‘नेपालले राजा हटायो, श्रीलंकाले जन्मायो’

जनकराज सापकोटा

युर्निभर्सिटी अफ सिकागोबाट विद्यावारिधि गरेका मानवशास्त्री अर्जुन गुणरत्ने अमेरिकाको म्याकालेस्टर कलेजका प्राध्यापक हुन् । श्रीलंकामा जन्मेका गुणरत्ने एक समय नेपाल एन्ड हिमालयन स्टडिजले प्रकाशन गर्ने ‘हिमालय जर्नल’ का सम्पादक थिए ।

‘नेपालले राजा हटायो, श्रीलंकाले जन्मायो’

सन् १९८० मा नेपाल आएर थारु जातिमाथि बृहत् अध्ययन गरेका गुणरत्ने नेपाली समाज, थारुहरुले उठाइरहेको पहिचानका मुद्दा र सीमान्तीकृत समुदायबारे गहिरो बुझाइ राख्छन् । औलो उन्मूलन कार्यक्रमपछि थारुहरुको सांस्कृतिक, सामाजिक र आर्थिक रुपान्तरण कसरी भयो भन्ने विषयमा उनले अध्ययन गरेका छन् । राज्यले अँगालेका नीतिका कारण थारुमा पहिचानको सवाल कसरी पेचिलो बन्यो भन्ने विषयमा गुणरत्नेको किताब ‘मेनी टङ्ग्स, वान पिपल : द मेकिङ अफ थारु आइडेन्डटिटी इन नेपाल’ प्रकाशित छ । गुणरत्ने नेपाल आएका बेला जनकराज सापकोटाले गरेको संवाद :

पश्चिमाहरूको अध्ययनमा नेपालका धेरै विषय समेटिएका छन् । तपाईं केको खोजीमा नेपाल आइपुग्नुभयो ?

अमेरिकाको युर्निभर्सिटी अफ सिकागोको विद्यार्थी छँदै पीएचडी रिसर्चका लागि श्रीलंका नजिकैको देश जान चाहन्थें । सुरुमा भारत जाने योजना बनाएको थिएँ । तर, त्यतिबेला (१९८०) श्रीलंकामा जारी गृहयुद्धमा भारतले विद्रोही समूह तमिल टाइगरलाई मद्धत गरेको थियो । त्यसैले दुई सरकारबीच राम्रो सम्बन्ध थिएन । र, भारत गएर काम गर्न पाउँदिन भन्ने लाग्यो । अनि नेपालतिर हेर्न थालेँ । दुवै देशमा बुद्धधर्मावलम्बी छन्, दुई देशको सम्बन्ध पनि राम्रो छ । सुरुमा त रोमान्टिक भएर नेपालमा पहाड, हिमाल छन् भन्ने तरिकाले हेरेँ । नेपालबारे पढ्न थालेपछि थाहा पाएँ– जति पनि विदेशी रिसर्चर छन्, तिनले पहाडी र शेर्पाबारे अध्ययन गरेका रहेछन् । सोचेँ, अरूभन्दा फरक किन नगरूँ ! अनि तराईतिर केन्द्रित भएँ । तराईमा पनि थारूमाथि अध्ययन गर्ने सोचेँ । त्यतिबेला थारूबारे दाङका द्रोणप्रसाद रजौरिया, बेलायती मानवशास्त्री क्रिस म्याकडोना र फ्रेन्च मानवशास्त्री जिसेल काउसकोफले मात्रै अध्ययन गरेको थिए । सन् १९८० को सेप्टेम्बरमा नेपाल आएँ ।

अध्ययन कसरी सुरु भयो ?

