जोगाऔँ अँध्यारो- कोसेली - कान्तिपुर समाचार
प्रकाश प्रदूषण

जोगाऔँ अँध्यारो

मान्छेले उज्यालोलाई असाध्यै महत्त्व दियो । तर, अब मान्छे–निर्मित उज्यालो नै मान्छेका लागि अभिशाप बन्दै छ । व्यापक प्रयोग भइरहेको कृत्रिम उज्यालोले निर्माण गरेको वर्तमान परिस्थिति भयावह छ । अब भन्नैपर्छ– ‘अँध्यारो जोगाऔं’ !
मणि दाहाल, प्रदीप घिमिरे

हामीले ‘अँध्यारोबाट उज्यालोतिर’ को यात्रामाथि अनेक गीत, कथा, कविता पढेका छौं, उपदेश सुनेका छौं । तर, पछिल्लो समय अत्यधिक प्रयोग हुन थालेको कृत्रिम उज्यालोले हाम्रो वरिपरिको परिस्थिति यस्तो बनेको छ कि अब हामीले भन्नैपर्ने भएको छ– ‘अँध्यारोलाई जोगाऔँ’ !

अमेरिका, सन् १९९४, जनवरी १७ को बिहान । लस एन्जलसवासी बिउँझिए ६.७ म्याग्निच्युटको ‘नर्थरिज भूकम्प’ को धक्काले । भुइँचालोले पूरै सहरमा बिजुली बन्द भएको थियो । स्थानीय समयअनुसार, बिहान साढे ४ बजेको थियो, त्यसैले सडकमा मोटर निकै कम थिए । उनीहरूलाई चकमन्न अँध्यारोले अत्याएको थियो । भूकम्पले सातो लिएका मानिसहरू छरछिमेकमा बिजुली छ कि छैन भनेर हेर्न थाले । त्यस रात जब उनीहरूले आकाशतिर हेरे, त्यहाँ चाँदीजस्तो ठूलो बादल देखे । त्यसले झनै अत्यायो । उनीहरूमध्ये केहीले अनिष्ट हुन लाग्यो भन्ठाने र आपत्कालीन सेवाको ‘९११’ मा फोन पनि गरे । त्यो लस एन्जलसवासीले देखेको कुनै अनौठो दृश्य थिएन, हाम्रो सौर्यमण्डलसमेत रहेको आकाशगंगा थियो ।

हामी भने अलि फरक परिस्थितिमा हुर्कियौं । हाम्रो गाउँतिर विद्युतीकरण भएको केही वर्ष मात्रै भएको छ । बिजुली पुगेका ठाउँमा समेत पर्याप्त बत्ती आउँदैन । २–३ दशकअघिको समय झनै फरक थियो । सम्साझै अँध्यारो हुन्थ्यो र टुकी बाल्थ्यौं । कृष्णपक्ष सुरु भएपछि दैनिक २ घडीले अँध्यारो बढ्दै जान्थ्यो । कृष्णपक्ष आधा सकिँदासमेत चन्द्रमा देख्न पाउने सम्भावना कम हुन्थ्यो । त्यस्ता रातहरूमा तारा चिन्ने कोसिस गर्थ्यौं हामी । घरका ठूलाबडाले कुन तारा कतिखेर उदायो र कति माथि आयो भन्ने आधारमा कति बज्यो होला भन्ने अनुमान गर्थे । नभन्दै घडी हेर्दा पनि त्यसकै आसपासको समय हुन्थ्यो । हाम्रो हिसाब सामान्य थियो । साढे २ घडीको एक घण्टाको दरले हिसाब हुन्थ्यो । हामी भने खासै अरू तारा चिन्दैनथ्यौं सिवाय ध्रुवतारा ।

शुक्ल पक्ष सुरु भएपछि चम्किलो चन्द्रमा पुनः आकाशमा उदाउँथ्यो । दैनिक दुई घडी बढ्दै जान्थ्यो । रातहरू रमाइलो हुँदै जान्थे । हामी जता सर्थ्यौं जूनले पनि हामीलाई त्यतै पछ्याउँथ्यो । अब धेरै कुरा बदलियो । आकाशमा आक्कलझुक्कल जून देखिन थालेको छ । आकाशगंगा देख्न पाउनु त टाढाकै कुरा भयो ।

...

काठमाडौं होस् कि लस एन्जलस, समस्या एकै थियो । यो कथा काठमाडौं वा लस एन्जलसको मात्रै होइन । विश्वका प्रायःजसो सहरको समस्याका रूपमा प्रकाश प्रदूषण देखा पर्न थालिसकेको छ । कृत्रिम प्रकाशले अँध्यारोलाई निल्दै गएको छ, जसले मानिसको सुत्ने तौरतरिका मात्रै होइन प्राकृतिक चक्रलाई पनि असर पारिरहेको छ ।

अमेरिकन एसोसिएसन अफ एड्भान्समेन्ट अफ साइन्सको जर्नल ‘साइन्स पर्स्पेक्टिभ’ को जनवरीको अंकमा प्रकाशित एक रिपोर्टअनुसार, संसारभर पछिल्लो एक दशकमा प्रकाश प्रदूषणको मात्रा प्रत्येक वर्ष करिब १० प्रतिशतले बढेको छ । यसअघि २ प्रतिशत जति मात्रै भएको अनुमान गरिएको थियो । समुदायमा आधारित परियोजना ‘ग्लोबल एट नाइट’ ले सिटिजन साइन्टिस्टको प्रयोग गरेर सन् २०११ देखि २०२२ सम्म कृत्रिम प्रकाशको अवस्था मापन गरेको थियो । त्यस अनुसन्धानले प्रत्येक ८ वर्षमा प्रकाश प्रदूषण दोब्बर भएको देखाएको छ ।

रातको समयमा पृथ्वीको ठूलो अंशमा पर्ने चम्किलो आकाश सबै सजीवका लागि गम्भीर खतरा भएको वैज्ञानिकले बताएका छन् । उनीहरूले अहिलेको नीतिले विश्व र क्षेत्रीयस्तरमा देखिएको समस्यालाई सम्बोधन गर्न नसक्ने बताएका छन् । ‘वर्ल्ड एटलस अफ आर्टिफिसिएल नाइट स्काई ब्राइटनेस’ का अनुसार, हङकङ विश्वको सबैभन्दा बढी प्रकाश प्रदूषण हुने सहर हो । त्यहाँ रातको समयमा उज्यालोको परिणाम प्राकृतिक स्तरभन्दा सय गुणा बढी छ । त्यहाँको गगनचुम्बी भवन र धेरै जनघनत्वले त्यो सहर प्रकाश प्रदूषणको थलो बनेको छ । यसै पङ्क्तिमा एसियामा अन्य सहरहरू सिंगापुर, सोल र सांघाई पनि पर्छन् । सिंगापुरमा ८० गुणा, सोउलमा ७० र संघाईमा ६० गुणा बढी प्रकाश प्रदूषण छ । त्यसैगरी युरोपमा पेरिस, रोम र मेड्रिड धेरै प्रकाश प्रदूषण भएका सहरको सूचीमा शीर्ष स्थानमा आउँछ । पेरिसमा ४० गुणा, रोममा ३० गुणा र मेड्रिडमा २५ गुणा प्राकृतिक स्तरभन्दा बढी प्रकाश प्रदूषण छ । अमेरिकामा लस एन्जलस, न्युयोर्क र सिकागोमा यस्तो प्रदूषण छ । लस एन्जलसमा ३०, न्युयोर्कमा २५ र सिकागोमा २० गुणा बढी छ । अहिलेसम्म प्रकाश प्रदूषणलाई खगोलको विषयसँग मात्रै जोडेर हेर्ने गरिए पनि त्यसले प्राकृतिक रूपमा ठूलै असन्तुलन उत्पन गर्ने अध्येताहरूको दाबी छ ।

