चित्तुकुमारी, के रैछ र जिन्दगी !

‘पागलपन ईश्वरीय भावना हो । मानिसहरु जसलाई पागलपन भन्छन्, त्यो वास्तवमा पूर्ण विवेक हो । जसलाई विवेक भन्छन् त्यो पागलपन हुन सक्छ ।’
पूर्ण पी राई

नीलो रङ खुइलिएर खरानीजस्तो फुस्रो भइसकेको ! ठाउँ–ठाउँमा फाटेको ! आगोको झिल्कोले कालो घेरा
बनाएका अनगिन्ती दुलाहरू र आधासरो तुनाहरू हराएको चौबन्दी चोलो ! उस्तै रूपरङको च्यातिँदा–च्यातिँदा घटेर पेटिकोट जति मात्रै बाँकी रहेको फरिया ! नकोरिएको, जताततै फैलिएको, बग्रेल्ती लट्टा परेको, अनुहारभरि तन्द्र्याङ तुन्द्रुङ झुन्डिएको कपाल !

पसिनाको लेग्राले बुट्याएको अनुहार ! कापभरि कालो खाँदिएका लामा–लामा नङ ! चिराचिरा फुटेका हात–पाउ ! जतिखेरै शरीरको कुनै न कुनै भागमा कन्याइरहने दाउरे हातहरू ! नाम छोटकरीमा– चित्तु । पूरा नाम– चित्तुकुमारी राई । सबैले चिन्ने नाम– ‘बौलाही’ । उमेर तीसदेखि माथि, चालिसभन्दा कम । उनको औसत हुलिया यस्तै थियो ।

हाम्रो घरअघिको ठाडो खोल्सी निरन्तरको भल पानीको बहावले झन्–झन् गहिरिँदो छ । त्यसको खास नाम नभए पनि गुहेखोल्सा भनिन्थ्यो । त्यस समय गाउँका सबै खोल्साखोल्सीहरू गुहे थिए । गाउँमा चर्पी थिएन । खोल्साखोल्सीहरू बढी सुरक्षित थिए । बिष्टाजति पानीमा बगाइदिनुपर्ने । पानी नभएका बेला त्यहीँ थाक लाग्ने । भल आएका बेला लुम्सालुम्सा भएर बग्थे, पर परसम्म गन्ध छर्दै ।

समय बित्दै गयो । जुग फेरियो । घरघरै चर्पी बने । मान्छेहरू खोल्सा जान छाडे । खोल्साको पानी फेरियो । खोल्सापारिको ठूलो टारबारी सिरानमा चित्तु बेलाबेला रुने, बेलाबेला नाच्ने, बेलाबेला हाँस्ने, बेलाबेला बेअर्थ चिच्याउने, बेलाबेला गाली गर्ने, बेलाबेला मस्त निदाउने खरले छाएको त्यो रातो घरको भग्नावशेष पनि मेटिन लाग्यो । तर, चित्तु मेरो मस्तिष्कबाट कहिल्यै मेटिने छैनन् । कहिले त्यो खोल्सो किनारैकिनार उकालो, कहिले ओरालो, कहिले बाँसको साँघु तर्दै गरेको उनको झल्को बेलाबेला आइरहन्छ ।

बैदारे बाङा (काका) की पहिलो सन्तान थिइन्, चित्तु । विसं २०१० का मेरा जेठा दाइको पनि दिदी । बैदारेको युवाकालमा गाउँमा पढे–लेखेको मान्छे थिएनन् । बाहुन गाउँका युवाले जस्तै कुम्लो कुटुरो बोकेर पढ्न बनारस जाने चलन राई गाउँमा के खाएर हुनु ! केही गाईभैंसी पाल्नु । गाईभैंसी पछ्याउँदै लेकबेंसी गर्नु । पाखाबारी खनीखोस्री मकै–आलु लगाउनु । हिउँदमा एकचोटि नुन लिन मधेस झर्नु । यसरी चलेको थियो गाउँलेको जीवन । यसैबीच बाङाले पनि

मालिङ्गो तिखारेको कलम तीतेपातीको रस उसिनेको मसीमा चोबल्दै अक्षरहरू खिप्न सिके । अक्षर चलेको थाहा पाएपछि मासुको बहीदेखि लेनदेन जग्गा साँधसिमानाका तमसुकसम्म लेख्न छरछिमेकीले उनैलाई अह्राउन थाले । उनका समकालीन बूढाहरू भन्थे, ‘बाङाले लेखेको कागज पढ्नुपर्‍यो भने उनैलाई बोलाउनुपर्थ्यो, अरूले बुझ्दैनथे ।’ बहिदार वा बैदारको काम गर्ने हुनाले उनको नाम बैदारे भयो ।

