पेलेको शान्त विद्रोह

पेलेको शव–यात्राले सान्तोसको त्यस घरलाई छोएर निस्केको थियो, जहाँ उनी हुर्के बढे । सय वर्षकी पेलेकी आमा धेरैथोक बुझ्न सक्दिनन् । त्यसैले आफ्नो प्रसिद्ध छोराको निधनबारे आमालाई पत्तो छैन ।
हिमेश

पेलेको अन्तिम संस्कार पनि सकियो । उनको शव–यात्रा त्यो घर छोएर निस्केको थियो, जहाँ उनी हुर्के–बढेका थिए । सान्तोसको त्यस घरमा अझै पेलेकी सय वर्षकी आमा क्लेस्टे आरन्टेस बस्छिन् । ब्राजिल उनलाई ‘डोना क्लेस्टे’ नामले चिन्छ । स्वास्थ्य ठीकठीकै छ, तर धेरै थोक बुझ्न नसक्ने भइसकेकी छन् । त्यसैले आफ्नो प्रसिद्ध छोराको निधनबारे उनलाई पत्तो छैन ।

पेलेको शान्त विद्रोह

पेलेकी आमाको सयौं जन्मदिन त्यही बेला परेको थियो, जति बेला कतार विश्वकप ठ्याक्कै सुरु भएको थियो । उनी १७ वर्षकी थिइन्, जतिबेला उनले पेलेलाई जन्म दिइन् । अनि १६ वर्षकै उमेरमा हो, उनले जाओ रामोस डो नासिमेन्टो (पेलेका पिता) सँग विवाह गरेकी पनि । आमा सय वर्ष हुँदा पेलेले इन्स्ट्राग्रामा लेखेका थिए, ‘यी आमाले मलाई माया र शान्तिको महत्त्व बुझाएकी थिइन् ।’ यो सन्देश छाडेको नवौं दिन पेले अस्पताल भर्ना भए । त्यहाँबाट घर फिर्न पाएनन् ।

पेलेमाथि उनका आमा–बुबाको असाध्यै प्रभाव रह्यो । ब्राजिलमा धेरैको नाम एकै शब्दको हुने गर्छ, भलै औपचारिक नामजत्तिकै लामो किन नहोस् । पेलेका पिता पनि डोनडिन्हो नामले बढी चिनिए । उनी पनि फुटबल खेलाडी थिए, ठीकैका । जति बेला पेलेको चर्चा हुन्छ, आफ्ना पितालाई उनले दिएको एउटा वचनबारे उल्लेख हुन्छ । एक वाक्यको त्यो वचनले सबैथोक बयान गर्छ ।

दिन थियो, सन् १९५० को जुलाई १६ । पेले नौ वर्षका थिए । उनको एउटै सोख थियो, फुटबल, त्यो पनि गल्लीमा खेलिने । त्यस दिन साथीसँग मस्तले छेउकै गल्लीमा फुटबल खेलेर पेले के घर फर्केथे, आफ्ना पितालाई रोइरहेको देखे । डोनडिन्होको फुटबल खेल–जीवन निकै छोटो रह्यो किनभने एक चोटले त्यसलाई लामो पार्न दिएन । पेलेलाई लागेको थियो, सायद आफूले ब्राजिलका लागि खेल्न नपाएकोमा पिता दुःखी थिए ।

तर, त्यस दिन डोनडिन्हो मात्र होइन, सारा ब्राजिल रोएको थियो । रियो डे जेनेरियोमा भएको सन् १९५० को विश्वकपको निर्णायक खेलमा उरुग्वेको हातबाट पराजित भयो ब्राजिल । नतिजा, उरुग्वे विश्वकप विजेता बन्यो । खेलअघि सारा ब्राजिली आफ्नो देशले विश्वकप जित्नेमा साह्रै ढुक्क थिए । अझ दम्भ थियो– ब्राजिलले सजिलै खेल जित्छ भन्ने । तर, मैदानमा त्यस्तो भएन । उरुग्वेले सबै अनुमानलाई माथ खुवाइदियो ।

