कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भामहपूर्वको काव्यचिन्तन

सुधा शर्मा

नेपाली समालोचनामा सङ्कलन–सम्पादनको परम्परा कृष्णचन्द्रसिंह प्रधानद्वारा सम्पादित ‘साझा समालोचना’ (२०२५) देखि भएको हो । त्यसयताका पाँच दशकमा यस किसिमका समालोचना कृति एक दर्जनभन्दा केही बढी मात्रै प्रकाशित भएका छन् । यस क्षेत्रमा समालोचकद्वय प्रा.राजेन्द्र सुवेदी र प्रा.डा. लक्ष्मणप्रसाद गौतमले बृहत् आकारका तीनवटा यस्ता समालोचना कृति दिएर विशिष्ट योगदान पुर्‍याएका छन् ।

भामहपूर्वको काव्यचिन्तन

राजेन्द्र सुवेदी र लक्ष्मणप्रसाद गौतमद्वारा ‘रत्न बृहत् नेपाली समालोचना’ (सैद्धान्तिक खण्ड) (२०६८) र ‘रत्न बृहत् नेपाली समालोचना’ प्रायोगिक खण्ड (२०६८) गरी सम्पादन गरेका दुई ठूला भीमकाय कृति प्रकाशित भइसकेका छन् । करिब एक दशकपछि बृहत् आकारको अर्को समालोचनाकृति ‘रत्न बृहत् नेपाली समालोचना’ (भाग ३, २०७९) प्रकाशित भएको छ । पाश्चात्य सैद्धान्तिक परम्परालाई सूक्ष्म अध्ययन गरी नेपाली साहित्यमा प्रवेश गराएर सम्पादन गरिएको पछिल्लो समालोचनात्मक किताब ‘रत्न बृहत् नेपाली समालोचना’ (भाग ३) पनि एउटा गहन र महत्त्वपूर्ण कृति हो । किताब विविध विषयक सात खण्डमा विभाजित छ ।

समालोचनात्मक आलेखहरू विषयगत विविधता, सिद्धान्तनिष्ठता, अनुसन्धानात्मकता, विषयवस्तुमा नवीनता, पूर्वीय एवम् पाश्चात्य मान्यता, विश्वसाहित्यमा देखिएका नवीन सिद्धान्त एवम् पद्धतिलाई आत्मसात् गरेर लेखिएका छन् । अघिल्ला सङ्ग्रहमा प्रायः नपरेका बत्तीस जना समालोचकका समालोचना यसमा समावेश छन्, जुन यसको ऐतिहासिक पक्ष हो । यस कृतिको पहिलो खण्डमा सम्पादकको भनाइ छ भने दोस्रो खण्डमा ‘पूर्वीय वाङ्मय र सौन्दर्यविमर्श’ अन्तर्गत भामहपूर्वको काव्यशास्त्रीय चिन्तन, समालोचनामा पौरस्त्य दर्शनका मानदण्ड र नेपालीमा तिनको प्रयोग, वैदिक वाङ्मयको स्वरूप र स्फोटवाद : भाषिक र साहित्यिक अध्ययनको उपजीव्य सिद्धान्त आदि पूर्वीय सैद्धान्तिक मान्यतासँग सम्बद्ध आलेखहरू छन् ।

‘पाश्चात्य नवीन सौन्दर्यविमर्श’ शीर्षकको तेस्रो खण्डअन्तर्गत पाश्चात्य सैद्धान्तिक मान्यतासँग सम्बद्ध आलेख छन् । यसभित्र विनिर्माणवादी चिन्तन, डायस्पोराको सैद्धान्तिक स्वरूप, विधाविघटन र विधामिश्रण, साहित्यमा मनोविश्लेषणको समकालीन सन्दर्भ, भौगोलिक समालोचनाको सैद्धान्तिक स्वरूप, साइबर समालोचना : मान्यता र प्रारूप, अधिआख्यानको सैद्धान्तिक निरूपण, सङ्केन्द्रीकरणको सैद्धान्तिक पक्ष र कृतिविश्लेषणका आधार आदि पाश्चात्य नवीन सिद्धान्त एवम् मान्यतामा केन्द्रित भई लेखिएका विभिन्न विद्वान्हरूका आलेख छन् ।

चौथो खण्डमा ‘अन्तविर्षयक विमर्श’ भित्र नेपाली साहित्यमा कुसङ्केतना र अपाङ्गता, सीमान्तीकरणको अवधारणा र भारतीय नेपाली कवितामा यसको प्रयोग, उत्तरवर्ती नेपाली निबन्धको समाजशास्त्रीय पठन, लैङ्गिक समालोचनाका सैद्धान्तिक आधार र विश्लेषण आदि विभिन्न विद्वान्का अन्तर्विषयक समालोचना समावेश छन् । ‘लोकसाहित्य विमर्श’ खण्डअन्तर्गत लोकसाहित्यसँग सम्बन्धित विभिन्न विद्वान्हरूका लेखहरू समावेश छन् । छैटौँ ‘विधागत विमर्श’ खण्डमा विविध विधासम्बद्ध आलेखहरू छन् । आत्मवृत्तान्तको सैद्धान्तिक स्वरूप, नाटकको रङ्गशिल्प सिद्धान्त, समकालीन नेपाली समालोचना : स्वरूप र प्रयोग, कविताका आधारभूत मानक र तिनको मूल्याङ्कनका प्रमुख आधार, उत्तरवर्ती गीतिनाटकमा मञ्चनीयता, नेपाली आख्यान र कविताको नाट्यायन, जीवनीको सैद्धान्तिक स्वरूप आदि विभिन्न विद्वान्हरूका समालोचना केन्द्रित छन् । अन्तिम ‘विविध विमर्श’ खण्डमा विभिन्न विद्वान्हरूका सांस्कृतिक चेतना, पाठालोचन सिद्घान्त, अलङ्कार र फिगर अफ स्पिच, पाठनिर्माणका युक्ति : संसक्ति र संयुक्ति, स्वैरकल्पनाको सिद्धान्त, साहित्येतिहास लेखनका सिद्धान्त, आनुभविक विश्लेषण आदि विविध विषयवस्तुसँग सम्बद्ध आलेख समावेश छ ।

नेपाली समालोचना जगत्मा नवीन सैद्धान्तिक एवम् प्रायोगिक सिद्धान्तको यो प्रयोगले एउटा इतिहास थप्ने काम मात्र गरेको छैन, बलियो खम्बाको निर्माण पनि गरेको छ । सम्पादकद्वयको अथक प्रयास र साधनाको प्रतिफलपछि तयार पारिएको यस ‘रत्न बृहत् नेपाली समालोचना’ (भाग ३, २०७९) नेपाली समालोचनाको विशिष्ट ग्रन्थ बनेको छ । यस ग्रन्थले परम्परागत मान्यता एवम् सिद्धान्तका स्थानमा नवीन मान्यतालाई नेपाली समालोचनामा भित्र्याउन विशिष्ट दृष्टिकोण प्रस्तुत गरेको छ । ‘रत्न बृहत् नेपाली समालोचना’ (भाग ३) सात सय चवन्न पृष्ठ (करिब चार लाख शब्द) को रहेकाले यो नेपाली समालोचनामा अहिलेसम्मकै बृहत् आकारको ग्रन्थसमेत हुन पुगेको छ ।

प्रकाशित : माघ ७, २०७९ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?