गाउँको उबेलाको लोकप्रिय कर्मीधारा मास्तिर अजङ्गको लाकुरीको रूख थियो । त्यसको फेदबाट बाह्रैमास हुलुलु पानी निस्किन्थ्यो । पानीको मूल भएको कुनै पनि बिरुवामा नागदेवताको बास हुन्छ, त्यसलाई चलायो भने अनिष्ट हुन्छ भन्ने विश्वासका कारण त्यो लाकुरीको जीवन वर्षौंवर्षदेखि बाँचेको थियो । बैदारे त्यस्ता कुरामा विश्वास नगर्ने । लाकुरीले बारी सेप पारेकाले मकै, आलु फलेन भन्ने रिस । त्यो रिस एक दिन विस्फोट भयो । बन्चरो दागे लाकुरीको फेदमा । देख्ने र थाहा पाउनेजति सबैले त्यहीँ पुगेर सम्झाए । बरु सम्झाउन खोज्नेतिर जाइलाग्न खोजे । कसैको केही चलेन । ढालिछाडे र भने, ‘मेरो बारीको रूख मेरो खुसी ।’ त्यसै दिनदेखि उनका छोराहरूलाई बिमार लाग्न थाल्यो । एघारदेखि पन्ध्र वर्षका तीनै जना छोरा एक वर्षभित्रमा बिते । चित्तु पनि छोरा भएको भए मर्ने नै हो, छोरी भएकीले बौलाएकी मात्रै, भनिन्थ्यो । तर, चित्तु त्यसको धेरै वर्षपछि मात्रै ‘बौलाही’ भएकी हुन् । कसै–कसैको विश्वास थियो, ‘अजातले इन्द्रजाल मोहनी लायो । फुकाउन नसकेपछि बौलाएकी हो ।’

‘बौलाउनु’ अघि चित्तु रूपरङमा साह्रै राम्री । बोली व्यवहारमा साह्रै फर्साइली । काममा साह्रै फूर्तिली । बोल्नु पनि छिटो, काम पनि छिटो गर्ने रे ।

घरजंगल, मेलापात, घाँसगोठाला गर्दागर्दै देउसाली टोलको सैजितेसँग प्रेम बस्यो । सैजिते पहिल्यै विवाहित थिए, छोराछोरी भइसकेका थिए, श्रीमती पनि थिइन् । चित्तु भित्र्याए । चित्तुबाट लगालग दुई छोरी जन्मिए । दोस्रो छोरी जन्मिएको अर्को सालबाट बेसुरबेसुर हुन थालिन् । अन्ततः पूरै बेसुर भइन् । ‘त्यही सैजितेले मन पराएर मोहनी लगायो, बिहा गरेपछि फुकाउनुपर्ने, फुकाउन सकेन, मोहनी अलपत्र पारेकाले चित्तु बौलाउनुपर्‍यो’ भन्ने मत पनि दरै थियो । त्यसो त सैजिते बिरामीको झारफुक गर्ने धामी पनि थिए । ‘तेरो कान्छी बूढी चित्तुलाई निको पार्, किन बिगारिस् ? बिगार्नु सक्नेले सपार्नु पनि सक्नुपर्छ,’ भन्दै हाकाहाकी सैजितेलाई हकार्नेहरू पनि थिए । सैजिते बोलक्कड भए पनि त्यस बेला निरीहजस्ता हुन्थे, ‘किरे कस्सम मैले त्यस्तो बना’को हैन । मलाई मोहनी सोहनी आउँदैन ।’

बिहा गरेर छोरीहरू पनि जन्माइसकेकी भए पनि, दिमाग ठेगान नभएर बेसुर–बेसुर भए पनि चित्तु माइती घर बस्थिन् । बस्थिन् पनि के भन्नु, बेटुंगोले गाउँ डुल्थिन् । कहिले बारीको पाटा, कहिले निभारोको फेद, कहिले बर्खे वा सिकुवा ! जहाँ पनि घण्टौं सुतिदिन्थिन् । कहिले कराउँदै कस–कसलाई सराप्दै दिनरात बिताउँथिन् । कहिले बेपत्ता हुन्थिन् । नजिकै भएर होला, हाम्रो घर बेलाबेला आइरहन्थिन् । कहिले हाम्रो घरपछाडि बारीबारी हस्याङफस्याङ गर्दै हाम्रो आँगनको बाटो कसैलाई नहेरी बड्किन्थिन् । कहिले अगेनाको डिलमा खुट्टा फारेर आफैंले कटुस पातमा बेरेको बूढीऔंलाजत्रो सुर्ती अगुल्टोले झोस्दै शब्द बुझिने तर प्रसंग सन्दर्भ नबुझिने कुराहरू फलाक्दै केही घण्टै बस्थिन् । कहिले दुइटै खुट्टा भुंग्रोमा पुर्‍याउँथिन् । आमा हकार्थिन्, ‘अलि पर बस् । साम्खा (चुलो, देवता, कुलपितृ रिसाउनु) लाग्छ ।’

...

त्यस्तै बिहानको आठ बजेको हुँदो हो । पारिलो मंसिरे घाम लागेको थियो । चित्तु हाम्रो घरभित्र हुर्रिएर पसिन् । कताबाट आइन्, अगाडि मूल बाटोबाट कि पछाडि बारीबाट, थाहा भएन । चुलामाथि भर्सिन लागेको च्याँख्ला भात चलाउँदै आमाले सोधिन्, ‘कहाँबाट के–के न बितेजस्तो हतारिँदै आइस् हँ ?’ लामो–लामो सास तान्दै चित्तुले लामो जवाफ दिइन्, ‘देमा (बडिआमा), सबैतिर घुमेर आ’को । हिमाल पनि पुगें । काँशी पनि पुगें । पिखुवाबाट यत्रो–यत्रो माछाहरू कोको–कोको पारिकोहरूले लाँदै थियो । हाम्रो भैंसी बियाउँदैन कि क्या हो... !’