त्यस दिन पेलेका पिता केही साथीहरूसँग घरमै रेडियो कमेन्ट्री सुनिरहेका थिए । खेल सकिएपछि डोनडिन्हो सानो नानीझैं रुन थाले । पेले फिर्दा घर सुनसान थियो, मानौं त्यहाँ कसैको मृत्यु भएको छ । अबोध पेलेले पितालाई सोधे, ‘किन पो यसरी रुनुपरेको हो त ?’ सुकसुकाउँदै डोनडिन्होले भने, ‘ब्राजिल त फाइनलमा हार्‍यो ।’ तत्काल पेलेले पितासँग भने, ‘नरुनू बुबा, एक दिन म तपाईंका लागि विश्वकप जित्नेछु ।’ र, पिता रोएको आठ वर्षपछि पेलेले सन् १९५८ को विश्वकप जिते ।

ब्राजिलको घरेलु फुटबलमा तहल्का मच्चाएपछि १७ वर्षकै उमेरमा पेले विश्वकप खेल्न रोजिए– ब्राजिली टिममा । पेलेको त्यो प्रदर्शन वास्तवमै गज्जब रह्यो । फ्रान्सविरुद्धको सेमिफाइनलमा ह्याट्रिक गरे । आयोजक देश थियो स्विडेन । स्विडेन फाइनलमा पुगेको थियो । र, स्विडेनविरुद्ध निर्णायक खेलमा पेलेले सानदार दुई गोल गरे ।

फाइनलको ह्विसल के बजेको थियो, पेलेले आफूलाई रोक्न सकेनन् । अब रुने पालो उनको थियो । आफ्ना पिता सम्झिए र पितालाई दिएको त्यो वचन सम्झिए । त्यस दिन पेलेले पिताका लागि मात्रै विश्वकप जितेका थिएनन्, ब्राजिलकै लागि मात्रै पनि विश्वकप जितेका थिएनन् । त्यो दिनपछि पूरा विश्व फुटबलकै इतिहास सधैंका लागि फेरियो । पेलेले तीनपल्ट विश्वकप जिते । कालान्तरमा पेले बने, फुटबलकै सर्वकालीन महान खेलाडी ।

ब्राजिलको राष्ट्रिय पीडा : माराकान्जो

यो सबै पृष्ठभूमिबीच फेरि एकपल्ट सन् १९५० को त्यही विश्वकपमा फर्कनुपर्छ, जतिबेला ब्राजिल उपाधि जित्न नमज्जाले चुकेको थियो । ब्राजिली फुटबलको इतिहास पल्टाउने हो भने सन् १८९४ तिर जानुपर्छ, जतिबेला बेलायतले ब्राजिललाई फुटबलसँग चिनाएको थियो । फुटबल छोटो समयमै ब्राजिली समाजमा यति धेरै घुलमिल भयो कि यसलाई एकआपसबाट छुटाउनै नमिल्ने भयो । ठ्याक्कै भन्दा फुटबल ब्राजिलको राष्ट्रिय धर्म बन्यो ।

यस्तो स्थितिमा उरुग्वेसँगको हार ब्राजिलीले कसरी पचाउन सक्थे ? फाइनल खेल प्रसिद्ध माराकाना स्टेडियममा भएको थियो र त्यो हेर्न अविश्वसनीय रूपमा दुई लाख दर्शक भेला भएका थिए । नचिताएको नतिजा आएपछि ब्राजिल गहिरो शोकमा डुबेको थियो । त्यसलाई अहिले पनि ब्राजिलको एक मात्रै राष्ट्रिय पीडा मानिन्छ । त्यो पीडा बुझाउन प्रयोग गरिने एक शब्द हो, ‘माराकान्जो’ । खेल सकिएलगत्तै एक समर्थकले आत्महत्या गरे, अन्य तीन जनाको तत्काल हृदयाघातले मृत्यु भयो ।

