कथा सुनाइरहेका घरहरू

इतिहासको स्मृति जोगाएर राख्ने चिन्तन र अभ्यास भएका देशमा शताब्दियौंपछि पनि घर हरुले कथा भनिरहेका छन्
नारायण कोजु

त्यसो त हरेक घरका आफ्नै कथा हुन्छन् । त्यस घरका मालिक र उसको परिवारले देखेको सपना । त्यो सपना पछ्याउँदा चाहिने पुँजी र त्यो पुँजी जम्मा गर्न गरेको मिहिनेत । अनि सिकर्मी–डकर्मीहरूको परिश्रमले ठडिएको संरचना । र, त्यो संरचनामा समयक्रमसँगै लेखिएका अनेकन् गाथा । त्यसैले प्रत्येक घर केवल चार दिवारमा कैद भौतिक आकार मात्रै होइन, बरु अनगिन्ती गाथाले भरिएको कथा हो ।

कथा सुनाइरहेका घरहरू

मानवीय क्षमताको सीमा नै हो सायद हरेक ती कथा सीमित मानिसको लघुस्मृतिमै संकुचित हुन्छन् । थोरै मात्र घरले फराकिलो वृत्तको दीर्घकालीन स्मृतिसम्म जाने अवसर पाउँछन् । शासकसँग सम्बन्धित वा कीर्तिमानी व्यक्तिका घर मात्रै त्यस्तो भाग्यशाली हुन्छन्, जो दीर्घकालीन स्मृतिसम्म पुग्छन् । आमजनले ‘महाकवि’ भनी पुकारेका लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएर नयाँ संग्रहालय बनाउने अभ्यास भएको नेपालमा त्यस्तो अवसर पाउने भाग्यमानी घर विरलै हुन्छन् । तर, इतिहासको स्मृति जोगाएर राख्ने चिन्तन र अभ्यास भएको देशमा भने घरहरू पनि कथा सुनाइरहेका हुन्छन् । त कतिपय घर भने कथा सुनाउनकै लागि बनाइएका हुँदारहेछन्, जसले शताब्दियौंसम्म पनि आफ्नो समयको कथा भनिरहेका छन् ।

त्यस्तै घरहरू घुम्ने र तिनका रोचक कथा सुन्ने अवसर मिल्यो– जर्मनीको अरफोर्ट सहर घुम्दा । एउटा यस्तो सहर, जहाँ हरेक घरका आफ्नै किस्सा–कहानी छन् । ती कथाले तिनका मालिकका सपना, रहर, कामना र आकांक्षा वर्णन गर्छन् । यो लेखमा म तिनै केही घरहरूको कथा कहन्छु ।

पाँच महिला उभिएका घर

अरफोर्ट सहरको मुख्य बजार ‘माछा बजार’ को चोकमा पूर्व फर्किएर खडा छ– एउटा पुरानो रंगीन घर । त्यस भवनको दोस्रो तलामा पाँचवटा झ्याल छन् । बाहिरी भित्तामा हरेक झ्यालको मुनिपट्टि छन्– विभिन्न मुद्रामा उभिएका पाँच महिलाको आकृति । बायाँबाट दायाँ हेर्दै जाँदा यस्तो दृश्य देखिन्छ– पहिलो महिला चिलनजिक बसेर आफ्नो सुन्दर मुहार ऐनामा हेरिरहेकी छन् । दोस्रो महिला चञ्चल मृगसँगै लुथेरिअन गितार बजाइरहेकी छन् । तेस्रो महिला कुकुरनजिकै बसेर फूलको सुगन्ध लिइरहेकी छन् । चौथो महिला फल–फूलको टोकरीसँगै फलको रस वा मदिरापान गरिरहेकी छन्, उनको नजिकै छ बाँदर । पाँचौं महिलाले हातमा बाज बोकेकी छन् र उनको नजिकैबाट एउटा कछुवा समुद्रतिर गइरहेको छ । कसले बनाउन लगायो यस्तो घर ? किन कुँदियो यी पाँच महिलाका आकृति ? जिज्ञासाको जवाफमा सुन्नपाइयो यो कहानी ।

