१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

एक झिल्को आगो, एक भव्य सभ्यता

आगो आविष्कार त्यो विशेष घटना थियो, जसले मान्छेको संस्कृति र प्रकृति बदल्यो, सभ्यता जन्मायो, इतिहास रच्यो र युग फेर्‍यो । रहस्य बनिरहेको आगोलाई आदिपुर्खाले नियन्त्रण गरेयता मान्छे पृथ्वीको मालिक बन्यो । आगो र मान्छेको सहयात्रा, आगोमाथि मान्छेको अनुराग, आधुनिक मान्छे र सभ्यताको कहानी हो— आगोको कथा ।
सुरेश ढकाल

मान्छेको कथाको अहं र अभिन्न कथांश हो– पृथ्वीमा आगोको यात्रा । न्यानो र उज्यालोको भरपर्दो स्रोत आगोले मान्छेको सांस्कृतिक उद्विकासमा लाखौं वर्षदेखि आकार दिँदै आएको छ । मान्छेका आदिपुर्खाले कहिलेदेखि आगो प्रयोग गर्न थाले ? कहिलेदेखि आगो बनाउन सिके ? आगो कसरी आविष्कार गरे ? यसको तिथिमिति ठ्याक्कै भन्न त सकिन्न, तर आगोको यात्रा–कथाले मानवजातिको सभ्यता र सांस्कृतिक विकासको महत्त्वपूर्ण कहानी बताउन सक्छ ।

एक झिल्को आगो, एक भव्य सभ्यता

आगो प्रयोगको उत्कर्ष थियो मान्छेले खाना पकाएर खान थाल्नु । आज संसारभरका मान्छेको मुख्य भरपर्दो खाना गहुँ, चामल वा आलु आगोमा पकाएकै कारण खान सम्भव भएको थियो, अन्यथा ती अनाज तिनको प्राकृतिक स्वरूपमै खान सम्भव थिएन । आगोको प्रयोगले नै मानिस र अन्य जनावरबीचको भिन्नताका खाडल झनै फराकिलो बन्दै गएको थियो ।

हाम्रो आफ्नै अनुभवले भन्छ, ठिहिर्‍याउँदो जाडोमा आगो ताप्नुको आनन्दानुभूति कति हुन्छ ! यो चिसो माघमा म सम्झिरहेको छु– हामी हुर्कंदै गर्दाका हिउँदका ती चिसा दिन, जतिबेला हाम्रा लागि आगो ताप्नुको विकल्पै थिएन । आगो ताप्नुजस्तो मज्जा जीवनमा अर्को थिएन । हिमालदेखि तराईसम्मै आगो ताप्नु आनन्दको कर्म हो, कतिपयका निम्ति ज्यान जोगाउने उपाय । यसरी आगो ताप्नुका पछाडि समय–स्थान विशेषका अनगिन्ती कथा हुन्छन्, तिनका सामाजिक आयाम हुन्छन् ।

लोकोक्ति र साहित्यको पनि शक्तिशाली, बहुलअर्थी विम्ब हो— आगो । र, हो आज पनि मानव सभ्यताको अभिन्न अवयव । मान्छे र आगोको अन्तरसम्बन्ध सधैं एकनास रहेन, तर जहिल्यै महत्त्वपूर्ण रह्यो । एक मानवशास्त्रीले भन्न रुचाउने आगोका अनेकन् कथामध्ये केही झिल्का सुनाउने प्रयास यहाँ गरिएको छ ।

अजम्बरी आगो

तीन दशकअघि । मानवशास्त्र स्नातकोत्तर तहको शोधपत्रका लागि अनुसन्धान गर्न पूर्वी नवलपरासीको पहाडस्थित एक मगर गाउँमा थिएँ म । तनहुँतिरबाट जाँदा कालीगण्डकी तरेर झन्डै एक–डेढ घण्टा उकालो चढेपछि पुगिने त्यो गाउँ त्यतिबेला विकटै थियो । कालीगण्डकी छेउछाउचाहिँ दराई र कुमालका बस्तीहरू थिए । बेलाबखत म स्थानीय साथीहरूको साथ लागेर दराई गाउँ झर्थें । उनीहरू भन्थे– दराईगाउँको जाँड मीठो हुन्छ । जाँडको स्वाद र गुणको परख गर्ने सवालमा मगरहरू आधिकारिक लाग्छन् । दराईहरूको मुना अर्थात् जाँड बनाउने विधि र सीप विशिष्ट हुन्छ । त्यो उनीहरूको सांस्कृतिक पुँजी हो ।

