कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मिथ्या ज्ञान बेचिरहेको प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित शिवराज श्रेष्ठ मल्लको ‘मानव यात्रा : सृष्टिदेखि आर्यहरुको प्रथमा संस्कृतिसम्म’ र विष्णुप्रसाद शर्मा पराजुलीको किताब ‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ ले पाठकमाझ मिथ्या ज्ञान फैलाइरहेका छन् । किताबमा प्रशस्तै त्रुटि छन् । ती आपत्तिजनक, तथ्यहीन र गलत ज्ञानमा आधारित छन् ।
विषय विज्ञलाई किताब रुजु गराई सत्य, तथ्य र यथार्थ ज्ञान वितरण गर्ने दायित्व प्रज्ञा प्रतिष्ठानको होइन ? पटक–पटक यस्ता असान्दर्भिक र असत्य ज्ञान बेचिराख्नुको उद्देश्य के ?
यादव देवकोटा

प्रतारित
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका नाममा स्थापित नेपाली भाषा, साहित्य र ज्ञानको संवर्द्धन, प्रवर्द्धनका निम्ति क्रियाशील संस्था गणतन्त्रात्मक शासनकाल यता नेपाल प्रज्ञा प्रतिष्ठानका रूपमा अस्तित्वमा छ । प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने शब्दकोष, पुस्तकहरूले आधिकारिक प्रज्ञा प्रवेशित सामग्रीका रूपमा आम पाठकमाझ प्राभाविक उपस्थिति जनाउने गरेको छ । पाठकमा प्रज्ञाले छापेका सामग्री आधिकारिक हुन्छ, सत्य हुन्छ भन्ने चेतना सर्वमान्य रूपमा उपस्थित छ । तर, प्रतिष्ठानको नेतृत्व गरिरहेकाहरूले भने नेपाली समाजको यो विश्वासलाई प्रतारित गरिरहेको पाइएको छ ।

मिथ्या ज्ञान बेचिरहेको प्रज्ञा प्रतिष्ठान

यताका दिनमा प्रज्ञामा पुगेका प्रज्ञाहीन ‘टीकाप्रसाद’ हरूको मनलाग्दीले प्रज्ञा प्रतिष्ठानले छापिरहेका पुस्तकले पाठकलाई तथ्यहीन, गलत, भ्रमात्मक र प्रज्ञाहीन प्रज्ञा वितरण गरिरहेको भेटिएपछि त्यसउपर टिप्पणी लेख्नैपर्ने भएको छ । प्रज्ञा प्रतिष्ठानका हालैका दुई वर्षभित्र प्रकाशित दुई पुस्तक पढेपछि यस पंक्तिकारलाई विस्मित मात्रै बनाएको छैन, जनताले तिरेको तिरो खर्च गरेर चलेका सार्वजनिक संस्थान र तिनले छापेर बेच्ने पुस्तक कति पुरातन सूचना, ज्ञानमा आधारित छन् र तिनले कुन स्तरको मिथ्या ज्ञान बेचिरहेका छन् भन्ने जानेर स्तब्ध पनि बनाएको छ ।

प्राज्ञत्वहीन प्राज्ञ

प्रज्ञा प्रतिष्ठानले २०७७ मा शिवराज श्रेष्ठ मल्ललिखित पुस्तक ‘मानव यात्रा : सृष्टिदेखि आर्यहरूको प्रथमा संस्कृतिसम्म’ प्रकाशित गरेको छ । त्यसैगरी विसं २०७८ मा विष्णुप्रसाद शर्मा पराजुलीलिखित ‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ शीर्षकमा अर्को पुस्तक प्रकाशित गरेको छ । यिनै दुई पुस्तकको मानव विकासक्रमसम्मका भागहरूले पुष्टि गर्छन्– प्रज्ञाजस्ता संस्थाले पाठकलाई डामिरहेका छन् र मिथ्या ज्ञान फैलाइरहेका छन् । त्यसमाथि केही नलेख्नु र मौन बस्नुले त्यो सदर गर्नुसरह हुने लागेकाले प्रज्ञाका प्राज्ञको प्राज्ञत्वमाथि प्रश्न उठाउनुपर्ने आवश्यकता देखिएको हो । पुस्तकका अन्य पाठहरूमा पनि प्रशस्तै त्रुटि छन् । सबै लेख्दा लेख लामो हुने भएकाले अहिलेलाई भने मानव उद्विकाससम्मका पाठहरूमै यो टिप्पणी सीमित रहनेछ । पराजुलीको पुस्तकमा कुलपति गंगा उप्रेतीले मन्तव्य, उपकुलपति जगमान गुरुङले प्रकाशकीय र सदस्य सचिव जगत उपाध्यायले विभागीय मन्तव्य लेखेका छन् । त्यसैगरी मल्लको पुस्तकमा कुलपति गंगा उप्रेतीले मन्तव्य, उपकुलपति जगमान गुरुङले प्रकाशकीय र प्राज्ञ दिनेशराज पन्तले विभागीय मन्तव्य लेखेका छन् ।