आमा एउटा हात मुखमा र अर्को हात निधारमा राखेर हाँसिन् ।

घरभित्र उत्तरपट्टिको भित्तामा सामानहरू झुन्ड्याउन बाँसका किलाहरू गाडिएका थिए । त्यसमध्ये एउटा चोयामा उनिएको एक सिल सुँगुरको मासु झुन्ड्याइएको थियो, एक बिसाउली (आधा धार्नी) होला सायद । त्यस समय गाउँमा मासु अति दुर्लभ थियो । चाडबाडमा मात्रै सुँगुर, भैंसी काटिन्थ्यो । राई गाउँमा बाख्रा छुनै नहुने । पाहुना आएका बेला कहिलेकाहीँ कुखुरा काटिन्थ्यो । अरू बेला आक्कलझुक्कल मात्रै । अगेनाछेउ थ्याच्च बस्नासाथ उनका आँखा झुन्डिएको मासुमा परे । आमालाई सोधिन्, ‘त्यो के हो ?’ ‘हन मासु पनि चिन्दैनस् ? सुँगुरको मासु ।’ एकछिनपछि उही प्रश्न दोहोर्‍याइन्, ‘देमा त्यो के हो ?’ आमाले त्यही उत्तर दोहोर्‍याइन्, ‘मासु । सुनिनस् । मासु के मासु ।’ उनैलाई सोधिन्, ‘तेरो बाउले ल्याएन ?’ अनि आमा आफैंसँग लामो बोलिन्, ‘तर, यो बौलाहीलाई के थाहा ! कति दिनदेखि घर गा’को छैन होला । बैदारे यस्तो छोरीलाई कुटेको कुट्यै गर्छ । त्यो बैदारे दया, माया नभा’को असत्ती छ । यो आमाछोरीलाई कम्ता सताको छैन । बरा ! यसलाई मासु देखेपछि खानु मन लाग्यो होला र त सोधेको सोध्यै गर्छ । खान्छस् ?’ चित्तु फिस्स हाँसिन्, ‘दियौ भने खान्छु नि देमा ।’ आमा उठिन् । भित्तामा अडेसिएको नाङ्लो भुइँमा घोप्ट्याइन् । मासुको सिल फ्यात्त नाङ्लोमाथि राखिन् । चोया फुकाइन् । एउटा ठूलै चोक्टा, एक पाउ बढीको, सिलबाट निकालिन् । चित्तुतिर लम्काउँदै भनिन्, ‘तेरो बाउले सुँगुर मारेको थाहै पाएन होला । ला, घरमा लगेर तेरा नानीहरूलाई पनि एक–एक फिर्का पोलेर दे ।’ चित्तुले त्यस दिन फाटेर–फाटेर गलबन्दी जत्रो भइसकेको बर्को बेरेकी थिइन् । त्यही बर्को थापिन् । आमाले मासुको चोक्टा राखिदिइन् । अनि कडै गरी कराइन्, ‘लु लु लु गइहाल् । छिटो । बालखा छोरीहरू सम्झेर सरासर घर जा है !’ हस्, भन्दै चित्तु बाहिर निस्किइन् । आमा पकाउनलाई मासु टुक्र्याउन थालिन् । म थुक निल्दै छेउमा बसिरहें ।

मासु काटिसकेपछि आमाले मलाई दाउरा लिन पठाइन् । आँगनको पल्लो छेउमा लामो बर्खे थियो । त्यसमा दाउराका हारहरू थिए । दाउराका हारहरू पछाडि केही भारी पराल थुपारिएको थियो । म दाउरा लिन बर्खेभित्र पसें । चित्तु परालमा आधा ढल्किएर बसेकी थिइन् । आमाले दिएको काँचो मासु दुई हातले समातेर दाँतले लुछ्दै थिइन् । उनको चिउँडोबाट रगतको सानो घेरा घाँटीतिर बग्दै थियो । म नजिकै आएको देखे पनि मतिर हेरिनन् । लुछ्दै गरेको मासु मुखबाट हटाएर तलतिर झार्दै खिस्स हाँसिन् । हाँस्दा उनका दाँतहरू अनौठो गरी लामालामा र तिखातिखा जस्ता देखिए । ती दाँतहरूमा रातै रगत लतपतिएको थियो । उनको कपाल झन् ठडिएको देखें । आँखाहरू ठूला–ठूला राता–राता देखें । मेरो सास रोकिएजस्तो भयो । मेरो छाती बेतोडले हल्लिन थाल्यो । शरीरभरि कम्पन पैदा भयो । एकाएक गर्मी बढ्यो । टाउको फनफनी घुम्न थाल्यो ।

मलाई उसै गरी हेर्दै चित्तुले भनिन्, ‘तँ पनि आइस् कान्छा ? लु मासु खानुपर्छ । तँ एताबाट खा, म यताबाट खान्छु है । आइजा !’ मतिर मासु लम्काइन् । म बोल्न खोजें, बोली फुटेन । भाग्न खोजें, गोडा लागेनन् । निकै जोड प्रयास गरेपछि भएभरको आवाज एकै पटक आयो, ‘आम्मौ ! आम्मौ ! आम्मौ !’ यो सुनेर आमा हातमा डाडुसँगै अत्तालिँदै बाहिर निस्किइन्, ‘के भो ?’ मैले रुन्चे स्वर गरेर औंलाले देखाएँ, ‘चित्तु नाना (दिदी) त यहाँ छ ।’

