कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

झाङ्मुका जिउँदा बोधीसत्त्व

चिनियाँ टोलीको शिविरमा एक नेपाली बालिका बिरूवा रोपिरहेकी थिइन् । सानैमा ज्वरोको असरले उनी कान नसुन्ने भएकी थिइन् । चिनियाँ चिकित्सकको उपचारपछि उनको श्रवण–शक्ति फर्कियो । त्यो बिरूवा हुर्कियो र नेपाल–चीन मित्रताको प्रगाढ चिह्न बन्यो ।
हाओ चाङयिन

नेपाल चीनको मित्रवत् छिमेकी हो । आजसम्म नेपालमा काम गरेका सबै चिनियाँले चीनप्रति नेपाली जनताको इमानदार र मित्रवत् भावना अनुभव गरेको हुनुपर्छ । हामी जहाँ पुगे पनि नेपालीहरू दुई हात जोडेर मुसुक्क हाँस्दै ‘नमस्ते’ भन्छन् । हामीलाई भेट्दा केही केटाकेटी ‘मामा’ भनि बोलाउँछन् । शताब्दियौंअघि तिब्बतका राजा सोङत्सेन गाम्पोको नेपाली राजकुमारी भृकुटीसँग विवाह भएको थियो । त्यही बेलादेखि नेपाल चीनको आफन्त बन्यो । त्यसैले नेपालका केटाकेटीले चिनियाँहरूलाई मामा भनेको हुनुपर्छ ।

झाङ्मुका जिउँदा बोधीसत्त्व

मित्रताको फल

सन् १९६० को दसकदेखि चीनले नेपाललाई सहायता दिन थाल्यो । चीनले नेपालमा धेरै कलकारखाना, सडक र अन्य परियोजना बनाउन मद्दत गर्‍यो । उदाहरणका लागि हेटौंडा कपडा कारखाना । त्यो नेपालकै सबभन्दा ठूलो कपडा उद्योग थियो ।

एक बिहान हेटौंडा कपडा कारखानाको हावा ओसिलो थियो । उद्योग सञ्चालनमा मद्दत गर्न चीनबाट आएका चिनियाँ प्रशिक्षकहरू आफ्नो देश फर्किन कारखानाको मूलद्वारमा पुग्दा सयौं नेपाली मजदुरले उनीहरू सवार मिनिबस घेरे । क्षणभरमै विभिन्न रंगका फूलले मिनिबस भरियो । सबै चिनियाँ प्रशिक्षकका घाँटी सुगन्धमयी पुष्पमालाले सुशोभित भए । गाडी अघि बढ्यो । तर, कपडा कारखानाका महिला कामदारहरू गाडीको पछिपछि दौडिँदै रुँदै चिच्याएको सुनियो, ‘चिनियाँ मामाहरू, आउँदै गर्नुहोला है ।’

हेटौंडाको कपडा कारखाना सन् १९७५ देखि १९७८ मा बनेको थियो । निर्माण सम्पन्न भएपछि नेपालको आग्रहमा केही चिनियाँ प्रशिक्षकहरू प्राविधिक सहायताका लागि नेपालमै बसेका थिए । महिलाहरूलाई तालिम दिन चार जना चिनियाँ महिला मजदुरहरूलाई विशेष रूपमा खटाइएको थियो । एक वर्षमै चिनियाँहरूले सयौं नेपाली मजदुर र प्राविधिकलाई तालिम दिएका थिए । कारखानामा मजदुर हुनुअघि उनीहरूमध्ये अधिकांश विद्यार्थी, किसान र कार्यालयका कर्मचारी थिए । चिनियाँ गुरुको सहायतामा उनीहरूले कडा मिहिनेत गरेर धेरै सीप सिके । कपासबाट धूलो झार्ने, कपास पेल्ने, धागो कात्ने, कपडा बुन्ने र चित्र छाप्ने काममा उनीहरूले निपुणता हासिल गरे । उनीहरूमध्येकै २५० जना नेपालको पहिलो पुस्ताका महिला कपडा मजदुर बने । उनीहरूको चिनियाँ महिला प्रशिक्षकहरूसँगको सम्बन्ध गहिरो थियो । ‘मलाई नेपाली आमाले जन्माइन्, चिनियाँ मामाले इलम सिकाए’, ती महिला मजदुर भन्थे ।

