एउटै तस्बिर छ गोलामा

गजब के छ भने आज सिंगो संसारले चिन्छ, त्यही गोलाको सन्दुकलाई । तर, लेखान्त, नियति, समय वा भाग्य के कारण यो सब भएको हो– सन्दुक स्वयम्लाई पनि पत्तो छैन ।

उसबेला गोला गाउँ पुग्ने सजिलो बाटो थिएन । गाउँमा बिजुली वा रेडियो, टीभी केही थिएन । सीमापारिको तिब्बती बजारमा नुनतेल, उन, जडीबुटी वा चौंरीको व्यापार गर्न पाउनुलाई नै सबैले अहोभाग्य ठानिरहन्थे ।

एउटै तस्बिर छ गोलामा

त्यही आदिम बस्तीमा जन्मे–हुर्केका कासाङ–सोनाम आमाबाले छोरो सन्दुकलाई लेखपढको अर्कै जगत्मा लगेर छाडिदिए । छोरो डोर्‍याउँदै माथिको वालुङ बस्तीबाट तलतल तमोर किनारैकिनार हिँडिरहेका बेला बाबु सोनाम भनिरहेका हुन्थे, ‘हामीले हाम्रो भाग्य निधारमै लेखेर ल्याएका हुन्छौं !’ गजब के छ भने आज सिंगो संसारले चिन्छ, त्यही गोलाको सन्दुकलाई । तर, लेखान्त, नियति, समय वा भाग्य के कारण यो सब भएको हो— सन्दुक स्वयम्लाई पनि पत्तो छैन ।

...

बडादसैंको छेकमा हाङ्देवा फेदीदेखि वालुङ सिरानसम्मै लगातार दुई दिन तमोर नदीको फेरैफेर पैदल पुगेका थियौं— याङ्मा मास्तिरको गोला ।

गोला मुखको पाती–ढुंगा टेक्न पाएकै छैन, एक जना रिम्पोचे लामाझैं देखिने वृद्धले सोधिहाले— कताबाट आयौ नि ?

‘काठमाडौंदेखि’ भनेर जवाफ फर्काइसकेकै थिएनौं, उनी बोलिहाले—‘हाम्रो सन्दुकलाई चिन्छ के ?’

यसरी सुरु हुने रहेछ, सन्दुकको गाउँ— ओलाङचुङगोला ।

आजभन्दा १७० वर्षअघि प्रकृतिविद् जोसेफ डाल्टन हुकर ओलाङचुङगोला पुगेर त्यहाँको बयान लेखेको चर्चा भर्खरै छाएको थियो— ‘कञ्चनजङ्घा जुहार’ (अनु : हस्त गुरुङ) पुस्तकबाट । ‘यहाँका घर माथिल्लो भेगतिर फैलँदै गएर पर्वतको फेदीसम्मै विस्तार भएका थिए । ती सबै घर एउटा लाम लागेर बसेका थिए । पर्वतको माथिल्लो पखेरामा एउटा निकै ठूलो, लामो, दुईतले गुम्बा थियो । त्यो गुम्बा रातो रङले रंगाइएको थियो । त्यसको छानो भने होचो थियो । त्यसको रङ कालो भैसकेको थियो । यस घरको छानोसँग कुम जोडेर उभिएका धुपीसल्लाको बगैंचा पनि गाढा रङको देखियो । गुम्बावरिपरिका पाखातिर देखिएका गुराँसका ठुटामा पलाएका हाँगा भने अझै पनि गाढा हरिया थिए’, हुकरले उहिल्यै भनेका थिए, ‘ओलाङचुङगोला गाउँ धेरै ठूलो छ । यो गाउँले खोलाको पूर्वी किनाराको फराकिलो मैदानी भाग जति सबै ओगटेको छ । गाउँभरि ठूलठूला ढुंगा (चट्टान) फैलिएका छन् । यस्तै ठूला ढुंगाले बाटो छेकेर सानो गोरेटो दिएका छन् । त्यो ठाडो भिरालोमा ठूला ढुंगामा चढ्दै उकालो चढेर माथि जानु दुष्कर काम हो ।’

दोरम्बामा फोटोग्राफर माइकल एमेन्डोलिया र र डा. सन्दुक रूइत

गोलाको त्यही ‘दुष्कर’ विन्दुमा पाइला राख्नासाथै पहिलो संवाद सुनिएको थियो, ‘हाम्रो सन्दुकलाई चिन्छ के ?’ भूगोलको अर्कै कुनोझैं लाग्ने यही थातथलोमा आजभन्दा ६८ वर्षअघि जन्मिएका थिए– सन्दुक । सन्दुक अर्थात् लामो पुच्छर, तिखा नङ र लामा पखेटा भएको आगो ओकल्ने अजंगको पौराणिक जीव । अथवा, आकाशको ड्रयागन ।

