कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

मोदी जिन्दावाद भर्सेस पोयट्री जिन्दावाद

सायद म युवा रहिनँ । हिजोका जस्ता तिखा, झरिला प्रश्न उम्रिन छाडिसकेका छन् मभित्र। कसले मारिरहेछ युवाहरूको युवापन ?
मनोज बोगटी

गाउँलाई बीचमा पारेर
सुरु हुनेछ आवाज आउनु ।
पहिले कुकुरहरू भुक्नेछन् कतैनेर
केही पर हिन्हिनाउनेछ घोडा
पारी कतै कराउनेछ स्याल
बीचमा कतै हुनेछ तित्राको चिरचिर
कतै हल्लनेछन् पातहरू अँध्यारोमा
र, कतै सुनिनेछ बाटोमा कसैको एक्लै हिँड्नु
यी सबैभन्दा बाहिर
हुनेछ सबैभन्दा ठूलो गर्जन बाघको

मोदी जिन्दावाद भर्सेस पोयट्री जिन्दावाद

मंगलेश डबरालको यो कविताको टुक्रा सुनाएर मैले भनें, ‘गाउँलाई बीचमा पारेर’ भन्ने वाक्यको ठाउँमा ‘देशलाई बीचमा पारेर’ राख्दा पनि हुनेरहेछ । हाम्रा दाजु पुस्ताले लेखिरहेको ‘समय’ लेख्दा हामी त्यसरी नै लेख्छौं होला ?’

कन्नड कवि अरिफ राजाले बन्द गरेको ओठमा औंली राखेर सोच्यो । यसो भनौं न हाम्रो विचार–महफिल सुरु भइसकेको थियो । बिहारी कवि अरुणाभ सौरभले फ्याट्ट भन्यो, ‘ना, दुरुस्तै लेख्दैनौं । आ–आफ्नो समय लेखनमा आ–आफ्नै समय भोगाइले अभिव्यक्ति र सम्प्रेषणलाई आकार दिन्छ ।’

‘अरुणाभको स्वाभाव तर्कालु रहेछ,’ पन्जाबी कवि नितु अरोडा मेरो काननेर फुस्फुसाइन् ।

‘देश पनि जंगल बनिसक्यो, त्यहाँ हरबखत बाघ गर्जिन्छ, जब बाघ गर्जिन्छ, सब तर्सिन्छ’, अरिफले मौनता तोड्यो ।

‘क्या खास भन्यौ यार,’ मैले अरिफको काँधमा धाप मारें । अरिफ खास तरिकाले कविता भन्ने कवि हो यसो त । उसको एउटा कविता छ, बजार । ऊ कवितामा भन्छ,

‘ब्रिटिस कमोडमाथि उभ्भेर

हस्तमैथुन गरिरहेछ बजार

चे ग्वेभारामार्का अन्डरपेन सुर्काएर ।’

त्यो रात मैले ‘काफरे अमेरिका’ सुनाएँ, अरिफले ‘बजार’ सुनायो । नितुले ‘रुम पार्टनर’ र अरुणाभले ‘साला बिहारी’ । हामी जे सुनाइरहेका थियौं, ती नितान्तै कुरूप थिए । यतिखेर डबराल हामीसितै हुन्थे भने हामी सोध्नेथ्यौं, ‘ठूल्दाजु समयको कुरूपता युवा कविताको सौन्दर्य हो ?’

त्यसको उत्तरमा मलिन स्वरमा डबराल भन्थे होलान्, ‘यद्यपि, तिमीहरूलाई बीचमा पारेर बाघ त गर्जिरहेकै छ, गर्जिरहेकै छ होइन त भाइबैनी हो ?’

दिल्लीको एउटा आलिसान होटलको कोठामा डबरालले उत्पन्न गरेका तरङलाई रक्सिलो चेतनाले पक्रिने कोसिस गरिरहेका थियौं सायद । साहित्य अकादमी दिल्लीले युवा लेखकहरूलाई भारतीय साहित्यमाथि ‘मन्थन’ गर्न बोलाएको छ । होटलको कोठैपिच्छे छन् कविहरू, २४ भाषाका । कुनै कोठामा हल्लाखल्ला छैन । सब सुतिसकेका छन् । तर, हामी चार किन हल्ला गरिरहेका छौ ? किन निदाउन सकिरहेका छैनौं ?

