‘नेपालका गढी किल्ला’

कान्तिपुर संवाददाता

नेपाली इतिहासमा गढी किल्लाको महत्त्वपूर्ण स्थान छ । नेपालको एकीकरण होस् या ब्रिटिस इन्ट इन्डिया कम्पनी ब्रिटिसको युद्ध र तिब्बतसँगको लडाइँ तिनमा गढी किल्लाहरू नै प्रयोग भए र दुस्मनविरुद्ध लडिएको थियो । नेपालको यो इतिहास लेखिएको छ– ‘नेपालका गढी किल्ला’ नामक ‘कफी टेबल बुक’ मा । नेपालका गढी किल्लाहरूका तस्बिरले पुस्तक आकर्षक बनेको छ । पुस्तकमा इतिहास खोज्न पाइन्छ ।

‘नेपालका गढी किल्ला’

विभिन्न १७ जिल्लाका २२ गढी किल्लाबारे परिचयसहित सुन्दर तस्बिर प्रस्तुत गरिएको छ पुस्तकमा । सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट, रसुवा, सिन्धुली, इलाम, धनकुटा, भोजपुर, उदयपुर, मकवानपुर, लमजुङ, चिसापानी, चितवन, रुपन्देही, कलिपवस्तु, दैलेख र डडेल्धुराका गढी समेटिएको छ । पुस्तकमा प्रस्तुत गढी किल्लाहरूमा दुगुना गढी, दहचोक गढी/खलंगा, बेलकोट गढी, नुवाकोट गढी, पौवा गढी, सिन्धुली गढी, गढी थुम्का, साँघुरी गढी, हतुवा गढी, चौदण्डी गढी, हरिहरपुर गढी, मकवानपुर गढी, राइनास/राँनीनास कोट, लिगलिगकोट गढी, चिसापानी गढी, उपरदांग गढी, जीतगढी, स्युराज गढी, कोत गढी/कोत किल्ला र अमर गढी छन् ।

यी गढी किल्लाले कुनै न कुनै घटना सम्झाउँछन् । नेपाली सेनाले लामो समयदेखि गढी र किल्लाको संरक्षण गर्दै आइरहेको छ । गौरवमय इतिहास उजागर गर्न सहायकसिद्ध भएका विभिन्न गढी किल्लाको वस्तुपरक र यथार्थ लिपिबद्ध गर्नुपर्ने आवश्यकता मनन गरी पूर्वी पृतना हेडक्वार्टर एवं अन्तर्गत युनिटहरूले ‘नेपालका गढी किल्ला’ नामक कफी टेबल बुक प्रकाशन गरेका हुन् ।

पुस्तकमा लिपिबद्ध गढी किल्लाले नेपाली सेनाले मातृभूमि रक्षार्थ लडेका तथा निर्माण गरेका स्थानको परिचय दिन्छन् । र, किताब वीरताको गाथा बुझ्न महत्त्वपूर्ण कोसेढुंगा साबित हुने बताइएको छ । पुस्तकको प्रकाशक हो– नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर । यसको परिकल्पनाकार हुन्– उपरथी सहदेव

खड्का । पुस्तकको फोटो पत्रकार चन्द्रशेखर कार्कीले खिचेका हुन् । पुस्तक सम्पादक पनि कार्की नै हुन् । पुस्तकमा इतिहासका महत्त्वपूर्ण आलेख सम्पादन गरेका हुन् असीम तिमिल्सिनाले । गढी किल्लाहरूको एतिहासिक पक्षमाथि अनुसन्धान गरेका हुन्– प्रमुख सेनानी प्रद्युम्न पौडेल, सेनानी मनोज नेपाल र सहसेनानी अरुण खड्काले । ग्राफिक डिजाइन विक्रमचन्द्र मजमुदारले गरेका छन् ।

प्रकाशित : फाल्गुन २७, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?