सुरुमा काठमाडौंमा २ महिना नेपाली सिकेँ । त्यसअघि युनिभर्सिटी अफ विस्कन्सिनको समर ल्याङवेज कार्यक्रमअन्तर्गत नेपाली भाषा सिकेको थिएँ । सुरुमा कञ्चनपुर पुगेँ । पछि दाङ देउखुरी, नवलपरासी, चितवन, रौतहट, सिरहा, सप्तरी, उदयपुर र मोरङसम्म घुमेँ । तर, मेरो अनुसन्धानको केन्द्र चितवनको बछौली थियो । पहिलोपल्ट २० महिना चितवनमा साथी सत्यनारायण चौधरीसँग बसेँ ।

तस्बिरहरू : इलिट जोशी/कान्तिपुर

तपाईंको अध्ययनले नेपालमा पनि अल्पंसख्यक छन् र तिनीहरूमाथि बहुसंख्यकको शासन छ भन्छ ?

नेपालमा अल्पसंख्यक छैनन्, किनकि नेपालमा स्पष्ट रूपमा बहुसंख्यक नै छैनन् । नेपालको मुद्दा भनेको दलित, जनजाति र मुस्लिमको हो, जसको हातमा शक्ति छैन । अर्कोथरी उच्च जातका मानिस छन्, जसको हातमा शक्ति छ । यही नै नेपालको मुद्दा हो । श्रीलंका, म्यानमार, पाकिस्तान र बंगलादेशमा जस्तो कुनै स्पष्ट जातको बहुसंख्यक अवस्था नेपालमा छैन । जस्तो कि, श्रीलंकामा सिंहाली बुद्धिस्ट छन् । उनीहरू जनसंख्याको झन्डै ७० प्रतिशत छन् । त्यसैले त्यहाँ उनीहरूबाहेकका अरू सबै अल्पसंख्यक हुन् । नेपालमा बाहुन करिब १३ प्रतिशत छन् । यो ठूलो संख्या त हो, तर यो बहुसंख्यक होइन ।

थारूहरूमाथिको तपाईंको अध्ययनको निचोड के छ ?

थारूहरू शिक्षित हुन सक्छन्, डाक्टर वा वकिल हुन सक्छन् । तर, शिक्षितै भए पनि योग्यता अनुसारको सम्मान पाउँदैनन् । यस्तो अभ्यास अमेरिकामा पनि छ । अफ्रिकन अमेरिकन जनता जो उच्च योग्यताका छन् र पनि विभेद खेप्छन् । थारू ऐतिहासिक रूपमै दबाइएका जात हुन् । पछाडि पारिएकालाई कसरी अगाडि ल्याएर एउटै लाइनमा उभ्याउने भन्ने महत्त्वपूर्ण हुन्छ । यो परिस्थिति बदल्न, सरकारले विशेष नीति ल्याउनुपर्छ । जस्तो कि आरक्षण । नेपालको थारू समुदाय र अरू जनजातिमा पनि गहिरो बुझाइ के छ भने सरकारले हामीलाई अगाडि बढाउन पहल गरेको छैन । उनीहरूको बुझाइ छ– स्कुले शिक्षा र डिग्री लिएर पनि म योग्यता अनुसारको स्थान पाउन सक्दिन ।

३० वर्षअघिको तपाईंको अध्ययन र अहिलको भ्रमणपछि थारू समुदायमा के बदलाव देख्नुभयो ?

समयक्रममा थारूको राजनीतिक चेतनामा धेरै बदलाव आएको छ । नेपालका परिवर्तनले थारूहरू राजनीतिक रूपमा सचेत भएका छन् । आफ्नो अधिकारका लागि प्रतिक्रियात्मक भएका छन् । माओवादी, जसको हिंसात्मक विगत छ, त्यस आन्दोलनमा धेरै थारू मारिए । हिंसात्मक आन्दोलमा मारिनेको कुल संख्या हेर्दा त्यसमा थारू जनसंख्याको अनुपातमा उनीहरू धेरै मारिएका छन् । त्यसले उनीहरूलाई र्‍याडिकलाइज गर्‍यो । मधेशी आन्दोलनले पनि त्यसमा केही काम गर्‍यो । धेरै खालका राजनीतिक परिवर्तनका आन्दोलनले थारू र अरू जाति, जो विगतमा प्रतिक्रियात्मक थिएनन्, तिनीहरूलाई सचेत बनायो । थारूको राजनीतिक शक्ति निर्माण त्यही हो । मूलधारका दलले स्थान नदिएपछि पनि यो भएको हुन सक्छ । चितवनमा मलाई थारू समुदायका साथीहरूले भन्नुभयो– कुनै पनि मूलधारको दलले थारूलाई टिकटसम्म दिएन, जबकि चितवनमा थारूको जनसंख्या ठूलो छ ।