आमाले देखिन् । अनि हकारिन्, ‘सरासर घर जान्छु भनेर यहाँ पो छस् ? छिटो घर जा !’ थामिइन्, ‘ए, बरा ! काँचै पो खाइसकेछ ।’ अनि आफैंप्रति असन्तुष्टि जनाइन्, ‘मै हो नि उस्तो त । बौलाहीलाई विश्वास गरेर के हुन्थ्यो !’ त्यसपछि आमाले चित्तुलाई हातले समाएर तान्दै घरभित्र हुलिन् । म घरभित्र पस्नै सकिनँ । लुकेर जस्केलाबाट भित्र चियाएँ । आमाले उनको हातबाट मासु लिइन् । जुठोपट्टि काटेर सुँगुरको चारोमा हालिन् । बाँकी चिराचिरा पारेर पोलेर दिइन् । चित्तुले हतारहतार तात्तातै मासुको लुम्सा दुई हातले समातेर लुछ्न थालिन् । मैले काँचै मासु रगत चुहाउँदै खाएजस्तै देखिरहें । एकैछिनमा खाइसकिन् । बर्कोले हात, मुख पुछिन् । अनि केही नबोली उठेर आँगनतिर बाटो लागिन् । आमाले सोधिन्, ‘अब कता जाने ?’ उनले भनिन्, ‘देमा अब ता सरासर घर जान्छु । छोरीहरूले मलाई खोज्दै होला !’

हाम्रो आँगन लामो । बर्खेबाट सय पाइला जतिमा ठाडो बाटो, डेढ सय पाइलाजति ओरालो लागेर खोल्सा तर्नुपर्ने । ठ्याक्कै अंग्रेजी जेड आकारको बाटो, बैदारेको घर जाने बाटो । तर, चित्तु हान्निएर ओरालै ओरालो लागिन् । घरतिर फर्केर हेर्दा पनि हेरिनन् । देखिएजति हेरें कर्मीधारातिर पनि नतेर्सिएर उँधैउँधो भदौरेतिर लागिन् । सायद त्यहाँबाट पनि तलतल बोराटाङतिर पुगिन् ।

त्यस दिनदेखि चित्तुको छेउ पर्न छाडें । सकेसम्म पर भाग्थें । नजिक भए कुनै न कुनै वस्तुको आडमा छलिएर चियाउँथें । खोल्सा तरेर पारी जानै छोडें । मलाई चित्तुको भयंकर डरलाग्दो रूपको छायाले घरीघरी झस्काउन थाल्यो ।

...

बैदारे बिरामी भए । थलै परे । ‘फर्केलाजस्तो छैन’ आदि सुन्दासुन्दै बैदारेको प्राण सक्किएको कुरा केटाकेटीको कानमा पर्‍यो । केटाकेटीलाई कसैले सुनाएको होइन, ठूलाहरू कुरा गरेको सुनेर थाहा पाइयो ।

जुठेल्नाबाट देखियो, मानिसहरूको चहलपहल । ठाकठाक ठुकठुक । खल्याङ मल्याङ । मलाई त्यहीँ पुगेर मरेको मान्छे हेर्ने इच्छा औडै जाग्यो, जाने आँट आएन, चित्तु यताउता गर्दै गरेको प्रस्टै देखिन्थ्यो । उनलाई देख्नेबित्तिकै मेरो पूरै शरीर सिरिङ्ग हुन छोडेको थिएन । हेर्दाहेर्दै आमा खोल्सा तरेर पर पुगिन् । म बेतोडले दौडेर आमाको पछि पुगें । आमाले हकारिन्, ‘केटाकेटी त्यस्तोमा जानु हुँदैन, सेंहे (मरेको मान्छेको आत्माले बिमार गराउने) लाग्छ ।’ मैले टेरिनँ । लुक्दै, भाग्दै पछि लागें । बैदारेको आँगनमा थुप्रै मान्छे थिए । छोरी मान्छेहरू टाक्राकटुक्रुक बसेका थिए । छोरा मान्छेहरू बाकस बनाउन कोही आराले फल्याक चिर्दै थिए, कोही काँटी ठोक्दै थिए, कोही समाउँदै थिए, कोही नाप्दै थिए ।

चित्तुले सबैलाई गहिरो गरी नियालिन् । बल गरेर चिच्याइन्, ‘मेरो बाउ हौ !’ त्यसपछि एकछिन चुपचाप लागिन् । अनि बोलिन्, ‘विचरा बैदारे पनि मरेछ । आ, मरोस् है । धेरै बाँचेर के गर्नु !’ कसैले वास्ता गरेन । बन्दै गरेको बाकसलाई एक फन्का मारी हेरेर आँगनबाट बाहिरिइन् । घरमाथिको तेर्सो बाटोमा पुगेर चिच्याउन थालिन्, ‘बैदारे हुल्ला (खराब आत्मा, सैतान) मर्‍यो है । बैदारे हुल्ला मर्‍यो ।’ कैयौंपटक दोहोर्‍याइन् । त्यसपछि नाच्न थालिन्, ‘सोइ सोइला, बैदारे हुल्ला, सोइ सोइला... ।’

