१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

चुल्होमा आगो जोगाउने चिन्ता

कैयौं वर्ष आमाले चुल्हो बालिन् । आगोको रापताप सहिन् । आज महिलाहरु स्वयं चुल्होझैं सल्किँदै छन्, धंधोर हुादै छन् । जब–जब चुल्होमा आगो सल्किँदै गरेको देख्छु, मेरी आमाको संघर्ष सम्झनाको क्षितिजमा उदाउँछ ।
चन्द्रकिशोर

यस्तै पुस–माघको जाडो याम थियो त्यो । आमा मेरो घाँटीमा गाँती बाँधेर मलाई दलानमा पठाउनुहुन्थ्यो । दलानमा थुप्रै मान्छे घुर तापिरहेका हुन्थे । गाँती चिसोका बेला बच्चाहरूको घाँटीमा बाँध्ने वा ओढ्ने कपडा हो, जसले टाउकोदेखि खुट्टासम्म छोप्छ । गाँती कुनै हाट बजारमा भेटिँदैनथ्यो । केवल यसलाई बाँध्ने कला सिक्नुपर्थ्यो ।

चुल्होमा आगो जोगाउने चिन्ता

गाँती बनाउन हजुरबुवाको कुनै पुरानो धोती वा गम्छा, आमाको पुरानो साडी वा सल प्रयोग हुन्थ्यो । टाउकोमा गाँती लपेटिदिएपछि त्यसको दुइटै छोरलाई गर्दनमा बाँधिन्थ्यो र कपडालाई देहको चारैतिर झुन्ड्याइन्थ्यो । बच्चाहरूका लागि गाँती सर्दीबाट जोगिने न्यानो कपडा मात्रै थिएन, त्यसमा आमा, फुपू वा बज्यैको दुलार, बात्सल्य र चिन्ता पनि गुजुमुटिएको हुन्थ्यो ।

त्यही घुर ताप्दै नचारी–पराती, किस्सा कहानी सुन्थ्यौं हामी । बाजेले सुनाएको एउटा लोककथा आजसम्मै सम्झना छ । कुनै रूखमाथि अनेकौं चराचुरुंगी बस्थे । त्यो रूखमा कुनै कारणले आगो लाग्यो । छेउबाट हिँडिरहेका बटुवाले हेरे कि जल्दै गरेको रूखमा चराहरू निश्चिन्त भावले बसिरहेका छन् । तब बटुवाले रूखमा रहेका चराहरूलाई सोधे–

‘आग लागल एहि गाछि के

जरे लागल डांढ– पात

तू काहे जरै छा, चिरैसभ

पांख हवो तोरा साथ ?’

(रूखमा आगो लागिरहेको छ, पात र हाँगा जल्न थाले । तर, ए चराहरू तिमीहरू किन जल्दै छौ ? प्वाँख तिमीहरूसँग छँदैछ !)

यो प्रश्न सुनेर चराहरूले जवाफ फर्काए–

‘फल खइलि एहि बृक्ष के

गंदा कैलि पात

ईहे हय धर्म हमर

हम जरब एकरे साथ ।’

(फल खाएँ यही रूखको, फोहोर गरें पातहरू । त्यसैले मेरो धर्म हो कि म जलौं यसैसाथ ।)

मातृभूमिका लागि आत्मोसर्गको भावना यस कथाबाट, जुन सिकाइएको थियो त्यसको अनुगुन्ज अझै पनि पटक–पटक मानस पटलमा सुनिन्छ ।

घुर, जुन जाडो छल्ने एउटा उफक्रम थियो, छरछिमेकीसँग अन्तर्त्रियाको अवसर पनि । संयुक्त परिवारको परिवेशमा विभिन्न पुस्ताबीच घुलमिल हुने, पाका पुस्ताले पालुवा पुस्तालाई ज्ञानगुनका कुरा सुनाउने मौका पनि घुरको सामीप्यमा पाइन्थ्यो । घुर यस्तो सूचना केन्द्र हुन्थ्यो, जहाँ गाउँ–देहातका मात्रै होइन, देश–देशावरका कुरा चल्थे । खेतीकिसानीदेखि अदालतमा चल्दै गरेका मुद्दा मामिलाको सन्दर्भ उठ्थ्यो ।

