समाज फेरिन्छ नै !

समाजलाई बाँच्नयोग्य बनाउने भए विद्यमान यौनप्रतिको सामाजिक मनोविज्ञान फेरिनैपर्छ । यौनप्रति साँघुरो सोच राख्ने पुरूषले आफूलाई बदल्नैपर्छ ।

अरू त ठीकै हो, यो ‘चेन–स्मोकर’ बनेकीमा म तँसँग खुसी छैन है । –म ।
भट्टराईजीसँगको तेरो संर्सगलाई लिएर मैले कहिल्यै गुनासो गरेँ र ? –साथी ।
अप्रासंगिक उसको प्रतिकृयाले म जिल्ल परेँ ।

समाज फेरिन्छ नै !

संवादको पृष्ठभूमि

सामाजिक सञ्जालमार्फत सुरु भएको परिचय र एक वर्षको निरन्तर संवादपछि उनीहरूले एकअर्कालाई प्रेमीप्रेमिकाका रूपमा स्विकारे । त्यसपछिका झन्डै चार वर्षको ‘भर्चुअल’ प्रेमपछि परिवारको पूरा सहयोग र सहभागितामा उनीहरूको बिहे भयो । त्यसबीच उनीहरूको ‘लङ डिस्टेन्ट रिलेसनसिप’ मा देखिएका उतारचढाव, द्वन्द्व र प्रेमिल घटना–परिघटनाको म धेरथोर साक्षी भएँ । एकपटक साथीहरूसँग घुम्न जाने विषयलाई लिएर उनीहरूबीच गम्भीर झगडा परेको थाहा पाएकी थिएँ । ‘तैँले केटा मान्छेलाई चिनेकै छैनस्’ भन्दै पुरुष पनि सहभागी समूहमा घुम्न नजान साथीको प्रेमीले उसलाई रोकेको थियो । त्यतिखेरका अन्य केही संवाद पनि मैले प्रत्यक्ष सुनेकी थिएँ । यो तहको नियन्त्रणकारी सम्बन्ध देखेपछि ‘अब तिमीहरू सल्लाहले नै छुट’ भनी उसले नमागेकी सल्लाह दिएकी थिएँ मैले । त्यतिबेला विपरीतलिंगीबीचको स्वाभाविक आकर्षण (प्रेम ?), सामाजिक मनोविज्ञानको आडमा केही पुरुषले देखाउने नियन्त्रणमुखी व्यवहार र त्यसले दिने सम्भावित परिणामबारे मैले लामै कुराकानी गरेकी थिएँ । विषयसँग ऊ असहमत थिइन, तर बिस्तारै उनीहरूको सम्बन्ध प्रगाढ हुँदै गयो र मेरा सल्लाह उसलाई बिझाउन थालेका महसुस गरेपछि म चुप बसेँ ।

उसको बिहेपछि हाम्रो सम्बन्ध औपचारिकतामा सीमित भयो । उमेरमा मभन्दा एकाध वर्षले सानी भए पनि ऊ मेरी मिल्ने साथी हो । सामान्य दैनिकीदेखि जीवनप्रतिका दृष्टिकोण र आफ्ना भोगाइ एकापसमा साटेर हामीले धेरै दिन बिताएका छौं । भविष्यका योजना र सपनामाथि घण्टौं छलफल गरेका छौं । पुस्तकहरू साटेर पढ्ने, छलफल गर्ने र साझा अवधारणा बनाउने अभ्यासमा हामीले वर्षौँ बिताएका छौं । महिलाप्रति अनुदार सामाजिक मनोविज्ञानको विश्लेषण र जटिल पृष्ठभूमिमा महिलाको भूमिकाबारे प्रशस्त बहस गरेका छौं । यिनै अनुभवका आधारमा ऊ स्वप्नशील, जीवनको लक्ष्यसँग स्पष्ट र दृढ लाग्थी ।

