२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

के छ मान्छेको टाउकोभित्र ?

पछिल्ला ५० वर्षमा स्नायुविद् र मनोवेत्ताहरूले व्यापक अध्ययन गरेको विषय हो– मनुष्यको मस्तिष्क र यसले हाम्रो आनीबानीमा ल्याउने बदलाब । अध्ययनले अनेक रमाइला तथ्य फेला पारेका छन् । तर, सबैभन्दा धेरै अध्ययनपछि पनि सबैभन्दा कम जानकारी फेला परेको कुनै मानव अंग छ भने त्यो मस्तिष्क नै हो ।
तनावमा दुख्ने र दुःखमा समातिने यो टाउको खासमा हो चाहिँ के ? जसलाई हामी टाउको भन्छौं त्यो वास्तवमा मस्तिष्कको आवरण हो, जसको विशिष्ट उत्परिवर्तन, आकार र कार्य क्षमताकै कारण मानिस प्रकृतिका सारा प्राणीभन्दा भिन्न बन्न पुगेको छ ।
घनश्याम खड्का

दु:खमा पुर्पुरो ठोक्नु वा टाउकोलाई दुई हातले भकुन्डोझैं समात्नु मनुष्यको एउटा सार्वलौकिक र साझा प्रतिक्रिया हो । देश, काल, परिस्थितिको भिन्नताले मानवीय व्यवहारका कैयन् पक्ष अलगअलग छन् । तर, बिर्सेको कुनै मानिसको नाम वा घटना वा वस्तुलाई झट्ट सम्झन नसक्दा, दिक्दारीले घेर्दा वा धत्तेरिका भन्ने भाव जनाउनुपर्दा हात टाउकामा पुर्‍याउने बानी भने अनौठो किसिमले हरेकमा किन हुन्छ होला ? यो प्रश्न वरपर रहेर स्नायुविज्ञानले मानिसको विचार, व्यवहारको ढाँचा र मस्तिष्कको बनोटबारे असाध्यै रोचक अध्ययनहरू गरेको छ ।

के छ मान्छेको टाउकोभित्र ?

तनाव भएका बेला दुख्ने र दुःख परेका बेला समातिने यो टाउको खासमा होचाहिँ के ? जसलाई हामी टाउको भन्छौं त्यो वास्तवमा मस्तिष्कको आवरण हो, जसको विशिष्ट उत्परिवर्तन, आकार र कार्यक्षमताकै कारण मानिस प्रकृतिका सारा प्राणीभन्दा भिन्न बन्न पुगेको छ ।

टाउकोभित्रको यो जटिल अंगले विचार, स्मृति, भावना, स्पर्श, चाल, कौशल, दृष्टि, श्वासप्रश्वास, तापक्रम, भोक र हाम्रो शरीरलाई नियमन गर्ने प्रत्येक प्रक्रियामाथि नियन्त्रण गर्छ । पछिल्लो ५० वर्षमा स्नायुविद् र मनोवेत्ताले सबैभन्दा बढ्ता अध्ययन गरेको यही मस्तिष्क र यसका कारण हाम्रो आनीबानीमा आउने बदलाबबारे हो, जसले अनेक रमाइला तथ्य फेला पारेको छ । यद्यपि, सबैभन्दा बढ्ता अध्ययन गरेर सर्वाधिक कम जानकारी फेला परेको कुनै मानव अंग छ भने त्यो पनि यही मस्तिष्क नै हो ।

औसतमा १३ सय ग्राम तौल हुने हाम्रो मस्तिष्कको ६० प्रतिशत भागमा बोसो हुन्छ, जसलाई हामी गिदी भन्छौं भने बाँकी ४० प्रतिशत पानी, प्रोटिन, कार्बोहाइड्रेट र नुनिलो लवणको संयोजनले बन्छ । रमाइलो के भने मस्तिष्कमा एउटै मांसपेशी हुँदैन । यसमा त बोसोजस्तो गिदीभित्र अर्बौंको संख्यामा स्नायु रेसा र रक्तवाहक धमनीको अद्भुत जालो हुन्छ । यसैलाई हामी समग्रमा मगज पनि भन्छौं । व्यवहारमा अस्वाभाविक देखिए मानिसहरू यसैलाई दोष दिएर भन्छन्, ‘मगज खुस्केको’ !