एक अर्को आगो घरभित्र चुल्होमा बल्थ्यो । चुल्होमा आगो जोगाएर राख्ने आफ्नै पारम्परिक तरिका थियो । आफूकहाँ आगो निभेका बेला छिमेकीबाट मागेर ल्याउनुपर्थ्यो । यस्तै एकपटक मसाहीवाली काकीको घर पुगें । उनले गुइँठामा आगोको डल्लो राखेर ल्याइन् । मैले हत्तपत्त तिनको हातबाट लिन खोजेँ । उनले हप्काउँदै भनिन्, ‘एकरा त आगो लेबेके ढंग न हई (यसलाई आगो लिने ढंग पनि छैन) ।’ आगो एक हातबाट अर्को हातमा नदिने चलन छ । दिनेले आगो ल्याएर थपक्क राखिदिन्छ अनि लैजानेले राखेको ठाउँबाट लैजान्छ ।

जब घरमा पहिलोपटक टर्च आयो, बज्यैले एकाबिहानै टर्चबाटै चुल्हो बाल्न खोज्नुभो । जति गरे पनि आखिर बलेन । यो घटना पछिपछिसम्म पनि काकीहरू सुनाउँथे ।

आगोको अर्को भूमिका हुन्थ्यो दूषित वस्तु जलाएर भस्म रूपमा नष्ट गरिदिनु । सारा अवाञ्छित वस्तु डढाएर नष्ट गर्नु पनि आगोको स्वभाव हो । एकपटक आँगनको चुल्हो (जहाँ धान उसिन्ने काम हुँदैथ्यो) छेउ बसेर बज्यैले भनेको सम्झिन्छु, ‘तिमीले जानेर वा नजानेर आगो छोयौ भने यसले पोल्छ ।’ यसरी मैले आगोको स्वभावबारे थाहा पाएँ । आगो आफैँ केही बोल्दैन । चुपचाप आफ्नो काम गर्छ र परिणाम दिन्छ ।

एकपटक बाजे बेलुकाको खाना खान आँगनमा आउनुभो । बाहिर दलानमा किशोरवयको म सुत्न जानुपर्ने । आज पनि मेरा सम्झनाभरि त्यो क्षण लालीगुराँस भएर आउँछ, मेरा आँखाभरि सुनगाभा/सुनाखरी भएर पलाउँछन् । स्मृतिका झिल्कामा राखेर छोप्न चाहन्छु । बाजेले भनेका थिए, ‘दलानमा घुरको आगो छ । जहाँ आगो छ त्यहाँ अभय बस्नु ।’ उनका यी वचनका थुंगा बटुलबाटुल पारी उनिँदा क्यानभासमा झल्किन्छ, ‘आगो एउटा भरोसा हो ।’ देहातमा आज पनि त्यस्ता दृश्य देखिन्छन्, जहाँ घुरको आगो बुत्ताइसकेको छ, तर मान्छेहरू एक न्यानोपनको खोजीमा वरिपरि बसिरहन्छन् । कोहीकोही त त्यसकै भरमा रात काट्न तम्सिन्छन् । यसको अर्थ आगो हुनुको बोध मात्रै पनि मान्छेका निमित्त सहारा हो ।

घरमा मैले आगोसँग सबैभन्दा बढी संगत गरेको मेरी आमालाई पाएँ । त्यो जमानामा दाउरा–गुइँठाले खाना पकाइन्थ्यो । कहिले खेसारीको टुक्रा त पटुवाको संठीले पनि । सुकेको पातले पनि काम चल्थ्यो । ओस्सिएको दाउराले चुल्हो बाल्नु भनेको सगरमाथा चढ्नुभन्दा बढी संघर्ष हुन्थ्यो । केही पहिले विश्वनाथप्रसाद तिवारीको एक हिन्दी कविता ‘मां और आग’ पढेथेँ । लाग्यो, मेरै आमालाई केन्द्रित गरी लेखिएको हो त्यो कविता । आगोसँगको आमाको दिनचर्या त्यहाँ यसरी प्रकट भएको छ—