झन्डै ओढारे युगजस्तो लाग्ने त्यो समयमा आमा कासाङ डोमा उक्याब र बुबा सोनाम वाङ्ग्याल रुइतले सन्दुकसहितका छोराछोरी कसरी हुर्काए, बढाए भन्ने कथा धेरै चरणमा बाहिर आइसकेको छ । बरु त्यो स्वभावको चकचके, बारम्बार हात भाँचिरहने र अन्तर्मुखी भए पनि ननिको केटो सन्दुकलाई गोलाको अनकण्टारबाट ताप्लेजुङ–पाँचथरको पाखाभित्ता हुँदै १५ दिन हिँडाएर कसरी र कुन चेतनाले दार्जिलिङ लगिएको थियो भन्ने ‘मनोहर कहानियाँ’ अझै पनि उदेकको लाग्न सक्छ । त्यो ७ वर्षे बालक सन्दुकलाई आज यत्ति सम्झना छ— घर/काख छाडेर जान लागेको छोरालाई आमाले बुनिदिएको उनीको रातो झोला, जसमा सिक्काहरू जडिएका थिए । र, जसभित्र चौंरीको छुर्पी र चिज राखिएको थियो, बाटो कटाउने सितनका रूपमा ।

माथि तिपताला हुँदै तिब्बत पुगेर नुन–ऊनको सानोतिनो बन्द/व्यापार गर्ने बुबा सोनामले छोरालाई भने साँवा अक्षर चिनाउन र अलिक सुधारिएको मान्छे बनाउन देखाएको त्योबलाको उत्कण्ठा अनौठो थियो, अलौकिक पनि । दार्जिलिङको सेन्ट रोबर्ट्स स्कुलमा छोरो पुर्‍याएर फादर विलियम म्याकेका जिम्मा लगाउने बेला बुबा सोनामले सन्दुकको टाउकामा हात राख्दै भनेका थिए, ‘हेर् छोरा, तँ यहाँसम्म पढ्नका लागि आएको छस् । तेरो दिमागमा यहाँका गुरुहरूले ज्ञान भरिदिऊन् वा मूर्खता, केही मतलब भएन । तर, तँ वालुङ (गोला) बाट यहाँसम्म आएको होस् भन्ने कहिल्यै नबिर्सनू । त्यसैले कुनै पनि उचाइ हासिल गर्न तँलाई मुस्किल पर्नेछैन । ढुक्क भएर बस्नू, पढ्नू । सबैले आफ्नो भाग्य निधारमैं लेखेर ल्याएको हुन्छ ।’

ओलाङचुङगोलामा रूइतको तस्बिर देखाउँदै भुटिक वलुङ । तस्बिरहरू : अंगद ढकाल, प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

हो, कति सपना हुन्छन् विपनाजस्तै । आइरहने चाडबाड, उत्सव वा पर्व सम्झ्यो कि गोलाको माटो हरक बनेर आइरहन्थ्यो सन्दुकको सपनीमा । स्कुले पढाइपछि गोला जाऔंला, तमोरमा उसैगरी पौडी मारौंला भन्ने सोचिरहन्थे सुन्दुक । उही धुपी–सल्ला–लालीगुराँसको फेद, चौंरीको हाँच र दिकिछोलिङ सम्झिरहन्थे । तर, एकाएक भारत–चीन युद्धको रापतापले दार्जिलिङको शैक्षिक/राजनीतिक माहोल छिन्नभिन्न बन्दै गयो । झन्डै रातारातकै शैलीमा सन्दुकलाई लिन बाबु सोनाम सेन्ट रोबर्ट्स आइपुगे र, छोरो लिएर पुरानै थातथलो गोलातर्फ होइन, धनकुटा–हिलेतिर लागे । तर, चर्केको असहज स्थितिका माझ सेन्ट रोबटर््सका फादर म्याके पनि दार्जिलिङपछि भुटान गएर बसे, लगातार ३२ वर्ष । ८० वर्षको उमेरमा सन् १९९५ मा निधन हुँदा म्याके भुटानका नेसनल हिरो बनेका थिए— शैक्षिक जागरण र प्रवर्द्धकका रूपमा ।