उच्च गुणस्तरका कारण एकथरी इँटा नेपालमा खुबै बिक्री हुन्थ्यो । ललितपुरको हरिसिद्धि इँटा कारखाना र भक्तपुरको इँटा कारखानामा त्यस्ता इँटा उत्पादन गरिन्थ्यो । ती दुवै कारखाना चिनियाँ सहयोगमा स्थापना भएका थिए । त्यसकारण ती कारखानाबाट उत्पादन हुने इँटाको नाम नै ‘चिनियाँ इँटा’ थियो ।

प्राविधिक र मजदुरहरूको मिहिनेतले दुवै उद्योगका उत्पादन राम्रो थियो । स्थानीय निर्माण कार्य र पुँजी निर्माणमा तिनले सकारात्मक भूमिका खेले । हरिसिद्धि इँटा उद्योगले सन् १९७० देखि १९७९ मा वार्षिक औसत २ करोड ३० लाख इँटा र ५ लाख ६० हजार टाइल उत्पादन गर्थ्यो । त्यहाँ अपेक्षित क्षमताभन्दा १० प्रतिशत बढीले उत्पादन बढेको थियो । त्यो उद्योग उतिबेलै ३० लाख रुपैयाँ नाफामा चलेको थियो । नाफाको पैसाबाट उद्योगले मेसिन खरिद गरेको थियो । कारखानामा भवन थपिएको थियो, जसले उत्पादन वृद्धिमा थप टेवा पुर्‍याएको थियो । राजा वीरेन्द्रले कारखानाको भ्रमणमा भनेका थिए, ‘यो नेपाल–चीन मित्रताको फल हो । यसको हामीले उचित व्यवस्थापन गर्नुपर्छ ।’

गाह्रोसारोको साथी

गोरखा–नारायणघाट राजमार्ग चिनियाँ र नेपाली मजदुर एवम् प्राविधिक मिलेर पहाडी क्षेत्रमा बनाएको चौथो सडक हो । यो अग्लो पहाड र गहिरो खोंचमा बनेको ६० किलोमिटर लामो सडकमा जटिल भौगर्भिक संरचनाको कारण बीसभन्दा बढी पुल र ३ सयभन्दा बढी कल्भर्ट छन् । सडकको एउटा खण्डमा एकातिर बाँदर खस्ने भीर र चट्टान छन् भने अर्कोतिर गडगडाएर बग्ने नदी । चिनियाँ, नेपाली मजदुर र प्राविधिकहरूले हुरी र पानीको किमार्थ पर्वाह नगरी ती पर्वत फोडेका थिए । उनीहरू भिरका चट्टान फोड्न टुप्पाबाट डोरीमा झुन्डिएर तल झर्थे । आठ महिनाको अहोरात्र खटाइपश्चात् एक लाख घनमिटरभन्दा बढी माटो र ढुंगा खनेर एक किलोमिटर लामो बाटो खनिएको थियो । एक सय मिटरभन्दा अग्लो उचाइको चट्टान फोडेर त्यो बाटो बनाइएको थियो । डरलाग्दा भीर, लामो वर्षायाम र असहज यातायात जस्ता कठिनाइ छिचोल्दै त्यो सडक बनाउन दुई वर्षभन्दा लामो समय लागेको थियो ।

सडक निर्माणताका नेपाली मजदुरहरू चिनियाँ विज्ञलाई आफ्नै परिवारका सदस्यजस्तै आत्मीय व्यवहार गर्थे । दरौंदी खोलामा अस्थायी पुल बनाउने क्रममा चिनियाँ प्राविधिक चेन र्‍युछी डोरी खुस्केर नदीमा खसे । नदीमा पानी बढेको थियो । चिनियाँ प्राविधिक खोलामा खसेको देख्नासाथ बहादुर नामका नेपाली मजदुर आफ्नो ज्यान जोखिममा पारेर बिना हिचकिचाहट उर्लिंदो खोलामा हामफाले । अरू नेपालीको सहायतामा चेनको ज्यान जोगियो ।

एक रात एक जना चिनियाँ मजदुरलाई विषालु बारुलाले टोक्यो । उनको शरीर पूरै लाटो भयो । नेपाली मजदुरले उनलाई बोकेर अस्थायी पुल तारे । र, रातारात काठमाडौं पठाउने व्यवस्था मिलाइयो । समयमै उपचार पाएकाले ती चिनियाँको ज्यान जोगियो । चिनियाँहरूप्रति नेपाली जनताका इमानदार र गहिरो मित्रताका यी केही द्योतक मात्र हुन् ।

