कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विख्यात कोविद, गुमनाम कोविद

‘कोविद’ ले प्रेम लेखे । प्रेमसँगै समाज लेखे । समाजसँगै आम मान्छेको कथा लेखे । तर, असाध्यै तन्मयसाथ कोविद पढ्नेहरुले भनिरहे– ‘उनले साह्रै सस्तो साहित्य लेखे ।’
छुदेन काविमो

त्यो अर्कै जमाना थियो ।
अहिलेजस्तो सबैका हात–हातमा मोबाइल फोन थिएन । घर–घरमा टेलिभिजन थिएन । मान्छेसँग मनोरञ्जनको अर्को कुनै साधन छँदै थिएन । 
त्यसोभए त्यो पुस्तासँग छुटाउनै नहुने थोकचैं के थियो नि ? त्यो केवल प्रकाश ‘कोविद’ कै उपन्यास थियो, जसलाई मान्छे छातीमै टाँसेर राख्न चाहन्थे । खोजी–खोजी पढ्न चाहन्थे । दार्जिलिङका मान्छे त्यही उपन्यासका पात्रहरूसँग घुम्दै–घुम्दै नेपाल पुग्थे । नेपालका मान्छे त्यही उपन्यासका पात्रहरूलाई पछ्याउँदै–पछ्याउँदै कालेबुङ आइपुग्थे । 

विख्यात कोविद, गुमनाम कोविद

हो । त्यो प्रकाश ‘कोविद’ कै उपन्यासको जमाना थियो ।

प्रकाश कोविदको उपन्यास पढेर कति पुस्ता हुर्किए ? त्यो त मलाई थाहा छैन ।

मलाई त यति मात्रै थाहा छ, जब हामी निकै साना थियौं गाउँमा साउँ अक्षर जान्ने जो कोहीले पनि ‘कोविद’ कै उपन्यास खोजिरहेका हुन्थे ।

जब कोही ‘कोविद’ को नयाँ उपन्यास पाउँथ्यो, ऊ पहिले कथा पढ्थ्यो । त्यसपछि उपन्यासभित्रका मनपरेका हरफलाई पेन्सिलले दाग लगाउँथ्यो र मन परेको मान्छेलाई लेखेको चिठीमुनि सुटुक्क सारिदिन्थ्यो । मेरो गाउँमा यस्ता कुनै तन्नेरी छँदै थिएनन्, जसले प्रकाश ‘कोविद’ को उपन्यासको पहिलो पन्नामा लेखिएको पंक्ति चोरेर चिठी नलेखेको होस् ।

जब उपन्यास पढिसक्थे, जब मन परेको लाइन सारिसक्थे तब बल्ल त्यो उपन्यास अरूले पढ्न पाउँथे । त्यसपछि त ‘कोविद’ को उपन्यास गाउँमा फनफनी घुम्न थाल्थे, हरेक तरुणी–तन्नेरीको सिरानीमा पालैपिलो चेपिन आइपुग्थे । घुम्दा–घुम्दा जब किताबका पन्नाहरू च्यातिनै लागेका हुन्थे, तब बल्ल उपन्यास हाम्रो घरसम्म आइपुग्थ्यो । म त्यही उपन्यास पढ्थें र रुँदै रुँदै सोच्न थाल्थें, ‘कस्तो होला त्यो कालेबुङ सहर ? कस्तो होला त्यति मायालु नर्सको अनुहार ? कस्तो होला त्यो अस्पताल ? त्यो सहर ? त्यो बाटो ? ती सडक र गल्लीहरू ?’

