३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सुनाखरी दुःखान्त

अर्किड्स विज्ञ नै यसका फूल र बोटबाहेक अन्य भाग चिन्दैनन्, विश्वविद्यालयको पाठ्य सामग्रीकै कमजोरी हो यो ।
कमल मादेन

अर्किड्सका फूल सुन्दर हुन्छन् । जति सुन्दर हुन्छन्, उत्तिकै बहुमूल्य । जैविक औषधीय रसायन खोजकर्ताले यसका पात, जरा गानो/ट्युबर, काण्ड गानो (सिउडोबल्ब) बाट महत्त्वपूर्ण औषधि बनाएका छन् । त्यसैले अत्यधिक रूपमा संकलन भई यसको अवैद्य व्यापार हुने गरेको छ ।

सुनाखरी दुःखान्त

इन्डोनेसियाको बालीनजिकै लोम्बोक टापुको जंगलमा भान्डा लोम्बोकेन्सिस् भन्ने वनस्पति थियो । लोम्बोकमा मात्रै पाइने यो अत्यन्तै सुन्दर फूल फुल्ने अर्किड्स प्रजातिमा पर्थ्यो । विश्व प्रकृति संरक्षण संघ (आईयूसीएन) का अनुसार, मानव गतिविधि र ज्वालामुखीका कारण सन् २०२० यता यो प्रजाति लोप हुन पुग्यो । सन् २०१९ मा जिम्बाबेबाट एइरान्थस अफ्रिकाना र एइरान्थस पार्केसी पनि हराए । भुटानलगायत पूर्वी हिमालयमा पाइने इयुलोफिया स्टेनोपेटाला र भारतमा मात्रै पाइने पेफियोपेडिलम ड्रर्अ्यी पनि दशकयता लोप भएका छन् ।

यी प्रजाति अति संकटापन्न थिए । करिब ४ दर्जन अति संकटापन्न अवस्थाका अर्किड्स प्रजाति केही दशकयता लोप भएको आशंका छ । हामीकहाँ करिब ५ सय अर्किड्स प्रजाति छन् । तीमध्ये १९ प्रजातिका रैथाने अर्किड्स भएको अभिलेख छ ।

दुर्लभ वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) ले अर्किड्सलाई संसारैभर संकटापन्न वनस्पति मान्दै अनुसूची १ र २ मा समावेश गरेको छ । राज्यले हामीकहाँ अहिलेसम्म समग्र अर्किड्स प्रजाति कस्ता अवस्थामा छन् भन्ने अध्ययनको चाँजोपाँजो मिलाएको सुनिएको छैन । बरु प्रशस्त मात्रामा अर्किड्स संकलन भई विदेश निर्यात भइरहेको छ ।

सरकारले दुर्लभ तथा संकटापन्न वन्यजीवको अवैद्य व्यापार नियमन र नियन्त्रण गर्न संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन र नियमावली २०७३ र २०७६ मा जारी गरेको छ । यसअनुसार, साइटिस अनुसूची १ मा समावेस वन्यजीवलाई राज्यको साइटिस व्यवस्थापन निकाय र वैज्ञानिक निकायको सिफारिस आधारमा ओसारपसार गर्न मिल्छ । तर, निकासी गर्न चाहनेले इजाजतपत्र लिनुभन्दा पहिले पैठारी गरिने देशले पनि सम्बन्धित देशमा पैठारी गर्न दिएको अनुमतिपत्र प्राप्त गरेको हुनुपर्छ । साइटिस व्यवस्थापन निकाय वन विभाग र वनस्पतिको साइटिस वैज्ञानिक वनस्पति विभाग हो । अनुसूची २ मा समावेश वन्यजीव वैज्ञानिक निकायले त्यस्ता प्रजातिको निकासीबाट अस्तित्वमा खतरा छैन भन्ने सुनिश्चित गरेपछि मात्रै साइटिस व्यवस्थापन निकायबाट निकासी अनुमति दिने प्रावधान छ । नेपाल सरकारले २०७३ यता अर्किड्स संकलन तथा निर्यात अनुमति दिएको छैन ।

