आमाहरूका कथा खजाना

छोरा जन्मिए ‘परत्र तर्न सकिन्छ’ भन्ने सोच छ । यद्यपि आमाले जन्माउँदा ती छोरा या छोरी हुँदैनन्, केवल सन्तान हुन्छन् । लैङ्गिकताका आधारमा हामी तिनलाई छोरा या छोरी भन्छौं ।
यशोदा तिम्सिना

नेपाली समाजमा अझै छोराछोरीबीच विभेद छ । छोरा जन्मिए ‘परत्र तर्न सकिन्छ’ भन्ने सोच छ । यद्यपि आमाले जन्माउँदा ती छोरा या छोरी हुँदैनन्, केवल सन्तान हुन्छन् । लैङ्गिकताका आधारमा हामी तिनलाई छोरा या छोरी भन्छौं ।
हाम्रो कानुन र नियमले आमालाई बहुत उपेक्षा गरेको छ ।

आमाहरूका कथा खजाना

आमाका नाममा नागरिकता दिन र अधिकार प्रत्यायोजन गर्न कन्जुस्याइँ गरेको छ । तर, के छोरीहरू आफ्नो कर्तव्य–पथबाट च्युत भएका छन् ? के आमालाई दिनुपर्ने सम्मान र आफू आमा हुँदाको समयलाई नजरअन्दाज गरिरहेका छन् ? के समाजले आमाको काम, कर्तव्य र अधिकारमा ओठेभक्ति प्रदर्शन गरे पनि व्यवहारमा कम आकलन गरेको तथ्य भुलेका छन् ? अनेक प्रश्नका सांगोपांग जवाफ लिएर दर्जन छोरी मैदानमा उत्रिएका छन्– ‘छोरीले जन्माएका आमाहरू’ किताबमार्फत । आमाहरूका भोगाइलाई एक विशिष्ट पुस्तकको रूप दिन मिहिनेत गरेका छन्– पुस्तकका संयोजक मञ्जु थापा र प्रकाशक अर्चना थापाले ।

लामो समयदेखि अमेरिकामा बसोबास गरिरहेका इन्द्र गुरौ, उमा शर्मा, कमला न्यौपाने, कल्पना तामाङ, डा. कविता घिमिरे, जानु ओझा, तनुजा पोखरेल, निर्मला राई, मीरा बस्नेत, मञ्जु थापा, डा. मोनिका आचार्य, सञ्जीता बराइलीहरूले आफ्ना आमामाथि बुझेको, जानेको र सुनेको अनुभव–कथा किताबको विषय हो ।

पछिल्लो समय दूर–देश पुगेर जीवनप्रतिको आफ्नो दृष्टिकोण बनाउने छोरीको संख्या बढिरहेको छ । झट्ट सुन्दा प्रश्न उठ्छ– छोरीले पनि कतै आमा जन्माउँछन् ? गुमनाम आमाहरूलाई पहिचानसहित पाठकसामु पस्किन सक्ने छोरीहरूको सम्मानका खातिर किताबको नाम ‘छोरीले जन्माएका आमाहरू’ जुराइएको होला भन्ने अड्कल काट्न सकिन्छ । तर, यो तर्कमाथि विवाद हुन सक्ला । पुस्तकको शीर्षकचाहिँ अलि अमिल्दो नै भयो ।

आमाका भोगाइ

‘बड्की मास्टर्नी’ शीर्षकबाट सुरु हुन्छ ‘छोरीले जन्माएका आमाहरू’ को कथा । नवलपरासीको रैथाने चौधरी समुदायकी शान्तिदेवी गुरौको जीवन–संघर्ष पढ्दा कुनै सिनेमाको रिल घुमेझैँ लाग्छ । कसैले अपहत्ते गरेर मन पराएपछि नबुझे, नजानेको मान्छेलाई ज्यान सुम्पेर अघि बढेकी रहिछन् शान्तिदेवी १६ वर्षकै उमेरमा । त्यसरी चलायमान बनेको शान्तिदेवीको जीवनमा सुखान्त सिनेमाको कथाजस्तो सुखभोग लेखिएको रहेछ ।