प्रकाश प्रदूषणले मानव र प्रकृति दुवैलाई असर गर्छ, जसले हाम्रो सुत्ने–उठ्ने तरिकालाई प्रभावित गर्नेदेखि पर्यावरणीय चक्रलाई समेत गम्भीर प्रभाव पारिरहेको हुन्छ । रातको चमचमाउँदो कृत्रिम उज्यालोले प्रकाश र अन्धकारको प्राकृतिकपनामा अवरोध उत्पन्न गराउँछ ।

जलवायु परिवर्तनमा योगदान गर्ने हरितगृह ग्यास उत्सर्जनलाई समेत अत्यधिक प्रकाशले बढाउने अध्ययनले देखाएको छ । पृथ्वीको अधिकांश ठाउँ कृत्रिम उज्यालोले जगमगाउँदो र आकर्षक देखिए पनि लामो अत्यधिक उज्यालोले विभिन्न प्रकारका स्वास्थ्य समस्या पैदा गरिरहेको छ । हाम्रो सुत्ने र उठ्ने समय मिलाउने ‘बायोलोजिक क्लक’ लाई यसले बिगारेको छ । यही बायोलोजिकल क्लक प्रकाशको वरिपरि घुमेको हुन्छ । यसको चक्र बिग्रँदा हाम्रो सुत्ने–उठ्ने चक्र प्रभावित हुन्छ । यो चक्रलाई प्रकाशले प्रभाव पार्छ । हामी मानिस दिनमा सक्रिय र रातमा निष्क्रिय हुन्छौं । हाम्रो शरीरमा मेलाटोनिन् भन्ने हर्मोन छ । अँध्यारोमा यसको उत्पादन बढ्दा हामीलाई निद्रा लाग्छ । उज्यालोले यसको उत्पादन घटाउँछ अनि हामी सुत्न सक्दैनौं ।

लोडसेडिङले हत्तुहैरान भएका, बल्लबल्ल धीत मर्ने गरी बिजुली बाल्न पाएका नेपालीलाई अँध्यारो जोगाउने विषय निकै अनौठो लाग्न सक्छ । तर, वैश्विक परिवेशको परिस्थिति निकै फरक बनिरहेको छ । ५० हजार वर्षपछि गत साता पृथ्वीनजिक आएको थियो हरियो पुच्छ्र्रेतारा । त्यो हेर्न खोजेका थिए मान्छेहरूले । तर, काठमाडौंमा प्रकाश प्रदूषण ह्वात्तै बढेका कारण त्यो देख्न कठिनाइ भएको बताए खगोलशास्त्रीले । धेरै मान्छे खुला र प्रकाश प्रदूषण नभएको ठाउँ खोज्दै नगरकोटतिर पुगेका थिए । केही वर्षअघि यसैगरी उल्कापात हेर्न अँध्यारो खोज्दै मानिसहरू दक्षिणकाली पुगेका थिए ।

सहरी क्षेत्रमा अहिले जूनकिरी देख्नु असम्भवजस्तै भइसकेको छ । चमेराको संख्या घट्दै गएको छ र लाटोकोरेसोजस्ता पन्छीहरू पनि देखिन छाडेका छन् । इन्टरनेसनल डार्क स्काई एसोसिएसनका अनुसार, संसारका अधिकांश मुलुकका राजधानी सहरमा प्रकाश प्रदूषण बढ्दो क्रममा छ । उक्त संस्थाका अनुसार, अमेरिकाका दुईतिहाइ र युरोपका आधाजसो मानिसले ‘डार्क स्काई’ देख्न छाडेका छन् । हामीले प्रयोग गर्ने बत्तीले दिने उज्यालोको ४० प्रतिशत हिस्सा खेर जाने अध्ययनले देखाएका छन् । खेर जाने यस्ता प्रकाश प्रतिविम्बित भएर आकाशतर्फ जान्छन् । यसले आकाशको प्राकृतिक स्वरूप बदलिन्छ र आकाशलाई उज्यालो बनाइदिन्छ । ‘साइन्स एड्भान्स’ जर्नलमा ‘वर्ल्ड एट्लास’ ले प्रकाशित गरेको एक अनुसन्धानको निष्कर्ष छ– संसारका ८० प्रतिशत मानिस रातको समयमा अँध्यारो आकाश देख्दैनन् ।

सामुद्रिक क्षेत्रका कछुवा र चराहरू द्विविधामा छन् । चन्द्रमाको प्रकाशका आधारमा बसाइँ सर्ने तिनले प्रकाश प्रदूषणकै कारण बाटो बिर्सिन थालेका छन् ।

प्रकाश प्रदूषणकै कारण राति परागसेचनामा सघाउने कीराहरूको उपस्थिति ६० प्रतिशतले घटेको छ । यसको असर सिधै कृषिमा देखिन्छ । चन्द्रमा हेरर बसाइँसराइ गर्ने चराहरूको यात्रालाई प्रकाश प्रदूषणले चुनौती थपिदिएको छ । नेसनल जिओग्राफिकका अनुसार, प्रकाश प्रदूषणकै कारण अमेरिकामा मात्रै वार्षिक करोडौं चरा गगनचुम्बी भवनमा ठोक्किएर मर्छन् । डार्क स्काई एसोसिएसनको अनुसन्धानले भन्छ– चरा मात्रै होइन, सामुद्रिक माछा सलोमनको बसाइँसराइलाई पनि प्रकाश प्रदूषणले असर पारेको छ ।

‘तमसोमा ज्योतिर्गमय’– बृहदारण्यकोपनिषद्को यो ऋचामा भनिएजस्तै कुनै समयमा मानिसहरू अँध्यारोबाट उज्यालोतर्फ जान लालायित थिए, त्यो चाहे ज्ञानमा होस् वा दैनिक जीवनमा । उज्यालो भन्नासाथ अहिले प्रायःको दिमागमा एउटै कुरा आउँछ – बिजुली । तर, बिजुलीको आविष्कार हुनुभन्दा हजारौं वर्षअघिदेखि उज्यालोका लागि ग्रहहरूको प्रकाशमा भर पर्नुपर्ने अवस्था थियो । वेद भन्छ– संसार सृष्टि हुनुअघि हराउँदै नहराउने अज्ञात स्थिर र निष्क्रिय तरल पदार्थजस्तो अँध्यारोले ब्रह्माण्ड व्याप्त थियो, अँध्यारो नै बह्माण्डको मूल तत्त्व अर्थात् ऊर्जा हो । यसैबाट प्रकृतिको गर्भमा कैयौं आकाशगंगा तीव्रताका साथ अस्तित्वमा आए । आकाशगंगा र ग्रहहरूको उत्पत्ति अथवा निर्माणबाट संसार प्रज्वलित हुन थाल्यो, फलस्वरूप ब्रह्माण्डमा सृष्टि सम्भव भयो । तर, यदि कुनै पनि विषयको अत्यधिक प्रयोग हुन थाल्यो भने त्यसले कतै न कतै गम्भीर असर गरिराखेकै हुन्छ । उज्यालोलाई मानिसले यति महत्त्व दियो कि अब मानवनिर्मित उज्यालो नै मान्छेका लागि अभिशाप बन्ने समय नआउला भन्न सकिन्न ।

