ग्रेटाको एलिनर अवतार- कोसेली - कान्तिपुर समाचार
शब्दाञ्जली

ग्रेटाको एलिनर अवतार

ग्रेटा राणालाई म सोधिरहन्थेँ– के बेलायत योर्कसायरको परिवेश र आफन्तलाई तपाईं अहिले पनि सम्झिनुहुन्छ ? के तपाईंलाई नेपालमा आउटसाइडर हुँ भन्ने महसुस कहिल्यै भयो ?
सगुना शाह

शाश्वत सत्य हो– मृत्यु । तर, कसैलाई गुमाउनुपरेको अवस्थामा यसको बोध गर्नु र स्वीकार गर्नु नितान्त गाह्रो विषय हो । विगत केही वर्षदेखि शारीरिक अस्वस्थताका बावजुद ग्रेटा राणाको अधिकांश समय लेखन/पठनमै बितेको थियो । उनको सक्रियता हेर्दा यति छिट्टै उनलाई गुमाउनपर्ला भन्ने कल्पनासमेत कहिल्यै गरिनँ । उनलाई ब्रेन ट्युमर भएको थियो । र, केही समयदेखि उनी मस्तिष्कमा पानी जम्ने समस्याबाट पीडित थिइन् ।

कोभिड–१९ को महामारीपछि उनको उपचारमा संलग्न डाक्टरले मानिसहरूसँगको बाक्लो भेटघाटबाट उनलाई पाबन्दी लगाएको थियो । मन हुँदाहुँदै कत्ति कुरा गर्न नपाएकामा उनी दुःखी अनि विचलित पनि थिइन् । छोरा सरित, बुहारी प्रमा अनि दुई नातिनीसँग उनको सम्बन्ध सुमधुर थियो । आफ्ना साहित्यिक कार्यक्रमहरूमा परिवार र नजिकका एक–दुई साथीहरूको उपस्थिति उनका लागि निकै महत्त्वपूर्ण थियो । मलाई लाग्छ, पछिल्ला वर्षहरूमा विशेषतः श्रीमान् मधुकरशमशेर राणालाई गुमाएपछि नितान्त एक्लो भएकी ग्रेटाका सबैभन्दा नजिकको साथी भन्नु नै शब्द अनि चौबीसै घण्टा उनको सेवाका लागि राखिएका नर्स थिए । अविच्छिन्न रूपमा लेख्नु अनि पढ्नुका साथै ग्रेटा रंगमञ्चमा पनि सक्रिय थिइन् । झन्डै ८० को उमेर अनि प्रतिकूल परिस्थितिका बावजुद एकाग्र भएर आफूले रुचाएको काम निरन्तर गरिरहने उनको इनर्जी देखेर मलाई अचम्म लाग्थ्यो । सबैभन्दा अचम्म त आफ्नो जन्मथलो अनि देश छाडेर ६० वर्षीय वैवाहिक जीवनमा उनले नेपाललाई कर्मथलो बनाउन सकेकामा लाग्थ्यो !

...

‘के आफ्नो ठाउँ, त्यहाँको परिवेश, आफ्ना मान्छे मिस गर्दिनथिइन् उनी ? आफूलाई नेपाली भन्न रुचाए पनि के तपाईंलाई आउटसाइडरजस्तो महसुस भयो कहिल्यै ?’ उनीसमक्ष मेरा प्रश्न यस्तै हुन्थे । ७ वर्षको उमेरमा पहिलो कविता लेखेको क्षण सम्झिँदै उनी भन्थिन्, ‘बेलायतमा सानो हुँदा पानी परेपछि भिजेको चिसो माटोको मीठो सुगन्ध हुन्थ्यो, नेपालको त्यस्तै माटाको सुगन्धले मलाई मेरो घरको सम्झना आउँछ ।’ चिराग बाङ्देलले बनाएको वृत्तचित्रमा घर सम्झेर भक्कानो छाडेर उनी रोएको दृश्य प्रत्येकपटक हेर्दा मेरो मन भरिएर आउँछ । उनको जीवनमा आधारित त्यो वृत्तचित्र सम्भवतः अन्तिम रेकर्डिङ भएको छ । यसमा म पनि आबद्ध हुन पाएकामा गौरव महसुस भएको छ मलाई ।

ग्रेटा पेनिगंटन राणाको जन्म ७ फेब्रुअरी १९४३ मा बेलायतको कोइला खानीको सहर क्यासलफोर्ड योर्कसायरमा भएको थियो । संसारले प्रिभिलेजका रूपमा हेर्ने पश्चिमी समाजमा जन्मिनु–हुर्किनु कस्तो थियो भन्ने मेरो एक प्रश्नको जवाफमा उनले आफ्नो बाल्यकाल द्वन्द्वपछिको नैराश्यता अनि अभावमा कठिन रहेको बताएकी थिइन् । आमा शिक्षिका भएकाले उनले आफ्नो प्रारम्भिक शिक्षा दुई वर्षको कलिलो उमेरमै सुरु गरिन् । तर, त्यो बेला लत्ता–कपडा, खाद्यपदार्थ अनि किताब राशनका रूपमा पाइने बताएकी थिइन् । शिक्षिका आमाले अनिवार्य काम गर्नुपर्थ्यो र आफू पहिलो सन्तान भएकाले घर सम्हाल्ने काम ग्रेटाले कलिलो उमेरदेखि नै गर्नुपर्‍यो । पछि नेपालमा एउटा सम्भ्रान्त राणा परिवारमा विवाह भएर भित्रिएपछि भने आमाले भन्दा सासूआमाले असाध्यै माया गरेको सम्झना गर्थिन् उनी ।

...

ग्रेटासँगको मेरो पहिलो भेट चिराग बाङ्देलमार्फत समर आर्ट्स फेस्टिवलमा भएको थियो । दुईदिने महोत्सवको तयारी अनि तत्पश्चात् विभिन्न साहित्यिक कार्यक्रमको सिलसिलामा उनीसँग सामीप्य बढ्दै गयो । त्यसै महोत्सवमार्फत मैले भारतका लेखकद्वय जग र बनी सुरैया अनि पाकिस्तानका कवि इक्रम बसरासँग पनि नजिक हुने र उनीहरूका साहित्यबारे जान्ने मौका पाए । पछि उनी श्रीलंकाका लेखक रोमेश गुणशेखरालाई नेपाल बोलाउने तरखरमा थिइन्, तर दुर्भाग्यवश नेपालमा आएको महाभूकम्पले त्यो सम्भव भएन । पारिवारिक नाता आफ्नो ठाउँमा छँदै थियो, जसबारे उनका श्रीमान् मधुकरशमशेर राणा र म अक्सर गफ गर्थ्यौं । तर, त्यसभन्दा माथि मलाई ग्रेटाको व्यक्तित्व र उनले लेखेका किताबले प्रभाव परेका थिए । उनीसँगको सामीप्यता हामी दुवैको साहित्यप्रतिको रुचिकै कारण थियो । मैले त्यतिबेलासम्म उनका केही कवितासंग्रह र उपन्यास ‘हिडन वुमन’ पढेको थिएँ । पेन इन्टरनेसनलका केही पुराना सक्रिय साहित्यकार र नयाँ पुस्ताका केही साहित्यकारसँग हातेमालो गरी हामीले ‘प्यान एसिया क्रिएटिभिटी’ भनेर केही लेख्ने जमर्को पनि गरेका थियौं, तर त्यो संस्था लामो समयसम्म चलाउन सकेनौं ।