यसरी माया गढिसकेको दार्जिलिङ रातारात छाड्नुपर्दाको दुःखान्त छँदै थियो । माथि गोलाको खबर पनि निको रहेनछ । कुनै युद्ध वा महामारीमा परेको बस्तीझैं ओलाङचुङगोलामा पनि उठीबास लागेको रहेछ । तमोरको भेल र पहिरोले सन्दुकसहितको घर/बस्ती बगाइसकेको खबर पाएर सन्दुक धेरै दिनसम्म विस्मयमा बसिरहे, वर्षौंवर्ष आफ्नो गोला सम्झेर आकुल बनिरहे, तर जान भने पाएनन् । यसरी हिजोअस्तिको कुरा पनि कुनै ‘मिथ’ झैं लाग्नेगरी सन्दुकको गोला–साइनो सुनाउन एकपछि अर्को गर्दै वालुङ बस्तीमा आफन्तहरू आइरहे । छेतेन वलुङ शेर्पा, फुलाव उक्याव, छोकी शेर्पा, भुटिक वालुङ, फुपू ल्हामु शेर्पा, तेन्जिङ शेर्पा र अरूहरू सन्दुकबारे देखे–सुनेका कथाहरू सुनाउन आलोपालोमा बसेका थिए ।

‘हाम्रो डाक्टर आउनुभएको थियो यहाँ पनि, त्यही १०/१२ वर्ष जति भैसक्यो कि ? त्योबेला आँखाको उपचार पनि भएको थियो गाउँमा । लाखे है ! मसँग त्यो फोटो पनि अझै हुनुपर्छ’ हतारमै यति भन्दै गलैंचा बुनिरहेकी भुटिक वलुङ जुरुक्क उठिन् र भित्री कोठाको सन्दुक घरक्क उघार्दै एउटा तस्बिर लिएर आइन्— गोलाका आफन्तजनमाझ सन्दुक उभिएको धूमिल तस्बिर, खादासहितको ।

आश्चर्य, सिंगो गोला गाउँमा यही एउटा तस्बिर रहेछ सन्दुकको ।

अलिक माथि दिकिछोलिङ गुम्बामा पुगेपछि त्यहाँ माने सफा गरिरहेका अर्का वृद्ध वलुङ भेटिए । कुराकानीमै सन्दुकको नाम आइहाल्यो । लोकल लवजमा एकोहोरो उनी बोलिरहे— ‘ए सन्दुक डाक्टर ? ऊ हाम्रो गाउँको हो नि । उसलाई आज संसारले चिन्छ । ऊ आँखा देखाउने काम गर्छ । ऊ पनि हाम्रो यही गोलामा जन्मे–हुर्केको हो नि । २०२२/२३ सालतिर उसको घरखेत पैरोले बगायो । अझै पनि उसको मामा, छेमाहरू यतै छ । उसले पनि हामीलाई सम्झिरहन्छ । कहिले बाटो बनाउन पैसा दिन्छ, कहिले भत्केको दिकिछोलिङ मर्मतमा सहयोग गर्छ । यो पाला पनि फागुनतिर तल सिँवा, तापेथोकतिर आँखाको शिविर चलाउन हाम्रो डाक्टर आउँदै छ रे भन्ने सुनेका छौं । जसरी हुन्छ, माथि गोलासम्म ऊ आइदेओस् है— भनिदिनू । त्यसलाई एकपटक भेट्नु र छुनु मन छ ।’

गोलामा यत्रतत्र यस्तै अजबको तस्बिर रहेछ सन्दुकको ।

सम्झनामा डेभिड रेलिन

एक जना अमेरिकी पत्रकार थिए— डेभिड ओलिभर रेलिन । उनको ४९ वर्षकै उमेरमा २०१२ नाभेम्बर १५ मा निधन भयो, निकै नसोचेको तरतिबमा ।