यदि कसैले त्यतिखेर यसरी प्रश्न गर्थ्यो भने त्यसको एउटै उत्तर हुन्थ्यो– मंगलेश डबराल ।

२४ भाषाका युवा कविका कविता सुनेपछि डबराललाई युवा कवितामाथि बोल्नु थियो । तिनी नितान्तै शान्त छन्, सौम्य छन्, लयालु छन् । तर, तिनी जे बोलिरहेका छन्, हरेक वाक्य झीरजस्ता छन् । भीरजस्ता छन् । आगोजस्तो छ, जुन झीरमा हामी युवा कविहरू पालैपिलो उन्निरहेका छौं । खसिरहेका छौं हरेक भीरबाट । जलिरहेछौं त्यो आगोमा ।

डबराल भनिरहेछन्, ‘भारतीय साहित्य लेखन एकरूपताको सिकार भइसक्यो । युवा लेखकहरूले त्यसैलाई परम्परा मानेर पछ्याइरहेका छन् । कस्तो विडम्बना ? मर्दै गइरहेको परम्परा पछ्यायौ भने त तिमीहरू पनि मर्नेछौ, यदि तिमीहरू बाँच्न चाहन्छौ भने आफ्नै उक्तिको खोज गर ।’

अलिकति पनि जिउँदो मुटुको कोही युवा कवि त्यहाँ उपस्थित थियो भने पक्कै पनि उसले आफ्नो औकात थाहा पाइसकेको थियो । सायद, हामीले त्यही छटपटीलाई रातभरि सेलेब्रेट गरिरहेका थियौं ।

‘सोभियत रुसको विघटनपछि भारतीय लेखनमा एक प्रकारको अमूर्तता छिर्‍यो,’ डबराल भन्छन्, ‘सोझो विषय, कथन र संयोजन नै अमूर्त बन्यो भने लेखनको उपादेयता संकटमा पर्छ । पाल्छी कुराजस्तो लेखनले संवाद गर्दैन । जब संवाद नै गर्दैन, तब लेख्ने किन त ?’

डबरालको गुनासो थियो, युवा लेखनमा न त्यो उन्माद छ, न युवालु झोंक । केटाकेटीमै प्रौड वैचारिकी छाँटिरहेका जस्ता देखिने युवा लेखकहरूको त्यो जुझारुपन कसले मासिरहेछ त ? कसले मारिरहेछ युवाहरूको युवापन ? किन सब बूढाबूढाजस्ता देखिन्छन् ? तिमीहरू युवा नै बस, बूढा नबन । बूढा बनेर हामी बूढाहरूलाई नझुक्याऊ । बूढा बनेर युवाहरूलाई पनि नझुक्याऊ ।

मलिन स्वरमा आगो उकेलिरहेका मंगलेश डबरालले हामीलाई गिजोलिसकेका थिए । यस्तो लाग्थ्यो, तिनी आजका समयका झर्रा युवा हुन् अनि हामीचाहिँ लुला बूढा । हामी सबै सोचमग्न छौं । तिनी बोल्दै गइरहेछन्, हामी झन् गम्भीर, झन् गम्भीर, झन् गम्भीर बनिरहेका छौं । ‘भूमण्डलीकरणपछि जनवाद नै प्रतीकवाद, विम्बवादले ग्रसित बन्यो । त्यसपछि आएको न्यु क्रिटिसिज्म, साम्राज्यवाद, बजारवाद, टेक्नोलजी र मिडियाले अहिले ‘नक्कली विचार’ विस्तार र प्रचार गरिरहेको छ,’ डबराल निरन्तर छन्, ‘यो ‘नक्कली विचार’ ले तल्लोवर्गलाई रोगी बनाइरहेछ । यसको सुर्ता के युवा लेखकहरूले गर्नु पर्दैन त ?’