तर, हालैको एक पारिवारिक कार्यक्रममा भेट्दा मलाई ऊ पहिलेजस्तै आत्मविश्वासी लागेन । हाम्रो सम्बन्ध औपचारिकतामै सीमित भए पनि मेरो मनभित्र उप्रतिको आत्मीयता उस्तै थियो, जस्तो पहिले थियो । फेरि हाम्रा भेटघाट र संवाद बढ्न थाले । मैले उसका नितान्त व्यक्तिगत विषय जस्तै ः अध्ययनको निरन्तरता, करिअर, वैवाहिक जीवन र बच्चा जन्माउने योजनाबारे सोधेकी थिएँ । उसले यस विषयमा श्रीमान्–श्रीमतीबीच खासै कुरो नभएको बताई । ‘यस्तै विषयमा त हो श्रीमान्–श्रीमतीले योजना बनाउने’ मैले फेरि नमागेको सल्लाह दिएँ ।

हाम्रो त्यस्तो कुरै हुँदैन । –ऊ

अनि के कुरा हुन्छ त ? –म

त्यही हो सेक्स, झगडा अनि सेक्स । हामी सँगै भएको बेला कि सेक्स हुन्छ कि झगडा । –ऊ

प्रेम र सेक्सको कुरा त धेरै सुनेकी थिएँ । तर, उसले झगडा र सेक्सको कुरा गरेकी थिई । झगडा र सेक्सको ‘डाइकोटोमी’ मलाई साँच्चै अनौठो लाग्यो ।

‘उसलाई मेरो विगतसँग खुब चासो छ । बिहेअघि पनि मेरो प्रेम तथा यौनजीवनबारे सोध्ने गर्थ्यो र बिहेपछि पनि उसका हरेक प्रश्न र चासो यसै विषयमा केन्द्रित हुन्छन् । नभएको प्रेम र यौनसम्बन्धबारे म उसलाई के बताऊँ ? अफिसबाट फर्केपछि उसको समय मेरो म्यासेन्जर, भाइबर र दिनभरिको कल डिटेल्स चेक गर्नमै बित्छ । म कत्ति पनि नराम्रो मान्दिनँ, तिम्रो विगतबारे खुलेर भन मात्र भन्छ । भएको भए भनिदिन्थें, तर नभएको कुरा कसरी भनौं । तर, ऊ मेरो कुरामा विश्वास गर्दैन र त्यही विषयमा झगडा हुन्छ । यतिसम्म कि उसले कुनै अपरिचित व्यक्तिको फरकफरक यौनसम्बन्धबारे सुनाउँछ, उनीहरूको त्यस्तो जीवनशैलीबारे मेरो प्रतिक्रिया सोध्छ र उसले त्यसलाई सामान्य रूपमा लिने बताउँछ । म बुझ्छु, उसको यो सबै कथा काल्पनिक हो र मेरो विगत कोट्याउन तयार गरिएको पृष्ठभूमि मात्रै हो । झन्डै चार वर्षको ‘सो कल्ड’ प्रेम सम्बन्धमा मैले उसलाई के बुझिछु त ? के हामीलाई चार वर्षसम्म डोर्‍याउने ‘सेक्स ड्राइभ’ मात्र थियो त ? नत्र किन बिहेपछि हाम्रा दृष्टिकोणमा कुनै समानता भेटिँदैन ?’ –ऊ सुकसुकाई ।

एउटा लामो ‘पज’ पछि ऊ फेरि बोली, ‘उसको त्यस्तो व्यवहारले आजभोलि म कुनै पुरुष देख्नेबित्तिकै सेक्स सम्झिन्छु र घृणा लाग्छ । सेक्स सम्झँदा मात्र पनि पीडा हुन्छ । आजभोलि यौनसम्बन्धको कल्पना मात्रैले पनि रिंगटा लागेर आउँछ, वाक्वाकी लाग्छ । र, आजभोलि म चुरोट पिउँछु, लगातार चुरोट पिउँछु । सेक्समा प्राप्त हुने ‘अर्ग्याज्म’ अहिले म चुरोटमा पाउँछु, धूवाँ उडाउनुमा पाउँछु । लाग्छ म भित्रभित्रै मर्दै गएकी छु ।’

ऊ रोकिई । मेरो टाउको झनन्न भयो । उसमा जेनोफोबिया (यौनसम्बन्धसँग डर वा घृणा लाग्ने बिरामीपन) को लक्षण देखिएछ । त्यसैले त मैले उसको चुरोट खाने बानीसँग असन्तुष्टि जनाउँदा मेरो यौन जीवनको प्रसंग ल्याएकी रहिछे । मेरो आँखैअगाडि टुसाएको प्रेममा केही समस्या छ त लागेको थियो, तर यो डिग्रीको ‘स्याडिस्ट’ होला भन्ने कल्पनासम्म गरेको थिइनँ । संसार बदल्ने उत्साह लिएकी एउटी केटीे यति कमजोर बन्ली भनेर मैले कल्पनासम्म गरेकी थिइनँ ।

