरूको वनबारे १ वर्षअघि अंग्रेजी भाषाको कुनै एक अनलाइनमा लेख पढेको थिएँ । लेखिएको थियो– जर्मनीसँग सीमा जोडिएको पोल्यान्डको ग्रिफिनो गाउँनजिक आश्चर्यमा पार्ने बांगाटिंगा रूख छन् । त्यत्रो जंगलमा केही सय रूख मात्रै किन बांगिए ? त्यो लेख पढेपछि, त्यहाँ पुग्ने हुटहुटी जागेको थियो ।

मैले कैयौं रमाइला जंगल, पार्क, रोचक बगैंचा डुलेको छु भन्ने अहं पाल्दै गर्दा कहिलेकाहीँ यस्ता रोचक ठाउँले हौस्याइरहन्छन् यात्राका लागि । र, संसारका कैयन् रहस्यबारे हाम्रो ज्ञान कति सीमित छ भन्ने अनुभूति पनि गराउँछन् ।

...

वनजंगल र रूखसँग जोडिएका यस्ता अप्राकृतिक विषय बेलाबेला विभिन्न सञ्चारमाध्यममा छाइरहन्छन् । साइबेरियाको आर्कटिक टाइगामा पाइने एक प्रजातिको रूखलाई ‘ड्रन्कन ट्री’ को उपमा दिइन्छ । त्यसैगरी दक्षिणी अमेरिकाका जंगलमा पाइने एक विषालु वृक्षको चर्चा पनि निकै सुन्न पाइन्छ ।

जंगलप्रति यतिविधि मोह मलाई किन जागेको होला ? यसको कारण खोज्दा म बाल्यकालीन दिनहरूमा विचरण गर्न पुग्छु । ती दिनमा चितवन राष्ट्रिय निकुञ्जको घना जंगलले म भित्रैदेखि डराउँथें अनि उति नै आकर्षित पनि गरिरहन्थे तिनले । ती दिनमा म कैयौं पटक एक्लै र कैयौं पटक साथीहरूसँग जंगलभित्र छिरेर चिच्याएको छु । अनौठो डर र आतंकको मज्जा लिएर घर फिरेको छु ।

सुदूर बालापनको त्यही रहरले हो सायद, बेलामौकामा जंगल पस्ने अनेक उपक्रम गरिरहेको हुन्छु म अहिले पनि ।

त्यसैले क्रुक्ड फरेस्ट पुग्न उत्साहित भइरहेको थिएँ म । ब्रेकफास्टपछि झटपट त्यता जाने हाइवे समात्यौं हामीले ।

...

जर्मनीका अधिकांश राजमार्गमा गतिको कुनै सीमा छैन । गाडीको डिजाइन–स्पिडले भ्याएसम्म निर्बाध जति पनि गाडी कुदाउन सकिन्छ । त्यसैले संसारभरिका लङ ड्राइभका पारखी ड्राइभ गर्नैका लागि मात्रै पनि जर्मनी आउने गर्छन् । गाडीले तीव्र गति समात्दै गर्दा फराकिला फाँट, पातला घर, टाढाटाढा आँखाले भ्याउन्जेलसम्मका हरियालीले आँखालाई शीतलता दिइरहे । झन्डै एक सय पचास किमि प्रतिघण्टा गतिमा हाम्रो सवारी दौडिरह्यो ।

जर्मनी र पोल्यान्ड छुट्टिने सीमारेखाछेउ जर्मनीतर्फ एक नेसनल पार्क रहेछ । हामी सिधै पोल्यान्डतर्फ लाग्यौं । युरोपमा राज्यका सीमाहरू अहिले भत्काइएका छन् । विशेषगरी एकल भिसा प्रणाली अवलम्बन गरेका सेन्जेन राज्यहरूमा कुनै औपचारिकताबिनै निर्बाध यात्रा गर्न पाइन्छ । बरु हामीलाई वीरगन्ज पारिपट्टि सीमा पार गर्न कहिलेकाहीं झन्झट आइलाग्ला, तर यहाँ त्यस्तो केही अवरोध छैन ।