डबरालको प्रश्न थियो– मिडिया र बजारवाद केन्द्रीय शक्तिको निकट छ । तानाशाहको टुल्स बनेको छ । यसको उत्पादन भनेको ‘विचारको संकट’ हो । विचार नै संकटमा परेपछि लेख्नुको औचित्य के ?

दिनभरि डबरालले हामीलाई सोधिबसे, ‘के तिमीहरू साँच्चै गम्भीरतासहित लेखनमा छौ त ?’

हो, यही प्रश्नले हामी भत्किएका छौं । रन्थनिएका छौं । र, होटलको कमरा हल्लाखल्लाले मैला पारिरहेका छौं । दिमाग खराब गरिरहेका छौं ।

दिउँसो डबरालले मेरो हात समातेर मसिनो स्वरमा भनेका थिए, ‘शक्तिकेन्द्रको पर्दाफास गर्ने शक्ति युवाहरूसितै छ । युवाहरूले अनावृत रहस्यहरूको खोजी गर्नुपर्‍यो किनभने नवसाम्राज्यवादीहरूको चलाकी ‘स्क्रिन’ मा देखिँदैन । यसैले युवाहरूले आफ्नो समयलाई मिहिनसित अध्ययन गर्नुपर्‍यो । ‘स्क्रिन’ ले लुकाएका पाटाहरू खोतल्नुपर्‍यो । तिमी तिम्रै समयको गवाही हौ । आफ्नो समयको गवाही बन्न नसक्नेहरू त्यही नक्कली विचारको दास बन्ने सम्भावना रहन्छ । मनोज, तिमी अहिले एउटा त्रासदीमय समयमा छौ । त्यसलाई त्रासदीकै भाषामा लेख ।’

कोहीकोही व्यक्तिको व्यक्तित्व यस्तो हुन्छ, जो हजार किताबहरूले दिएको ज्ञानभन्दा पनि बृहत्तर हुन्छ । डबराल हाम्रा लागि त्यस्तै व्यक्तित्व बनेका थिए ।

२०१४ को त्यो युवालु भेट, सायद अन्तिम थियो । त्यसपछि न त हामी (विभिन्न भाषी भारतीय युवा लेखकहरू) कुनै मञ्चमा देखापर्‍यौं, न त विमर्शमा । न त गम्भीर बन्यौं न त कुनै संकथनमा भेटियौं । उता नवसाम्राज्यवादीहरूको ‘स्क्रिन’ मा नदेखिने चलाकी खोज्दैखोज्दै बिते डबराल । यता हामी ‘बित्यौं’ ।

डबराल भन्थे, ‘हाम्रो समकालीनता वैचारिक ढोङहरूले निर्मित छ, त्यसलाई चिन, चिर र अघि बढ ।’

हामी बहसमा उत्रिएका कविहरूले न त्यो वैचारिक ढोङहरू चिन्यौं, न त त्यसलाई चिर्‍यौं न त अघि बढ्यौं ।

बस, चुपचाप बस्यौं । के बजारवादको स्क्रिनमा नदेखिने चलाकीले हाम्रो घाँटी निमोठेको हो ?

के भन्नुहुन्छ तपाईं ?

...

सेप्टेम्बर महिना बित्न लागेको थियो । महिनाको अन्तिम हप्ता कुनै पनि मजस्तो बेरोजगारका लागि आँधीसरह बन्छ । यसले घरको प्रेमिल अवहवा बिगार्छ । जीवनको मौसम खराब गर्छ । ओठबाट सबै आमचैन लुट्छ । यस्तो बेला जिम्मेवारपूर्वक विचार गर्ने ताकत अरू कसैसित होलान्, मसित त छैन । अचानक जीवन र समयको त्रासदी लेख्ने जोखिम उठाउन नसक्ने आत्महारा बनिसकेको छु म । अचानक आत्मालोचना गर्ने भइसकेको छु म । सायद अब म युवा रहिनँ । उन्मादी रहिनँ । संवेदी पनि रहिनँ । हिजोको जस्तो तिखा, झरिला प्रश्नहरू उम्रिन छाडिसकेका छन् । बाँझो पल्टिसकेको छु म । यस्तो लाग्न थालेको छ, मेरो जुझारुपनको जरा मक्किन थालेको छ । माटालाई बलियो पक्रिन छोडेको छ । सेलाएको छ, मभित्रको ज्वालामुखी ।