अमुक पार्टीको अमुक नेताको प्रदक्षिणा र भक्तिबन्दना गरी ‘जागिर खान’ नेपाल प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा आएकाहरूमा आफ्नो नेतृत्वको संस्थाले छापेको पुस्तकले वितरण गर्ने ‘प्रज्ञा’ को प्राज्ञिक परीक्षण गर्ने योग्यताको अपेक्षा नै गर्न नहुने गरी कसरी तिनले मिथ्या ज्ञानले भरिएको पुस्तकलाई मन्तव्यको ठप्पा लगाएर ‘पास’ गरेका छन्, त्यो जानेर एक किसिमको आश्चर्य उत्पन्न भएको छ । उसो त तिनमा त्यो योग्यता भएको भए आजभन्दा चालीस वर्षअघि नै आनुवंशिक अध्ययनले गलत साबित गरिसकेका तथ्यहरूको सुगारटान गरेर लेखिएका ‘शब्दहरूको संकलन’ लाई पुस्तकका रूपमा जनताले तिरेको करबाट सञ्चालित प्रज्ञा प्रतिष्ठानबाट छापेर जनमानसलाई भ्रमित ज्ञान वितरण गर्ने साहस गर्ने नै थिएनन् । अरू त अरू भए, कमसेकम प्रकाशित सामग्री सत्य र तथ्यमा आधारित हुनुपर्छ भन्ने मान्यतामा जीवन समर्पित गरेका ख्यातनामा मसीजीवी नयराज पन्तले चलाएको संशोधन मण्डलका सदस्य मात्रै होइन स्वयं नयराजका पुत्र दिनेशराज पन्तले त आफूलाई जानकारी नभएको, तथ्यको परख गर्ने दायरामा आफू नरहेको पुस्तक प्रकाशन गर्न विभागीय लालमोहर नलगाउनुपर्ने ! उनले विभागीय जाँचपास दिएर मन्तब्य छपाएको पुस्तक हेर्दा देखिन्छ– स्वयं दिनेशराज नै पिता नयराज पन्तको सत्य–तथ्य ज्ञानमा आधारित पाठशालाको मान्यता धूलिसात पार्न प्रतिबद्ध छन् ।

मिथ्या ज्ञानको सिलसिला

क) पराजुलीले लेखेका छन्– ‘कर्णालीमा अझै पनि जङ्गली अवस्थामा रहेका राउटे र कुसुण्डा जाति छन् (कर्णालीमा प्रचलित दर्शन–परम्परा, पृ. ११९) ।’

निश्चय नै कर्णाली आदिम फिरन्ते सिकारी युगको जीवन अभ्यास गरिबाँचेका अनेकन् मानव समूहको प्राचीन भूगोल हो । यहाँको भूगोलमा केही दशकअघिसम्म बनमान्छे भनिने अज्ञातनामको मानव समूह, कुसुण्डा, राउटेलगायत समूहको उपस्थिति थियो । आजको दिनमा भने राउटेबाहेक अरू फिरन्ते सिकारी (कथित जङ्गली) जीवन अभ्यासमा अनुबन्धित मानव समूह कर्णालीबाट मात्रै होइन नेपालबाटै विलुप्त पारिइसकेका छन् । लेखकलाई र यस्तो मिथ्या ज्ञान लेखिएको पुस्तक प्रकाशित गर्ने प्रज्ञा प्रतिष्ठानलाई आजको दिनमा कर्णालीमा कुसुण्डा जातिको उपस्थिति देखाउन सार्वजनिक चुनौती दिन सकिन्छ ।

लेखकले पचासको दशकभन्दा अघि लेखिएका किताबबाट यस्ता सूचना हुबहु सारेकाले किताब यस्तो मिति गुज्रिएको सामग्रीले भरिएको देखिन्छ । पचासको दशकअघिसम्म कर्णालीमा कुसुण्डाहरूको नगण्य भए पनि प्रत्यक्ष उपस्थिति थियो । यताको दिनमा भने कुसुण्डाको जनसंख्या कर्णालीबाट निरोध भएको छ । यसबारेको प्रत्यक्ष अवस्था परीक्षण नगरीकन पुराना पुस्तकका हरफहरू सार्ने र किताब लेखक बन्ने संक्रामक प्रवृत्तिलाई प्रज्ञा प्रतिष्ठानले टेको लगाउने प्रवृत्तिले यस्ता मिथ्या ज्ञानले समाज डाम्ने सिलसिला जारी छ ।