अर्किड्सको नेपाली नाम सुनाखरी/सुनगाभा/जीवन्ती/गामाडोल/पाँचऔंले लेखिएको छ । ग्रिनहुड नेपाल नामक एक संस्थाले नेपालमा २०७३ यता अर्किड्स अवैद्य रूपमा ओसारपसार भइरहेको छ, छैन भन्ने अध्ययन ३ वर्षअघि सुरु गरेको थियो ।

अध्ययनका क्रममा काठमाडौंमा औषधिजन्य वनस्पति कारोबार गर्नेहरूबाट अर्किड्सको व्यापार भइरहेको छ भन्ने केही संकेत पाइयो । निकैपटक मकवानपुर आवतजावतपछि एक स्थानीय व्यापारीको घरमा अर्किड्ससहित अन्य औषधिजन्य वनस्पति संग्रह गरेको भेटियो । जे जति देखियो र जानकारी पाइयो, त्यसले अर्किड्सलाई साइटिस सम्बन्धी ऐन तथा नियमावलीमा प्रवेश नगरी कारोवार भइरहेको पाइयो ।

निकै भलाकुसारीपछि व्यापारिक वनस्पति हेर्न पाइयो । ती धेरैजसो अर्किड्स नै थिए । कुनै अर्किड्सका काण्ड, कुनैको जरा गानो (ट्युबर) तथा कुनैको सिउडोबल्ब अर्थात् काण्ड फुलेको भाग । अर्किड्स जाति हो भन्ने स्पष्टै चिनियो, तर प्रजाति छुट्याउन सकिएन । कारण फूल थिएन । फूल नभएपछि प्रजाति अक्सर चिन्न सकिन्न । एक जातिको अर्किड्स भने एकतले घरको छत पूरै ढाकेर आलुका दानाजस्तो सुकाएर राखिएको थियो । नाम शक्तिगुम्बा बताइयो । त्यो अर्किड्सको प्लिउनी जातिअन्तर्गतको हो भन्ने त तुरुन्तै थाहा पाएँ । संयोगले एउटा फूल भेटियो ।

शक्ति गुम्बा । तस्बिर : भक्तबहादुर रास्कोटी

नेपालमा प्लिउनी जातिअन्तर्गत एक रैथानेसहित ५ प्रजाति छन् । फूलचाहिँ प्लिउनी प्राइकोक्स प्रजातिको थियो । सुकाइएका सिउडोबल्ब धेरैजसो प्लिउनी प्राइकोक्सको थियो । अन्य प्लिउनी प्रजाति ठम्याउन सकिएन । प्लिउनी जाति रूखमा, पहरामा उम्रन्छ । यसको जराभन्दा केही माथि सिउडोबल्ब अर्थात् काण्ड गानो हुन्छ । नेपालमा मात्र पाइने प्लिउनी कोरोनारिया हो । यसको पनि व्यापार भइरहेको छ, छैन त्यहाँसम्म गहिरिएर खोज तलास गर्न सकेनौं ।

नेपालको रैथानै शक्ति गुम्बा ।

यो त अर्किड्सजस्तो छ नि ? भन्दा अनकनाउँदै ती व्यापारिले भने, ‘अर्किड्स संकलनमा केही वर्षदेखि सरकारबाट बन्देज लगाएको छ । के कानुन बनाएको छ अरे, त्यसअनुसार अर्किड्स किनबेच गर्न पाइन्न भन्छ बनका कर्मचारीहरू र शक्तिगुम्बालाई संकलन गर्न पानी अमलाको नाममा पुर्जी बनाएको छु, सबैले यसरी नै बनाउने गरेका छन् ।’ यस्तो जानकारी न कहिल्यै सुनेका थियौं, न कुनै अनुसन्धानकर्ता वा मिडियाकर्मीले नै थाहा पाएका थिए ! यो त स्थानीय संकलकलाई मात्र होइन, नेपाल सरकारलाई पनि अपराध कर्ममा फसाइएको भन्ने लाग्यो ।