मानिस र जनावरको मस्तिष्कको मुख्य भिन्नता यसको तौल हो, जो शरीरको अनुपातमा अरू प्राणीको मस्तिष्कभन्दा तीन गुणा ठूलो हुन्छ । यही कमालको मस्तिष्कले जंगलको एक सामान्य जनावरको हूलबाट अलग पारेर मानिसलाई पृथ्वीको एकछत्र भोग गर्न सक्षम बनाएको छ । यो सब मगजको सोचविचार गर्न सक्ने क्षमताको परिणाम नै हो । र, मस्तिष्कको सोचविचार गर्ने काम सेरेब्रल कोर्टेक्सले गर्छ । कुल मस्तिष्कको ८० प्रतिशत हिस्सा यही सेरेब्रल कोर्टेक्सले ओगटेको छ । अन्य प्राणीमा यो प्रतिशत ज्यादै कम छ, जो हाम्रो र जनाबरको मस्तिष्कबीचको अर्को ठूलो भिन्नता हो ।

मान्छेको मगजभित्रको यही सेरेब्रल कोर्टेक्समा एक अर्ब साठी करोड स्नायु रेशाहरू हुन्छन्, जो अरू जनाबरमा सारै कम हुन्छ ।

यस्तो जटिल मानव मस्तिष्क ५० करोड वर्षअघि केही कोसिकाहरूको उत्परिवर्तनको लामो यात्राको परिणाम भएको अनुमान अध्यताहरूको छ, जो सुन्दा निकै रोचक लाग्छ ।

लाखौं वर्षको अन्तरालमा विकसित भएको स्नायु प्रणालीले प्रजाति–विशिष्ट मस्तिष्क र व्यवहार क्षमता उत्पन्न गर्छ । तर, मानिसमा जस्तो कलाको चेत कुनै जनावरको स्नायु प्रणालीले पनि पैदा गरेको छैन । यस हिसाबले हेर्दा कलाको उत्पादन र प्रशंसा मान्छे मात्रको स्वभाव हुन गएको छ । मानव मस्तिष्कमाथि ४५ वर्षको लामो अध्ययनपछि स्पेनका स्नायुविद् जाभिएर डे. फिलेप के निष्कर्षमा पुगेका छन् भने, हाम्रो मगजको सर्वाधिक सुन्दर र अलग पक्ष भनेको यसको बौद्धिक सिर्जनात्मक क्षमता नै हो ।

फिलेपजस्तै, सबैजसो मस्तिष्क अध्येताहरू मानिसका हर कृत्यमा कलाको स्पर्श देखेर चकित छन् जबकि बाँच्नका लागि यसको कुनै जरुरतै पर्दैन । जनावरहरूको मस्तिष्क उनीहरूलाई त्यति मात्रै काम गराउन सक्षम छ जति बाँच्नका लागि चाहिन्छ । बाँच्नका निम्ति मुख्यतः पहिलो जरुरत पक्ष हो– भोजन । हरेक प्राणीको मस्तिष्कले अलगअलग प्रकारको भोजनमा हजारौं वर्षदेखिको लगाब राखेको देखिन्छ । जस्तो कि मृग, हात्ती र गाईजस्ता शाकाहारी प्राणी ज्यानै गए पनि मांसभक्षण गर्दैनन् । बाघ, चितुवा र सिंहहरू भोकले मर्छन् बरु, तर घाँस खाँदैनन् । गिद्ध मासु खान्छ, तर मरेको जनावरको मात्रै । मान्छेको आहारको भने कुनै सीमा छैन । फेरि हाम्रा खाना कति कलात्मक छन् र सिर्जनात्मकताको कुन रूप यसमा सम्मिलित छ भनेर हेर्न थालियो भने ठेलीका ठेली पुस्तक जन्मिन्छन् । जबकि, कुनै पनि प्राणीले भोजनको प्राकृत अवस्थामा रत्ती पनि नसुधारी ग्रहण गर्छ ।