खेलपछिको उपाधि हस्तान्तरण कार्यक्रम पनि हुन सकेन । रंगशालाबाहिरको स्थिति निकै अनियन्त्रित भएको थियो । ब्राजिली टिमका प्रशिक्षक फ्लाभिओ कोस्टा भेष बदलेर रंगशालाबाहिर निस्कनुपर्‍यो । त्यसको दुई वर्षसम्म ब्राजिलले कुनै अन्तर्राष्ट्रिय फुटबल खेलेन । फाइनलमा ब्राजिलले सेतो जर्सि लगाएर खेलेको थियो । त्यसपछि दोहोर्‍याएर ब्राजिलले त्यो रंगको जर्सिमा कहिल्यै खेलेन । त्यसैपछि त हो, ब्राजिलले प्रसिद्ध पहेँलो र नीलो जर्सी लगाउन थालेको ।

दोस्रो विश्वयुद्धताका अमेरिकाले हिरोसिमा र नागासाकीमा अणु बम खसाल्दा पूरै जापानमा जस्तो प्रभाव परेको थियो, त्यस्तै प्रभाव त्यो हारले ब्राजिललाई परेको मानिन्छ । आम ब्राजिली शारीरिक र मानसिक रूपमै टुटेका थिए । पूरै समाज तहसनहसजस्तै भएको थियो । विश्वकप जितेर ब्राजिल आफ्नो राष्ट्रिय परिचय बनाउन चाहन्थ्यो, तर हारले त्यो सपना छिन्नभिन्न भयो । ब्राजिलमा त्यसपछि लामै समय मन्दीको स्थितिजस्तै रह्यो ।

त्यो हारको चोट अझै बढी एक वर्गमा परेको थियो– अश्वेत ब्राजिली । सन् १५०२ देखि १८६० सम्ममा ब्राजिलमा सबैभन्दा बढी अश्वेत दास कामदार प्रवेश गरेका थिए । ब्राजिलको चिनी उद्योगलाई अपार जनशक्ति चाहिएको थियो । त्यसका लागि अफ्रिकाबाट बाक्लो संख्यामा अश्वेत कामदार ब्राजिल ल्याइयो । सन् १८८८ मा मात्रै दास कामदार भित्र्याउने निन्दनीय काम रोकियो । र, ब्राजिल यस्तो काम गर्ने उत्तरी गोलार्द्धको अन्तिम देश थियो । समय बित्दै जाँदा तिनै अश्वेत दास कामदार र तिनका सन्तान ब्राजिली समाजको एक हिस्सा भए, तर तिनलाई कसैले पनि मन पराएनन् । ब्राजिलमा जति सामाजिक समस्या थिए, ती सबैको दोष तिनै अश्वेतमाथि थोपरियो । तिनीहरूलाई असाध्यै विभेद गरिन्थ्यो, छिःछिः–दूरदूरकै तहमा । तत्कालीन ब्राजिलमा यस्तो विभेदकारी समाज थियो ।

समय बदलियो । सन् १९३० मा आइपुग्दा नपुग्दै केही अश्वेत खेलाडीले ब्राजिली फुटबलमा तहल्का मच्चाउन थाले । श्वेत खेलाडीका तुलनामा अश्वेत खेलाडी हावी हुन थाले ब्राजिली फुटबलमा । पूरै ब्राजिलका लागि एक मात्रै प्रिय थियो– फुटबल । अनि यही खेलमा कोही मज्जैले जमेका थिए भने तिनै अश्वेत खेलाडी थिए । फुटबलमार्फत अश्वेत खेलाडीले पूरै ब्राजिली समाजको संरचना फेरे । अश्वेत ब्राजिली पनि श्वेतजत्तिकै सम्मानित हुन थाले ।

