१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

घरमै थियो किताबको कुन्यु

लेखक इल्या भट्टराईको नयाँ नियात्रा–किताब ‘मिसर’ हालै बजारमा आएको छ, यसअघि उनका ५ कथासंग्रह र ४ नियात्रासंग्रह प्रकाशित भइसकेका छन्
कान्तिपुर संवाददाता

मिसर अर्थात् मिश्र
मेरो किताबको नाम ‘मिसर’ कसरी रह्यो ? पाठकको जिज्ञासा छ । यसको उत्तर खोज्दै गए इजिप्ट पुगिन्छ । इजिप्टलाई मिश्र पनि भनिन्छ । वास्तवमा मिश्रेलीहरू आफ्नो देशलाई मिश्र नै भन्थे । पछि ग्रिकहरूले मिश्रको नाम इजिप्ट राखे । स्थानीयहरू मिश्रलाई मिसर भन्छन् । यसरी मेरो किताबको नाम पनि मिसर रह्यो । यो एउटा नियात्रा–किताब हो । प्राचीनकालको मिश्रको इतिहासदेखि आधुनिक मिश्र तथा त्यहाँका प्रख्यात पर्यटकीय दर्शनीय स्थानबारे पाठकलाई जानकारी होस् भनेर मैले यो किताब लेखें ।

घरमै थियो किताबको कुन्यु

इजिप्ट वा मिश्र विश्वमै प्राचीनतम् सभ्यताको उद्गम भएको देश हो । यो देशको इतिहास पाँच हजार वर्षभन्दा पनि पुरानो छ । पाँच हजार वर्षअघि नै मिश्र सभ्य र विकसित देश थियो । मेरो किताबले इजिप्टको त्यही जल्दोबल्दो इतिहास भन्छ । त्यो देशको प्राचीन धर्म र संस्कृति भन्छ । त्यसबेलाका प्राचीन मिश्रेली राजा र जनताको जीवनशैली भन्छ । उबेला मिश्रेलीहरू कति सभ्य र उन्नत थिए ? त्यो कथा भन्छ । मिश्रेलीहरूले लगभग साढे चार हजार वर्षअघि बनाएका पिरामिडमाथि पनि लेखेको छु ।

किताबका पुराना यादहरू

जीवनका अरू दैनन्दिनी कामजस्तै पढ्नु पनि मेरा लागि अनिवार्य कर्म हो । बाल्यकालमा होस सम्हालेदेखि नै वरिपरि पुस्तक देखेरै हुर्किएँ म । खासमा हाम्रो घरमा किताबको डंगुरै थियो अर्थात् त्यो किताबको कुन्युँ नै थियो । बाल्यकालदेखि नै जानीनजानी पुतली र किताबहरूसँग खेल्यौं । प्यूखाटोलको हामी बस्ने घरअघि लेखक उत्तम कुँवर, मेरो जेठो दाजु विनोद दीक्षितहरूले राष्ट्रिय पुस्तकालय खेल्नुभएको थियो । त्यो पुस्तकालयको नियमित ग्राहक थियौं म र मेरो कान्छो दाजु । हामी पुस्तकालयबाट ‘तोतामैनाको कथा’, ‘गुलबकावलीको कथा’, ‘शेखचिल्लीको कथा’, ‘हातिमताईको कथा’, ‘सहस्र रजनी’ (अरेबियन नाइट्स) आदि किताब ल्याएर पढ्थ्यौं । यसरी बाल्यकालदेखि नै हामीलाई पुस्तक पढ्ने बानी लाग्यो । त्यो बानी हुर्कंदै जाँदा बढ्दै गयो ।

जानीनजानी मैले घरमा भएका पिताजी (मदनमणि दीक्षित) का संग्रहका पुस्तक पढ्न थालेँ । ती संग्रहमा अधिकांश रुसी र हिन्दी साहित्यका पुस्तक हुन्थे । रुसी साहित्यकार तोल्सतोय, चेखव, गोर्की, दोस्तोयव्स्की, हिन्दीका मन्टो, कृश्नचन्दर, अमृता प्रितम, आचार्य चतुरसेन, यसपाल, राजेन्द यादव, शिवानीहरूलाई किशोरकालदेखि नै पढें । जासुसीतर्फ वेदप्रसाद, काम्बोजका प्रायः सबै उपन्यास पढेकी थिएँ ।