कथा हो इसाको सोह्रौँ शताब्दीको । त्यतिबेला उक्त सहरका म्याजिस्ट्रेट एवं काउन्सिलर थिए हेइनरिच वोन डेन्स्तेद्त । औपचारिक रूपमा उनको कुनै पनि महिलासँग विवाह भएको थिएन, तर पाँच जना महिलासँग सुखी र आनन्दित जीवन बिताइरहेका थिए । सन् १५८४ तिर काउन्सिलर हेइनरिचलाई आफ्नो सुखी जीवन प्रतित हुनेगरी एउटा नयाँ घर बनाउन मन लागेछ । आफ्नो मनोकामना पूरा गर्न उनले अहिले बेल्जियममा पर्ने ‘अन्त्वेर्प’ सहरका आर्किटेक्ट फ्रान्स फ्लोरिसलाई बोलाए । उनको इच्छाअनुसार, फ्लोरिसले एक विशाल भवन बनाए, जसमा ती पाँच महिलाको आकृति कुँदिएको छ । आर्किटेक्ट फ्लोरिसले ती पाँच महिलाको आकृतिबाट मानव शरीरका पाँच ज्ञानेन्द्रियको चित्रण गरेका छन् ।


पहिलो महिलाको आकृतिले आँखालाई जनाउँछ । उनीसँगै कुँदिएको पक्षी चिल निकै टाढासम्म देख्न सक्ने जीव हो । दोस्रो महिला संगीत श्रवणमा लीन छिन्, जसले कानलाई जनाउँछ । उनीसँगै चञ्चलपनको रूपमा मृगको आकृति कुँदिएको छ । तेस्रो महिलासँगै कुकुर उभिएको छ । संसारैभरि गन्ध पत्ता लगाउन प्रयोग गरिने कुकुर नाकको प्रतीक हो । चौथो महिला मदिरापान गरिरहेकी छन्, जसले जिब्रोलाई संकेत गर्छ । उनीसँगै रहेको बाँदरले भने मदिरापानले हाम्रो इन्द्रियलाई बाँदरजस्तै अराजक बनाउँछ भन्ने जनाउँछ । पाँचौँ महिलाको हातमा बाज छ । बाज अत्यन्तै चलाख सिकारी हो । उनको नजिकबाट एउटा कछुवा समुद्रतिर गइरहेको छ । समुद्री कछुवाले समुद्रबाट अलि पर गएर फुल पार्छ । ती फुल कोरलेर जन्मिएका कछुवाका बच्चाहरू समुद्रबाट बहने हावाको चिसोपन महसुस गर्दै समुद्रसम्म पुग्छन् । यो मूर्तिमा कुँदिएको कछुवा स्पर्शको प्रतीक हो ।

पाँचवटा ज्ञानेन्द्रियलाई पाँच महिलासँग जोडेर आर्किटेक्ट फ्लोरिसले घरलाई सुखको प्रतीकको रूपमा प्रस्तुत गरेका छन् । हाम्रा पाँचओटै ज्ञानेन्द्रिय सुखी भएपछि मात्रै सुख पूर्ण हुन्छ भन्ने सन्देश उनले दिएका छन् । साथै काउन्सिलर हेइनरिचको जीवनसँग जोडिएका पाँच महिलाले उनलाई ज्ञानेन्द्रियहरूले दिने सुख दिएको देखाएका छन् ।

व्यापारीहरूको पुल

मध्यजर्मनीको थुरिङ्गजिया प्रान्तको राजधानी अरफोर्ट सहर मध्ययुगको बिसौनी हो । पश्चिम युरोपबाट बाल्टिक देशहरू र मस्कोसम्म व्यापार गर्न जाने व्यापारी यहीँ बास बस्ने गर्थे । मस्कोमा हमला गर्न आउँदा नेपोलियन पनि यहाँ महिनौंसम्म बसेका थिए । यो सहरको अर्को एउटा आकर्षण हो, बेनेदिक्त्स्पल्ज र वेनिगेमर्क्त सहर–बजार जोड्ने एउटा ऐतिहासिक पुल । ‘कामरब्रुक्चे’ अर्थात् व्यापारीहरूको पुल नाम दिइएको यो पुल युरोपकै पुरानामध्ये एक पुल हो । सन् १३२५ मा काठका मुढाहरूको बार बनाएर निर्माण गरिएको यो पुलले उच्च भार थेग्न सक्छ । १२५ मिटर लामो यो पुललाई ६ वटा आर्कले थेगेका छन् । पुलमा चुनढुङ्गा र बलौटे ढुङ्गा बिछ्याइएको छ । सबैभन्दा आश्चर्यमा पार्ने कुरा के भने यो पुलका दुवै किनारमा लहरै घरहरू बनाइएका छन् । ३२ वटा मुढाहरूको फ्रेममा बनाइएका यी घर सात सय वर्षदेखि उभिइरहेका छन् ।

सन् ११७५, ११७८, १२१३, १२२२, १२४५, १२६५ र १२९३ गरी सात पटक आगलागीबाट क्षतिग्रस्त भएको ‘कामरब्रुक्चे’ मा अहिले पनि बजार र व्यापार मध्ययुगको जस्तै जीवन्त छ । अहिले पनि वार्षिक पाँच लाख पर्यटकलाई स्वागत गर्ने यो पुल र यहाँका व्यापारिक भवनले आजम्म करोडौं यात्रुलाई आतिथ्य प्रदान गर्‍यो होला ।