हो । मैले पहिलोचोटि कालेबुङ सहरलाई ‘कोविद’ कै उपन्यासमा देखेको हुँ । त्यो दुर्पिनको गुम्बा, त्यो नोभेल्टी हल, त्यो कञ्चन सिनेमाको भीड, त्यो हिलो छ्याप्ने गाडी, गुड्ने रेलीको सडक ।

मैले सब–सब उनकै उपन्यासमा भेटेको हुँ ।

जब उपन्यासमा घुमेको सहरको पात्र बन्न म आफैं कालेबुङ आइपुगेँ, तब पो बल्ल मैले बुझेँ– मलाई कथामा कमान, बस्ती र सहर घुमाउने लेखकको खास नाम त नरबहादुर राई पो रहेछ, जो १५ फेब्रुवरी १९३२ का दिन दार्जिलिङको भोटे बस्तीमा जन्मिएका थिए ।

नरबहादुरको घरमा सबथोक त थिएन, तर कलालाई प्रेम गर्ने हृदय पक्का थियो । किनकि उनका पापा रामबहादुर राई आफैं पनि चित्रकार थिए । त्यही भएर होला, प्रकाशको पहिलो प्रेम चित्रकारितासँगै झ्यांगिन थाल्यो । केटा–केटी छँदादेखि नै उनले चित्र बनाउन सिके । चित्र कोर्दा–कोर्दै कल्पना गर्न सिके । अनि त थोरै–थोरै लेख्न पनि सिके ।

ठ्याक्कै त्यही बेलाको कुरा हो । उनी बाह्र वर्ष मात्रै पुगेका थिए । अगमसिंह गिरी र अच्छा राई ‘रसिक’ हरूसँग उनको घुलमेल सुरु भयो । त्यसपछि त के चाहिन्थ्यो र ? केटौले उमेरमै उनीभित्रको लेखक जुर्मुराउन थाल्यो । सात कक्षामा छँदै उनले पहिलो कथा लेखे, ‘चित्रकार’ ।

दार्जिलिङको भोटे बस्तीमा एउटा स्कुल छ, वाईएमबीए । उनी त्यही स्कुलमा पढ्दै गर्दाको कुरा हो । एउटा हस्तलिखित पत्रिका निस्किन थालेको थियो, जसलाई नाम दिइएको थियो– ‘प्रकाश’ । नरबहादुरले त्यही प्रकाश टिपे र लगातार लेख्न थाले । पछि जब बीए लेभलमा पुगे, राष्ट्र भाषा समितिको ‘कोविद’ परीक्षा पास गरे । तब ‘प्रकाश’ को पछि ठ्याक्कै त्यही ‘कोविद’ ल्याएर राखे । र, हरेक नयाँ उपन्यासको गातामा लगातार लेख्न थाले– प्रकाश ‘कोविद’ ।

अनि ? अनि त बिस्तारै प्रकाश ‘कोविद’ यति चर्चित हुँदै गए, बजारमा किताब बिक्नलाई उनको नाम मात्रै पनि काफी हुन थाल्यो । उसै पनि त्यो बेला इन्द्रबहादुर राईहरू साहित्यमा वौद्धिकताका कुरा गरिरहेका थिए । क्लिष्ट लेखिँदा मात्रै साहित्य हुने हो त ? प्रश्न उठिरहेका बेला प्रकाश ‘कोविद’ ले सरलतालाई हतियार बनाए । र, प्रेमिल उपन्यास लेख्न थाले, जसले गर्दा उनी सहजै आम मान्छेको ढुकढुकीमा पस्न थाले । त्यसपछि त उनले यसरी लेख्दै गए, जुन लेखनले कति छिट्टै नेपाली साहित्य पढ्ने एउटा ठूलो जमात नै खडा गरिदियो ।

अनि त बिस्तारै यस्तो समय पनि आयो । ‘कोविद’ को किताबभित्र के छ ? भन्ने कुरा मान्छेका निम्ति दोस्रो कुरा हुन थाल्यो । पहिलो कुरा त किताबको गातामा प्रकाश ‘कोविद’ लेखिएको हुनुपर्थ्यो । भारत–नेपाल दुवैतिर उपन्यास हारालुछ भइहाल्थ्यो । त्यसैले होला, बिस्तारै उनलाई उपन्यास लेखिसिध्याउनै गाह्रो हुन थाल्यो । तर, प्रकाशकलाई त उपन्यास चाहिएको थियो । त्यसैले नयाँ बदमासी सुरु गरिदियो । किताबको गातामा नयाँ शीर्षक दिएर प्रकाश ‘कोविद’ लेखिदियो, भित्र पुरानै कथा हाल्यो र बेचिदियो । यो क्रम निकै लामै समयसम्म दोहोरिइरह्यो ।

