१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३
नाटक

विगत भर्सेस वर्तमान, प्रेम भर्सेस यौन !

डार्क कथा हो ‘विमोक्ष’ । यसका पात्र ग्रे–जोनमा बाँचेका छन् । तिनका जीवनमा भरमार दुःख र अँध्यारो छ, तर ती रंगहीन छैनन् । प्रेममा चुर्लुम्म डुबेका मानिस आखिर बेरंगी कसरी हुन सक्छन् ?
प्रभाकर गौतम

दीप दर्नाल : प्रेम ? के त्यो साँच्चै प्रेम थियो ?
मुमा हजुर : त्यो प्रेम नभए के थियो त ?

विगत भर्सेस वर्तमान, प्रेम भर्सेस यौन !

प्रेमप्रति सशंकित छ पुरुष । प्रेममा समर्पित छिन् महिला । यस्तो फरक अवस्थितिमा दुई पात्रबीच अन्तर्द्वन्द्व हुने नै भयो । जातीय र वर्गीय बेमेल भएपछि यो अन्तर्द्वन्द्व झनै पेचिलो बन्ने नै भयो । शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘विमोक्ष’ यस्तै अन्तर्द्वन्द्वको पेचिलो कथा हो ।

अधबैंसे दीप र वृद्धावस्थामा पुगिसकेकी मुमाहजुरको वर्षौंपछिको भेटबाट यो कथा आरम्भ हुन्छ । तर, यी पात्रको एकअर्कासँग पुरानो सम्बन्ध छ । त्यतिबेला मुमाहजुर अधबैंसे रश्मिदेवी थिइन् । रश्मिदेवीभन्दा २५ वर्ष कान्छा दीप त झन् भर्भराउँदा किशोर थिए । उसबेला उनी दीप थिएनन्, कमल घिमिरे थिए ।

नाटकमा एकै पात्रका दुई अलग नाम र रूप छन् । युवाकालीन कमल नै अधबैंसे दीप हुन् । अधबैंसे रश्मिदेवी नै वृद्धावस्थाकी मुमाहजुर हुन् । दीपको भूमिकामा घिमिरे युवराज र मुमाहजुरको भूमिकामा सगुना शाह देखिन्छिन् । कमलको भूमिका सागर खाती कामी र रश्मिदेवीको चरित्र पवित्रा खड्काले निभाएका छन् ।

के दीप दर्नालले कमल घिमिरे नबनेको भए रश्मिदेवीको घरमा डेरा पाउँथ्यो ? अनि उसले रश्मिदेवीको मनमा बास पाउँथ्यो ?

वर्षौंपछि मुमाहजुरको अपार्टमेन्टमा भेट्न आउँदा सुरुमै दीपलाई रश्मिदेवीको झल्को आउँछ । तर, त्यहाँ उनी पहिलेकी अधबैंसे रश्मिदेवी पाउँदैनन् । रश्मिदेवीको ठाउँमा चाउरी परेको अनुहारकी मुमाहजुर देख्छन् र झस्किन्छन् । दीपलाई मुमाहजुरले आफूलाई कमलबाबु भनेकोमा पनि आपत्ति हुन्छ । मुमाहजुर दीपसँगका हरेक स्मृतिलाई न्यानो स्पर्शले सुमसुम्याइरहन चाहन्छिन् । तर, दीप त्यो स्मृति नै मेटाउन चाहन्छन् ।

आफ्नै अतीतप्रति दीप यति निर्मम किन ? यही जिज्ञासासँगै ‘विमोक्ष’ अघि बढ्छ । यी दुई (चार) पात्रको वर्तमान र अतीतका सन्दर्भ पत्रपत्रमा खुल्न थाल्छन् । संवाद जति अघि बढ्यो नाटक उति रोचक–घोचक बन्दै जान्छ । दुई विपरीत ध्रुवका पात्रको अन्तर्द्वन्द्व, यी पात्रको अतीत र वर्तमानको अन्तर्संघर्ष हो नाटक । यो संघर्षमा उनीहरूको वर्तमानलाई अतीतले जित्छ वा अतीतलाई वर्तमानले ? यो जिज्ञासा नाटकको अन्त्यसम्म कायम रहन्छ ।

एक ठाउँमा दीप मुमाहजुरलाई भन्छन्, ‘कर्नेल्नी साहेब ऊ हजुरलाई हैन रश्मिदेवीको शरीरलाई प्रेम गर्थ्यो ।’ विगत भर्सेस वर्तमानजस्तै प्रेम भर्सेस यौन पनि नाटकको केन्द्रीय विषय हो । यही कारण निर्देशक प्रवीण खतिवडाले मञ्चको संरचना नै महिला योनिजस्तै देखिने गरी तयार पारेका छन् ।

नाटकमा विगत फ्ल्यासब्याकको सन्दर्भ बनेर दृश्यमा आएको छ । फ्ल्यासब्याकका केही दृश्य मल्टिमिडियाका माध्यमबाट पनि दर्शकसामु आउँछ । दीप तथाकथित दलित पात्र हुन् । जातकै कारण सहरमा डेरा पाउन उनी आफ्नो नाम, थर बदल्न बाध्य हुन्छन् । कमल घिमिरे बनेपछि बल्ल उनले काठमाडौंको सम्भ्रान्त परिवार कर्णेल श्यामकुमार बस्नेत र रश्मिदेवीको घरमा डेरा पाउँछन् ।