सम्झन्छु, जीवनको आधा अध्याय त त्यसै युवा संवेग लेखेरै बित्यो । युवालु झोंक झारेरै बित्यो । यत्रो वर्ष धेरै केही गरियो लाग्थ्यो, खोज्दा हातमा केही पनि छैन । अचानक यस्तो लाग्न थालिसकेको छ, म त रित्तै छु ।

छक्क परिरहेको छु, यसरी कहिल्यै आफैंप्रति किन कहिल्यै गम्भीर बनिनँ म ?

कुनै पिताले जब अचानक छोराको ओठमा छिप्पिँदै गरेको जुँगा देख्छ, जब अचानक स्वास्नीको अनुहारमा चाउरी देखा पर्छ । त्यसपछि ऊ अलिकति चिसो लाग्दा खोक्न थाल्छ, अलिकति दबाब पर्दा उसको रक्तचाप तीव्र बन्न थाल्छ, सायद सबै एकपल्ट मजस्तै यसरी नै छक्क पर्दा हुन् ।

ठीक यस्तो स्थिति कि जसरी केटाकेटीको आवाज अचानक बांगिएर घोर्ले बन्छ, त्यस्तै खर्रो, झर्रो जुझारुपन अचानक मलिन बन्छ, यस्तो स्थितिबीच छु म । अथवा भनौं न, आफ्नै सृजनशीलताको शव रुँगिरहेको छु ।

यही आत्मबोधको बेला अचानक अरिफ राजाको फोन आयो । ‘दिल्लीको त्यो रातवाला महफिल भुल्यौ ?’, उसले सोध्यो ।

‘त्यो भुलें भने त म मरेको भइहालें नि,’ मैले भनें ।

‘त्यसो हो भने तिमी जिउँदै रहेछौ,’ उसले भन्यो ।

‘अरिफ, यदि यसैलाई जिउँदो भन्छ भने पक्का हो, म जिउँदै छु,’ मैले थपें ।

ऊ हाँस्यो र भन्यो, ‘जिउँदो हुनु खतरनाक कुरा हो मनोज, जिउँदोहरूलाई खेदीखेदी मार्ने भारतीय संस्कृति जो ट्रेन्डमा छ, देशमा ।’

तर, म हाँस्न सकिन । म गम्भीर बनें ।

‘कर्नाटकमा त कलबुर्गी मार्‍यो, लंकेश मार्‍यो । त्यो त देखिएको कुरा हो, नदेखिएका कति मारे मारे । हामीलाई मर्नुसित के डर र है साथी ? त्यसैले जिउँदै छौं भन्नलाई देशविदेशका कविहरू भेला गर्दै छौं बल्लेरीमा । तिमीलाई निम्तो गर्न फोन गरेको हुँ,’ अरिफले कुरा टुंग्यायो ।

उसले यति गम्भीर कुरालाई निम्तोसित जोड्लाजस्तो लागेको थिएन । अरिफलाई थाहा थियो, मैले नाइँ भन्न सक्तिन । उसलाई पनि जिउँदो छु भन्ने भ्रम होला । त्यसैलाई प्रमाणित गर्न ऊ बल्लेरीमा वैश्विक कविता महोत्सव गरिरहेछ । म जिउँदो छु कि मरें ? प्रमाणित गर्न मैले जानुपरेन त ?

...