त्यही भएर त हो, ‘संगम’ उपन्यास ‘मायाको संगम’ पनि बनेर बजारमा बिक्यो । ‘क्याप्टन साहेब’ ले पनि नयाँ नाम पाए, ‘साहेब र आदर्श प्रेम’ । ‘भरोसा’ ‘मायाको भरोसा’ बनेर दोस्रोचोटि बजारमा आयो । ‘दोबाटो’ त पछि ‘दुई मुटु’ भएर पाठकको घर–घर पुग्यो । हो त्यही कारण हो । प्रकाश ‘कोविद’ को उपन्यासको संख्या केहीले साठीवटासम्म देखाएका छन् । तर, उनको उपन्यास चालीसवटा मात्रै हो । अन्त्यमा उनले लेखेको उपन्यास ‘चालीस दिन’ नै हो, जुन किताब नदेखी उनी बिते । प्रकाश ‘कोविद’ यस्ता लेखक हुन्, जसले कहिल्यै हल्ला गरेर किताब विमोचन गरेनन् । उनको किताब पर्खिएर बस्नेहरू आफैं समयसमयमा किताब दोकान आइपुग्थे । र, दोकानदारलाई सोधिरहन्थे, ‘कोविदको नयाँ उपन्यास कहिले आउँछ ?’

जब किताबको माग ज्यादै बढ्थ्यो, प्रकाशकहरू ‘कोविद’ लाई भेट्न जान्थे । र, पन्ध्र सय रुपैयाँसम्म एडभान्स दिएर सोध्थे, ‘पाण्डुलिपि लिन कहिले आउनु नि ?’

‘अर्को महिनाको पच्चीस तारिख आउनू’, रोयल्टी थाप्दै उनी भन्थे । नभन्दै दुई महिना पनि नपुगी पाण्डुलिपि तयार भइसकेको हुन्थ्यो । त्यसपछि थप पन्ध्र सय दिएर प्रकाशकहरू फर्किन्थे । अनि त बल्ल पाठकले सोधेको प्रश्नको जवाफ दोकानदारबाट पाउँथे । त्यो बेला तिनको उपन्यासको दाम बजारमा दुईदेखि तीन रुपैयाँसम्म पर्थ्यो । ‘कोविद’ एउटा उपन्यास लेखेको तीन हजारसम्म रोयल्टी लिन्थे । त्यसको बदलीमा जति किताब छापे नि हुन्थ्यो । कहिलेकाहीं त एउटा प्रकाशकले रोयल्टी दिन्थ्यो, अर्को प्रकाशकले ब्ल्याकमा पनि किताब छापेर बेचिरहेका हुन्थे ।

हो, ‘कोविद’ ले हाम्रै कथा लेखे । हाम्रै समाजको चित्रण गरे । ब्रिटिसकालीन दार्जिलिङको नक्सा देखाउन ‘तर कहिले ?’ लेखे । तिब्बती शरणार्थीहरूको समस्या निर्क्योल्न ‘नोयो’ लेखे । आन्दोलनको व्यथा केलाउन ‘चालीस दिन’ लेखे । तर, जे लेखे पनि उनको कथाको केन्द्रमा प्रेम नै हुन्थ्यो ।

सामान्य मान्छेहरूले गरेको प्रेम टुंगिन ठूलो कुरा के पो चाहिन्थ्यो र ? साना–तिना अभाव र साना–तिना घटनाकै कारण त्यो प्रेम टुट्थ्यो । र, त्यही टुटेको प्रेमवरिपरि ‘कोविद’ को उपन्यास घुमिरहन्थ्यो । मान्छे त्यही प्रेम–कथा पढ्थे र आँसुसरि भएर फेरि बजार आइपुग्थे, ‘कोविद’ को अर्को उपन्यासचैं फेरि कहिले आउँछ ?’