रमाइलो त यो पुलमाथिको बजारको बनोट हो, जुन सयौं वर्षदेखि उसैगरी बसिरहेको छ । पाँच सय वर्षअघि यो पुलमाथि ६४ घर थिए । अहिले ती घर जोडेर ३२ ओटा बनाइएको छ । तर, घरहरूमा रहने पसलको लहर भने त्यतिबेला जस्तो थियो अहिले पनि उस्तै छ । पुलको उत्तरबाट दक्षिणतिर जाँदा पहिलो पसल छ सेरामिक्सको । अनि कागजका कलाकृति हुँदै अन्तिममा छ चकलेटको पसल ।

१२५ मिटर लम्बाइ र कतै पाँच त कतै आठ मिटर चौडाइ भएको यो पुलमुनि बग्ने गेरा नदीको पानीलाई पिउनयोग्य बनाइएको छ । नदी किनारको हरियाली, पानीमा माछा र हाँसहरू खेलिरहेको दृश्यले ‘कामरब्रुक्चे’ लाई अनुपम बनाएको छ । यो नदी सधैँ यस्तै स्वच्छ थिएन । दोस्रो विश्वयुद्धसम्म पनि यो नदीको पानी सफा थिएन । वनस्पतिबाट निलो रङ प्रशोधन गर्दा निस्कने फोहोर मिसाइएकाले नदी निकै प्रदूषित थियो । सन् १९५० को दशकपछि पूर्वी जर्मनीमा आएको वृक्षारोपणको लहरले अरफोर्ट सहर वरपर जंगल बन्यो । त्यसपछि नदीमा फोहोर मिसाउने काम रोकियो । नदी संग्लो भयो । कामरब्रुक्चेमा उभिएर नदी हेरिरहँदा र त्यसको इतिहास थाहा पाउँदा मनमनै कल्पना गरेँ, कुनै दिन हाम्रो वाग्मती र हनुमन्ते पनि यसैगरी स्वच्छ होला । हामी पनि फोहोरबाट स्वच्छ बनेको नदीको कथा सुनाउन पाउँला ।

रातो गोरु घर

अरफोर्ट सहरका अनेकन् कथा कहने घरमध्ये अर्को एउटा हो, ‘हाउस जुम रोटेन् ओच्सेन्’ । सन् १३९२ मा बनेको यो घरले सिंगो सहरको समृद्धिको इतिहास बताउँछ । नीलो रङको कारोबार र स्थानीय बियरको उत्पादनले सोह्रौं शताब्दीमा अरफोर्ट सहरलाई युरापकै व्यापारिक केन्द्र बनाएको थियो । त्यतिबेला स्थानीय व्यापारीहरू समृद्धिको शिखरमा थिए । तीमध्ये एक थिए, जाकोब नफ्जेर । उनैले बनाउन लगाएका थिए– हाउस जुम रोटेन ओच्सेन । यो भवनको विशेषता हो, यसको बाहिरी भित्तामा कुँदिएको सुनौलो सिङ भएको रातो गोरु र सिंगो सौर्यमण्डलको आकृति ।


सौर्यमण्डलका नौओटा सदस्य सूर्य, चन्द्रमा, मंगल, बृहस्पति र शनि ग्रहको आकृति कुँद्न लगाएर नफ्जेरले आफू सौर्यमण्डललाई घरैमा ल्याउन सक्नेसम्मको सम्पन्न भएको देखाएका थिए । पुनर्जागरणकालको पूर्ण प्रतिविम्ब बोकेको यो भवनमा कुँदिएको सुनौलो सिङधारी रातो गोरुको आकृतिले भने नफ्जेरको सम्पन्नता गोरुको सिङलाई पनि सुनको लेप लगाउन सक्नेगरी भएको अर्थ दिन्छ ।

कुनै समय सिनेमाहलसमेत बनिसकेको यो भवन अहिले प्रदर्शनी केन्द्रका रूपमा सञ्चालित छ, जहाँ अनेकौं कलाकारले आफ्नो सृजना प्रदर्शन गर्छन् । गत सेप्टेम्बरमा म त्यहाँ पुग्दा प्राकृतिक संग्रहालयमा संग्रहित उत्कृष्ट सय सामग्रीको प्रदर्शनी चलिरहेको थियो ।