बाँच्न चाहिने अर्को महत्त्वपूर्ण आवश्यकता हो सुरक्षा, जसभित्र जैविक प्रतिकूलतासँग जुध्न आवासदेखि शत्रुसँग लड्न चाहिने प्रतिकारको कौशल र सामर्थ्यसम्म जोडिन आइपुग्छ । यस मामिलामा प्रजाति विशिष्ट जनाबरहरूको सदा एउटै लक्षण छ । मृग जंगलमा बस्छ र जंगलमै बस्ने बाघसँग बच्न उसको सुरक्षा वा प्रतिकार कौशल भनेको दौडन सक्ने क्षमता मात्रै हो । चराहरू उड्छन् र रूखमा गुण बनाएर बस्छन् । सर्पहरूले दुला खोज्न अहिले पनि छाडेका छैनन् र माछाहरू पानीबाहिर आए भने मरिहाल्छन् । केही डिग्री तापक्रम तल–माथि भयो कि यिनीहरूको जीवन संकटमा पर्छ ।

तर, मान्छेले सर्वाधिक गर्मीदेखि सदैव हिउँ जमिरहने ऋणात्मक तापक्रम भएका ठाउँमा पनि सहरहरू बसाएको छ, सुरक्षाका नाममा हजारौं प्रकारका हतियार र पृथ्वी नै ध्वस्त पार्न सक्ने डरलाग्दा अणु बम बनाएको छ । यो सबै मस्तिष्कको सिर्जनात्मक बौद्धिक क्षमता नभएको भए सम्भव हुने थिएन ।

हर प्राणीले आफ्नो अस्तित्वको निरन्तरताका लागि गर्ने अर्को कर्म हो– मैथुन । जनावरको मैथुनिक कार्यमा संलग्नता ऋतु विशेष हुने हुनाले जुनसुकै समयमा उनीहरू यौन गतिविधिमा संलग्न रहन्नन् । फेरि हरेक जनावरको यौनासन पुस्ता दरपुस्ता एउटै हुन्छ ।

तर, यस मामिलामा पनि मानिस प्राणीभन्दा तीन सय असी डिग्रीले फरक छ । पहिलो त मानिसको मन नै मैथुनिक विचारका अनेक उत्तेजक भावहरूले भरिएको हुन्छ । जुनसुकै मौसममा, जुनसुकै समयमा र जहाँ पनि मनुष्य यौनिक कर्ममा सहभागी भइदिन सक्छ र हुन चाहन्छ पनि । यौनका दर्जनौं आसन उसले आविष्कार गरेको छ र एक मात्रै यौन साथी हुनुलाई आदर्श मानक बनाएको छ उसको सभ्यताले । र, आम रूपमा यो मानक आफ्नै स्वभावको विपरीत हुनाले मनुष्य यौनका मामिलामा सदा तनावमा रहन्छ । जनावरहरू यो झन्झटबाट सदा मुक्त छन् । यो उनीहरूको सादगीले होइन, मस्तिष्कको सीमित क्षमताका कारण भएको हो ।

यी र यस्ता लाखौं भिन्नता मस्तिष्कको विशिष्ट ढाँचाका उपज हुन् । स्नायु विज्ञानले जैविक दृष्टिकोणबाट मानसिक प्रक्रियाको विश्लेषण गरेर हाम्रा विशिष्ट आनीबानीको कारणलाई चाखलाग्दो गरी पर्गेलेको छ । तैपनि मस्तिष्क र व्यवहारबीचको सम्बन्धलाई ठीकसँग तालमेल गर्न भने यसले अझै सकेको छैन । स्नायुहरूको आकार र यसको जडानमा हुने सानो मात्र परिवर्तनले पनि जीवनको व्यवहारमा ठूलो बदलाव आउँछ भन्ने त प्रयोगसिद्ध भइसक्यो । तर, कुन रेसाको कति विकासले के परिवर्तन आउँछ भन्नेचाहिँ अहिले पनि रहस्यकै गर्तमा छ ।