गाउँदेखि कमानसम्मका मानिसहरू तिनका किताब यसरी नै खोजिरहन्थे । उनको उपन्यास फेरि त्यसरी नै कमान पुगिरहन्थ्यो । गाउँ घुमिरहन्थ्यो । हजारौं तन्नेरी–तरुनीहरूको सिरानीमुनि पालैपिलो चेप्टिरहन्थ्यो ।

प्रकाशकहरूले नेपालको माग पनि त पूरा गर्नुपर्थ्यो । त्यसैले आफैंचैं झोलामा उपन्यास च्याप्थे । र, काँकरभिट्टा छिर्थे । बिर्तामोड, धरान हुँदै काठमाडौंसम्म उनको उपन्यास पुर्‍याउँथे । त्यहाँ नि बजार उस्तै थियो । किताब बिक्न उनको नामै काफी थियो । गातामा प्रकाश ‘कोविद’ मात्रै लेखियोस्, मान्छेले हारालुछ गरिहाल्थे ।

त्यसपछि ? त्यसपछि काठमाडौंबाट कलेज पढ्दै गरेका ठिटीहरू ‘कोविद’ लाई चिठी लेख्थे, ‘तपाईं कसरी यस्तो कथा लेख्न सक्नुहुन्छ ? किन हरेकलाई आँसु झार्न लगाउनुहुन्छ ? तपाईंको उमेरचैं कति हो ? तपाईंलाई बेहद प्यार छ ।’

कलेजियन ठिटीहरूले तन्नेरी लेखक सम्झेर लेखेको चिठी ‘कोविद’ मनमनै पढ्थे । र, पचास पुग्न लागेको अनुहारको चाउरी छाम्दै एक्लै हाँसिरहन्थे ।

प्रेम लेख्ने मान्छे सबै प्रेमिल हुन्छन् ? त्यो त मलाई थाहा छैन । तर, प्रकाश ‘कोविद’ साँच्चै प्रेमिल मान्छे थिए । भावुक मान्छे थिए । केटाकेटी छँदै उनी पहिलो प्रेममा परेका थिए । एउटै क्लासमा पढ्ने केटीसँग उनको प्रेम बसेको थियो । उनीहरू सँगै खेल्थे । सँगै स्कुल जान्थे । जति–जति क्लास उक्लिँदै गए, उनीहरूको प्रेम पनि उत्तिकै अग्लिँदै गयो ।

तर, अचानक त्यो समय आइदियो, जब प्रकाश आफैं स्कुलमा फेल भए अनि प्रेमिकाचैं पास भएर अर्कै स्कुलतिर गइदिइन् ।

त्यसपछि ? त्यसपछि त उनको जीवनमा त्यो कुइनेटो आइदियो, जहाँबाट उनले पहिलो प्रेमिकालाई कहिल्यै भेट्नै सकेनन् । प्रकाशले जीवनमा सबैभन्दा धेरै माया गरेको मान्छे यसरी हराइदियो, जसरी दार्जिलिङका पाखाहरूमा उडिरहने सेता बादलहरू आफैं कतै हराइजान्छन् । उनको पहिलो प्रेमिका, त्यही बादल बनिन्, जसलाई उनले फेरि कहिल्यै भेट्न सकेनन् । तर, प्रकाशको मनमा एक टुक्रा बादल त उनले पनि छाडिराखेकी थिइन् नि, जसलाई हेरेपछि ‘कोविद’ का आँखामा जहिल्यै यादको पानी बर्सिन थालिहाल्थ्यो ।

प्रेम त्यस्तै त हुन्छ नि, होइन र ?