ख) ‘पृथ्वीदेखि सबैभन्दा नजिकको ग्रह चन्द्रमा हो (पराजुली, पृ. २१) ।’ यथार्थमा चन्द्रमा ग्रह होइन उपग्रह हो । पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह बुध हो । पृथ्वीबाट सबैभन्दा नजिकको उपग्रह हो– चन्द्रमा, जसको दूरी पृथ्वीबाट ३,८४,४०० किमि छ । बुध ग्रह पृथ्वीबाट ७७ मिलियन किमि टाढा छ ।

ग) पराजुलीले पुस्तकमा लेखेका छन्– ‘मानिसको मानसिक (चेतन) गतिविधि भौतिक शरीरको गतिविधि हो, यसको उत्पत्ति ४५ खरब वर्षअघि भौतिक पृथ्वीसँगसँगै विकसित भयो । ३५ खर्ब वर्षअघि जीवित भौतिक पदार्थ अस्तित्वमा आए (पराजुली, पृ. २३) ।’ उनैले सोही पृष्ठमा लेखेका छन्– ‘आजभन्दा करिब १५ अर्ब वर्षपहिले ब्र≈माण्डको स्वनिर्माण भएको थियो (पृ. २३) ।’ अब यहाँनेर प्रश्न उठ्छ– १५ अर्ब वर्षअघि स्वनिर्माण भएको ब्र≈माण्डभन्दा ४४ खर्ब ८५ अर्व वर्षअघि मानिसको मानसिक चेतन भौतिक पृथ्वीसँगै कसरी विकसित भएको हो ?

यसो भनेर पराजुलीले के ज्ञान दिन खोजेका हुन् भन्ने नै बुझिँदैन । मानिसको मानसिक चेतना ४५ खरब वर्षअघि भौतिक पृथ्वीसँगै विकसित भयो भनेर के भन्न खोजिएको हो ? पृथ्वीको भौतिक अस्तित्व निर्माण भएकै जम्माजम्मी ४.६ अर्ब वर्ष भयो । ३५ खर्ब वर्षअघि भौतिक पदार्थ अस्तित्वमा आए भनेर पराजुलीले कस्तो वैज्ञानिक चेतनाको सम्प्रेषण गर्न खोजेका हुन् समाजमा ? यो उनको आजसम्मको वैज्ञानिक जगत्को खोज र प्राप्तिभन्दा पृथक् खोज र प्राप्ति हो ?

यथार्थमा ब्र≈माण्डको स्वनिर्माण पनि १५ अर्ब वर्षअघि भएको होइन । ब्र≈माण्ड निर्माणको परिघटनाका रूपमा लिइने परम विस्फोट अर्थात् विग ब्यांग भएको १३.८२ अर्व वर्ष भयो भन्ने आजसम्मको वैज्ञानिक खोज, अनुसन्धान, विश्लेषणहरूको मोटामोटी निष्कर्ष छ । पराजुलीले खर्ब वर्ष त्यो पनि ४५ खर्ब वर्षअघिको कुरा कताबाट ल्याएका हुन् र यस्ता सामग्रीलाई प्रकाशनयोग्य भनेर अनुमोदन गर्दै पुस्तक छाप्ने प्रज्ञा प्रतिष्ठानले समाजमा कस्तो ज्ञान वितरण गर्न खोजेको हो ?

घ) उनै पराजुलीले लेखेका छन्– ‘वानरदेखि मानवमा संक्रमणको प्रत्यक्ष प्रमाण दिने आदिमानव रामापिथेकसको झन्डै एक करोड वर्ष पुरानो अवशेष सन् १९८० मा बुटवलमाथि (दोभान नजिक) तिनाउ नदीको दाहिने किनारमा भेटियो (पृ. २८) ।’

ङ) शिवराज श्रेष्ठ मल्लको पुस्तक ‘मानव यात्रा : सृष्टिदेखि आर्यहरूको प्रथमा संस्कृतिसम्म’ को पृ. ५८ मा ‘तिनाउँका रामापिथेकस (नेपालका आदिवासीका आदिपुर्खा)’ उपशीर्षक दिएर लेखेको सामग्री आपत्तिजनक, तथ्यहीन, गलत ज्ञानमा आधारित छ । पुस्तकमा उनले लेखेका छन्– ‘नेपालका आदिवासीहरूका पुर्खा हुन सक्ने भएकाले बुटवलको रामापिथेकसहरूको मानव–मितिशास्त्रीय र माननवशास्त्रीय दृष्टिकोणले अत्यन्त ठूलो महत्त्व छ (पृ. ५७) ।’ उनले थप लेखेका छन् – ‘आर्य–अनार्य–मंगोल प्रजाति सबैका पूर्वज रामापिथेकसहरू अविकसित र करिब २०–३० केजी तौलका साना प्राणी थिए (पृ. ६०) ।’ ‘लुम्बिनी क्षेत्रमा रामापिथेकसको निर्विवाद जीवाष्म भेटिएकाले नेपालमा पनि मानवको उद्भव भएको थियो भन्नेमा त शंका रहँदैन (पृ. ६१) ।’ ‘एसियामा पाइएको प्रख्यात पुरानो मानव ‘पेकिङ मानव’ मंगोलवंशका चुकोतियन मानवहरूको पुर्खा हुन् भन्ने कुरा पत्ता लागेको छ (पृ. ७१) ।’