त्यो वैशाख १ गतेको दिन थियो, विद्यालय बिदा थियो । केही शिक्षकका साथ लागेर म झरें दराई गाउँ । उद्देश्य सरल थियो– मीठो जाँड खाएर नयाँ वर्ष मनाउने । तर, त्यस दिन हामीले जाँड खान त पाएनौं नै, उनीहरूका घरको पिँढीमा समेत टेक्न पाएनौं । कारण थियो– उनीहरू कुनै पर्व वा उत्सवको तयारीमा थिए । घर–आँगन लिपपोत गरि सफा र चिटिक्क पारिएको थियो । हिउँदभरि खोजेर जम्मा परिएको दाउरा कलात्मक ढंगले चाङ लगाएर राखिएको थियो आँगनको एक कुनामा । परिवारका सदस्य कुनै न कुनै काममा लागिरहेकै थिए । उनीहरू खासमा नयाँ वर्षमा नयाँ आगो पार्ने उत्सवको तयारी गर्दै थिए ।

दराईहरू नयाँ वर्षका दिन नयाँ आगो बनाउँछन् अर्थात् नयाँ वर्ष नयाँ आगोसँग सुरु गर्नुपर्छ । अघिल्लो दिन नै उनीहरू वर्षैभरि अँगेनोमा जोगाएर राखिएको आगो निभाउँछन् । अँगेना, चुला सफा गर्छन्, घर–आँगन लिपपोत गर्छन् र नयाँ वर्षको दिन नयाँ आगो बनाउँछन् । उनीहरूको मान्यता हुन्छ– अँगेनामा आगो मर्नु हुन्न, त्यो निरन्तर बलिरहनुपर्छ । सोहीअनुरूप दराईहरूका अगेनामा नित्य आगो बलिरहन्छ र त्यसैबाट दैनिक आगो सल्काइन्छ । नयाँ वर्षको पहिलो दिन सल्काइने नयाँ आगो शमीको काठका कप्टेरामा बनाइन्छ । काठको कप्टेरामा अर्को दह्रो काठको झीरले प्वाल पार्न खोजेझैं या मोही पार्दा ठेकीमा मदानी घुमाएझैं घुमाई घुमाई आगोको झिल्का निकालेर उनीहरू आगो सल्काउँछन् । उनीहरूको विश्वास छ– त्यस्तो आगो पवित्र हुन्छ र वर्षैभर त्यो झिल्को मर्नु हुन्न ।

यो एक प्रतिनिधि दृष्टान्त मात्रै हो । नयाँ आगो बनाउने यस्तो संस्कार अन्य संस्कृति र समुदायमा पनि छ, थियो । अँगेनामा आगो निभ्नु हुन्न भन्ने त आम प्रचलनै हो । यो नेपालमा मात्रै होइन संसारका अधिकांश समुदायमा प्रचलनमा छ, थियो । यो प्रचलन आगो जोगाउने आदिम पुर्खाहरूको ज्ञान र व्यवहारको निरन्तरता हो, जसले आगोको प्रयोग र उपयोग त थाहा पाए, तर आगो बनाउन भने जानेका थिएनन् वा आगो बनाउनु उनीहरूका लागि कष्टसाध्य काम थियो ।

आगो जोगाउनेहरू, आगो बनाउनेहरू

मान्छेका आदिम पुर्खाले जतिबेला आगोसँग साक्षात्कार गरे, त्यतिबेला उनीहरू आगोबारे अनभिज्ञ थिए । आगो के हो ? कसरी बन्छ ? कहाँबाट आउँछ ? यी प्रश्नका कुनै उत्तर थिएनन् हाम्रा पुर्खासँग । उनीहरूका लागि भयंकर रहस्य थियो आगो । आगोसँगको साक्षात्कार र रहस्यका लाखौं वर्षपछि मात्रै हाम्रा पुर्खाले आगोबारे केही भेउ पाए, खासगरी यसको उपयोगिताबारे । आगो बनाउनु वशको विषय थिएन, तर उनीहरूले प्रकृतिमा भएको आगोलाई आफ्नो वशमा पार्ने प्रयास गरे । र, कालान्तरमा सफल भए । यसरी आगो नियन्त्रण गर्न जानेको अरू केही लाख वर्षपछि मात्रै हाम्रा आदिपुर्खाले आगो बनाउने ज्ञान सिकेका थिए । आगो बनाउने तिनै विविध विधि आज पनि विश्वका अनेकन् कुनामा (खासगरी दूरदराजमा बसोबास गरिरहेका समुदायमा) निरन्तर प्रचलनमा छन् ।