रश्मिदेवी कर्नेलकी श्रीमती भएर भौतिक सुविधा प्राप्त गरे पनि मानसिक–शारीरिक सुखबाट वञ्चित छिन् । विद्रोहीद्वारा अपहरणमा परी मारिएको १३ औं दिनमा उनले आफ्ना श्रीमान्‌को अर्की श्रीमती र सन्तानसमेत भएको खबर सुन्नुपर्छ । कर्णेल बस्नेतको मृत्युपछि उनी श्रीमान्को मृत्युमै आफ्नो मुक्ति लुकेको महसुस गर्छिन् । यही पृष्ठभूमिमा रश्मिदेवी र कमलको तनमन जोडिन्छ ।

आफ्नो परिचय–पहिचान स्विकार्ने अवस्थामा पुगेपछि दीपलाई आफ्नै अतीतले पिरोल्न थाल्छ । उनी अनेकन् प्रश्न गर्न थाल्छन्– ‘के दीप दर्नालले कमल घिमिरे नबनेको भए रश्मिदेवीको घरमा डेरा पाउँथ्यो ? अनि उसले रश्मिदेवीको मनमा बास पाउँथ्यो ?’

यो प्रश्नले रूपा सुनार, दीपा नेपाली, अजित मिजारजस्ता समाजका वास्तविक पात्रको स्मरण गराउँछ । दीपले यो प्रश्न मुमाहजुरलाई सोधेका हुन् कि हामी दर्शकलाई ?

नाटकले कथित उच्चजातकी सम्भ्रान्त महिला र कथित तल्लो जात भनिएका पुरुषको भोगाइलाई एउटै कथामा समेटेको छ । भोगाइ अलग भए पनि दीपजस्तै रश्मिदेवी पनि उत्पीडनमा परेकी पात्र हुन् । जो दीपलाई भन्छिन्– यो समाजमा स्वास्नीमान्छेको जीवन र दलितको जीवन उस्तै पीडादायी छ ।

उत्पीडनका फरक आयाम उजागर गर्ने यो नाटक घिमिरे युवराजले लेखेका हुन् । सांस्कृतिक–राजनीतिक विषमतामाथि नाटकमार्फत आफ्नो असन्तुष्टि पोख्दै आएका उनले ‘विमोक्ष’ मा पनि यही काम गरेका छन् । नाटकमा हाम्रो समाजको जल्दोबल्दो समस्या जातीय र लैंगिक उत्पीडनबारे एक कदम अघि बढेर सोच्नुपर्ने आग्रह भेटिन्छ । उनको दाबी छ, ‘नाटकमा यी विषय त्यसै आएका होइनन् । म बाँचिरहेको समाजमा यी विषय भयानक समस्याका रुपमा चलायमान छन् । म व्यक्तिगत रूपमा नाट्य समूहमार्फत सामाजिक आन्दोलनहरूमा सरिक भइरहँदा झन् महसुस भएर यी विषयलाई समाएको हुँ ।’

विषय र मुद्दाबारे यस्तै पृष्ठभूमिका कारण उनी नाटकमा केही जबर्जस्त पन्च लाइनहरू रच्न सफल पनि छन् । जस्तै, ‘घर त पूजा लगाएर चोख्याइबक्सिन्छ, शरीर कसरी चोख्याइबक्सिन्छ कर्नेलनी साप ?’, ‘प्रेम हाम्रा लागि अझै वर्जित छ कर्णेलनी साहेब । प्रेमलाई हिंसाले मारेको छ ।’ यसका बावजुद दीपका कतिपय संवाद ‘लाउड’ पनि लाग्छन् । दीपको संवादमा कथाभित्रै विशिष्ट सन्दर्भ भोगेको खास पात्रको छनकभन्दा बढी हामीले पढ्दै, सुन्दै आएका कुरा हावी भएको छ । दीपको चरित्र निर्माणक्रममा लेखक थप गहिराइमा पस्न सकेको भए एउटा सशक्त दलित पात्र जन्मन्थ्यो, तर उनले यो अवसर गुमाएका छन् । बरु, तुलनात्मक रूपमा दीपको भन्दा रश्मिदेवी/मुमाहजुरको चरित्र गठन बलियो लाग्छ ।

घिमिरे युवराजको कथालाई मञ्चमा उतार्ने काम सिर्जनशील निर्देशक प्रवीण खतिवडाले गरेका छन् । उनको सिर्जनशीलता मञ्चको संरचना डिजाइनदेखि लाइटसम्म देख्न पाइन्छ । ‘विमोक्ष’ का पात्रहरूको विगत र वर्तमान छुट्याउन मञ्चको सेटअपलाई दुई तहमा डिजाइन गरिएको छ । वर्तमानका गतिविधि मञ्चको तल्लो भाग र विगतका गतिविधि मञ्चको माथिल्लो भागमा देखाइएको छ । पात्रहरूको मनोदशामा वर्तमानभन्दा उनीहरूको विगत हावी छ । मञ्चको तहगत डिजाइनले पात्रहरूको मनोदशासँग यस्तै प्रतीकात्मक तादात्मय राख्नु अर्थपूर्ण छ ।

