२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

जनकपुरको छोपिएको जून

यसपटक तराई झरेका सुबिनले जनकपुर वरिपरिकै कथा लेखे । कथा पढ्दा पाठक तराईको गर्मी सम्झिन्छ । स्मृतिमा ओहोरदोहोर गरिरहन्छन्– खेतखलियान, बाँसका टाटी, डगहर र ग्वाहाली ।
दिनमान गुर्मछान

समर लभ’ ले तानिएका पाठक ‘साया’, ‘मनसुन’ सम्म आइपुग्दा प्रेमले दिक्क भइसकेका थिए । दिक्दारीले भागिसकेका पाठकलाई फेरि आफ्नै पोल्टामा पार्न सफल भए लेखक सुबिन भट्टराई उपन्यास ‘इजोरिया’ मार्फत । साहित्यको बजार तताएको उपन्यासले मलाई एक हप्तासम्म जनकपुरतिरै पुर्‍यायो । प्रेम कथालाई विषय बनाइरहने सुबिन यसपटक फरक विषय प्रवेश गरे, फरक भूगोलमा पनि ।

जनकपुरको छोपिएको जून

यसपटक विशुद्ध तराई झरेका सुबिनले जनकपुर वरिपरिकै कथा लेखे । कथा पढिरहँदा तराईको गर्मी सम्झिएँ । जनकपुरको रेल चलिरहेको दृश्य अनुभूत गरें । गर्मीमा चलेको लु, आँपका बगैंचाभरि फुलेका आँपका फूल र फलेका आँपको याद ताजा भइदियो । अझै भन्नुपर्दा मजस्तो तराईमा जन्मिएर हुर्किएकाका लागि एकपटक उही बालापनका दिनमा विचरण गरायो । खेतखलियान, बाँसका टाटी, डगहर, ग्वाहाली हुँदै तराईमा बेलाबेलामा लाग्ने मेलाको समेत याद आयो । तराई–स्मृति ताजा बन्दै गर्दा विसं ०६३ अघिको मधेस र ०६३ पछिको मधेसको बदलाव पनि सम्झिन आवश्यक छ । उपन्यासमा घटित कथाहरूको कालखण्ड ०६३ अघि र पछिका छन् । त्यसैले यो गणतन्त्रअघि र पछिको मधेसको कथा हो ।

मिथिला राज्यको कथामा मैथिली शब्द प्रयोग हुनु जरुरी भइगयो । त्यसो त मैथिलीमा ‘इजोरिया’ को अर्थ हुन्छ– जूनको उज्यालो । कथामा चाहिँ उज्यालो हराएको छ । सिम्रिकको बाल्यअवस्थादेखिकै कथा भन्छ उपन्यासले । उसकी दिदी शिरीषसँगको सामीप्यताबाट सुरु भएको उपन्यासमा सिम्रिकको जीवन नै एउटा खोजमा भौतारिएको छ । दिदी शिरीषको अचानकको आत्महत्याले क्षतविक्षत भएको उसको मनले ठान्छ– ‘दिदी मरेकी छैन’ । दिदीले आत्महत्या किन गरी ? यो प्रश्नको जवाफ खोज्दै ऊ जवान हुन्छे । एउटा रहस्यको खोजमै कथा अघि बढिरहन्छ । रहस्यको उद्घाटन होला भन्ने आशयमा पाठकले तराईको कथा मज्जाले पढ्नेछन् । पाठकलाई बाँधिराख्ने उपाय पनि हो यो । नेपालको भूबनोटअनुसार तराई, पहाड र हिमाल जसरी मिलेर बसेको छ, उसैगरी तराईमा पहाडी र मधेसी मिलेर बसेका छन् भन्ने मीठो अनुभूति ‘इजोरिया’ ले दिएको छ । वर्षौंदेखि मित्रवत अनि छिमेकी भएर बसेका पहाडी–मधेसीको सद्भाव केहीले पनि हल्लाउन सक्तैन भन्छ– इजोरिया ।