सुल्झन नसकेको पहिलो र मुख्य प्रश्न नै मस्तिष्कको आकारसँग र बौद्धिक क्षमताको सीधा सम्बन्ध छ कि छैन भन्ने हो । कोलम्बिया युनिभर्सिटीका मानवशास्त्री राल्फ एल हलवेको समूहले गरेको जीवाष्म अध्ययनले देखाएअनुसार पचास लाख वर्षयता बाँदर प्रजातिको मस्तिष्क तीन गुणाले बढेको छ । जस्तो कि अहिलेको मानव होमो सापिएन्सको आदिपुर्खा अस्ट्रेलोपिथेकसको मस्तिष्कको आकार ४५० क्युबिक सेन्टिमिटर थियो । उसैको सन्तान मानिने होमो सापिएन्स अर्थात् आधुनिक मनुष्यको मस्तिष्कको आकार अहिले औसतमा १३ सय ४५ क्युबिक सेन्टिमिटर छ । क्रमविकासका क्रममा मस्तिष्कमा हुने विकासको अनुपात र यसबाट जीवको व्यवहारमा पर्न जाने परिवर्तनलाई जनाउन प्राणीशास्त्रमा एउटा शब्द छ– इन्सेफेलाइजेसन । शरीरको बनौट र तौलको अनुपातमा मस्तिष्कको वजन तथा यसको संरचनात्मक ढाँचालाई नाप्न जीवशास्त्रीहरूले एउटा मापन बनाएका छन्, इन्सेफेलाइजेसन क्वेसन्ट अर्थात् इक्यु । स्तनधारी जनावरहरूमा यो अनुपात जाँच्ने मानक बिरालोलाई लिइन्छ, जसको इक्यु १ छ । एकभन्दा कम वा बढीको इक्युले सापेक्ष मस्तिष्क आकारलाई संकेत गर्छ । यहाँ बिरालोको इक्यु १ हुनुले के संकेत गर्छ भने उसको मस्तिष्क शरीरको सापेक्षमा निकै सानो छ । यो उपाय प्रयोग गरेर जाँच्दा हालसम्म उच्च इक्यु मान्छेकै मस्तिष्कले पाएको छ, जसको प्राप्ताङ्क ७.४ देखि ७.८ सम्म छ । झन्डै ३५ लाख वर्षअघि नियान्डरथलका पूर्ववर्ती पुर्खा मानिएका अस्ट्रेलोपिथेकस प्रजातिको मानवको इक्यु ३.१ देखि ३.६ सम्म थियो (मारिनो, १९९०) । इक्युले मस्तिष्कको क्षमता र जटिल ढाँचालाई मात्रै नभएर प्राणीको बुद्धि मात्रालाई पनि जनाउँछ । बुद्धिमान मानिएका प्राणी कुकुरको इक्यु १.२, गुरिल्लाको १.५ देखि १.८, चिम्पान्जीको २.२ देखि २.५ र क्यापुचिन बाँदरहरूको २.४ देखि २.८ सम्म इक्यु मापन गरिएको छ (रोथ एन्ड डीके, २००५) ।

मस्तिष्कको आकार र व्यवहारमा यसको प्रभावका सम्बन्धमा भएका यस्ता खोजबिन र प्रकाशित तथ्यहरूले एउटा आम जिज्ञासा पैदा गरिदियो– महान् भनिएका कलाकार, विचारक र दार्शनिकहरूको मस्तिष्क कस्तो र कत्रो होला ? कौतूहलपूर्ण यो जिज्ञासाले निम्त्याएको अनेकौं मानिसको मस्तिष्कको अध्ययनले अलमल्याउने नतिजाहरू दिएको छ, जसले के देखाउँछ भने मान्छे–मान्छेबीच मस्तिष्कको तौल सानो–ठूलो भए पनि त्यसले बुद्धिमत्तामा खासै फरक पार्दैन । उदाहरणका लागि अठारौं शताब्दीका अंग्र्रेज कवि लर्ड बायरनको मस्तिष्क २.२३८ किलोग्राम थियो । निश्चय नै बायरन बुद्धिमान र प्रतिभाशाली कवि थिए । तर, यो ठूलो मस्तिष्क नै त्यसको कारण थियो त ? यो प्रश्न तब सान्दर्भिर्क भयो जब अद्भुत वैज्ञानिक आइन्सटाइनको मस्तिष्कको तौल मात्र १२ सय ३० ग्राम थियो भन्ने तथ्य बाहिर आयो । औसतभन्दा अलिकति सानो मस्तिष्कको तौल भएका आइन्सटाइनको बौद्धिक तीक्ष्णता उनको समयमा पृथ्वीमा जीवित मानिसको भन्दा कता हो कता प्रभावशाली थियो, छ ।