सबैभन्दा पहिले पेकिङ मानव भनिएको होमो इरेक्टसबारे कुरा गरौं । सन् १८९१ मा इन्डोनेसियाको जाभाबाट उत्खनन गरिएको जीवाष्मलाई होमो इरेक्टस नाम दिइएको छ । यसको जीवाष्म विश्वका विभिन्न भागबाट प्राप्त भएको छ । चीन, भारतको नर्मदा, टर्की, अल्जेरिया, मोरोक्को, केन्या, तान्जानिया लगायतका स्थानबाट प्राप्त उक्त जीवाष्मलाई पहिले जाभा मानव, पेकिंग मानव आदि समेत नाम दिइएको थियो । यो मानव प्रजाति १९ लाख वर्षअघिदेखि २७ हजार वर्षअघिसम्म अस्तित्व रहेको प्रमाण यसको जीवाष्मको अध्ययनबाट प्राप्त भएको छ । सीधा उभिएर हिँड्ने होमो इरेक्टसको मष्तिस्कको आकार ९३० देखि १२३० क्युविक सेन्टिमिटरसम्म रहेको पाइएको छ ।

यो अफ्रिकाबाट बाहिर निस्किएर विश्वभर फैलिएको मानव वंशको पहिलो प्रजाति मानिएको छ । होमो इरेक्टसलाई सबैभन्दा लामो समयसम्म आफ्नो अस्तित्व यो पृथ्वीमा कायम राख्न सफल पहिलो मानव प्रजाति पनि मानिन्छ । आधुनिक मानव अर्थात् होमो सापियन्सको उद्विकास भएको निकै लामो समयसम्म अर्थात् आजभन्दा २७ हजार वर्षअघिसम्म होमो इरेक्टस पृथ्वीमा उपस्थित थियो । यसको आधुनिक मानवसँग साक्षात्कार, सके सहकार्य र सम्भोगसमेत भएको थियो भन्ने अनुमानका आधारमा त्यसमाथि थप वैज्ञानिक अध्ययनहरू जारी छन् । तर, मंगोल वंशका चुकोतियन मानवको पुर्खा पेकिङ मानव भनिने होमो इरेक्टस हो भन्ने आजसम्मको कुनै पनि अध्ययनले पुष्टि गरेको छैन ।

रामापिथेकस अर्थात् बहुप्रचारित भ्रम

उन्नाइसौं शताब्दीको अन्त्यतिर एक करोड बीस लाख वर्षदेखि एक करोड वर्षअघि समयकाल मानिएको शिवपिथेकसको जीवाष्म पहिलोपटक भारतीय उपमहाद्वीपको शिवालिक पर्वतबाट प्राप्त भयो, जसलाई ‘शिवपिथेकस इन्डिकस’ नाम दिइएको छ । यहाँको विशालतम जनसंख्याले गणनायकका रूपमा आराधना गर्ने शिवमा समर्पित पर्वतमालामा पाइएकाले उक्त अस्थिलाई शिवपिथेकस नाम दिइएको हो । सन् १९३० मा शिवपिथेकसको जीवाष्म दोस्रोपटक उत्तरी भारत र पाकिस्तानबाट पाइएको छ । उक्त जीवाष्मको समयकाल असी लाख वर्ष पुरानो मानिएको छ । यसलाई ‘शिवपिथेकस शिवलेन्सिस’ नाम दिइएको छ । सन् १९७० मा भारतीय उपमहाद्वीपको विभिन्न स्थानमा पत्ता लागेको जीवाष्मलाई ‘शिवपिथेकस पर्वदा’ नाम दिइएको छ (भण्डारी, अनसुया–फर्स्ट रेकर्ड अफ शिवपिथेकस फ्रम कुच, गुजरात स्टेट, वेस्टर्न इन्डिया, प्लोस वान जर्नल, २०१८) ।

भारतीय उपमहाद्वीपको शिवालिक पर्वत शृंखलामा रामापिथेकसको जीवाष्म सबैभन्दा पहिले सन् १९३२ मा दिल्लीबाट सय माइल उत्तरमा पर्ने हरिताल्यनगरबाट याले विश्वविद्यालयका स्नातक गरेका युवा अनुसन्धाता जर्ज एडवर्ड लुइस (लेविस) ले फेला पारेका थिए । घोडामा भारी बोकाएर पाकिस्तान–भारतको भूगोलतिर प्राचीन अस्थिपञ्जरको खोजीमा निस्किएका जर्जले भारतीय उपमहाद्वीपको शिवालिक पर्वत शृंखलामा पर्ने हरिताल्यनगरबाट प्राप्त गरेको उक्त अस्थिको नाम रामापिथेकस राखियो, किनकि यहाँका उल्लेख्य जनसंख्याले स्तुति गर्ने रामको भूमिमा पाइएको थियो उक्त जीवाष्म । यसअघि पाइएको उस्तै प्रकृतिको, तर अलिक ठूलो आकारको शरीर भएको मानिएको जीवाष्मलाई शिवपिथेकस नाम दिइएकामा पछिबाट प्राप्त छोटो थुतुनो भएको जीवाष्मलाई ‘रामापिथेकस ब्रेभिरोट्रिस’ नाम दिएको थियो ।