अमेरिका, बंगलादेश, इजरायल लिथुवानिया, फारो आइल्यान्ड, कोलम्बिया, क्यानाडा, भेनेजुएला, अर्जेन्टिना, पेरू, एल साल्भाडोर, इरान, इटलीका कविहरू कर्नाटक पुगिसकेका छन् । भारतको विभिन्न राज्यका २२ जना कवि पनि पुगिसकेका छन् । कन्नडका ३० जना कविहरू त आइपुग्ने नै भए । म कार्यक्रमको दिन पुगेको छु कर्नाटकको बल्लेरी । अर्थात् २१ अक्टोबर २०२२ ।

सैयौं कवि छन्, मैले अरिफ राजाबाहेक कोही चिनेको छैन । अरिफ भन्छ, ‘कलबुर्गी, लंकेशको शरीर मार्‍यो, विचार मार्न सकेन, यो कविता उत्सव त्यसैको प्रमाण हो ।’

बीआईटीएम कलेज अडिटोरियममा कविहरूको घुइँचो छ । स्थानीय लेखक र मिडिया विदेशका कविहरू पछ्याइरहेका छन् । सेलिब्रिटी र ठूलाठालाहरूको आआफ्नै चाला छ । प्रोफेसर एचएस शिवप्रकाश, जसलाई कर्नाटकमा साहित्यका गुरु मानिन्छन्, मञ्च उक्लिए र भने, ‘यस्तो पहिलोपल्ट हो, जहाँ अन्तर्राष्ट्रिय कविता महोत्सवमा सरकार र कर्पोरेट्सको प्रायोजना छैन । उनीहरूको मेरुदण्डमा उभेन यो महोत्सव । सबका सब ट्वाँ परेका छन् । हरेक विधा कर्पोरेट्सको बुटमुनि छन् । हामीचाहिँ कसरी उम्कियौं, तर यसैले हामीमाथि सन्देह बनिरहेका होलान् । उनीहरू पनि आएर कविता सुनून् । बुझून् कि कविता कसैको टेकोले उभ्दैन ।’

म त्यो ठाउँमा उभिएको छु, जहाँ अन्धविश्वासमुक्त समाजका लागि निरन्तर बोलिरहेका एमएम कलबुर्गीलाई मार्नकै लागि हत्याराले ट्रेनिङ लिन्छ । कट्टरता कुनै पनि राम्रो होइन, चाहे कलामा होस्, साहित्यमा होस्, राजनीतिमा होस् वा विचारमा । कट्टरताले एकपाखे समाजको निर्माण गर्छ, जो विविधताले चिनिएको भारतीय संस्कृतिकै लागि पनि खतरा हो । त्यही खतराबोध जनजनमा गराइहिँड्ने र मुक्त समाजको वकालत गर्नेहरू नै बारम्बार खतरामा परिरहेको ठाउँमा उभिएको छु म ।

म त्यो ठाउँमा उभिएको छु, जहाँ एमएम कलबुर्गीपछि गौरी लंकेशलाई गोली ठोक्ने ठेक्का लिएका गणेश मिस्किनले खुल्लमखुला सास फेरिरहेका छन् ।

मैले कन्नड कवि एचएस मधुरानीलाई सोधें, ‘अझै पनि तार्गेटमा धेरै होलान् है ?’

मधुरानीको ओठमा मधुमुस्कान देखा पर्‍यो । भनिन्, ‘म पनि हुनसक्छु, तिमी पनि हुन सक्छौ । जो बोल्छन्, उही तार्गेटमा छन् ।’ सायद मेरो प्रश्न खराब थियो, तर उत्तर खराब थिएन ।

अरिफ भन्छ, ‘विश्वका हरकोही कवि बोल्छन् । यो प्रयास उनीहरूको आवाज कर्नाटकलाई सुनाउनु मात्र होइन, आवाजहरूको विविधता स्थापित गर्नु पनि हो ।’

...

म पहिलोपल्ट दक्षिण भारत पुगेको छु । त्यहाँका कविहरू मेरा भाषा बुझ्दैनन्, म उनीहरूको भाषा बुझ्दिनँ । म हिन्दी थोरै जान्दछु, उनीहरू हिन्दी पूरै जान्दैनन् । म अंग्रेजी कताकता मात्र जान्दछु, उनीहरू पूरै जान्दछन् । अलिकति हिन्दी, अलिकति अंग्रेजी जोडेर म उनीहरूसित संवादमा छु । विभिन्न देशका कविको भाषा नजान्नेहरूका लागि सहज बनाउन आयोजकले हरेक कविका कविता पछिल्तिर कन्नड, हिन्दी र अंग्रेजीका अनुवादक खटाएका छन् ।