शान्तिदेवी कमलरीको जीवन लिएर जन्मेकी हुन्छिन् । छोराछोरीसँग अनुभव साट्दा भनेकी छन्, ‘जमिनदारकोमा बस्दा कुनै दुर्व्यवहार हुन्थेन, खान पनि तीन छाक नै पाइन्थ्यो । यो त्यसबेलाको समयको कुरा हो । पेटभरि खान पाउनु र गाली नखानुपरेपछि जीवन दौलत भो ।’ समय र खसमको साथले उनले ठूलो तरक्की गरिन् । छोराछोरी बढाइन्, पढाइन् । र, शान्तिदेवीकी छोरी इन्द्र अमेरिका पुगिन् । शान्तिदेवीलाई तीनपटक घुम्न बोलाइन् । अन्तिमपटक उनी ७४ वर्षको उमेरमा अमेरिका पुगिन् । शान्तिदेवीले समुद्र देखेपछि भनिन्, ‘एक बोतल पानी नेपाल लैजान्छु ।’

अर्की आमा हुन्– राधा कँडेल (रमा मिश्र) । लमजुङमा जन्मेकी राधाको १४ वर्षको उमेरमै बिहे भयो । १७ वर्षमा घर बुहार्तन सम्हालेर आमा भइसकेकी उनको कथा छोरी उमा शर्माले लेखेकी छन् । उमा दुई वर्षकी छँदा आमा फेरि गर्भवती भइन् । सुत्केरी व्यथाले रातभर छटपटाइन् । तर, छेउमा सुतिरहेका श्रीमान्ले त्यो थाहा पाएनन् । उज्यालो हुने बेला रमाले छोरो जन्माइन् । उमा लेख्छिन्, ‘अहिले सम्झिँदा पनि मलाई अचम्म लाग्छ, पेटमा सन्तान भएर आज हो कि भोलि भन्ने अवस्थामा रहेकी श्रीमती रातभर व्यथा लागेर छटपटिरहँदासमेत सँगै सुतिरहेको बुबाले कसरी केही पत्तो पाउनुभएन होला ?’

उमा अमेरिका पुगिन् । नाम चलेको विश्वविद्यालयमा जागिर खाइन् । आमालाई पनि अमेरिका बोलाइन् घुम्न । ‘दुःख नदेखाउने संस्कारबाट आएका कारण जसरी आमाले दुःख लुकाउनुहुन्थ्यो, त्यो मैले सिकें । आमाले हजुरआमाबाट,’ उमाको अनुभव छ ।

किताबकी अर्की पात्र हुन्– राधा पौडेल । ‘मेरी आमा : छोटो जीवन, लामो सम्झना’ लेखमा छोरी कमला न्यौपानेले ३७ वर्षकै उमेरमा बितेकी आमा सम्झेकी छन् । आमा बाँचेकी भए अहिले ७६ वर्ष भइसक्ने थिइन् भन्ने परिकल्पनाबाट लेखनीको सुरुआत गर्छिन् उनी । कमलाले चार पुस्तामा समेटिएका महिला सम्झँदा मात्रै आमाबारेको लेखोट तयार हुने पृष्ठभूमि बताएकी छन् । कमलाको बुझाइमा हजुरआमाले देखाएको मार्ग, आमाले हिँडेको बाटो, आफूले लिएको मोड र आफ्नी छोरीले अघि बढाएका पाइला समेटेपछि मात्रै आलेख तयार हुन्छ ।

आमा कृष्ण–भक्त थिइन्, त्यसैले नाम पाइन्– राधा । केही समुदायमा बारहरूका आधारमा नाम राख्ने चलन थियो उबेला । केहीलाई नामै दिइँदैनथ्यो । बिहेपछि श्रीमान्को नाम या पेसासँग जोडेर महिलाले नाम पाउँथे । कमलाकी आमाको स्वभाव कठोर र दिल नरम थियो । एकल आमाले हुर्काएकी परिवारकी जेठी छोरी हुन् राधा । दार्जिलिडमा जन्मेकी राधा श्रीमान्को जागिरका कारण धेरै ठाउँतिर घुमिरहिन् । पाँच सन्तानकी आमा उनले जीवनको अन्तिम सास भैरहवामा फेरिन् ।