एक दिन चित्तुको पनि चोला उठ्यो । माइती घरमै । घरबाटै सद्गत गर्ने कुरा भएछ क्यार । घरबाट मान्छेहरू आए । बैदारनी बिलौना गर्दै बलेंसीमा यताउता गर्दै थिइन् । हाम्री आमाको मुख रुखो । झपारिन्, ‘बाँचुन्जेल देखिसहेनौ अहिले रुएर हुन्छ ? भो नरु कान्छी ।’

त्यसबेला बाकस बनाएनन् । मान्द्रो हो कि गुन्द्रीमा बेरेर प्राणबिनाको चित्तुलाई माइती घरबाट निकालेर अलिकति उकालो अनि पश्चिमतिर तेर्सो लगे । उनको कर्मघरमा सबै संस्कार गरेर मात्रै बाकसमा राखेर

पूरापरी जंगल लगे । कुलुङ्गेश्वरका सयौं चिहानहरूमा एउटा चिहान चित्तुको हो, तर ‘चित्तु बौलाहीको चिहान यही हो’ भनेर खुट्याउन सक्ने मान्छे पनि गाउँमा छैन होला ।

उनलाई मान्छेहरू ‘बौलाही’ भन्थे । अचेल भए ‘पागल’ भन्ने थिए । ‘बौलाही’ हुनुमा उनको कुनै दोष थिएन । मान्छेहरू तिरस्कार गर्थे । त्यसमा उनको कुनै गुनासो पनि थिएन । उनको आफ्नैखाले जीवन, दर्शन र संसार थियो । उन्नाइसौं शताब्दीकी अमेरिकी कवि एमिली डिकिन्सनले सायद ठीक भनेकी हुन्, ‘पागलपन ईश्वरीय भावना हो । मानिसहरू जसलाई पागलपन भन्छन्, त्यो वास्तवमा पूर्ण विवेक हो । जसलाई विवेक भन्छन्, त्यो पागलपन हुन सक्छ ।’

प्रकाशित : पुस २३, २०७९ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्

तिमी तेस्रोपटक मर्दैनौ बाउ !

बाउ भन्थे, ‘मान्छेको पहिलो मृत्यु सामाजिक मृत्यु हो– मान्छेले माया मारेको, तिरस्कार गरेको अवस्था ! दोस्रो भौतिक अनि तेस्रो आत्मिक मृत्यु ! आत्मिक रुपमा मरिसकेको मान्छेलाई कसैले सम्झिँदैन, कसैले सपनामा पनि देख्दैन बाबु ।’
पूर्ण पी राई

मेरा बाउ राजा त्रिभुवनभन्दा तीन वर्ष जेठा, म उनका पनाति दीपेन्द्रभन्दा झन्डै दस वर्ष कान्छो । म बाउभन्दा त्रिहत्तर वर्ष कान्छो अनि आमाभन्दा छयालीस वर्ष ।

बाउका काइँला काका सत्तरी वर्ष छेउछाउबाहेक अग्रजहरू कोही पनि चालीस कटेनछन् । भाइ पैंतीसै वर्षमै, बैनी तीस वर्ष नपुगीकनै बिते । समकालीनहरू सबैजसो आधा उमेरमै बिते– पखाला, निमोनिया, जन्डिसबाट । र, केही रूखबाट, केही भीरबाट लडेर गए । अहिले भए उपचार हुन्थ्यो, धेरैजसो बाँच्थे । धामीझाँक्रीले कसैलाई बचाउन सकेनन् ।

बाउले राणा, बहुदल, पञ्चायत र पुनः बहुदल भोगे । उनी जन्मिँदा चन्द्रशमशेरको हुकुमी राज थियो । मर्दा वीरेन्द्रको बहुदल । आफूभन्दा ठूलो भारी बोकेर गोठ सार्दै बाल्यकाल बिताए । किशोर भएपछि भर्ती भए । विदेशमा बेलायती अहंकारका लागि लडे, देशमा प्रजातन्त्रका लागि । सभा, बैठक, सम्मेलन धाउँदै र गाउँले कचिङ्गलको कचहरीमा मध्यस्तता गर्दै दौडधुपमा धेरै वर्षहरू खर्चे । तर, ती दिन–रातका दौडधुप समाजसेवा थिए कि राजनीति ? बाउलाई थाहा थिएन ।

भोटो, लंगौटी र खाली खुट्टा परदेसिएका बाउ तीन जना भरिया लिएर सानका साथ घर फर्किएका रे ! एउटा भारीमा बाकसभरि कम्मल र लुगाका थाक । दोस्रो भारीमा फोल्डिङ खाट, कुर्सी र भाँडाकुँडाहरू । तेस्रो भारीमा नुन, मट्टीतेल र देशी मिठाईहरू । आफूले खागीको ठूलो पोटिलो अत्तर मगमगाउने रुकस्याक बोकेका । भरियाहरू ज्याला थापेर बाटो लागे रे । लाहुरे बाउ गाउँमा चाउरिए । वर्षैपिच्छे पेन्सन थाप्न विहार जानु, फर्किंदा वर्षभरिलाई एक ढाकर नुन, केटाकेटीलाई लुगा र अलिअलि देशी मिठाई ल्याउनु । सामल बोकेर गोठ जानु, ढुङ्ग्रोमा मही छल्काउँदै घर आउनु ।