अँध्यारोबाट उज्यालोतर्फ जान चाहने मानव सभ्यताले कालान्तरमा यति धेरै उज्यालोको सामना गरिरहेको छ कि फलस्वरूप मानिस अँध्यारो खोज्न थाले । त्यसलाई झन् सहज ढंगले बुझ्न एउटा उदाहरण पढौं– हामीले दैनिक प्रयोग गर्ने विद्युतीय साधन मोबाइल, कम्प्युटरमा हुने डार्कमोडको प्रयोग । विभिन्न अध्ययन अनुसार, ७० प्रतिशतभन्दा बढी प्रयोगकर्ताले आफ्ना विद्युतीय साधनमा डार्क मोड राखेको पाइएको छ ।

अहिले हाम्रो वातावरणमा जति प्रदूषण भइरहेको छ, तीमध्ये सबैभन्दा बढी मानवनिर्मित साधनबाटै भएको छ । नेसनल जियोग्राफ्रिकमा प्रकाशित एक लेख अनुसार, कृत्रिम उज्यालोको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा मात्रै होइन पशुपन्छीको व्यवहार र रातको समयमा आकाशीय पिण्डको अवलोकन गर्नसमेत बाधा पुगिरहेको छ । सन् २०१६ मा हजारौं स्याटेलाइट फोटोको आधारमा कम्प्युटर जेनेरेटेड म्यापमा देखिएको प्रकाश प्रदूषणको चित्र हेर्दा पनि यो स्पष्ट हुन्छ– रातको समयमा प्रयोग गरिने त्यस्ता कृत्रिम बत्तीले विशेषगरी विकसित राष्ट्रका विभिन्न सहरलाई दिन–प्रतिदिन अँध्यारोबाट झनै टाढा लगिरहेको छ । त्यस म्यापले देखाएको थियो– पृथ्वीमै साइबेरिया, सहारा मरुभूमि र अमेजनलगायत स्थानमा मात्रै पूर्ण रूपमा अँध्यारो महसुस गर्न पाइन्छ । सहरी क्षेत्रमा बिजुलीबत्ती, सवारीसाधनमा जडित बत्ती, स्ट्रिटल्याम्प, कार्यालय, उद्योगधन्दा, डिजिटल विज्ञापन बोर्डलगायतमा प्रयोग भएका हरेक बल्बले हामीलाई कुनै न कुनै हिसाबमा अँध्यारोबाट टाढा लगिरहेका छन् । खगोल अध्ययन गर्नेहरूले प्रकाश प्रदूषणकै कारण आकाशको स्पष्टावलोकन गर्न पाएका छैनन् ।

जन्मिँदै गरेका र अब जन्मिनेले पनि खुला आकाश हेर्नैका लागि सहरभन्दा निकै टाढा जानुपर्ने बाध्यता नआउला भन्न सकिँदैन । विश्वको ८० प्रतिशतभन्दा बढी जनसंख्या कृत्रिम उज्यालोमा निर्भर छ । यो दर्दनाक खबर हो किनभने एन्थ्रोपोजेनिक अर्थात् मानवनिर्मित त्यस्ता प्रकाश दिने साधन नै प्रकाश प्रदूषणको प्रमुख कारण हुन् ।

प्रकाश प्रदूषणले जीवजन्तुलाई त असर गर्छ नै, मानिसमा पनि अनेक समस्या देखापर्छन् । जस्तो सुत्ने–उठ्ने तालिकामा समस्या, आँखाको समस्या, राति आकाशमा देखिने आकाशीय पीण्डहरू कृत्रिम उज्यालोका कारण स्पष्ट देख्न नसक्नु ।

कृत्रिम उज्यालैका कारण टाउको दुख्ने, मानसिक तनाव उत्पन्न हुनुजस्ता समस्या दिन–प्रतिदिन बढिरहेको अध्ययनहरूले देखाएका छन् । फ्लोरिडा एट्लान्टिक विश्वविद्यालयको भौतिक विज्ञान विभागले गरेको एक अध्ययनमा अत्यधिक उज्यालो ‘ब्राइट नक्टर्नल लाइट’ ले मानिसको शरीरमा उत्पादन हुने मेलाटोनिनको मात्रा घटाउने उल्लेख छ ।

शरीरमा मेलाटोनिनको उत्पादन मात्रा घट्दा महिलामा स्तन क्यान्सर र पुरुषमा प्रोस्टेट क्यान्सरको जोखिम उच्च हुन्छ । कृत्रिम उज्यालोबाट हुने स्वास्थ समस्यामाथि पछिल्लो समय भएका अनुसन्धानलाई अमेरिकन मेडिकल सोसाइटीले पनि ऐक्यबद्धता जनाएको छ । र, सोसाइटीले प्रकाश प्रदूषण नियन्त्रणमा प्रयास गर्ने, यससम्बन्धी अन्य अध्ययनसमेत गर्ने बताएको छ ।

अध्ययनहरू भन्छन्– मोबाइल, कम्प्युटरजस्ता डिभाइसमा हुने प्रकाश अर्थात् ‘ब्लु लाइट’ ले मानिसको शरीरमा मेलाटोनिनको मात्रा घटाउँछ । सडक किनारमा राती बालिने ठूल्ठूला डिजिटल बोर्डहरूका चर्को प्रकाशले पनि मान्छेको आँखामा असर पारिरहेको अनुसन्धानले बताएका छन् ।

मानवमा मात्रै होइन समुद्रमा पाइने जीवमा पनि प्रकाश प्रदूषणको असर देखिँदै छ । सामुद्रिक क्षेत्रमा पाइने कछुवा र चराहरू चन्द्रमाको प्रकाशका आधारमा एकदेखि अर्को ठाउँसम्म जान्छन्, जसलाई माइग्रेसन प्याटर्न्स भनिन्छ । तर, अहिलेको प्रकाश प्रदूषणले उनीहरू द्विविधामा परेका छन् र आफ्नो बाटो बिर्सिन थालेका छन् । त्यसैले केही सहरहरूले चराहरूको बसाइँसराइ (बर्ड माइग्रेसन) का समयमा ठूल्ठूला भवनका बत्ती निभाउने (लाइट आउट) अभियान नै सञ्चालन गर्न थालेका छन् ।