कविको आफ्नो भाषाबाहेक तीन भाषामा कविता सुन्न र पढ्न पाउने सुविधा तयार छ । पहिलो सत्रमा आआफ्ना भाषामा निम्तारु कविले कविता सुनाउन सुरु गरे । निम्तारु कविले कविता सुनाइसकेपछि अनुवादकको पालो आउँथ्यो । अनुवादकले कन्नड भाषामा कन्नड दर्शकलाई कविता सुनाइदिन्थे । विश्वभरिका कविता आफ्नै भाषामा सुन्न पाउने भाग्यमानी दर्शक–श्रोताहरू त्यसै आह्लादित थिए । मन परेका, मन नपरेका दुवै कवितामाथि दर्शकीय प्रतिक्रिया थपडीमा आउँथ्यो । जो जो कन्नड जान्दैनन्, उनीहरूका लागि अडिटोरियमको भित्ता अघि राखिएको एलईडीमा हिन्दी र अंग्रेजी अनुवादको डिस्प्ले चलिबस्थ्यो । यसरी विश्वभरिका कविलगायत कविता सुन्न आएका विभिन्न भाषी दर्शकहरू एकसाथ कविता उत्सव मनाइरहेका थिए ।

पहिलो सत्रपछि हाम्रो पालो आयो । मञ्चमा इरानका कवि मर्याम अला आमजादी, नेपाली कविता बोकेर म र कन्नड कविता बोकेर दक्षिण कनडाका कवि विल्सन कटिल उभिएका छौं । अमजादी र मेरा अनुवादकहरू पनि तयार छन् । हाम्रा कवितामाथि मन्तव्य पोख्न कन्नडका ख्यातिप्राप्त कवि श्री निवासमूर्ति पनि साथै छन् ।

हामीले कविता सुनाइसकेपछि अनुवादकहरूको पालो आयो । अमजादीका अनुवादकले कविता सुनाउँदै गर्दा अडिटोरियम मन्त्रमुग्ध थियो । त्यसपछि मेरा अनुवादक सम्भर्थ साहिलले मेरा कविता सुनाउन थाले । तिनले ‘हरेक मासिक धर्ममा विधवाको मनमा विद्रोह उठ्छ, किनभने त्यसले सेतो लुगा रातो बनाउँछ’ भन्दै गर्दा अडिटोरियममा अलिकति चलमल सुरु भयो । ‘यो स्कुल होइन भान्साघर हो’ भन्दागर्दा खासखुसखासखुस सुरु भयो । त्यही खासखुसबीच जब दक्षिण कनडाका कवि विल्सन कटिलले कवितामार्फत ‘तानाशाह प्रेममा परेको हुनुपर्थ्यो’ भन्न सुरु गर्‍यो, उनीहरूले आफूलाई सम्हालेर राख्न सकेनन् ।

अडिटोरियमको दोस्रो लहरमा अचानक भगुवा रङका लुगा लगाएका मानिसहरूले हावामा मुठी उठाउन थाले । त्यसपछि मुठी उठाउँदै आक्रोशित स्वरमा कराउन सुरु भयो । कविता सुनिरहेका दर्शकहरू जर्‍याकजुरुक उठे । मञ्चमा बसेर कविता सुनाइरहेका हामी तीन कवि अरकच्च पर्‍यौं । उठेका मुठीहरू कविताविरुद्ध थिए । पोखिएको आक्रोश पनि कविताविरुद्ध नै थियो । हामी यसकारण अरकच्च थियौं किनभने हामीलाई लागेको थियो, कविताले उनीहरू झुमिउठ्लान्, तर उठ्यो मुठी । हामीलाई लागेको थियो, कविताले दिमागमा तरंग पैदा गर्लान्, तर पैदा गर्‍यो आक्रोश । कविताले कसरी मानिसलाई पोल्न सक्छ ? मेरो मनमा यो प्रश्न उठ्नु स्वाभाविक थियो । प्रश्न उठ्नु भनेको उत्तरतिर लम्कनु पनि त हो । म उत्तरतिर लम्किएँ ।