गाउँघरतिर आजपर्यन्त केही बूढापाकाले झुरो–चकमकबाट चुरोट, सुल्पा सल्काएको हामीले देखेकै छौं । किट/फलाम वा कडा चट्टानको टुक्रामा केही झुरो, जुट, नरिवल वा कपडाका रेसा राखेर चट्टानको टुक्राले जोडले हानेर आगो पार्ने विधि प्राचीनतममध्ये एक हो ।

यज्ञ–यज्ञादिमा शमीका काठको घर्षणले आगो निकाल्ने चलन आजपर्यन्त छ । प्रायः काठको सुकेको कप्टेरामा अर्को काठले जोडसँग घर्षण गराउने या काठको सुइरोले ड्रिल गरेझैं आगो उत्पन्न गर्ने विधि पनि आम रूपमा प्रचलनमा छ ।

प्रागऐतिहासिककालकै निरन्तरताजस्तो लाग्ने, खेतीपातीको अभ्यासमा समेत नभएका समुदायको मानवशास्त्रीय र पुरातात्त्विक अवशेषको अध्ययनको आधारमा आगो आविष्कारका यस्ता विधिबारे जान्न सकिएको हो । उनीहरूले प्रकृतिमा विभिन्न कारणले सिर्जित आगोलाई नियन्त्रण गर्न जाने र आगो बाल्ने अनेक कोसिस गरिरहे । प्रकृति नै उनीहरूको गुरु थियो ।

प्रकृतिमा अनेक कारण आगो वा डढेलो लागेको हुन सक्थ्यो । डढेलो लागेर बासस्थान वा सिकार गर्ने जंगल मासिँदा कतिपय समयमा हाम्रा पुर्खासमेत आगोले जलेर मरे होलान् । कत्ति भागेर जोगिए । उनीहरूको फिरन्ते सिकारी जीवन अस्तव्यस्त बन्यो । जब उनीहरू सिकार गर्न जंगल जान सकेनन् वा जंगलका जनावर डढेलोमा परेर मरे, बाध्य भएर उनीहरूले जलेका जनावरका मासु खाए । र, त्यो मासु झनै स्वादिलो पाए । त्यसैले पनि आगो नियन्त्रण गर्ने अनेक जुक्ति गरे । जब नियन्त्रण गरे, त्यस दिनदेखि मान्छेको सबैभन्दा भरपर्दो र उपयोगी साथी नै आगो बन्यो ।

मासु पोलेर खान, क्रमशः पकाएर खान आगो उपयोगी भयो । मानव उद्विकासका क्रममा आगोको भूमिका कति महत्त्वपूर्ण थियो भने आगोमा पोलेपछि मासुमा भएका जीवाणु मर्थे र धेरै दिनसम्म पनि मासु जोगाउन सकिन्थ्यो । बासस्थान वरिपरि न्यानो पार्न, राति हिँडडुल गर्न आगो सहयोगी हुन्थ्यो । जंगली जनावरलाई आगोको लप्का देखाएर भगाउन सकिन्थ्यो । नवपाषाणकालीन युगमा आएपछि मान्छेले आगो लगाएर जंगलको जमिनलाई खेतीयोग्य बनाउन थाले । मान्छेको शारीरिक–जैविक र सामाजिक–सांस्कृतिक रूपान्तरण गरेको छ आगोले । ढुंगा, बाँस, धातु तताएर कडा बनाउने, त्यसलाई पिटेर उपयुक्त आकारमा ढाल्ने कला र पोलेर माटाका भाँडा बनाउने सीपले मानव सभ्यताको निर्माण र उद्विकासमा अहं भूमिका निर्वाह गरेको थियो । आगोको सहायताले मान्छेले प्रकृतिका कतिपय प्रतिकूलतामाथि विजय हासिल गरेका छन् । आगोकै कारण मान्छेले प्रकृतिलाई समेत कज्याउन सक्ने भए, प्रकृतिलाई बदल्न सक्ने भए ।