प्रकाशित : फाल्गुन २७, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्

मिसन मसला : पृथ्वीलाई एक फन्को

पूर्वको रैथाने मसलाले मध्यकालीन युरोपको भान्सा मोहित भयो । मसला फल्ने भूगोलसम्म पुग्न थुप्रै साहसी/दुस्साहसी यात्रा भए । तर, भूगोलबारे तथ्य कम र मिथक ज्यादा प्रचलनमा रहेको त्यस युगमा पृथ्वीलाई एक फन्को लगाउने फर्डिनान्ड मेगलनको यात्रा अभूतपूर्व थियो । विश्व आर्थिक, राजनीतिक र सांस्कृतिक इतिहासमा त्यो यात्रा एक महत्त्वपूर्ण मोड थियो ।
विकास बस्नेत

एक मुट्ठी ल्वाङयुफ्रेटस नदीतटको सानो सहरमा आगलागी भयो इसापूर्व १७२१ तिर । पुजुरुम भनिने एक व्यक्तिको घर जल्यो (पहिलो पटक मान्छेले यही भूगोलमा क्युनिफर्म/स्फान लिपिमा लिखित अभिलेख राख्न आरम्भ गरेको समय थियो त्यो) । घर जलेपछिको खरानीको थुप्रोमा पुरातत्त्वविद्हरूले माटाको भाँडामा दुरुस्तै जोगिएको एक मुट्ठी ल्वाङ फेला पारे ।

त्यो एक आश्चर्य थियो । इन्डोनेसियाको मोलुका द्वीप समूहमा मात्रै पाइने रैथाने ल्वाङलाई सिरियाको मरुभूमिमा कसले र कसरी पुर्‍यायो ? यो झनै आश्चर्य थियो । पुजुरुमको भान्सामा पुगेको ल्वाङको कथा त इतिहासको गर्तमा बिलायो । तर, करिब ३२ सय वर्षपछि स्पेनबाट मसलाको खोजमा विश्व–यात्रामा निस्केका फर्डिनान्ड मेगलन र उनको टोलीले फर्किंदा ल्याएको २६ टन ल्वाङको अभूतपूर्व यात्रा–कथा रोचक र सम्झनलायक छ । यो कथाले मसलाको इतिहासको परिभ्रमण गराउँछ ।

सेप्टेम्बर ६, १५२२ । स्पेनको सानलुकार दे बारमादा बन्दरगाहको क्षितिजमा एक जीर्ण पानीजहाज देखापर्‍यो । जहाजको पाल झुत्रो भएको थियो । पाटपुर्जा खियाले खाएर खङ्ग्रङ्ग देखिन्थ्यो । वास्तवमा जहाजको नाममा त्यो अस्थिपञ्जर थियो । जहाजभित्रको दृश्य झन् कारुणिक थियो । त्यहाँ थिए कुपोषणले हाड–छाला मात्रै बाँकी भएका नाविकदलका १८ जना सदस्य । तिनीहरूसँग बोल्ने सामर्थ्य पनि बाँकी थिएन, जिब्रो सुन्निएको थियो, ठेउला र पानीफोकाले जिलजिल भएको थियो शरीर । जहाजका कप्तान र अधिकांश सदस्य बाटैमा मरिसकेका थिए ।

तीन वर्षमा ६० हजार माइल दूरी यात्रा गरेको जहाजले सर्वस्व गुमाएर पनि अति जतनले बोकी ल्याएको एक मात्रै त्यो वस्तु थियो– ल्वाङ । र, इतिहासमै पहिलोपटक पृथ्वीको एक फन्को परिक्रमा गरेको थियो त्यस जहाजले । हिउँदे ठिहीमा ज्यानको परवाह नगरी आफ्नो लुगाफाटोसमेत बेचेर इन्डोनेसियाको मोलुका द्वीपमा किनिएको थियो त्यो ल्वाङ । यात्राका कप्तान जनरल थिए– फर्डिनान्ड मेगलन । ‘अन्वेषण युग’ को त्यो अभूतपूर्व यात्रालाई मसलाको महकले नै ऊर्जा दिएको थियो (ओभर द एज अफ द वर्ल्ड, लरेन्स बरग्रिन) ।

मसलाको महक

त्यसबेला ल्वाङ, दालचिनी, मरिच, जाइफल, अदुवाजस्ता मरमसलाको महकले युरोपको भान्सा मोहित भइसकेको थियो । १३ औं शताब्दीको एउटा रेसिपीले बंगुरको मासुमा पर्याप्त अदुवा, दालचिनी, मरिच, ल्वाङ र जाईफल हाल्न सुझाएको छ । सन् १४२४ मा एक मध्यमवर्गीय परिवारले औसत १७ पाउण्ड मरिच, १४ पाउण्ड अदुवा र १७ पाउण्ड ल्वाङ–दालचिनि उपभोग गर्थ्यो । पाहुना सत्कारमा समेत यी मसला प्रयोग हुन्थे । सन् ११९४ मा रिचार्ड प्रथमको पाहुना बनेर बेलायत पुगेका स्कटल्याण्डका महाराजलाई प्रत्येक दिन दुइ पाउण्ड मरिच र चार पाउण्ड दालचिनी टक्र्याइएको थियो (टेस्ट अफ प्याराडाईज, वुल्फग्याङ्ग चिभेलबुस) ।

अमेरिकी महादेशको पूर्वीतटीय क्षेत्र मात्रै युरोपको सामान्य जानकारीमा आएको समय थियो त्यो । त्यसैले त्यहाँको रैथाने आलु, टमाटर तथा मकै युरोपको भान्सामा पुगिसकेको थिएन । त्यहाँ अमिलो कागती, गुलियो चिनी, तातो चिया र कफी थिएन । यस्तोमा युरोपेली परिकारमा स्वादको विविधताका लागि ल्वाङ, मरीच, जाइफल, दालचिनी र अदुवा बिस्तारै अनिवार्य बन्यो । सबैलाई थाहा थियो– यी मरमसला पूर्वका रहस्यमयी भूगोलबाट आउँथे । इडेनको बगैंचा यही धरतीमा कतै रहेको बुझाइ थियो इसाईहरूको । उनीहरूको विश्वास थियो– जेरुसेलमभन्दा पूर्वपट्टि छ त्यो बगैंचा । इसाई मानचित्रकारले पनि सुदूरपूर्वतिर स्थापित गरेका थिए– स्वर्गको ठेगाना । कट्टर इसाई समाजका लागि स्वर्ग र मसला दुवै पूर्वमा हुनु एक संयोग मात्रै थिएन । र, मसलाको महक सिधै स्वर्गको महक हो भन्ने ठानियो । त्यसबेला यही मान्यता निकै गहिरोसँग स्थापित भयो । आम जिब्रो अनि मनोविज्ञानमा मसला स्वाद, सुवास, ओखती र प्रसाद बनेर छाएपछि युरोपमा यसको मागले आकाश छोयो । साहुहरूले मसलाको व्यापारमा अथाह पैसा देखे । नदेखून् कसरी ? मेगलनको त्यो जीर्ण जहाजमा आइपुगेको ल्वाङले मात्रै यात्राको सबै खर्च कटाएर नाफा कमाएको थियो । मसलाको व्यापारमा अथाह पैसा थियो, अर्थात् तिनका लागि पनि पूर्वको भूगोल एक स्वर्ग थियो । तर ‘स्वर्ग’ पुग्ने बाटो सहज थिएन (आउट अफ द इस्ट, पाउल फ्रिडम्यान) ।