साहित्यमा सबैभन्दा बढी रुचि उनलाई कवितामा थियो र लेखकको रूपमा आफ्नो ‘हाइएस्ट फर्म’ या ‘एक्सिलेन्स’ पनि उनी यसै विधालाई मान्थिन् । उनी बेन जोन्सन र विलियम शेक्सपियरबाट नितान्त प्रभावित थिइन् । उपन्यास, कविता अनि अनुवादमा लामो समयदेखिको उनको सक्रियताबारे धेरैलाई थाहा छ । तर, पछिल्लो समय उनले नाटक मञ्चनमा विशेष रुचि राख्न थालेकी थिइन् । एकाध नाटक मञ्चन भने पहिले पनि गरेकी थिइन् उनले ‘द एम्बेसी स्टरलिङ प्लेयर्स’ मार्फत, जसबाट उठेको पैसा आर्थिक रूपमा कमजोर बालबालिकाको अध्ययनका निमित्त थियो ।

उनी मलाई निर्धक्क विश्वास गर्थिन् । मेरा कुनै पनि कुरालाई नाइँ भन्थिनन् । मेरो कुनै पनि कुरा, सरसल्लाह उनी उत्तिकै मनन पनि गर्थिन् । मेरो लागि आएको हरेक फोन कल उनको एउटा वाक्यबाट सुरु हुन्थ्यो, ‘हे सगुना लिसन !’ यसै सिलसिलामा एक दिन उनको फोन आयो । उनले त मलाई विलियम शेक्सपियरको नाटक ‘अ मिड समर नाइट्स ड्रिम’ मा मुख्य हिरोइनको भूमिकामा पो लिन खोजेकी रहिछन् । हाँसो उठ्यो । मैले भने, ‘मुख्य पात्र खेल्ने मेरो के हुती मुवा, बरु मै खोज्छु पात्रहरू ।’ यसरी रंगमञ्चमा आफ्नो पहिचान स्थापना गरेका साथीहरू आशान्त शर्मा, सरोज अर्याल, दिव्य देव, उत्पल झा, आकांक्षा कार्की, गुञ्जन दीक्षित अनि आभास कर्माचार्यसँग कुराकानी भयो र सुरु भयो नाटकको तयारी । म र चिराग बाङ्देल त नाटकमा हुनैपर्ने थियो उनका लागि । मलाई आफूले निर्वाह गर्न सक्छुजस्तो लागेको ‘ग्रे शेड’ भएको पात्र आफैं छानें । र, मूर्ख परी टिटानियाको भूमिका निभाएँ । उनको निर्देशनमा बनेको यस नाटकले उनलाई एउटा नयाँ परिवारको न्यानोपन दियो । उनी हाम्रो ‘मुवाँ’ अनि हामी ‘न्यु शेक्सपियर वालाज’ भयौं । यसमा दिव्य देवले मुख्य भूमिका निभाए र निर्देशनमा पनि निकै मद्दत गरे । त्यो नाटक सन् २०१६ मा मञ्चन भएको थियो । यसले ग्रेटामा एउटा नयाँ ऊर्जा थपेको थियो । ‘न्यु शेक्सपियर वालाज’ ले हरेक वर्ष शेक्सपियरद्वारा लिखित कमेडी गर्ने प्रतिबद्धता जनाए पनि हामीले त्यो गर्न सकेनौं । यसका विभिन्न कारण थिए, तर मुख्य थियो आर्थिक पाटो । नाटक मञ्चन गर्न चाहिने आर्थिक सहयोग त्यसअघि नेपाल ब्रिटेन सोसाइटीसँग आबद्ध सञ्जीव पाण्डे, प्रतिमा पाण्डे अनि कलाकार चिरागले गरेका थिए । ग्रेटासँग आफ्नै फन्ड पनि थियो, तर पनि त्यो त्यति सजिलो काम थिएन ।

जसोतसो हामीले २०२० मा फेरि एकपटक अर्को कमेडी ‘एज यु लाइक इट’ मञ्चन गर्ने निर्णय गर्‍यौं । लकडाउनले सबै कुरा ठप्प भएको त्यो बेला रंगमञ्चका कलाकार पनि फुर्सदिला, तर आर्थिक मन्दीको दौरबाट गुज्रिरहेका थिए । सबैलाई केही कुरामा अल्झिऊँ भन्ने थियो, जसले मानसिक रूपमा पनि तनावरहित राखोस्, तर अफसोस ग्रेटा यसपटक त्यति सक्रिय हुन सकिनन् । कारण प्रतिकूल स्वास्थ्य अनि डाक्टरले उनलाई संक्रमण नहोस् भनेर लगाएको पाबन्दी । यस्तोमा आशान्त शर्मा अघि बढे र निर्देशनको सम्पूर्ण अभिभारा आफ्नो काँधमा लिए । रिहर्सलका दौरान ग्रेटा हामीसँग अनलाइनमा जोडिइन् । प्रारम्भिक दौरको काम सबै अनलाइन नै भयो । राति अबेलासम्मै पनि उनी हामीसँग जोडिएर हामीलाई सब–टेक्स्ट बुझाउँथिन् । केही साथीहरूले सुरु गरेको काम छोडे, केही नयाँ जोडिए, जसोतसो नाटक मञ्चन भयो । यसका दौरान मप्रति उनी झन् ‘प्रोटेक्टिभ’ भएको पाएँ । ग्रेटा स्पष्ट वक्ता थिइन्, नो नन्सेन्स खाले । कतिपय अवस्थामा उनी ‘डिस्मिसिभ’ लाग्थ्यो होला केहीलाई । उनको व्यक्तित्व अनि स्वभावको त्यो अभिभारा यसपटक भने मैले वहन गर्नुपरेको थियो र यो उनले महसुस गरेकी थिइन् । उनको सपना थियो– आफ्ना कलाकारहरूलाई योर्कसायर लिएर जाने र त्यहाँ नाटक मञ्चन गर्ने, जुन अधुरै रह्यो । राज्यले यस्ता कार्यहरूमा उचित सहयोग नगर्ने मात्र होइन, पन्छिने कुरालाई लिएर उनी दुःखी हुन्थिन् ।