‘विमोक्ष’ डार्क कथा हो, जसका पात्रहरू ग्रे–जोनमा बाँचेका छन् । उनीहरूको जीवनमा भरमार दुःख र अँध्यारो छ, तर ती रंगहीन छैनन् । प्रेममा चुर्लुम्म डुबेका मानिसहरू आखिर बेरंगी कसरी हुन सक्छन् ? सायद त्यसैले, मञ्चमा भरपूर तिक्खर रंग प्रयोग भएको छ । दीप र मुमाहजुरबीचका संवादमा सादा लाइटको प्रयोग बढी छ । रश्मिदेवी र कमलसँगका चञ्चल दृश्य भएको माथिल्लो स्टेजमा रातो, नीलो, पहेँलो लाइट धेरै खेलाइएको छ । रातो लाइटको प्रयोग नाटकको प्रधान विषय प्रेम र विद्रोहसँग मेल खान्छ ।

तस्बिरहरू : दीपक केसी/कान्तिपुर

‘विमोक्ष’ चार कलाकारले धानेको नाटक हो । चारै कलाकारका फरक विशेषता छन् । मुमाहजुरको बोल्ड अवतार रश्मिदेवीको भूमिकामा पवित्रा खड्का विशेष खुलेकी छन् । उनीसँग कमलको भूमिकामा सागर खाती कामीको केमेस्ट्री जमेको छ । मुमाहजुर अर्थात् सगुना शाहको अभिनयमा चरित्रअनुसारको उमेरजन्य कोमलता र शिथिलता महसुस हुन्छ । घिमिरे युवराजले दीपको आफ्नो अन्योल, आक्रोश र छटपटीलाई कायम राखेका छन् । नाटकमा एक–दुई यस्ता पात्र पनि छन्, जो देखिँदैनन्, तर उनीहरूको उपस्थितिको आभास भने हुन्छ । तीमध्ये रश्मिदेवीका श्रीमान् कर्नेल श्यामकुमार बस्नेतको प्रसंग महत्त्वपूर्ण छ ।

‘विमोक्ष’ लाई कविता–गीतको प्रयोगले पनि रोचक बनाएको छ । कथाको अन्त्यतिर माथिल्लो स्टेज र तल्लो स्टेजका पात्रहरू दीप, मुमाहजुर, रश्मिदेवी र कमलबीच संवादसमेत हुन्छ । यस्तै माहोलमा कमल कवितावाचन गर्छन्,

कसरी भन्ने माया थियो कि थिएन भन्ने ?

भ्रम नै सही, महसुस थियो उनी मेरी हुन् भन्ने...

यही कवितालाई दीप यसरी पूरा गर्छन्,

प्रेम गर्छु तिमीलाई

तर, धेरै जसो घृणा गर्छु तिमीलाई ।

विगत र वर्तमानको यो छेडखानी, कल्पना र यथार्थको यस्तो मिसमास रुचिकर लाग्छ । यसले विषयगत रूपमा मात्रै नभई प्रस्तुतिका हिसाबले पनि नाटकलाई विशेष बनाएको छ ।

दीपलाई आफ्नै अतीतले लखेटेजस्तै ‘विमोक्ष’ नाटक हेरुन्जेल मलाई पनि यी प्रश्नले लखेटिरह्यो– के मान्छेले चाहँदैमा आफ्नो विगत बदल्न सक्छ ? विगतलाई बदल्ने प्रयासले मान्छेलाई खुसी मिल्छ वा फगत छटपटी मात्रै ? ‘विमोक्ष’ मा यस्ता अरू पनि धेरै प्रश्न छन्, जसले दर्शकलाई नाटकघरबाट बाहिरिएको लामो समयसम्मै पछ्याइरहन सक्छ । यसर्थमा ‘विमोक्ष’ सामाजिक बेथितिमाथि प्रश्न गर्ने नाटक हो ।

‘विमोक्ष’ नाटक पुस्तकका रूपमा पनि प्रकाशित भएको छ । मैले सुरुमा नाटक पढेँ, अनि मञ्चमा हेरेँ । पढ्दा मस्तिष्कमा बनेका मेरा कैयौं कल्पना नाटक हेर्दा भताभुङ्ग भए । कल्पना भत्किँदा पनि रमाइलो लाग्यो । नाटक हेरिसकेपछि फेरि ‘विमोक्ष’ पढेँ । यो पठनमा मञ्चका पात्र अक्षरमा सजीव भएर आए, झनै रोमाञ्चक अनुभूति भयो ।

‘विमोक्ष’ पढेर हेर्ने वा हेरेपछि पढ्ने, रोजाइ तपाईंकै !

प्रकाशित : फाल्गुन २७, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?