जब तपाईं कसैलाई साँचो प्रेम गर्नुहुन्छ नि, मनैबाट कसैलाई सहयात्री सम्झिनुहुन्छ नि, तब तपाईंलाई यस्तो पक्कै लाग्दैन कि भौतिक रूपमा उसैको हात समाएरै हिँडिरहनुपर्छ ।

तपाईं कसैलाई साँच्चिकै प्रेम गर्नुहुन्छ भने यति आभास त पक्कै भइहाल्छ कि, हिँड्दा जब थोरै थाकिन्छ, सुस्केराहरूसँग उसको नाम ओठमा आइदिइयोस् । यति काफी छ । जब कतै पैतालामा ठेस लाग्छ, बतासले उडाएर ल्याएको अलिकति उसैको मुस्कान सम्झनामा छाइदिइयोस् । यति काफी छ ।

हो । साँचो प्रेम गरिएका मान्छे त ठ्याक्कै मन परेका कथाका त्यही पात्रहरूझैं हुनेरहेछन्, जसलाई सोचेर मात्रै पनि तपाईं मुस्कुराउन सक्नुहुन्छ । रुन सक्नुहुन्छ । खित्का छोडेरै पनि हाँस्न सक्नुहुन्छ ।

प्रकाश ’कोविद’ ले पनि त जीवनमा पहिलोचोटि कसैसँग साँचो प्रेम गरेका थिए, जसलाई उनी यत्तिकै कसरी पो भुल्न सक्थे र ?

जीवनका अप्ठ्यारा कुइनेटामा छुट्टिएकी प्रकाशकी ती प्रेमिका कहाँ पुगिन् होलिन् ? त्यो त कसैलाई थाहा छैन । तर, उनको याद यति गाडा थियो, जो ‘कोविद’ ले लेखेका हरेक उपन्यासको पहिलो पन्नामै सधैं सुस्केरा बनेर झुल्किरहे,

‘मोती दिएर आँसु बटुलें

हार भएन जित

हाँगाबाट खसेको फूलले

भुल्न सकेन प्रीत ।’

– नानालाई समर्पण

प्रकाश कोविद शिक्षक हुन् । प्राइमेरी स्कुल पढाउँथे । शिक्षक बन्नुअघि बीटी ट्रेनिङ गर्नुपर्थ्यो । कोविद त्यही ट्रेनिङका निम्ति कालेबुङ आएका थिए । त्यो सन् १९६६ तिरको कुरा हो, जुन बेला कालेबुङको बीटी कलेजमा गोपाल योञ्जनदेखि कुमार सुब्बासम्म पढ्न आएका थिए । विनोद स्याङ्देनदेखि प्रकाश ‘कोविद’ सम्म आइपुगेका थिए ।

प्रकाश ‘कोविद’ त्यतिबेला कालेबुङ आएका थिए, जतिबेला उनी उपन्यासभन्दा धेरै कथा लेख्थे । उनका उपन्यासहरू धेरै आइसकेका थिएनन् । त्यसैले मान्छेले उनलाई राम्ररी चिनेकै थिएनन् । ठीक त्यही बेलाको कुरा हो, उनले बीटी कोर्स सुरु गरे । बीटी कलेजसँगै जोडिएको अर्को गभर्मेन्ट जुनियर बेसिक स्कुल थियो, जहाँ रहेको प्राथमिक पाठशालामा बीटी गर्नेहरूले व्यावहारिक कक्षा लिनुपर्थ्यो, जसका हेड मास्टर दशरथप्रसाद घिमिरे थिए ।

हेडमास्टरका भतिज रतन घिमिरे पनि त्यहीँ पढ्थे, जो निकै बदमास थिए । ट्रेनिङ गर्न आउनेहरूलाई भन्थे, ‘सरहरूको रिजल्टचैं हाम्रो हातमा छ नि ! हामीलाई खाजा खुवायो भने मात्रै बल्ल पास हुने हो नि ! नत्र चैं फेरि हामी परीक्षामा हेर्छौं नि !’

