घरको शिक्षा : कस्तो शिक्षा ?- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
रचनागर्भ

घरको शिक्षा : कस्तो शिक्षा ?

हामीले कस्तो वातावरणमा हुर्कायौं बालबालिका ? स्कुलले कस्तो शिक्षा दिए ? उत्तर सरल छ– न अभिभावकले राम्रो वातावरणमा हुर्काए, न स्कुलले राम्रो शिक्षा दिए ।
दामोदर न्यौपाने

मान्छेको मनोवृत्ति निर्माण गर्ने समय हो– बाल्यकाल । यो बेला मस्तिष्कमा परेको छाप स्मृतिबाट हत्तपत्त हट्दैन । तर, बालबालिकामा कस्तो मनोवृत्ति निर्माण गर्ने ? हाम्रा घरहरूमा यस्तो प्रयास भएका छन् ? मेरो किताब ‘घरको शिक्षा : संस्कारयुक्त मनोवैज्ञानिक सिकाइ’ यो प्रश्नवरिपरि घुमेको छ ।

तीव्र गतिमा हिँड्छ बाल्यकाल । र, बाल्यकालले बालबालिकालाई तीव्र गतिमा सिकाउँछ, अनेक पाठ । व्यक्तिको मनोवृत्ति निर्माण हुने यहि समयको सिकाइले हो । तर, बालबालिकालाई के सिकाउने ? उनीहरूका मस्तिष्कमा कस्तो छाप छाड्ने ? राम्रो कि नराम्रो ? हामी चाहन्छौं– राम्रो छाप छोडौं । उसलाई असल नागरिक बनाऊँ । तर, चाहेर मात्रै असल नागरिक बनाउँन सकिन्छ ? त्यसैले बालबालिकालाई हुर्काउने शैलीमाथि अब विमर्श गर्नु छ ।

हामी बालबालिका हुर्काउँछौं, तर अज्ञानतावश । त्यसैले हाम्रो सिकाइ नै कमजोर छ । सिकाइ कमजोर भएपछि बाल्यकालको छाप पनि कमजोर छ । र, सिकाइ राम्रो नभएरै त हामीले असल नागरिक उत्पादन गर्न सकेनौं । कस्तो वातावरणमा हुर्कायौं हामीले बालबालिका ? स्कुलले कस्तो शिक्षा दिए ? उत्तर सरल छ– न अभिभावकले राम्रो वातावरणमा हुर्काए, न स्कुलले राम्रो शिक्षा दिए ।

हामी नियम मान्नुपर्छ भन्छौं, तर नियम मान्ने सिकाइ भएन । लोकतन्त्र भन्यौं, तर लोकतान्त्रिक चरित्र सिकाएनौं । विधिको शासन भन्यौं, तर विधि मान्न प्रोत्साहन गरेनौं । यसको अर्थ सिकाइको जगै कमजोर छ । जग कमजोर भएपछि घर बलियो कसरी हुन्छ ?

बालबालिकामा सकारात्मक छाप पार्न सकारात्मक व्यवहार गर्नुपर्छ । सकारात्मक व्यवहार गर्न उनीहरूको मनोविज्ञान बुझ्नुपर्छ । मनोविज्ञान बुझेर व्यवहार गर्न सजिलो छ ? अहँ छैन । लामो समय लाग्छ, मनोविज्ञान बुझेर व्यवहार गर्न । लामो समय कुर्ने धीरता छ ? छैन ।

अब पनि यसै गरेर हुन्छ ? अहँ हुँदैन । हाम्रो व्यवहार बदल्नुपर्छ । असल नागरिक उत्पादन गर्न बालबालिकालाई राम्रो वातावरणमा हुर्काउनुपर्छ । राम्रो शिक्षा दिनुपर्छ । संस्कारसहितको शिक्षा दिनुपर्छ । यसका लागि मनोवैज्ञानिक व्यवहार पहिलो सर्त हो ।