दोस्रो विश्वयुद्धअघि सयौं वर्ष जर्मन साम्राज्यअन्तर्गत पोमेरेनियाको अधीनस्त भूभाग थियो ग्रिफिनो । दोस्रो विश्वयुद्धमा अमेरिका, बेलायत, रुस सम्मिलित अलाइड फोर्सले युद्ध जिते । त्यस युद्धमा जर्मनीको पराजयपछि यो भूमि पोल्यान्डको अधीनमा पुगेको हो । ग्रिफिनो गाउँ नजिकैको जंगल क्षेत्र प्रवेश गर्दा बिहानको ११ बजेको थियो । हामीसँग जंगल घुम्ने पर्याप्त समय थियो । हतारो केही थिएन । परैबाट सल्लाको एक प्रजाति (पाइन ट्री) का रूखहरूको बृहत् र घना जंगल देख्दा मन उसै रोमाञ्चित भइरहेको थियो । एकनासले सीधा हुने भएकाले ‘पाइन ट्री’ का बन त्यसै पनि रमणीय हुन्छन् ।

बांगा रूख भएको ठाउँ मूल बाटाबाट केही भित्र पर्ने रहेछ । हुन त बांगे जंगल प्रवेशका लागि संकेतपाटी सडक छेउमै टाँगिएको थियो । दायाँबायाँ हेर्दाहेर्दै त्यसमा भने नजर परेनछ । त्यसैले हामी केही अघि पुग्यौं । त्यहाँ एक जना पाको उमेरकी महिला देख्यौं । उनले गाडीभित्र गुगल म्यापमा केही हेरिरहेजस्तो लाग्यो । उनीछेउ पुगेर हामीले गाडी रोक्यौं र बांगे जंगल कता पर्छ भनी सोध्यौं । मुस्कुराउँदै उनले आफू पनि त्यही जंगल खोजिरहेको बताइन् । पोलिस भए पनि उनी जर्मन भाषा थोरबहुत बुझ्थिन् । हाम्रा लागि उनी निकै सहयोगी बनिन् । उनकै पछि लागेर अलि अघि पुगेपछि हामी गाडी पार्क गर्ने ठाउँमा पुग्यौं ।

रूखहरू जमिनबाट दुई फिट उचाइमा अंग्रेजीको ‘जे’ अक्षरको आकारमा उभिएका छन् । ती सबै उत्तरतिर ढल्किएर बांगिएका छन्, मानौं बालापनमा ध्रुवीय गुरुत्व थेग्न नसकेर कुच्चिएका हुन् ।

मलाई लागेको थियो, यत्ति चर्चित ठाउँमा केही गाइड वा जानकार मानिस अवश्य कोही न कोही भेटिएलान्, तर त्यहाँ त्यस्तो देखिएन । प्रवेशका लागि टिकट काट्नुपर्ने होला भन्ने अनुमान थियो– त्यस्तो पनि त्यहाँ देखिएन । मूलबाटाबाट २०० मिटर भित्र परेपछि बांगे वनमा पुगिने रहेछ । भर्खरै हिउँ पग्लिएको थियो, त्यसैले वन क्षेत्र पस्दा कच्ची बाटाको केही भाग हिलाम्य थियो । त्यो पार गरेपछि भने परैबाट बांगाटिंगा रूख देखिन थाले ।

रूखसँगको यो सामीप्य हाम्रा लागि अवश्य पनि नयाँ थिएन । एकदुई टेढा र बांगा रूख पनि नयाँ कुरा थिएनन् । घनाजंगलमा एकदुई यस्ता रूख अवश्य फेला पर्छन् नै ! त्यस्तै टेडामेडा रूखमा उफ्रीपाफ्री गर्दै बालापन गुजारिएकै हो । तर, एकसाथ सयौंको संख्याका रूख सल्लाहमै बांगिएजस्तो वा भनूँ, जिनमा खराबी आएपछि पूरै परिवारै एकैनाशले शारीरिक अशक्तताले थलिएझैं लहरै यस्ता रूखहरू देख्दा भने अचम्मै लाग्दोरहेछ ।