पहिले लामो समय बस्नुभएको चितवनमा तीस वर्षपछि फेरि पुग्नुभयो । समाजमा भने कस्तो बदलाव आएछ ?

चितवनका थारू हेर्दा जीवनशैली र उनीहरूले उपभोग गर्ने सामानमा धेरै परिवर्तन देखेँ । पुराना शैलीका घर घट्दै गएछन्, थुप्रै थारू विदेश गएछन् । बहुसंख्यक थारू खाडी, मलेसिया गएको देखेँ । थोरै युरोप वा उच्च शिक्षाका लागि अन्य देश गएको देखेँ । धेरै मानिस विदेश भएकाले मानिसको सोचाइमा पनि परिवर्तन आएको छ । जस्तो तीस वर्षअघि महिलाले साइकल चढेको बिरलै देखिन्थ्यो । त्यस्तालाई धेरैले साहसी ठान्थे । तर, अहिले महिलाले साइकल मात्रै होइन, स्कुटर नै चलाएको देखेँ । पहिचानका कुरामा मानिस बढी सचेत देखेँ । जस्तो, कुनै ठूला कार्यक्रम र समारोहमा थारू महिलाले परम्परागत वेशभूषा र गरगहना नै लगाएर आउँछन् । जबकि पहिले यस्तो थिएन । उनीहरूले ‘हामी थारू हौं’ भनेर देखाउन चाहिरहेका छन् । थारूहरू पहिले भोजमा भुइँमा बसाएर खुवाउँथे । अहिले पश्चिमा शैलीमा वुफेट लगाइन्छ ।

तपाईंको किताब ‘मेनी टङ्ग्स, वान पिपल : द मेकिङ अफ थारू आइडेन्डटिटी इन नेपाल’ बारे केही भनिदिनुस् न !

नेपाल आउनुअघि अमेरिकामा उपलब्ध नभएकाले मैले थारूबारे धेरै सामग्री पढ्न पाएको थिइनँ । यति मात्रै पढ्न पाएको थिएँ, जसमा लेखिएको थियो, ‘थारू विभिन्न समूहका मिलन हुन्, उनीहरू विभिन्न समुदायमा बाँडिएका छन्, ठाउँ अनुसारको भाषा, संस्कृति र परम्परा छ ।’ यहाँ आएपछि सुरुमा विराटनगर पुगेँ । त्यहाँ थारू कल्याणकारी सभाको सम्मेलन थियो । सबैजसो वक्ताले मेचीदेखि महाकालीसम्म ‘हाम्रो जात एउटै हो’ भनेको सुनेँ । सोचेँ– कसरी एउटै हो ? जबकि थारूहरू फरक–फरक देखिन्छन् । भाषण गर्नेले पनि थारू भाषामा नबोली हिन्दी वा नेपाली भाषामा बोलेका थिए । मलाई खुलदुली भयो– किन उनीहरू आफूलाई एउटै भनिरहेका छन् ? यसको उत्तर मैले किताबमा खोजेको छु ।