गत कात्तिक तेस्रो साता पत्रकार सरोजराज अधिकारी काठमाडौं, सुन्धाराको एक होटलमा मृत भेटिएकै साँझ डेभिडको सम्झना यसरी छाएको थियो । डेभिडको ‘थ्री कप्स अफ टी’ (२००६) पुस्तक अमेरिकामा बेस्ट–सेलर बनिसकेको थियो, जसमा पर्वतारोही ग्रेग मोर्टेसनले पाकिस्तान र अफगानिस्तानका पहाडी बस्तीमा विद्यालय खोल्न बढाएको चेतनाको रोमाञ्चक कथा छ । ‘थ्री कप्स अफ टी’ ग्रेग र डेभिडको संयुक्त नाममा छ । यो पुस्तक आउनुअघि डेभिडले भियतनाम युद्धमा खटाइएका बाल सैनिकबारे पनि लगातार खुलासा गर्दै आफूलाई चिनाइसकेका थिए । तिनै उम्दा लेखक–पत्रकार डेभिड ओलिभर रेलिनले ओरिगन राज्यको पोर्टल्यान्डमा एउटा कुदिरहेको रेलमा टाउको ठोक्काएर आफ्नो इहलिला टुंग्याएका थिए, सन् २०१२ मा । ‘न्युयोर्क टाइम्स’ पत्रिकाले अबिच्योरीमा लेखेको थियो, ‘डेभिड लामो समयदेखि आफैंमा मनोवैज्ञानिक समस्यामा थिए, उनी डिप्रेसनको उपचारमा लागेका थिए ।’

योभन्दा बढी सरोकारको कुरा थियो, उनै डेभिडको अप्रकाशित अर्को पुस्तक— ‘सेकेन्ड सन्स’ ! संसारबाट अन्धोपना हटाउने अभियानमा लागिपरेका दुई अगुवा डा. जेफ्री टेबिन (अमेरिका) र डा. सन्दुक रुइत (नेपाल) को संघर्ष–यात्राबारे पत्रकार डेभिडले तयार पारेको पुस्तक ‘सेकेन्ड सन्स’ भर्खरै प्रेसमा मात्रै बुझाइएको थियो, तर डेभिडले यो संसार छाडिसकेका थिए । डा. रुइत र डा. टेबिनले सन् १९९४ मा थालेको हिमालयन क्याट्राक्ट प्रोजेक्टको आधार समातेर डेभिडले यो पुस्तक लेखेका थिए । यो पुस्तक ‘सेकेन्ड सन्स’ सन् २०१६ मा मात्रै रेन्डम हाउस, न्युयोर्कबाट छापिएको थियो । यसपछि मात्रै डा. रुइतको जीवन–संघर्षमाथि लेखक अलि ग्रिपरको ‘द बेयरफुट सर्जन’ (२०१८) प्रकाशित भएको थियो, जसको नेपाली अनुवाद खगेन्द्र संग्रौलाले गरेका छन् ।

‘आँखा उपचारका शिविरहरूमा म र जेफ्री सँगै हुन्थ्यौं, डेभिडले उतारेको त्योबेलाको संघर्षको तस्बिर (सेकेन्ड सन्स) आफैंमा जीवन्त थियो,’ एउटा साँझमा भेटिएका डा. रुइत सम्झँदै थिए, ‘तर, त्यस्ता होनहार लेखक डेभिडले एकाएक किन जीवन त्याग्न चाहे भन्ने जिज्ञासा सबैभन्दा अगाडि थियो, जसमा म अझै पनि कारण (जवाफ) खोजिरहेको छु ।’

मिसन ओलाङचुङगोला

पोहोरको दोरम्बा आँखा शिविरपछि फेरि भेटिए, माइकल एमेन्डोलिया । डा. सन्दुक रुइतको आँखा देखाउने सत्कर्मका पछि लागेरै ३० वर्षयता दुईपटक विश्व प्रेस फोटोमा विजेता बनेका माइकल यसपटक पनि सन्दुककै अभियानमा सघाउ गर्न काठमाडौं उत्रिएका रहेछन् । सन्दुकसँग मात्रै होइन, सन्दुकका नामकाममा जोडिएका हरेक पात्र र सत्मार्गीसँग माइकल जोडिएका छन् ।

सन् १९९२ मा मुस्ताङको चराङ पुगेका बेला ७८ वर्षीय एक जना भेडीगोठाला पेमसुम्ता भेटिएका थिए, जो केही वर्षयता आँखा नदेख्ने भएर ‘केही उपाय लाग्ला कि’ भन्दै डा. सन्दुक भेट्न आएका रहेछन् । सन्दुकले अप्रेसन गरेपछि र आँखाको पट्टी खोलेपछि पेमसुम्तालाई सोधिएको थियो— कस्तो लाग्दै छ ? त्यो अद्भुत क्षणलाई फोटोग्राफर माइकल एमेन्डोलियाले एउटै क्लिकमा ‘जीवन्त’ उतारेका थिए, श्यामश्वेत तस्बिर, तर जीवनकै रंगीन क्षण ! तस्बिर ‘क्लिक’ गरिरहेका बेला पेमसुम्ताले भनेका थिए, ‘मैले सूर्यको प्रकाश मात्रै देखिनँ, बरु म आफैं सूर्य भएको महसुस गरें ।’ (आई एम नट वान्ली सिइङ द सन, आई फिल आई एम द सन !)