उनको यो सपना सायद एक मात्रै पूरा हुन बाँकी काम थियो भन्ने मलाई उनको पछिल्लो प्रकाशित किताब ‘घोस्ट इन द ब्याम्बो’ पढेपछि अझै महसुस भयो । त्यस उपन्यासको मुख्य पात्र एलिनर धेरै हदसम्म उनी आफैं हुन् । उनले कतै भनेकी छन्, ‘जीवनी लेखेँ भने मैले सायद धेरैको चित्त दुखाउनेछु, त्यसैले म आफ्ना कुरा उपन्यासका पात्रमार्फत भन्छु ।’ ‘घोस्ट इन द ब्याम्बो’ मा एउटा काल्पनिक सहर लपालिस्तानको कथा छ । वास्तवमा ग्रेटाले आफ्नो यौवनकालका कार्यक्षेत्र लाओस, अफगास्तिान अनि पाकिस्तानलाई लिएर त्यस काल्पनिक ठाउँको निर्माण गरेकी छन् । १९७० को दशकमा पहिलोपटक विवाहपश्चात् नेपाल आएकी ग्रेटाले नेपाल रेडक्रस सोसाइटी, समाज कल्याण मन्त्रालय अनि इसिमोडमा कार्यरत हुँदा यहाँको दुर्गम क्षेत्रमा काम गर्ने मौका पाइन् । पछि यही दुर्गम क्षेत्रका विशेषगरी महिला पात्रले उनका उपन्यास अनि कवितामा स्थान ओगटे । ‘घोस्ट इन द ब्याम्बो’ उनले लेख्दै गरेको ट्रिलोजीको दोस्रो भाग थियो भने यसको अन्तिम किताब प्रकाशनका लागि तयार छ । साथै राणाकालीन समयका महिला पात्रहरूको सेरोफेरोमा लेखिएको ‘हिडन वुमेन’ को दोस्रो संस्करण पनि केही समयअघि प्रकाशित भएको छ । ग्रेटाको निधनले नेपालमा रही अंग्रेजीमा कलम चलाउने अग्रज साहित्यिक अभियन्ताको एक अध्यायको अन्त्य भएको छ । जनवरी १, २०२३ मा म उनलाई निकै समयपछि भेट्न गएकी थिएँ । अफसोस धेरै ढिलो भयो ।

प्रकाशित : माघ २१, २०७९ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्

पुस्तकालय विसर्जनको ‘महाभोज’

समाज रूपान्तरणको बलियो बाटोमध्ये एक हो– ज्ञान । ज्ञानको एउटा पाटो– पुस्तक । जानी–नजानी पुस्तक र अक्षरप्रति पलाएको एउटा किशोर मोह । शब्दमोह र ज्ञानचाहले बुनिएको पुस्तकालय–सपना उध्रिँदाको अनुभव, एक अतीत–कथा । कतै टिपोट नराखिएको त्यही पुस्तकालयको अवसान–व्यथा आज म सुनाउँदै छु । सीधा–रेखामा बगेका ज्ञानी बालकहरूको कथा होइन यो । यो त पदमोहले भरिएका किशोर–प्रवेशोन्मुख उमेरका मानिसको मानसिक उद्वेलनको कथा हो ।
दीपक सापकोटा

भित्तामा टाँस्सिएको छ– सिकारु कालिगडले बनाएजस्तो देखिने पुरानो र्‍याक । भद्दा अनि रङ खुइलिएको ।६० वाटको चिम निभ्न आँटेको दियालोको पातलो धर्सोजति पनि चम्किलो छैन । त्यसैले फालेको मलिनो प्रकाशमा फिँजारिएका छन्– केही सय थान पुस्तक । मोटा–पातला ठेली । सटरवाला कोठामा एउटा सानो भेन्टिलेसनले पनि बाहिरको उज्यालो भित्र्याउन काम गरेको छ । त्यसैबाट भित्र चिहाइरहेको छ– घामको तापरहित मसिनो एकमुठी कमजोर उज्यालो, क्षणभरको पाहुना बनेर । त्यो प्रकाश बिलाउनेछ एकै छिनमा ।

म झट्ट सम्झिन्छु– ठीक त्यसै गरी एक छिनपछि हाम्रो सानो पुस्तकालयको अस्तित्व पनि अँध्यारोसँगै हराउनेछ, सधैंका लागि ।

एक जना साथी किताबहरूको नाम भट्याउँदै इगल–मार्का नोटबुकमा तिनको नाम टिपिरहेथ्यो । आवाज एकनासले हाम्रो कानमा ठोक्किइरहेको थियो । तर, ऊ यति सुस्तरी बोलिरहेथ्यो कि त्यो आवाज सानो कोठाभित्र पनि मुस्किलले सुनिन्थ्यो । चिसो भुइँमा रातो दरीमाथि जीउ भित्तातिर ढेपेर टुक्रुक्क बसेका हामी आँखाअघि फिँजिएका किताबतिर हेर्न सकिरहेका थिएनौँ ।

पुस्तकालयको विधिवत् अन्त्येष्टि गर्न त्यहाँ जम्मा भएका थियौँ हामी । साथमा थिए– मिलन बन्जारा, शैलेन्द्र सापकोटा, डिल्ली दाहाल, सरोज पराजुली, उदय घिमिरे, प्रकाश घिमिरेहरू । २० वर्ष पहिले खोलिएको पुस्तकालयसँग जोडिएका स्मृतिका साना–ठूला धर्का मेरो मनको भित्ताबाट पुराना पोस्टर उप्किएझैं उप्किँदै, हराउँदै गएका छन् । मस्तिष्कको भित्तामा टाँस्सिएको संस्थापक सदस्यहरूको नामावली कीराले खाएर पढ्न नसकिने भएको छ । सबैको नाम सम्झनामा पनि छैन । तर, त्यो पुस्तकालय खोल्ने बेलाको सम्झना अझै जीवन्त छ । त्यो मेरो उमेर र समयको सबैभन्दा साहसिक, नौलो र आदर्श–उन्मुख काम थियो । पुस्तकका खुइलिँदै गएका पानाझैं पुस्तकालयसँग जोडिएका सब–प्लट धूमिल भए पनि मुख्य–कथा मेरो स्मृतिको कोषागारमा जस्ताको तस्तै थपक्क बसेको छ ।

किताबका ती पानाहरूमा भेन्टिलेसनबाट अन्तिम पटक एक पित्को घाम खसेको त्यस अपराह्न हामी पुस्तकालयका कर्ताधर्ता किताबहरूको भागबन्डा गर्दै थियौं । तर, त्यो सजिलो थिएन । पुस्तकालय चलेका बेला गएर मन लागेको पुस्तक, पत्रिका वा अरू कुनै प्रकारको छापा झिकेर पढ्नुभन्दा धेरै गार्‍हो । अब त पुस्तकालयको साझा स्वामित्वलाई पुस्तकहरूको विभाजित स्वामित्वमा परिणत गर्नुपर्ने थियो । सबैलाई बराबर भाग पुग्ने गरी ।

...