थप अरू केही

रामायणमा एउटा कथा छ । देवताका राजा इन्द्रलाई ऋषि गौतमकी पत्नी अहिल्यासँग सम्भोगको इच्छा हुन्छ । इन्द्रले ऋषि नभएको मौका पारी अहिल्यालाई बलात्कार गर्छन् । कथा भन्छ– श्रीमती बलात्कृत भएको थाहा पाएपछि ऋषिले अहिल्यालाई श्राप दिन्छन् र उनी पत्थर बन्छिन् । पत्थर अर्थात् निर्जीवजस्तै, निष्क्रिय । सायद बलात्कारको पीडामा रहेकी उनले पतिबाट थप माया, साथ, सहयोग र सहानुभूतिको अपेक्षा गरेकी थिइन्, तर ऋषिले उल्टै पत्नीलाई दोषी देखाएपछि उनी जीवितै मरेतुल्य भइन्, निर्जीवजस्तै भइन् । पछि रामको सामीप्य पाएपछि उनी जीवित (सक्रिय ?) भएको विषय कथामा छ ।

काठमाडौंकी पुष्पा न्यौपानेको चिनजानका एक युवासँग प्रेमसम्बन्ध रह्यो र उनीहरू बिहे गर्ने निर्णयमा पुगे । पारिवारिक सहमतिमा उनीहरूको ‘इन्गेजमेन्ट’ भयो । विभिन्न माध्यमबाट आएका समाचार अनुसार, पुष्पाले विगतका सम्बन्धहरू र आफन्तबाटै आफूमाथि भएको दुर्व्यवहारबारे इन्गेजमेन्ट भएका व्यक्तिसँग सेयर गरिन् । सायद उनले जीवनसाथीसँग आफ्नो सम्पूर्ण विगत सुनाउन उपयुक्त ठानिन् । त्यसपछि ती व्यक्तिको प्रतिक्रिया कस्तो रह्यो थाहा भएन, तर परिणाम इन्गेजमेन्ट टुट्यो र पुष्पा खरानी भइन् । उनी फिनिक्स पक्षीजस्तै बौरिने सम्भावना रहेन । घटनाले एऊटा सुन्दर जीवनको अन्त्य मात्रै गराएन, हाम्रो समाजको त्रूरतालाई उदांगो पारिदियो ।

काठमाडौंको विश्व निकेतन स्कुलकी छात्रा सदीक्षा चौधरी केही दिन विद्यालय आइनन् । प्रशासनले विद्यालयमा अनुपस्थित हुनुको स्पष्टीकरण माग्यो । विश्वासिलो उत्तर नपाएपछि अभिभावक बोलाइयो । विद्यालयका डिसिप्लिन इन्चार्जले सदीक्षाको यौन चरित्रमाथि प्रश्न उठाए । त्यो चोट सहन नसकेपछि सदीक्षाले स्कुल ड्रेसमै आत्महत्या गरेको समाचार एक अनलाइनमा प्रकाशित छ ।

अनेकौं पुष्पा न्यौपानेका बाहिर नआएका कथा समाजमा छन् । नजाने कति सदीक्षाहरू आत्महत्या गर्दै छन्, निर्मला पन्तहरू मारिँदै छन्, समीक्षा अधिकारीहरूका घाउमा नुनचुक थपिँदै छ । रामको स्पर्शले अहिल्याले पुनर्जीवन पाइन्, तर पुष्पा र सदीक्षा खरानी बन्न बाध्य भए । यौन दुर्व्यवहारको चोट, यौनमाथिको नियन्त्रणकारी सोच र व्यवहारले नजाने कैयौं अहिल्या पत्थर बनेका छन्, जिउँदै मरेतुल्य भएका छन् । यी सबै सुनेर, देखेर महिलाका लागि नैतिकताको भाष्य बनाउने पुरुषलाई कस्तो लाग्दो हो ? समाजको यो क्रूरतामा के कुनै पनि सभ्यताले गर्व गर्न सक्छ ?