अर्की आमा पात्र हुन्, सरिता तामाङ । उनी ठाँटीभञ्ज्याङ रामेछापमा जन्मिएकी हुन् ६१ वर्षअघि । विविध रोग–व्याधिले भएका सन्तान बित्दै गएकाले र छोरा–मोहले डोरिएर सरिताकी आमाले झन्डै दर्जन सन्तान जन्माइन् । त्यसमा सरिता र उनका एक भाइ भने सकुशल रहे ।

गाउँको हुनेखानेकी छोरी सरिताका बुबाले छोरा नजन्मिएपछि सम्पत्तिको के काम भन्दै त्यो सक्ने प्रयास गरे । सम्पत्ति सकिएन । छोरा नभएको पीरमा अत्यधिक मदिरापान गरे र उनको असमयमै मृत्यु भयो । सम्पत्तिवाल युवा विधवामाथि गाउँकै ठूलाबडाको आँखा पर्‍यो । सम्पत्ति लुटपाटै भयो । यो लेख तयार गर्ने जेठी छोरी कल्पनालगायत सात सन्तानको जायजन्म र लालनपालन गरिन् सरिताले । छोरी कल्पनाले राम्रो पढिन् । जागिर खाइन् । आफ्नो खुट्टामा उभिइन् । तीन वर्षअघि अमेरिका आइपुगिन् ।

‘आमाले बाँचेको संघर्षपूर्ण जीवन’ शीर्षकमा छोरी मञ्जु थापाले गुल्मीमा जन्मिएकी आमा ईश्वरादेवी थापाको कथा लेखेकी छन् । आमा बाँचेकी भए अहिले ९० वर्षमा हिँड्दै हुन्थिन् । अहिलेको अर्घाखाँची जिल्लाका नामी पण्डित खलकमा पर्ने पन्थीकी छोरी थिइन् ईश्वरा । उनको विवाह ११ वर्षको उमेरमा ३५ वर्षीय ज्ञवाली ब्राह्मणसँग भयो । विवाहको एक वर्षपछि नै ती ब्राह्मणको मृत्यु भयो र ईश्वरा बालविधवा बनिन् । ११ वर्षीया बालिका, जसलाई पतिको अनुहारसमेत याद थिएन, उनै पतिका लागि ४५ दिन सेतो धोतीमा लपेटिएर बरखी बारिन् ।

छोरी मञ्जुको लेखाइमा ईश्वरा जब वर्षदिनको कामपछि माइत गइन्, माइतीले विधवा भन्दै घरभित्र सुत्न दिएनन् । अनि क्षुब्ध भएकी उनले २४ वर्ष तिनै बितेका ब्राह्मणको थातथलो मानकोटमा बिताइन् । फराकिलो सोच र पीडितका पक्षमा बोल्ने ईश्वराले राजनीतिमा चासो दिइन् । समय–परिस्थितिले ईश्वरालाई नेता बनायो ।

बाल विधवा हुनु । एक्लो जीवन जिउनु । जवान हुनु र समाजमा चेतना छर्न अघि सर्नु । अहिलेका महिलालाई त सहज छैन भने उबेला के भन्थे होलान् समाज, छिमेकी, आफन्त र चिनेजानेकाहरूले ? ईश्वराले कुनै कुराको पर्वाह गरिनन् । परिणामस्वरूप, विसं २०१८ मा उनलाई राजनीतिमा लागेबापत पाल्पा कारागारमा ६ महिना थुनियो ।