पानी अमला । तस्बिर : कमल मादेन

पानी अमला उन्यु वर्गको वनस्पति हो । यसको वैज्ञानिक नाम नेप्रोलेपिस कोर्डिफोलिया हो । यसको जरामा ससाना गोला, चिल्ला मट्याङ्ग्राभन्दा केही साना फुस्रा, चिल्ला दाना हुन्छन् । तिर्खा लागेका बेला त्यो चपाएर खाइन्छ । पानी अमलाको निकासी प्रतिकेजी दस्तुर ३ रुपैयाँ हो । सरकारले खटाएका कर्मचारीले शक्तिगुम्बालाई पानी अमलाका नाममा संकलन तथा निर्यात अनुमति दिंदा रहेछन् । वन विभागको महानिर्देशक दीपेशमणि त्रिपाठीले वन विभागले अहिलेसम्म अर्किड्सलाई पानी अमलाको नाममा संकलन अनुमति दिएको कतै जानकारी नभएको बताए । उनले यो अपराध हो, यसलाई कानुनी दायरामा ल्याउनुपर्छ भने । संविधानअनुसार वनजंगलको कामकारबाही डिभिजन वन कार्यालयबाट हुने गरेको छ ।

शक्तिगुम्बा काँचै प्रतिकेजी ३,४ सय रुपैयाँमा खरिद हुने रहेछ । ४ केजी सुकाउँदा निर्यातको निम्ति १ केजीजति बन्दो रहेछ । सुकेको ४,५, हजारदेखि प्रतिकिलो ८ हजारसम्ममा पाइने रहेछ । पहिले एउटै गाउँबाट टनका टन संकलन हुन्थ्यो, हिजोआज धेरै कम भएकाले कैयन ठाउँबाट संकलन गरेपछि मात्रै १ टन पुग्दोरहेछ । अर्का एक व्यापारीले डेन्ड्रोबियम जातिको अर्किड्स, जसको काण्ड मसिनो र आँख्ला छोटो हुन्छ, त्यो प्रतिकेजीे केही वर्षअघिसम्म ४० हजारसम्म बेचेको बताए ।

शक्ति गुम्बा । तस्बिर : कमल मादेन

सेटारिया नेपालेन्सिसलाई गामडोल भनिँदो रहेछ । यो भुइँमा हुने सुनाखरी हो । यसको जरामा गानो हुन्छ । यो प्रतिकेजी २, ३ हजार रुपैयाँमा बिक्री हुनेरहेछ । गोर्खाको उच्च हिमाली गाउँहरूमा पाँचऔंलेलगायतका अर्किड्स संकलन गरिएको पाइयो । पूर्वप्रकाशित जानकारी संश्लेषण गर्दा नेपालमा व्यापारसँग जोडिएका अर्किड्स ४९ जाति तथा १४६ प्रजातिको नाम जुटाउन सकियो । तर, स्थलगत रूपमा १ दर्जन जति अर्किड जाति व्यापारमा प्रयोग भएको पाइयो । नेपालमा बुल्बोफाइलम, सिलोगाइन, सिम्बिडियम, डेन्ड्रोबियम, गुडेरिया र ह्याबनेरिया जातिका क्रमशः ४०, २७, १०, ३४, ५ र २० जति प्रजाति सूचीकृत छ ।

मकवानपुरमा शक्ति गुम्बा सुकाइँदै । तस्बिर : कमल मादेन

हामीले जुटाएको पूर्वप्रकाशित जानकारीमा नेपालबाट व्यापार भइरहेको बुल्बोफाइलम, सिलोगाइन, सिम्बिडियम, डेन्ड्रोबियम, गुडेरिया, ह्याबेनारिया आदि जातिका क्रमशः ६, १३, ८, २८, ३, ८ प्रजाति छन् । यस्तै, वन नियमावली २०७९ मा सुनडाँठे गानोको राजस्व दस्तुर प्रतिकिलो १० रुपैयाँ उल्लेख छ । यसको वैज्ञानिक नाम ग्यास्ट्रोडिया इलाटा लेखिएको छ । यसलाई अर्किड्सभन्दा अलग्गै राखिएको छ । तर, यो भुइँमा पलाउने हरितकणविहीन अर्किड्स हो । वन नियमावलीले यसलाई अर्किड्स भनेर चिनेन । चिनेको भए, अर्किड्स भनेर सँगै लेख्थ्यो । यो नेपालबाट अत्यधिक मात्रामा चीन निर्यात हुने गरेको अनुसन्धानात्मक लेखहरूमा पाइन्छ । विडम्बना भन्नुपर्छ नेपाली वनस्पति विज्ञले यसको तस्बिरसम्म खिचेका छैनन् ।