शिक्षकहरूको परीक्षाको परिणामचैं विद्यार्थीको हातमा ? प्रकाश ‘कोविद’ अलि सोझा थिए । कुरा सुनेरै उनी छक्क परे । तैपनि रतनले अर्डर गर्न छाडेनन्, ‘पास हुने हो भने ब्रेड किनिदिनु सर !’

स्कुलका केटाहरूले कुरा बुझेनन् । भोलिपल्ट हेडमास्टरकहाँ त्यही कुरा पुगेछ । आउनासाथ रतनलाई अघि बोलाए र चार भाटा हाने । त्यसपछि बल्ल सोधे, ‘तैंले त ट्रेनिङ गर्न आउने सरहरूलाई त इक्जाममा हेर्छु भनेछस् । तलाईं चै म हेर्छु नि, बुझिस् !’

रतन आँखाभरि आँसु बनाएर पछि फर्किए । त्यसपछि पो केटाहरूले बल्ल कुरा बुझे । ट्रेनिङ गर्न आउने सरहरूले व्यावहारिक क्लास प्राइमेरीका नानीहरूसँग लिनुपर्ने रहेछ । पढाएको कुरा बुझेर नानीहरूले राम्रो जवाफ दिए मात्रै सरहरू पास हुने रहेछन् । त्यही भएर पो रतनले ट्रेनिङ गर्न आउने सरहरूलाई दग्दी दिँदा रहेछन्, ‘पास हुने मन भए ब्रेड किनिदिनुस् !’

रतनले त्यसपछि सधैंका निम्ति ब्रेड अर्डर गर्न छाडिदिए । सन् १९६७ मा प्रकाश ‘कोविद’ ले बीटी परीक्षा पहिलो श्रेणीमा पास गरे । उनी फेरि दार्जिलिङ फर्किए ।

‘कोविद’ सँग एउटा क्षमता थियो । उनी जहाँ पुग्थे, त्यहीँको परिवेशमा उपन्यास लेख्थे । त्यहीँ वरिपरिका पात्रहरूलाई कथामा सुटुक्क घुसाउँथे । कालेबुङको परिवेशमा पनि उनले ‘अर्को जन्म’ लेखे । त्यो उपन्यास पछि यति चर्चित बन्यो, जसको कथामाथि फिल्म नै बन्यो । अहिले पनि नयाँ नयाँ कभरमा त्यो उपन्यास बजारमा बिकिरहेकै हुन्छ ।

प्रकाश ‘कोविद’ ती लेखक हुन्, जसले नेपाली पाठकलाई किताब पढ्न सिकाए ।

उनको कथा धागोको त्यो डल्लोजस्तै हुन्थ्यो, जो फुस्किन थालेपछि नसकिएसम्म पाठकलाई तानिरहन सक्थ्यो । उनी कथामा त्यो इमोसन हालिराख्थे, जसले हरेक मुटुलाई सहजै छोइहाल्थ्यो । त्यसैले त कमानका मान्छे पत्ती टिपेर फुर्सद पाउनासाथ उनकै उपन्यास पढिरहेका हुन्थे । बस्तीका मान्छे गाई गोठोला गर्न जाँदा उनकै उपन्यासँग रोइरहेका हुन्थे । स्कुले विद्यार्थीहरू कोही खेल्न बाहिर निस्केन भने सम्झे हुन्थ्यो, लुकेर प्रकाश कोविदकै उपन्यास पढिरहेका छन् ।

उनी सरल मानिस थिए, सरल कथा लेखिरहे । जुन समाजमा हुर्किए, त्यही समाजको कथा भनिरहे । पहिलो प्रेमिका हराएपछि गंगामाया सुब्बासँग उनको भेट भयो, जो प्रसिद्ध गायक कुमार सुब्बाकी दिदी थिइन् । कोविदले उनैसँग बिहे गरे । तर, क्षयरोगको कारण उनी छिट्टै बितिन् । स्वास्नी बितेको महिना दिन नपुग्दै आमाले पनि सधैंका निम्ति धर्ती छाडिन् । त्यसपछि त उनी अझ विह्वल बने । र, त्यही वियोगको कथा उपन्यासमा लेख्न थाले । त्यसपछि बल्ल उनको भेट रूपा राईसँग भयो । उनले दोस्रो बिहे गरे । रूपा चित्र बनाउँथिन् । कला बुझ्थिन् । त्यसैले उनलाई लेख्न अझ सहज भयो । तर, लेखकको दुःख कहिले सकिन्थ्यो र ? ‘कोविद’ लाई फेरि फोक्सोको रोगले समातिहाल्यो ।