३५ वर्षे ईश्वराको हात थाप्न आइपुगे आफ्नो घरबार बिग्रिएका केशरबहादुर थापा । ईश्वराका ६ सन्तान जन्मिए । लगातार महिला संगठनमा काम गरेकी ईश्वराले ४१ वर्षको उमेरमा प्राइभेट विद्यार्थीका रूपमा प्रवेशिका परीक्षा दिइन् ।

किताबकी अर्की आमा हुन्, याममाया विश्वकर्मा । ‘कार्यबोझ र विभेदमा खारिएकी मेरी आमा’ शीर्षकमा सञ्जिता बराइलीले आमामाथि लेखेकी छन् । समाजले ठानेको ‘सो कल्ड’ दलित समुदायमा हुर्केकी याममायाले जन्मेदेखि नै विभेद सामना गरिन् । २०११ सालमा रामेछापमा जन्मेकी उनको १४ वर्ष लाग्दै गर्दा २३ वर्षीय युवासँग विवाह भएको थियो । याममायाले निकै विभेद भोगिन् । याममायाका सात छोराछोरी भए । तिनिहरू बढे, पढे । छोरा पूर्ण बराइली अमेरिका पुगे । छोरी सञ्जितालाई डीभी पर्‍यो । करिब ६ वर्षअघि याममाया र उनका श्रीमान् पहिलोपटक अमेरिका आए, छोराछोरीको निमन्त्रणामा । त्यसयता तीनपटक अमेरिका ओहोरदोहोर गरिसकेका छन् । ६८ वर्षीया याममाया अहिले सपरिवार काठमाडौं बस्छिन् ।

...

हरेक मानिससँग भनिन, सुनिनलायक कथा, व्यथा र घटना छन् । तिनलाई ध्यानसँग सुनिएको, लेखिएको छैन । अझ महिलाको जीवनी कमै लेखिएको छ । यस पुस्तकमा समेटिएका १२ आमाका प्रत्येक जीवनकहानी एक पूर्ण पुस्तक बन्नलायक छ ।

महिलासँग भनिनुपर्ने, लेखिनुपर्ने धेरै कथा छन् । तर, पद र प्रतिष्ठा नभएकाहरूको जीवनी लेख्ने चलन छैन । इतिहासै पनि जित्नेहरूको लेखिन्छ । जितमा पनि पुरुषहरूकै नाम आउँछ । यसै पनि पद, प्रतिष्ठामा पुग्ने महिला अत्यन्तै कम छन् । अब वैकल्पिक इतिहास लेखिनुपर्छ । त्यो इतिहास महिलाहरूको हुनेछ जसले घर, समाज र राष्ट्र बनाउन योगदान दिएका थिए ।

आमाहरूको यो संघर्ष–कथाले नेपाली महिलाहरूको जीवन पढ्न सघाउँछ । यी कथा–खजानाका आमाहरू समावेशी तवरबाट जुटाइएका छन् । पुस्तकले तत्कालीन समाजको राजनीतिक, आर्थिक, सामाजिक, स्वास्थ, शिक्षा लगायत तमाम विषयमा बोलेको छ । पुस्तकमा सुधार्नुपर्ने केही विषय छन् । जस्तो– जन्ममिति राखेपछि निधन भएकाहरूको मिति पनि सँगै राखिएको भए पाठकलाई सजिलो हुने थियो । कल्पना तामाङले लेखेको आलेखलाई लेखक–परिचयमा ‘आमा कल्पना तामाड’ भएको छ (पृष्ठ. १७९) । यो ठूलो गल्ती होइन, तर नामै गल्ती भएकाले अन्योल हुन सक्छ । सञ्जिताले लेखेको लेखमा ‘...मेरी आमा हर रात एक घण्टा पनि सुत्न पाउनुहुन्थेन...’ भन्ने वाक्य विश्वासयोग्य लाग्दैन ।

पत्रकार जयदेव गौतमले सम्पादन गरेको यो किताबलाई महिलाका दृष्टिकोणबाट समाज चियाउने एक आँखिझ्याल मान्न सकिन्छ । किताब अक्षर क्रिएसन्सले प्रकाशन गरेको हो ।

प्रकाशित : माघ ७, २०७९ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?