सन् १९७८ को वर्षायाम । भीषण वर्षाको कारण पोखराबाट काठमाडौंतिर जाँदै गरेको एउटा यात्रुवाहक गाडी पल्टियो । गाडी भीरतिर खस्दा धेरै यात्रु घाइते भए । अवस्था निकै गम्भीर थियो । दुर्घटनाको खबर पाउनेबित्तिकै मुग्लिनमा काम गरिरहेका चिनियाँ टोलीले घटनास्थलमा घाइतेको उद्धार गर्न चिकित्सक र सहयोगीहरू खटायो । तेज गतिमा उनीहरू घटनास्थल पुगे र यात्रुहरूलाई भीरबाट सडकमा बोकेर ल्याए । घाइतेहरूलाई चिकित्सकले आवश्यक प्राथमिक उपचार गरे । दुई घण्टामा सबै घाइतेको ज्यान खतरामुक्त भयो । घटनास्थलबाट काठमाडौं एक सय किलोमिटर टाढा पर्छ । घाइतेलाई काठमाडौं पुर्‍याउन चिनियाँ टोलीले एउटा गाडीको व्यवस्था गर्‍यो । चिनियाँ चिकित्सक टोली समयमै पुग्दा सबै तेह्र जना घाइतेको ज्यान जोगियो ।

यो खबर नेपालीहरूबीच हावाजस्तै फैलियो । तत्कालीन राष्ट्रिय पञ्चायतका तीन जना अधिकारीले काठमाडौंस्थित चिनियाँ शिविरमा पुगेर आपत्कालीन सहयोगका निम्ति आभार व्यक्त गर्दै भनेका थिए, ‘तपाईंहरू हाम्रा लागि डा. नर्मन बेथुनजस्तै असल मित्र हुनुहुन्छ ।’ (बेथुन चीनको क्रान्तिमा मद्दत गर्ने क्यानाडाका चिकित्सक हुन्) ।

पोखरास्थित सिँचाइ परियोजनामा चिनियाँ टोलीको शिविरमा एक जना नेपाली बालिकाले एउटा बिरुवा रोप्दै गरेको देखियो । उनी त्यही परियोजनामा काम गर्ने मजदुरकी छोरी थिइन् । सानै उमेरमा आएको ज्वरोले उनी कान सुन्दिनथिइन् । चिनियाँ चिकित्सकहरूले उनको अवस्था हेरेर रोग पत्ता लगाए । अकुपन्चर र औषधिको उपचारबाट उनले तीन महिनापछि कान सुन्न थालिन् । छोरीको उपचार भएको देखेर आमाबुवाका आँखा रसाए । खुसी भएर उनीहरूले चिनियाँहरूलाई दसैँमा भोज खान घरमा पाहुना बोलाए ।

नेपाली बालिकाले रोपेको त्यो बिरुवा हुर्केर पछि नेपाल र चीनबीच मित्रताको चिह्न बन्यो ।

गैंडाले बोकेको मैत्रीभाव

सन् १९५० को दसकमा नेपालले चीनलाई उपहारस्वरूप एउटा गैंडा पठाएको थियो । त्यो गैंडा बिरामी परेको थाहा पाएर नेपालले चीनमा अर्को गैंडा पठाउने निधो गर्‍यो ।

जंगलमा गैंडा समात्न २० जना सिकारीको एउटा टोली परिचालन गरियो । विगतमा एउटा युवक गैंडा समात्न पहिले त्यसको आमालाई मारिन्थ्यो । तर, नेपाली टोलीले दुर्लभ जनावरको संरक्षण गर्ने हेतुले जनवारलाई बेहोस पार्ने औषधि भएको तीर मात्र प्रयोग गर्‍यो । यद्यपि यो तरिका पनि खतरामुक्त भने थिएन । बेहोस पार्ने औषधिले काम गर्न छोडेपछि आमा गैंडा होसमा आयो ।

गैंडा हानिँदै केही मिटर पर उभिएको सिकारीतिर कुद्यो । धन्न औषधिको प्रभावले त्यसले सिकारीलाई भेटाउन सकेन । सौभाग्यवश त्यहाँ कुनै मानवीय क्षति भएन ।