‘यह उस समय की बात है

जब माचिसका आविष्कार नहीं हुआ था

मां थोडी सी आग जलाकर रख देती

सबेरे रोटी सेंकने के लिए

रात को जब सभी सो जाते

मां आग को ऐसे ढंककर छिपाती

एक कोने में

जैसे कोई रतन हो अमोल

जैसे कोई शिशु हो मुलायम

जैसे कोई दुल्हन हो लाल– लाल !’

हो कैयौं वर्षसम्म मेरी आमाले चुल्हो बालिन् । आगोको राप ताप सहिन् । आज पनि समाजको कुनै कुनामा महिलाहरू स्वयं चुल्होझैं सल्किँदै छन्, धंधोर हुँदै छन् । जब–जब चुल्होमा आगो सल्किँदै गरेको देख्छु, मेरी आमाको संघर्ष सम्झनाको क्षितिजमा उदाउँछ । चुल्होको स्वरूप फेरियो, आगो जोगाउने चिन्ता हरायो, तर आज पनि आगोको त्यो श्रेय जोगिएको छ ।

सम्झनामा छ– नवजात शिशुलाई गर्म दूध खुवाउने आगो । जब घुर ताप्दै मेघु भैया भन्थे, ‘कड कड दांत बजावति बा हो, थर थर हाड कंपावति बा हो ।’ त्यतिखेर मनतातो पानीले जीउ तताउने आगो । ठिठुरँदै गरेको घुटनोलाई स्फूर्ति दिने घुरको आगो ।

मंसिरमा धान काट्न सुरु हुन्थ्यो । धान काटेर खेतमै सुकाइन्थ्यो । पहिले धान पाक्न थालेपछि चोरले काटेर लैजाने डर हुन्थ्यो । यस्तोमा खेतमा मडई (परालको गोलाकार अस्थायी झाप्रो) बनाइन्थ्यो । राति रखवाली गर्न जानेहरू घुर लगाएर रात काट्थे । तीस–चालीसको दशकमा बालेश्वरका भोजपुरी गीतहरू निकै लोकप्रिय थिए । देहाती दुनियाँमा त्यसको नक्कल गर्दै गाउनेहरू देखिन्थे । मडईमा रखवाली गर्दै गरेका कोही चौरको एक कुनामा राग अलाप्थे–

‘आज के समाज में दहेज बना रोडा

बिकाई के ए बाबू बीए पास घोडाबीबी सोलह साल की तो मरदा पचासा

पइसे के आड में बिगड गइले जोडा

बिकाई के ए बाबू बीए पास घोडा ।’

घुरमा दन्दनी बल्दै गरेको आगोछेउ गाउनेको अनुहार चम्किन्थ्यो । यसरी एक जनाले गाएकामा राग मिलाउँदै चौरभरि समवेत आवाज गुन्जिन पुग्थ्यो । घुर ताप्दा रमाइलो त हुन्थ्यो नै, रखवाली गर्नेहरू जागेकै छन् भन्ने सन्देश पनि जान्थ्यो ।

सामा चकेबाको चर्चा गरौं, एक महिला लोक नाट्य हो यो । पारम्परिक रूपमा कात्तिक महिनामा खेलिन्छ । यसमा माटाका कैयौं पात्र बनाएर त्यससँग जोडिएको गीत गाइन्छ । दिदीबहिनीहरू एक खलपात्र चुगिंलालाई लक्षित गीत गाउँथे,

‘वृन्दावन में आगि लागल कियो ने मिझावे हे

हम्मर भैया फल्ला भैया दौडक मिझावे हे ।’