लकडाउनको एक महिनापछि भयानक हावासहित पानी पर्‍यो । फ्रिजमा जमाएर राखेका बरफका टुक्राजत्रा असिना उघ्रेको झ्यालको सिसामा ठोक्किँदै भुइँतिर खसे, जसको आवाजले भर्खरै निदाएको मेरो ६ महिने छोरो झस्कियो । ऊ जन्मेपछि पहिलो पटक असिना परेको थियो । पानी राम्रोसँग मत्थर भइसकेको थिएन, मेरी ७ वर्षकी छोरीले बार्दलीमा अड्केका असिना टिपेर ल्याई । अनि तिनलाई आफ्नो स्कुलका थोत्रा किताब हार लगाइएको मरुन रङको गोलो भुइँ–टेबुलमा राखी ।

तिनै किताबको खातमा थियो, उसले मेरो बुक–र्‍याकबाट झिकेको एउटा अंग्रेजी किताब । सुनौलो अक्षरमा त्यसको नाम लेखिएको थियो– ‘द फेट् अफ अ सेल्फ–डिफेन्स क्रप्स म्यान ।’ सब–टाइटल थियो– रिभोल्युसनरी अपेरा । किताबको कभर पल्टाएपछि देखियो, लगातार ३ वटा पृष्ठमा लगाइएका छाप । घुमाइएका नीला अक्षरमा लेखिएको थियो– श्री सिर्जनशील बाल समूह ‘पिस इज आवर क्लेम,’ बनेपा नयाँबस्ती–४, २०५८ । अन्तिम कभरको भित्री पानामा ठूला पुस्तकालयमा हुनेजस्तो रातो चार्टपेपरको थैली टाँस्सिएको थियो । थैलीभित्र किताबको नाम लेखिएको चिर्कटो पनि थियो । म झट्ट उठें र भिजेको बार्दलीको एक छेउको सोफामा गएर थ्याच्च बसें । मस्तिष्कमा एकपछि अर्को गर्दै २०५८ सालमा आफ्नै टोलमा आफैंले खोलेको पुस्तकालयका उदास र धूमिल दृश्यहरू ओहोरदोहोर गर्न थाले । स्थापनाको एक वर्षमै बन्द नभएको भए त्यो पुस्तकालय अहिले २१ वर्षको हुने थियो ।

थामिँदै गरेको पानीका बाछिटा हावाले मेरो निधारमा छ्यापिदियो ।

...

काभ्रेभित्रैका र आसपासका दुर्गम–सुगम गाउँहरूबाट बसाइँ सरी आएकाहरूको बस्ती थियो हाम्रो टोल । सामान्य जिन्दगी बाँचिरहेको यो बस्ती आफैंमा केही विशेष थियो । टाढा–टाढाका गाउँका मानिसहरू आफ्नै फरक–फरक लबज, संस्कृति र चालचलन लिएर त्यहाँ मिसिएका थिए ।

धुलिखेल वा काठमाडौंसम्म पुगेर जागिर खानेहरू सजिलो जीवनयापनका लागि त्यहाँ आइपुगेका थिए । र, जीवनभरको कमाइले नयाँबस्तीमा एउटा घर ठड्याएका थिए (बनेपा पुरानो बजार, भोलाखाटोलको उत्तर–पश्चिममा पर्ने त्यो बस्ती ४ नम्बर वडा थियो । साबिक ३ र ४ समेटेर अहिले त्यो नयाँ वडा नम्बर ९ बनेको छ) । महिनैपिच्छे थपिने नयाँ छिमेकीसँग उनीहरू अड्की–अड्की धक मानेर कुरा गरिरहेका भेटिन्थे । ढल निकासका लागि वा बाटो निर्माणका लागि टोल सुधार समितिहरू बल्ल बन्दै थिए । ‘कलिगत वर्ष ४१९७ मा राजा आनन्ददेवले निर्माण गरेको’ बनेपा हजारौं वर्ष पुरानो आफ्नो विराट परिचय बोकेर उभिएको भए पनि पुरानो बजारनजिकैको यो नयाँबस्तीसँग सुनाउनका लागि कुनै सानदार इतिहास थिएन । बस्ती तल्लो र माथ्लो गरी दुई भागमा बाँडिएको थियो । माथ्लो भाग नयाँबस्ती हो, हाम्रो टोल । पहिल्यै बसाइँ सरी आएका प्रणामीधर्मीहरूले यहाँ कृष्ण मन्दिर स्थापना गरेका थिए । यहाँ कृष्णाष्टमीको छेको साता दिनसम्म प्रवचन र धार्मिक कार्यक्रम हुन्छ ।

बस्तीमै खुलेको नयाँ पञ्चकुमारी बोर्डिङ स्कुलमा पढ्थे, अधिकांश बालबालिका । बनेपाका अरू नामी स्कुलभन्दा पञ्चकुमारीको ख्याति दैनिक बढोत्तरी भइरहेको थियो । रङ लगाइँदै गरेका वा रङ नलगाइएका केही नयाँ भवन भाडामा लिएर चलेको त्यो स्कुल तल्लो र माथ्लो बस्तीको बीचमा थियो । म र पुस्तकालयका अरू केही सदस्य पनि त्यहीं पढ्थ्यौं । त्यतिबेला जिल्लास्तरीय प्रतियोगिता र एसएलसी परीक्षामा नयाँ कीर्तिमान राखी अस्तित्व जमाएको स्कुलले दिएको सर्टिफिकेट मेरो दराजमा अहिले पनि छ । तर, त्यो स्कुल अहिले अस्तित्वमा छैन ।

...

२०५८ साल जेठ महिनाको तेस्रो साता । राजा वीरेन्द्रसहित उनको परिवारका लगभग सबै मारिए । शोकमा सबैजसोले कपाल मुण्डन गरेका थिए । मेरो टोलका स्कुले केटाहरू पनि मुडुला टाउका बनाएर सडकमा उछलकुद गर्न थालेका थिए । सुदुरबाट हेर्दा डेक्चीमा उम्लिरहेका र उसिनिँदै गरेका अण्डाझैं चलमलाइरहेका तिनै कुभिन्डे टाउकाहरूमध्ये एउटा मेरो पनि थियो ।

अहिले सबैतिर सिमेन्टका अग्ला घर ठडिएका भए पनि त्यतिबेला हाम्रो टोलमा खाली चौर प्रशस्तै थिए । दुःख वा खुसीको कुनै पनि अवसरमा टोलवासी तिनै चौरमा जम्मा हुन्थे ।

दरबार–हत्याकाण्डको दारुण्यमाझ बनेपा नगरको एकछेउका मानिस तिनै चौरमा झुन्डझुन्ड बनेर अनेक अड्कलबाजी गरिरहेका थिए । त्यो घटनाले ‘शोकमग्न’ बनेपाका हामी किशोरहरूको मस्तिष्कमा भने अचानक एउटा सिर्जनशील समूह बनाउने सोचले प्रवेश गरेको थियो ।

फुर्सदिला दिनहरू । साँझ–बिहान र कहिलेकाहीं राति अबेलासम्म साथीहरू बसेर अनेक कुरा गर्दा दिमागमा नयाँ–नयाँ विचार उठ्थ्यो । त्यसै क्रममा हाम्रो सिर्जनशील समूहमार्फत सुरु हुनै लागेको पुस्तकालयको प्रारम्भिक यात्रालाई मैले गहन अभिरुचि र उत्साहसाथ लिएको थिएँ ।

अहिले आफैं हिँडेका पैतालाका गहिरा डोबका सम्झनाले विष्मित छु । हामी पठनपाठनमा समान रुचि भएका केही साथी मिलेर स्थापना गरेको त्यही पुस्तकालयमा गुन्जिन्थे स्कुले किताबका कविता, संस्कृतका श्लोक । त्यहाँ सुनेका लोक–कथा, भूत–प्रेत, राक्षसका कथाले म विछट्टै प्रेरित र उत्साहित भएको थिएँ ।