अड्चन

रोमन साम्राज्यको पतनसँगै युरोप र भारतबीच स्थापित प्राचीन सोझो व्यापारिक सम्पर्क टुटेको थियो । इजिप्टमा मुसलमान र भूमध्यसागर क्षेत्रमा अरबीहरूले युरोपलाई भारततर्फ ढिम्किनै दिएका थिएनन् । युरोपेली जहाज लालसागर पार गरेर हिन्द महासागरमा छिर्न पनि पाउँदैनथ्यो भने स्थलमार्ग हुँदै भारत पुग्न अरबीहरूको चर्को अड्चन थियो । भारतको मालबार तटको मरीच, श्रीलंकाको दालचिनी, अम्बोनियाको ल्वाङदेखि बान्दाद्वीपको जाइफलले लुटपाट, आँधीहुरी र घामपानी छल्दै युरोपसम्म आइपुग्न महिनौं लामो यात्रा गर्नुपर्थ्यो । दर्जनौं बिचौलियाको हात फेर्दै युरोपको भान्सासम्म पुग्दा मरमसालाको भाउ हजार गुणा बढिसकेको हुन्थ्यो । सबैभन्दा सस्तो मानिने एक पाउन्ड मरीच किन्ने पैसाले एउटा सग्लो सुंगुर नै किन्न पाइन्थ्यो । इस्लाम र अरबी अवरोध तोड्न सम्भव नभएपछि भारतलगायत पूर्वी क्षेत्र पुग्ने नयाँ बाटाको खोजीमा व्यापक बेचैनी थियो स्पेनमा ।

मेगलन सूत्र

त्यसै बेला जन्म/कर्मभूमि पोर्चुगलमा नपत्याइएका मेगलन मसला द्वीपसम्म पुग्ने छोटो बाटाको योजना लिएर स्पेन आइपुगे । मेगलनको प्रस्ताव ‘र्‍याडिकल’ थियो– ‘पूर्वको मालवस्तु पूर्वी दिशाबाटै आउनुपर्छ भन्ने जरुरी छैन । यदि पृथ्वी गोलो छ भने पश्चिम हुँदै पनि पूर्व पुग्न सकिन्छ ।’ मेगलनको त्यो प्रस्ताव नवीन भने थिएन । सन् १४९८ मा कोलम्बसले यस्तै असफल प्रयास गरिसकेका थिए । दक्षिण अमेरिकाको क्यारेबियन तट टेकेका उनले भारत पुगेको प्रमाणस्वरूप ‘दालचिनी’ ल्याएका थिए । तर, त्यो रुखको बोक्रा दालचिनी भन्ने पुष्टि भएन । मरीच भेटिने कुरै थिएन । बरु साथै ल्याएको ‘अजी’ भनिने अत्यन्तै पिरो फल केही दशकमै खुर्सानीका नाममा दुनियाँभरि तीव्र गतिमा फैलियो ।

मेगलनको सामुद्रिक यात्रापछि युरोपको मेनुमा थपिए नयाँ मसला । त्यो यात्रापछि फोरियो मान्छेको रुचि र स्वाद । मेगलनको टोलीले पृथ्वीलाई एक फन्को घुमेपछि दुनियाँ फेरि उस्तै रहेन ।

मेगलनलाई थाहा थियो– प्रशान्त महासागर र आन्ध्र महासागरको बीचमा अमेरिकी भूगोलको अवरोध छ । साथै दक्षिण अमेरिकी महादेशको दक्षिणी पुछारतिर कतै न कतै प्रशान्त र आन्ध्र महासागरलाई जोड्ने गल्छी वा कोरिडोर छ भन्ने दृढ विश्वास थियो उनमा । त्यही कोरिडोरबाट प्रशान्त महासागर प्रवेश गरी उनी एसिया पुग्न चाहन्थे । पृथ्वीको फैलावट र भूगोलबारे मेगलनको अज्ञानता नै उनको विश्वासको आधार थियो ।

अधुरो/अपुरो ज्ञान

पृथ्वीको फैलावट र यसको भूगोलबारे विज्ञहरू कुहिरोको कागझैं थिए । ग्रीक खगोलविद् तथा गणितज्ञ टोलेमीले बनाएको पृथ्वीको मानचित्रमा प्रशान्त महासागरै थिएन । पछिल्ला मानिचत्र पनि तथ्य र मिथकको मिश्रण थिए । त्यसबेलाको सबैभन्दा चर्चित मार्टिन बाहिमको ‘नरेम्बर्ग ग्लोब’ ले समेत दक्षिण–अमेरिकी भूगोललाई समेटेको थिएन । कोलम्बसले युरोपको क्यानरी द्वीपबाट जापानसम्मको दूरी कुल २४ सय माइल भएको अनुमान गरेका थिए । यसलाई नकार्ने तथ्य भेला भइरहँदा पनि मेगलनले कोलम्बसलाई नै सही ठानिरहे । यिनै प्रमाणका आधारमा मेगलनले स्पेनका राजा चार्ल्ससामु एसिया पुग्ने नयाँ मार्गको प्रस्ताव गरे ।

अन्ततः सन् १५१८, मार्च २२ मा मेगलनले यात्राको अनुमति पाए । राजा चार्ल्सले यात्राका लागि पाँच पानीजहाज, २६० नाविक–दल र रसदपानी उपलब्ध गराए । ऋणमा डुबेका चार्ल्सले ‘हाउस अफ फ्युजर’ बैंकका बैंकरमार्फत १४ प्रतिशत ब्याजमा ऋण काढेर त्यो खर्च जोहो गरेका थिए ।

यात्रा आरम्भ

सन् १५१९, सेप्टेम्बर २० का दिन बन्दरगाहमा आतशबाजी भयो । सलामी अर्पण गरियो । इतिहासकै अभूतपूर्व मानिएको एक महायात्राको धुमधामसँग आरम्भ भयो । ‘अर्माडा डे मोलुका’ नाम दिइएको बेडाका पाँच पानीजहाज आन्ध्र महासागरमा हेलिए । सन लुकारबाट हिँडेको एक सातामा पाँचै जहाज क्यानरी टापुमा रोकियो– रसदपानी भर्न । त्यहाँ रहँदा स्पेनबाट हान्निएर आएका मेगलनका ससुराले एक खुफिया सूचना दिए– अन्य जहाजका स्पेनी कप्तानहरू मौका पाउनेबित्तिकै विद्रोह गर्नेछन् । सान एन्टोनियोको कप्तान जुवान डे कार्टागेनासँग सतर्क रहन उनले मेगलनलाई सुझाव दिए । पोर्चुगलले पनि जन्मभूमिविरुद्ध गद्दारी गरेको भन्दै आफूलाई पक्रन खुफिया जहाज पठाएको खबर पाए मेगलनले । र, हतारहतार यात्रा अघि बढाए ।