यो विषय बुझ्न राणाकालमा जारी मुलुकी ऐनसम्मै पुग्नुपर्छ । त्यस ऐनले तराईका थारूलाई एउटै समूहमा राखेको छ । २००७ को प्रजातन्त्रपछि सडक निर्माण, मलेरिया उन्मूलन, शिक्षाजस्ता कारणले फरक–फरक ठाउँका थारूबीच सम्पर्क विस्तार भयो । जस्तो, वीरगन्जमा स्कुल खुल्दा देउखुरी, सिरहा र सप्तरीका थारू भेट भए । भेटघाटले उनीहरूमा पहिचानको कुरा गरायो । थारूलाई एकै ठाउँ ल्याउने काम नेपालको विकास योजनाले गर्‍यो । नेपालको राजनीतिले पनि एकीकृत नभएसम्म भिजिवल भइँदैन र त्यसका लागि संख्या महत्त्वपूर्ण हुन्छ भन्ने देखायो । त्यसले पनि थारूलाई एकै ठाउँ ल्यायो ।

तपाईंले श्रीलंकाको विकासदेखि पछिल्लो आर्थिक संकटसम्म देख्नुभयो । तपाईं पहिलोपटक नेपाल आउँदा यहाँ राजतन्त्र थियो, अहिले गणतन्त्र छ । श्रीलंका र नेपालबीचका फरक अनुभव के रहे ?

म सुरुमा नेपाल आउँदा आम नेपालीको बुझाइ थियो– श्रीलंकाले धेरै विकास गरेको छ । किनकि श्रीलंकामा प्रजातान्त्रिक व्यवस्था थियो, नेपालमा राजतन्त्रात्मक पञ्चायती व्यवस्था । तर, अहिले ठ्याक्कै उल्टो भयो । नेपालमा प्रजातन्त्र छ ।

भलै नेपालीहरू सुनाउँछन्– हाम्रो प्रजातन्त्रमा समस्या छ । त्यसैले केही यो व्यवस्थाप्रति निरुत्साहित छन्, केही आलोचनात्मक । तर, जसले जे भने पनि नेपालमा प्रजातन्त्र छ, नियमित चुनाव भइरहेको छ, सरकार बदलिइरहेको छ । प्रेस स्वतन्त्र छ । जनता बोल्न स्वतन्त्र छन् । भलै नेता भ्रष्ट होलान्, तर जनताले तिनको आलोचना गर्न त पाएका छन् । मानिसहरू ठूला नेताविरुद्ध सजिलै बोल्न सक्छन् । प्रजातन्त्रको सुन्दर पक्ष हो यो । तर, श्रीलंकामा यस्तो छैन । नेपालले राजा हटायो, तर, श्रीलंकाले राजा जन्मायो । हाम्रो संविधानमा कार्यकारी प्रधानमन्त्रीको पद राखियो, त्यो नै राजाजस्तो भयो । श्रीलंकाको प्रेस नेपालको जस्तो स्वतन्त्र छैन । भन्न त ‘फ्री प्रेस छ’ भनिन्छ, तर नेपालको जस्तो स्वतन्त्रता छैन ।

पछिल्लो तीस वर्षमा नेपाल र श्रीलंकामा धेरै फरक देखिएको छ । नेपालमा प्रजातन्त्र झनै फस्टाइरहेको छ, श्रीलंकामा झन् खुम्चिरहेको छ । खराब आर्थिक नीति र चरम भ्रष्टाचारले श्रीलंकामा सबै कुरा कोल्याप्स भयो । चितवनका केही स्थानीयले मलाई भने, ‘नेपालमा पनि धेरै भ्रष्टाचार छ । राजनीतिक नेताहरू भ्रष्ट छन् ।’ तर, मैले भनें, ‘तपाईंहरूको नेताको भ्रष्टाचारको लेबल किन्डर गार्डेनको जस्तै हो । श्रीलंकाको नेताहरूको भ्रष्टाचार युनिभर्सिटी लेभलको जस्तै हो ।’

प्रकाशित : पुस ३०, २०७९ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?