अंग्रेजी ज्ञानको नेपाली राजनीति

मैले प्रचण्डलाई पाटन कलेजमा शेक्सपियरका कथाबाट अंग्रेजी पढाएको हुँ । तर, मैले पढाएको अंग्रेजीलाई नै माध्यम बनाएर प्रचण्डले ज्ञानको राजनीति गरे भन्नु मनासिब हुँदैन ।
अभि सुवेदी

अंग्रेजी भाषाको ज्ञान राजनीतिसँग जोडिन्छ, शक्तिसँग जोडिन्छ, अभिजात वर्गसँग जोडिन्छ । नेपालमा पनि त्यही लागू हुन्छ भन्ने सिद्धान्त उच्चारण गरिनसक्दै विनिर्माण भइसक्छ । थाहा पाऊँछु, त्यो विनिर्माण मबाटै सुर हुन्छ । तल यसको प्रसङ्ग आउँछ ।

अंग्रेजी ज्ञानको नेपाली राजनीति

फ्रान्सेली दार्शनिक ज्याक डेरिडाले भने, ‘अमुक कुराहरूको भनिनसक्दै विनिर्माण भैसकेको हुन्छ ।’ नेपालमा अंग्रेजी भाषा शक्तिमा आसीन, धनवान् र अभिजात वर्गसँग जोडिन्छ भन्ने मान्यता निकै बलियो थियो र सायद अहिले पनि छ । ०२६ सालतिरको मेरो एउटा संस्मरण वाचाल छ । म कीर्तिपुरको केन्द्रीय अंग्रेजी विभागमा अंग्रेजीको विद्यार्थी थिएँ । विद्यार्थी युनियनले मलाई सांस्कृतिक सचिव बनाएको थियो ।

मैले त्यसैअन्तर्गत कीर्तिपुर क्याम्पस परिसरको अहिले पनि प्रयोगमा आइरहेको हलमा अनेकौं प्रवचन, साहित्य र संगीतका कार्यक्रम गरें । तिनैमध्ये काठमाडौ आएका अम्बर गुरुङको त्यही हलमा गरिएको संगीत कार्यक्रम महत्त्वपूर्ण थियो । दोस्रो कार्यक्रम प्रवचनको थियो । त्यसमा भर्खर अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा ग्य्राजुएट गरेर आएका लक्काजवान पशुपतिशमशेर राणा थिए । उनलाई साथी स्व. गिरिबहादुर केसीको सहयोगले ल्याएँ । डा. केआई सिंहलाई आफैं गएर ल्याएँ ।

यहाँ प्रसङ्ग अंग्रेजीको छ । पशुपतिशमशेर सहज रूपमा नेपाली बोल्दैनथे । आखिर विश्वविद्यालयको कार्यक्रम हो भनेर उनले अंग्रेजीमा बोले । ब्रिटिसले जस्तै बोले । त्यसपछि केआई सिंको पालो आयो । उनले सुरुमै स्वर तानेर बोले । मलाई प्रस्टै सम्झना छ । उनले भने, ‘भाइबहिनी हो, अहिले सुनिहाल्नुभयो । पशुपतिशमशेर राणाले कति रामरी अंग्रेजी बोले । हाम्रा बाबुबाजेले पनि यो देशमा एक सय चार वर्ष एकछत्र शासन गरेका भए हामी पनि त्यसरी नै अंग्रेजी बोल्ने थियौं, हँ !!’ केही हाँसो भयो ।

अंग्रेजी भाषाबारे केआई सिंहको जस्तो नेपालमा एउटा आमधारणा थियो । त्यो धारणा निकैपछि र कति मात्रामा अहिले पनि छ होला । तर, अंग्रेजी शासन नभएको स्वतन्त्र देश नेपालमा अंग्रेजीको ज्ञान र शिक्षाको राजनीतिलाई अलिक फरक ढंगले हेर्नुपर्छ भन्ने प्रस्ट भइसकेको छ । अहिलेको अवस्था हेर्दा अंग्रेजी भाषाको शिक्षाले दिएको ज्ञानभन्दा स्वतन्त्र रूपले विकसित अंग्रेजी भाषाको प्रयोग व्यापक भएको छ । त्यसमा अंग्रेजी भाषाका मिडिया र अंग्रेजीमा ग्रन्थ लेख्नेका काम पर्छन् । मेरो धारणा छ, ती सबै प्रयोगमा केआई सिंहको जस्तो धारणाले काम गर्दैन । तर, अंग्रेजी शिक्षण गर्नेको अंग्रेजी भाषा ज्ञानको प्रयोग र राजनीतिमा ठूलो सम्वन्ध छ । मेरा आफ्ना केही अनुभव भन्नु उपयुक्त हुन्छ । ती अरू शिक्षकका पनि अनुभव हुन्छन् । मैले ५२ वर्षजति अंग्रेजी भाषा कलेज र उच्च तहमा पढाएँ । कलेजमा अंग्रेजी पढाउँदा शेक्सपियरदेखि अरू लेखकका साहित्यको आधार राखिन्थ्यो । विद्यार्थीहरूलाई त्यसरी नै अंग्रेजी पढाउँथ्यौं ।