पोर्चुगाली खतरा टार्न मेगलनले जहाजलाई नियमित पश्चिम रुटतर्फ लगेनन्, बरु अफ्रिकी महादेशको तट–छेउ भएर दक्षिणतर्फ हिँडाए । एकाएक जहाज आँधीमा फस्यो । भरपर्दो नक्सा थिएन, अगाडिको बाटो पनि थाहा थिएन । पानीको छाल ओइरिएर आगो बाल्न दिएन, कोही पनि सदस्य राम्ररी सुत्न पाएनन् । ६० दिनसम्म निरन्तर आँधीमा लपेटिएको जहाजको खाद्यान्नमा क्षति भयो । मेगलनले नाविक–दलको खाना कटौती गरे । त्यो कटौतीले जहाजमा असन्तुष्टि पैदा गर्‍यो । र, यही मौकामा अन्य जहाजका कप्तानले विद्रोहको तयारी गरे ।

त्यो असफल विद्रोह

कार्टागेनाले मेगलनलाई जासुसको आरोप लगँउँदै जहाजलाई गलत बाटोतिर हिँडाएर सबै यात्रुको ज्यान जोखिममा पारेको आरोप लगाए । एकबाहेक बाँकी जहाजका कप्तानहरू मेगलनविरुद्ध षड्यन्त्रमा सामेल भएको पत्तो लाग्यो । यही मौकामा मेगलनले सहयोगीमार्फत कार्टागेनालाई नियन्त्रणमा लिएर बन्दी बनाए । अरू विद्रोही डरले चुप बसे । त्यसको तीन हप्तासम्म जहाज अझै उपयुक्त मौसमको पर्खाइमा दक्षिणतर्फै बढिरह्यो । अन्त्यमा हावाको बहाव अनुकूल हुन थालेपछि मेगलनले जहाजलाई ब्राजिलतर्फ पश्चिम मोडे । र, यसको दुई सातापछि टोली सन् १५१९ डिसेम्बर १३ मा रियो द जेनेरियो पुग्यो ।

तर, मेगलनको समूह पुगेकै दिन दुई महिनाको खडेरी तोडिएर ठूलो पानी पर्‍यो । यो संयोगलाई ‘अलौकिक’ ठान्दै त्यहाँका आदिवासीले हर्षोल्लास मनाए । र, स्वागत गरे । वरपरबाट नग्न/अर्धनग्न भेला भएका महिलाले कुखुरा, हाँस, फलफूल ल्याइदिए । १५ दिनसम्म बन्दरगाहको जुनेली रातमा आदीवासी महिला र मेगलनका नाविकहरू नाचगान र मस्तिमा रमाए । एक थान काइँयोसँग एक अँगालो हाँस, सानो चक्कुको बदलामा सातवटा कुखुरा, एक थान ऐना र कैंचीको बदलामा दस जनालाई पुग्ने दरले खाना साटियो । दुई हप्तापछि जहाज ब्राजिलको तटीय किनार हुँदै दक्षिणतर्फ हान्नियो ।

घर छाडेको पाँच महिना भइसकेको थियो । नाविक–दलका सदस्यलाई घरको न्यास्रो, एक्लोपन, विमार र तनावले छोप्न थाल्यो । माछाको सिद्रा र मासु कुहिएर दुर्गन्धले जहाजमा बसिनसक्नु हुन थाल्यो । मुसा र छुचुन्द्रो जहाजभर रगरग गर्न थालिसकेका थिए । जुम्रा, उडुस र उपियाँ नभएको लुगाफाटो कुनै थिएन । ब्राजिलबाट दक्षिण लाग्दै गर्दा कुनै पनि गल्छेडो, पानीको निकास, नदीको मुख, खाडी वा इनलेट नछुटोस् भन्नेमा विशेष ध्यान दिइयो । प्रशान्त र आन्ध्र महासागरलाई जोड्ने पानीको त्यस्तो कोरिडोर दक्षिणतर्फै छ भन्ने विश्वास थियो मेगलनको । तर, ब्राजिल छोडेको तीन महिना बितिसक्दा पनि त्यस्तो च्यानल वा गल्छी कतै फेला परेन । दक्षिणी ध्रुवमा हिउँद सुरु भएकाले चार घण्टाको मात्रै हुन थालिसकेको थियो दिन । अत्यधिक ठन्डा मौसम सुरु भएकाले मेगलनले थप अघि बढ्ने जोखिम मोल्न चाहेनन् । हिउँदभरि सुरक्षित ओत लाग्न मेगलनले सेन्ट जुलियान बन्दरगाहलाई मुकाम बनाए ।

विद्रोह

मेगलनले मोलेको जोखिमप्रति असन्तुष्ट स्पेनी कप्तानहरूले उनलाई मार्ने योजना बनाए । अप्रिल १, इस्टरका दिन साँझपख तीनवटा जहाज विद्रोहीको नियन्त्रणमा पुग्यो । भोलिपल्टै नाटकीय रूपमा मेगलनले विद्रोह दबाउन सफल भए । विद्रोहीमध्ये भिक्टोरियाका कप्तानको टाउको काटियो । मृतकको हात–खुट्टा गिँडेर चेतावनीस्वरूप सबैले देख्ने स्थानमा टाँगियो । अर्का विद्रोही ग्यास्पर दे कुसादालाई सबैका अगाडि आफ्नै भाइद्वारा टाउको काट्न लगाइयो । जुवान डे कार्टागेना र मतियार पुष्टि भएका पादरीलाई निर्जन टापुमा मर्नका लागि छाडियो । विद्रोहमा संलग्न चालीस जनालाई क्रूर र यातनापूर्ण तरिकाले मारे मेगलनले । थप चालीसलाई साङ्लोमा बाँधियो र जाडोभरि जहाज मर्मत तथा अन्य श्रममा जोतियो ।

मेगलन स्ट्रेट

दुई महासागर जोड्ने जलसन्धि/कोरिडोर फेला पार्नु मेगलनको एक मात्रै ध्याउन्न थियो । जुलियान बन्दरगाहमै रहँदा अप्रिलको अन्त्यतिर यसैको खोजीमा सान्टियागो जहाजलाई पठाइयो । सान्ता क्रुज नदीको मुखलाई सम्भावित प्यासेज ठानेर अघि बढ्दा जहाज डुब्यो । जहाजमा रहेका ३७ जना पौडेर किनारमा आइपुगे । दुई जना दिन–रात हिँडेर ११ दिनमा जुलियान बन्दरगाह पुगे । र, मात्रै बाँकी सदस्यको सहज उद्धार हुन सक्यो । सान्टियागोमा रहेको खाद्यान्नमा ठूलो क्षति भयो । नाविक–दलको आत्मविश्वासमा र आफ्ना कप्तानमाथिको उनीहरूको भरोसामा सबैभन्दा ठूलो क्षति भयो ।