मस्तिष्कको आकार र त्यस अनुपातमा मानिसको व्यवहारबारे सुरुवाती खोजकर्ताहरूमा स्वीडेनका स्नायुविद् गुस्ताभ म्याग्नस रेट्जियसको नाम अग्रपंक्तिमा आउँछ । सन् १८४२ मा जन्मेका गुस्ताभले ७७ वर्षको आफ्नो लामो जीवनकालमा गरेको खोजबिनले मस्तिष्क आकारविज्ञानको दायरालाई प्राथमिक पहिचान दिने काम गरे । मानिसको बुद्धिमत्ता र व्यवहार मस्तिष्कको कुनै विशेष हिस्साको विकासले तय गर्छ कि गर्दैन भन्नेबारे खोजबिन गर्ने उनको चासोलाई सघाउ पुगोस् भनेर फिजियोलोजिस्टहरू टाइगरस्टेड र रेटजियसले मृत्युपरान्त मस्तिष्क दान गर्ने अभियान चलाए । तर, त्यस समयमा उनै दुई चिकित्साशास्त्रीबाहेक अरू कोही यसो गर्न तयार भएनन् । तर, पनि अनुसन्धानका लागि आवश्यक विषयका रूपमा मस्तिष्कको दान गर्नुको महत्त्वबारे स्नायुविदेहरूले आग्रहपूर्ण अनुरोध जारी राखे । अन्ततः उन्नाइसौं शताब्दीमा अमेरिकन एन्थ्रोपोमेट्रिक सोसाइटीले मस्तिष्क बैंक स्थापना गर्न सफल भयो । यसपछि त ललितकला, विज्ञान, राजनीति, संगीत र साहित्यका प्रतिष्ठित व्यक्तित्वहरूको मस्तिष्कलाई स्नायुविद्हरूले सजिलै अध्ययन र विश्लेषण गर्न पाए । बैंकका संस्थापकमध्ये एक थिए– शरीरशास्त्री एडवार्ड एन्थोनी स्पिट्जका, जसले ध्यानपूर्वक अध्ययन गरेका सयभन्दा बढी प्रसिद्ध व्यक्तिहरूको दिमागको तौल २.०१२ देखि १.१९८ किलोग्रामसम्म थियो ।

स्पिट्जकाको सूचीको शीर्षकमा रुसी उपन्यासकार इभान टुर्गेनेभ पनि थिए, जो प्रसिद्ध पुस्तक ‘फादर्स एन्ड सन्स’ का लेखक थिए । रोचक के छ भने स्पिट्जकाको खोजअनुसार सबैभन्दा सानो मस्तिष्क (१.१९८ किलोग्राम) मेधावी जर्मन शरीरशास्त्री फ्रान्ज जोसेफ गल (१७५८–१८२८) को थियो, जो त्यस समय पृथ्वीको गिनेचुनेका शरीरशास्त्री मानिन्थे । औसतभन्दा केही सानो तौलको मस्तिष्क भएर पनि गहिरो खोज, अनुसन्धान गर्न सक्ने तीक्ष्ण बुद्धि भएका गेल आफैंचाहिँ मस्तिष्कको ठूलो आकार बढी बौद्धिक व्यक्तित्वसँग सम्बन्धित छ भन्ने मान्यता राख्थे । स्नायुविद्हरूले धेरै सानो दिमाग भएका सामान्य व्यक्तिहरूमाथि पनि गेलको यो कथन साँचो हो कि होइन भनेर अध्ययन गरे । डेनियल लियोन्स नामका सामान्य मानिसको मस्तिष्कको तौल जम्मा ६८० मिलिग्राम थियो । यो भनेको औसतभन्दा आधैले सानो हो । तर पनि, उनको सुझबुझ र शरीरको विकास औसत रूपले सामान्य नै थियो । यी र यस्ता अरू पनि दृष्टान्तले मस्तिष्कको तौल र आकारसँग मानिसको बुद्धिमत्ताको सीधा साइनो छैन भन्ने निष्कर्षमा केही स्नायुविद्हरू पुगेका छन् । र पनि, मस्तिष्कको जडानको व्यक्तिगत ढाँचा र त्यसमा हुने मात्रात्मक तथा गुणात्मक दुवै विशेषताले मानिसको बुद्धिमत्तालाई प्रभाव पार्ने गर्छ भन्ने अनेक प्रयोगसिद्ध विश्लेषण पनि उत्तिकै प्रभावशाली छन् ।