के यिनको जिनमा पनि खराबी आएर बांगिएका होलान् त ? केदारजीसँग म गनगनिएँ । केदारजी पनि मजस्तै चकित थिए र मेरा प्रश्नमा भन्दा पनि रूखहरूकै अवलोकनमा व्यस्त । एक छेउमा पोलिस भाषामा केही लेखिएको देखियो । मैले त्यसको तस्बिर लिएँ र गुगल ट्रान्स्लेट गरेँ ।

यहाँका रूखहरू जमिनबाट २ फिट जति उचाइमा अंग्रेजीको ‘जे’ अक्षरझैं आकार बनाएर बांगिएका छन् र त्यसपछि भने ९० डिग्रीमा बिलकुल सीधा ठडिएका छन् । अघिसम्मका बांगा रूखलाई मैले पनि अब ‘जे’ आकारमा देख्न थालेँ । हुन पनि सबै रूख समान छन्– झन्डै ५० फिट जति अग्ला । रूखहरू सबै उत्तर दिशातर्फ ढल्किएर बांगिएका छन्, मानौं बालापनमा तिनले ध्रुवीय गुरुत्व थेग्न नसकेर कुच्चिएका हुन् । मानौं ध्रुवीय गुरुत्व थेग्ने भएपछि आफ्नै बलमा उभिएका हुन् । बांगा रूखहरूको संख्या ४०० जति छन् भनिए पनि त्योभन्दा केही कमै होलाजस्तो लाग्यो ।

केदारजीलाई जिस्क्याएँ, ‘डाक्टर साब के कारणले यी रूखहरू एकैनासले टेढिएका होलान् त ?’ उनी पनि मैजस्तो रनभुल्लमा परिरहेका थिए, मुस्कुराए मात्रै । यस्तो रनभुल्ल हामी मात्रै होइन, यहाँ आउने जोकोही पनि पर्छन् । हामी त सामान्य अवलोकनकर्ता मात्रै हौं, वैज्ञानिक र वनविज्ञहरू पनि चकित पर्ने गर्छन् ।

रूख टेडिनुमा गुरुत्वाकर्षणको असर पनि हुन सक्छ भन्ने केहीको अनुमान छ । फेरि पनि प्रश्न उठ्छ, यति सानो क्षेत्रफलमा मात्रै किन रूखहरू बांगिए ? यो प्रश्नको जवाफ कसैसँग छैन ।

तर्कै गर्नेहरूले त दोस्रो विश्वयुद्धताका ट्यांकहरूबाट पिसिएर ती रूख टेढिएको समेत भन्छन् । युद्धका बेला हुर्कंदै गरेका बिरुवालाई ट्यांकले कुल्चेर गयो । निकै समयपछि रूखहरूले मुन्टो उठाउन थाले र टेढा भएर ती हुर्किन थाले ।

केही मानिसका लागि भने यो कुनै रहस्य हुँदै होइन । जब यी सल्लाका बिरुवा सन् १९३० को दशकतिर हुर्कंदै थिए, स्थानीय मानिसले कलिला बिरुवालाई केही फिट अग्लो भएपछि एउटै दिशातर्फ मोडेर झुकाइदिए । कलिला उमेरका रूख मोड्न सजिलो हुन्छ र ती हुर्केपछि त्यही रूपमा सधैं रहिरहने गर्छन् । यो तर्कलाई मान्ने हो भने यसो गर्नुको पनि त कुनै कारण हुनुपर्थ्यो, त्यसको चित्तबुझ्दो कुनै उत्तर छैन । केहीले चाहिँ यहाँका स्थानीय फर्निचर उद्योगीहरूमध्ये कसैले भविष्यमा फर्निचरका लागि बांगा रूख चाहिन्छ भनेर हुर्कंदै गरेका बुट्यानलाई बंग्याइदिएको हुन सक्ने तर्क गरे । तर, मानौं कुनै फर्निचर उद्योगीले भविष्यमा चाहिने बांगो रूखको आवश्यकता पूर्तिबारे सोचेको थियो भने पनि यस्तो बिरानो ठाउँभन्दा गाउँनजिकै बंग्याउँथ्यो होला ! त्यो तर्क नरुचाउनेहरूको आकलन छ– रूखलाई हुरी, बतास वा वातावरणीय प्रभाव परेको हुन सक्छ ।

