२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मृतकको युद्ध सफर

सिपी अर्याल

श्रीलंकामा २६ वर्ष चलेको तमिल टाइगर्स र राज्यबीचको गृहयुद्धका कारण लगभग १ लाख मानिस मारिएको आकलन संयुक्त राष्ट्र संघको छ । जो युद्धको विभीषिकाबाट मरे, सायद उनीहरू नै भन्न सक्थे, युद्धको प्रताडना साँच्चै कस्तो हुन्थ्यो । मरेकाहरू कसरी बोलून् ? तर, मरिसकेकालाई युद्धकथा बकाएर युद्धको असली विध्वंस बताउने चलाखीपूर्ण तरिका अपनाएका छन् सेहान करुणातिलकाले ‘द सेभेन मुन्स अफ माली अलमेडा’ मार्फत ।

मृतकको युद्ध सफर

उपन्यासले भर्खरै २०२२ को बुकर पुरस्कार जितेको छ । २००९ मा युद्ध सिद्धियो तर यही उपन्यासले एक पटक फेरि संसारभर श्रीलंकाको गृहयुद्धको ‘बदनामी’ चलाइरहेको छ ! भर्खरै पोखरामा भएको नेपाल लिटरेचर फेस्टिभलमा भाग लिन आएका लेखक करुणातिलका अलि वाचाल र नम्र आवाजमा बोल्दै थिए— श्रीलंकाको बीभत्स युद्धकथा संसारलाई सुनाइरहेको छ पुस्तकले ।

फरक शीर्षक र उस्तैउस्तै कथामा २०१५ मै ‘डेभिल डान्स’ नामको पाण्डुलिपि बनेर, २०२० मा पनि ‘च्याट्स विद द डेड’ नाममा प्रकाशित हुँदै बल्ल ‘द सेभेन मुन्स अफ माली अलमेडा’ बनेको हो । यहाँसम्म आउँदा अघिल्ला किताबकै परिष्कृत संस्करण (केही समालोचकहरूले ‘रिसाइकल्ड भर्सन’ पनि भनेका छन्) यस पुस्तकमा श्रीलंकाको निर्मम गृहयुद्ध, गोलमटोल राजनीति र पूर्वीय मिथकबारे अझ प्रस्ट शैलीमा लेखिएको छ । परिष्कृत संस्करण ल्याउनुको कारण दिन्छन् लेखक– श्रीलंकाको राजनीति, मारक गृहयुद्ध, मिथक र धर्मका कुरा भुटिभाङ थाहा नभएको पाठकलाई सबै कुरा बताउनु हो । अर्थात्, २६ वर्ष चलेको गृहयुद्धको भण्डाफोर गर्नु नै पुस्तकको असली नियत हो । यसअघि पनि सोही द्वन्द्वबारे श्रीलंकाली लेखक माइकल ओन्दाजेले लेखेको ‘अनिल्स गोस्ट’ ले प्रशस्त चर्चा पाइसकेको छ । युद्धको असली क्रूरता भण्डाफोर गर्ने सही साधन हुन् यस्ता लेखनी ।

२००९ मा गृहयुद्ध अन्त्य भयो । नेता, कर्मचारी, आमजनता, अन्तर्राष्ट्रिय संस्थाहरू युद्धमा मारिएकाको संख्या गन्न र युद्ध हुनुको कारणमाथि दोषारोपणसहितको विमर्शमा व्यस्त थिए । भयानक युद्धको प्रस्ट तस्बिर देखेका लेखकले त्यही छेकोमा यसको चिरफार गर्ने कथाबारे सोचे । सबै कुरा भन्दा, समग्र युद्धवरिपरिको राजनीति, भ्रष्ट र क्रूर समाजको यथार्थ बाहिर ल्याउनु त थियो नै उनलाई । त्यसका लागि यी सबै भोगेर मरेको मान्छे छाने उनले । यो, रूपमा कुटिल, तर सारमा बडो इमानदार र आलङ्कारिक लेखकीय प्रयास हो । युद्धको भण्डाफोर, त्यो पनि सोही युद्धमा मरेको मान्छेबाट !