आफूलाई न्यानो राख्न र खाने कुरा पकाउन आगोवरिपरि बस्ने प्राचीन परम्परा महत्त्वपूर्ण साबित भएको छ । कालान्तरमा थुप्रै पर्व, उत्सव, संस्कार आगोवरिपरि सम्पन्न गर्न थालियो, जसको जग प्रागइतिहासकालमै बसेको थियो भन्न सकिन्छ ।

पक्कै अद्भुत हुँदो हो हिंस्रक जनावरबाट त्रसित मानव पुर्खाले आगोको सहयोगमा तिनै भयंकर जनवरलाई तर्साउँदै, लखट्दै गरेको दृश्य । कति सुन्दर दृश्य निर्माण भएको थियो होला त्यो, जब सिकारी झुन्डहरू आगोको उज्यालोको सहारामा अन्धकार घना जंगलमा यात्रा गरिरहेका हुन्थे । कम्ता रोमाञ्चक थिएन होला सिकार गरेर ल्याएको जनावर आगोमा पोल्दै, आगोवरिपरि नाच्दै, गाउँदै पोलेका मासु खाँदाको दृश्य । जब आगोमाथि हाम्रा आदिम पुर्खाले प्रभुत्व जमाए तब उनीहरूको जिन्दगीमा राप र रोमाञ्चकता थपियो । आगोले मान्छे र प्रकृति, जीवन र जगत्प्रतिको सम्बन्ध र दृष्टिकोण पनि फेरिदियो । आगोबाट प्राप्त प्रकाश र ताप सभ्यता अघि बढाउने शक्ति र आधार बन्यो ।

प्रकृतिमा आगो

यो लेख पढिरहनुभएका तपाईंमध्ये कतिले विद्यालयमा झ्यालबाट छिरेको घामको किरणमार्फत ‘आइग्लास’ को सहायताले साथीहरूको लुगा वा कपाल डढाउनुभएको थियो होला, साना कागजका टुक्रामा प्रकाश पारेर आगो बाल्नुभएको थियो होला । त्यस्तै घना जंगलहरूमा पातको टुप्पाबाट पानी वा शीतको थोपा चुहिन लाग्दाको समय निश्चित कोणमा घामको किरण पर्दा निश्चित दूरीको सुकेको घाँस, पत्करमा आगो लाग्न सक्छ । जसरी आइग्लास (म्याग्निफाइङ ग्लास, कन्भेक्स लेन्स) ले घामको प्रकाशलाई एकत्रित गरि ताप सिर्जना गर्छ, त्यसैगरी शीतको थोपाले गर्छ ।

तर, प्रकृतिमा आगो लाग्ने प्रमुख कारण अरू नै छन् ।

चट्याङ पर्दा निस्केको आगो फैलिएर प्रकृतिमा आगो अस्तित्वमा आउन सक्थ्यो । प्राकृतिक आगोको प्रमुख कारण थियो– चट्याङ । अध्ययनहरूले भन्छन्– आज पनि विश्वका ठूला जंगलहरूमा लाग्ने डढेलोको प्रमुख कारण चट्याङ नै हो, जुन मान्छेका कारण लाग्ने डढेलोभन्दा धेरै बढी छ ।

त्यस्तै पृथ्वीका अनेकौं स्थानमा नियमित फुट्ने ज्वालामुखी र त्यसबाट निस्कने अत्यधिक तापसहितको लाभाले डढेलो सल्काउने सम्भवाना नियमितजस्तै हुन्थ्यो— प्रकृतिमा आगोको यो अर्को नियमित स्रोत थियो । संयुक्त राज्यको भूभौगर्भिक सर्भेका अनुसार, अहिले पनि १३५० सशक्त सक्रिय ज्वालामुखी अस्तित्वमा छन्, जो कतिपय क्षेत्रमा डढेलोका कारण बन्ने गरेका छन् ।

आगो लाग्नुका केही अन्य कारण पनि छन् । जस्तो सुक्खा याममा हावाहुरी लाग्ने समयमा हुर्केका बाँसहरू एकआपसमा नियमित घर्षण हुँदाको तापले पनि आगो निस्केको हुन सक्छ ।