यस्ता अनेकन् सम्भावनाबारे केदारजी र मैले चर्चा गर्‍यौं । तीमध्ये चित्तबुझ्दो एउटा टिप्पणीमा लगभग सहमत भयौं । त्यो के भने फर्निचर उद्योगीलाई खास किसिमका हाँगाबिँगाहरू बांगाटिंगा नै चाहिन्छन् । तिनैको आवश्यकता पूर्ति गर्न कलिलैमा तिनलाई भाँचिएको थियो, तर पछि ती रूखले आफूलाई उभ्याए ।

हाम्रो यो यात्रामा बांगे जंगलको रहस्य सुल्झिएन । कहिलेकाहीँ लाग्छ, मान्छेलाई अचम्ममा पारिरहन केही विषय नसुल्झिएकै राम्रो । मलाई यतिबेला कक्षा १० को अंग्रेजीमा पढेको एउटा च्याप्टरको स्मरण भएर आयो । च्याप्टर थियो– ‘एन अन्सोल्भड मिस्ट्री ।’ त्यसमा आन्ध्र महासागरमा उन्नाइसौं शताब्दीको उत्तरार्द्धताका अलपत्र अवस्थामा फेला परेको ‘मेरी सिलेस्ट’ नामको एउटा पानी जहाज कसरी अहिलेसम्मकै सबैभन्दा ठूलो समुद्री रहस्यका रूपमा इतिहासमा सम्झने गरिन्छ भन्नेबारे लेखिएको थियो । त्यो जहाज पानीमा तैरिरह्यो । धेरै पछि जहाज त फेला पर्‍यो, तर मानिसहरू गायब थिए । त्यत्रो ठूलो जहाजमा कति यात्रु थिए होलान् ? के सबैको मृत्यु भयो ? बाँचेका भए ती मान्छे कहाँ पुगे ? यी सबै रहस्यको आजपर्यन्त कुनै पत्यारिलो जावाफ छैन ! बिरानो ठाउँमा अनौठो चीज देख्दा मलाई त्यही जहाजको कथा याद आउँछ । त्यो जहाज नसुल्झिएको रहस्यको पोकै रहिरह्यो भनेर पढेझैं केही चीजको रहस्य रहस्य नै रहिरहन्छन् भन्ने लागिरह्यो ।

घण्टौं लगाएर सोच्दा पनि केही नसुझेपछि यति मात्रै याद आयो– चार सयको संख्यामा रहेका बांगा रूखहरू पनि क्रमशः पातलिँदै जान थालेका रहेछन् । अबका केही वर्षमा यीमध्ये केही रूख सड्दै, केही लड्दै सकिन सक्छन् । अर्का केही दशकमा यी रूखको अस्तित्वै नरहन पनि सक्ला । तर, अहिले भने वनस्पतिशास्त्रका अध्येता वा वन विशेषज्ञहरूले यो रहस्यको चित्तबुझ्दो कारण पत्ता नलगाएसम्म पर्यटकका लागि यी रूखहरू प्राकृतिक आश्चर्यका रूपमा रहिरहनेछन् ।

प्रकाशित : चैत्र ४, २०७९ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्

‘विज्ञान केवल तथ्य होइन’

विज्ञान पत्रकारले बुझ्नुपर्छ– विज्ञानले कसरी काम गर्छ ! विज्ञान केवल तथ्यको सेट होइन, संसारले कसरी काम गर्छ भन्ने बुझ्ने एक प्रक्रिया हो । विज्ञान पत्रकारिता गर्नेले निकै पढ्नुपर्छ । विज्ञान लेखन बुझ्न, सिक्न कसैलाई पैसा तिरिरहनु पर्दैन, निःशुल्कै पाइने सामग्री गहिरिएर पढ्नुस् ।
गोविन्द पोखरेल