आशय हो— जंगलमा आगो लाग्दा कसैले निभाएन, तर मेरा भाइहरू दौडेर आए र निभाए । यसले जंगल मास्न आगो लगाउने वा डढेलो लाग्दाको स्थितिमा त्यो निभाउन अग्रसर हुनुपर्ने कार्यप्रति सचेतना गराएको बुझिन्छ । मधेशका भाषाहरूमा आगोसँग जोडिएका अनेकौं अहान छन् । लोकगीत छन् । पुर्खाहरूले आगोलाई बुझेका थिए । जाडोलाई गमेका थिए । यी आहानमा आगोका इन्द्रेणी रूप प्रस्टिन्छ । अनि लाग्छ, आगो पो बोल्दै छन् । आगोको खोजी मान्छेले गर्‍यो । यसको समाजशास्त्रीय अध्ययन पक्कै भएको हुनुपर्ने हो, आखिर पुरुषले खोज्यो कि महिलाले ? आगोमाथिको स्वामित्व हासिल गरेर मान्छले खेती–किसानीदेखि घर परिवार–बस्तीसम्म बसायो । आगो मान्छेको आत्मनिर्भर हुने प्रयोगको साधन बन्यो । यो पशुहरूसँग प्रतिरक्षाको आयुध रह्यो । पछि–पछि यही आगो आपसी श्रेष्ठता एवं वर्चस्व देखाउने माध्यम बन्यो ।

एकपटक मध्यराति हल्ला भयो— फलानोको घरमा आगो लाग्यो । त्यो जग्गा हडप्ने नियतले दुई वृद्ध जोडीको घरमा आगो लगाएर उठीबास लगाउने षड्यन्त्र थियो । त्यसको निकैपछि यस्तै एक रात गाउँबाट बुवाको फोन आयो, ‘गोठमा आगो लाग्यो ।’ उनको कथनमा सुत्न जाने बेला घुरको आगोलाई निभाइएको थियो । आगलागीमा परेर दुईवटा भैंसी मरे । अनि मलाई लाग्यो, कसैको घरमा लागेको आगोलाई आफैं भित्रैदेखि अनुभव गर्न नसके बुझ्न नसकिँदो रहेछ । अरूको घरमा आगो लाग्दा आफू मल्हार गाउन सजिलो छ ।

मान्छे–प्रकृतिको साहचार्ययुक्त जीवन छ । त्यो संस्कृतिमाथि सुनियोजित र व्यवस्थित रणनीतिका साथ वर्चस्वशाली संस्कृतिले आफ्नो कब्जा जमायो । मधेशी समाजको मूल दार्शनिक तत्त्व तथा यसबाट निसृत विश्वदृष्टि कृषि र आगोमा आधारित छ । यसबारे खासै विमर्श छैन । यस्तै जाडोको एक दिन घुर ताप्दै थिएँ । गुलाबी घाम झुल्किएको थियो । तैपनि गुलाबी जाडो महसुस गर्दै थियौं । त्यहीँ मेरो बिहेको छिनोफानो भयो । बिहे गर्न घरबाट निस्किने बेला शुभसाइतका लागि माटोको कचोरा (जसमा आगो राखिएको हुन्छ) मा राई–जुवानो राख्दै घोप्टाइयो र त्यो नाघ्दै अघि बढ्न लगाइयो ।

वाग्मती किनारमा बाजे–बज्यै आगोमा भस्म भएको देखेँ । आगो आमाजस्तै हुन्, सुख दुःखमा साथ दिने । निरन्तर जीवन्त रहन सिकाउने ।

जसरी आमालाई थाहा छ– कसरी चुल्हो सल्काउने ? कस्तो आगोमा रोटी सेकिन्छ ? कस्तोमा दही जमाइन्छ ? आमालाई यी सबै अनुभवसिद्ध ज्ञान छ । यसैगरी आगो सुख र दुःखमा सघाउन आइपुग्छ, तर आगोलाई जित्ने कला आफूभित्र हुनुपर्छ । आगोमाथिको स्वामित्व आर्जन यति होस कि ‘प्रत्येक चुल्होमा आगो रहिरहोस् ।’ आगो भरोसा हो, आशा हो ।

प्रकाशित : माघ ७, २०७९ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?