बस्तुभाउ खर्कतिरै । एक जमिन, एक मौसम, एक बालीको चलन । घुम्ती, मिश्रित र घुसुवा खेती नाइँ । जमिन धेरै टाढा । मल र स्याहार कम । अन्नका बोट पहेंला सिङ्लिङ्ग । अलिअलि लागेको फल चरा मुसालाई । नियमित अनिकाल । बेसाउन हिँडेकाको लाममा बाउ पनि ढाकार बोकेर मिसिन थाले हरेक साल ।

श्रीमती बितेपछि छोरीभन्दा कान्छी दोस्रो श्रीमती भित्र्याए बाउले । त्यसपछि सिरीखुरी दुई भाग दुई छोराहरूलाई र एक भाग आफू गरी तीन भाग पारेर छोराहरूसँग छुट्टिए । जेठो छोरालाई जुग–ठाउँ सुहाउँदो गतिलै तीनतले घर बनाइदिए । कान्छोलाई मूल घर छोडिदिए । आफू भने दस ठाउँमा चुहिने थोत्रो पालीमा यता टाल्दै, उता टाल्दै दस वर्ष रहे । छुट्टिएपछि किनेका जग्गाहरू पनि खुरुखुरु तीन भाग लगाइरहे । कान्छीपट्टि नै पाँच भाइ छोरा भइसके, तर बाउले हरेक नयाँ जग्गा तीन भाग लगाइरहे ।

माघको चिसो दिन । मैयुङडाँडाको सालिमा तुषारोले पहेंलो भएको थियो । कुकुम जङ्गलबाहेक सबैतिर फुस्रो देखिन्थ्यो । थामडाँडाबाट ओरालो लग्दै थियो घाम । पाँच वर्षको म बरालिएर फर्किंदा घरभरि मान्छे थिए । दन्दनी आगो दन्किरहेको अँगेनाको दक्षिणपट्टि ज्वालाको सुनौलो प्रकाशभित्र बाउ मधुरो आवाजमा हँहँ हँहँ गर्दै उत्तानो सुतेका थिए । एक जनाले टाउकामा समातेको, अर्कोले तिघ्रामा तेलले मालिस गर्दै गरेको । एक जना विभिन्न फल, पात र जराहरू खलमा कुट्दै थियो । आमा ध्वाँसोले कटकटिएका ढुङ्ग्राहरू एकपछि अर्को खोल्दै, खन्याउँदै, हेर्दै, थन्क्याउँदै थिइन् । बाउलाई के भएको हो ? केटाकेटीले प्रश्न गर्न नहुने जुग थियो ।

बुझेँ । गोविन्देको बारीमा गोठाला गर्दै थिए– बाउ । पश्चिमपट्टि खोल्सीको डिलमा भकिम्लोका तीनवटा बुट्टा मरेका रहेछन् । बाउलाई लागेछ, ‘दाउरा ।’ अनि निहुरिएर भाँच्न थालेछन् । दुइटा भाँचेछन् । तेसोचाहिँ ठूलो पनि अलि तल पनि । मास्तिर तानेछन्, भाँच्चिएनछ । तलतिर धकेलेछन्, रूखसँगै बाउ पनि हुत्तिएर खोल्सीतिर झरेछन् । झर्दाझर्दै कसोकसो घुमेर टाउको माथितिर, चाक तलतिर परेछ । साँढेको जुरोजत्रो ढुङ्गोमा टुँइके बजारिएछ । बाउ उठ्न सकेनन् । चिच्याए । कसैले सुनेन । निकै बेरपछि खोल्सीसँगैको बाटोमा माथिल्लो गाउँ जाँदै गरेको बैदारे काकाले थाहा पाएछन् । र, दाजुहरू बोलाएर बाउलाई बोकेर घर ल्याएछन् ।

घरमै जडीबुटीले उपचार गर्दा साता दिनसम्म कुनै सुधार नआएपछि अस्पताल लैजाने कुरा भयो । दुई जना भरिया खोजियो । बाउलाई भरियाले डोकामा हाले । खपिनसक्नु दुख्दो छ । छटपटाहट छ । अरू उपाय छैन । चार–पाँच दिनमा धरान पुर्‍याएर भरिया फर्के । दिदी र दाजुले बागडोग्रा पुर्‍याए । चिरफार भयो । घाउ पाक्यो । दुखाइ झन् बढ्यो । बाउको चीत्कार अस्पताल नाघेर धेरै परसम्म पुग्यो । फेरि चिरियो । डाक्टरहरूले भने, ‘उमेर छिप्पिएको कारण ठीक हुँदैन । घाउ निको भएपछि घर लानु ।’ चार महिनामा बाउ डोकामा बोकिएर घर आइपुगे । अनि सदाका लागि ओछ्यान लागे । बाउमा कहिल्यै हार, निराशा र हीनताबोधको भाव देखिएन । घाम लागेका बेला घस्रिँदै आँगनमा घाम ताप्न निस्किन्थे । तर, उनले एक दिन पनि सित्तैंमा घाम तापेनन् । मालिङ्गो आफैँ फुटाउँथे । बाँसचैं अरू जान्नेले मसिनो पारेर दिनुपर्थ्यो । चोया काढ्थे । डालो, झाक, फुर्लुङ बुन्थे । अल्लो र लोक्ताबाट धागो निकाल्थे, बटार्थेर् । दाम्लो, नाम्लो, जाबी बनाउँथे । घरमा चाहिएको छैन भने अरूलाई उपहार दिन्थे । कसैकसैले ‘चिनो’ मागेर पनि लैजान्थे । उध्रेको लुगा आफैं तुन्थे ।