जर्जले रामापिथेकसलाई आदिम मानवको पुर्खा ठहर गर्दै आफ्नो विद्यावारिधिको शोधपत्रमा आधुनिक मानव (होमो सापियन्स) त्यही रामापिथेकसको सन्तान हो भन्ने उल्लेख गरे । यसले जीव वैज्ञानिक जगत्मा हलचल ल्याइदियो । त्यसबखत आजको स्तरको प्राक–आनुवंशिक प्रविधिको विकास भइसकेको थिएन । त्यसैले केही समय जर्जले स्थापित गरेको भाष्यले मानव इतिहासको लेखनपठनमा जरा गाड्यो । अर्क्सफोर्डमा ग्रोस क्लार्कजस्ता सुविख्यात जीवाष्मशास्त्रीसँग काम गरेका जीवाष्मशास्त्र र मानव शरीर रचनाबारेमा दोहोरो विद्यावारिधि गरेका इलवेन साइमन्स पछिबाट याले विश्वविद्यालयमै पुगेर प्राक जीवाष्महरूको अध्ययनमा समर्पित थिए । त्यहीँ उनले जर्जका अध्ययन निचोडहरू र जीवाष्महरूको अध्ययनतर्फ आफूलाई केन्द्रित गरे । साइमन्सले समेत सन् १९६१ मा रामापिथेकसलाई मानव समूहको सबैभन्दा प्राचीन प्रजातिको ठप्पा लगाइदिए । उनको तर्कलाई समर्थन गर्दै क्याम्ब्रिजका डेविड पिलविमले समेत रामापिथेकसलाई मानवका आदिम पुर्खाका रूपमा उल्लेख गरिदिए । त्यसले सिंगो मानव समाजमा रामापिथेकसलाई मानव पुर्खाका रूपमा उल्लेख गर्ने भाष्य सघन बनेर र≈यो । नेपालमा आजको दिनमा समेत सुगा रटानका रूपमा दोहोर्‍याइरहने भाष्य– रामापिथेकस आजका मानिसको पुर्खा हो भन्ने ज्ञान तिनै जर्ज, साइमन्स र पिलविम वितरित निष्कर्षको अनुकरण हो ।

सन् १९६४ मै मानवशास्त्री सेरवुर्ड वासबर्नले साइमन्स र पिलविमको निचोडमाथि प्रश्न गर्दै रामापिथेकसलाई मानव पुर्खाको उपाधि भिराउने निष्कर्षको आलोचना गरेका थिए । उक्त प्रश्न र यसबीचमा भएका अनेकन वैज्ञानिक खोजले पिलबिमलाई शिवपिथेकस/रामापिथेकसमाथि थप गम्भीर अध्ययनका लागि प्रेरित गर्‍यो । यो बीचमा प्राक–मानव र अन्य प्राक–मानव सदृश्य जीवहरूबारे अनेकन् आनुवंशिक अध्ययन चलिसकेको थियो । मोलिक्युलर डिएनएको अध्ययनसमेत आरम्भ भएर अगाडि आइसकेको थियो । त्यसले कति समयअघि चिम्पाञ्जी, गोरिल्ला, ओराङउटन, गिब्बोन आदिका पुर्खाहरूमा उत्परिवर्तन भएर मानव एक अर्कोभन्दा भिन्न स्वरूपमा विभक्त भएका थिए भनेर तथ्यहरू अगाडि ल्याइसकेको थियो ।

रामापिथेकश : उद्विकासको कथा

२ करोड ३० लाखदेखि ५३ लाख वर्षबीचको समयकाल, जसलाई मायोसिन काल भनिएको छ । यही कालको मानिएको ठूलो आकारको शरीर र परिस्थिति अनुकूलको रणनीतिसँग एकाकार भएको २ करोड वर्षभन्दा पुरानो जीवाष्म प्राप्त भएको छ केन्या र युगान्डाबाट अपुच्छ बाँदर (एप) को । ग्रेट एप यिनैबाट उद्विकास भएका प्राणी थिए, जो अफ्रिकाबाट एसिया र युरोपमा विस्तारित भए ।