त्यसो त मधेसमा कथा छ, व्यथा छ भन्दा अब पाठकलाई दिक्क लाग्न सक्छ । कथा त सबैको हुन्छ, व्यथा पनि हुन्छ भन्ने लाग्ला । तर, घरको चार दिवारबाट बाहिर पाइला टेक्न नपाउने मधेसका महिलाको कथा, व्यथाचाहिँ अनौठो नै हो । सिम्रिककी आमा रमिला र उसकी आमा मायादेवीको कथाले कटुसत्य बोकेको छ । बिनाबाबुको आमा हुनु भनेको एक ‘श्रापित’ जिन्दगी बाँच्नु हो भन्ने त्यतिबेला लाग्छ जब आफ्नैले पनि साथ छाड्छन् । त्यो श्रापको डाम कति पुस्तासम्म बसिरहन्छ भन्ने कथा पनि हो यो । यो सिङ्गो मधेसको, सिङ्गो महिलाको कथा हो । आमा हुन कति गाह्रो छ हाम्रो समाजमा भन्ने बुझाउन काफी छ रमिलाको आमाको कथा । हुन त उपन्यासमा ठाकुरजस्ता मिलनसार साथीको कथा पनि छ । ठाकुरकी आमाको आँट र विश्वासको कथा छ । ठाकुरका साथी रामबलीको दुःख र पीडाको कथासँगै उसले रोजेको बाटोको कथा छ, जो पढ्नभन्दा काम गर्न रमाउँछ र बाबुको पिटाइ सहन नसकेर माओवादीमा लाग्छ । सिम्रिकको जिद्दीपन, आँटिलो स्वभाव र स्वतन्त्र उडान भर्ने सपनाको कथा छ ।

सिम्रिकले दिदीलाई बिर्सिन पाएकी छैन । ऊ दिदीलाई अझै नजिक पाउँछे भावनात्मक रूपले । कहिलेकाहीं सपनामा दिदी केही देखाउन चाहन्छिन् । सपनाले पनि रहस्यको नजिक पुर्‍याइरहेको हुन्छ । त्यसैले आत्महत्या गरेकी दिदीको मृत्युको कारण खोजिरहेकी हुन्छे ऊ । दिदी र बहिनीको यो प्रेमले हृदयको कुनामा एउटा छुट्टै अदृश्य भावना जगाइदिन्छ । तर, यहाँ सोच्न सकिने अर्को पाटोचाहिँ सिम्रिककी बहिनी पनि छे । उसको एक भाइ पनि छ, जो बाबुको अनेक प्रयासपछि आमा रमिलाले जन्माउँछिन् । सिम्रिक आफ्नी दिदीप्रति यति स्नेह राख्ने गर्छिन् भने बहिनीप्रति उसको किन स्नेह छैन ? सानी बहिनीलाई किन ऊ कहिल्यै स्नेह देखाउँदिन ? यो पाटोमा कथा कहिल्यै बोल्दैन । खाली छ यो पाटो । सिम्रिकका बाबु शंकरजस्ता लोग्ने मान्छेको चरित्रले सम्पूर्ण छोरा र बाबुहरूको ‘नाक काटेको’ छ ।

‘घरमे खाई छी खुद्दी रोटी बाहर सुखाय जोडे धोती’ मार्काका उपन्यास नेपालमा नपाइने होइन । उही मार्काका उपन्यासको चर्चा बढी हुन्छ यहाँ । केही महिनापछि त्यो चर्चाले उल्टो रूप देखाउन थाल्छ । बल्ल बुझ्न थाल्छन् पाठकले कुन मार्काको उपन्यास पढियो भनेर । उसो त यसअघि नै प्रेम कथा मात्रै रोज्ने गरेका सुबिनको छवि एकोहोरो बनिसकेको छ । उनले लेख्ने कथा प्रेम नै हुन्छ भन्ने लाग्छ धेरैलाई । ‘इजोरिया’ को भाग– एक पढुलेन्जेल उनको यो छविलाई पाठकले अचानक परिवर्तित रूपमा लिन थाल्छन् । आम मान्छेको कथालाई यथार्थपरक रूपमा प्रस्तुत गर्ने प्रयासलाई सहर्ष स्विकार्न थाल्छन् । एक छोरीको आँटलाई नजिकबाटै नियाल्न पाउँदा साँच्चै मधेसका छोरीमाथि गर्व गर्न मन लाग्छ । महिला उन्मुक्ति र स्वतन्त्रताको आवाज मुखरित भइरहेको आजको दिनमा यसले ज्योतिको काम गरेको छ । भलै यहाँ न्यायको कुरा गर्दा महिलाले अझै न्याय पाउन सकिरहेका छैनन् । सिम्रिकजस्तो आँटिलो नारीले कस्तो उडान भरेकी छ ? यो बुझ्न उपन्यास पढ्नैपर्छ । तर, आखिर सुबिन उही प्रेम कथाबाट आफूलाई सुपरिचित बनाउन सफल भएका लेखक न ठहरिए । उनी पाठकलाई दोस्रो भागदेखि उही प्रेमको दलदलमा फसाउन र डुबाउन थालिहाल्छन् ।