‘द ओपन नोटबुक’ का संस्थापक, प्रधान सम्पादक हुन् सिरी कार्पेन्टर (५२) । ‘द ओपन नोटबुक’ विज्ञान लेखनको विषयमा काम गर्ने म्यागजिन हो । येल विश्वविद्यालयबाट पीएचडी गरेकी कार्पेन्टर सन् १९३४ मा स्थापना भएको अमेरिकास्थित नेसनल एसोसिएसन अफ साइन्स राइटर्स (एनएएसडब्लू) की पूर्वअध्यक्ष (२०१८–२०२०) हुन् ।

विज्ञान म्यागजिन र पत्रिकामा लेखन, सम्पादनको अनुभव छ उनीसँग । सयौं विज्ञान पत्रकारलाई मेन्टरिङ गरिसकेकी छन् उनले । विज्ञान लेखनमाथिको किताब ‘द क्राफ्ट अफ साइन्स राइटिङ’ की सम्पादक कार्पेन्टरसँग विज्ञान–लेखनमाथि गोविन्द पोखरेलको संवाद :

साइकोलोजीको पीएचडी र विज्ञान पत्रकारिता, यी दुवै विषयमा एकै पटक कसरी जोडिनुभयो ?

सन् १९९० को दशकतिर पीएचडी पढिरहँदा प्रोफेसर बन्ने रुचि थिएन । एकै विषयमा मात्रै केन्द्रित भएर एउटै विषयमा अनुसन्धान गर्न नसक्ने सोचिरहेका बेला म ‘न्युयोर्क टाइम्स’ मा प्रत्येक मंगलबार छापिने स्तम्भ ‘साइन्स टाइम्स’ बाट प्रभावित भएँ । त्यस स्तम्भमा समाचार लेख्ने मानिसबारे बुझें– यो त एउटा जागिर हो । सोचेँ, यो पनि एउटा जागिर हुन सक्छ र मैले गर्नुपर्छ । तर, त्यो जागिरबारे थाहा थिएन । नेसनल एसोसिएसन अफ साइन्स राइटर्सका सदस्यहरूले त्यो स्तम्भमा लेख्थे । र, त्यो पनि एक जागिर रहेछ, विज्ञान–लेखन । त्यसपछि म विज्ञान– लेखनमा जोडिएँ ।

मान्छेहरू दुविधामा छन्– विज्ञान लेखन र विज्ञान पत्रकारिताबारे । के यी दुई फरक विषय हुन् र ?

विज्ञान पत्रकारिता विज्ञान सञ्चारको एउटा रूप हो । विज्ञान सञ्चारका विभिन्न विधा छन् । कसैले कुनै वैज्ञानिक खोजको विषयमा प्रेस–विज्ञप्ति तयार गर्दै छ भने त्यो विज्ञान सञ्चार हो, विज्ञान पत्रकारिता होइन । कुनै वैज्ञानिकले विज्ञानबारे विद्यार्थी वा अन्यलाई बुझाइरहेको छ भने त्यो विज्ञान सञ्चार हो, विज्ञान पत्रकारिता होइन । त्यसैले, विज्ञान पत्रकारिता विज्ञान सञ्चारको एउटा कर्नर हो, पत्रकारिताभित्रको एउटा क्षेत्र हो । पत्रकारिताको महत्त्वपूर्ण पाटो हो– पाठकलाई तथ्यपरक समाचार पस्कनु ।

साढे २ दशकको तपाईंको विज्ञान–लेखन अवधिमा र विज्ञान–पत्रकारितामा के कस्ता चुनौती देख्नुहुन्छ ?