उपन्यासको नायक हो माली अलमेडा । उसको सबभन्दा पहिलो परिचय— ऊ युद्धमा भर्खरै मारिएको एक फोटोग्राफर हो । त्यसबाहेक ऊ आफूलाई ग्याम्ब्लर (जुवाडे) र स्लट (वेश्या) पनि भन्छ । के ऊ भूत हो ? के ऊ मान्छे हो ? आफू मरिसकेको हो कि जिउँदै छु भन्ने भ्रान्तिमा (हलुसिनेसन) ऊ छ । सुरुआती केही पृष्ठमा त उसलाई आफ्नो मृत्यु भएकोबारे यकिन पनि हुँदैन । जीवन र मृत्युको विभ्रममा रहेको अवस्थाबाट कथा सुरु हुनुको पनि लाक्षणिकता देखाउन चाहन्छन् लेखक । उपन्यासको नायक यस्तो ठाउँमा छ, जसलाई ठीक शब्दमा भन्दा ‘विरेचन’ (पर्गेटोरी) सही हुन्छ । ऊ श्रीलंकाली महायुद्धको दुःखान्त नाटकमा मारिएको छ, नाटकभित्रका भयानक ठक्करको त्रासबाट मुक्ति चाहन्छ, आत्मा शुद्धीकरणका लागि आफ्नो मृत्युको कारण खोज्न तल्लीन छ । त्यसैका हेतु उसलाई सात दिन (सेभेन मुन्स) प्राप्त भएको छ । सात दिनको छोटो समय पाएकाले मृत्युपछि पनि उसलाई हतारैहतार छ । मृत्युपछिको जीवन र जीवनपछिको मृत्युमा कहीँकतै (इन बिटविन) टहलिएको छ ऊ । आफू किन मरेँ भन्ने उत्तरको लहरो खोज्दै जाँदा श्रीलंकाली महायुद्धका अनेक पहरा तानिँदै जान्छन् । विध्वंसका उराठलाग्दा वास्तविकताका पोया खुल्दै जान्छन् । यसप्रकारले माली अलमेडाको आत्मा उपन्यासभर घुम्छ, चित्रगुप्त बनेर, जसले आफ्नै जीवनका अनेक हन्डरबारे हरहिसाब देखाइरहेको छ पाठकलाई । ऊ त्यस्तो चित्रगुप्त पनि हो, जसले श्रीलंकामा भएको विध्वंस, मारकाट, भ्रष्टाचार, कुशासन, षड्यन्त्रको मुलाहिजा मसिनो स्वरूपमा पाठकसामु राख्दै छ । र लाग्छ, त्यसको असली वासलात कसैलाई बुझाएपछि उसलाई मोक्ष प्राप्त हुन्छ वा युद्धमा अनाहकमा ज्यान गुमाएकाहरूको आशिष मिल्छ वा अन्ततः उसलाई विरेचन मिल्छ त्यो पाप—भूमिबाट । यस अर्थमा, पूर्वीय अध्यात्ममा प्रचलित मोक्षको काल्पनिकी पनि मिसिएको छ उपन्यासमा ।

कडा राजनीतिक व्यङ्ग्य (डार्क पोलिटिकल ह्युमर), बिलकुल अनौठो हास्यचेत, इतिहास, मिथक इत्यादि अटाएको ३८६ पृष्ठको किताबमा सेहान करुणातिलकाले बिछट्टै अलक्कको ब्रह्माण्ड निर्माण गरेका छन् । आफू किन मारिएँ भन्ने खोजमा रहेको माली अलमेडाको आत्माले युद्धका बेला आफूले खिचेका फोटा व्यापक रूपमा खोज्छ । उसलाई लाग्छ, ती फोटाले युद्धको फोहोरी चरित्र पूरै भण्डाफोर गरिदिन्छ वा श्रीलंकाको सरकारै ढालिदिन्छ वा गृहयुद्ध नै रोकिदिन्छ । यस अर्थमा उसको खोजी सफल हुन्छ कि हुँदैन भन्नेमा उत्कट कौतूहल महसुस हुन्छ पाठकलाई । यसबेला घरी वर्तमानमा घरी भूतकालमा ओहोरदोहोर चलिरहन्छ मृतकको । अनेक ठाउँमा सफर चल्छ त्यो पात्रको । थुप्रैलाई भेट्छ । भेटेकाहरूको पनि ससानो कथाको धागो छ । यी सबै पढ्दा घरीघरी पाठक अलमलिएको महसुस हुन्छ । कथाको सही वेग पक्रन नसकेको हो कि झैँ लाग्छ ।