नेपाल–चीन मित्रताका लागि तराईको उखरमाउलो गर्मीमा पनि नेपाली सिकारीले धेरै दिन गैंडा खोज्दै बाक्लो जंगलको यात्रा गरेका थिए । समातिएको गैंडालाई केही समय नेपालकै चिडियाखानामा पालेर पछि चीन पठाइएको थियो ।

चीन–नेपाल सीमामा मित्रता

सन् १९६१ मा चीन र नेपालले सीमाका सबै मुद्दा तर्कसंगत हिसाबले सुल्झाए । दुवै पक्षले चीन–नेपाल सीमा सन्धिमा हस्ताक्षर गरेर १४ सय किलोमिटरभन्दा लामो सीमाको सीमांकन सम्पन्न गरे । सन् १९७९ मा एक वर्षभन्दा लामो समयको प्रयासपश्चात् चीन र नेपालका कर्मचारीले संयुक्त सीमा अनुगमन गरे । त्यसक्रममा उनीहरूले हावापानी र अन्य धेरैथरी कठिनाइको सामना गर्नुपरेको थियो । त्यस्तो बेला दुवै देशका कर्मचारी आपसमा सहयोग गर्थे । उनीहरूको मित्रताबारे सीमा क्षेत्रका नेपाली र चिनियाँबीच उत्तिबेला खुब चर्चा चलेको थियो ।

सन् १९७९ को मध्यअक्टोबरको एक दिन अनुगमन टोली आफ्नो काम सकेर साङछिन खोलासँगैको शिविरमा फर्किँदै थियो । हिउँ र चिप्लो साँघुरो बाटोको कारण नेपाली अधिकारी परा पाण्डे चिप्लेर केही मिटर तल खोलाको किनारमा खसे । उनको ज्यान जोगाउन चिनियाँ विज्ञ वाङ यानियन र मिलिसिया कम्पनी कमान्डर फुर्बु धोन्दुप आफ्नो ज्यान जोखिममा पारेर रुखको हाँगा समातेर तलतिर हाम फाले । उनीहरूले पाण्डेलाई तल खस्न नदिन आफ्नो जीउको छेको लगाए । पाण्डेलाई ठेल्दै र तान्दै माथि ल्याए । ज्यान जोगिएकोमा भावुक भएर पाण्डेको गह भरिएको थियो । आफ्नो ज्यान रक्षा गर्ने चिनियाँको हात समातेर उनले निधार जोड्दै आभार व्यक्त गरेका थिए ।

सन् १९८० मा चीन–नेपाल सीमावर्ती तोङलिन जाङ्बो नदीमा मितेरी पुल बनाइएको थियो । त्यो पुल पहाडमा रिबन फरफराइरहेजस्तो सुन्दर र भव्य देखिन्थ्यो । दुई देशबीच व्यापार र मैत्री सम्बन्ध प्रगाढ बनाउन त्यसले मद्दत पुर्‍यायो । त्यहाँका स्थानीयहरू त्यसलाई ‘इन्द्रधनुष’ भन्थे ।

जुन महिनामा पुल बनाउने कामको थालनी भएको थियो । चिनियाँ र नेपाली प्राविधिकहरूले हावाहुरी र वर्षाको पर्वाह नगरी सकेसम्म चाँडो काम सक्न दिन–रात मिहिनेत गरे । दुवै देशका मजदुरले ३.५ मिटर लामा, ६० केजी वजन भएका क्रसबिम र २ सय केजीका स्टिलका तार पिठ्युमा बोकेर भिरालो र कठिन पहाडी बाटो छिचोलेर निर्माणस्थल पुर्‍याएका थिए । यसरी दिन–रातको मिहिनेतले तोकिएको समयभन्दा एक महिनाअघि नै त्यो पुल तयार भएको थियो ।