जुलियान बन्दरगाहमा पाँच महिनाको सकसपूर्ण बसाइपछि अगस्ट २४ मा अर्माडा डे मोलुकाले फेरि यात्रा सुचारु गर्‍यो । बाटामा देखिने साना–ठूला कुनै पनि गल्छी, खाडी वा नदीको मुखको निरीक्षण गर्न छाडिएन । अन्त्यमा एक दिन ३५ डिग्री दक्षिणमा फराकिलो किनारसहितको नदीको मुखजस्तो प्रवेश–मार्ग फेला पर्‍यो । मेगलनले जहाज अघि बढाउन आदेश दिए । नभन्दै त्यो प्यासेज कुनै नदीको मुख थिएन, आन्ध्र र प्रशान्त जोड्ने कोरिडोर थियो । वास्तवमा यसैको खोजीमा मेगलनको टोली भौंतारिएको थियो लामो यात्रामा । यसैबीच सान आन्तोनियो जहाज बीचैमा भागेर स्पेनको बाटो लाग्यो । मेगलनलाई अर्को झड्का लाग्यो । यात्राको एकछेउ नसकिँदै मेगलनले दुई जहाज र साठी जना सहयात्री गुमाइसकेका थिए ।

अन्ततः ३५० माइल लामो र साँघुरो गल्छी ३७ दिनमा छिचोलेर नोबेम्बर २८ मा अर्कोपट्टि आइपुग्दा मेगलनको अघि विशाल महासागरको नीलो पानी लमतन्न फैलिएको थियो । आन्ध्र महासागरको ठीकविपरीत त्यो महासागर भव्य, सौम्य र शान्त थियो । त्यसैले त्यसलाई प्रशान्त महासागर भनियो । त्यसको फैलावट मेगलनको कल्पनाभन्दा बाहिर थियो । पृथ्वीको एकतिहाइ भूभाग ओगट्ने त्यो महासागर आन्ध्रभन्दा दुई गुणा ठूलो छ । यही विशाल जलखण्डको अर्को किनारमा मेगलनको मसला द्वीप थियो । तर, मेगलनसँग त्यहाँ पुग्ने न कुनै नक्सा थियो, न कुनै ठोस योजना, न कोही मार्गनिर्देशक (राउण्ड एबाउट द अर्थ, जोयस इ च्याप्लिन) ।

प्रशान्त कहर

प्रशान्त महासागरमा निस्किएर उत्तरतर्फ मोडिँदै गएपछि बिस्तारै जमिन क्षितिजमा धूमिल भयो । मेगलनको समूह विशाल नीलो शून्यमा कतै बिलायो । दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो, तर एक टुक्रो जमिन पनि कतै देखिएन । प्रत्येक दिन चारैतिरको समुद्रको त्यही नीलो रंगले आँखा बिझायो । प्रत्येक रात अत्यासलाग्दो चकमन्नताले तर्सायो । चारैतिर हर क्षण आँखामा उही दृश्य ! सपना र विपना छुट्टिएन । भ्रम र यथार्थ फरक भएन ।

बिस्तारै खाना सकिन थाल्यो । भाँडाको पानी पहेँलो भएर गन्हाउन थाल्यो । माछा–मासु कुहिएर जहाजमा बसिनसक्नु भयो । बिस्कुट कुहिएर धूलाम्य भयो । मुसाको लिँड र पिसाबले नछोएको कुनै खानेकुरा भएन । भोक र तिर्खाले सबै सदस्य छटपटाउन थाले । ताजा खाना र पानी नपाएको तीन महिना बीस दिन भइसकेको थियो । भिटामिन सीको कमीले नाविक–दलका तल्ला दर्जाका सदस्यमा स्कर्भी फैलियो । दाँतका गिँजा सुन्निन थाले । रोगले भयंकर च्याप्दै जाँदा दाँतहरू झर्न थाले । मृत्यु भएका २९ जनालाई समुद्रमा फालियो (मेगलन्स भोएज, एन्टोनियो पिगाफेटा) ।

दयालुको द्वीप

प्रशान्त महासागर प्रवेश गरेको ९८ औं दिनमा क्षितिजमा बल्ल जमिन देखियो । बल्ल बाँच्ने आशा जाग्यो । जमिन देख्ने पहिलो व्यक्तिलाई मेगलनले पुरस्कारसमेत दिए । त्यो टापुलाई अहिले मारियाना द्वीप समूहको गुआम द्वीप भनी चिनिन्छ । मेगलन स्ट्रेटबाट त्यहाँसम्म आइपुग्दा मेगलनले सात हजार माइलभन्दा ज्यादा दूरी तय गरिसकेका थिए । यो दूरीको समुद्री–यात्रा मात्रै पनि अभूतपूर्व थियो ।

गुआमका चामोरो आदिवासी र युरोपेली समाज त्यहाँ पहिलो पटक भेटिँदै थिए । तर, दुई पृथक् संसारको त्यो पहिलो भेट सुखद भएन । अनौठो जहाजमा नौला मानिस देख्नेबित्तिकै आदिवासीको सानो समूह डुंगा चढेर जहाजसम्म पुग्यो र जहाजका मालसामान उठाउन थाल्यो । यही निहुँमा भएको विवादले लडाइँ मच्चायो । चामोरोसँग सामान्य लौरो र टुप्पोमा हड्डी जोडिएको भालाबाहेक हतियारको नाममा अरू केही थिएन । रमाइलो त के भने यता लडाइँ चल्दै गर्दा अर्को समूहले भने नाविक–दललाई फलफूल र खाना खुवाउन थाल्यो । खानपिन गराइसकेपछि फेरि उनीहरू लडाइँ खेल्न उत्रिए । खासमा जहाजको सामान टिपेर लैजानुलाई चोरी/डकैती भन्छन् भन्ने ती आदिवासीलाई थाहै थिएन । नाफा र निजी सम्पत्तिको युरोपेली अवधारणाबारे उनीहरू बेखबर थिए । त्यसैले पाहुनाले ल्याएको नौलो सामान आफ्नो ठानेर लिए र आफूसँग भएको खानेकुरा पाहुनालाई खुवाए । यही कुरो मेगलनको समूहले बुझ्न सकेन । मेगलनले भोलिपल्ट बस्तीमा आगो लगाइदिए । चामोरोले प्रतिकारसमेत गरेनन् । सात जना आदिवासीको मृत्यु भयो । उनले यो द्वीपको नामै राखे–चोरहरूको द्वीप । खासमा त्यो द्वीपको नाम राखिनुपर्थ्यो– दयालुहरूको द्वीप ।

को पहिलो ?