सम्झनामा छन्– छिप्पिँदै गएको रातको निस्तब्ध प्रहरमा ठूला मान्छेले सुनाएका लोकले सिर्जेका कथा । पुस्तकालय अघिको चौरमा निद्राले बोझिल आँखालाई ब्युँझाउँदै हामी सुनिबस्थ्यौं ती कथा । कालो रातमा तातो आगाले सेकिएर ती कथा सुन्दा मस्तिष्क–लोकमा अनेक आकृति आउँथे–जान्थे ।


कहिल्यै घाम नछिर्ने बनेपाका कसाईटोलभित्र आलो मासुको हरकसँगै साँझसाँझमा नातिनीहरूलाई बूढी हजुरआमाले सुनाउने ख्याकका कथा पनि हुत्तिएर हामीसम्म आइपुग्थे, सायद सहपाठीबाट बोकी ल्याउँथे यारहरूले । ती दिन सुनेका मुलकता ख्या (टाउको काटिएर मृत्यु भएको मान्छेबाट उत्पन्न हुने ख्याक), कवँ ख्या (शरीरमा कङ्काल मात्रै भएको ख्याक), तुयुह्म ख्या (ढेडु बाँदरजस्तो मानिसका लागि लाभदायी ख्याक) हरूका कथामध्ये हामीलाई बढी चासो थियो नाँ–सु ख्याको कथामा । नेवारीमा नाँ–सुको अर्थ हुन्छ– नाम के हो ? सुनिन्थ्यो, मान्छे एक्लै हिँडेको फेला पार्‍यो भने नाँ–सु ख्याले सोध्नेछ– नाम क्या हो ? मान्छेको नाम सोध्ने भएरै यो ख्याक नाँ–सु ख्या भयो ।

काल्पनिक साहित्यका ती अदृश्य ख्याक र भूतहरू हाम्रा कथामा जीवित हुन्थे । लाग्थ्यो, ती जीवत स्वरूप भएका मानिस हुन् । हामीले सुन्ने प्रायः भूतका ती कथाले भन्थे– भूत, प्रेत, आत्माहरू एक्ला हुन्छन् । र, जीवित छँदा तिनले प्रयोग गर्ने सामग्री वा संगत गरेका मान्छेसँग सधैं नजिकिन खोज्छन् । बाल–समझका महत्त्वपूर्ण अंश थिए ती कथा ।

...

हाम्रो पुस्तकालयको निर्माण र अवसानको कथामा कुनै रोचकता छैन । कतै टिपोट नराखिएको त्यही पुस्तकालयको अवसान–व्यथा आज म सुनाउँदै छु । यो सीधा–रेखामा बगेको ज्ञानी बालकहरूको कथा होइन । यो त तनाव र सानै छँदा पदमोहले भरिएका किशोर–प्रवेशोन्मुख उमेरका मानिसको मानसिक उद्वेलनको कथा हो ।

अन्ततः १०–१२ जना स्कुलेहरूको एउटा समूह बन्यो । नाम राखियो– श्री सिर्जनशील बाल समूह । हाम्रो खल्तीमा भएको र घरमा अभिभावकसँग माग्न सकिने पैसा जम्मा गरि हामीले पाएसम्मको छुटमा किताब किन्ने भयौं । घरमा भएका किताब पनि बटुलेर पुस्तकालयकै लागि ल्याउने भयौं । साथी शैलेन्द्रको घरको एउटा सटर खाली थियो । उसले बुबासँग अनुनय–विनय गरी त्यो सटर मिलायो । भुइँतलाको त्यही सटरलाई पुस्तकालयका रूपमा प्रयोग गर्ने भयौं । त्यो सटर–कोठा मूलढोकाको बगलमा अलग्गै बनाइएकाले घरका सदस्यलाई त्यहाँ हुने आवत–जावतले कुनै बाधा पुर्‍याउँदैनथ्यो ।

पुस्तकले मात्रै समय कटाउन र मनोरञ्जन दिन नसक्लान् भनेर टेबुल–टेनिस पनि जोरजाम गर्‍यौं । मिल्किएको एउटा पुरानो खाट ल्यायो शैलेन्द्रले । त्यसलाई चारै खुट्टा इँटाले अड्याएर कोठाको बीचमा राख्यौं । खाटको माझमा नेट राखेपछि कामचलाउ टेबुलटेनिस बनिहाल्यो । शैलेन्द्रकै घरको कुनै कुनामा थन्किएको पुरानो खण्डे–र्‍याक ल्याएर किताब राख्ने दराज बनायौं ।

रात–साँझ नभनी किताब खोज्न बजारका पसल–पसल धायौं । आफूभन्दा ठूला दाइ–काकाहरूसँग पुस्तकालयका लागि सहयोग किताब माग्यौं । किताबै किन्न टोलका मनकारी दाताहरूको घर–घरमा गएर पैसा उठाई टोल–सफाइ कार्यक्रम पनि गर्‍यौं । बिक्री नभएका, थोत्रिएका, कुहिनै थालेका, स्थानीय लेखकहरूले ‘पढ्न इच्छुकहरूलाई दिनू नि’ भनी पसलमै छोडेका, एनजीओहरूले प्रकाशित गरेका, घरमा बाहरूले जमानामै पढेका, अनेक किसिमका किताबको डंगुरै लाग्यो । सबै सदस्यबाट साताको १० रुपैयाँ कोषमा जम्मा गरिने र त्यसबाट किताब किन्ने योजना पनि निकाल्यौं । त्यसलाई लागू पनि गर्‍यौं । काठमाडौंबाट छुटमा र थोरै पैसामा पाइने धेरै किताब किनेर ल्याउन तयार भए समूहका ‘सल्लाहकार’ द्वय कवि विश्व सिग्देल र तारानाथ सापकोटा । कसैलाई सल्लाहकार नियुक्त गरिएको भने थिएन । तर, हामी अग्रजहरूको मान्न मिल्नेसम्मको सल्लाह मान्थ्यौं । यसरी हाम्रो पुस्तकालय किताबहरूको सानोतिनो भण्डारै बन्यो ।

हाम्रो समूहले टोलका साना नानीहरू र समूहका अलि ठूला सदस्यहरूबीच ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गर्‍यो । विजेतालाई पुरस्कार दिइएको थियो– काठ कारखानाबाट मागेर ल्याइएको चिल्लो पातालाई रङरोगन गरी आफैंले बनाएको चित्रले सजाइएको चिटिक्कको घरेलु ‘सिल्ड’ । साथमा बालकथाका किताबहरू ।

लक्ष्मीप्रसाद देवकोटा र भानुभक्त आचार्यको जन्मजयन्तीजस्ता साहित्यिक उत्सवहरू पुस्तकालयअघिको चौरमा कविगोष्ठी आयोजना गरेर मनाइन्थ्यो । हाम्रो टोलका सचेत युवायुवती र प्रौढ सबैजसो ती कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन्थे । हाम्रो समूहले टोलस्तरीय कविता प्रतियोगिता पनि गर्थ्यो । तिनमा स्थानीय स्कुलका नेपाली शिक्षकहरूलाई अतिथि डाकिन्थ्यो । विजेताहरूलाई दिने पुरस्कार छँदै थिए, उही ‘मधुपर्क’, ‘मुना’, ‘बालकोसेली’ अनि स्पोन्सरमा आएका अरू बाल–पुस्तक ।