संस्कारयुक्त सिकाइको पहिलो सर्त भयरहित वातावरणमा हुर्कन पाउनुपर्छ हाम्रा बालबालिकाले । भयरहित वातावरणमा हुर्काउन पनि मनोविज्ञान बुझ्नैपर्छ । भय कसरी सिर्जना हुन्छ भन्ने बुझ्नुपर्छ । भयरहित वातावरण कसरी सिर्जना गर्ने ? भयरहित वातावरण सिर्जना गर्न भयले बालबालिकामा पार्ने असरबारे बुझ्नुपर्छ । भयले प्राज्ञवान् नागरिक बन्ने वातावरणमा अवरोध सिर्जना गर्छ । त्यही भएर भयरहित वातावरणमा बालबालिकालाई हुर्काउनुपर्छ भन्ने मेरो अभियान हो ।

केही डर होस्, तर भय हुँदै नहोस् । डर पनि अहिलेको नहोस्, आजको नहोस्, सुदूर भविष्यको होस् । भोलि–पर्सिको डर होस् । पढेनौ भने तिमीले राम्रो काम गर्न सक्दैनौ, अरूभन्दा पछि पर्छौ भन्ने खालको डर होस्, भय नहोस् । सकारात्मक असर पार्ने डर होस् । डराउनु भनेको सम्हालिन सिक्नु हो । सावधान हुन सिक्नु हो । भय भनेको आतङ्क हो, त्रास हो, सङ्कट हो, विपत्ति हो । डरको माथिल्लो रूप हो भय । हामीले बालबालिकालाई आतङ्कित बनाएका छौं पिटेर वा तर्साएर । त्रास फैलाएका छौं । विपत्तिको अवस्था सिर्जना गरिदिएका छौं ।

आना बालबालिकाप्रति माया छ । माया नभएर होइन, हाम्रा संवेगमा नियन्त्रण गर्न नसकेर बालबालिकामाथि आतङ्क मच्चाएका छौं । मैले अभिभावकीय आतङ्कका सिकार भएका अनगिन्ती बालबालिका देखेको छु । यस्ता अभिभावक देख्दा यिनको मस्तिष्कमा चेतनाको दियो कहिले बाल्ने होला भनेर चिन्तन गरिरहन्छु ।

बालबालिकाको मनोविज्ञान नबुझेर भयभीत बनायौं हामीले । आनो रिस नियन्त्रण गर्ने कला नजानेर भयभीत बनायौं । बालबालिकलाई बालबालिकाकै दृष्टिकोणबाट नहेरी हाम्रो दृष्टिकोणबाट हेर्‍यौं । बालबालिकाकै कोणबाट सोचिदियौं भने यो समस्या घटेर लगभग शून्यमै पुगिहाल्छ । कारण जे भए पनि हामीले भयभीत बनाइराख्यौं । चिन्ता र सरोकार यही हो ।

बालबालिकाको मनोविज्ञान नबुझि मन नियन्त्रण गर्न सकिंदैन । यसका लागि सिकाइमै जानुपर्छ । शिक्षामै जानुपर्छ । मन नियन्त्रणमा राख्न अहिलेको आवश्यकता हो संयम शिक्षा । मैले देखेका शिक्षाका अनेकौं समस्यामध्ये एउटा हो– मन वशमा राख्न नसक्ने नागरिक उत्पादन । संयम शिक्षा नपाएको मान्छे कुलतमा लागेको छ । संयम शिक्षा नपाएको मान्छे हत्यामा संलग्न छ, हिंसा गर्दै हिंडेको छ । व्यभिचारी बनेको छ । भ्रष्टाचारी बनेको छ । हत्या, बलात्कार, चोरी डकैटीमा संलग्न छ ।

संयम शिक्षा सबैभन्दा अप्ठ्यारो शिक्षा हो । किनभने संयम संस्कारसँग जोडिएको छ । संस्कार मनसँग जोडिएको छ । संस्कार भनेको विधि हो, व्यवहार हो, विधि र व्यवहारको अभ्यास हो । अभ्यास गरेरै संस्कार निर्माण भएको हुन्छ । विगतमा गरिएका कार्य नै संस्कारको रूपमा मान्छेको मनमा गढिरहेको हुन्छ ।