हड्डीहरूजस्तो मस्तिष्कको जीवाशेष नहुने हुनाले हाम्रा पुर्खाहरूको बौद्धिक क्षमताबारे भएका मानवशास्त्रीय अध्ययन उनीहरूले बनाएका औजार र हतियारहरूको अध्ययनमा सीमित छ । त्यसअनुसार हेर्दा १८ लाख वर्षपहिले होमो इरेक्टसले ढुंगाका धारिला हतियाहरूको आविष्कार गरे । यसका आधारमा स्नायुविद्हरू के निष्कर्षमा पुगेका छन् भने लाखौं वर्षअघिका अस्ट्रेलोपिथेकस प्रजातिका मानिसका भन्दा होमो इरेक्टस प्रजातिका मानिसको मस्तिस्क ठूलो र सोचविचार गर्न सक्ने खुबीको थियो ।

होमो इरेक्टसहरूले ढुंगाको चमकबाट पहिलोपटक आगो आविष्कार गरेको पनि अनुमान छ, जसको प्रयोग बिस्तारै अरू प्रजातिका मानिसले पनि गर्न थाले । काठ र हड्डीका तीर तथा भालाजस्ता औजार पनि होमो इरेक्टसकै समयमा भएको देखिन्छ । यी सबै हेर्दा उनीहरूको मस्तिष्क त्यसअघिका सबै प्रजातिका मानिस र जनावरको मस्तिष्कभन्दा ठूलो थियो र उनीहरू बढी चलाख थिए भन्ने निष्कर्ष निस्किन्छ ।

यो समयलाई जीवाष्मशास्त्रीहरूले ५ लाख वर्षअघि वरपरको मानेका छन् । स्नायुविद्हरू यसै समयलाई आधुनिक क्षमताको मस्तिष्कको विकासको सुरुवात मान्छन् । हामी आधुनिक मानवका पुर्खा होमो सापिएन्सको उत्पत्ति २ लाख वर्षअघि अफ्रिकी जंगलमा भएको मानिन्छ, जसको मस्तिष्क उत्विकासको क्रममा ठूलो हुन पुगेको थियो । मस्तिष्कको विकाससँगै मानिसहरू विशिष्ट किसिमको ध्वनि निकाल्न सक्ने भए र कालान्तरमा त्यो कुराकानी गर्न सक्ने आवाजमा बदलिन पुग्यो । यसबाट भाषाको जन्म भयो भन्ने मस्तिष्कशास्त्रीहरूको निष्कर्ष छ । स्नायु विज्ञानको पछिल्लो खोजले जीवमा आवाज निकाल्न मद्दत गर्ने विशिष्ट डीएनए भएको पत्ता लगाएको छ, जसलाई फक्सपिटुका नामले चिनिन्छ । यही विशिष्ट डीएनएकै कारण संकेतहरूलाई आवाज र आवाजलाई शब्द अनि शब्दलाई भाषामा बदल्न सक्ने खुबीले मानिस एकआपसमा ज्ञान र भावको सञ्चार गर्न सक्ने भए, जो अरू जनावरमा कहिल्यै सम्भव भएन । यस सम्बन्धमा स्पेनका प्रसिद्ध चिकित्सक एवं मनोवैज्ञानिक जुआन ह्वार्टेले सन् १५७५ मा प्रकाशित गरेको पुस्तक ‘एक्जामिन मे इन्जेनिओस पारा लास सिएनसिआस’ (विज्ञानका लागि बुद्धिको परीक्षा) मा यो तत्थ्यलाई निकै रोचक ढंगले उजागर गरेका छन् । उनको तर्क छ– दुई/तीन वर्षको अध्ययनले मानिस आफ्ना पुर्खाले दुई हजार वर्षमा गरेका सबै कुरा जान्न सक्छ । जबकि यो सबै ज्ञान अनुभवद्वारा हासिल गर्न कम्तीमा पनि तीन हजार वर्ष नबाँची सम्भव हुन्न । त्यस्तै, औषधिहरूबारे आफ्नै प्रयोगले निश्चित हुन अनगिन्ती मानिसलाई मार्नु अनिवार्य हुन आउँछ । तर, यो सबैबाट बच्न तर्कसंगत र अनुभवी डाक्टरहरूको पुस्तक पढ्नु नै काफी छ ।