साथमा सधैं किताब हुन्थ्यो । नेपाली, संस्कृत र हिन्दीका किताबहरू ठूलो स्वरले लयबद्ध पढ्थे । रामायण बढ्ता पढ्थे । लालहिराको कथा, पञ्तन्त्रका कथा अनेक कथाहरू, मुलुकी ऐन, पल्टनका म्यागाजिनहरू ! अलि ठूला अक्षर भएका कुनै पनि चीज एक–एक शब्दको अर्थ खोज्दै पढ्थे । नाकको टुप्पोदेखि तालुसम्मै खरानीको लामो ठाडो टीका लगाउँथे । एकतारे बजाउँदै निर्गुण गाउँथे ।

बाउको साथी रेडियो थियो । समाचार खुब चासोका साथ सुन्थे । आफू पुगेको ठाउँको नाम समाचारमा आयो भने हौसिन्थे । आउनेहरूलाई देश–विदेशका घटनाहरू सुनाउँथे ।

एउटा घुमुवा व्यापारी आयो । जगर किन्ने, चुरा पोते बेच्ने । हप्तादिन बस्यो । बेलुका आउँथ्यो, बिहान जान्थ्यो । बाउ खाटमा सुत्थे, व्यापारी भुइँमा, ‘बाजेसँग गफ गर्दै सुत्ने’ उसैको इच्छाअनुसार । एक बिहान उठ्दा त व्यापारी पनि छैन बाउको रेडियो पनि छैन ।

बाउले जेठो दाइलाई राम्ररी बजाएका रे ! बाउछोरा गोठ बस्थे । बाउ गाउँतिर झरेछन् । गोठमा कुखुरा थिए । छोरा कुखुरालाई घाँटीमा बाँधेर खेल्न थालेछ । खेलाउँदा खेलाउँदै घटेसो लागेर कुखुरो मरिहालेछ । साँझ बाउ आइपुगे । छोरा थर्थरी काम्दै टाट्नापछाडि लुकेको । बाउले ‘अबदेखि त्यसो नगर्नू’ भनेछन् । कुखुरो पकाएर दुवैले खाएछन् । भोलिपल्ट पनि बाउ सबेरै निस्केछन् । छोराले भएजत्ति सबै कुखुरा समात्दै घाँटी कस्दै थुपारेछ । बाउ आउपुग्दा त कुखुराजति भुर्कुट ! अनि बाउको पालो छोरालाई एउटा दाम्दोले खाँबोमा बाँधेर अर्को दाम्लोले झ्याम कि झ्याम हानेछन्, जीउभरि सुम्ला !

भेट्न आउनेहरू अक्सर रक्सी ल्याइदिन्थे, बाउलाई । बाउ फारो गर्थे । म नजिकैको प्राथमिक स्कुल पढ्ने । अरूभन्दा पहिला घर आउँथे । बासी भात चिसै खाएर बाउको छेउमा पढ्न बस्नुपर्ने । पाठ पढेर सुनाउनुपर्ने । लेखेर देखाउनुपर्ने । यति गरेपछि खानेकुरा पुरस्कार पाउथेँ । केही नभए आधा गिलासजति रक्सी पाउँथे । स्वाट्ट पारेर कुद्थेँ । लेख्दा अलिअलि हात कामे पनि बाउ कर्सिभ लेख्थे ।

बाउभन्दा दसौं वर्ष पछिकाहरू कोही ठयाम्मै देख्दिनँ भन्थे । कोही सुन्दैनथे । कोहीका दाँत थिएन । बा किताब पढ्थे । रेडियो सुन्थे । भुटेको मकै चपाउँथे, ‘हड्डी टोक्न नपाए के मासु खानु’ भन्थे । अन्तिम अवस्थासम्ममा बाउका दुइटा मात्रै दाँत फुक्लेका थिए । एउटाचैं, ‘ढिडोसँगै लपेटिएर निलिएको ।’

बाउ न त जोकमेकर थिए न जोकटेलर । तर, उनका कतिपय कुराहरू जोकजस्ता थिए । ‘वार’ चलिहरेको थियो । बाउको ड्युटी ‘लायक’ केटा खोज्नु थियो । सिलिगुडीमा एक हूल केटाहरू फेला परे । सोधेछन्, ‘कता हिँड्या ?’ उनीहरूले भनेछन्, ‘भर्ती ।’ सबैलाई दार्जिलिङ पुर्‍याएर भर्ती गरे । एक दिन सोधेछन्, ‘तिमीहरू कोही चार नम्बरको छौ कि ?’ भोजपुरलाई पूर्व चार नम्बर भनिन्थ्यो । दुइटाले भनेछन्, ‘छौं साब !’ दुवै केटा आफ्नै टोलका रहेछन् । एक दिन त्यसैमध्येको एउटा शाकाहारी समूहमा रहेछ । सोधेछन्, ‘साधु होस् कि क्या हो ? मासु चल्दैन ?’ उसले भनेछ, ‘चल्छ नि !’ ‘त्यसो भा किन यता, मासु उता छ ।’ केहीबेरअघि एउटा साब आएर सोधेको रैछ, ‘मुर्गी खाने कि सब्जी खाने ?’ उसले मुर्गी भनेको मुड्की बुझेछ । कुटाइ खानुपर्ने डरले हतारहतार ‘सब्जी खाने सब्जी खाने’ भनेको रैछ ।