समाजमा अँध्यारो मात्रै छैन । ‘कान्तिपुर दैनिक’ मा मैले एउटा लेख लेखेकी थिएँ– ‘बलात्कारको क्याटलिस्ट’ शीर्षकको (असोज २, २०७५) । लेखमा अफिसका दुई सहकर्मीबाट बलात्कृत ‘रोशनी थापा’ को सन्दर्भ उल्लेख थियो । त्यसै बेलादेखि रोशनीसँग बेलाबखत मेरो कुराकानी हुन्छ । घटनाको केही महिनामा अभिभावकले खोजिदिएको केटासँग उसको बिहे भएको थियो । बलात्कारको घटना घरमा पनि नसुनाएकी उसले बिहेपछि ‘त्यो नमीठो पल’ बारे श्रीमान्लाई बताएकी थिई । त्यसपछि भने उसको वैवाहिक जीवन एक वर्ष पनि टिकेन । वैवाहिक जीवन नटिके पनि छोरी जन्मिई र छोरी हुर्काउने जिम्मेवारी उसमै थपिएको छ । काठमाडौंको महँगीमा एकल आमाले छोरी हुर्काउनु जटिल त छँदैछ, त्यसमाथि केही आफन्त र सहकर्मीका व्यङ्ग्यले उसलाई कुनै बेला व्याकुल नबनाएको होइन । तर, हालैको कुराकानीमा ऊ दृढ र आत्मविश्वासी सुनिई । विगतप्रति गुनासो बोकेर स्थिर जीवनको पक्षपाती नभएको सुनाई । ‘विगतका दुर्घटनालाई देखाएर, कमजोर बनाई फेरि लुट्न खोज्ने मनोविज्ञान हाम्रो समाजमा छ । त्यस्ता कुरालाई बेवास्ता गर्ने र आर्थिक रूपमा आत्मनिर्भर बन्ने हो भने कसैले केही बिर्गान सक्दैन । तर, आफूमा आत्मविश्वास भने हुनैपर्छ ।’ –ऊ स्पष्ट छे । नमीठो विगतलाई पैतालामुनि कुल्चेर मुस्कुराइरहेकी ऊ भर्खर तीन वर्ष पुग्नै लागेकी छोरीलाई कुन विद्यालय भर्ना गर्ने भन्नेमा चिन्तित थिई । अफिस नजिकै ठीकैको शुल्क भएको स्कुल भए छोरी भर्ना गरिदिने सोचमा छे ऊ ।

...

अन्य विषयमा जस्तै यौनको सन्दर्भमा पनि समाजमा मूल्य, मान्यता र नैतिकताका मानकहरू हुनु स्वाभाविक हो, हुनु पनि पर्छ । तर, ती मानक कुनै लिंगविशेषका लागि बन्छ भने कसैलाई कमजोर बनाउन बन्छ भने त्यसलाई भत्काउनैपर्छ । समाजले बनाएका यस्ता मानक हाम्रा प्रगति र विकासका बाधक बन्छन् भने तिनलाई नाघ्ने र भत्काउने हिम्मत गर्नैपर्छ । आजका नारीमा यही लेखमा उल्लेख भएकी रोशनीको जस्तै आत्मविश्वास हुनैपर्छ । पुष्पा र सदीक्षाका निर्णयले अन्य कैयौं पुष्पा र सदीक्षालाई बल दिँदैनन् । समाजलाई बाँच्नयोग्य बनाउने हो भने विद्यमान यौनप्रतिको सामाजिक मनोविज्ञान फेरिनैपर्छ र यसको लागि यौनप्रति साँघुरो सोच राख्ने पुरुषले आफूलाई बदल्नैपर्छ । पुरुष साथीहरू ! के तपाईंको गलत सोच र व्यवहारले समाजलाई झन् क्रूर बनाएको त छैन ? एक पटक आफैंलाई छामी हेर्नुस् है । प्यारी साथी ! तिमीले त यो लेख अवश्य पढ्नेछौ, तिम्रो श्रीमान्लाई पनि पढ्न लगाऊ है ! समाज फेरिनैपर्छ र फेरिन्छ नै ।

प्रकाशित : माघ २१, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?