यसरी प्रकृतिमा विभिन्न कारण अस्तित्वमा आएको आगो संयोगले जुरेको अवसरमा मात्रै मान्छेले प्रयोग गर्न सक्थे, तर उनीहरूलाई आगो बनाउने ज्ञान थिएन । यद्यपि आगोबारे धारणा बनाउन सक्ने सज्ञानात्मक क्षमताले नै प्रकृतिमा उपलब्ध आगोलाई मान्छेले तह लगाए । र, मान्छे बन्यो आगोको आविष्कारक ।

आगोको आदिम कथा

करिब २० लाख वर्षदेखि मान्छे र आगोले सँगसँगै यात्रा गरेका छन् । आदिम पुर्खाको क्रमिक जैविक एवं सांस्कृतिक विकासको परिर्वतनमा आगोले उल्लेखनीय भूमिका खेलेको छ । ८ घण्टा जागा बस्ने मान्छे अब १६ घण्टासम्म जागा बस्न सक्ने भएको छ । जबकि अन्य आद्य नर–वानर (प्राइमेट) हरू उज्यालोसँगै ब्युँझन्थे र रात परेपछि सुत्थे । मान्छेको सामाजिक गतिविधिको समय बढ्यो, संस्कृतिमा अनेक परिवर्तन सम्भव हुँदै गए । आगोको सहाराले नै मान्छेले आफूलाई प्रकृतिमा अनुकूलन मात्रै गराएन प्रकृतिमाथि नै हावी भयो । मान्छेले घाम, पानी र शत्रुबाट सुरक्षित ठानिने गुफामा बस्ने हिंस्रक जंगली जनावरलाई आगोको सहायताले विस्थापित गर्‍यो, ती ठाउँमाथि कब्जा जमायो ।

पुरातात्त्विक–मानवशास्त्रीका अनुसार, आगो प्रयोगको पहिलो प्रमाण प्राचीन ढुंगेयुग अर्थात् पुरापाषाणकालमा होमो इरेक्टस अर्थात् दुईखुट्टाले सीधा उभिन सक्ने मानवजातिको पहिलो पुर्खाहरूले गरेको भेटिन्छ । मानव गतिविधिसँग सम्बन्धित आगो प्रयोगको हालसम्म प्राप्त प्रथम प्रमाण उत्तरी केन्याको तुर्काना ताल क्षेत्रको ओल्डोवान होमिनिडको अवशेष उत्खनन क्षेत्रमा भेटिएको थियो । उक्त ताल नजिकै अर्को प्राग्मानवहरूको बासस्थान भएको कोवी फोराको उत्खनन क्षेत्रमा आगोको असरका प्रमाण भेटिएको थियो, जुन केही पुरातत्त्वविद्का अनुसार आगोको नियन्त्रित प्रयोगको निसानी थियो । त्यस्तै मध्यकेन्याको चेसोवान्जाको उत्खनन–स्थलमा पनि आगोलो पोलिएका माटाका चट्टानका टुक्राजस्ता वस्तुहरू छरिएको भेटिएको थियो, जुन चौध लाख वर्ष पुरानो भएको अनुमान छ । त्यस्तै दक्षिण अफ्रिकाको मोन्टागु गुफा, स्वार्तक्रान्स गुफामा डढेका हाडजस्ता प्रमाण भेटिएका थिए, जसले आगोको नियन्त्रित प्रयोगको संकेत गर्थे ।

अन्य केही अफ्रिकी पुरापाषाणकालीन उत्खनन–स्थलहरूमा आगो प्रयोगका केही सम्भावित प्रमाण (डढेको चट्टान, डढेका हाडका टुक्रा र खरानी) भेटिएका छन् । यी प्रमाणले भन्छन्– करिब १५ लाख वर्षअघि आगोको उद्देश्यमूलक प्रयोग भएको हुन सक्थ्यो । अफ्रिकी महादेशभन्दा बाहिर पुरापाषाणकालीन केही अवशेष भेटिएका छन्, जसले आगोको नियन्त्रित प्रयोगको संकेत गर्न सक्थे, जुन अफ्रिकी प्रमाणभन्दा पछिल्ला थिए । जस्तै इजरायलको एक गुफा र उत्खनन–स्थलमा डढेका काठ, वनस्पतिका बीज आदि फेला परेका थिए । ती वस्तु करिब सात लाख ९० हजार वर्ष पुराना थिए भन्ने अनुमान छ ।