उनलाई बिस्तारै अब सास फेर्नै गाह्रो हुन थाल्यो । जुन लेखक हरेक कथामा शब्दले नै सास हालिदिन्थे, तिनै लेखकलाई अब आफैं सास फेर्न गाह्रो हुन थालेको थियो । त्यसैले घरकाहरू आत्तिए । उनलाई अस्पताल पुर्‍याए । डाक्टर आफन्तै थिए । तैपनि केही गर्न सकेनन् । जब अन्तिम अवस्थामा पुगे, तब डाक्टरले भने, ‘अब हामीबाट केही हुन्न । प्रार्थना गर्नुहोस्, माथिबाट केही हुन्छ कि ?’

साँच्चै त्यस्तै भयो । लामो समय बेहोसजस्तै बनेका ‘कोविद’ होसमा फर्किए । र, कान्छी श्रीमतीलाई बोलाएर भने, ‘रूपा म त धेरै माथि पुगेर फर्किएँ । हिँड्दाहिँड्दा खुट्टा गल्यो । साह्रै थाकेको छु आज ।’

उनी बोलेको सुनेर सबैको अनुहार उज्यालियो । हरेकको अनुहारमा नयाँ घाम उदायो । र, त्यही घामको न्यानोसँग ‘कोविद’ लाई लिएर सबै जना भोटे बस्तीको पुरानै घर फर्किए । तर, घर फर्किएर दिन पनि बित्न पाएको थिएन, उनी सधैंका निम्ति हिँडे । आफ्नो कथामा अलग संसार बनाएर हरेक पाठकलाई घुम्न लगाउने कोविदले ११ नोभेम्बर १९९२ मा सधैंका निम्ति यो संसार छोडे ।

हो । कोविद जति सुन्दर लेख्थे, उत्तिकै सुन्दर चित्र बनाउँथे । उत्तिकै सुन्दर कथा लेख्थे । अनुवाद गर्थे । नाटक लेख्थे । निबन्ध लेख्थे । बाल कथा लेख्थे ।

पाठ्यपुस्तक तयार गर्थे । बाँसको खपेटामा बनाएको उनको चित्र त यति सजीव हुन्थ्यो नि, जसले हरेकलाई नयाँ दुनियाँमा पुर्‍याइहाल्थ्यो । यस्तो लाग्छ, ‘कोविद’ लाई रङहरूसँग बेहद प्रेम थियो । त्यसैले त जब उनी कुनै उपन्यास लेखेर सिध्याउँथे, रङहरूसँगै खेल्न थालिहाल्थे ।

तर, जब उनी लेख्न थाल्थे, सबथोक बिर्सन्थे । कहिलेकाहीँ बिहान चार बजेदेखि बेलुकी पाँच बजेसम्म लगातार लेखिरहन्थे । जब मुड हुन्थ्यो, हातमा चाम्स सिग्रेट सल्काउँथे । सुलेखाको मसी फाउन्टेन पेनमा लगाउँथे । र, कथासँग दगुर्न थाल्थे ।

जब लेखेर थकित हुन्थे तब लोकल रक्सी पिउँथे । र, एक्लै धुमधुम्ती नारायणगोपालको गीत सुन्दै गुनगुनाउन थाल्थे, ‘मलाई नसोध कहाँ दुख्छ घाउ... !’