लेखक डेभिड ओलिभर रेलिनले आफ्नो पुस्तक ‘सेकेन्ड सन्स’ मा पेमसुम्ताले सहृदय दिएको प्रतिक्रियालाई हुबहु उतारेका छन्, जसमा डा. सन्दुक र माइकलले समात्ने क्षणभरका अद्भुत क्षणहरूको खुलेर बयान गरिएको छ । सम्भवतः डेविडले यो पुस्तकको नाम यही प्रेरणामा राखेका थिए— ‘सेकन्ड सन्स !’

यो संयोगको कथामा सन्दुकको जीवन र संघर्षबारे पुस्तक लेख्ने डेविड पनि माइकलको संगतमा थिए । ‘सेकन्ड सन्स’ पुस्तक लेखनकै क्रममा सिड्नी पुगेर डेबिडले माइकललाई भेटेका थिए— त्यहाँको एक नेपाली रेस्टुराँमा । निकै खुलस्त र बहिर्मुखी स्वभावका डेभिडले त्यसरी जीवनको अन्त्य रोज्लान् भनेर आफूले कल्पनासम्म नगरेको सुनाइरहेका थिए माइकल ।

फोटोग्राफर माइकल डा. सन्दुकसँगै उत्तर कोरियादेखि भुटान, भियतनामदेखि तिब्बतसम्म पुगेका छन् । सयौं र हजारौं अँध्यारो कुनोमा उज्यालो बत्ती बाल्दै हिँड्ने सन्दुकको हरेक अद्भुत क्षणको साक्षी बन्न पाएकामा माइकल आफूलाई भाग्यमानी सम्झिरहेका हुन्छन् । (तथ्यांकमा सन्दुक एक्लैले पछिल्लो ३० वर्षमा १ लाख ३० हजारभन्दा बढी आँखाको सर्जरी गरेका छन् ।)

‘सबैलाई थाहा छ, डा. रुइत सहृदयी छन्, मानवीय विनयी स्वभावसहित आफ्नो काममा एकदमै प्रतिबद्ध छन्,’ माइकल भन्छन्, ‘तर, डा. सन्दुक कतिसम्म अन्तर्मुखी र गोप्य छन् भने आज अपराह्नमा उनीसँग हुन गइरहेको सहकार्यका बारेमा मलाई यो बिहानसम्म पनि पत्तो हुँदैन । हेर्दै जानुहोला, छिट्टै सन्दुकको जीवनमा ठूलै कीर्तिमानी र गौरवको क्षण आउनै लागेको भए पनि त्यही घडी नआइन्जेलसम्म कसैलाई केही थाहा हुन्न ।’

तर, यसपाला अचम्मैसँग थाहा भएको एउटै कुरा हो— ओलाङचुङगोला । अस्ट्रेलियावासी माइकल एमेन्डोलियाले पनि गोलाको नामकाम यसपाला राम्रै गरी सुन्न पाएका छन् । नेत्र चिकित्सक फ्रेड होलोज (फाउन्डेसन) सम्बद्ध एमेन्डोलिया यसपाला सिड्नीबाट काठमाडौं र वसन्तपुर–फुङलिङ–तापेथोक हुँदै तमोर किनारा पछ्याएर गोला जाने भएका छन् । सायद डा.सन्दुकले जीवनमै पहिलोपटक आफ्नो आगामी योजनाबारे माइकललाई सुनाएको दुर्लभ सूचना (पहिलो र अन्तिम) यही हुनुपर्छ । (कि यत्तिका वर्षपछि डा.सन्दुक स्वयम् यो पाला आफ्नो जन्मथलो गोला जाने भएका छन्, अचम्म गरी सूचना चुहिएको छ ।)

‘त्यही भएर हिजोसम्म मेरो फोटोग्राफीमा ‘मिसन डा. रुइत’ हुन्थ्यो भने अबको मिसन फेरिएको छ— मिसन गोला !’, यति भनेर एमेन्डोलिया राम्रैसँग हाँसे, दोरम्बापछिको भेटमा, ‘नबिर्सनुहोला, उतै भेटौंला । मिसन ओलाङ्चुङगोला !’

प्रकाशित : पुस ३०, २०७९ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?