यी भर्खरै प्रधानमन्त्री भएका प्रचण्डलाई पाटन कलेजमा शेक्सपियरका कथाबाट अंग्रेजी पढाएको हुँ । ती गुरिल्लाका नेता र कमिनिस्ट दर्शन बोकेका प्रचण्डले मैले पढाएको अंग्रेजीको माध्यम बनाएर ज्ञानको राजनीति गरे भन्ने कुरा सम्भव छैन । यो एउटा वाचाल उदाहरण हो । अरू धेरैलाई अंग्रेजी भाषा त्यसरी नै पढायौं । म अहिले पनि विद्यावारिधि वा एमफिल तहमा केही कक्षाहरू लिँदै छु । अंग्रेजी भाषाको केन्द्रीय विभागमा ‘हेड’ भएँ । नेपालमा अंग्रेजी भाषाको उच्च तहमा कस्तो पाठ्यक्रम पढाउने भन्ने कुराको नीति र संरचना बनाउने क्रममा संलग्न भएँ । विद्वान् साथीहरूसँग काम गरें । अंग्रेजी विषयको नीति र पठनपाठनको यति लामो समयसम्म काम गर्ने र गरिआएको मेरो अंग्रेजी भाषा र यसको ज्ञान प्रसंगसँग गहिरो सम्बन्ध छ । तर, मूल कुरा अर्को छ । मैले अंग्रेजी कुनै उच्च खर्चिला स्कुलहरूमा पढिनँ । उतै तेह्रथुमका स्कुलहरूमा पढें । स्कुल बिदामा आमाको आदेशले गोठालो हुँदा चरिरहेका भैंसीको ढाडमा बसेर अंग्रेजीका किताब पढ्थें ।

त्यसरी रूसी उपन्यासकार दोस्तोएभ्स्कीको ‘ब्रदर्स कार्माजोभ’ भन्ने उपन्यास निकै समय लाएर पढेको स्मृति बलियो छ । पछि अंग्रेजी मेरो सपनासँग जोडियो । त्यही भाषाको माध्यमबाट ज्ञानका ढोका खुले । शक्ति र राजनीतिका आयाम बुझ्ने ढोका खुले । अहिले पनि त्यो क्रम जारी छ । मैले मात्र होइन सँगै काम गरेका र मलाई अंग्रेजी उच्च तहमा पढाउँने गुरुहरू स्व. कमलप्रकाश मल्ल, मोहन लोहनी र स्व. नरसिंहनारायण सिंह अनि ‘कलिग’ हरू श्रीधर लोहनी, स्व. डीपी भण्डारी, स्व. रामेश्वर अधिकारीहरूको पनि अंग्रेजी भाषाको ज्ञान कुनै अभिजात वर्ग भएर र अंग्रेजी भाषाका स्कुलहरू पढेर भएको होइन । हामीले अंग्रेजीमा एमए पढाएका कोही विद्यार्थीहरू शिक्षण र परराष्ट्र सेवाबाट निवृत्त भएका छन् भने कोही अमेरिकी विश्वविद्यालयहरूमा पढाउँछन्, अंग्रेजीका विद्वान् लेखक भएका छन् । भाषा र ज्ञानको सम्बन्ध वाचाल विषय हो । भाषा जानेर वा त्यसको प्रयोग गरेर शक्ति जन्माउने, त्यसबाट राजनीति गर्ने एउटा सैद्धान्तिक विषय हो ।