हामी आलाकाँचाले जानी–नजानी गरेका ती साहित्यिक–सांस्कृतिक गतिविधि स्तरीय थिए वा समयको प्रवाहमा निर्मूल्य हराएर जाने अर्थहीन अभ्यास मात्रै थिए, सायद हामी कसैले पनि त्यसको खोजखबर गरेनौं । तर, अहिले ती गतिविधि सम्झँदा म आफूभित्र अनौठो रोमाञ्च दौडेको अनुभूति गरिरहेछु । वास्तवमा अधिकांश निम्न–मध्यम वर्गका मानिसको बसोबास रहेको हाम्रो टोलमा त्यो एक प्रकारले ‘ऐतिहासिक’ काम थियो । त्यसअघि त्यो टोलमा सायदै यस्ता साहित्यिक कार्यक्रम भएको हुँदो हो ।

बनेपाको वकुटोलमा पुरानो पोखरीसँगै आशाकाजी श्रेष्ठ, सूर्यचन्द्र बादेहरूले २०१८ सालमै खोलेका थिए– ज्ञानशाला पुस्तकालय । पुस्तकालयमा शिर मेमोरियल हस्पिटलका डाक्टर स्टरजेसले दिएका इन्साइक्लोपेडियाका ठेली उपलब्ध थिए । उनले आफ्नो संग्रहबाट विभिन्न विषयका थुप्रै किताब दिएका थिए पुस्तकालयलाई । अहिले त्यो पुस्तकालय त छ, तर तहसनहस भयो भनेको सुन्छु ।

मैले जीवनमै पहिलोपटक देखेको पुस्तकालय थियो– बनेपा पुस्तकालय । त्यो पुस्तकालयको स्मृतिले मलाई पुरानो समयतिर पुर्‍याउँछ । २०५० सालतिर लायकु दरबारभित्रको एउटा असाध्यै भग्न घरको त्यो सानो पुस्तकालय बनेपाका शिक्षक, मेयर रामभक्त कोख श्रेष्ठले खोलेका थिए । त्यो पुस्तकालय थियो साह्रै अव्यवस्थित र फोहोर । २०५३ सालमा पहिलोपटक त्यहाँ पुगेको थिएँ म । च्यातिएका किताबका पाना थिए यत्रतत्र । भुइँभरि छरिएका थिए किताब । नैनसुतमा पोको पारिएका थोत्रो किताबका थुप्रा थिए– र्‍याकमाथि । माकुराको जालोले बेरिएको पुस्तकालयमा मैले देवकोटाको ‘मुनामदन’, हान्स क्रिस्चियन एन्डरसनको परिकथा ‘हेन्सल एन्ड ग्रेटल’ को चित्रकथा पढेको थिएँ ।

टोलमा पुस्तकालय खोल्ने र साहित्यिक गतिविधि अघि बढाउने हाम्रो सानो प्रयासले हामी बाँचेको समय र हाम्रो समाजमा विस्तारै अघि बढिरहेको परिवर्तनको प्रक्रियामाथि के कस्तो प्रभाव पार्‍यो, थाहा छैन । तर, पुस्तकहरूसँगको त्यो संगतले हाम्रो किशोर मस्तिष्कलाई एउटा बेग्लै दुनियाँमा उकालिदिएको थियो । हामी टेबुल टेनिसभन्दा पुस्तक र त्यसभित्रका विशिष्ट रचनाहरूमा रमाउने ‘फुच्चे’ हरू बनेका थियौं । अधिकांश अपठित किसान परिवारका भुराभुरीसामु पुस्तकका माध्यमबाट ज्ञान–विज्ञानको एउटा अद्भुत संसारको ढोका जो उघ्रिएको थियो ।

हाम्रो पुस्तकालय ठूलो नभएको र अधिकांश किताब मागेरै ल्याइएको भए पनि त्यहाँ दुई–चार थान सजिलै प्राप्त नहुने बहुमूल्य किताबसमेत थिए । हल्का नीलो भित्तामा देवकोटा र पारिजातका तस्बिर टाँगिएका थिए । हाम्रा लागि पुस्तक आफैंलाई अन्वेषण गर्ने साधन बनेका थिए । जर्ज अरवेल, हर्मन हेस्से, एनिड ब्लाइटन, रमेश विकल, विजय मल्लजस्ता ख्यातिप्राप्त लेखकका कृति मैले पहिलोपल्ट त्यहीँ देखेको हुँ ।

बुबाको पुरानो बाक्सा खोतल्दा पहेंलो कभर भएको सम्भवतः प्रगति प्रकाशन मस्कोले छापेको ‘पेरिस कम्युन’ शीर्षकको एउटा मोटो किताब फेला पारेर हाम्रै पुस्तकालयमा पुर्‍याएको थिएँ । त्यहाँ अलिअलि च्यातिएको मिखाइल सोलोखोभको ‘मान्छेको भाग्य र दोनका कथाहरू,’ जर्ज अरवेलको ‘एनिमल फार्म’, हर्मन हेस्सेको ‘सिद्धार्थ,’ देवकोटाको ‘सुनको बिहान’, पारिजातको ‘शिरीषको फूल’, सरुभक्तको ‘पागल बस्ती,’ मोहन दुवालका केही किताब पनि थिए । पुस्तकालयका सदस्यहरूले कविता पूरा गर्न नसकेर फालेका पानाहरू भुइँमा छरिएका भेटिन्थे । आफूभित्रको ‘कवि’ जगाउने हुटहुटी जो थियो सबैमा । देवकोटा पनि त यसैगरी चुरोटको बट्टाभित्रको चाँदी–कागजमा कविता लेखेर छाडिदिन्थे रे !

...

हुर्कंदै गरेको एउटा पुस्तकालयको एक वर्षपछि नै दुर्भाग्यपूर्ण अवसान भयो । यसो हुनुको ठ्याक्कै कारण के थियो, म भन्न सक्दिनँ । तर, आफैँ पुस्तकालय सञ्चालक समितिको उपाध्यक्ष भएका नाताले त्यो अपजस मलाई पनि बराबर भाग लाग्नुपर्छ, पुस्तकहरूजस्तै । लाग्छ– म त्यो पदका लागि योग्य नै थिइनँ । कक्षा ८ को सानो केटो आफूलाई हरेक काम–कुरामा अरूभन्दा बढी योग्य सम्झिन्थें । मेरो त्यो किशोर–अहंकार नै पुस्तकालय अवसानको एउटा कारण बन्यो सायद ।

पद–प्रतिष्ठाका सवालमा समाज, परिवार, विद्यालयले हाम्रो खप्परमा व्यक्तिवादी र प्रतिस्पर्धात्मक चेतनाको जालो बुनिसकेका थिए सायद । त्यसैले त केटकेटी उमेरमै पनि त्यो अहं र मोहको भारी सकिनसकी बोकेका थियौं । मेरो अहं वा मोह जे भन्नुहुन्छ, त्यो ज्ञानालय हत्याको मुख्य अभियुक्त मै हुँ । तर, हत्याको स्वाभाविक मृत्युको प्रमाणपत्र भने मिलेर लेख्यौं हामीले ।