मेरा अनुवादकले मेरो जुन ‘होली’ शीर्षकको कविता सुनाए, त्यो कवितामा एक विधवा छन्, जसको वस्त्र सधैं सेतो छ । उनलाई ओढाइएको कफन रङको सेतो वस्त्रलाई उनकै मासिक धर्मको खुनले रातो बनाइदिएको छ । रङ भनेको त प्राकृतिक हुन्छ । प्रकृति रंगीन छ । विश्व रंगीन छ । धर्म रंगीन छ । ज्ञान रंगीन छ । समाज रंगीन छ । परिवार रंगीन छ । सम्बन्ध रंगीन छ । किन विधवाको वस्त्र मात्र सेतो छ र उसको रगत किन सेतो छैन त ?

मुठी र आक्रोशको पछिल्तिर यही रंगहीन विचार थियो । मेरा अनुवादक सम्भर्थ साहिलले त्यतिखेर ‘भान्साघरमा स्कुल’ सुनाइरहेका थिए, जतिखेर भाजपा सरकारले कर्नाटकका विद्यालयहरूको पाठ्यपुस्तकबाट हैदर अली, टिपु सुल्तानहरू भटाभट हटाइरहेका थिए । द्रबिड आन्दोलनका अग्रदूत पेरियार, नारायण गुरु, बसवन्ना लगायत भगतसिंहलाई पनि हटाइरहेका थिए ।

स्कुललाई भान्साघर मात्र बनाएनन्, भाजपा सरकारले त कर्नाटकभरि पाठ्यपुस्तकलाई समेत ‘भगुवाकरण’ को पकवान बनाइरहेका थिए ।

मुठी र आक्रोशको पछिल्तिर यही भगुवा रङको कट्टर जरा थियो । भगुवा रङको मुठी र खासखुस चलिरहेको बेला जब कवि विल्सन कटिलले ‘तानाशाह एउटा नानीको बाबु भएको हुनुपर्थ्यो, तब उनी बोध गर्न सक्थे, जीवनको सुरक्षा गर्ने दायित्व’ थपे, उनीहरूले व्यापक नाराबाजी सुरु गरे ।

उनीहरूको नारा थियो, ‘मोदी जिन्दावाद ।’

हामी त्यतिबेला हैरान थियौं, जतिबेला ‘विधवाको रङ’ र ‘भान्साघरमा स्कुल’ लाई भगुवा रङका मानिसहरूले हिन्दुत्वमाथिको आक्रमण र भाजपा सरकारमाथिको आलोचना बुझे । हामी त्यतिबेला हैरान थियौं, जतिबेला ‘तानाशाह’ मा उनीहरूले ‘मोदी’को विम्ब देखे ।

यसमा कविहरूको गल्ती कहाँ थियो त ?

तर, अचानक अडिटोरियममा भगुवा रङको आक्रोशित फगुवा सुरु भयो, तब चारैतिर बसेका कवि र दर्शकहरूले प्रतिवादी जवाफ दिए । उनीहरूको नारा थियो– पोयट्री जिन्दावाद । एकै क्षणमा अडिटोरियममा तनाव छायो । दुईवटा नारा एकार्काबीच भिड्न थाल्यो । यद्यपि, कवि कटिलले कविता सुनाउन स्थगित गरेनन् । कवि श्री निवासमूर्तिले माइक समातेर कराए, ‘कविताको कुनै धर्म हुँदैन, रङ हुँदैन, सत्ता हुँदैन, कवितालाई कविता भएरै जिउन देऊ, उनीहरूलाई डिस्ट्रब नगर ।’ तरै पनि हंगामा थामिएन । गुरु एचएस शिवप्रकाश मञ्च चढे र भने, ‘यो कविता संगम हो, जहाँ कवितालाई मनचाहे बोल्न पाउने छुट छ । कविताको मुख थुन्न सकिँदैन । कुनै पनि हंगामाले कविता स्थगित हुन सक्दैन ।’

त्यसपछि भगुवा रङका मानिसहरूलाई दर्शकले ठेलेर अडिटोरियमबाहिर धकेले । कविता महोत्सवबाटै खेदे । हल शान्त भयो । त्यो शान्त हलमा कविताचाहिँ शान्त थिएन ।

...