अश्वेतका लागि ब्राजिलमा फुटबल खेल्नुको अर्थ थियो– सामाजिक प्रतिष्ठा । ती सबै अश्वेत ब्राजिली चाहन्थे, आफ्नो देशले सन् १९५० को विश्वकप जितोस् । त्यस विश्वकपको टिममा बाक्लै संख्यामा अश्वेत खेलाडी थिए । तर, जितेनन् । त्यसैले त रोए– पेलेका पिता । उनी मात्रै रोएका थिएनन्, धेरै थिए रुनेहरू । तर, सन् १९५८ मा पेलेले ब्राजिलका लागि विश्वकप जितेपछि सबैथोक फेरियो । ८ वर्षअघिको पीडा बिर्सेर सबै ब्राजिलीले खुसी मनाए ।

विशेषतः अश्वेत ब्राजिलीले अपार खुसी महसुस गरे । त्यही बेलादेखि त हो, फुटबललाई ‘सुन्दर फुटबल’ भन्न थालिएको । फुटबल हेर्दा जति मज्जा आउँछ, यसले पेस गर्ने कला आफैंमा सुन्दर हुन्छ । त्यसै कारण मात्रै फुटबललाई सुन्दर भनिएको होइन । खासमा फुटबललाई किन सुन्दर भनिएको हो भने यो खेलले पूरै समाज र देशमा परिवर्तन ल्याउने सामर्थ्य राख्छ । पेलेको परिवार पनि गरिबै त थियो । उनको परिवारमा एउटा ढंगको बल किन्ने औकात पनि थिएन । तर, यही खेलले पेलेले सबथोक पाए, वास्तवमै सबथोक ।

पेलेले पितालाई दिएको वचन मात्रै प्रसिद्ध छैन्, उनको अर्को भनाइ पनि चर्चित छ । पेले भन्थे, ‘मैले फुटबल खेल्दा कहिल्यै आफ्नो छालाको रंग छोपिनँ ।’ भनौं, उनले छालाको कालो रंग फुकालेनन् । सबैले देखे, पेले अश्वेत हुन् र उनको छाला वास्तवमै कालो छ । पेलेले यस्तो किन भन्नुपरेको थियो भने एक समय उनीमाथि आरोप लाग्न सुरु भएको थियो– किन उनले विभेदकारी समाजमा अश्वेतका पक्षमा विद्रोह गरेनन् ?

उनको फुटबल खेल जीवन त्यही बेला उत्कर्षमा थियो, जति बेला अचम्मले अश्वेत र केही हदसम्म कुरूपलाई बकाइदा चिडियाखानमा राखिन्थ्यो । मानौं, अश्वेत मानिस जनावर हुन् । तिनलाई अन्य जनावरलाई झैं पिंजडामा हालिन्थ्यो । श्वेत मानिसहरू पैसा जितेर तिनै चिडियाखान भ्रमण गर्थे, अनि यस्ता पनि मान्छे हुन्छन् भनेर चित खान्थे । तर, त्यो थियो– विवेदको दम्भले छोपेको निन्दनीय श्वेत मानसिकता ।

पेलेका समयकै एक अर्का प्रसिद्ध खेलाडी हुन्, मोहम्मद अलि । उनी बक्सिङका परे । आफ्नो समयमा उनले पनि विश्व बक्सिङमा तहल्का मच्चाए । मोहम्मद अली त उनले आफैं राखेको नाम भयो । त्यसअघि उनी थिए, कसियस क्ले । स्वभावमा उनी पेलेको ठीक उल्टो थिए । उनले पनि रंगभेदशको चर्को व्यवहार सहनुपरेको थियो । त्यसैले उनले नामै फेरे, धर्मै फेरे । उनी यत्तिकैमा शान्त रहेनन् । तत्कालीन अमेरिकी समाजप्रति विद्रोह नै गरे । सक्दो उपद्रो पनि मच्चाए । यी सबैको छुट्टै कथा छ । लामो पनि छ ।