दुई दशक ठूलो समय हो । दुई दशकभित्र संसारमा धेरै परिवर्तन भइसकेको छ । मैले विज्ञान–लेखन सुरु गर्दा संसारकै लागि नयाँ विषय थियो– इन्टरनेट । त्यसबेला इन्टरनेटले संसारलाई नै परिवर्तन गरिदिन्छ भनेर सोचिएन । डिजिटिल प्रविधिको विकाससँगै विज्ञान–पत्रकारितामा नवप्रवर्तन भएको छ । र, मान्छेको सोचमा बृहत् परिवर्तन आएको छ । विश्वव्यापीसँगै विज्ञान बहुविधामा जोडिएको छ । केही दशकपहिले एक विज्ञान–पत्रकारको दैनिकी हुन्थ्यो– एकल प्रयोगशालाबाट आएका व्यक्तिगत अध्ययन र निष्कर्षमाथि रिपोर्टिङ र विश्लेषण गर्नु । त्यसबेला विज्ञान समाचार एकै ठाउँमा, एकै विधामा केन्द्रित हुन्थे । अहिलेको अवस्था फेरिएको छ । विज्ञान बहु–विधागत बनेको छ, त्यहाँ समूहगत सहकार्यको आवश्यकता पर्छ । र, आज समूहगत प्रयास र सहकार्यले विज्ञानमा व्यापक अनुसन्धान भएका छन् ।

विज्ञान पत्रकार बन्न विज्ञान पढेकै व्यक्ति हुनुपर्छ ?

त्यो आवश्यक छैन, तर विषयगत ज्ञान र जानकारी हुनैपर्छ । अहिलेका चर्चित धेरे विज्ञान पत्रकारको विज्ञान विषय पढेको डिग्री छैन । तर, आफ्नो विषयमा दख्खल राख्छन् उनीहरू ।

सिरी कार्पेन्टरले सम्पादन गरेको पुस्तक ‘द क्राफ्ट अफ साइन्स राइटिङ’ ।

विज्ञान पत्रकारका लागि केही सुझाव छन् कि ?

विज्ञान पत्रकारले बुझ्नुपर्छ– विज्ञानले कसरी काम गर्छ ! विज्ञान केवल तथ्यको सेट होइन, संसारले कसरी काम गर्छ भन्ने बुझ्ने एक प्रक्रिया हो । विज्ञान पत्रकारिता गर्नेले निकै पढ्नुपर्छ । विज्ञान लेखन बुझ्न, सिक्न कसैलाई पैसा तिरिरहनु पर्दैन, निःशुल्कै पाइने सामग्री गहिरिएर पढ्नुस् । विज्ञानको कुनै एक विशेष क्षेत्र बुझ्ने प्रयत्न गर्नुहोस् । र, त्यो क्षेत्रमा भइरहेका ठूला बहसमाथि जानकारी राख्नुस् । विज्ञानका विषयमा क्षमता वृद्धि गर्न केही समय लाग्ला नै । मेरा सुझाव छ– आफ्नो काममा धेरै सम्पादन गर्नुहोस् ।

दक्षिण एसियामा विज्ञानका समाचारमार्फत मिथ्या सूचना फैलिरहेको छ । यस्तो अवस्थामा विज्ञान–पत्रकारको भूमिका के हुन्छ ?

मिथ्या सूचनाको प्रभाव दक्षिण एसियामा मात्रै होइन, संसारैभरि छ । र, यो ज्यादा खतरानक पनि छ । जस्तो कोरोना महामारीमा फैलाइएका विज्ञान स्वास्थ्यका झूटा खबर हाम्रासामु छन् । यस्ता गलत सूचना कुनै दुर्घटना वा कारणवश फैलिँदैनन्, प्रायोजित रूपमै फैलाइन्छन् । ती गलत सूचनामा धेरै नाफा लुकेको हुन्छ । तर, पत्रकारलाई यसले धेरै नै दुःख दिन्छ ।

कुनै मिथ्या सूचना भाइरल भएको देख्नुभयो भने त्यसमाथि तथ्य जाँच गरेर ‘यो गलत सूचना हो’ भनेर आलेख लेख्न सक्नुहुनेछ तपाईं । पत्रकारको त्यो आलेख धेरै पाठकमाझ नपुग्न पनि सक्छ वा त्यो खबर पाठकमाझ पुगे पनि ढिलो भइसकेको हुन सक्छ । गलत सूचना फैलाउने गिरोहले लगानी गरेरै पठाउने त्यस्ता सूचना छिटो फैलिन्छन् । र, तथ्य जाँच भएको विषय कम मान्छेकहाँ पुग्न सक्छ । कालान्तरमा त्यो तथ्यले मान्छेको विचार परिवर्तन नगर्न पनि सक्छ ।