एप्सको मष्तिस्कको आकार शरीरको तौलको तुलनामा प्राइमेट्सको भन्दा ठूलो थियो भने उसको दृष्टि क्षमता, हात खुट्टाको स्वरूप, हिँडडुल गर्न सक्ने अवस्थामा पनि धेरै नै भिन्नता आइसकेको थियो । एप्सबाट उत्परिवर्तन भएको होमिनोईडे होमिनिडे (ग्रेट एप्स) र लेसर एप्स : गिब्बोन्सका रूपमा उत्परिवर्तित भए । होमिनिडे पोंगिन (ओराङउटन) र होमिनिन (गोरिल्ला, चिम्पान्जी, बोनोबो र मानव) का रूपमा विकसित भयो । होमिनिनबाट गोरिल्लाका पुर्खाहरू अलग भए । त्यसपछि बोनोबोको पुर्खा अलग भयो र आखिरी चरणमा होमिनिनबाट चिम्पान्जीको पुर्खा अलग भयो । अन्तिममा मानवको पुर्खाको हाँगो बाँकी र≈यो ।

ओराङउटनको पुर्खा मानिस, गोरिल्ला र चिम्पान्जीको साझा पुर्खाको रेखाबाट सबैभन्दा पहिले उत्परिर्तन भएर अलग भएको देखिन्छ । त्यसपछि गोरिल्लाको पुर्खा मानिस र चिम्पान्जीको पुर्खाभन्दा भिन्दै स्वरूपमा उत्परिवर्तित भए । अन्तिममा चिम्पान्जी र मानिसको पुर्खा एकअर्काबाट भिन्न स्वरूपमा उत्परिवर्तित भए । जीवाष्मशास्त्रीहरूले मानिस, गोरिल्ला र चिम्पान्जीको पुर्खा र आरोङओटनका पुर्खा १ करोड ५० लाखदेखि १ करोड २० लाख वर्षजति अघि नै एकाअर्काको स्वरूपबाट भिन्न भएको उल्लेख गरेका छन् । त्यसैगरी गोरिल्लाको पुर्खा मानिस र चिम्पान्जीको पुर्खासँग ८५ लाख वर्षजति अघि भिन्न भएको पाइएको छ । मानिस र चिम्पान्जीको पुर्खाका बीचमा भने ७५ लाखदेखि ५५ लाख वर्षअघिको समयबीचमा उत्परिवर्तन भएको पाइन्छ (डउग्लस, पाल्मर– ओरिजिन्स : ≈युमन इवोलुसन रिभिल्ड, २०१०) ।

शिवालिक रेन्जमा प्राप्त जीवाष्म, जसलाई शिवपिथेकस (१ करोड २५ लाख वर्षदेखि ८५ लाख वर्षअघिको जीव मानिएको छ शिवपिथेकसलाई) नाम दिइएको छ । नेपालको बुटवल नजिक सिद्धगुफा अघिको तिनाउ खोला किनारको पहरामा (महोत्तरीमा पनि यो प्रजातिको जीवाष्म पाइएको उल्लेख भएको पाइन्छ) अमेरिकी मानवशास्त्री जेएच हटचिसनसहितको टोलीको खोजबाट प्राप्त १ करोड १० लाखदेखि ९० लाख वर्षबीचको पुरानो ठहर्‍याइएको अवशेष, जसलाई रामापिथेकस भनिएको छ, यिनै शिवपिथेकस नामक अपुच्छ बाँदरको पोथी हो । २० देखि ३० केजी तौल भएको, करिब ४ फिट उचाइ र करिब ५०० क्युविक सेन्टिमिटर मष्तिस्क भएको पूर्ण शाकाहारी शिवपिथेकस आजका आरोङओटनका पुर्खा थिए (बेन्टोन, माइकल जे.– द हिस्ट्री अफ लाइफ ःअ भेरी सर्ट इन्ट्रोडक्सल, २००८) । बीसौं शताब्दीको असीको दशक अघिसम्म शिवपिथेकस/ रामापिथेकसलाई मानव वंशकै पूर्वजका रूपमा अर्थात् सदृश्य मानवका रूपमा लिइन्थ्यो । तर, त्यसयताको अध्ययनले रामापिथेकस मानव वंशको पूर्वज नभई मानव, चिम्पान्जी, बोनोबो, गोरिल्लासहितका प्रजातिको साझा पुर्खाहरू सामेल ग्रेट एप्सबाट डेढदेखि डेढ करोड वर्षअघि छुट्टिएको बेग्लै प्राणी भएको ठहर भइसकेको छ ।

ग्रेट एप्सबाट पोंगिनै र होमिनिनै गरी दुई शाखा विकास भए । होमिनिनैबाट चिम्पान्जी, गोरिल्ला, बोनोबो, मानिसका उपशाखाहरू उद्विकास भयो भने पोंगिनैबाट प्यालोपिथेकस, ओरियोपिथेकस, ड्रायोपिथेकसजस्ता उपशाखाहरूको उद्विकास भयो । पिथेकस भनेको बाँदर स्वरूप भएको प्राणी भन्ने बुझिन्छ । तिनै ड्रायोपिथेकस उपशाखाबाट रामा/शिवपिथेकसको उद्विकास भएको र शिवपिथेकसकै उद्विकास अघि बढेर ओराङउटनको स्वरूप निर्माण भएको ठहर भइसकेको छ । यसको पहिलो जीवाष्म पाकिस्तानको शिवालिक क्षेत्रमा पाइएकाले यसको नाम शिवपिथेकस राखिएको हो ।