अध्यक्ष पदमा थिए– डिल्ली दाहाल । पढाइमा पनि अब्बल । एसएलसी नजिकिँदै जाँदा पढाइको कारण देखाउँदै उनी पुस्तकालय कम आउन थाले । पुस्तकालयलाई ‘पर्याप्त’ समय दिने हामी डिल्लीजस्ता साथीहरूको निन्दा गर्न थाल्यौं । साथीहरूबीच भेटघाट, सरसल्लाह र सौहार्दता कम हुँदै गयो । हुँदाहुँदै महिनामा बल्ल एकछिन भेटिन थाल्यौं, त्यो पनि सन्चो/बिसन्चो सोध्नमै सीमित । पुस्तकालयमा ‘खटिने’ र ‘नखटिनेहरू’ बीच गुटबन्दी सुरु भयो । एउटा गुट सायद मैले नै बनाएँ । साथीहरू मलाई अध्यक्ष बनाउन जोड गर्न थाले । ममा पनि महत्त्वाकांक्षा पलाउन थाल्यो ।

अन्ततः जे नहुनुपर्थ्यो, त्यही भयो । मैले पुस्तकालयमा उपस्थित नहुने सदस्यहरूलाई चिठी लेखेँ, ‘अबदेखि हामी सँगै नबसौं, सँगै नपढौं, सामूहिक खोलिएको पुस्तकालयमा तपाईंहरू नआएपछि यसको अस्तित्व के रह्यो र ?’

त्यही चिठी पुस्तकालय अवसानको प्रस्थानविन्दु थियो । त्यो चिठी मानौं बमझैं पड्कियो । सुरु भए गुट–उपगुटका बेग्लाबेग्लै मन्त्रणा । मैले पनि आफ्नो झुन्डसँग वार्ता गरें । कसैको पनि मन पहिलेझैं हार्दिक र खुला थिएन । अर्को पक्षबाट प्रस्ताव आयो, ‘अब पुस्तकालय भंग गरौं । सबै किताब भागबन्डा गरौं । कोषको बाँकी पैसा सक्न एक दिन सबै जना पिकनिक जाऔं ।’

ज्ञानालयको मूल प्रयोजन/उद्देश्य ज्ञान थियो । हामी अज्ञानीहरूको इरादासँग त्यो उद्देश्य अर्कै भइगयो । अध्यक्ष पदको मोह बढ्यो, ज्ञानालयको हत्या गरियो । कुनै पनि बृहत्तर हितको उद्देश्यभन्दा माथि निजी नाफा–नोक्सान खोज्ने आदतले दिएको अन्जाम हो– किताब आधा आधा ।

...

एक भूमिहीन किसान परिवारमा सन् १९२२ मा जन्मेका पोर्चुगलका लेखक होजे सारामागो औपचारिक पढाइ हुने विद्यालयबाट निकालिए । गरिबीका कारण पढ्न सकेनन् । सीप सिक्ने सरकारी संस्थामा भर्ना भए । संयोग, त्यहाँ पुस्तकालय रहेछ । अक्षर उप्काउन, शब्द फुटाउन, वाक्य कथ्न र बुझ्न सिकिसकेका उनले त्यस विद्यालयमा अरू सीप त सिके नै, पुस्तक पढ्ने सीप र जाँगर हुर्काए । तिनै किताबका संगतले उनी लेखक बने । धेरै पछि, उनले नोबल पुरस्कार जिते । उता सारामागो नोबल लिँदै थिए, यता हामी बनेका पुस्तकालय र बन्न सक्ने कत्ति लेखकका सम्भावना मिल्काउँदै, पुस्तकालयको अन्त्येष्टि गर्दै थियौं ।

अमेरिकी लेखक रिचर्ड राइटले १९ वर्षको उमेरमा मात्रै किताबको संगत गर्न पाए । पढाइको स्वाद चाल पाए । गोरा मालिकहरू पढ्थे, उनलाई पढौं लाग्थ्यो, तर कहिल्यै किताब मागेर पढ्ने आँट आएन । एक जना उदारमना आइरिस गोरालाई फकाएर, उनैको पुस्तकालय कार्ड प्रयोग गरेर, अरू गोराका आँखा छलेर उनले किताब ल्याए । त्यसरी पुस्तकालयबाट लुकीचोरी ल्याएका एचएल मेन्केनका किताबबाट उनले लिएको पहिलो ज्ञान थियो– अक्षरले हतियारको काम गर्न सक्नेरहेछन् ।

१९ वर्ष नपुग्दै हामीले त आफ्नै पुस्तकालय बनाएका थियौं । कसैका आँखा छल्नु पर्दैनथ्यो, कसैसँग डराएर अर्कैका नाममा किताब ल्याउनु पर्दैनथ्यो । आफ्ना हातले जगेर्ना गरेका पुस्तकालयका हर्ताकर्ता हामी स्वयं थियौं । अर्काले बनाइदिएको पुस्तकालयमा ठूलो संघर्षले धाएर रिचर्ड राइट गजब लेखक बने । यता हामी आफ्नै पुस्तकालयका मलामी बन्यौं ।

घरघरबाट पुस्तकालय आइपुगेका किताबहरू घरघरै पुगे । बचेखुचेको कोष रित्याएर नगरकोट डाँडाको वनभोजमा ज्ञानालय हत्याको ‘महाभोज’ उत्सव मनायौं हामीले । अन्ततः एउटा ज्ञानकेन्द्र खोजीको कहानी नगरकोटको ‘पार्टी’ मा विसर्जन भयो । यसरी ज्ञानालयको अन्त्येष्टिले मेरो अहंलाई सान्त्वना पुरस्कार दिएको थियो । आजकाल जति धेरै सम्झन्छु, ज्ञानालयको झन् माया लागेर आउँछ । आफ्नै त्यो विद्रूप रूप सम्झँदा आफैंसँग दिक्क लागेर आउँछ । धेरै अनुसन्धानले देखाएका छन्, पुस्तकालय आफैंमा अज्ञानताविरुद्धको विद्रोह–थलो पनि थियो । तर, हामीले त विद्रोह गर्‍यौं– ज्ञान पस्दै गरेका आफ्ना यारहरूसँग ।


चेतनाबाट भयभीत भएपछि शासकहरूले पुस्तकालय जलाएका, मासेका अनेक प्रमाण छन् । हाम्रैमा पनि पुस्तकालय मारिदिने सरकारी मान्छे र संस्था कति छन् कति ! अलि पर श्रीलंका पुगेर हेरे देखिन्छ, त्यहाँको जाफ्ना पुस्तकालय जलाउँदा इतिहास जल्यो, श्रीलंकाली धेरै विद्वान्का एक मात्रै पाण्डुलिपि भएका कति लिखत यसै भस्म भए । पुस्तकालय जलाउनेले श्रीलंकामा इतिहास, प्रतिष्ठा र स्वयं आफ्नै अस्तित्व पनि जलाए । हामीले पनि त हत्या गर्‍यौं आफ्नै पुस्तकालय, जलायौं आफ्नै अस्तित्व ।