व्यापारीले मात्रै चिन्छन्

दक्षिण एसियाली सरकारले दक्षिण एसियामा वन्यजीव अपराध नियन्त्रण गर्न साउथ एसिया वाइल्डलाइफ इन्फोर्समेन्ट नेटवर्क (सावेन) स्थापना गरेका छन् । सचिवालय नेपालमा भए पनि यसको भूमिका खासै देखिएको छैन । नेपाल सरकारले वन्यजीव अपराध नियन्त्रण गर्न सबैभन्दा महत्त्वपूर्ण संरचना नेसनल वाइल्डलाइफ क्राइम कन्ट्रोल कोर्डिनेसन कमिटी बनाएको छ । यसको मातहतमा अहिलेसम्म विभिन्न जिल्लामा करिब ३६ वटा वाइल्डलाइफ क्राइम कन्ट्रोल ब्युरो (डब्लूसीसीबी) बनेको छ ।

पंक्तिकार केही महिनाअघि डब्लूसीसीबीको एक बैठकमा आमन्त्रितका रूपमा उपस्थित भएको थियो । छोटो मन्तव्य राख्ने क्रममा नेपालमा अर्किड्स अवैध रूपमा अत्यधिक संकलन तथा ओसारपसार र व्यापार भइरहेको कुरा चर्चा गरियो । उपस्थितमध्ये एक सुरक्षा निकायका प्रमुखले ‘अर्किड्स पनि वाइल्डलाइफअन्तर्गत पर्छ भन्ने पहिलोपटक सुनें’ भने । अर्का सुरक्षा निकाय सम्बद्ध व्यक्तिले अर्किड्स कस्तो हुन्छ, राम्ररी नचिनेको बताए । एरिया डिभिजन वन कार्यालयका कर्मचारीले अर्किड्स सामान्य चिनेको, तर यो के कति किसिमिको हुन्छ, थाहा नभएको बताए ।

वन विज्ञान अध्ययन गर्नेमध्ये विशेष रुचि भएका बाहेक अन्यले अर्किड्सबारे खासै जानकारी राख्दैनन् । वनस्पति विभागमा वनस्पति विज्ञान पढ्नेहरूको बाहुल्य छ । यो विभागमा पनि अर्किड्सलाई सामान्य रूपमा चिन्ने मात्रैको बाहुल्य छ । विडम्बना यो विभागको सिनियर कर्मचारी अक्सर वन विज्ञान पढ्ने हुन्छन् । नेपालको साइटिसको व्यवस्थापन निकाय र वैज्ञानिक निकायको अवस्था यस्तो भएपछि डब्लूसीसीबीका प्रतिनिधिहरूले अर्किड्स साइटिस अन्तर्गतका वन्यजीव हो भनेर कसरी थाहा पाउँछन् र चिन्छन् ?

अर्किड्स विज्ञ नै यसका फूल र बोटबाहेक अन्य भाग चिन्दैनन् । यसो हुनु भनेको विश्वविद्यालयको पाठ्य सामग्रीकै कमजोरी हो । विश्वविद्यालयमा अध्यापन गरिने सामग्रीमा अर्किड्स सम्बन्धी जानकारी १, २ सय वर्षअघि लेखिएकै स्वरूपमा छ । जमिनमा हुने अर्किड्सको जरा गानो अर्थात् ट्युबर हुन्छ भन्ने लेखिएका छन् । कुन जातिको जरा गानो कस्तो आकृतिको हुन्छ ? त्यो सुक्दा कस्तो देखिन्छ ? अर्किड्स पिँधेको पाउडर कस्तो रंगको हुन्छ ? कस्तो बास्ना आउँछ ? विश्वविद्यालयका पाठ्य सामग्रीमा कतै लेखिएको छैन ।