त्यो घाउ के थियो होला ? प्रकाश ‘कोविद’ ती भाग्यमानी लेखक हुन्, जसले प्रेम लेखेरै दुनियाँको मन जिते । हजारौं पाठक कमाए । केही पुस्तालाई नेपाली किताब पढ्ने बनाए । दर्जनौ नयाँ लेखक जन्माए ।

तर, ती अभागी लेखक पनि त थिए, जसलाई प्रेम लेखेकै कारण समालोचकहरूले साइडलाइन गरिरहे ।

‘कोविद’ ले प्रेम लेखे । प्रेमसँगै समाज लेखे । समाजसँगै आम मान्छेको कथा भने । उनको कथामा हाम्रै मान्छेका पीडा हुन्थ्यो । तर, त्यही कथा पढेर लेख्न सिक्नेहरूले नै उनको लेखनलाई एउटै कारण ओझेलमा पारिराखे कि ‘कोविदले प्रेम मात्रै लेखे । साह्रै सस्तो साहित्य लेखे ।’

उनले जुन समाजमा प्रेम लेखे त्यो समाजका मान्छेले प्रेमलाई लुकाएर राख्नुपर्थ्यो । युवाहरूले गर्न नपाएको प्रेमको अभिव्यक्ति उनका उपन्यासमा देखिए । र, नै त उनले लेखेको प्रेम–कथा यति धेरै चर्चित भए । तर, त्यही प्रेम लेखेकै कारण देखाएर उनको योगदानको मूल्यांकन गर्न साहित्यिक जमात सधैं चुकिरहे । जान–अनजानमै किन नहोस्, ‘कोविद’ लाई सधैं अनदेखा गरिरहे, गुमनाम पारिरहे । सधैं दुखिरहने प्रकाश ‘कोविद’ को त्यो घाउ कतै यही त थिएन के ? सोध्न नमिल्ने त्यो घाउको डाम कतै त्यही त थिएन के ?

नोयो स्मृति
शरद छेत्री

लेखक प्रकाश ‘कोविद’ को मृत्युले हाम्रो ठूलो क्षति भएको छ । नेपाली पुस्तकप्रति पाठकको अभिरुचि जगाउने श्रेय प्रकाश ‘कोविद’ लाई छ । ‘नोयो’ उपन्यासपछिका प्रकाश ‘कोविद’ का रचना–जगत् अन्तर्गत केवल रोमान्टिक रङ–रोगनको प्राचुर्य छ भनी धेरै समालोचकले टिप्पणी गरेका छन् ।

अरू जेसुकै होस् ‘कोविद’ को कलम र कुची जीवन रहुन्जेल कहिल्यै स्तब्ध रहेन । हाम्रो साहित्यमा पनि दल वा गुट जन्म्यो, वाद आयो, प्रतिवाद जाग्यो, संस्था बन्यो, विद्वता गम्कियो, कूटनीति आयो, राजनीति नाच्यो, कतै पाश्चात्य प्रगतिको मापक ल्याई हाम्रो स्तरीयताको हिसाब खोज्न थालियो । अझ त्यसैमाथि थप भाषा नामको टर्रो विवादले झटारो हानियो । यसरी आघातै–आघातले लेखक–कलाकारको आकृति झन्–झन् असहाय, एक्लो, ख्याउटो र विकृत पारियो । तब मर्यादाहीन भएर जीवन निर्धनता र तिरस्कारमा धान्नैपर्ने हाम्रो शुष्क समाजका लेखक–कवि–कलाकारले कतिन्जेल पो सम्पूर्ण विपरीत स्थितिसित डटेर अरू उन्नत र चेतनाशील समाजका लेखक–कवि–कलाकारले झैं विचार र चिन्तनले गह्रौं बनेका रचनाहरू दिन सक्लान् र ?

(छेत्रीको किताब ‘केही पृष्ठहरू अध्ययनका’ बाट)

(काविमो प्रतिष्ठित जेसीबी पुरस्कारका लागि सर्टलिस्ट भएको उपन्यास ‘सङ अफ द सायल’ (फातसुङ) का लेखक हुन्)

प्रकाशित : पुस ९, २०७९ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?