प्रसङ्गादि दोहोरिएको जस्तो पनि लाग्छ । यी सबै हुँदा क्रूर युद्ध र असाध्यै फोहोरी राजनीतिको दिगमिगले पनि सताउँछ । अलमेडाले पाएको समयअनुसार सात दिनको र थप एक गरी आठ खण्डमा बाँडिएका छन् अध्याय । अध्यायहरूलाई ‘फस्ट मुन’, ‘सेकेन्ड मुन’, ‘थर्ड मुन’, ‘फोर्थ मुन’, ‘फिफ्थ मुन’, ‘सिक्स्थ मुन’, ‘सेभेन्थ मुन’ र अन्तिम अध्यायलाई ‘द लाइट’ अर्थात् प्रकाश भनिएको छ । यी अध्यायको नामको बृहत् लाक्षणिकता पनि छ । जूनको मधुरो प्रकाश हुँदै अन्तिममा तीव्र उज्यालो आएको छ । यसको सङ्केत हुन सक्छ, जीवनको (र मृत्युको) सार खोज्दै जाँदा लेखकको मूल पात्र पुग्छ एउटा उज्यालो संसारमा र रहस्यको उत्तर फेला पार्छ । द्वितीय पुरुषको कथावाचन शैली गजबै छ ।

समलैङ्गिक सम्बन्धलाई अझै पनि कानुनी रूपमा बदर गरेको छ श्रीलंकाले । यद्यपि, १९८९ तिरको श्रीलंका देखाउँदा त्योबेलै यस उपन्यासको प्रमुख पात्र अलमेडा समलिङ्गी रहेको देखाउनु अलि ठूलै क्रान्तिकारिता मान्नुपर्छ । विध्वंसको चर्चाबीच ठाउँठाउँमै उक्त पात्रको यौनिकताबारे खास चर्चा गरिरहनु यौनिक अल्पसङ्ख्यकको अधिकारबारे क्रूर श्रीलंकाली शासकमाथिको एक किसिमको प्रहार पनि हो लेखकको ।

किताब सुरु गर्दा पाठक केही पेजसम्म अलमल हुन्छ । के भन्न खोजेको, कुन सन्दर्भ होजस्ता कुराहरूमा सुरुमा अप्ठ्यारो महसुस हुन्छ । त्यस्तै प्रमुख पात्र पनि सुरुमा आफू मृत हो कि जिउँदो भन्ने भेउ पाउँदैन, ऊ आफैँ र पाठकलाई पनि विभ्रम (हलुसिनेसन) मा पार्छ । पढ्दै जाँदा बल्ल पत्रहरू खुल्दै जान्छन्, पात्रहरू पनि खुल्दै जान्छन् । युद्धको भयानक दैनिकीले जिरिङजिरिङ पार्न थाल्छ । रक्तपातपूर्ण घटना र युद्धको डरलाग्दो राजनीति थाहा पाउँदै गर्दाको दिगमिगले किताब बीचमै छाड्न सक्ने खतरा पनि छ । यद्यपि, प्रमुख पात्रले आफ्नो मृत्युको कारण खोतल्न सात दिन पाएको कुरा बुझेपछि भने पाठकमा गहिरो खुलदुली सुरु हुन्छ । के उसले आफ्नो मृत्युको रहस्यको पोयो सात दिनमा खोल्न सक्छ त ? यसै प्रश्नमा पूरै किताब घनीभूत छ ।

रुस्दीका ‘स्याटनिक भर्सेस’ र ‘मिडनाइट्स चिल्ड्रन’ तथा मार्खेजको ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड’ मा झैँ जादूयी यथार्थ (म्याजिक रियालिजम) प्रयोगको सन्दर्भमा यस किताबलाई पनि त्यसको नजिक राख्ने कोसिस भइरहेको छ पश्चिमा समालोचकहरूबाट । यद्यपि, रुस्दी र मार्खेज आफ्नो मास्टरपिसको प्रस्तुतिमा काव्यिक छन्, करुणातिलकाचाहिँ अलिक ‘बीभत्स’ !

प्रकाशित : पुस ३०, २०७९ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?