समाचारले मानिसको मत परिवर्तन गर्न सक्छ । र, हामीले प्रसारण गर्ने समाचार ‘इमोसनल रेजोनेन्स’ होस्, जसले मानिसको मस्तिष्कमा गाडिएको मिथ्या सूचना बाहिरिओस् ।

मूलधारका मिडियाले विज्ञानका समाचारहरू कम प्राथमिकता दिन्छन् । विज्ञान समाचारलाई सम्पादकहरू किन कम स्थान दिन्छन् ?

यो अमेरिकामा पनि उठिरहने मुद्दा हो, संसारभरैको । पत्रिकाका प्रथम पृष्ठमा समाचार छापिएनन् भनेर सम्पादकलाई धेरै किसिमका दबाब आउँछन् । पाठकको रुचिका सामग्रीसँग व्यवस्थापकीय जिम्मेवारीले पनि थिचिएका हुन्छन् सम्पादक । त्यो व्यापक दबाबले उनीहरू दुविधामा हुन्छन्– के विषयलाई प्राथमिकतामा राख्ने ! विज्ञानलाई प्राथमिकता दिँदा अन्य विषय के गर्ने ? यो प्रश्नको सामना उनीहरूले प्रत्येक पल गरिरहनुपर्छ । प्रकाशनगृहले पाठकको रुचिअनुसार सामाचार लेख्दा पनि विज्ञानलाई जोड्न सक्छन् । जस्तो पब्लिक हेल्थ विषयका समाचारमा सर्वसाधारणको चासो हुनछ । त्यो विषमा जानकारीसँगै विज्ञान पनि जोडेर प्रस्तुत गर्न सकिन्छ । यसरी सर्वसाधारणको मुद्दासँगै विज्ञानका विषय तिनमा जोडेर लेख्न सकियो भने सम्पादकको पनि त्यसमा रुचि हुन सक्छ । यो क्षेत्रमा यो पत्ता लाग्यो, यो नतिजा आयो भन्नेमा सम्पादकलाई चासो नहुन सक्छ, तर पत्रकारले मुद्दासँग केन्द्रित भएर लेखे भने सम्पादकहरूले त्यसमा चासो दिन सक्छन् ।

जान्नेहरू भन्छन्– विज्ञान खर्चिलो विषय हो । र, विज्ञान पत्रकारितालाई पनि खर्चिलो नै मानिन्छ । विज्ञान सञ्चारका लागि स्थानीय भाषाको महत्त्व कति हुन्छ ?

तपाईं मान्छेले नबुझ्ने भाषा र माध्यममा सञ्चार गरिरहनुभएको छ भने यसले ती मान्छेलाई जोड्दै जोड्दैन । र, मानिसहरूले भन्ने गरेको खर्चिलो विषयको त्यो धारणा पनि बदलिन सक्दैन । यसका लागि मान्छेले बुझ्ने भाषामा सञ्चार गरिनुपर्छ । तपाईंले सञ्चार गर्नुभएको विषय समुदायले बुझ्ने भाषामा छ भने त्यस विषयमा उनीहरू चासो राख्छन् नै । तपाईंले लेखेको भाषा मान्छेले बुझेनन् भने तपाईंको मिहिनेत उसै खेर जानेछ ।

दक्षिण एसियामा विज्ञान–लेखनको सम्भावना कस्तो छ ?

दक्षिण एसियाबारे म उति जानकार छैन, तर त्यहाँका विज्ञानका धेरै समाचारबारे अमेरिकामा बस्ने सम्पादकहरूलाई थाहा छैन । आफ्नो क्षेत्रका समाचारमा सम्पादकको आँखा पर्‍यो भने त्यो पत्रकारको उपलब्धि हो ।

प्रकाशित : चैत्र ४, २०७९ ११:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×