अर्किड्समा विद्यावारिधि गर्नेहरू नेपालमा १ दर्जन जति छन । उनीहरू पनि प्राकृतिक र हर्बेरियममा सजाइएका नमुना मात्र चिन्छन् । यस्तो अवस्थामा अर्किड्सको अवैध कारोबार नियमन र नियन्त्रण गर्न सरकारले मलेकुलर लेवल अध्ययन गर्ने औजार व्यवस्थापन गर्नुपर्छ । वन विभागको उपमहानिर्देशक नवराज पुडासैनीले अर्किड्सको अवैद्य कारोबार रोक्न सबै भन्सार नाकाहरूमा वन्यजीवको मलेकुलर तह परीक्षण गर्ने प्रणाली स्थापना गर्न आवश्यक रहेको बताए ।

वन तथा वातावरण मन्त्रालयका छुट्टाछुट्टै ३ विभागले प्रकाशन गरेको पुस्तिकमा अनुसूची अर्किड्सबारे जानकारी लठिभद्र छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७१) ले साइटिस अनुसूचीमा सूचीकृत ‘नेपालका दुर्लभ वन्यजन्तु र वनस्पति’ शीर्षक पुस्तिकाको अनुसूची १ मा अर्किड्सको पेफिओपेडिलम फेरियनम र पेफिओपेडिलम भेनुस्टम समावेस छ (पृष्ठ १७) । वन विभागले प्रकाशन गरेको ‘नेपालमा साइटिस कार्यान्वयन एक परिचय’ शीर्षक पुस्तिका (२०७५) को अनुसूची १ मा पेफिओपेडिलम इन्सिज्ने र पेफिओपेडिलम भेनुस्टम समावेश छ । तर, अघिल्लोचाहिँ नेपालमा नपाइने जनाइएको छ । यस्तै, वनस्पति विभागले ‘चेकलिस्ट अफ साइटिस लिस्टेड फ्लोरा अफ नेपाल’ (सन् २०१७) शीर्षक पुस्तिका प्रकाशन गरेको छ । यो पुस्तकमा अनुसूची १ मा पेफिओपेडिलम भेनुस्टम मात्र समावेश छ । यस्तै, अनुसूची २ मा फरकफरक तथ्यांक संख्या छ ।

वनस्पति विभागले प्रकाशन गरेको पुस्तिकामा त अनुसूची १ समावेशबाहेक अन्य अर्किड्स अनुसूची २ का हुन् भन्ने पनि उल्लेख छैन । उक्त पुस्तिकमा नेपालमा पाइने अर्किड्स प्रजातिमध्ये एकतिहाइ जति मात्र अनुसूची २ मा समावेश छ । जब कि संसारभरका प्राकृतिक बासस्थानमा पाइने अर्किड्स प्रजाति अनुसूची १ र २ मा समावेश छन् । साइटिसले १४ फेब्रुअरी २०२१ मा जारी गरेको जानकारीअनुसार, अर्किड्सका ६ जातिका १, १ प्रजाति, अर्को १ जातिको २ प्रजाति र पेफिओपेडिलम तथा फ्राग्मिपेडिलम जातिका सबै प्रजातिहरू अनुसूची १ मा समावेश छन् । पेफिओपेडिलम र फ्राग्मिपेडिलम जातिका क्रमशः ८२ र २४ प्रजाति छन् । यसअनुसार, साइटिस अनुसूची १ मा आजका दिनसम्म जम्मा ११४ प्रजाति समावेश छन् ।

देशविशेषमा भएका सबै वन्यजीवलाई वातावरण सन्तुलनका निम्ति जोगाउँदै यसको फाइदा राष्ट्रले लिनुपर्छ । तर, नेपालमा साइटिस कार्यान्वयन गराउने निकायले अर्किड्स पहिचान गर्नै नसकेको अवस्था छ । सीमित व्यापारी र विशेष गरि विदेशी व्यापारी मात्रै यसबाट लाभान्वित भइरहेका छन् । सन् १९८० ताका पूर्वी नेपालबाट मात्र करिब १ सय ट्रक अर्किड्स भारततर्फ निकासी हुन्थ्यो । त्यसबेला एउटा ट्रकले ८ टनसम्म बोक्थ्यो । १ सय ट्रक भनेको करिब ८ सय टन जति हो । अब राज्यले के कति अर्किड्स बचेको छ, त्यसको अध्ययन गरी साइटिससम्बन्धी ऐन, कानुन कडाइका साथ कार्यान्वयन गराउनुपर्छ ।

प्रकाशित : माघ ७, २०७९ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?