पुल तयार भएपछि त्यसका दुवै छेउमा नेपाल र चीनका झन्डा फहराइएको थियो । पुलमा हरेक बिहान नेपालीहरू मुसुक्क हाँस्दै आफ्नो बारी र खेतमा फलेका अन्न, फलफूल, तरकारी बेच्न चीनतिर जाँदै गरेको भेटिन्थे । कोही आफन्त भेट्न र कोही व्यापारका सिलसिलामा पनि यताउता गरिरहेका हुन्थे । आउनेजाने क्रममा उनीहरू पुलको रेलिङ छोएर त्यसका निर्माताहरूप्रति सम्मान प्रकट गर्थे । ‘हिमालले स्वर्ग र पृथ्वीलाई जोड्छ । मित्रता भने त्योभन्दा अझ माथिमाथि उड्ने गर्छ’, नेपाल भ्रमणमा आएका चिनियाँ प्रधानमन्त्री चाओ एन लाईसँगै आएका उपप्रधानमन्त्री चेन यीले सन् १९६० को अप्रिलमा बोलेका यी वाक्य अझै पनि सान्दर्भिक छन् ।

झाङ्मुका डाक्टर

सन् १९७२ मा चीनले झाङ्मु क्षेत्रमा अस्पताल सञ्चालन गरेको थियो । विशेषतः सीमावर्ती क्षेत्रका नेपालीहरूको उपचार गर्ने लक्ष्यसहित सो अस्पताल स्थापना भएको थियो । त्यहाँ उपचार गराउने नेपालीहरू खुसीले गद्गद् भएर चिनियाँ चिकित्सकलाई ‘जिउँदा बोधीसत्त्व’ भन्थे ।

सन् १९८४ मा अस्पतालमा आठ वर्षदेखि कार्यरत चिनियाँ चिकित्सक ल्वो छिस्यु भेट्दा उनले अस्पताल आउने बिरामीको दर्ता कपी पल्टाउँदै भने, ‘हेर्नोस्, पहिला यहाँ चार सय नेपालीहरू मात्र उपचारका लागि आएका थिए । तर, यो वर्षको जुलाईदेखि सेप्टेम्बरसम्ममा २१ सयभन्दा बढी बिरामी आएका छन् । बितेका केही वर्षदेखि हामी वर्षको ५ हजारभन्दा बढी नेपाली बिरामीको उपचार गर्छौं ।’

सन् १९७७ सेप्टेम्बरको एक रात तीन जना नेपालीले १७ वर्षको एक किशोरलाई अस्पताल पुर्‍याए । उनको आन्द्रामा केही समस्या भएको थियो । उनको ज्यान जोखिममा थियो । अस्पतालमा चिकित्सकले तत्कालै आपत्कालीन उपचार गरे । बत्ती निभेको थियो । त्यसकारण आपत्कालीन बत्तीकै भरमा उनले किशोरको तीन घण्टा शल्यक्रिया गरे । अन्ततः उसको ज्यान जोगियो । तङ्ग्रिएपछि उनले आफ्नी आमासँग डोकोभरि केरा र बदाम लिएर चिकित्सकप्रति आभार व्यक्त गर्न पुगे । आँखाभरि आँसु राखेर आमाले भनिन्, ‘तपाईंहरूले मेरो छोरोको ज्यान जोगाउनुभयो । तपार्इंहरू झाङ्मुका जिउँदा बोधीसत्त्व हुनुहुन्छ ।’

त्यहाँ चिनियाँ महिला चिकित्सक तासी डोल्मा पनि काम गर्थिन् । उनी तिब्बतकी शेर्पा थिइन् । नेपालका शेर्पा गाउँलेसँग उनको आत्मीय सम्बन्ध थियो । उनी सीमापारिका नेपालीसँग प्रत्यक्ष कुरा गर्न सक्ने पहिलो शेर्पा चिकित्सक थिइन् । त्यसकारण उनी चिनियाँ चिकित्सक र नेपाली बिरामीबीचका भाषानुवादक पनि थिइन् । सबै हार्दिक भएर स्थानीयहरू उनलाई ‘शेर्पाका असल चिकित्सक’ भनी बोलाउँथे ।

(सन् २०१५ मा चाइना इन्टरकन्टिनेन्टल प्रेसले प्रकाशन गरेको नेपाली र चिनियाँ व्यक्तित्वका संस्मरण र विचारको संकलन ‘यु एन्ड अस स्टोरिज अफ चाइना एन्ड नेपाल’ बाट अनूदित । हाओ चाङयिन सिन्ह्वा समाचार संस्थाको काठमाडौं शाखाका पूर्वप्रमुख संवाददाता हुन्)

(अनुवाद : नीरज लवजू)

प्रकाशित : माघ २१, २०७९ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?