उनले आफैंले आफैंलाई विश्वकै महान घोषित गरेका थिए । अमेरिकामा सन् सत्तरीतिर चलेको अश्वेत आन्दोलनका एक अगुवा थिए, मोहम्मद अली । उनलाई आदर्श मान्नेहरूले, उनले रोजेको बाटो ठीक भन्नेहरूले पेलेको चर्को आलोचना पनि गरे । तर, पेलेले कहिले पनि श्वेत मानिसलाई गाली गरेनन्, एउटै गलत शब्द बोलेनन् । अझ भन्दा विद्रोह गर्न चाहेनन् । आफ्नो खेल जीवनको अन्त्यतिर पेले अमेरिका पुगे र त्यहाँको न्युयोर्क कसमसबाट खेले । सन् १९७७ को पेलेको अन्तिम खेल हेर्न अलि आफँं न्युयोर्कको प्रसिद्ध जायन्ट्स स्टेडियम पुगेका थिए । खेल थियो, कसमसविरुद्ध सान्तोसको । पेलेको पहिलो ठूलो क्लब हो, सान्तोस । सान्तोस पेलेको सहरको क्लब पनि हो, जहाँ उनले वास्तविक ख्याति कमाए । खेल सकिएपछि पेलेले अलीलाई भेटे । दुवैले अँगालो मारे । पेलेले अलीको गालामा हल्का चुम्बन गरे । समग्र विश्व खेलकुदकै आइकोनिक तस्बिर बन्यो, त्यो । अलिले पनि माने, पेलेको राजेको बाटो आफैंमा कम्तीको थिएन ।

सन् २०१६ मा अलीको निधन भएको थियो । त्यति बेला पेलेले भनेका थिए, ‘मेरो साथी, मेरो आदर्श, मेरो नायकको निधन भएको छ ।’ उनको मनको कुनै कुनामा अली पनि थिए, उनले रोजेको बाटो पनि थियो । खासमा विद्रोह त अलीले पनि गरेका थिए, पेले पनि गरेका थिए । तर, त्यसमा फरक थियो । पेलेको विद्रोह शान्त थियो । उनले फुटबल खेले, त्यसमा उत्कृष्टता प्राप्त गरे, ख्याति कमाए, सबैले चिन्ने भए । उनले खेलेरै सिद्ध गरे, कोही अश्वेत छालाको रंगकै कारण कमजोर हुँदैनन् र असभ्य हुँदैनन् ।

अन्त्यमा अमेरिकाका पूर्वराष्ट्रपति रोनाल्ड रेगनको एक भनाइ सम्झौं । अमेरिकको सर्वोच्च पदमा हुँदा रेगनले पेलेलाई भेटेका थिए । त्यति बेला उनले भनेका थिए, ‘मेरो नाम रोनाल्ड रेगन । म अमेरिकाको राष्ट्रपति हुँ । तर, पेलेले आफ्नो परिचय दिन आवश्यक छैन । किनभने पेले को हुन्, त्यो सबैलाई थाहा छ ।’ यो भनाइले सबथोक भन्छ । आमाले जे सिकाएकी थिइन् पेलेले त्यो बिर्सेनन्, माया र शान्तिलाई नै सबथोक माने ।

पेलेले आफ्ना पिता र पुर्खालाई कहिल्यै बिर्सेनन् । फुटबल खेल्न छाडेपछि पनि आफूलाई सक्रिय राखे । शान्तिको सन्देश दिँदै विश्व घुमे, फुटबलको वास्तविक राजदूत बने । जति बेला पेलेले मृत्युको अन्तिम सत्यलाई आत्मसात् गरे, पूरै ब्राजिल फेरि एकपल्ट रोएको थियो । यसपल्ट ब्राजिलको पीडामा एक्लो यो देश मात्रै रोएन, पूरै विश्व रोयो । पेलेले खेलेरै व्यापक मलामी कमाएका रहेछन् । अन्तिम संस्कारमा त्यो देखियो ।

प्रकाशित : पुस २३, २०७९ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?