मान्छेको जे संस्कार बस्छ, त्यही मनका रूपमा प्रकट हुन्छ । संस्कार भनेको मन बनाउने प्रक्रिया पनि हो । मन कस्तो बनाउने भनेर बाल्यकालमै अभ्यास गराउनुपर्छ । अभ्यासले नै हो सफल हुने । अभ्यासमा शक्ति हुन्छ । कठिन काम पनि अभ्यासमार्फत सजिलोसँग समापन गर्न सकिन्छ ।

हामी सोच्छौं– शिक्षा दिने काम स्कुलको हो । सही हो । शिक्षा दिन भनेर पैसा तिरेर स्कुल भर्ना गरेका हुन्छौं । तर, स्कुल मात्र पर्याप्त होइन । बालबालिकाले स्कूलभन्दा बढि समय त घरमै बिताउँछन् । हामीले स्कुलको शिक्षालाई ध्यान दिएका छौं । तर, घरको शिक्षालाई ध्यानै दिएका छैनौं । घरबाट अनगिन्ती शिक्षा लिइरहेका हुन्छन् बालबालिकाले, पाइला पाइलामा । हामी खेली–खेली, बोली–बोली, व्यवहार गरी–गरी शिक्षा दिइराखेका हुन्छौं । तर, कस्तो शिक्षा दिएका छौं ? यतातिर ध्यान दिएका हुँदैनौं । हामी कमजोरी नै यहीँनेर गर्छौं । घरमा सिकाउने नै असल अभ्यास हो । सिकाउनेभन्दा पनि असल अभ्यास गराउने हो । अभ्यासबाटै सिकाउने हो ।

आफ्नो जीवन सफल, सार्थक बनाउन शिक्षा लिन्छ मान्छे । सफल र सार्थक जीवन निर्माण गरेर सुखमय बनाउनु शिक्षाको उद्देश्य हो । शिक्षाले मानिसलाई सिर्जनशील बनाउनुपर्छ, विवेकवान् बनाउनुपर्छ । कुनै समस्याको विश्लेषण गर्ने, तर्क गर्ने, प्रस्तुत गर्ने र निचोडमा पुग्ने कला दिनुपर्छ शिक्षाले । यस्तो सीप प्रदान गर्नुपर्छ । माथि विमर्श गरिएका सम्पूर्ण कलाको विकास बालबालिकामा कति भयो ? र, कसरी भयो ? म यही हेर्छु, छोरो हार्दिकको गतिविधिमा । उसको यही सीप र कला हेर्न म उसलाई विभिन्न गतिविधिमा संलग्न पनि गराइराखेकै हुन्छु । विभिन्न रचनात्मक क्रियाकलापमा संलग्न गराउने मेरो अभ्यासको एक परिणाम हो, पाठकहरूका हातमा पुगेको किताब – ‘घरको शिक्षा : संस्कारयुक्त मनोवैज्ञानिक सिकाइ’ ।

प्रकाशित : माघ २१, २०७९ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्

सुन्धाराको पाइप भाँचिएपछि विवाद

दामोदर न्यौपाने

काठमाडौँ — सुन्धारामा पानी झर्ने परम्परागत पाइप भाँचिएपछि धरहरा पुनर्निर्माणमा विवाद भएको छ । धरहराका नयाँ संरचना बनाउने क्रममा सुन्धाराछेउमा डोजरले खन्दा काठको पुरानो पाइप भाँचिएको थियो । स्थानीयवासीले ऐतिहासिक ठाउँमा नयाँ संरचना बनाउँदा ध्यान दिनुपर्छ भनेर खबरदारी गरेका थिए ।

तर, निर्माण कम्पनीले बेवास्ता गरेको भन्दै स्थानीयवासीले विरोध गरेका छन् । विरोधपछि खन्ने काम रोकिएको छ । ‘हामीले यहाँ संरचना बनाउन हुँदैन भनेका थियौं,’ स्थानीयवासी गौतम डंगोलले भने, ‘तर मेयरसँग कुरा भइसकेको छ भनेर जबर्जस्ती गरियो । हामीले दुई महिनादेखि भनिआएका हौं ।’