यस सम्बन्धमा सबैभन्दा प्रख्यात उत्खनन–स्थल उत्तरी चीनको चाउकोडियन गुफा हो, जहाँ आगोको नियन्त्रित र नियमित प्रयोगका सबैभन्दा स्पष्ट संकेत फेला परेका थिए । पेकिङ मानव भनिने होमो इरेक्टस पेकेनेन्सिसले रजाइँ गरेको थियो त्यस क्षेत्रमा । सन् १९१८ मा प्रथमपटक पुरातात्त्विक उत्खनन भएदेखि नै त्यस क्षेत्र मानवशास्त्री र पुरातत्त्वविद्का लागि होमो इरेक्टसको अध्ययन केन्द्र बनेको छ । त्यहाँ प्राप्त आगो प्रयोगका अवशेषहरू करिब सात लाख ७० हजार वर्ष पहिलेको हुन सक्ने अनुमान छ । होमो इरेक्टसमाथिको अध्ययनमा संलग्न चिनियाँ र अमेरिकी अनुसन्धानकर्ताको ‘नेचर पत्रिका’ (२००९) मा छापिएको एक अनुसन्धानात्मक लेखका अनुसार, अफ्रिकाबाट बसाइँ सरेर चीन पुगेका पहिलो मूलका थिए ती होमो इरेक्टस । त्यति नै पुराना थिए आगोको प्रारम्भिक प्रयोगकर्तामध्येकै ठानिने इन्डोनेसियन प्रायद्वीप, जाभामा भेटिएका जाभा मानव भनिने एन्थ्रोपोपिथेकस इरेक्टस (होमो इरेक्टस) । केही मानवशास्त्री ठान्छन्– आगोको सहायताले नै मान्छेका आदि पुर्खालाई अफ्रिकाबाट बाहिरी संसारमा विचरण गर्न र नयाँ भूभाग आवाद गर्न मद्दत पुगेको थियो ।

पुराना प्रमाण सांकेतिक त हुन् । तर, मानवशास्त्रीहरूको मत छ– करिब चारदेखि तीन लाख वर्षयता मान्छेले आगोको नियमित उपयोग गरे । आगोको नियन्त्रित प्रयोगको अप्रत्यक्ष प्रमाणका आधारमा पनि यस्तो अनुमान गरिएका हुन् । जस्तै तुलनात्मक रूपमा होमो इरेक्टसका मुख र दाँत साना थिए । नियमित वा मौसमी रूपमा चिसो क्षेत्रमा बस्न सक्ने उनीहरूको क्षमता, रातमा पनि जागा बस्नेजस्ता चरित्र पकाएको, नरम र सहजै पच्ने खाना र आगोको प्रयोगबाट मात्रै सम्भव हुन सक्थ्यो । यस्ता अप्रत्यक्ष प्रमाणले पनि आगोको नियमित र नियन्त्रित प्रयोग हुन्थ्यो भन्ने पुष्टि गर्थे । तर, उनीहरू आगोको उपयोगकर्ता मात्रै थिए न कि आगोका आविष्कारक । प्रकृतिमा भएको आगोको नियन्त्रित उपयोग गर्न सक्नु र आगो बाल्न जान्नुलाई मानवशास्त्रीहरू मान्छेको एक महत्त्वपूर्ण आधारभूत आविष्कारै मान्छन् । आगो बनाउन सक्ने ज्ञान यसर्थ पनि जननी आविष्कार थियो । आगोमाथि नियन्त्रण पाइसकेपछि मान्छेले अनेकौं आविष्कार र सफलता हासिल गरेको थियो । आगोले उसलाई अझै उन्नत मात्रै बनाएन कि मानव सभ्यता निर्माणमै निकै महत्त्वपूर्ण भूमिका खेल्यो ।