राजा, राणा र कांग्रेसले दिल्ली सम्झौता गरे । डा. केआई सिंह र रामप्रसाद राईले मानेनन् । भोजपुरमा रामप्रसादको प्रभाव थियो । गृहमन्त्री बीपी कोइराला आफैँ स्थानीय नेताहरूसँग कुरा गर्न भोजपुर आउने भए । मानिसहरू कोइरालालाई स्वागत गर्न श्यामशिला ओइरिए । पल्लोछेउमा लावालस्कर देखापरे पछि ‘जिन्दावाद’ को नारा घन्किन थाल्यो । पाँच–सात विद्रोहीले ‘मुर्दावाद’ भन्नथाले । अरूले पनि ‘जिन्दावाद’ भन्न छोडेर ‘मुर्दावाद’ भन्न थाले । ‘मुर्दावाद’ भन्दै कोइरालालाई अबीर चढाए ।

२०१५ को आमचुनाव । एक मतदाता मतपत्र लिएर सरासर बाहिर निस्किन लागेछ । कर्मचारी र सुरक्षाकर्मीले सम्झाउँदै बाटो देखाउँदै भनेछन्, ‘यता ।’ ऊ मतपत्र बोकेर बाहिरै जान खोज्दोरहेछ । किन ? परको चिलाउनेको रूख देखाउँदै भनेछ, ‘त्यसमा भोट हाल्ने हो ।’

‘मधेसमा जग्गा किन्नु जाऊँ दाजु’, कप्तानले भनेपछि बाउ पनि एक झोला ढ्याके पैसा बोकेर मधेस झरे । धरानमा एक–दुई पक्का घर र लहरै छाप्राहरू थिए । एउटा छाप्रा होटलमा ‘राखिदिनू है’ भन्दै झोला हुत्त्याइराखे । तीन दिनपछि आए । झोलाहरू जस्ताको तस्तै रैछन् । कप्तानले झोला घोप्ट्याए । झोलाभरि पैसा देखेर होटलवाला छक्कै परे । झोला थोत्रो, डङ्डङ्ती गनाउने भएर कसैले नछोएको रैछ । बाउ जग्गा नकिनी फर्किए ।

उबेला हनुमान नगरमा ठूलो हिउँदे मेला लाग्थ्यो । बाउहरू पेन्सन थाप्दै मेला भर्न हूलै बाँधेर लागे । खाना आफैं पकाइ खानुपर्ने । सप्तकोसीको सतहभरि मान्छेको बिस्टा तैरिरहेको । पानीको अर्को उपाय थिएन । अनि ? पानीको सतहमा भाँडा बजायो । मानव बिस्टा परपर हट्थ्यो । हतारहतार स्वाट्ट पानी उघायो ।

कान्छो हाँगोको जेठो भएकाले गाउँले सामाजिक मर्यादाक्रममा बाँचुन्जेल बाउ सबैभन्दा माथि रहे । बाउ भन्थे, ‘एउटा मान्छे तीनचोटि मर्छ ।’ मान्छेको पहिलो मृत्यु सामाजिक मृत्यु हो । मानिसहरूले माया मारेको, तिरस्कार गरेको अवस्था । दोस्रो, भौतिक मृत्यु । अनि तेस्रो, आत्मिक मृत्यु । आत्मिक रूपमा मरिसकेको मान्छेलाई कसैले सम्झिँदैन, सपनामा पनि देख्दैन ।

बाउ मलाई भनिरहन्थे– धेरै पढ्नु, ठूलो मान्छे हुनू । उनले यो वाक्य अन्तिमपटक मलाई क्याम्पसमा पढ्दा जाडो बिदापछि फर्किने बेला भनेका थिए । मैले स्नानोकोत्तर पास गरेको थाहा पाएको भए बाउ खुसीले नाच्थे होलान् । पढेर पनि भत्ता, कमिसन, उपहार नआउने सानो जागिरमा अल्झिरहेको तथा सँगैका धेरै साथीहरू ठूला–ठूला घर गाडीका मालिक भइसक्दा पनि कान्छो छोरो करिबकरिब तन्नम देख्दा निराश नभए पनि बाउ खुसी भने हुने थिएनन् होला । तर, अप्ठ्यारो परिस्थितिमा बाउको सम्झनाले मात्रै पनि शरीर, मन र मस्तिष्कमा तमासको ऊर्जा सञ्चार हुन्छ ।

अहिले बाउलाई सम्झिन गतिलो फोटो पनि छैन । बाउ स्मृतिमा मात्रै छन् । मेरो सपनामा बारबार आइरहन्छन् ।

त्यसैले बाउ, तिमी तेस्रोपटक मर्नेछैनौ !

प्रकाशित : वैशाख ३, २०७९ १०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×