गुआम छाडेर हिँडेका मेगलनको समूह मार्च १६ मा फिलिपिन्सको होमोनोन द्वीप पुग्यो । चिनियाँ र अरब व्यापारीबीच परिचित फिलिपिन्स द्वीप समूह युरोपेली नक्सामा जोडिएकै थिएन । मेगलनले साथै ल्याएको मसलासँग स्थानीय पनि परिचित भएको देखेपछि आफू मलाका द्वीप वा मसला द्वीप छेउछाउ आइपुगेको विश्वास भयो उनलाई ।

लिमासावा टापुमा मेगलनका दास एनरिकले स्थानीयसँग मले भाषामा संवाद गरेको देखेर सबै चकित परे । मलाका द्वीपमा काम गर्दा मेगलनले एनरिकलाई १० वर्षअघि त्यहाँको कमैया बजारबाट किनेर लगेका थिए वा त्यही लिमासावा टापुबाट कामको खोजीमा वा अन्य दलालको हात हुँदै मलाका पुगेको पनि हुन सक्छ एनरिक, यो प्रस्ट छैन । यदि त्यसो हो भने पृथ्वी परिक्रमा गर्ने पहिलो व्यक्तिको ‘क्रेडिट’ एनरिकलाई नै जान्छ ।

मुर्ख्याइँ र मृत्यु

थप रसदपानी भर्न र व्यापार गर्न सेवु द्वीप पुगेका मेगलनको दोस्ती त्यहाँका राजा हुमाबोनसँग भयो । तोप र बन्दुकसहितको सैनिक प्रदर्शनी देखेर तर्सिएका हुमाबोनले स्पेनको मुकुट र इसाई धर्मलाई स्वीकार गरे । मेगलनले द्वीपका अन्य मुखियालाई समेत इसाई धर्म मान्न र स्पेनी मुकुटको अधीन स्विकार्न चेतावनी दिए । तर, केही द्वीपका मुखियाले उनको उर्दी इन्कार गरे । तीमध्ये मकतान द्वीपका राजा सिलापुलापु एक थिए । रिसले आगो भएका मेगलन मध्यरातमा ६० जना लडाकुलाई डुंगामा हालेर सिलापुलापुसँग लड्न भनी पुगे । मेलगनको अनुमानविपरीत १५ सयभन्दा ज्यादा गाउँले धनुकाँड र भालासहित निस्किए । मेगलनको लडाकु दस्ता आच्छुआच्छु भयो, सात जनाको मृत्यु भयो । आदिवासी लडाकुको विषालु भाला लागेर मेगलन पनि ढले । आफूविरुद्धको षड्यन्त्र, विद्रोह र सबैखाले प्रतिकूलता जितेर आएका मेगलनले आफ्नो अहंकार र मुर्ख्याइँलाई जित्न सकेनन् । मसला द्वीपको खोजीमा त्यत्रो कष्ट झेलेका र पृथ्वी परिक्रमा गरेका मेगलनले गन्तव्यछेवै पुगेर अनाहकमै ज्यान फाले ।

एनरिकको विद्रोह

मालिकको मृत्युपछि एनरिकले आफू मुक्त भएको घोषणा गरे । साथै राजा हुमाबोनसँग मिलेर मेगलनका बाँकी सदस्यविरुद्ध षड्यन्त्रसमेत रचे । उनीहरूलाई एउटा भोजमा निम्त्याइयो । भोजमा आएकामध्ये २७ जनाको हत्या गरियो । मेगलनको समूह छिन्नभिन्न भयो । बाँकी रहेका ११५ जनाले ३ वटा जहाज सम्हाल्न नसक्ने भएपछि कन्सेप्सन नामको एक जहाजमा आगो लगाइयो । बाँकी दुई जहाज मसला द्वीपको खोजीमा ६ महिनासम्म यताउता भड्किरह्यो । अन्ततः नोबेम्बर ८ मा टोली मोलुका द्वीपमध्येको टिडोरे द्वीपमा पुग्यो । आफ्ना लुगाफाटोदेखि जहाजमा भएका सबै सामग्री बेचियो । सबैभन्दा महँगो ल्वाङ किनियो र भिक्टोरिया जहाजमा भरियो ।

घर फिर्ती

मेगलन चढेको मूल जहाज चुहिएर अघि बढ्न नसक्ने भयो । त्यसैले जुवान सेबास्टियन एलकानोको कप्तानीमा भिक्टोरिया मात्रै स्पेन फर्कने तय भयो । घर फर्किन अझै पृथ्वीको आधा गोलार्द्ध दूरी बाँकी थियो । तर, हिन्द महासागर निस्केर अफ्रिकी महादेशको केप अफ गुड होपलाई फन्को मारेर युरोप पुग्ने बाटो व्यस्त र परिचित मार्ग थियो । यही बाटो हुँदै भास्को डी गामा सन् १४९८ मै भारत आइपुगेका थिए ।

मे ६ मा केप अफ गुड होप आइपुगेको भिक्टोरिया जहाजमा भोकमरी फैलिसकेको थियो । थप २२ जनाको बाटैमा मृत्यु भयो । रसदपानी लिन लुकेर केप भर्डे द्वीपमा पुगेकामध्ये १२ जना त्यहीँ पोर्चुगालीको नियन्त्रणमा परे । जसोतसो ज्यान जोगाएर कप्तान एल्कानोको समूह स्पेनको सानलुकार बन्दरगाह पुग्यो । ३ वर्षअघि मसलाको खोजीमा पश्चिम दिशा हुँदै पूर्व हिँडेका थुप्रै यात्रुमध्ये १८ जना यात्रु मात्रै आफ्नो भूमि फर्किए– पृथ्वीलाई एक फन्को घुमेर ।

एक पानोरोमिक दुनियाँ

मसलाको महकले तानेको यो अद्वितीय यात्राले पृथ्वी गोलाकार छ भन्ने पहिलो पटक प्रत्यक्ष प्रमाणित मात्रै गराएन, यसको अनुभूति नै गरायो । छुट्टै महादेशको रूपमा अमेरिका विश्वमानचित्रमा जोडियो । प्रशान्त महासागरको आकार र फैलावट बल्ल बुझियो । पृथ्वी अखण्ड रूपमा पानी र जमिनले जोडिएको एउटै सग्लो ढिक्का हो भन्ने पुष्टि भयो । दुनियाँबारे युरोपेली ज्ञान मिथकबाट इतिहासमा प्रवेश गर्‍यो । सबैभन्दा ठूलो विषय त मान्छेको आँखामा दुनियाँको ‘पानोरोमिक’ तस्बिर खिपिने क्रमको आरम्भ भयो । पृथ्वीको विशालताको सापेक्षमा मान्छेले आफ्नो स्थान/हैसियत थाहा पायो । विश्व रंगमञ्चमा पूर्वीय दबदबाको पटाक्षेप भयो । मसला व्यापारको तागतमा युरोप उदायो । विश्वको ४ कुना जोडियो र विश्वव्यापीकरणको आरम्भ भयो । साथमा युरोपेली उपनिवेश, रंगभेद र मानवीय उत्पीडनको कहालीलाग्दो शृंखलासमेत शुरु भयो ।

१७ औं शताब्दीको छेकोमै युरोपमा मरीचबाहेक अन्य मसालाको क्रेज उस्तै रहेन । नयाँ दुनियाँबाट नयाँ अन्नपात र फलफूल पनि भित्रियो । युरोपेली भान्साको मेनुमा नयाँ परिकार थपिए । मान्छेको स्वादको परख उस्तै रहेन । खासमा मेगलनको टोलीले पृथ्वीलाई एक फन्को घुमेपछि दुनियाँ फेरि उस्तै रहेन ।

प्रकाशित : फाल्गुन २७, २०७९ ११:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×