पवित्र आगो

मध्यपुरापाषाणकाल (करिब दुई लाखदेखि ४० हजार वर्षको अवधि) का पुरातात्त्विक उत्खननका क्षेत्रहरूमा होमो इरेक्टस, नियान्डरथल र होमो सापियन्सका पुर्खाले निश्चित स्थानमा नियमित आगो बाल्थे भन्ने प्रमाण भेटिएका छन् । खासगरी वरिपरि ढुंगाले घेरेर निश्चित स्थानमा आगो बाल्ने प्रचलनले चुल्हो या अगेनाको प्रारूप दर्साउँछ । अफ्रिका, पश्चिम एसिया, युरोपमा त्यस समयका यस्ता चुल्हा या अगेना धेरै भेटिएका छन् । ४० हजार वर्षयता अर्थात् उत्तर पुरापाषाणकालमा चाहिँ वरिपरि ढुंगाले घेरेका, कतैकतै माटाका डोम संरचनामा चुल्हाहरू बनाइन्थे भन्ने प्रमाण भेटिएका छन् । आगोको नियमित प्रयोग बासस्थान न्यानो राख्न, खानेकुरा पकाउन र कहिलेकाहीँ माटाका साना भाँडा वा मूर्तिहरू पोल्न पनि भएको हुन सक्थ्यो । स्थानविशेषमा गरिएको आगोको नियमित प्रयोग वा चुल्हो सभ्यताको विकासले स्थायी बसोबास र परिवार संस्थाको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेको छ । आहानै छ– जहाँ चुल्हो त्यहीँ घर । त्यसै समयदेखि चलेको हुनुपर्छ चुल्हो वा अँगेनावरिफरि बसेर सामाजिक अन्तर्त्रिया गर्ने परम्परा । यस्तो परम्परा आजसम्मै गाउँघरमा जीवित छ । यसर्थ आगो बालिने ठाउँ, चुल्हो, अगेना, घुर, अग्निक्रीडा, धुनी, यज्ञ–होम आदि सम्भवतः त्यस्तो प्राचीन सामाजिकस्थल बन्न पुग्यो, जहाँ विझिन्न व्यक्ति जम्मा हुन्थे र अन्तर्क्रिया गर्थे । यस्तो निरन्तरको अन्तर्त्रियाले सामाजिक सम्बन्ध मजबुत बनाउँथ्यो र ज्ञानको पुस्तान्तरण गराउँथ्यो ।

आज पनि घरको शुद्ध वा पवित्र स्थान मानिन्छ– चुल्हो । चुल्होमा पूजासमेत गरिन्छ । अनेकौं संस्कार र अनुष्ठान आगोको महत्त्वलाई स्थापित गर्दै सुरु भएका थिए, जुन आजपर्यन्त निरन्तर छ ।

आगो, प्रविधि र सभ्यता

मानव पुर्खाको सबैभन्दा पुरानो प्रविधि साबित भयो– आगो । र, आगोको विविध उपयोगले नै मान्छेलाई आजको मान्छे बनायो । मानवशास्त्री र्‍याडक्लिफ ब्राउन लेख्छन्, ‘अन्डामन द्वीपका बासिन्दाको विश्वास थियो– आगोको आधिपत्यका कारण नै मान्छे मान्छे बनेको हो र अरू जनावरभन्दा फरक हुन सम्भव भएको हो ।’ सम्भवतः विश्वका अन्य समुदायमा पनि त्यस्तो विश्वास परम्परा छँदै छ ।

मानव सभ्यता र सांस्कृितक उद्विकासका क्रममा ३ घटना महत्त्वपूर्ण मानिन्छन्, जो आगोकै कारण सम्भव भएका थिए ।

१. २० हजार वर्षदेखि आगोमा पोलिएका माटाका भाँडाको निर्माण र उपयोग सुरु हुनु, जुन करिब १४ हजार वर्षदेखि व्यापक बन्यो । आगोमा पोलिएको माटाका भाँडाको घरायसी उपयोग मात्रै हुँदैनथ्यो, त्यतिबेलाको राजनीतिक, सामाजिक पहिचानका प्रतीक थिए ती । माटाका भाँडा प्राचीनतम विनिमयका वस्तुमध्ये एक थिए, जसको पुरातात्त्विक अवशेषको सहारामा प्रागऐतिहासिक मान्छेका गतिविधि, बसाइँसराइ र सम्बन्धको फैलावटबारे थाहा लागेका छन् ।

