कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
प्रतिक्रिया

कोसेली पढेपछि

१. पूर्णमान मेरो ५२/५३ वर्षअघिदेखिका साथी हुन् । त्यसबेला उनको सिन्धुपाल्चोकको लामोसाँघुमा ‘नवरंग’ होटल थियो । कान्तिपुर ‘कोसेली’ मा उनीबारे लेखिएको कथा गता साता पढें । धेरै पुराना प्रसंगहरू सम्झनामा आए । त्यसबेला म नेकपाको कार्यकर्ता थिएँ । होटलमा हाम्रो आउजाउ भइरहन्थ्यो ।

कोसेली पढेपछि

२. पूर्णमान रसिला, हँसिला र मिलनसार थिए । होटलका धेरै पारखी लाग्थ्यो । आउने–जानेलाई मीठो बनाएर खुवाउँथे । तर, उनको एउटा बानी साह्रै खराब थियो । झनक्क रिसाउँथे । दुवै दम्पतीबीच कहिलेकाहीँ नराम्रो झगडा हुन्थ्यो । हामी सम्झाउँथ्यौं । मान्दैनथे ।

३. पूर्णमान होटलमा टोकरी र डोकामा धेरै कुखुराका भाले राख्थे । त्यसबेला ब्रोइलर थिएन । एक दिन होटलमा श्रीमतीसँग साह्रै झगडा परेछ । भाले जति टोकरीबाट थुत्दै टुक्राटुक्रा पारेर सडकमा फ्याँक्दै रहेछन् । होटल अरनिको राजमार्गमै थियो । रोक्न खोज्यौं, सकिएन ।

४. पूर्णमान र श्रीमती लक्ष्मीलाई झगडा नगर्न धेरै सम्झायौं । भाले त्यसरी नमार्न रोक्न खोज्यौं, मानेनन् । सडक रगताम्य भयो । रमिते, तमासे सडकभरि भए ।

५. करिब २ घण्टापछि झगडा के भएछ भनेर हामी होटलमा पुग्यौं । रिस मरेछ ! दुवै बूढाबूढी अघि फ्याँकेका भालेका टुक्रा मासु मिलेर टिप्दै रहेछन् । हामीलाई हाँसो पनि उठ्यो । ‘अब सम्पत्तिको लोभ लाग्यो हैन ?’ व्यंग्य गर्दै हामीले भन्यौं । दुवैले लाज र अप्ठ्यारो माने । ‘गल्ती भएछ’ भनेर स्वीकार गरे । म त्यो घटना कहिल्यै बिर्सन सक्तिनँ ।

६. ‘नवरंग’ होटलमाथि पञ्चायती प्रशासनको नजर नकारात्मक थियो । पछि उहाँले लामोसाँघु छोडेर आफ्नै पुरानो ठाउँ धुलिखेल फर्केर होटल नै राख्नुभएछ । उहाँलाई अप्ठ्यारो पर्ला भनेर भूमिगतकालमा म त्यहाँ पसिनँ ।

७. पञ्चायतको अन्त्य भएर बहुदल आयो । म पनि १९/२० वर्षको कठिन भूमिगत जीवनबाट खुला भएँ । त्यसबेला म नेकपा (माले) मा थिएँ । धुलिखेल होटलमा फेरि भेट भयो । बाँचेर फर्केको भनेर दुवै जनाले बधाई दिनुभयो । धेरै खुसी भयौं । त्यसपछि आ–आफ्नै व्यस्तताले धेरै भेट हुन सकेन ।

८. उहाँबारे लामो लेख पढें, १४ माघको ‘कोसेली’मा ‘ज्ञाने : पारिजातले रोजेको बाटो’ शिर्षकको । उहाँहरूको धेरै माया लाग्यो । छोरा हराएको पीडाले मलाई पनि धेरै नराम्रो महसुस भयो । यो लेखको पठनले धेरै पुराना कथाव्यथाहरू सम्झना भयो । धुलिखललगायत काभ्रेका पुराना साथीहरूलाई सम्झन पुगें ।

९.मेहनतपूर्वक लेख्नुभएकोमा यसका लेखक शुकदेव थपलियालाई धेरै धन्यवाद ! पूर्णमानजी पनि बूढै हुनुभएछ । दाह्री–कपाल सेताम्मे भएछ । म पनि ७४ लागें, उहाँ त ७६ नै पुग्नुभएछ । श्रीमती लक्ष्मी कस्तो हुनुहुन्छ, थाहा भएन । सँगै हुनुहोला । आफ्नो ‘आस्था र विश्वास’ लाई बचाइराख्नुभएकामा ज्यादै खुसी लाग्यो । अन्त्यमा दुवै जनालाई मेरो हार्दिक नमस्कार ! फेरि पछि भेटौंला !

– अमृतकुमार बोहरा

१४ माघ, २०७९

प्रकाशित : माघ २१, २०७९ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?