यसको मीमांसा धेरै भएका छन् । ज्ञानलाई लिएर राजनीति गर्ने विषयमाथि बलियो दर्शन बनाएका फ्रान्सेली मिसेल फुकोसँग पनि यो विषय जोडिन्छ । यस छोटो लेखमा त्यतातिर लाग्न सम्भव भएन । तर, अंग्रेजी भाषाको राजनीतिसँगको सम्बन्ध विषयमा अंग्रेजी उपन्यासकार जर्ज अर्वेलले सन् १९४६ मा लेखेको ‘पोलिटिक्स एन्ड द इङ्लिस ल्याङ्ग्वेज’ भन्ने निबन्ध युगान्तकारी भएको छ । उनले त्यसमा अंग्रेजी भाषालाई ज्ञानको दुरुपयोग गरेर कसरी प्रयोग गरिंदै आएको छ भन्ने मीमांसा गरेका छन् । ‘डिक्टेटर’ हरूले कसरी आफ्ना कठोर र प्रतिगामी कामको ढाकछोप गर्न अंग्रेजी भाषालाई बङ्ग्याएका छन् भन्ने उनको तर्क छ । भाषालाई प्रस्ट र सरल किसिमले प्रयोग गर्नुपर्छ, तर छलछाम गर्नेले त्यसरी प्रयोग गर्दैनन् । त्यसलाई भाषा ज्ञानको राजनीति भनिन्छ । यो कुरा जुनसुकै भाषामा पनि प्रयोग हुन्छ । जर्ज अर्वेलले अंग्रेजी मूल कुरा गर्नबाट वञ्चित हुँदै छ भनेको कारण त्यस्तै थियो । भाषामा ज्ञानको राजनीति भन्नेबित्तिकै त्यही कुरा आउँछ । भाषालाई केही भन्न नसक्ने बनाउनु, त्यसको माध्यमबाट अपव्याख्या गर्नु र तथाकथित ज्ञान छर्नु, अनि त्यसो गर्ने भाषाको मूल स्रोत नै आफ्ना कब्जामा लिनु भाषामा ज्ञानको राजनीति गर्नु हो ।

नेपालमा अंग्रेजीलाई ज्ञानको स्रोत मान्नेहरूले त्यसको राजनीति खासै गरेनन् । नेपालका साहित्यकारले अंग्रेजीको प्रयोग गर्दा यसको व्यापकतालाई लिए । ‘इन्द्रेनी’ कविता पत्रिकाको सम्पादकीयमा अंग्रेजी प्रयोगको कारण दिंदै महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखे, ‘अंग्रेजीको भारतमा, खासगरी डेकन र एसिया अनि विश्वका विभिन्न भागमा व्यापक प्रयोग भएको कारणले गर्दा यी अनुवादहरू अंग्रेजीमा गरिएका हुन् ।’ (२०१३, १९५६ः १७४) । अंग्रेजी विभागहरू यो भाषाका केन्द्र मानिन्थे, तर त्यहाँ ज्ञानको राजनीति थिएन । कवि मोहन कोइराला दाइले एक दिन मलाई भने, ‘भाइ, मलाई टीएस एलिअटजस्तो कवि भन्छन् । ती कवि र तिनका कविताबारे मलाई राम्ररी भन्नुहोस् ।’ साहित्यकारको यत्ति धारणा साधारण चाहना हो, अंग्रेजी भाषाको ज्ञानको राजनीति होइन । चन्द्रशमशेर अंग्रेजी जान्दथे, पढेका थिए कलकत्तामा । यो भाषालाई राजनीतिमा प्रयोग गर्न उनी सिपालु थिए भन्ने ब्रिटिस पत्रकार, इतिहासकारसँगका उनका सम्बन्धले बुझाउँछन् । इकाइ कावागुचीमाथि किताब लेखिरहेका बेला ती भिक्षुले चन्द्रलाई राजनीति र शासनबारे अंग्रेजीमा लेखेको चिठी कनक दीक्षित भाइको सौजन्यले मौकामा पाएको थिएँ ।

हामीले नेपालमा अंग्रेजी साहित्य र भाषाको उच्च तहको पठनपाठनमा पूरै परिवर्तन गर्‍यौं । त्यो केन्द्रीय विभागलाई अंग्रेजीको अन्तर्विषयक ‘इन्टरडिसिप्लिनरी’ अध्ययनमा परिवर्तन गर्‍यौं । अंग्रेजी विभागका ज्ञानका ‘थ्योरी’ र ‘कल्चरल स्टडिज’ जनिन शोधहरू र अध्ययनहरू गरायौं । अहिले हुँदै छन्, तर हामी मूल रूपमा अंग्रेजी विभाग नै हौं । नेपालमा अंग्रेजी ज्ञानको राजनीति भारतमा जस्तो हुँदैन । यहाँ अंग्रेजीका अलग रूपहरू छन् र अहिले समाजमा अनेकौं प्रयोगहरू हुँदै छन् ।

प्रकाशित : माघ ७, २०७९ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?