आजसम्म प्राप्त यो प्रजातिको जीवाष्ममा भिन्न स्वरूपमा टर्कीबाट प्राप्त १ करोड ४० लाख वर्ष पुरानो जीवाष्मलाई सबैभन्दा पुरानो मानिएको छ । अफ्रिकाको केन्याबाट पनि १ करोड ४० लाख वर्ष हाराहारीकै शिवपिथेकसको जीवाष्म पाइएको छ, तर यो टर्कीको भन्दा केही पछिको समयको मानिएको छ । पाकिस्तानबाट १ करोड २७ लाख वर्ष पुरानो जीवाष्म प्राप्त भएको छ यसैको । पश्चिम भारतको गुजरात प्रान्तको कुच जिल्लास्थित ढोलाभिराबाट सन् २०११ मा उत्खनन गरिएको शिवपिथेकसको जीवाष्म १ करोड १० लाख वर्षपहिलेको रहेको पाइएको छ ।

यताको दिनमा नेपालमा आधुनिक मानवको पुर्खाको रूपमा, नेपालका आदिवासीहरूको पुर्खाको रूपमा या नेपालमा प्राचीन मानव बसोबासका रूपमा व्याख्या गर्न उदाहरणका रूपमा लिइने तिनाउबाट प्राप्त अवशेष जसलाई रामापिथेकस भनिएको छ, त्यो शिवपिथेकसको पोथी हो । शिवपिथेकस आजका ओराङउटनको पुर्खा हो । मान्छेको पुर्खा होइन । शिवपिथेकसका पुर्खा अफ्रिकन एप (चिम्पान्जी र गोरिल्ला) र मानवको समान पुर्खाबाट अलग भएका थिए १ करोड ५० लाख वर्षभन्दा पनि पहिल्यै भनेर माथि नै उल्लेख गरिसकिएको छ ।

त्यसैले अझै पनि रामापिथेकस, शिवपिथेकसलाई मानवको पुर्खाका रूपमा, नेपालमा मानव जातिको प्राचीन उपस्थितिको रूपमा या रामापिथेकसलाई नेपालका आदिवासीहरूको प्राचीन पुर्खाको रूपमा प्रचार गर्ने र त्यही कुरा दोहोर्‍याइरहने विषय हास्यास्पद छ । हास्यास्पद मात्रै छैन नेपालका आदिवासीहरूलाई आधुनिक मानवको रूपमा होइन ओराङउटनका सन्तानका रूपमा उल्लेख गर्ने प्रवृत्ति आपत्तिजनक छ । अनेकन् विषयमा पहिचान र अस्तित्वको सवाल उठाएर संवेदनशीलता प्रदर्शन गरिबस्ने आदिवासीका रूपमा चिनाउन चाहने समूहहरू प्रज्ञा प्रतिष्ठानजस्ता संस्थाले आफूलाई ओराङउटनको सन्तानको रूपमा पुस्तक छापेर प्रचारप्रसार गर्दा समेत मौन छन् । सायद आफूलाई शिवपिथेकस/रामापिथेकस या आरोङ्उटनकै उत्तराधिकारीका रूपमा स्वीकार गरेकाले पो हो कि !

...

प्रसंगवश, आफैंले मानव पुर्खा ठहर गरेको रामापिथेकसमाथि वैज्ञानिक जगत्मा उठेको प्रश्न र नयाॅ आनुवंशिक अध्ययनले सार्वजनिक गरेका तथ्यहरूले पिलबिमलाई जर्जले रामापिथेकसको जीवाष्म प्राप्त गरेको शिवालिकतिर पुनःअध्ययनका लागि दौडायो । त्यहाँबाट उनले शिवपिथेकस र रामापिथेकसका थप जीवाष्महरू प्राप्त गरे । त्यसको अध्ययनपछि उनै पिलबिम र साइमन्सलाई सन् १९७९ मा निष्कर्षमा पुर्‍यायो– रामापिथेकश मानवको आदिम पुर्खा होइन । यो त शिवपिथेकसको पोथी हो । र, यो आजका ओराङ्उटनको पुर्खा हो । यसरी बीसौं शताब्दीको सन् असीको दशकमा शिवपिथेकस/रामापिथेकसलाई मानवका आदिम पुर्खाबाट आरोङ्उटनका पुर्खाका रूपमा निर्क्योल गरिसकिएको थियो । त्यसपछिका थप अध्ययनहरूले र प्राक–आनुवंशिक अध्ययनहरूले शिवपिथेकस/रामापिथेकसलाई ओराङ्उटनको पुर्खा नै भएको वैज्ञानिक तवरले पुष्टि गरिसकेको छ ।