फर्कने बेला अरिफले भन्यो, ‘मनोज बोलेनौं भने कविता मौन बन्छ । तिमी कवि हौ, कवितालाई मौन नराख । बोलिराख । लेखिराख । किनभने मानिसलाई जिउँदो बनाइराख्ने क्षमता कवितासित मात्र छ ।’

साँच्चै, कविताको त्यो अभूतपूर्व शक्तिलाई बल्लेरीको अडिटोरियममा मैले सर्लक्क देखेर फर्किएँ । यतिखेर म मंगलेश डबराल सम्झिरहेको छु, तानाशाहको चलाकी स्क्रिनमा देखियोस् नदेखियोस् ‘कविता’ मा देखिने रहेछ । मानिसहरूले स्क्रिनलाई विश्वास नगर्लान्, कवितालाई गर्नेछन् । लागिरहेछ, पहिले मोदीलाई बीचमा पारेर भगुवा रङका बाघहरू गर्जिए । त्यसपछि ‘पोयट्री’ लाई बीचमा पारेर कविहरू गर्जिए । मुर्दाहरू गर्जिंदैनन् । यसको अर्थ कविहरू अझ जिउँदै छन् । कविता जिउँदै छ । भारतको कुनै पनि कुनामा कुनै पनि जिउँदा कविले जिउँदो कविता लेखिरहेकै छन् ।

तानाशाह एउटा नानीको बाउ भएको हुनुपर्थ्यो,

तब उसले बोध गर्न सक्थ्यो

जीवनको सुरक्षा गर्ने दायित्व

जब काँपिरहेको हातले समाउँथ्यो ऊ

दाँत कसेर आफ्नो सारा शरीर हल्लाउने सुत्केरी पीडालाई

पचाइरहेकी पत्नीको हातबाट नानी ।


तानाशाहले

बिहे गरेको हुनुपर्थ्यो,

तब उसले बोध गर्न सक्थ्यो

आदेशपछिल्तिर कति रहन्छ प्रेमको सम्भावना

जब उसको पत्नी भन्ने थिइन्–

‘मेरो ब्लाउजको बटन लगाउन सघाउनुहोस् त’


तानाशाह प्रेममा परेको हुनुपर्थ्यो

तब उसले बोध गर्न सक्थ्थ्यो

युद्ध पनि रोक्न सक्छ

एउटा चुम्बन ।

थाहा पाउँथ्यो

जित भनेको केवल हतियारबाट मात्र प्राप्त गरिँदैन ।


तानाशाह

आफ्नो छिमेकीसित एकतर्फी प्रेममा परेको हुनुपर्थ्यो,

थाहा पाउँथ्यो, आँसु पुछिदिने हातहरू कठोर हुन्नन् ।

थाहा पाउँथ्यो, सिमानाहरू केवल युद्धका लागि हुन्नन् ।


छाडिदिऊँ यी सब कुरा

कम से कम तानाशाह एक जना वेश्याकहाँ जानुपर्थ्यो


एक जोडी नग्न शरीर

तातो आलिंगनमा बाँधिँदा

जब क्रोक्रोजस्तो हल्लन्छ खाट

तब ऊ बोध गर्न सक्थ्यो

गद्दीको कृत्रिमता ।


बिर्सिदिनुहोस् गद्दी, चौकी अथवा चरण–पीठ

यदि तानाशाहको मुटुमा

एकै जना महिला बस्नका लागि

केवल एउटै पिरा मात्र भइदिएको भए

कम्तीमा यस देशले

प्रेमको शासन देख्न सक्थ्यो ।

(विल्सन कटिलको कविता ‘तानाशाह प्रेममा परेको हुनुपर्थ्यो’, अनुवाद : लेखनाथ छेत्री)

प्रकाशित : पुस ३०, २०७९ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?