जुआनको के पनि विश्लेषण छ भने मानिसको बुद्धि मस्तिष्कको क्षमताले होइन, तत्कालीन सांस्कृतिक परिवेशले तय गर्छ । जस्तो कि मोजार्ट, आइन्स्टाइन वा पिकासो सांस्कृतिक जागरणको समयमा जन्मेकाले मात्रै उनीहरूले संगीत, विज्ञान र कलामा अद्वितीय योगदान गर्न सकेका हुन् । उनीहरू भाषा, संस्कृति र लिपिहरूको विकासै नभएको समय वा २ लाख वर्षअघिको जंगली होमो सापिएन्सका छोरो भएर जन्मेका भए उही मस्तिष्कको क्षमता भए पनि आइन्सटाइनले सापेक्षताको सिद्धान्त प्रतिपादन गर्न सक्थे होलान् ? बुद्धले निर्वाण लाभ गर्न सक्थे होलान् ? त्यसो हुनाले जुआनको तर्क छ– मस्तिष्क जत्ति ठूलो भए पनि र मानिस जत्ति बुद्धिमान भए पनि तत्कालीन शिक्षा र संस्कृतिले उसको क्षमतालाई निर्धारण गर्छ । उनको यो तर्क मस्तिष्क विज्ञानका क्षेत्रमा अकाट्य रूपले स्थापित छ ।

अरू जनावरहरूको मस्तिष्क संस्कृति, भाषा र सभ्यताको विकास गर्न अक्षम भएकाले उनीहरूको हुलमा कुनै पिकासो, आइन्सटाइन वा बुद्धजस्तो तीक्ष्ण स्वभावको जीव जन्मिए पनि त्यसले अलग पहिचान र क्षमता देखाउन नसक्नाको कारण नै यही हो ।

उही क्षमताको मस्तिष्कवान् मानिस क्षमतावान् हुने वा नहुने भन्नेमा सांस्कृतिक जागरण तथा शिक्षाको प्रसारणले मुख्य प्रभाव पार्छ भन्नेसम्मको विन्दुमा जुआनको तर्क युक्तिसंगतै छ ।

तर, के कारण मानिसको मस्तिष्क सांस्कृतिक र भाषिक संसारको आविष्कार गर्न सक्ने भयो ? अनि के कारण हो, जसले अरू जनावरको मस्तिष्कमा बौद्धिक विकासै हुन दिएन ? स्नायुविद्हरूको पहिलो र मुख्य प्रश्न नै यही हो मस्तिष्कका सम्बन्धमा ।

मस्तिष्क कसरी विकसित हुन्छ भनेर विश्लेषण गर्ने एउटा दृष्टिकोण भनेको यसको समग्र आकारसँग मस्तिष्कका भागहरूको एलोमेट्रिक (सापेक्षमितीय) सम्बन्धको अध्ययन गर्नु हो । स्तनधारी प्रजातिहरूका मस्तिष्क फरकफरक आकारका छन् । जस्तो कि हेर्दा मुसोजस्तो देखिने सबैभन्दा सानो स्तनपायी जीव पिग्मी स्रिउको औसत वजन ४ ग्राम र यसको मस्तिष्कको तौल ०.०६० ग्राम हुन्छ । स्तनधारी प्राणीहरूमध्ये सबैभन्दा ठूलो स्मर्प ह्वेलको तौल ५० हजार किलोग्राम र मस्तिष्कको तौल ९.२ किलोग्राम हुन्छ । आकारमा यति धेरै तलमाथि भए पनि मस्तिष्कको सेरेब्रल कोर्टेक्सको मोटाइमा भने स्तनधारी प्रजातीबीच तुलनात्मक रूपमा थोरै फरक देखिएको छ । सोचविचार गर्ने मुख्य भाग मानिएको मस्तिष्कको सेरेब्रल कोर्टेक्स सबैभन्दा बाक्लो मनुष्यको छ, जसको मोटाइ ४.४ मिलिमिटरको छ । जबकि झन्डै १० केजी तौलको मस्तिष्क भएको स्मर्प ह्लेको सेरेब्रल कोर्टेक्सको मोटाइ जम्मा २ मिलिमिटरको छ । अरू प्राणीको मगजमा पनि सेरेब्रल कोर्टेक्स यस्तै छिपछिपे हुनु र मनुष्यको भने एकनासले बाक्लो हुनुलाई सोचविचार गर्न सक्ने विशिष्ट क्षमता र व्यवहारसँग प्रत्यक्ष सरोकार छ भन्न सकिन्छ ।