पिताजी अर्थात् दाजुसँग हामी पाँचै सन्तान खुब डराउँथ्यौं । हुन त उहाँले हामीलाई कहिल्यै गाली गर्नुभएन, पिट्नुभएन । तर, खै किन हो उसै डर लाग्थ्यो ।

उहाँ घरमा छँदा हामी ज्ञानी बालक बन्थ्यौं । उहाँ कहिल्यै घरव्यवहार हेर्नु हुन्थेन । हामी छोराछोरीको उमेर कति भयो भन्ने पनि उहाँलाई ठ्याक्कै थाहा हुँदैनथ्यो । हामीहरू कति कक्षामा पढ्छौं, त्यो पनि थाहा हुँदैनथ्यो । हामी दाजुसँग नजिकिनै पाएनौं ।

त्यसो हुँदा उहाँले हामीलाई ‘यो पढ, त्यो पढ’ भन्नुभएन । तर, म उहाँको व्यक्तित्वबाट निकै प्रभावित थिएँ । र, उहाँजस्तो ठूलो मानिस हुन सक्छौं भन्ने पनि जीवनमा कहिल्यै लागेन ।

पिताजीको ‘समीक्षा’ पत्रिकाले धेरैलाई साहित्यकार बनायो । म फाट्टफुट्ट त लेख्थें, तर पिताजीलाई ‘समीक्षा’ मा ‘छापिदिनुस् न’ भन्ने आँट ममा कहिल्यै आएन । उहाँलाई त म पनि लेख्छु भन्ने कहिल्यै थाहै भएन ।

यी चार किताब

मैले पछिल्लो समय पढेका पुस्तक हुन्– इरावती कर्वेको ‘युगान्त’ (अनुवाद : सुजित मैनाली), मोहन मैनालीको ‘मान्ठा डराएको जुग’, विक्रमभक्त जोशीको ‘चोभार ब्लुज’ र विष्णुप्रसाद शर्माको ‘डोल्पो : विश्वको जीवित संग्रहालय’ ।

इरावती कर्वेले महाभारतलाई इतिहास मानेर विशेष व्याख्या गरेकी छन् । मोहन मैनालीले माओवादी युद्धको समयका बीभत्स र दारुण चित्र लेखेका छन् । त्यो किताबले युद्धको सही तस्बिर देखाउँछ । विक्रमभक्त जोशीले पर्यावरणलाई ध्यानमा राखी फरक शिल्प र शैलीमा रोचक कथा लेखेका छन् । विष्णुप्रसाद शर्माले नेपालको डोल्पो क्षेत्रको भ्रमण गरेर यो देशको अनमोल प्रकृति र प्राकृतिक सम्पदा हामीलाई निचाएका छन् ।

‘युगान्त’ ले महाभारतलाई नयाँ ढंगले बुझ्न मद्दत गर्छ । ‘मान्ठा डराएको जुग’ ले माओवादी युद्धकालीन समयमा नेपालका दूरदराज क्षेत्रले भोगेको परिस्थितिको बयान गर्छ । ‘चोभार ब्लुज’ ले सहर र संस्कृतिको नयाँ अनुहार देखाउँछ । ‘डोल्पो : विश्वको जीवित संग्रहालय’ ले आफ्नो देशप्रति गर्व गर्न सिकाउँछ ।

म फिक्सन र ननफिक्सन दुवै पढ्छु । तर, मलाई आख्यान र यात्रासम्बन्धी साहित्य बढी मन पर्छ । मेरो बुझाइमा आफ्नो जीवनलाई प्रभाव पार्ने पुस्तक पढ्नुपर्छ ।

प्रकाशित : फाल्गुन २७, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?