विवाद बढेको थाहा पाएपछि काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले सोमबार धरहरा क्षेत्रको निरीक्षण गर्दै सरसल्लाह नगरी काम अघि नबढाउन निर्देशन दिएका छन् । ‘खन्दाखेरि यस्तो भेटियो भनेर काम रोक्न सकिन्थ्यो । के गर्ने भनेर सल्लाह गरेर अघि बढ्न सकिन्थ्यो,’ शाहले भने । धरहरा पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्का जीआईईटीसी रमन जेभीलाई दिएको थियो । निर्माण सम्पन्न नहुँदै गत पुसमा प्राधिकरणको म्याद सकिएपछि हालको जिम्मेवारी सहरी विकास मन्त्रालयअन्तर्गतको भवन निर्माण विभागलाई छ । सुन्धारामा कृत्रिम उपायबाट पानी खसाल्न पानी जमाउने उद्देश्यले ट्यांकी बनाउन लागिएको थियो । ‘सुन्धाराकै लागि रिजर्भ ट्यांकी बनाउन खनेका हौं,’ निर्माण कम्पनीका मेनेजर सञ्जय नकर्मीले भने, ‘काम रोकिएको छ । पुरातत्त्व विभागले निरीक्षण गरेपछि के गर्ने भन्ने टुंगो लाग्छ ।’ सुन्धाराका लागि १ लाख लिटर क्षमताको रिजर्भ ट्यांकी बनाउन लागेको नकर्मीले जानकारी दिए ।

यही ठाउँमा ट्यांकी बनाउन नहुने स्थानीयवासीले माग गर्दै आएका थिए । ‘वैज्ञानिक इन्जिनियरिङ थियो यहाँ,’ सम्पदा संरक्षण अभियानकर्मी आलोकसिद्धि तुलाधरले भने, ‘तर प्राचीन इन्जिनियरिङलाई ध्यानै नदिई सम्पदा क्षेत्रमा अन्धाधुन्ध डोजर चलाइयो । यहाँ काठको डुँड भेटियो । अब यसबाट पाठ सिक्नुपर्छ । यस्ता ठाउँमा निर्माण गर्दा सबै कुरामा होस गर्नुपर्छ ।’ सुन्धाराको संरक्षण गर्नुपर्ने उनले बताए ।

‘डिजाइनलाई सच्याउनुपर्छ,’ उनले भने । प्राचीन स्मारक भएका ठाउँमा जथाभावी ढंगले खन्ने काममा रोक लगाउन माग गर्दै स्थानीयवासीले पुरातत्त्व विभागको पनि ध्यानाकर्षण गरेका छन् । अधिवक्ता सञ्जय अधिकारीले दोषीलाई अनुसन्धान गरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार कारबाही गर्न माग गर्दै पुरातत्त्व विभागमा निवेदनसमेत दर्ता गरेका छन् ।

सुन्धारा धरहराको उत्तरतिर छ । धारा दक्षिणतिर फर्केका छन् । धरहराको सतहभन्दा गहिरो भएकाले सुन्धारा पुग्न २५ खुड्किला ओर्लनुपर्छ । सबैभन्दा तल्लो सतहमा धारा छन् । पाँचवटा धारा छन् । साफल्य अमात्यको पुस्तक ‘पुरातत्त्व, इतिहास र संस्कृति’ अनुसार सुन्धाराको पानी आउने स्रोत भाग कर्मचारी सञ्चय कोष भवन भएको ठाउँतिर छ । यही ठाउँमा पानी आउने संरचना थियो । सञ्चय कोष भवन बनाउने क्रममा संरचना भत्किएपछि सुन्धारा सुक्यो । कृत्रिम नभई प्राकृतिक रूपमै सुन्धारामा पानी ल्याउनुपर्ने माग सम्पदाविद्ले गरेका छन् ।

प्रकाशित : मंसिर २७, २०७९ ०६:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×