भाग्यको समनार्थी शब्द पुर्पुरो हो । पुर्पुरो निधारमा छ भन्ने हाम्रो विश्वास छ । रमाइलो के भने हामीले पुर्पुरो भन्ने गरेको यही निधारभित्र सेरेब्रल कोर्टेक्सको बाक्लो तह छ, जो मनुष्य मात्रको उपलब्धि हो । सेरेब्रल कोर्टेक्स ठूलो हुनु भनेको बौद्धिक क्षमता बढी हुनु हो । त्यसैले हुँदो हो, निधार ठूलो भएकालाई हाम्रा पूर्वजले भाग्यमानी भन्ने गरेका ।

जीवाष्माशास्त्रले लाखौं वर्षअघिको प्राणीको मस्तिष्कको तुलनामा केही थप विकास भएको पहिल्याएको छ । यो विकास भएको अंगको नाम हो– नियो कोर्टेक्स, जसले प्राणीलाई बढी होसियार बनाउँछ । हेर्न, देख्न, सुँघ्न, वस्तुको आकार र स्थानहरूको अवस्थितिको विश्लेषण गर्न, शरीरको चाललाई बढी सूक्ष्मतासँग सञ्चालन गर्न र सोचविचार गर्न सक्ने खुबी भएको नियो कर्टेक्सको सर्वाधिक विकास मान्छेकै मस्तिष्कमा भएको छ ।

ठूलो आकारको यही नियो कोर्टेक्सकै कारण मनुष्य बिस्तारै विचारहरूको संसारमा प्रवेश गर्‍यो र आफ्ना हरेक व्यवहारमा त्यसको छाप लगायो । यही नियो कोर्टेक्सकै कारण मनुष्यले शरीर, आत्मा र परमात्मा गरी संसारलाई तीन वर्गमा बाँड्यो, भाषाहरूको आविष्कार गर्‍यो र ज्ञानलाई एक पुस्तादेखि अर्को पुस्तासम्म प्रवाहित गर्ने विधिहरू खोज्यो (काट्ज एन्ड ह्यारिस वारिक, १९९९) ।

यही नियो कर्टेक्स हो, जसकै कारण कला, साहित्य, विज्ञानदेखि धर्म, दर्शन र अध्यात्मजस्तो संज्ञानात्मक क्षेत्रहरूको आविष्कार सम्भव भयो । हाम्रो शरीरभरि स्नायु रेसाहरूको एउटा ठूलो जालो छ, जसले सूचनाहरू विद्युतीय तरंगमार्फत पैदा गर्छ र यो मस्तिष्कमा निरन्तर प्रशोधन भइरहन्छ, जो अरू जनावरमा हुँदैन । यी रेखाहरू कति छन्, कस्ता छन् र यिनले ठ्याक्कै कसरी काम गर्छन् भनेर देखाउन सक्ने दुरुस्तको आफ्नै मस्तिष्क नक्सा हालसम्म मान्छेले बनाउन सकेको छैन । युरोपियन युनियन, जापान र चीनले केही वर्षदेखि मस्तिष्कको थप रहस्य सुल्झाउने काममा आफ्ना विश्वविद्यालयहरूलाई ठूलो धनराशि दिएका छन् । आशा गरौं, छिट्टै नै यो खोपडीभित्रको पूर्ण रहस्य पत्ता लाग्नेछ र हामी आफ्नैबारे जानकार हुनेछौं । मस्तिष्कको यो विलक्षणता र रहस्य जानेपछि मात्रै मनुष्यको ज्ञानको गरिमा रहनेछ । अहिलेको अवस्था कस्तो छ भने ब्रह्माण्डको रहस्य पत्ता लगाउन हिँडेको मनुवालाई ‘तेरो मस्तिष्कबारे भन्’ भनेर अर्को ग्रहको कसैले सोध्यो भने ‘धत्तेरीका’ भन्दै पुर्परोमा हात लगाउनुपर्छ !

प्रकाशित : फाल्गुन २०, २०७९ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?