लेखक/प्राध्यापक अभि सुवेदीको एउटा असरदार नाटक छ– ‘अग्निको कथा’ । गुरुकुलले पहिलोपटक सुनील पोखरेलको निर्देशनमा २०६० सालमा त्यो मञ्चन गर्‍यो । नाटकको मूल विषय हो– पुस्तकालय दहनको कथा । कथामा एउटा गुम्बा छ । गुम्बामा एउटा पुस्तकालय छ । त्यो जल्छ । किताबहरू खरानी हुन्छन् । त्यो पीडा खप्न नसकी भिक्षुभिक्षुणी गुम्बाबाहिर निस्किन्छन् । २०५९, असार १९ गते केन्द्रीय परीक्षाको नतिजा मन नपरेपछि केही विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा आगो लगाइदिए । विभागीय प्रमुख थिए– प्राध्यापक सुवेदी । उनको कार्यालयको सानो पुस्तकालयका सबै किताब आगोमा जले । पुस्तक–दहनमाथि उनले लेखेको नाटक थियो– ‘अग्निको कथा’ । कफी–भेटमा ती प्रिय प्राध्यापक भनिरहेकै हुन्छन्, ‘भाइ, विद्यार्थीका मनोग्रन्थि र तिनका विद्रोही भावनासँग जोडिएको त्यो पुस्तकालय दहनलाई मैले जीवनकै सबैभन्दा ठूलो घटना मानेको छु ।’

हाम्रो आफ्नै पुस्तकालयको स्मृतितिर पस्दा सोचिबस्छु– त्यो प्रिय ज्ञानालयको हत्या नहुँदो हो त सायद आज त्यसको विराट रूप पो देख्न पाइने थियो कि ! पुस्तकालय हाम्रो पुस्ताले अर्को पुस्तालाई, अर्कोले अर्कोलाई सुम्पँदो हो त त्यसले ज्ञान र चेतना निर्माणमा कति ठूलो अर्थ राख्थ्यो ।

ज्ञानालयको आत्मा अर्थात् झन्डै ६ सयभन्दा बढी किताब एक दर्जन सदस्यबीच बाँडिए । त्यो क्षण सबै दुःखी थिए, भित्रभित्रै रोइरहेका हुँदा हुन् । तैपनि हरेक व्यक्ति राम्रो किताब आफ्नो भागमा पार्न उद्यत थियो । किताब भागबन्डाको सकसपूर्ण काम हाम्रो चाहनाअनुसार भएन । मेरा प्रिय किताब अरूकै भागमा परे । सायद अरूका प्रिय किताब पनि मेरो भागमा परे । मैले ५५ थान किताब पाएको थिएँ । ती केही अहिले पनि मेरो र्‍याकमा छन् । मिखाइल सोलोखोभको ‘मान्छेको भाग्य र दोनका कथाहरू’, एनिड ब्लाइटनको ‘इन्द्रजाली रूख’, रमेश विकलको ‘विक्रम र नौलो ग्रह’, गोपालप्रसाद रिमालको ‘यो प्रेम’... आदि ।

भंग गरिएको पुस्तकालयका कर्ताधर्ता साथीहरू निकै खिन्न थिए सायद । अहिले झन्डै २ दशकपछि उनीहरूलाई सोध्न मन छ– तपाईंहरू अहिले पनि मजस्तै खिन्न हुनुहुन्छ ? तर, उनीहरूसँग भेट हुन गाह्रो छ । किताबको भागबन्डापछि मलाई आफ्नै अवचेतनले समेत सताउन थालेको थियो । चिच्याइरहेका, साना हात हल्लाउँदै आँखा चिम्लेर कविता पाठ गरिरहेका, च्यात्तिएका किताबका कागज यत्रतत्र हावामा फालिरहेका, बन्द कोठामा टेबलटेनिस खेलिरहेका आफ्नै यारहरू बेलाबेला मेरो सपनामा आउँथे, मसँग के–के बर्बराउँथे र

निमेषमै हराउँथे । सायद ती ज्ञानालयका किताबका आत्मा हुन्, जसले मलाई बेलाकुबेला सपनामा पनि लखेटिरहन्छन् । मेरो ‘दुष्कर्म’ ले चिढ्याएका सबै मित्रहरूसँग माफी माग्न मन लाग्छ । भेट हुँदा एक अँगालो र एक डाँको रुने ठूलो धोको छ ।

...

पानी थामिएपछि कोठाभित्र पस्दा गोलो मरुन टेबुलमा छोरीले राखेको असिना पग्लिएर रातो चार्टपेपरको थैली टाँस्सिएको ज्ञानालयको चिह्न, त्यो पुरानो किताब लछप्पै भिजाएछ । मैले छोरीलाई कर्के आँखाले हेरेँ, उसले रुन्चे अनुहार बनाई । मसँग पुस्तकालयप्रति स्नेहको उज्यालो सूर्य त होइन, तर त्यसको चिनो यो किताबप्रतिको प्रेम भने बाँकी नै रहेछ । हृदयको कुनै कुनामा त्यो पुस्तकालयको अवशेष अझै रहेछ । त्यसबेला हामीले जे–जे पढ्यौं वा एउटा ‘राम्रो’ काम सम्पन्न गर्न जुन भूमिका निर्वाह गर्‍यौं, सायद आजको हाम्रो जीवनमा त्यसैको केही अंश जोडिएको छ ।


अर्जेन्टिनी लेखक जोर्ग लुई बोर्खेसले त्यसै भनेनन्, ‘स्वर्ग भनेकै पुस्तकालयजस्तो हुन्छ होला भन्ने कल्पना गरिबस्छु ।’ मलिनो प्रकाशमा फिँजारिएका किताबहरू ! भेन्टिलेसनबाट भित्र चिहाइरहेको मलिनो घामको कमजोर उज्यालो ! किताबहरूको नाम भट्याउँदै इगल–मार्का नोटबुकमा नाम टिपिरहेको

साथी ! र, चिसो भुइँको रातो दरीमाथि भित्तामा टाँस्सिएको एउटा किताब–र्‍याक ! के बोर्खेसले भनेजस्तै ‘स्वर्गै’ थियो हाम्रो त्यो सानो पुस्तकालय पनि ?

यस संस्मरणको अन्तिम अनुच्छेद लेख्नुअघि म भूतपूर्व पुस्तकालयको भूतपूर्व सदस्य शैलेन्द्रको घरमा गएँ । त्यस सटर–कोठाको भुइँमा सानो भेन्टिलेसनबाट घामका मसिना धर्सा त्यसरी नै पोखिएका थिए । भर्‍याङ उक्लिएपछिको एउटा कुनामा देखियो– हिलो र माटोले पुरिएका, जुत्ताहरू राखिएको पुरानो र्‍याक । त्यो त्यही छाँट नपरेको, पुरानो, भद्दा र रंग खुइलिएको बुक–र्‍याक थियो । अँ त्यही र्‍याक, जसले मेरो किशोर–वयको सुन्दर सपना बनेपा नयाँबस्तीको पुरानो पुस्तकालयलाई एक्लै बोकेको थियो ।

प्रकाशित : माघ २१, २०७९ ११:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×