२. १० हजार वर्षअघि खेतीपाती र स्थायी बसोबासको सुरुवात, जसले मानव सभ्यताको पछिल्लो जग खडा गरेको थियो । खोरिया खेती (खेती प्रणालीको आदिम स्वरूप) गर्ने मान्छेले आगोको विवेकपूर्ण प्रयोग र व्यवस्थापन गर्थे । यी केही उदाहरणले पुर्ख्यौली ज्ञानको गहनतातर्फ संकेत गर्छन् । मैले गरेका अनुसन्धानको आधारमा पनि भन्न सकिने केही तथ्य यस्ता छन्– कुन समय खोरिया खेती गर्ने स्थानमा आगो लगाउने ? कुन याममा आगोको गतिविधि वर्जित गर्ने ? खेती गरिने जमिनभन्दा पर डढेलो फैलिन नदिन कसरी अग्निरेखा स्थापना गर्ने ? कसरी एकै दिन र एकै समयमा आगो लगाउने ? खोरिया खेती गर्ने किसानलाई यी सबैको ज्ञान हुन्छ । आगोमा परी कीरा, फट्यांग्रालगायत जीवजन्तु डढेर मरेका हुन सक्ने भएकाले उनीहरू प्रायश्चित्त गर्छन् । र, आगो लगाउनुपूर्व र लगाएपछि क्षमायाचनासहित देवतासँग माफी माग्दै बत्ती बाल्छन् । यसले खेतीपाती र आगोसँग सम्बन्धित पुरातन ज्ञानको सम्बन्ध दर्साउँछ ।

खेतीपाती र पाक परम्पराले खानेकुरा विविधीकरण गर्‍यो । तिनको भौतिक र रासायनिक चरित्र बदलिदियो । अनि मानव स्वास्थ्य र जैविक विकासक्रम नै फेरियो ।

३. पाँच हजार वर्षयता धातु, क्रमशः तामा, काँस र फलामको उपयोगले औद्योगिकीकरणको प्रारम्भिक जग बसालेको थियो । आगोको प्रविधिले नै कुनै धातुको टुक्रालाई उपयोगी हतियार बनाउन सम्भव भयो । हतियार बनाउने प्रविधिको राजनीतिक, सामाजिक र प्राविधिक महत्त्व हुने नै भयो । धातुका हतियारले नै तत्कालीन साम्राज्यहरू खडा गर्न मद्दत पुर्‍याएको थियो । भनिन्छ– रोमन साम्राज्य शक्तिशाली हुनुमा फलामे हतियार र प्रविधि नै मुख्य थियो । धातुका सामानहरू महत्त्वपूर्ण प्रागऐतिहासिक व्यापारका वस्तु थिए । तसर्थ धातुका कालिगडको सामाजिक प्रतिष्ठा पनि सोहीअनुरूप हुने गर्थ्यो ।

धातु–युगअघि पनि सिकारी–युगका फिरन्तेहरू आगो उपयोग गर्थे– काठको हतियार कडा, तिखो र चोटिलो बनाउन । ग्रीक मिथकअनुसार, हेफिस्थसलाई धातु प्रविधिका ज्ञाता मानिन्छ, जसलाई कालिगडका संरक्षक पनि भनिन्छ । उनलाई आगोको देवता मानिन्छ । हिन्दु धर्मले पञ्चमहाभूत या पञ्चतत्त्व (आकाश, वायु, जल, पृथ्वी र अग्नि) बाट विराट ब्रह्माण्ड सिर्जना भयो भन्छ, त्यहाँ आगोको महत्त्वपूर्ण स्थान हुन्छ । आगोका देवतालाई पुजिन्छ, जो इन्द्रका जुम्ल्याहा भाइ र उनीपछिका महत्त्वपूर्ण देवता मानिन्छन् । आगोसँग सम्बन्धित यस्ता अनेक सर्वलौकिक मिथक अस्तित्वमा छन् ।

आगो शक्तिको त्यो स्रोत थियो, जसले पृथ्वीमा मान्छेको आजसम्मको यात्रामा असाध्यै महत्त्वपूर्ण भूमिका निभायो । तपाई आफैं कल्पना गर्नुहोस् त, के हुन्थ्यो होला— यदि पृथ्वीमा आगो नभइदिएको भए ?

प्रकाशित : माघ ७, २०७९ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?