थर नराखेको प्रमाण घर

नेपालीको जस्तै रहेछ जर्मनहरूको चलन पनि, विवाहपछि पत्नीले पतिको थर राख्ने परम्परा । तर, परम्परा त परिवर्तनशील हुन्छ । नेपालमा फरक थरका महिलाले विवाहपछि पनि थर परिवर्तन नगर्ने चलन सुरु भइसकेको छ । अरफोर्ट सहरमा भने थर नराख्ने यो चलनको सुरुआत सन् १५६१ तिरै सुरु भएको रहेछ । यो इतिहास सुनाउँछ त्यहाँको एक घरले ।


पतिको थर नराखेर आफ्नै थर राख्ने ‘अन्ना स्च्वा न्फ्लोगेलिन’ र उनका पति ‘इल्गेन मिल्विक्ज’ को नाममा बनेको त्यो भवन हो– ‘इल्गेन मिल्विक्ज र अन्ना स्च्वा न्फ्लोगेलिन’ । ती दम्पती त्यतिबेला जौ र त्यसबाट बन्ने बियरका सफल व्यापारी थिए । परम्परा तोडेर नयाँ संस्कार सुरु गरेको स्मृतिमा बनाइएको त्यो घर अहिले एक संग्रहालयका रूपमा संरक्षित छ । उक्त संग्रहालयमा पुराना भवनका संरचना, बियर बनाउने पुरानो प्रविधि र त्यतिबेलाको वेशभूषा अवलोकन गर्न पाइन्छ ।

योग्य वर कुरिरहेको ढोका

अरफोर्ट सहरका हरेकजसो घरमा एउटा साझापन छ । घरको मूलढोकाको दायाँबायाँ मानिस बस्न मिल्ने स्थायी कुर्सी बनाइएको हुन्छ । यी कुर्सीले सहरको प्रेम र प्रेमिकाको प्रतीक्षाको कथा कहन्छन् ।

१३ औंदेखि १८ औं शताब्दीसम्म युरोपकै व्यापारिक केन्द्र बनेको अरफोर्ट सहरमा पूर्व–पश्चिम व्यापार गर्ने सबै व्यापारी तीनदेखि ६ महीनाको अन्तरमा अनिवार्य आउने गर्थे । उनीहरू कम्तीमा तीन दिन त त्यो सहरमा बस्थे नै । व्यापारका मालसामान, घोडा, दासदासी र प्रशस्त धनदौलत बोकेर यात्रा गर्ने ती व्यापारी स्थानीयका आकर्षणका केन्द्र हुनेगर्थे । तीमध्ये कतिपय त विवाह गर्ने उमेरका कुमार केटा पनि हुन्थे । ती युवकहरूसँग अरफोर्टका अविवाहित युवतीको मायापिरती बस्थ्यो । पिरती गाँसेका व्यापारी युवक केही दिनमै फर्किहाल्थे । र, व्यापारको सिलसिलामा घुम्दैफिर्दै फेरि त्यस्तै तीन–छ महिनामा आइपुग्थे । त्यसरी महिनौंपछि आएको प्रेमी भेट्ने ठाउँ हुन्थ्यो, त्यही ढोकानेरैको कुर्सी । प्रेमी आउने दिन नजिकिन थालेपछि प्रेमिकाहरू त्यही कुर्सीमा हरेक साँझ पर्खिबस्थे । प्रेमी नबनाइसकेका युवतीहरू आफ्नो घरको मूलढोकामा भएको कुर्सीमा बसेर योग्य प्रेमीको प्रतीक्षा गर्थे । अरफोर्ट सहरको आफ्नै चलन थियो । प्रेमी वा सम्भावित प्रेमीलाई घरभित्र सोझै लगिँदैनथ्यो । युवा–युवती तिनै कुर्सीमा बसेर बातचित गर्थे । ढोकाभित्रबाट युवतीका परिवारजनले बातचित सुनिरहेका हुन्थे । कान थापिबसेका परिवारजनलाई युवकले कुरैले आकर्षित गर्न सके त्यो जोडीलाई आफ्नो सम्बन्ध अघि बढाउने अनुमति मिल्थ्यो ।

अरफोर्ट सहरले आजसम्मका दिनमा के मात्रै भोगेन ? नेपोलियनको युद्धदेखि दोस्रो विश्वयुद्धको त्रासदीसम्म ! मान्छेले मान्छेको संहार गरिरहेको त्यो समयमा पनि ती ढोकानेरका कुर्सीले प्रेमको गीत गाउन छोडेनन् । आज पनि अरफोर्ट सहर घुमिहेर्दा आभास हुन्छ– यो सहरकी सुन्दर युवती कुनै अमुक सुन्दर युवकको प्रतिक्षामा बसिरहेकी छन् । प्रेम त आखिर निरन्तर छ, युद्ध मात्रै हो सुरु र अन्त्य हुने ।

प्रकाशित : पुस ३०, २०७९ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?