वैज्ञानिक जगत्ले शिव/रामापिथेकसलाई मानवको पुर्खा होइन भनी प्रमाणित गरेको एक वर्षपछि सन् १९८० मा तिनाउको किनारमा रामापिथेकसको माथिल्लो बंगाराको दाँत फेला परेको थियो । सूचना, अध्ययन सामग्रीको चर्को अभावले डामिएको तत्कालीन नेपाली समाजका पढेलेखेका मानिसहरूमा वैज्ञानिक जगत्ले रामापिथेकसलाई ओराङ्उटनको पुर्खाको रूपमा निर्क्योल गरेको विवरणमाथिको पहुँच थिएन नै । भारतका कैयन दशकअघि लेखिएका पुस्तक पढेका मानिसले त्यसैको भरमा रामापिथेकसलाई मानिसको पुर्खाको रूपमा अझ नेपालका सबैभन्दा प्राचीन आदिवासीका पुर्खाका रूपमा प्रचारप्रसार गरेर

आफ्नो विद्वतालाई धारिलो बनाएको भ्रम नेपाली समाजमा वितरण गरेका थिए । तिनमा जनकलाल शर्माजस्ता सुविख्यात पुरातत्त्वमा क्रियाशील विद्वान्समेत थिए । जनकलाललगायतका विद्वान् वितरित उक्त भाष्य सार्दै–सार्दै आजसम्मै पनि त्यही गलत, तथ्यहीन र ‘आउटडेटेड’ ज्ञानले नेपाली समाजलाई डाम्ने काम निरन्तर छ । जनकलाल र तत्कालीन नेपाली समाज त सूचना, प्रविधिमाथिको पहुँचको अति विकटताका कारण बाँकी विश्वको वैज्ञानिक खोज र त्यसका निष्कर्षहरूबारे बेखवर थियो । त्यसकारण पुराना सूचनाहरूमै निर्भर रहेर आफ्नो समयको ज्ञानको गर्जो टारेको मान्न सकिन्छ ।

आजका दिनमा सूचना–प्रविधि यति तीव्र भएको छ कि संसारभर जहाँ जे–जस्तो प्रगति गरेको छ विज्ञानले, त्यो जहाँ बसेर पनि इन्टरनेटबाट थाहा पाइन्छ । पुस्तक नै पनि महिना दिनभित्र हात पार्न नसकिने कुनै भूगोल छैन अत्यावश्यक परेको खण्डमा । विज्ञानका अनेकन् खोज र त्यसका निचोडहरू आज हाम्रो पहुँचबाट समेत टाढा छैन । यस्तोमा सन् १९७९ मै गलत साबित भइसकेको जराजीर्ण, तथ्यहीन, गलत ज्ञानलाई सुगा रटानका रूपमा पुस्तकमा सारिरहनु नयाँ पाठक, तिनको ज्ञानलाई चरम अपमान र नजरअन्दाज गर्नु हो । सन् असीको दशकयता मानव प्रजातिबारे भएको अभूतपूर्व खोज, विश्लेषण र संश्लेषणबाट पूर्णरूपले बेखबर हुनु हो ।

ज्ञानको, चेतनाको नवीकरण नगरी मिति गुज्रिएको ज्ञानको भरमा मानव विकासको ऐतिहासिक घटनाक्रमलाई व्याख्या गर्ने कर्मकाण्डीय प्रवृत्ति हो । आफैंले नयाँ खोज र प्राप्तिहरूको अध्ययनमा जाँगर नलगाउने, तीस वर्षभन्दा पहिलेका किताबका निष्कर्ष सारेर लेखक बन्ने र त्यसलाई सरकारी प्राज्ञिक अखडाले ठप्पा लगाउने काम नेपाली पाठकको चेतनामाथिको अपमान हो । मिथ्या ज्ञान बेचेर समाजलाई सत्यबाट विमुख गराउने र भ्रमपूर्ण सूचनाले डामेर पाठकलाई तथ्यपूर्ण प्रज्ञाको बाटामा अग्रसर हुनबाट रोक्नु हो । हरेक व्यक्तिले संसारका हरेक ज्ञानका विषय जान्नैपर्छ भन्ने केही छैन । तर, विषय विज्ञलाई पुस्तकका सामग्री रुजु गराएर सकेसम्म सत्य, तथ्य र यथार्थ ज्ञान वितरण गर्ने दायित्व होइन प्रज्ञा प्रतिष्ठानको ? पटकपटक यस्ता तथ्यहीन, असान्दर्भिक र मिथ्या ज्ञान बेचिराख्नुको उद्देश्य के हो ?

प्रकाशित : माघ १४, २०७९ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?