त्यो प्रेमको समय, सीमा पनि हावाको वेगझैं लाग्छ । प्रेम हो कि यौन भोक भन्ने विम्बको अधिकतम प्रयोगले बुझ्न गाह्रो छ । एउटै अध्यायमा प्रेम, भोग र ब्रकअपले लाग्छ सुबिन यहाँ आएर हतारिएका छन् । उसो त उनलाई प्रेम र भावनाको अधिकतम विम्ब प्रयोग गर्दा सलमान खानको ‘दबंग’ फिल्मको समय र मधेस आन्दोलनको समय अनि माओवादी द्वन्द्वको समयको फरक कति हो भन्ने भेउसमेत भएनछ । माओवादी शान्ति सम्झौतामा आएपछि सन् २०१० मा रिलिज भएको ‘दबंग’ फिल्म सिम्रिक र उसको प्रेमी मिलेर हेर्छन् । त्यो फिल्म हेरेको धेरै समयपछि रामबलीको पत्र ठाकुरको हात लाग्छ । लगभग ६५ सालतिर यो पत्र ठाकुरको हात लाग्दा रामबली माओवादी युद्धमै होमिएको हुन्छ । समयकालको ख्याल राख्न जानिएन भने दुर्घटना यसरी नै निम्तिन्छ लेखनमा ।

तीन खण्डमा विभाजित ‘इजोरिया’ को कथाक्रम र घटनाको प्रस्तुतिको मिठासले पाठक लठ्ठ भइसकेको हुन्छ । विम्बहरूको मिसावटले काव्यात्मक शैली बोकेर आनन्दित भइरहेका पाठकलाई यो मधेसको कथा हो भन्ने लागिरहेको हुन्छ । साथै रहस्यको पोका कुन बेला खुल्छ भन्ने खुलदुली भइरहेकै बेला रहस्यको पर्दाफास जब तेस्रो खण्डमा हुन्छ, त्यसपछि कथा हतारमा अघि बढ्छ ।

अचम्म त त्यतिबेला लाग्छ, जब सिम्रिकले आमालाई जबरजस्ती करणीको मुद्दा दर्ता गर्न सहमत गराउँछे । सिम्रिक जन्मिनुअघिको घटनाको मुद्दा सिम्रिकले ब्याचलर सकेका बेला १० वर्षअघि घटेको घटना भनेर बारम्बार उल्लेख हुन्छ, जुन २० वर्षअघि घटेको हो । अदालती झमेलालाई हतारमा देखाएर अन्त्यमा हार्नुपरेको घटनाले कानुनको वास्तविकता झल्किएको छ । न्याय सर्वसाधारणको पहुँचको कुरा होइन भन्ने सत्य उद्घाटन भएको छ किताबमा । के गणतन्त्र आगमनपछि पनि महिलाले बलात्कृत हुँदा न्याय नपाउने नै हुन् ? यो आजको समयको सवाल पनि हो । हिजोका दिनमा मुख थुनिएका महिलाको आवाज अहिले दबाउने कोसिस नगरे हुन्छ । महिला अब आफ्नो आवाज आफैं राख्न सक्छन् । तर, त्यो आवाजले न्यायको ढोका खोल्छ कि खोल्दैन भन्ने प्रश्न टड्कारो छ । निर्मलाहरूले न्याय नपाएको मुलुकमा रमिलाले न्याय पाउने आशा गर्नु कति ठीक होला ! न त रमिलाले न्याय पाइन्, न सिम्रिकले । न्याय न्यायालयले होइन यही समाजले दिन्छ भन्ने कुरा उद्घोषसँगै अन्त्य भएको उपन्यासले पाठकलाई यो पनि अन्त्य हो र भन्ने लाग्न सक्छ ।

समग्रमा मधेसको कथा बोकेको भए पनि यसले मधेसको आवाजलाई बोकेको छैन । मधेस आन्दोलनको छोटो प्रस्तुति आलोकाँचो लाग्छ । तर, महिला पात्रलाई मुख्य बनाएको उपन्यासले यी मिहिन विषय देखाउन खोज्नु पनि सराहनीय छ ।

प्रकाशित : माघ १४, २०७९ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?